निर्णय नं. २८९ - ज्यान

निर्णय नं.२८९ ने.का.प.२०२२
फुल बेञ्च
माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री मिनबहादुर थापा क्षेत्री
०२१ सालको पहिलो रिभिजन फौ.फु.नं.६४
निवेदक : तौलिहवा तप्पे सिहो खोर मौजे सो तौलि घर भई तौलिहवा जेलमा थुनामा रहेको भैया भन्ने गफुर मुसलमान समेत
विरुद्ध
वादी : ऐ ऐ सो तौलि बस्ने मनीराम कुर्मी
मुद्दा : ज्यान
(१) कस्तो अवस्थाको बिदेशमा भएको पोष्टमार्टम रिपोर्टलाई अदालतले प्रमाणमा लिन हुने ?
मर्ने बाँच्ने दोसाँद र पहिले यसतर्फ जाँच हुँदा बेहोस भन्ने समेत देखिएको । निज परशुरामलाई बाहिर अस्पतालमा लगि औषधी गराउँदा निको भए मानिस र निको नभई देहान्त हुन गएमा सरहदमा भए लासै र बाहिर लगेको अवस्थामा भए सो ठाउँको हस्पिटलको निस्सा समेत ल्याई दाखिल गर्ने समेत व्यहोराको निज परसुरामको बाबु वादी मनीराम र स्वास्नी मेना कुर्मीनी समेतको ०१७।६।१२।३ मा जि.पु.ई.आ.तौलिहवाबाट कागज गराई जिम्मा दिएको मिसलबाट देखिन आएको र बिदेश भारत गोरखपुर अस्पतालमा लगिएको । निज परसुराम ०१७।६।१६ गते देहान्त भई निजको गोरखपुर अस्पतालमा देहान्त भएको भनी दाखिल हुन आएको लासजाँच पोष्टमार्टम निज परसुरामको हुँदै होइन । निज परसुराम जिवितै यो यस ठाउँमा छ भन्ने तर्फ हाल बहस समेतमा निवेदक, प्रतिवादी तर्फबाट कुनै तथ्य जिकिर लिन नसकी प्रतिवादी फागुको २०।३।२७।५ को प्रतिवादी बयानको ११ दफामा लोलैले वंसराज मनिराज कलंला खलिलको झगडासम्म भएको भनेको भन्ने र १३ दफामा ११ दफामा लेखिएको मानिसको र मर्नेको समेत झगडा भई सोही चोटबाट मरेको मेरो मनमा लाग्छ भन्ने लेखेकोबाट परसुराम मरेको भन्ने कुरालाई स्वीकार गरेको देखिन आएकाले समेत यस्तो स्थितिमा बिदेशमा भएको उक्त पोष्टमार्टमलाई प्रमाणमा लिनै नहुने भन्न मिल्दैन ।
(प्रकरण नं.१३)
प्रतिवादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे, कोमलविक्रम शाह
वादी तर्फबाट : प्लिडर इच्छाहर्ष
फैसला
१. २०१७।६।६ गते बिहान ८ बजेको टायममा हामीहरूको बसहन धान खेतमा काटि राखेको बाली भैया भन्ने गफुर समेतले बर्साने र खडावाली काट्न लागेको हामीले देखि किन यसो गर्न लागेको भनी वंसराज भगौतिले भन्दा तिमीहरूसँग मुद्दा चलिरहेछ तिमीहरूकै धानबाट मुद्दा लड्छौं लान्छौ भनी गफुरले भन्दा हाम्रो बाली दिन्नौ भनी हामी र परसुराम समेतले रोक्दा कुट भनी गफुर अमिनले बचन दिई सबै कारणीहरूले लट्ठिीले हामीलाई र परसुराम समेतलाई कुट्ता परसुराम मर्न बाँच्नको दोषाँध भई बेहोस भएकोले बोकाई ल्याएका छौं । निजलाई लागेको चोट र हामीलाई लागेको चोट समेत जाँची ऐन बमोजिम गरी पाउँ भन्ने समेत भगौति वंसराज मनिराम सन्तराम सोमनाथ कुर्मी मोहन तेली गफुर भाटको १७।६।६।४ को दरखास्त र परसुरामलाई अस्पताल भर्ना गरेको निको नभई भारत ठूलो अस्पतालमा लैजाउ भनी डाक्टरले लेखि १७।६।१२ मा मलाई जिम्मा लगाई दिएकोले सोही १२ गते गोरखपुर अस्पतालमा भर्ना गरेको । आश्विन १६ गतेको रात ७।८ बजे परसुराम मरेकाले पोष्टमार्टम भई लास सतगत गरी दरखास्त दिन आएको छु । निजहरूले कुटपिट कर्तव्य गरेकै चोट पिरले छोरो परसुराम ऐनका म्याद भित्रै मरेकोले निजहरूलाई सजाय गरी पाउँ भन्ने समेत १७।६।२०।५ को मनिराम कुर्मीले जि.पु.ई.तौ. मा गरेको दरखास्त र सोही मिलानको तौ.इ.अ. मा ऐ २४ गते गरेको बयान ।
२. हामीलाई मुनिराम समेतले बचन दिई कुटपिट गरेकाले दरखास्त दिएका छौं । वादीलाई हामीले कुटेको र के भई बेहोस भइ परसुराम मरेको हो ? हामीलाइ थाहा छैन भन्ने समेत खलिल मुसलमाको र हामीलाई कुटपीट गरेकाले जाँच समेत गराएको छौं । ८ जनालाई हामी ३ जनाले कुटपिट गरेको होइन । भाग्दा वा के परिबन्दबाट परसुरामलाई चोट लागेको हो थाहा छैन भन्ने समेत लल्ला मुसलमानको र हामीलाई कुटेकाले घाउ जाँच गराएको छौं । परसुरामलाई कुटेको छैन भन्ने समेत कल्लन मुसलमानको र छोरा अबदुल झडि नगर स्कूलमा पढ्ने गरेको निजलाइ चामल पुर्याउन म र मोहन गएको मलाई जरो आई पचवेडा अस्पतालमा सो आश्विन ६ गते देखि १२ गते तक औषधी गरी बसेकोले म समेतले कुटेको हैन । के भई मर्यो ? उखडा मुद्दा परी रहेको हुँदा झुट्टा उजुर गरेको हो भन्ने समेत गफुर भन्ने भैया मुसलमान । बैनी बेरामी भएको खबर आएकोले ५ गते २०।२१ दिन बसी आएको हुँ भन्ने समेत सालीक कुर्मी । छोरीको सासुको आँखा बन्द भएको खबर आएकाले १ गते गई ६ गतेसम्म त्यहीं छु । मैले कुटपीट गरेको होइन । उखडा मुद्दा परेको इवीबाट झुट्टा उजुर गरेको हो भन्ने समेत मानिक अहिर । बाबुसँग सीधी देवानीमा १ गते नै गई बसी ५ गते जि.बस्ती रमुवापुरमा वैल खरिद गरी लिएकोले कुटपिट गरेको होइन भन्ने समेत मुमताज मुसलमान । ५ गते म र गफुर बढनिमा बसेको निज गफुर बेरामी भएबाट निजकै साथमा रहेको छु भन्ने समेत र मनिरामको भाई वंशराजसँग उखडा मुद्दा परेको इवीबाट झुट्टा उजुर गरेको हो भन्ने समेत मोहन अहिर । आश्विन ६ गते आफ्नु खेतबाट फिरी आउँदा वारदात भएको ठाउँमा वंशराज समेत २० जना रहेछन् । कलन लल्ला खलिलले आफ्नु खेतमा धान काट्न लाग्दा नकाट भनी वंशराजले कुरा गर्दा मैले किन त्यसो भन्दा वंसराजले कुट्न लागेकोमा म भाग्दा त्यसै लाठीले परसुरामलाई लागेको हो भन्ने समेत बालक गोसाईको र फुपाजुको आमा मरेको निम्ता आएकाले भाद्र २५ गते गई ६ गते फुपाजुको घरमा गई बसेकोले कुटपिट गरेकै होइन । डरका मारे भागी बसेको हुँ भन्ने समेत गफुर कर्मी समेतको बयान भै कुर्मी सम्झ पासी, धिमे कुर्मी, ईश्वरी कहार, ४ जनाले ७ दिने म्याद गुजारी फरार भई बसेको ।
३. यस मुद्दामा बुझिएसम्मका प्रमाण परीबन्दबाट भैया भन्ने गफुरले बचन दिएको ठहर्दैन । धान काट्ने कुरामा झगडा कुटपिट भई प्रतिवादीले हानेको चोट परसुरामलाई लागी बेहोस भई सो चोटका पिरले गोरखपुर अस्पतालमा परसुराम मरेको ठहर्छ । प्रतिवादी भैया भन्ने गफुर समेतलाई ज्यान सम्बन्धीका २६ नं. ले कैद बर्ष २० का दरले गर्ने । सो सजाय गर्दा चर्को पर्ने हुँदा ऐ ३३ नं.बमोजिम ३ बर्ष देखि ६ बर्षसम्म कैद हुनु पर्ने भनी राय लगाई तौलीहवा इ.अदालतबाट भएको २०।९।४ को जाहेरी फैसला ।
४. वादी पक्षतर्फबाट ८ जना र प्रतिवादी तर्फ ३ जना वारदातमा भएको भन्ने घा जाँचबाट देखिए पछि थोरै हुने तर्फ नै धेरै घाईते हुने प्रष्टै छ । वादीको छोरालाई ठूलो हस्पिटलमा भर्ना गर्ने सिफारिस दिई पठाएको पाइँदैन । कानूनी हक र अधिकार बेगर गोरखपुर थानाबाट पोष्टमार्टम गराई पुलिसले राखेको भन्ने कुरा अनप्रतित छ । हस्पिटलमा मर्नेको पोष्र्टमार्टम गर्ने कुनै कानूनी अधिकारै छैन भने पोष्टमार्टम भएको भन्ने कुरा अविश्वास छ । तौलिहवा हस्पिटलबाट घाउ जाँच गरेको फारामबाट थोरै चोट र विपक्षीले पेश गरेको पोष्टमार्टम भनेकोमा धेरै घाउ देखिएबाट परसुरामकै पोष्टमार्टम हो भन्ने कुरा सम्झनै नमिल्ने । परसुराम हस्पिटलबाट डिस्चार्ज भएपछि भारत तर्फ गएको भन्ने वादी बयानबाटै प्रष्ट मात्रामा उल्लेख भईरहेकै कुरा छ । हामीले परसुरामलाई कुटि कुटेकै पिरबाट मरेको भए ज्यान सम्बन्धीको ४।५ नं.बमोजिम चौकीमा दरखास्त दिई लासजाँच गराई लास जलाउने सरकारी कर्मचारीको स्वीकृतिको पूर्जी लिई जलाएको हुँ भन्न सक्नु पर्ने नसकेबाट वादी बयान नाजायज भन्ने लेखिएकै छ भने हामीलाई कसूरदार ठहराई हराई भएको फैसलामा चित्त बुझेन भन्ने भैया भन्ने गफुर मुसलमान समेत ९ जनाको अपील ।
५. लल्ला कलन खलिलले घाउ जाँच गराएको देखियो । अरु प्रतिवादी अनेत्र छौं भने पनि धेरै सर्जमिनले वारदात देखाई झगडा कुटपिट भएको हो भनेका । परसुराम जिवित भई यस ठाउँमा छ भन्ने प्रतिवादीले नसकेका । सजायका हकमा लाठा मुक्काले हानाहान हुँदा परेका चोटको पिरबाट परसुराम मर्न गएको देखिनाले दोहोरो घाउ जाँच गर्ने मुख्य सरिक भई हात चोट छाड्ने देखिएको । लल्ला कलन खलिललाई ज्यान सम्बन्धीका १४ नं. ले कैद बर्ष १० दशका दरले ती बाहेक अरु हाजिर भई बयान गर्ने प्र.भैया भन्ने गफुर समेतले कुटपिट भएका ठाउँमा गई हेरी रहने मतलबीसम्म देखिनाले ज्यान सम्बन्धी का ७ नं.३ दफाले ६ महिना देखि ३ बर्षसम्म जनहि तोकि बक्सेको कैद सजाय हुने देखिनाले शुरुले गर्ने गरेको कैद नलाग्ने हुँदा निकासा भई आएको सजाय गर्ने फरारी रमै कुर्मी समेतलाई पक्राउ फेला पारेमा कारवाई गर्ने समेत ठहराई तौलिहवा जिल्ला अदालतबाट गरेको २०।१०।३ को जाहेरी फैसला ।
६. विपक्षी १५ जना सबैले परसुराम उपर हात छोडेको प्रष्ट देखिएकाले सबै विपक्षीलाई मर्ने परसुराम उपर हात छोडी कुटपिट गरी ज्यान मारेमा ज्यान सम्बन्धीका १३ नं.बमोजिम सबैलाई जन्म कैद हुनु पर्नेमा सजाय घटाउने गरी भएको फैसलामा चित्त बुझेन भन्ने वादी मनिराम कुर्मिको अपील ।
७. विपक्षी तर्फकै लाठि लागि परसुराम घायल भएमा हामी दोष भागी नुहने । परसुरामलाई यसैले कुटेको भन्ने दावी भएको समेत हुँदा जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत भैया समेत गफुर मुसलमान समेत ९ जनाको अपील ।
८. भैया भन्ने गफुर समेतले बचन दिई कुटपिट गरेको भन्ने वादी दावी जिकिरमा बचन दिएको ठहर्दैन भनी शुरुले छिनेको उपर वादीको अपील परेको नदेखिएको र यसतर्फ वारदात कुटपिट भएको । परसुराम उसपार भारत तर्फको गोरखपुर अस्पतालमा भर्ना भई मरी पोष्र्टमार्टम भएको । सो बिदेशमा भएको पोष्र्टमार्टमको प्रमाण पनि यस तर्फबाट लिन पर्छ भन्न मुनासिव नपर्ने । सो प्रमाणमा नलिए पनि यस तर्फबाट भएको घा जाँच फाराम सर्जमिन मुचुल्का वादीलेखाई बमोजिम परसुराम बेहोस भएको भनी इलाज निमित्त यस तर्फको अस्पतालमा भर्ना हुँदा ठूलो अस्पतालमा लैजाउ भनी डाक्टरले भनेबाट गोरखपुर अस्पतालमा लगि भर्ना भई १६ गते ऐनका म्याद भित्रै प्रतिवादीले कुटेका पिरबाट मरेको भन्ने दावी भएको । यदी त्यो कुरा होइन परसुराम जिवित छ भने यस ठाउँमा छ भनी यि अपीलाट प्रतिवादीहरूले भन्न सक्नु पर्ने आजसम्म भन्न नसकेकोले निज परसुराम जिवित नभई मरी सकेको भन्ने कुरा स्वसिद्ध हुँदा त्यसतर्फ समेत अदालतले केही उपशंका गरी रहनु परेन ।
९. धानवालीको कुरामा मुखा मुख कलझगडा दुवै तर्फबाट हुँदा लाठी हात मुक्काले कुटेको जाँच र मौका तहकिकात सर्जमिन मुचुल्काबाट देखिएकोले वारदात भए परेको निर्विवाद छ । सो वारदातमा को को रहेछ भन्न मर्ने परसुराम कुटाकुट हुँदा बेहोस भएको । प्र.लल्ला कलन खलिल समेत १५ जना प्रतिवादीले वादीहरूलाई कुटपिट गरेका भनी धेरै जना सर्जमिनले लेखिरहेकैबाट लल्ला खलीललाई १०। बर्षका दरले कैद गर्ने र म समेत फेरारी ४ जनाका हकमा मुल्तवी राख्ने ठहराई शुरुको केही गल्ति भनी छिनेको इन्साफ तौलिहवा जिल्ला अदालतको मुनासिव छ । भैया भन्ने गफुर समेत ८ जना प्रतिवादीको हकमा तौलिहवा जिल्ला अदालतले ठहर गरे अनुसार ६ महिना देखि ३ बर्षसम्म कैद हुने हो कि भन्न मर्ने परसुरामलाई यस यसले मात्र कुटेका हुन् भन्ने सर्जमिन र मिसिल प्रमाण कतैबाट नदेखिई सबैले लाठी हात मुक्काले कुटेका भन्ने सर्जमिन र वादीलेखाई भएको र प्रतिवादी मध्येको बालक गोसाईले वंसराजले कुट्न लागेको म भाग्दा त्यसै लाठिले परसुरामलाई लागेको । मैले कुटेको छैन भन्ने बयान गरेको । शुरुले निज बालकलाई पनि २० बर्ष कैद गर्ने ठहराएकोमा निजको शुरु उपर अपील परेको नदेखिएकोले समेत कुनैलाई मुख्य र कुनैलाई हात चोट नछाडि वारदातलाई हेरीरहने मतलवी भनी छुट्याउन नसकिने भएबाट लल्ला कल्लन र खलिल बाहेकका आठ जवान अरु प्रतिवादीहरूलाई तौलिहवा जिल्ला अदालतले लगाएको ज्यान सम्बन्धी १७ नं.बमोजिम सजाय गर्न मिल्दैन । तसर्थ, वारदातको अवस्था र मिसिल प्रमाणबाट तपसीलमा लेखिएको प्रतिवादीहरूलाई ज्यान सम्बन्धिका १४ नं. ऐन बमोजिम कैद बर्ष १० का दरले सजाय हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको २१।१।२१।१ को फैसला ।
१०. मरेको भन्ने प्रमाण खंदिलोको अभावमा खाली कानूनी आधारहिन । प्रतिवादीले जिवित छ भनी नभनेको भनी यस्तो तर्क गरी ज्यान जस्तो डामल हुने मुद्दामा प्रमाण बेगर कसुर ठहर गरी १० बर्षका दरले कैद गर्ने गरी भएको फैसलामा चित्त बुझेन । १ पटक फुल बेञ्चबाट मुद्दा दोहोराई हेरीदनु भन्ने प्रमांगी पाउँ भन्ने समेत प्रतिवादी भैया भन्ने गफुर मुसलमान समेत जवान ९ का हकमा सरिफ मुसलमानको बिन्तिपत्र परेकोमा सर्वोच्च अदालतको फैसलामा बिदेश भारत गोरखपुर अस्पतालमा भएको पोष्टमार्टमको प्रमाण लिनु पर्छ भन्ने कानूनमा व्यवस्था भएको नदेखिंदा प्रमाण लिनु पर्छ भन्न मुनासिव नपर्ने । सो प्रमाणमा नलिए पनि यस तर्फबाट भएको घा जाँच फाराम सर्जमिन मुचुल्कामा परसुराम बेहोस भएको भनी ईलाज निमित्त यस तर्फको अस्पतालमा भर्ना हुँदा ठूलो अस्पतालमा लैजाउ भनी डाक्टरले भनेबाट गोरखपुर अस्पतालमा लगि भर्ना भई आश्विन १६ गते प्रतिवादीले कुटेको पिरबाट मरेको भन्ने दावी भएको । परशुराम जिवित छ भनी प्रतिवादीहरूले भन्न नसकेकोले निज परशुराम जिवित नभई मरी सकेको भन्ने कुरा सिद्ध छ भन्ने कुराको आधारमा परशुराम प्रतिवादीहरूले कुटपिट गरेको पिरबाट मरेको ठहराएको छ । उक्त वाक्यांशहरूको विश्लेषण गरी हेर्दा ज्यान मुद्दामा ज्यान मरेको हो भन्ने मान्य मुख्य प्रमाण लासजाँच मौका तहकिकात मुचुल्का वा लासजाँच केश फाराम (पोष्टमार्टम) लाई लिनु पर्ने हुन्छ । यस तर्फबाट लासजाँच मौका तहकिकात भएको छैन । सिर्फ बिदेशमा लासजाँच तहकिकात भएको उपर्युक्त पोष्टमार्टमसम्म छ । उक्त फैसलाले मरेको भन्ने कुरा मानेकोबाट पोष्टमार्टमलाई वास्तवमा आधार नलिएको भन्न पनि मिल्दैन । तर प्रमाण लिनु पर्छ भन्न मुनासिव नपर्ने भन्ने वाक्यांश प्रयोग गरेकोबाट आधार लिएको भन्ने कुरा उति प्रमाणित पनि हुन आउँदैन । मानिस मरेको लास देख्ने तथा मानिस मरेको मान्ने आधार उक्त पोष्टमार्टम र वादी बाहेक अरु केही नभएको । वादीको कुरा मान्नलाई सबुद प्रमाणको आधार चाहिने । मरेको देख्ने अरु साछि सबुद नभए पछि त्यसै एक तर्फी वादीको कुरा मान्न पनि नमिल्ने । पोष्टमार्टमलाई आधार नदिंदा मानिसै नमरेको भन्ने मान्नु पर्ने हुन आएको छ । परशुरामलाई बाहिर अस्पतालमा लगि औषधि गराउँदा निको भए मानिसलाई र देहान्त हुन गए सरहदमा भए लास र बाहिर लगेको अवस्थामा भए त्यस ठाउँको अस्पतालको निस्सा ल्याई दाखिल गर्नेछु भन्ने जि.पु.ई.आफिसबाट काज गराई वादीवालाको जिम्मा दिएको कागज मिसिल सामेल रहेको देखिन्छ । सो कागजलाई अदालतले अमान्य गरेको पनि देखिंदैन । यसबाट र वादीले सरहदको अस्पतालमा निको नभएकोले गोरखपुर अस्पतालमा लगि औषधि गरेको र सोही अस्पतालमा मरेको भन्ने लेखेको कुरा सर्वोच्च अदालतको फैसलाले मानेको देखिन्छ । यसरी बिदेशमा जाने पठाउने उपचार गराउने गरेकोमा निको हुन नसकी मृत्यु हुन गएको र केसको अवस्थाले भएको पोष्टमार्टमलाई बिचाराधिनमा नराखि सिधै अमान्य अवस्थामा राखी दिंदा उक्त लेखिएको परम्परा चलिरहेको चलन बेबहारमा रोक लाग्नाको साथै न्यायमा आघात पर्न जाने अवस्था पनि आउने र त्यस्तो उपचार गर्न पाउनु मानव जिवनको संरक्षण सम्बन्धी अधिकारको कुरा पनि हो र उपचार गर्न दिनु मानवोचित तथा कर्तव्य पनि हो । त्यसकारण जि.पु.ई. ले गरेको उक्त जिम्माको कागज उपयुक्त देखिन्छ । जव उक्त लेखिए बमोजिम बाहिर बिदेशमा इलाज गर्न जान दिइन्छ भने त्यसरी उपचार गर्दा गर्दै मरेको व्यक्तिको सम्बन्धमा लासजाँच पोष्टमार्टम गर्नु कुनै अकर्तव्य भन्न पनि मिल्दैन । बिदेशमा भएको पोष्टमार्टम प्रमाण लिनु पर्छ भन्ने कानूनी व्यवस्था देखिंदैन तर त्यस्तै बिदेशमा भएको पोष्टमार्टम प्रमाण लिन हुँदैन भन्ने पनि कानूनी व्यवस्था छैन । त्यसकारण जुन मुलुकमा पोष्टमार्टम हुन्छ, त्यहाँका अदालतबाट मान्य हुने किसिमको पोष्टमार्टमलाई न्याय अन्याय छुट्याउने एउटा कसौटीको रुपमा साहायक बन्न सक्ने गरी यथास्थीत राखी दिनु उपयुक्त देखिंदा सर्वोच्च अदालतको फैसलाको उक्त ठहर नमिलेको देखिंदा त्यती कुरासम्मका निमित्त दोहराउने आदेश बक्सनु पर्ने र उक्त पोष्टमार्टम समेतका उपयुक्त कागजात समेतका आधार प्रमाण परिबन्दबाट इन्साफ र सजाएका हकमा मिलेकै देखिन्छ भनी दोहराउने आदेश बक्सनु पर्ने भनी न्यायिक समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचिवालयबाट लेखि आएको २१।११।१।६को हुकुम प्रमांगी ।
११. बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने समेत २१।१।३ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
१२. निवेदक, प्रतिवादीहरू थुनामा रहेका हुँदा तारेखमा रहेको वादी मनिरामको वारेस रोहवरमा रही २२।४।२६।३ मा पेश भई निवेदक, प्रतिवादी भैया भन्ने गफुर तर्फबाट विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरे कोमलविक्रम शाहहरूले वादी मनिराम तर्फबाट विद्वान प्लिडर इच्छाहर्षले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा डिभिजन बेञ्चले बिदेशमा भएको पोष्टमार्टमलाई प्रमाण नलिने गरे तर्फसम्म दोहर्याउन आदेश बक्सनु पर्ने भनी न्यायिक समितिले सिफारिस गरेको जाहेर हुँदा दोहराई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको । यस्तोमा सम्पूर्ण मुद्दा दोहराई हेर्न नमिल्ने भन्ने वादी तर्फका विद्वान वकिलले तर्क गर्नु भएको हकमा बक्स भई आएको ०२१।११।१।६को हुकुम प्रमांगीमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार उक्त मुद्दा दोहराई दिनु भन्ने हुकुम बक्सेको प्रष्ट उल्लेख भएकै हुँदा विद्वान वकिलको उक्त तर्क मिलेको देखिएन ।
१३. बिदेशमा भएको पोष्टमार्टम यस तर्फबाट प्रमाणमा लिन हुने नहुने के हो ? भन्ने तर्क उठेतर्फ बिचार गरेमा मर्न बाँच्न दोषाँध र पहिले यस तर्फ जाँच हुँदा बेहोस समेत देखिएको निज परशुरामलाई बाहिर अस्पतालमा लगी औषधी गराउँदा निको भए मानिस र निको नभई देहान्त हुन गएमा सरहदमा भए लासै र बाहिर लगेको अवस्थामा भए सो ठाउँको हस्पीटलको निस्सा समेत ल्याई दाखिल गर्ने समेत व्यहोराको निज परशुरामको बाबु वादी मनिराम र स्वास्नी महिना कुर्मिनी समेतको १७।६।१२।३ मा जि.पु.ई.आ.तौलिहवाबाट कागज गराई जिम्मा दिएको मिसिलबाट देखिन आएको र बिदेश भारत गोरखपुर अस्पतालमा लगिएको निज परशुराम १७।६।१६ गते देहान्त भई निजको गोरखपुर अस्पतालमा भएको भनी दाखिल हुन आएको लासजाँच पोष्टमार्टम निज परशुरामको हुँदै होइन । निज परशुराम जिवितै यो यस ठाउँमा छ भन्ने तर्फ हाल बहस समेतमा निवेदक, प्रतिवादी तर्फबाट कुनै तथ्य जिकिर लिन नसकेको । प्रतिवादी फागुको २०।३।२७।५ को प्रतिवादी बयानको ११ दफामा लोलेले वंसराज मनिराम कलंलला खलिलको झगडासम्म भएको भनेको भन्ने र १३ दफामा ११ दफामा लेखिएको मानिसको र भनेको समेत झगडा भई सोही चोटबाट मरेको मेरो मनमा लाग्छ भन्ने लेखेकोबाट परशुराम मरेको भन्ने कुरालाई स्वीकार गरेको देखिन आएकाले समेत यस्तो स्थितिमा बिदेशमा भएको उक्त पोष्टमार्टमलाई प्रमाणमा लिनै नहुने भन्न मिल्दैन ।
१४. पहिले भएको घा जाँच र मौका तहकिकात मुचुल्का औ उक्त लासजाँच पोष्टमार्टम समेतबाट निज परशुराम कुटपिटकै चोट पिरले ऐनका म्याद भित्रै मरेको भन्ने कुरा शंकारहित छ । अब क कस्का कुटपिटको चोट पिरले मरेको रहेछ भन्ने तर्फ हेरेमा निवेदक, प्रतिवादी मध्ये ललाकलन खलिल ३ जनाका हकमा निज परशुराम कुटिएको भन्ने मिति १७।६।६ गते उस दिन टायमको वारदातमा आफूहरू समेतलाई परशुराम समेतको बचन दिई कुटेको भनी घा जाँच गराई कुटपिटमा उजुर गरेका समेत देखिएकाले निजहरूले परशुरामलाई कुटेका रहेछन् भन्न नमिल्ने हुँदा निजहरू ३ जनाका हकमा कसुर ठहराई नयाँ मुलुकी ऐन ज्यान सम्बन्धीको १४ नं.बमोजिम कैद बर्ष १० का दरले गर्ने गरेको तौलिहवा जिल्ला अदालतको सदर गरी डिभिजन बेञ्चबाट २१।१।२१ मा छिनेको इन्साफ मुनासिव छ ।
१५. अरु निवेदक, प्रतिवादी गफुर, फागु, अभिन, सालिक, मोहन, मुमताज, बालक, समेत ७ जनाका हकमा बिचार गरेमा निजहरू समेत उपर कर्तव्यमा वादीको उजुर भएको र मौका तहकिकातका धेरै सर्जमिनले वारदातमा निजहरू समेत उपस्थित भएको देखाई लेखिदिएका देखिनाले निजहरू समेतले मर्ने परशुरामलाई चोट छाडेका रहेछन् कि भन्न सो वारदातमा मर्ने परशुराम र अरु वादी मनिराम समेतका ७ जना समेत वादी तर्फका जम्मा ८ जना कुटिएको देखाई घा जाँच गरीपाउँ भनी मनिराम समेतका ७ जनाले ०१७।६।६ मा दर्खास्त दिएको । त्यस्मा निज गफुर अमिन समेतका सबै कारणीहरूले लिएको लाठीले हामीहरूलाई र परशुरामलाई कुटपिट गरेको भन्ने लेखेको देखियो । निज गफुर समेतका प्रतिवादी ७ जनाले पनि परशुरामलाई चोट छाडेको भन्ने कुरा उक्त १७।६।६को दर्खास्तमा र परशुराम मरी सकेपछि वादी मनिरामले दिएको १७।६।२१ को दर्खास्त समेत किटान साथ लेख्न खुलाउन सकेका देखिन आएन । सो कुटपिटको वारदात गरेको देखने भनेका रामवली समेत मौका तहकिकातका सर्जमिनहरूले पनि निज गफुर समेतका प्रतिवादी ७ जना समेतले परशुरामलाई चोट छाडेको देखेको भन्न नसकेका ति गफुर समेतका ७ जना समेतले निज परशुरामलाई चोट छाडेको भए त्यतिका जनाको लठीको चोट प्रहार हुँदा धेरै घायल भए परेको हुनु पर्नेमा सिर्फ ३ ठाउँमा मात्र घा खत भए परेको देखिएकोले समेत मर्ने परशुरामलाई निज गफुर समेतका प्रतिवादी ७ जनाले चोट छाडेको र निजहरू समेतका चोटबाट मरेको रहेछ भन्न प्रमाण बेगर नमिल्ने र पहिले नै परशुरामलाई मार्ने मत सल्लाह गरी वारदात भए गरेको र सो मार्ने मत सल्लाहामा पसेको अथवा अरु किसिमको मतलवी भन्ने समेत मिसिल प्रमाणबाट देखिन पनि नआएकोले वादी मनिराम समेत अरु ७ जनाका हकमा कसले कुटपिट गरेको हो सो कुरा निजहरूले दिएको छुट्टै कुटपिट मुद्दाबाटै ठहरे बमोजिम हुने हुँदा परशुराम मरेको प्रस्तुत केशमा निज गफुर समेतका माथि नाम उल्लेख भएका प्रतिवादी ७ जनाका हकमा कसुर ठहराए तर्फ शुरु तौलिहवा इलाका अदालत र तौलिहवा जिल्ला अदालत तथा डिभिजन बेञ्च समेतको इन्साफ मिलेको देखिएन । निजहरूले रिहाई पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी तौलिहवा सिहोखोर मौजे सौतौली घर भई तौलिहवा जेलमा थुनिएका देहायका मानिसके २१।१।२१ को डिभिजन बेञ्चको फैसलाले कैद बर्ष १० का दरले गर्ने गरेको नलाग्ने हुँदा ऐन सवालको रीत पुर्याई लगत कट्टा गरी दिनु भनी तो.जि.अ.लाई लेखि पठाउन का.श्रे.अ.त. मा लगत दिनु । (का.श्रे.अ.त.बाट रीतपूर्वक लगत जान समय लाग्ने हुँदा निजहरूलाई तुरुन्तै थुनाबाट छाडि दिन तौ.जि.अ.लाई यहाबाटै लेखि पठाइदिनु .............१
गफुर मुसलमान के कैद बर्ष १०।१०।
फागु कुर्मिके कैद बर्ष १०।
सालिक कुर्मिके ऐ १०।
मोहन अहिरके ऐ १०।
अमिन मुसलमानके ऐ १०
मुमताज मुसलमानके ऐ १०
बालक गोसाईके ऐ.१०
डिभिजन बेञ्चका फैसलामा केही परिवर्तन भएकाले कसुर ठहरेका निवेदक, प्रतिवादी लला कलन खलिलहरूलाई इन्साफ दोहर्याएमा सजाय गर्नु पर्दै......................................२
देहायका मानिसको इन्साफ केही उल्टीको रेकर्ड राख्न रजिष्ट्रार अफिसमा सूचना दिनु ....३
हाल धौलागिरी अञ्चल अदालतका अञ्चल न्यायाधीश तारानाथ उप्रेती १
हाल तौ.जि.अ. का.जि.न्या.ढुण्डि राज शर्मा १
वादी मनिराम समेतले १७।८।२८ मा दिएको कुटपिट मुद्दामा परशुराम मरेको ज्यान मुद्दा र यो मुद्दा साथै छिन्ने भनी १९।१।३१ मा र खलिल समेतले १७।८।२।५ मा दिएको कुटपिट मुद्दामा १८।२।३० मा परेको जालसाजी मुद्दा किनारा भएपछि किनारा गर्ने भनी १८।३।२७ मा वादी मनिराम समेतले १८।२।३० मा दिएको जालसाजी मुद्दामा परशुराम मरेको ज्यान मुद्दा र यिनै प्रतिवादी समेतले दिएको कुटपिट मुद्दा यो जालसाजी मुद्दा समेत एकै साथ छिन्ने भनी १९।१।५।३ मा तौ.ई.अ. का साविक ई.न्या.भवानीप्रसादले प्रचागरी मुलतवी राखेकोमा हालका न्यायाधीश ढुण्डि राजले यो मुद्दा २०।४।९।४ मा फैसला गर्दा उक्त मुद्दाहरू मुलतवी जगाई साथै छिनेको समेत देखिन नआई ऐलेसम्म मुलतवीनै रहेको देखिन आयो, यदि त्यस किसिम एकै साथ छिन्नु पर्ने भए पहिले अंग पुगी सकेको मुद्दाहरूमा सो कारणसम्म जगाई राख्नुपर्ने यसरी मुद्दै मुलतवी राख्न हुने ऐनमा व्यवस्था नभएको कुरामा मुलतवी राख्नु साविक न्यायाधीश भवानीप्रसाद पाध्याको र साविक न्यायाधीशले मुलतवी राख्न नहुने राखेको भए पनि आफूले २०।४।९।४ मा यो ज्यान मुद्दा फैसला गर्दा ऐन बमोजिम उक्त मुद्दाहरू समेत मुलतवी जगाई एकै साथ किनारा गर्नु पर्नेमा साविकका पालामा भएको मनिराम समेतले दिएको कुटपिट मुद्दाको १९।१।३१ को मुलतवी पर्चामा परशुराम मरेको ज्यान मुद्दा र यो मुद्दा साथै छिन्ने भनी र मनिराम समेतले १८।२।३० मा दिएको जालसाजी मुद्दाको १९।१।५।३ को मुलतवी पर्चामा परशुराम मरेको ज्यान मुद्दा र यिनै प्रतिवादी समेतले दिएको कुटपिट मुद्दा यो जालसाजी मुद्दा समेत एकै साथ छिन्ने भन्ने उल्ल्ेख हुँदा हुँदै पनि त्यस तर्फ ध्यानै नदिई मुलतवीनै राखी छाड्नु हालको न्यायाधीश ढुण्डी राज शर्मा समेतको शन्तोष जनक कार्य देखिएन तसर्थ, साविक न्यायाधीश भवानीप्रसाद पाध्या हाल नोकरीमा बाहाल नहुँदा हालका न्यायाधीश ढुण्डि राज शर्माको उक्त गल्ती गरेको रेकर्ड राख्न र यस किसिम संग साथै परिरहेका एका मुद्दाको लगाउने अर्को मुद्दा मुल्तवी राखन ऐनले नमिल्ने कुरा जानकारी गराउन सबै अन्चल जिल्ला अदालतहरूलाई लेखि पठाउन समेत रजिष्ट्रार अफिसमा सूचना दिई मुल तवी रहेको उक्त मुद्दाहरू मलतवी जगाई चाँडो किनारा गर्न तौ.जि.अ. मा पठाई दिनु ...........................४
नियम बमोजिम मिसिल बुझाई दिनु ...............................५
इति सम्वत् २०२२ साल भाद्र १ गते रोज ३ शुभम् ।