शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२०८ - नामसारी दर्ता बदर

भाग: २९ साल: २०४४ महिना: पौस अंक:

निर्णय नं. ३२०८     ने.का.प. २०४४      अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४४ सालको दे.पु.नं. ७०७

मुद्दा : नामसारी दर्ता बदर ।

 

पुनरावेदक/प्रतिवादी: का.जि.भिमढुङ्गा गा.पं.वार्ड नं. ४ बस्ने दीर्घमान मानन्धर ।

विरुद्ध

विपक्षी/वादी: ऐ. ऐ. अष्टनारायण मानन्धर ।

            लोक मानको मु.स.गर्ने तीर्थमाया मानन्धर ।

फैसला भएको मिति: २०४४।८।२४।५ मा

     बाबु वा लोग्ने जीवित छँदै अंशबण्डा नभई सँग साथमा रहँदा बस्दाकै अवस्थामा बाबु वा लोग्नेको मुत्यु भएमा बाबु बाजेको मृत्यु पश्चात बाँकी पैतृक सम्पत्तिमा सबै अंशियारको बराबर हक लाग्ने, प्रस्तुत मुद्दामा यी वादी आफ्नो फिरादपत्रमा नै बाबु परलोक हुनु अगावै अंशबण्डा गरी छुट्टी भिन्न बसेको कुरालाई स्वीकार गरेको देखिन्छ, यस्तो अवस्थामा अंशबण्डाको १४ नं. आकर्षित नहुने ।

(प्रकरण नं. १४)

     गा.पं.को सिफारिश सम्बन्धमा जालसाजी मुद्दा चली वादी दावी नपुग्ने ठहरी बा.अं.अ.बाट भएको फैसला अन्तिम रुपमा रहेको देखिएको समेतबाट बाबुलाई यी प्रतिवादीले पालन पोषण गरेको भन्ने कुरा पुष्टि हुन आयो, यस्तो अवस्थामा बाबुको मृत्युपछि निजको अपुताली यी प्रतिवादीले नै पाउने ।

 (प्रकरण नं. १६)

पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री अनुराज शर्मा

विपक्षी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    पुनमानका २ श्रीमतीमा कान्छी हरिमायाबाट हामी अष्टनारायण र लोकमान तथा जेठी रत्नमायाबाट दीर्घमानको जन्म भएको, बाबु तथा दुवै आमाहरूको देहावशान भइसकेकोमा बाबुको सम्पत्तिमा ३ जनाकै बराबर हक लाग्ने हो । हामी सबै अंशियारहरू अंश भिन्न  भइसकेको स्थितिमा बाबुको नाममा रहेको बालाजु गा.पं.वार्ड नं. ३(क) कि.नं.२६१ को ज.रो. १० जग्गालाई पञ्चायतको सिफारिशको आधारमा मा.पो.का.काठमाडौंको मिति ०३९।५।१६ को टिप्पणी सदर अनुसार विपक्षीका नाममा नामसारी दर्ता परिणत गरी दर्ता प्रमाण पूर्जा दिने कार्य भएकोले ३ भागको २ भाग हाम्रो हक जति हामीहरूका नाममा छुट्टैछुट्टै दर्ता गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा दिलाई पाउँ भन्ने समेत व्यहोराको ०३९।८।१८।६ को फिरादपत्र ।

३.    हामी भिन्दाभिन्दै आमाका सन्तान भएका, अंशबण्डा पश्चात पिता मसँग बसी आएका, नाता प्रमाणित गरेको आधारमा पालन पोषण गरेको भन्न मिल्दैन । बाबुको पालन पोषण र मृत्यु पश्चात काजकृया पनि मैले नै गरी आएको हुँदा हकदैया नपुग्ने वादीको दावी कायम रहन नसक्ने हुँदा मेरो नामको जग्गा दर्ता सदर कायम गरी वादी दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र ।

४.    कानुनी प्रश्नमा विबन्धन लाग्न नसक्ने तथा प्रतिवादीले वादीलाई पालन पोषण गरेको भन्ने बुझिएका साक्षी प्रमाणबाट देखिएको तर वादीले बाबुलाई पालन पोषण गरेको भन्ने किटान साथ भन्न समेत नसकेको हुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत शुरु का.जि.अ.को फैसला रहेछ ।

५.    का.जि.अ.को फैसलामा चित्त बुझेन शुरु वादी दावी बमोजिम गरिपाउँ भन्ने समेत वादीको बा.अं.अ.मा परेको पुनरावेदनपत्र ।

६.    बाबुले आफूसँग अंश मिसाई बसेको भन्ने जिकिर प्रतिवादीले लिन नसकेको हुँदा विवादित जग्गामा वादी प्रतिवादीले बराबर हक लाग्ने देखिँदा इन्साफ शुरुको सदर भन्ने समेत बा.अं.अ.को फैसला ।

७.    बा.अं.अ.को फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको म.क्षे.अ.मा निवेदन परेकोमा अनुमति दिइएको रहेछ ।

८.    विवादित जग्गा पुनमानको दर्ता भएकोमा निजको मृत्यु पश्चात यो यति यसले खाने भन्ने कुनै सबूद प्रमाण गुज्रन आएको नहुँदा छोराहरूले बराबर खान पाउने नै हुँदा सो को ३ खण्डको २ खण्ड प्रतिवादीको नाममा नामसारी दर्ता हुने ठहर्‍याई गरेको बा.अं.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को फैसला ।

९.    म.क्षे.अ.को फैसलामा अंशबण्डाको १४ नं. तथा अपुतालीको ६ र २ नं. समेतको त्रुटी हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन पर्न आएको रहेछ ।

१०.    वादी प्रतिवादीहरू आआफ्नो अंश लिई बेगल बसेका र बाबु आमा दुवै परलोक भएकोमा विवाद देखिंदैन । प्रतिवादीले बाबुलाई आफूसँग राखी पालन पोषण स्याहार सम्हार गरेको मरेपछि काजकृया गरेको भन्ने गा.पं. को सिफारिशको आधारमा नामसारी दर्ता गरेको पाइन्छ । गा.पं.को सिफारिशमा जालसाजी मुद्दा चली सिफारिश सद्दे ठहर भएको विवाद देखिँदैन। बाबु २०२२ सालमा परलोक भएकोमा ०३९ सालमा फिराद परेको आधारमा दावी अनुसार नामसारी दर्ता हुने ठहर्‍याएको म.क्षे.अ.को फैसलामा अपुतालीको ६ नं. समेतको त्रुटी देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको ०४३।१२।१८।४ को आदेश रहेछ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अनुपराज शर्माले गर्नु भएको बहस समेत सुनियो । यसमा म.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय गर्नु पर्ने देखियो ।

१२.   यसमा विवादित कि.नं. २१६ को जग्गा बाबु पुनमानको नाममा दर्ता भएकोमा निजको मृत्यु पश्चात गा.पं.को सिफारिश समेतको आधारमा उक्त  जग्गा यी प्रतिवादी दीर्घमानको नाममा नामसारी गरी ज.ध.प्र.पू. समेत दिने गरी मा.पो.का. काठमाडौंबाट मिति ०३९।५।१६ मा निर्णय गरेको देखिन्छ । बाबुको नाममा रहेको सम्पत्ति बाबुको शेषपछि हामी सबै छोराहरूले बराबर गरी बाँडी खान पाउने भन्ने जिकिर लिंदै यी वादीहरुले  आफ्नो हक जतिमा नामसारी दर्ता बदर मुद्दाको फिराद दिएको देखिन्छ । तर उक्त फिरादमा बाबु ०२२ सालमै परलोक भइसकेका र त्यसभन्दा अगावै यी वादी प्रतिवादीहरू पनि अंशबण्डा गरी छुट्टा छुट्टै बसी आएको कुरालाई स्वीकार गरेको पाइन्छ ।

१३.   यसरी छुट्टी भिन्न भएपछि बाबुलाई आफूले नै पालन पोषण गरी सँग साथमा राखेका थियौं भनी भन्न यी वादीले सकेको देखिँदैन ।

१४.   वादीले आफ्नो फिरादमा अंशबण्डाको १४ नं. को दावी लिएको पाइन्छ । अंशबण्डाको उक्त १४ नं. मा बाबु वा लोग्नेको शेषपछि अंश गर्दा उसको काजकृया गरी बाँकी रहेको पैतृक सम्पत्तिमा संग बसेका र बेग्लै बसेका समेत सबै स्वास्नी छोराहरूको बराबर अंश हक लाग्ने भन्ने उल्लेख भएको पाइन्छ । यसरी बाबु वा लोग्ने जीवित छँदै अंशबण्डा नभई सँगसाथमा रहँदा बस्दाकै अवस्थामा बाबु वा लोग्नेको मृत्यु भएमा बाबु बाजेको मृत्यु पश्चात बाँकी पैतृक सम्पत्तिमा सबै अंशियारको बराबर हक लाग्ने कुरा उक्त अंशबण्डाको १४ नं. बाट प्रष्ट हुन्छ । प्रस्तुत मुद्दामा यी वादी आफ्नो फिरादपत्रमा नै बाबु परलोक हुनु अगावै अंशबण्डा गरी छुट्टी भिन्न बसेको कुरालाई स्वीकार गरेको देखिन्छ यस्तो अवस्थामा उक्त अंशबण्डाको १४ नं. आकर्षित हुने अवस्था नै देखिएन ।

१५.   अर्कोतर्फ अपुतालीको ६ नं. मा बाबु आमाले आफू र सबै स्वास्नी छोरा बुहारीहरू समेत ऐन बमोजिम अंशबण्डा गरी लिई केही स्वास्नी छोरा बुहारीसँग आफ्नो अंश मिसाई बसेकोमा बाबु आमा मरी अपुताली पर्‍यो भने त्यस्तो अवस्थामा सो अपुताली संग बस्ने छोरा बुहारीले मात्र पाउँछ भन्ने प्रष्ट उल्लेख भएको पाइन्छ । छुटी भिन्न भएपछि पनि बाबु पुनमानलाई हामी सबै भाइले रेखदेख पालन पोषण र अन्तिममा काजकृया समेत गरिआएका थियौं भनी वादीले फिरादपत्रमा उल्लेख गरेको बाबुलाई मैले मात्र आफ्नोसँग साथमा राखी पालन पोषण र अन्तिममा काजकृया समेत गरिआएको भनी प्रतिउत्तरमा जिकिर लिएको हुँदा बाबुलाई को कसले पालन पोषण गरेको भन्नेतर्फ विचार गर्नु पर्ने देखियो ।

१६.    बाबुलाई मैले आफैंले मात्र पालन पोषण गरेको भन्ने प्रतिउत्तर जिकिरलाई नै पुष्टी गर्दै निजका साक्षीहरूले बकपत्र गरिदिएको देखिन्छ । अर्कोतर्फ यिनै प्रतिवादीले नै पालन पोषण गरेको भनी स्थानीय भिमढुङ्गा गा.पं.ले सिफारिश गरिदिएको र सोही सिफारिशको आधारमा बाबु पुनमानको नामको विवादित कि.नं. २६१ को जग्गा यी प्रतिवादीका नाममा दर्ता नामसारी गरिदिने गरी मालपोत कार्यालय काठमाडांैले मिति ०३९।५।१६ मा निर्णय गरेको पाइन्छ । गा.पं.को उक्त सिफारिश सम्बन्धमा जालसाजी मुद्दा चली वादी दावी नपुग्ने ठहरी बा.अं.अ.बाट भएको फैसला अन्तिम रुपमा रहेको देखिएको समेतबाट बाबु पुनमानलाई यी प्रतिवादीले पालन पोषण गरेको भन्ने कुरा पुष्टि हुन आयो । यस्तो अवस्थामा बाबु पुनमानको मृत्युपछि निजको अपुताली यी प्रतिवादीले नै पाउने देखिन आयो । अतः बाबुको नाममा दर्ता भएको विवादित कि.नं. २६१ को जग्गामा हाम्रो समेत हक लाग्ने हुँदा हाम्रो हक जति नामसारी दर्ता बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन । वादी दावी बमोजिम नामसारी दर्ता बदर गरिदिने भनी गरेकोमा बा.अं.को इन्साफ सदर गर्ने गरेको म.क्षे.अ. को इन्साफ मिलेको नदेखिँदा उल्टी हुन्छ । वादी दावी नै नपुग्ने ठहर्‍याएको शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को  इन्साफ उल्टी भई वादी दावी नपुग्ने ठहरेकोले म.क्षे.अ.को फैसला बमोजिम पु.वे प्रतिवादी तीर्थमान मानन्धरबाट यस अदालतमा पुनरावेदन गर्दा रु. ३।सदर स्याहा भएको हुँदा विपक्षी वादीबाट भराई पाउँ भनी दर्खास्त दिएमा कानुन बमोजिम भराई दिनु भनी का.जि.अ.मा लगत दिनु ...१माथि इन्साफ खण्डमा लेखिए बमोजिम बा.अं.अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को फैसला उल्टी हुने ठहरेकोले बा.अं.अ.र म.क्षे.अ.को फैसलालले कायम गरेको लगत कायम राख्नु परेन सो लगत काटिदिनु भनी शुरु का.जि.अ.त.मा लगत दिनु .....१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ उल्टी हुँदा तत्कालिन मा.न्या.श्री मोहनप्रसाद शर्मा र मा.न्या.श्री हरिचन्द्र उपाध्यायको उल्टीमा रेकर्ड राख्नु भनी स.अ.प्रशासन शाखामा जानकारी दिनु .....१

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४४ साल भाद्र ३० गते रोज ५ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु