शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९० - लेनदेन किर्ते

भाग: साल: २०२२ महिना: बैशाख अंक:

निर्णय नं.२९०       ने.का.प.२०२२

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री स.इश्वरीराज मिश्र

न्ययाधीश श्री बाशुदेव शर्मा

न्यायाधीश श्री मिनबहादुर थापा क्षेत्री

०२१ सालको पहिलो रिभिजन दे.फु.नं.२७२

निवेदक, प्रतिवादी : का.ई.बालुवाटार बस्ने श्री ज.ध्रुब शम्शेर ज.ब.रा.

विरुद्ध

विपक्षी, वादी : का.ई.पुतलीसडक बस्ने नरराज शर्मा समेत

मुद्दा : लेनदेन किर्ते

(१)   कस्तो बोली परेको कागजलाई व्यापारको हिस्सेदारीको कागज भन्नु पर्ने र कस्तोलाई लेनदेनको कागज भन्नु पर्ने ? दुवैमा हुनु पर्ने भिन्नता ।

            ७।११।१७।६को कागज व्यहोरामा श्री.मे. ज.ध्रुब शम्शेरबाट बक्सेको रु.१००००१ व्यापारमा लगाउन लिएको ठीक साँचो हो । त्यस वापतमा सिगरेट इत्यादि व्यापारमा श्री मे. ज.ध्रुब शम्शेर ज.ब.रा.लाई पुरा हिस्सेदार बनाएँ । यो लेखिएको व्यापारमा नाफा भएकोमा उहाँलाई दामासाहीले पाउने हिस्सा पुरा टक्राउने छु । यस्मा आफ्नो इज्जत धर्मको ख्याल गरी बेइमान गर्ने छैन भन्ने र लोभनि पापानी गरेको थाहापाई बक्सेमा मेरो घैघराना जेथाबाट उपर गरी लिनु भन्ने समेत बोली परेको देखियो । यो यस्को यो हिसाबले यती हिस्सा भनी साँवा रु.१०००१ नै ब्यापारको हिस्सामा लगाएको व्यहोरा र नोक्सान भएमा यस्तो गर्ने भन्ने कुनै शर्त उक्त कागजमा नलेखिएको । मुनाफा दिनेसम्म कुरामा हिस्सेदार बनाएको देखिने र प्रतिवादी विधिराजले नै सो कागजलाई व्यापारको साझा हिस्सेदारी कागज हो नभनी सो कागज सद्दे किर्तेमा सुनाउँदा निज विधिराजको वा.रामप्रसादले गरेको ०१४।१।१३।५ को बयानमा व्यापारको हिस्सेदारीमा लिएको भए हिस्सेदारको संख्या हिस्सा खुलाई लाभहानीको कसरी भई श्रेस्ता हिसाब बुझ्ने बुझाउने इत्यादी कानूनी शर्त विवरण खुलेको हुनु पर्ने जस्मा पूर्जिको अंक बेगर दामासाहीको हिस्सा भन्ने र व्यापारको हिस्सेदारले नाफा मात्र खाने नोक्सान नब्यहोर्न हुँनै नसक्ने भन्ने लेखेको देखिएको समेतबाट उक्त कागजलाई व्यापारको साझा हिस्सेदारीको कागज हो भन्न मिलेन । लेनदेन कारोबारकै कागज रहेछ भन्ने देखिन आयो ।

(प्रकरण नं.२२)

(२)   एका साहुले एका असामीसंग लिनु पर्ने निज साहुले तिर्नु पर्ने अर्को साहुकोमा मिलाउन हुने र सौंपुवा लिन दिन नमिल्ने नदेखिने ।

            यस किसिमको लेनदेन व्यवहारको कागज साहुले अरुलाई सौंपुवा गरी दिन लिन हुने ऐनमा प्रष्ट व्यवस्था नखुले पनि यसरी सौंपुवा लिन दिन हुँदैन भन्ने उस बखतको ऐनले बन्देज नगरेको र हालको मुलुकी ऐन लेनदेन व्यवहारको ३७ नं. मा यस महलका अरु नम्बरहरूमा व्यवस्था नभएको अरु कुनै व्यवहार सम्बन्धी शर्तनामा कबुलियत र सम्झौताको लिखत रहेछ भने लिखतै बमोजिम हुन्छ भन्ने उल्लेख भएको । लेनदेन व्यवहारको यस्तो लिखत अचल निज नभई चल मानिने र जायजात सर्वश्वमा आएको सम्पत्ति लिलाम विक्रि गर्ने बिषय दण्ड सजायको महलको ३० नं. दफा ४ मा तमसुक बहिखाताको लहना तहसिल हुने कागज पत्र आएको भए जायजात सर्वश्व गर्ने अड्डामा लगत गरी ऐन बमोजिम असूल गर्नु पर्छ भन्ने व्यवस्था भएको । त्यसबाट एकासाहुले एका असामीसंग लिनु पर्ने रुपैंया निज साहुले दिर्न पर्ने । अर्को साहुको रुपैंयामा मिलाउन हुने नै देखिएकोले समेत लिने दिनेको मञ्जुर भएमा त्यसरी सौंपुवा लिन दिन नमिल्ने देखिएन ।

(प्रकरण नं.२३)

(३)   अ.बं.१०४ नं. को अधिन तहको कागज सुनाउँदा जुन पक्षलाई जे जस्तो पर्ने भएमा पनि सुनाउन पर्ने ।

            प्रमाणमा पेश भएको देखिएको र विधिराजले बुझाएको भनेको ५९९०७ को हिसाबको फाँटवारीको हकमा प्रतिवादी ध्रुव शम्शेरबाट पेश भएको भए पनि अ.बं.१०४ नं. ऐनमा वादीको प्रमाणको कागज प्रतिवादीलाई र प्रतिवादीका प्रमाणको कागज वादीलाई देखाउने सुनाउने कुरा उल्लेख भएको । यदी प्रतिवादी ध्रुव शम्शेरबाट पेश भएको रु.५९९०७ को हिसाबको फाँटवारी कागज सद्दे नै हुन आएमा त्यसबाट प्रतिवादी विधिराजले ध्रुव शम्शेरलाई गरी दिएको भनेको १००००१ को कागज कायम भई ध्रुव शम्शेरले गरिदिएको सौंपुवा लिखत मान्य हुन आई सो लिखत बमोजिम वादीहरूले विधिराजबाट रुपैंया भरी पाउने अवस्था पर्न आउने भएबाट सो रु.५९९०७। को हिसाबको फाँटवारी कागज मुद्दामा प्रतिवादीबाट पेश हुन आएपनि वादीकै प्रमाणको हुन आउने हुनाले समेत त्यसको कागज प्रतिवादी विधिराजलाई देखाए सुनाएको कारवाई अ.बं.१०४ नं. को बिपरित भन्न नमिल्ने हुँदा सो कागज सद्दे किर्तेेमा सुनाएको कारवाई रद्द गर्ने गरेको डिभिजन बेञ्चको उक्त राय मिलेको देखिएन ।

 (प्रकरण नं.२४)

निवेदक तर्फबाट : प्लिडर नन्दीकेश्वर

प्रतिवादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद पन्त

नरधोज तर्फबाट : वैतनिक वकिल प्लिडर इश्वरीलाल झा

फैसला

      १.     अन्यायीको ले. ज.ध्रुव शम्शेरसंग नरराजको कं.रु.२०९९५। रुपैंया लिनु पर्नेमा माग्दा विधिराजले चुरोटको लाइसेन्स पाएकोले सो चुरटको हिस्सा दिने भई ०७।१२।१७।६मा मसंग देशि नोट रु.१००००१। लिएकोमा नोट रु.६१४३७। मोरु १६९५५ आएको कटाई आजसम्मको नाफा र साँवा बाँकी छ । हरहिसाब गरी तिमीहरूको लेनामा सबै उठाई लिनु भनी हामी २ जनालाई र विधिराजलाई समेत चिठ्ठी लेखि लिखत समेत सौंपी दिए बमोजिम प्र.विधिराजलाई बरावर गई भन्दा नदिएका हुनाले नालिस गर्न आएको छु । जसबाट हुन्छ दिलाई सजाय गरी पाउँ भन्ने समेत वादी ।

      २.    ले. ज.ध्रुव शम्शेर र मेरो गुरु चेलाको सम्बन्ध भई निजको बडाहाकिम बहाल टुटेपछि मैले सूर्येबहादुर नाउँबाट बैंकमा राखेको कं.रु.७०००० तपाँईँको खातामा सार्नु पर्‍यो भनी सुर्येबहादुरबाट लेखेको चेक मलाई दिएबाट सो चेक बमोजिम ०८ साल बैशाखमा आफ्नो खातामा जम्मा गराई उहाँलाई दिनुपर्ने ७०००० मध्ये रु.१००००। दश हजार मेरो चेकद्वारा लिई सक्नु भएको । बाँकी रु.५९९०७ बुझी लिई भरपाई गरी दिएबाट फछ्र्यौट भएको कलममा मसँग पटकपटक कर्जा लिएको कानूनी लिखत गरी दिनुस् भन्दा गरी नदिएबाट वादीहरूलाई उठाई झुठ्ठा उजुर गराएको अबैधानिक दावीबाट फुर्सत गरी पाउँ भन्ने समेत विधिराजको प्रतिवादी ।

      ३.    वादीहरूलाई हरहिसाबबाट बाँकी ठहरेको रुपैंया असामी विधिराजबाट उठाई लिन भनी लेखिएबमोजिम लिखत सौंपुवा दिएपछि असामीसंग जो गर्नुपर्ने गरी लिनु पर्नेमा मेरो उपर समेत नालिस गरेमा वादीहरूलाई नै सजाय गरी पाउँ भन्ने समेत ले. ज.ध्रुव शम्शेर ज.ब.रा. को प्रतिवादी ।

      ४.    बुझिएसम्मबाट विधिराजबाट श्री ले. ज.ध्रुव शम्शेरले लिनु पर्ने भनेको लिखतै जालसाजी किर्ते ठहर्न आएकोले वादीहरूको दाबी बमोजिमको रुपैंया श्री ले. ज.ध्रुव शम्शेर ज.ब.रा.बाट वादीहरूले भरी पाउने ठहर्छ भन्ने समेत ०१५।३।१०।३ को रा. का.दे.दो. को फैसला ।

      ५.    कारणी विधिराजले रु.१००००१ मध्ये भनी आफ्ना हस्ताक्षरले लेखि पटकपटक रुपैंया बुझाएको फिरस्ती चिठ्ठी समेत विधिराजलाई देखाई सद्धे किर्तेमा सुनाई मैले सौंपुवा गरिदिएको लेखिए बमोजिम तिरी बुझाई बाँकी ठहरेकोमा कं.रु.२०९९५ नरराज शर्मालाई र कं.रु.६०००।दिव्य मानलाई विधिराजबाट भराई दिलाई पाउँ भन्ने फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीले. ज.ध्रुव शम्शेर ज.ब.रा. को अपील ।

      ६.    सद्दे साँचो लिखतमा साक्षी बसेका मलाई जरिवाना गर्ने गरी भएको फैसलामा चित्त बुझेन भन्ने समेत सुर्येबहादुर थापाको अपील ।

      ७.    बुझिएसम्मबाट सुनाउनु नपर्ने लिखत सुनाई सद्दे किर्तेमा तहकिकात गरेको शुरु रा. का.दे.दो को गल्ती र वादीहरूको रुपैंया प्र.श्री ले. ज.ध्रुव शम्शेर ज.ब.रा.बाट भराउने गरेको मुनासिव छ भन्ने समेत ०१६।१।८।३ को अपील पहिला फाँटको फैसला ।

      ८.    मैले रुपैंया नदिएको भए रुपैंया दिए मध्ये यति आइ यति बाँकी छ । बाँकी उठाउनु भन्ने समेत नरराज दिब्यमानलाई लिखत गरी दिने थिईन । मेरो लिखतलाई शुरुले किर्ते ठहराई मलाई दण्ड गर्ने गरी भएको फैसला उपर मेरो अपील परेमा शुरुले गरेको दण्ड नलाग्ने लिखत भने कच्चा ठहर्न आएको भनी सद्दे लिखतलाई कच्चा ठहराई अरु प्रमाणको बिचारै नगरी इन्साफ भएको छ । अपीलबाट फैसला भएपछि रु.१००००१ लिएकोमा साँवा मुनाफा मध्ये दिएको कटाई बाँकी हरहिसाब दिलाई पाउँ भनी विधिराजको नाउँमा शुरुमा नालिस गर्न जाँदा साझा व्यापार सम्बन्धीको कुरामा रकम बन्दोबस्तका १६।१८ नं. का ऐनले काम छाडेका २ बर्ष भित्रको नालिस नहुँदा लाग्दैन भनी ०१७।१२।१६ मा दरपीठ गरी दिएको विपक्षले मैलाई लेखि पठाउनु भएको १८ थान चिठ्ठी र आए गएको हिसाबको फाँटवारी यो मुद्दामा भएको लिखत समेत हेरी दिनु भएमा यथार्थ व्यहोरा विदितै हुने छ । मिसिल सामेल रहेको १८ थान चिठ्ठीको हस्ता र लिखतमा विधिराज भन्ने हस्ता लेखेको खास मिलेकै छ । प्रमाणको बिचारै नगरी सद्दे लिखतलाई नकरा ठहराई भएको इन्साफमा चित्त बुझेन । बक्स भएको प्रमांगी बमोजिम सर्वोच्च अदालतबाट तहकिकात भई दिए मुनाफा समेत र नदिए बाँकी साँवा ब्याज समेत निजबाट जो पाउने ठहरेको ऐन बमोजिम दिलाई पाउँ भन्ने समेत ले. ज.ध्रुव शम्शेर ज.ब.रा. को अपील ।

      ९.    वादी दावी भएको विधिराज तर्फ पनि यसै मुद्दाबाट ठेगान लगाई दिनुपर्ने देखिएकोले छलफलमा वादीहरू र प्र.विधिराज समेतलाई झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१९।१२।६को आदेश ।

      १०.    विधिराजको नेपालीमा र इंगलिस समेतमा साइन परेको अक्षर चुरोटको प्रमाण पत्र लिंदा र मुनलाईट सिनेमाको प्रमाणपत्र लिंदा समेत गुरुज्यूले सही गर्नु भएको सही छाप अक्षर अर्थ गृह उद्योग विभागमा समेत छ भन्ने विधिराजको वा.रामप्रसादको बयानमा उल्लेख भएको र विधिराजका नाउँमा कैलास भण्डार नामको फाराम रजिष्टरको निमित्त दिनु भएको दरखास्तमा रेखात्मक र लेखात्मक सही परी उक्त कैलास भण्डार नामको फाराम रजिष्टर भएको देखिन्छ भनी १४।८।१७८ मा प.सं.२००४।०१४ को उद्योग विभागबाट रा. का.देवानी अदालत दोश्रा फाँटलाई लेखेको पत्रबाट देखिएकोले समेत उक्त सहिछाप परेको कागज मिसिलहरू जो हेर्नु पर्ने श्रेस्ता हेरी पत्ता लगाई ७ दिनभित्र पठाई दिनु भनी उद्योग बाणिज्य मन्त्रालय उद्योग विभाग अर्थ मन्त्रालय गृह मन्त्रालय समेतमा लेखि पठाई आएपछि पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको २०।८।१९ को आदेश ।

      ११.    विधिराजका हस्ताबाट लेखिएको भनी ले. ज.ध्रुव शम्शेर ज.ब.रा. ले दाखिल गरेको फाँटवारी निज विधिराजलाई सुनाएमा मैले लेखे लेखाएको हो । हिसाबको सिरमा १००००१ मध्ये भनी लेखिएको अंक अक्षर मैले लेखे लेखाएको हैन । किर्ते बनाई लेखेको हो भन्ने समेत अपील पहिलामा बयान गरेकोले त्यस तर्फ सद्दे किर्तेमा ले. ज.ध्रुव शम्शेर ज.ब.रा. को बयान हुन बाँकी देखिएकोले निजको बयान गराउन पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको २०।१०।१ को आदेश ।

      १२.   मैले दाखिल गरेको सिर हरफमा १००००१। मध्ये भन्ने अंक अक्षर समेत गुरुज्यू विधिराजले नै लेख्नु भएको हो । मैले उक्त माथिको १ हरफमा अंक अक्षर थपे थप्न लगाएको हैन । सिर्फ हिसाब घटाउन गुरुज्यूले मैले थपे थपाएको भनी बयान गर्नु भएको हो भन्ने समेत ले. ज.ध्रुव शम्शेर ज.ब.रा. को २०।१०।६को बयान ।

      १३.   फेब्रुअरी ५ ता.१९५२ को १ अप्रिल ४ सं.५२ को १ दिसंबर सं.५२ को १ समेत ३ चिठ्ठी सक्कलै पेश गरेको छु । सो हस्ता समेत भिडाई ऐन सवाल बमोजिम गरी पाउँ भन्ने ले. ज.ध्रुव शम्शेरले दरखास्त साथ चिठ्ठीहरू पेश गरेकाले विपक्षी विधिराजलाई सो चिठ्ठीहरू सुनाउनु पर्ने देखिएकोले दिन ७ को पेशी तारेख तोकी निजको वारेसलाई चिठ्ठी सुनाउन पेश गर्नु भन्ने डिभिजन बेञ्चका २०।११।८ को आदेश ।

      १४.   आदेश बमोजिमका चिठ्ठी थान ३ कानूनले प्रमाण नलाग्ने हुँदा सो चिठ्ठी सुनाउन नपर्ने हो तापनि म वारेस हुँदा सो चिठ्ठीहरूमा परेको सही छाप सद्दे किर्ते के हो ? छुट्याई भन्न सक्तिन । कारणीलाई नै झिकाई यकिन गरी पाउँ भन्ने समेत श्री राजगुरु विधिराज पण्डितज्यूको वा.चक्रमुनी तुलाधरको २०।११।१९ को बयान ।

      १५.   वादी दावी बमोजिम नरराजलाई कं.रु.२१९९५ र दिब्यमानलाई कं.रु.६०००। तिर्न बुझाउनु पर्ने कुरामा प्र. ले. ज.ध्रुव शम्शेर सावित भई प्रतिवादी फिराएको देखिन्छ । साथै उक्त रकम गुरुराज विधिराजले म्याक्रो पोलो कम्पनिको चुरोटको लाइसेन्स पाएकोले सो चुरटको व्यापार इत्यादी गरी जनरल साहेबलाई पुरै हिस्सादार बनाई नाफा भएमा दामासाहीले पाउने हिस्सा टक्रयाउने भनी कागज लेखिदिएको भनेको कं.रु.१००००१। मध्ये बाँकी रहेको रुपैंया प्र.गुरुराज विधिराजबाट उपर गरी लिनु भनी ०११।१२।२४।४ मा वादी नरराज दिव्यमानलाई कागज लेखिदिएको कुरा ले. ज.ध्रुव शम्शेरले आफ्नो प्रतिवादीमा स्वीकार गरेका छन् । सोही ०११।१२।२४।४ को ले. ज.ध्रुव शम्शेरको लिखत अनुसार वादीहरूले विधिराजबाट सो रकम पाउन नसकेकोले निजलाई पनि प्रतिवादी बनाई यो मुद्दा चलेको छ । अब ले. ज.ध्रुव शम्शेरले वादीहरूलाई गरी दिएको लिखत बमोजिम सो रुपैंया निजहरूलाई प्र.गुरुराज विधिराजलाई भराई दिनु पर्छ कि भन्ने तर्फ बिचार गर्दा, ले. ज.ध्रुव शम्शेरको कथनानुसार निजलाई रुपैंया तिर्न बुझाउन पर्ने कुरामा प्र.गुरुराज विधिराज इन्कार रहेको देखिन्छ । अतः प्र. ले. ज.ध्रुव शम्शेरले निजको असामीबाट असूल गर्नु भनी विवाद रहित थैली आफ्ना साहुलाई सौपिएको हुन आएन । जुन असामीलाई आफू स्वयम् वादी भई कायम गराउन पर्ने हो सो कुरा निजको साहु वादीबाट कायम गराउने तर्फ समेत यो मुद्दा चल्दै आएको देखिन्छ । यस्तोमा प्रतिवादीबाट पेश भएको कागज प्रतिवादीलाई नै सुनाई निर्णय गर्नुपर्ने अवस्था पर्न जान्छ । जो अ.बं.१०४ को बिपरित छ । यस मुद्दा सम्बन्धमा बक्स भई आएको हु.प्र.बाट पनि यस प्रकारको कुनै मनसाय झल्किंदैन । उपरोक्त कारणहरूबाट वादी दाबी बमोजिमको थैली प्र.ध्रुव शम्शेरबाट निजहरूले भरी पाउने र प्र.ध्रुव शम्शेर ज.ब.रा., प्र.गुरुराज विधिराजको लेनदेन व्यवहार तर्फ ऐन बमोजिम अदालतमा नालिस गरेको बखत ठहरे बमोजिम हुने भन्ने जि.अ. को इन्साफ मनासिव छ भन्ने समेत २०।११।२६को डिभिजन बेञ्चको फैसला ।

      १६.    लेनदेनमा फेरी मैले नालिस दिई शुरुमा जानु भनी सुनाउन नहुने । सबै मुद्दा सर्वोच्च अदालतबाटै हेरी दिनु भन्ने प्रमांगी बक्सेको फेरी शुरुमा नालिस गर्न गए पनि अरु सबुद बुझ्नु पर्ने केही छैन । त्यस्तोमा फेरी शुरुमा नालिस गर्न जानु पर्ने होइन । प्रतिवादीले पेश गरेको लिखत प्रतिवादी विधिराजलाई सुनाउन नमिल्ने भनी फैसलामा उल्लेख भएकोले सर्बोच्च अदालतबाटै साबिक नरहने गरी दोहर्‍याई हेरी मुद्दा किनारा गरी दिनु भन्ने प्रमांगी पाउँ । शुरुमा नालिस दिन जान नपरोस भन्ने समेत प्रतिवादी ले. ज.ध्रुव शम्शेर ज.ब.रा. ले दिनु भएको बिन्तिपत्रमा ।

      १७.   न्यायिक समिति राजदरबारको संख्या जा.४०।ग।७५ मिति ०२१।८।१२।६ को पत्रमा उल्लेख भएको निवेदक, प्रतिवादी अपीलाट रथी ध्रुव शम्शेर ज.ब.रा.र विपक्षी प्रतिवादी रा.गु.विधिराज पाण्डे पण्डितसंगको लेनदेन किर्ते मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चको ०२०।११।२६ को फैसला उपर दोहर्‍याई पाउँ भन्ने निवेदक, प्रतिवादीको निवेदन पर्न आएको । न्यायिक समितिबाट यसमा प्रतिवादीबाट पेश भएको कागज प्रतिवादीलाई सुनाई निर्णय गर्नु अ.बं.१०४ नं.बिपरित छ । वादी दावी बमोजिमको थैली प्र.ध्रुव शम्शेरबाट भरी पाउने र प्र.ध्रुवशम्शेर विधिराजको लेनदेन व्यवहारतर्फ ऐन बमोजिम अदालतमा नालिस गरेका बखत ठहरे बमोजिम हुने भनी सर्बोच्च अदालत डिभिजन बेञ्चले ठहराएको देखिंदा व्यहोरा साँचो भए वादीहरू र प्र.ध्रुव शम्शेरले यस केशमा सर्वप्रथम वादीहरू र प्र.ध्रुव शम्शेरको बीचमा वादीहरूलाई आफुले तिर्नु पर्ने कर्जिमा प्र.विधिराजबाट लिनुपर्ने भनी प्र.ध्रुव.शम्शेरले विधिराजले गरिदिएको रु.१००००१ को ०७ साल चैत्र १७ गतेको तमसुक सौपि गरी दिएको ०११।१२।२४ को कागज कानूनी वा गैरकानूनी के हो ? निर्णय गरी दिंदा सो कागज कानूनी देखिएमा त्यस कागजमा लेखिएका शर्त बन्देज मान्य हुन आउने र सो शर्त बन्देज मुताविक नालिस दावी गरेको कुराको तहकिकात तथा निर्णय दिनु पर्ने हुन आउँथ्यो । यदी कागजै गैरकानूनी देखिएमा स्वयमै कागज रद्द हुन आई कारवाई नै नचल्ने हुन जान्थ्यो ।

      १८.   यस स्थितिमा अ.बं.१०४ नं. ले प्रतिवादीबाट पेश भएको कागज प्रतिवादीलाई सद्दे किर्तेमा सुनाउने वा नसुनाउने भन्ने कुराको तर्क वितर्क गर्ने संभावनासम्म पनि गर्न नपरी प्रमाणका कागजातहरू सिधै सुनाई तहकिकात गर्नु पर्ने हुन आउँछ । जुन अ.बं. को १०४ नं. मा वादीका प्रमाणको कागज प्रतिवादीलाई र प्रतिवादीका प्रमाणको कागज वादीलाई सुनाउने कुरा उल्लेख छ । उक्त वाक्यांशको वादीको प्रतिवादीलाई प्रमाण लाग्न आउने कागज जसरी जहा जो सुकैबाट आए पनि सुनाई तहकिकात गर्नु पर्ने भन्ने जनाउँदछ र जुन रु.१००००१ को मूल कागज प्र.ध्रुव शम्शेरले पेश गरेको नभई वादीहरूबाटै पेश भएको देखिन्छ । जसमा कारवाई वादीका दावीको निर्णयलाई मिसिलका रुपबाट बुझ्नु पर्नेसम्मका तहतहका बस्तु वा व्यक्ति बुझ्दा दाखिल हुन आउने कागज प्रमाणबाट वादी प्रतिवादीहरूलाई प्रमाण लाग्ने भए लिई सद्दे किर्तेमा तहकिकात गरी निर्णय दिनु पर्नेसम्म पनि हुन आउँछ । जुन कुरा न्यायिक सिद्धान्तका मुल मत पनि हुन् । एवं १०४ नं. मा प्रतिवादीबाट पेश भएको कागज प्रतिवादीलाई सुनाउन हुँदैन भन्ने वाक्यांश रहेको पनि देखिँदैन र एकाको सम्पत्ति अर्कालाई दानबकस दिनु अथवा अर्कासँग लिनु पर्ने सम्पत्ति एकालाई दिनु व्यवहारिकता पनि हो र गैरकानूनी भन्ने कानूनी आधार नदेखिंदा कानूनी भन्नु पर्ने हुन आउँछ ।

      १९.    सर्वोच्च अदालत उक्त सिद्धान्तबाट कसैबाट लिनुपर्ने धन कसैलाई लेखिदिएकोमा पाउने व्यक्तिले नालिस गरी लिन प्रतिबन्ध लाग्न जाने पनि हुन जान्छ । त्यसकारण सर्वोच्च अदालतले अ.बं.१०४ नं. ले प्रतिवादीबाट पेश भएको कागज प्रतिवादीलाई सुनाउन नमिल्ने भनी प्र.ध्रुव शम्शेर र विधिराजको लेनदेन तर्फ ऐन बमोजिम नालिस परेमा ठहरे बमोजिम हुने भन्ने ठहराएको कुरा युक्तिसंगत भन्न मिलेन र वादीहरूलाई प्र.ध्रुव शम्शेरले गरी दिनु भएको कागज कानूनी नै देखिन आउँछ र जुन कागजका शर्तबाट प्र.विधिराजले ध्रुव शम्शेरलाई दिनु पर्ने नपर्ने निर्णयलाई त्यस्का सम्बन्धमा प्रमाण लाग्ने कागज समेत अंग प्रत्यंगको निर्णय गरी अंग पुर्‍याई वादीहरूले प्र.विधिराजबाट के कति पाउने हो वा नपाउने के हो ? निर्णय दिनुपर्ने देखिन्छ । तसर्थ, सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको नदेखिंदा दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ  भनी मौसुफका प्रमुख सचिवालयबाट लेखि आएको ०२१।८।२२ को हुकुम प्रमांगी ।

      २०.   बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त लगतमा दर्ता गरी दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु । यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको दुई प्रति लिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भनी फाँटमा बुझाई दिनु भन्ने समेत ०२१।८।२४ को श्री माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

      २१.   यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२२।२।१२।३ मा पेश भई निवेदक प्रतिवादी रथी ध्रुव शम्शेर तर्फबाट विद्वान प्लिडर नन्दीकेशरले र प्रतिवादी विधिराजको तर्फबाट विद्वान एडभोकेट कृष्णप्रसाद पन्तले, वादी नरराजको तर्फबाट विद्वान वैतनिक वकिल प्लिडर इश्वरीलाल झाले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निम्न लिखित प्रश्नहरूको निर्णय गर्नुपर्ने हुन आयो ।

(१)    प्रतिवादीबाट पेश भएको रु.१००००१ को ०७।१२।१७।६ को विधिराजले ध्रुव शम्शेरलाई गरी दिएको भनेको कागज, व्यापारको साझा हिस्सेदारीको हो वा लेनदेन कारोबारको के हो ?

(२)   यदि लेनदेन कारोबारको कागज हो भने त्यस्तो कागज साहुले अरुलाई सौपुवा गरी दिन मिल्छ मिल्दैन ?

(३)   यदि मिल्ने हो भने वादीहरूले रुपैंया कसबाट भरी पाउने हो ?

      २२.   सर्वप्रथम, पहिलो प्रश्न तर्फ हेरेमा विधिराजले ध्रुब शम्शेरलाई गरी दिएको भनेको रु.१००००१ को ०७।११।१७।६ को कागज व्यहोरामा श्री मे. ज.ध्रुब शम्शेरबाट बक्सेको रु.१००००१ व्यापारमा लगाउन लिएको ठीक साँचो हो । त्यस वापतमा सिगरेट इत्यादि व्यापारमा श्री मे. ज.ध्रुब शम्शेर ज.ब.रा.लाई पुरा हिस्सेदार बनाएँ । यो लेखिएको व्यापारमा नाफा भएकोमा उहाँलाई दामासाहीले पाउने हिस्सा पुरा टक्राउने छु । यस्मा आफ्नो इज्जत धर्मको ख्याल गरी बेइमान गर्ने छैन भन्ने र लोभानि पापानी गरेका थाहापाई बक्सेमा मेरो घैघराना जेथाबाट उपर गरिलिनु भन्ने समेत बोली परेको दखियो । यो यस्को यो हिसाबले यती हिस्सा भनी साँवा रु.१००००१ नै व्यापारको हिस्सामा लगाएको व्यहोरा र नोक्सान भएमा यसो गर्ने भन्ने कुनै शर्त उक्त कागजमा नलेखिएकोले मुनाफा दिनेसम्म कुरामा हिस्सेदारी बनाएको देखिने र प्रतिवादी विधिराजले नै सो कागजलाई व्यापारको साझा हिस्सेदारी कागज हो नभनी सो कागज सद्दे किर्तेमा सुनाउँदा निज विधिराजको वा.रामप्रसादले गरेको ०१४।१।१३।५ को बयानमा व्यापारको हिस्सेदारीमा लिएको भए हिस्सेदारको संख्या हिस्सा खुलाई लाभहानीको सरिक भै श्रेस्ता हिसाव बुझ्ने बुझाउने इत्यादि कानूनी शर्त विवरण खुलेको हुनु पर्ने । जम्मा पुँजीको अंक बेगर दामासाहीको हिस्सा भन्ने र व्यापारको हिस्सेदारले नाफा मात्र खाने नोक्सान नव्यहोर्ने हुनै नसक्ने भन्ने लेखेको देखिएको समेतबाट उक्त कागजलाई व्यापारको साझा हिस्सेदारीको कागज हो भन्न मिलन । लेनदेन कारोबारकै कागज रहेछ भन्ने देखिन आयो ।

      २३.   त्यस्तो कागज अर्कालाई सौंपुवा गरी दिन मिल्छ मिल्दैन ? भन्ने दोश्रो प्रश्न तर्फ बिचार गरेमा, यस किसिमको लेनदेन व्यबहारको कागज साहुले अरुलाई सौंपुवा गरी दिन लिन हुने ऐनमा प्रष्ट व्यवस्था नखुले पनि यसरी सौंपुवा लिन दिन हुँदैन भन्ने उस बखतको ऐनले बन्देज नगरेको र हालको मुलुकी ऐन लेनदेन व्यवहारको ३७ नं. मा यस महलका अरु नम्बरहरूमा व्यवस्था नभएको अरु कुनै व्यवहार सम्बन्धी शर्तनामा कबुलियत र सम्झौताको लिखत रहेछ भने लिखतै बमोजिम हुन्छ भन्ने उल्लेख भएको । लेनदेन व्यवहारको यस्तो लिखत अचल चिज नभई चल मानिने र जायजात सर्वस्वमा आएको सम्पत्ति लिलाम बिक्री गर्ने बिषय दण्ड सजायको महलको १० नं.दफा ४ मा तमसुक बहिखाताको लहना तहसिल हुने कागज पत्र आएको भए जायजाति सर्वस्व गर्ने अड्डैमा लगत गरी ऐन बमोजिम असुल गर्नु पर्छ भन्ने व्यवस्था भएको । त्यसबाट एका साहुले एका असामी संग लिनु पर्ने रुपैंया निज साहुले तिर्नु पर्ने अर्को साहुको रुपैंयामा मिलाउन हुने नै देखिएकोले समेत लिने दिनेको मन्जुरी भएमा त्यसरी सौंपुवा लिन दिन नमिल्ने देखिएन । हदम्याद तर्फ बिचार गर्दा, माथि लेखिए बमोजिमको लिखत लेनदेन व्यवहारकै कायम भएको र मुद्दा परेको अवस्थामा प्रचलित साहु असामीको २ नं. को म्याद १० बर्ष भित्रै उजुर परेको देखिएकोले हदम्याद नाघेको भन्न भएन ।

      २४.   अब वादीले रुपैंया कसबाट भरी पाउने भन्ने तेश्रो प्रश्नको निर्णय गर्न, प्रतिवादीबाट पेश भएको कागज प्रतिवादीलाई नै सुनाई निर्णय गर्न अ.बं.१०४ नं. को बिपरित भनी सद्दे किर्तेमा सुनाएको कारवाई रद्द गर्ने ०२०।११।२६।२ को डिभिजन बेञ्चको फैसलामा राय व्यक्त गरे तर्फ नै पहिले बिचार गर्नु पर्ने हुन आउँछ । त्यस तर्फ हेरेमा विधिराजले ध्रुब शम्शेरलाई गरी दिएको भनेको रु.१००००१ को कागजको हकमा वादी तर्फबाटै प्रमाणमा पेश भएको देखिएको र विधिराजले बुझाएको भनेको ८९९०७ को हिसाबको फाँटवारीको हकमा प्रतिवादी ध्रुब शम्शेरबाट पेश भएको भए पनि अ.ब.१०४ नं. ऐनमा वादीको प्रमाणको कागज प्रतिवादीका प्रमाणको कागज वादीलाई देखाउने सुनाउने कुरा उल्लेख भएको । यदी प्रतिवादी धु्रबशम्शेरबाट पेश भएको रु.५९९०७ को हिसाबको फाँटवारी कागज सद्दे नै हुन आएमा त्यसबाट प्रतिवादी विधिराजले ध्रुबशम्शेरलाई गरी दिएको भनेको १००००१ को कागज कायम भई ध्रुब शम्शेरले गरी दिएको सौंपुवा लिखत मान्य हुन आई सो लिखत बमोजिम वादीहरूले विधिराजबाट रुपैंया भरी पाउने अवस्था पर्न आउने भएबाट सो रु.५९९०७ को हिसाबको फाँटवारी कागज मुद्दामा प्रतिवादीबाट पेश हुन आएपनि वादीकै प्रमाणको हुन आउने हुनाले समेत त्यस्तो कागज प्रतिवादी विधिराजलाई देखाए सुनाएको कारवाई अ.ब.१०४ नं. को विरित भन्न नमिल्ने हुँदा सो कागज सद्दे किर्तेमा सुनाएको कारवाई रद्द गर्ने गरेको डिभिजन बेञ्चको उक्त राय मिलेको देखिएन ।

      २५.   वादीबाट पेश भएको रु.१००००१ को ०७।१२।१७।६ को कागजलाई प्र.विधिराजले किर्ते भने पनि सो रु.१००००१ मध्येको हिसाब बुझाएको भनी प्रतिवादी ध्रुब शम्शेरबाट पेश हुन आएको रु.५९९०७ को ०९।७।१३ को हिसाबको फाँटवारीका हकमा निज विधिराजले पुरै किर्ते भन्न नसकी सिमा १००००१ मध्ये भनी लेखेको अंक अक्षरसम्मलाई किर्ते र अरु हिसाब फाँटको हकमा ध्रुब शम्शेरले सुर्जेबहादुर थापाका नाउबाट बनारस ईस्पेरियल बैंकमा जम्मा गरेको रुपैंया तपाँईका नाउमा सार्नु पर्‍यो भनेकाले मेरो नाउँमा सारेकोमा भा.रु.१० हजार ११ जनवरी १९५२ तदनुसार ०८।८।२७ मा चेकद्वारा बैंकबाट लिएको र अरु पटकपटक लिएको रु.५९९०७ को हिसाबमै लेखिएको भनी स्वीकारै गरी ७०००० मध्येको हिसाब देखाई बयान गरेकोमा श्री सुर्जेबहाुदर थापा बुझिंदा सो रु.७०००० मेरो हो । ले ज.ध्रुब शम्शेरको होइन । विधिराजले मसँग रु.७०००० सापटी मागेकाले मैले सापटी दिई निज विधिराजले आफ्नो खातामा जम्मा गराउनु भएको हो । त्यस पछि ले. ज.ध्रुब शम्शेरलाई रु.१०००० मैले तिर्नु पर्ने हुँदा सो मेरो लेना मध्ये रु.१० हजार ले. ज.ध्रुबशम्शेरलाई दिनु भनी मैले भनेकाले विधिराजले, ले. ज.ध्रुब शम्शेरलाई दिनु भएको हो । सो कटाई अरु लेना बाँकी तर्फ जो गर्नु पर्ने कारवाई मैले नै गर्न र मेरो धनमा अर्काको थाप्लो हाली सुख नपाउने भन्ने समेत रिपोर्ट गरेको देखिएकोले ले. ज.ध्रुब शम्शेरको सुर्जेबहादुरका नाउँमा रहेको रुपैंया आफ्नो नाउँमा सारेको लिखत सबुद निज विधिराजले कुनै दिन नसकेको र यदि निजको भनाई अनुसार रु.७० हज्जार मध्येकै हिसाब बुझाएको फाँटवारी भए रु.७० हजार मध्ये चेकद्वारा बैंकबाट रु.१० हजार लिएको भनेको ०८।९।२।७ भन्दा अगाडि र पछाडि मितिको साना साना कलमको हिसाब समेत सो ०९।७।१३ को हिसाबको फाँटवारीमा पारेको भए पछि बीचको मिति ०८।९।२७ मा चेकद्वारा बैंकबाट लिएको भनेको रु.७० हज्जार मध्ये रु.१० हजारको त्यत्रो कलमको हिसाब समेत सो ०९।७।१३ को फाँटवारीमा जरुर पारेको हुनु पर्ने पारेको देखिएन । रु.७० हजार मध्येको हिसाब भए चेकद्वारा लिएको भनेको रु.१० हजार र सो फाँटवारी बमोजिम ५९९०७ समेत रु.६९९०७ हुने भई त्यत्रो रुपैंयाको हिसाब फार्छे गरी सकेपछि व्यवहार राफ साफ नगरी रु.९३ मात्र बाँकी राख्नु पनि नपर्ने र उस्मा पनि सो ०९।७।१३ मै ले. ज.ध्रुब शम्शेरबाट आफूले लिएको भनी पेश गरेको रु.५९९०७ को भरपाईमा समेत सो रु.७०००० सत्तरी हज्जार मध्ये भन्ने नजनाई लेना मध्ये भन्ने जनाएको । सो लेना मध्ये भन्ने शब्दले नै रु.७० हजार बाहेकको छुट्टाछुट्टै लेना मध्येको हिसाब रहेछ भन्ने कुराको संकेत गर्ने हुनाले समेत रु.७० हजार मध्येको हिसाब बुझाएको फाँटवारी भन्ने विधिराजको भनाई जिकिर समर्थित हुन आएन । सो हिसाबको फाँटवारीको सिरमा लेखिएको १००००१ मध्ये भन्ने अंक अक्षरमा अरु अंक अक्षरसँग लिपी टाँका मिलेको देखिनाले किर्ते गरेको भन्न समेत नमिल्ने हुँदा सो हिसाबको फाँटवारी रु.१००००१ लेना मध्येकै रहेछ भन्ने प्रष्ट हुन्छ र सो हिसाबको फाँटवारीले नै रु.१००००१ को लिखतलाई समर्थन गरेको छ । रु.१००००१ उक्त कागजको हकमा लिनु दिनु भएरै मैले लिखत लेखिदिएको भनी लिखत साक्षी श्री सूर्यबहादुर थापाले बयान गर्नु भएको र सो कागजमा भएको सही छापसँग भिडाउन गृह मन्त्रालय उद्योग बाणिज्य मन्त्रालय समेतबाट मगाई आएको फायल सामेल कागजहरूमा भएको र मिसिलमा भएको सही छापहरू समेतसँग उक्त लिखतको सहीछाप भिडाउदा निज विधिराजको प्रत्येक कागजमा भएको सही छाप एक अर्कोसँग नमिल्ने हुनाले उपरोक्त हिसाबको फाँटवारीले समर्थन गरेको रु.१००००१ को लिखत निजले गरी दिएको रहेनछ भन्न मिलेन ।

      २६.   तसर्थ, उपरोक्त कारणहरूबाट रु.१००००१ को ०७।१२।१७ को लिखत र रु.५९९०७ को भरपाइको शिरमा लेखिएको १००००१ मध्ये भन्ने अंक अक्षर किर्ते भन्ने विधिराजको दावी जिकिर पुग्न सक्दैन । सो रु.१००००१ मध्ये नोट रु.६१४३७ ने.रु.१६९५५ आएको कटाई अरु बाँकी भनी नरराजको रु.२०९९५ दिव्यमानको रु.६००० लेनामा उक्त लिखत ले. ज.ध्रुब शम्शेर ज.ब.रा. ले वादीहरूलाई सौंपुवा गरी दिएको भई सो हिसाबबाट वादीहरूको उक्त साँवा रुपैंया भन्दा बढी नै विधिराजसँग बाँकी भएको देखिएको र व्याज भराई पाउँ भन्ने वादीहरूको दावी नभएकोले ध्रुब शम्शेरले गरिदिएको सौंपुवा लिखत बमोजिम वादी नरराजले रु.२०९९५ वादी दिव्यमानले भा.रु.६००० समेत विधिराजबाट भरी पाउने समेत ठहर्छ । शुरु रा. का.दे.दो.अपील पहिला र डिभजन बेञ्च समेतको इन्साफ मिलेको देखिएन अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी ले. ज.ध्रुब शम्शेर ज.ब.रा.सँग लिने गरेको देहाय बमोजिम कोर्ट फि निजलाई नलाग्ने हुँदा असूल भईसकेको भएको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी का.श्रै.अ.त. मा लगत दिनु .........................१

रा. का.दे.दो. का.०१५।३।१०।३ का फैसला र अ.त.दे. का.०१५।३।२७ का लगत बमोजिम कोर्ट फि रु.११०९।६०

डिभिजन बेञ्चको २०।११।२६ का फैसला र का.दे.त. का.२०।१२।९ का लगत बमोजिम ऐ.ऐ.१२।७५।३२।३

आदेश बमोजिम मैले कोर्ट फि नली नालिस दर्ता भएको र हाल वादी बमोजिम बिगो प्रतिवादीका.ई.ढोका टोल बस्ने विधिराज पाण्डेबाट वादीहरूले भरी पाउने भई वादीले जितेकाले रा. का.दे.दो. का.०१५।३।१०।३ का फैसलामा उल्लेख गरे बमोजिम हिसाबले लिनु पर्ने कोर्टफि रु.११०९।८५ मध्ये नालिस दर्ता गर्दा टिकट टाँसेको रु.।२५ कटाई बाँकी रु.११०९।६० प्रतिवादी विधिराज पाण्डेबाट असुल भए निजबाट अुिल हुन नसके वादी नरराज दिव्यमानबाट असुल गर्न का.क्षे.अ.त. मा.लगत दिनु ............................२

वादी देहायका मानिसलाई रा. का.दे.दो. का.०१५।३।१०।३ का फैसला र अ.त.बिगो फाँटको ०१५।४।१९ को लगत बमोजिम प्रतिवादी ध्रुब शम्शेरबाट भराई दिन गरेको देहाय बमोजिम बिगोको लगत कट्टागरी दिनु भनी ऐ ऐ .........................३

का.ई.पुतलीसडक बस्ने नरराज शर्मा के भा.रु.२०९९५

का.ई.मरु तगोचोयां बस्ने दिव्यमान सिंह ताम्राकारके ऐ ६०००

रा. का.दे.दो. का देहायका मानिस के ऐन छाडेमा भनी ०१६।१।८।३ को अपील पहिलाको फैसला र अ.त.दे(का( ०१६।९।१६ का लगत बमोजिम गरेको देहायबमोजिम जरिवाना नलाग्ने हुँदा असुल भएको भए फिर्ता बाँकी भए लगत काटी दिनु ऐ ऐ .......................४

ना.सु.गुणनाथ पाध्या ।५०

अ. डि.गुण राज पाध्या के ।३०

वि.डम्बरबहादुर श्रेष्ठ २०

का.ई.ढोकाटोल बस्ने विधिराज पाण्डे के किर्ते भन्ने तर्फ निजको दावी जिकिर पुग्न नसक्ने ठहरेकाले जम्मा अंक भा.रु.१००००१ मध्ये आईसकेको भन्ने नोट रु.६१४३७ ने रु.१६९५५ को सटही दरले भा.रु.१०५९६ ।। समेत जम्मा भा.रु.७२०३३ कटाई बाँकी अंक भा.रु.२७९६७ को किर्ते ठहरे प्रतिवादीले ज ध्रुब शम्शेर ज.ब.रा.के तत्काल प्रचलित किर्त कागजको ७ नं.बमोजिम काम भई नसकेको हुँदा आधि भा.रु.१३९८३। को पोली सावित गर्न नसकेमा ऐन, २२ नं. ले आधि भा.रु.६९९१ । को सटही दरले ने.रु.१११८६।८५ दण्ड हुन्छ वारेस हुँदा उपर गर्न का.श्रे.अ.त. मा लगत दिनु ........................५

वादी देहायका मानिसके प्रतिवादीका.इ.ढोकाटोल बस्ने विधिराज पाण्डेबाट देहाय बमोजिम बिगो भराई पाउँ भनी ऐनका म्यादभित्र दरखास्त गरेमा कोर्टफि ऐन, १७ को दफा १३ बमोजिम सैक्रा २।५० दस्तुर लिई भराई दिनु भनी ऐ ऐ ............................६

का.इ.पुतलीसडक बस्ने नरराज शर्मा के भा.रु.२०९९५ को सटही दरले ने.रु.३३५९२ का ई मरु तगोचिया बस्ने दिव्य मान सिंह ताम्राकार के भा.रु.६००० रु. को ऐ ऐ ९६०० अपील पहिलाका सुशेरमान हाल नोकरीमा वहाल नहुँदा रा. का.दे.दो. का ना.सु.गुणनाथ पाध्या अ. डि गुण राज पाध्या वि डम्बरबहादुर श्रेष्ठ र अपील पहिला का.अ.ख रामबहादुर प्रधान वि दण्डपानी पाध्याहरूको इस्सफ उल्टीको रेकर्ड राख्न रजिष्ट्रार अफिसमा सूचना दिनु .......७

वादी नरराज दिव्यमानले नालिस गर्दा कोर्टफि वापत टिकट टाँसेको रु.।२५ले ज.ध्रुब शम्शेरबाट असुल भएको कोर्ट फि मध्येबाट दस्तुर नली भराई दिने गरी ०२०।११।२६ का डिभिजन बेञ्चका फैसला बमोजिम लगत दिएको सो लगत कट्टा गरी दिनु, सो रु.।२५ पैसा प्र.विधिराजबाट वादी नरराज दिव्यमानलाई दस्तुर केही नली भराई दिने गरी लगत कस्नु भनी ऐ ऐ ....................८

०२०।११।२६।२ का डिभिजन बेञ्चका फैसलामा प्रतिवादीले. ज.ध्रुब शम्शेरसँग रुजु हुँदा असूल भएको भनी उल्लेख भएको कोर्ट फि मध्ये रु.१। ऐन सवालको रीत पुर्‍याई निजलाई फिर्ता दिनु भनी ऐ ऐ .............................९

नियम बमोजिम मिसिल बुझाई दिनु ........................१०

 

 

इति सम्वत् २०२२ साल जेष्ठ २६ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु