निर्णय नं. २९१ - हक सफा

निर्णय नं.२९१ ने.का.प.२०२२
फुल बेञ्च
माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री लोकराज जोशी
०२१ सालको पहिलो रिभिजन दे.फु.नं.२९५
निवेदक : प.३ नं.तनहुँ बन्दिपुर बजार घर भई हाल चितवन नारायणघाट बस्ने श्यामकृष्ण प्रधान
विरुद्ध
प्रतिवादी : चितवन इ.प्रगन्ना चितवन मौजे सलौली बस्ने अम्बाकुमारी क्षेत्रनी समेत
मुद्दा : हक सफा
(१) साहू असामीको ९ नं. – भिन्न भएका नठहरिए र घरको मुख्य आफै भए, थाहा दिने प्रश्न नउठ्ने । सगोलको व्यक्तिलाई कस्तो अवस्थामा निखन्न पाउने हक नहुने ?
साहु असामीको ९ नं. मा निखन्ने बारेमा व्यवस्था गरेको देखिन्छ । जुन यस प्रकार छ । “हकवालाको घरको मुख्य मालिकलाई जनाउ नदिई किन्न बेच्न हुँदैन । हकवालाले लिएसम्म अरुले पाउँदैन । बेचे किनेका मितिले हकवाला यसै सरहदमा भए ६ महिना र बिदेश गएको भए १ बर्षसम्ममा थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ । सो म्याद नाघेपछि हकवालाले पाउँदैन । किने बेचेको पक्का हुन्छ । निखनी लिन पाउने कुरामा धेरै जना हकवाला भएकोमा नजिकको जो हुन्छ, उसैले निखनी लिन पाउँछ । वादीहरू खड्गबहादुरसँग भिन्न भएका नठहिरए पछि घरको मुख्य खड्गबहादुर नै हुन्छन् । आफूले आफैलाई थाहा दिने प्रश्न उठ्दैन । त्यसकारण सगोलको व्यक्तिलाई निखन्न पाउने हक दिएको छैन ।
(प्रकरण नं.१४)
(२) अपुतालीको १ नं.– ७ पुस्तासम्मका १० दिन जुठो लाग्नेमा जो जति नजिकको छ भन्ने उल्लेख भएको । सगोलको व्यक्ति हकवाला नमानिने भन्ने ऐनमा व्यवस्था नभएको । हकवाला शब्दले सगोल वा छुट्टिएका सबै किमिसका हकवालालाई जनाउने । साहु असामीको ९ नं.हकवालाले लिएसम्म अरुले नपाउने । धेरै हकवाला भएमा सवभन्दा नजिककोले निखन्न पाउने । सगोलका अंशियारको मन्जुरी लिन पर्ने भन्ने साहु असामीको ८ नं. मा उल्लेख भएको । साहु असामीको ९ नं.बमोजिम सगोलको व्यक्तिले निखन्न पाउने ।
अपुतालीको १ नं.हेरेमा हकवाला भनेको ७ पुस्तासम्मको १० दिन जुठो लाग्नेमा जति नजिकको छ, उही हुन्छ भन्ने उल्लेख भएको र सगोलको व्यक्ति हकवाला मानिन नसक्ने ऐनमा कतै व्यवस्था नभएकाले हकवाला शब्दले सगोलका वा छुट्टिएका सबै किसिमका हकवालालाई सम्मिलित गरेको पाइन्छ र हकवालाले लिएसम्म अरुले पाउँदैन । धेरै हकवाला भएकोमा नजिकको जो हुन्छ, उसैले निखनी लिन पाउँछ भन्ने उक्त साहु असामीको ९ नं. को बोलीले हकवालामा जो नजकि छ, उसैलाई निखन्न पाउने हक प्रदान गरेको देखिन्छ । ऐनले सगोलको अरु अंशियारको पनि मन्जुरी लिनु पर्ने, सम्पत्ति मन्जुरी नलिई बेचेको कलममासम्म साहु असामीको ८ नं.लाग्ने कुरा हो । जस्तो अंशबण्डाको ३८ नं. ले अरुको मन्जुरी लिनु नपर्ने समेत ऐनले आफू खुशी गर्न पाउने सम्पत्ति बेचेको कलममा पनि सगोलको व्यक्तिको लागि साहु असामीको ८ नं.नै लाग्ने अवस्था पर्न आउँदैन । त्यसको अवस्था सगोलका व्यत्तिले पनि साहु असामीको नं.९ कै आधार लिनु पर्ने हुन आउँछ । हकवाला शब्द भित्र सगोलको व्यक्ति पनि पर्ने हो भने सगोलको आफ्नो समेत हक लाग्ने सम्पत्ति आफैले निखन्न पाउने हुन्छ भन्ने तर्कका हकमा आफ्नो हकवाला कसैले बिक्री गरेको सम्पत्ति हकवालाले नै लिन चाहेमा निखनी लिन पाउने नै कानूनको मुख्य सिद्धान्त हो । यस्तो निखन्ने बारेमा बिक्री गर्ने व्यक्तिसँग नाता सम्बन्ध भएको व्यक्तिलाई सम्पत्तिको उपभोग गर्दा आफ्नो बीचमा कुनै उनाउँ व्यक्तिको उपस्थिति हुन आई अप्ठेरो नपरोस् भन्ने समेत सिद्धान्तको आधारमा हकवालाले निखनी लिन पाउने समेत सुविधा प्रदान गरेको देखिन्छ । सगोलको व्यक्तिले निखन्न नपाउने कानूनले बन्देज गरेको नदेखिएकोले सगोलको व्यक्तिलाई साहु असामीको ९ नं.बमोजिम निखन्ने हक रहँदैन भन्न मिल्ने देखिदैन ।
(प्रकरण नं.१४)
(३) मौकामै थाहा भएको थियो भन्ने कुराको खम्वीर जिकिर दिन नसके र वतन बिभिन्न ठाउँको देखिए ०१५।१।१६ मा थाहा पाएको भनी सो मितिले ३५ दिन भित्रको उजुरी देखिए साहु असामीको ९ नं.रजिष्ट्रेशन ३९ नं.बमोजिम म्याद भित्रकै देखिने ।
०१५।१।४ गते जग्गा बेचेको कुरा सगोलका वादीहरूले मौकामा थाहा नपाई ५ महिना पछि ०१५।५।१६ मा मात्र थाहा पाएको भन्ने कुरा सुहाउँदो सत्य हुन सक्दैन । मौकैमा, उसै दिन थाहा पाएका थिए । त्यसकारण वादीहरूको उजुरी म्याद भित्रको छैन भन्ने निवेदक तर्फको जिकिर भए पनि वादीहरूको वतन चितवन सलौली बस्ने भन्ने लेखिएको कुरालाई प्रतिवादीले स्वीकारै गरेका र राजीनामा लिखतमा असामी खड्गबहादुरको वतन सेरबास, सो कागज लेखिएको मुकाम मेरै घर बसन्तपुर भन्ने लेखिएको । जग्गा पनि नारायणघाटको भन्ने देखिएको । खड्गबहादुरसँग सगोलमा भए पनि छुट्टै सलौली भन्ने ठाउँको घरमा बस्ने वादीहरूलाई शेरबासको घरमा बस्ने खड्गबहादुरले बसन्तपुरको घरमा बसी नारायणघाटको जग्गा बेचेको कुरा मौकैमा थाहा हुन नसक्नुको अवस्था पनि देखिन्छ ।
(प्रकरण नं.१५)
निवेदक तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद वर्मा
विपक्षी तर्फबाट : एडभोकेट कृष्णप्रसाद पन्त
१. बाबा खड्गबहादुरले नारायणघाटको जग्गा बिगहा १६ऽ२।४ प्रतिवादीलाई ने.रु.५००१ मा राजीनामा गरी दिएको थाहा पाई धरौट राख्न जाँदा दाज्यू गोपालबहादुरले धरौट राखेका छन् भनी नलिई दिएकोले हाम्रो भाग निखनाई पाउँ भनी हुलाकद्वारा दरखास्त दिई बयान गराई ने.रु.५००१। धरौट राखेकोमा बुझ्न नपर्ने भनी साहुले नबुझी बयान गरेकोले नालिस गर्नु भनी मालले सुनाएकोले नालिस गर्न आएको छु । बाबाको जेठी पट्टिको छोरा गोपालबहादुर १ पट्टि माइली साइली पट्टिका छोरा श्यामबहादुर भैरबबहादुर १ पट्टी भई भागबण्डापत्र खडा गरी छुट्टीएको पास गर्ने म्याद भित्र जग्गा बिक्री गरेको बण्डापत्र पास गरी नदिए पनि मानु छुट्टिई अलग बसेको । नजिकको हकदारले निखन्न पाउने भएको । हामीलाई थाहा नदिई बिक्री गरेको हुँदा गोपालबहादुरले ननिखने सबै हामीबाट निखनाई पाउँ भन्ने समेत रत्नकुमारी अम्बाकुमारी, भैरबबहादुर, स्यामबहादुरको फिरादपत्र ।
२. राजीनामा गरी लिएको जग्गा भविष्यमा मोल बढ्ने टाउन भित्रको जग्गा हुँदा छोरालाई उठाई नक्कली बण्डापत्र खडा गरी घरको जहान बाझिए जस्तो गरी दरखास्त गरी धरौट राख्ने गरेका हुन । जग्गा बिक्री हुँदा एकाघरका वादी सबैले थाहा पाएको र बाबूको आर्जनको सम्पत्तिमा एकाघरका अरुको मन्जुरी लिनु नपर्ने सा.अ. को ९ नं. ले मुख्य मालिकलाई थाहा दिने भन्ने लेखिएको । वादीहरू हकदार नभई अंशियार भएका र ऐनले पनि एकाघरकाले हकसफा गर्न पाउँछ भन्ने नभएकाले जग्गा मेरै सदर थामी पाउँ भन्ने समेत श्यामकृष्णको प्रतिवादी ।
३. छुट्टी भिन्न भएको भनेको बण्डापत्र रजिष्ट्रेशन पास नभएकोले जग्गा राजीनामा दिने खड्गबहादुर वादीहरू भिन्न भएको भन्न नहुने । एकाघरकाले बिक्री गरेको कुरा वादीहरूले मौकैमा थाहा पाएनन् होला भन्न पनि नभएको । एकाघरकाले हक सफा गर्न पाउने कानून पनि नभएकोले समेत राजीनामाको थैली बुझाई हक सफा गर्न पाउँ भन्ने वादीहरूको दावी पुग्न नसक्ने हुँदा वादीहरूले झुट्टा उजुर गरेको ठहर्छ भन्ने समेत इलाका अदालत चितवनको ०१८।२।१८ को फैसला ।
४. हामी ०१० सालदेखि मानु छुट्टि बसेकोले हक सफा गर्न पाउने । बण्डापत्र पास नभए पनि त्यस्तो कागज प्रमाणलाई मान्यता हुने भन्ने कानून पत्रिकामा प्रकाश भएको । बण्डा बमोजिम आफ् आफ्ना नाउँमा दर्ता भईसकेको समेत हुँदा हक सफा गर्न पाउनु पर्नेमा नपाउने गरी भएको फैसलामा चित्त बुझेन भन्ने समेत वादी रत्नकुमारी समेतको अपील ।
५. बण्डापत्र ऐनको रीत नपुगेको बेप्रमाणिक देखिनाले निखनाई पाउँ भन्ने दावा नपुग्ने ठहराएको इन्साफ शुरुको मुनासिव भन्ने समेत ०१९।२।४ को विरगञ्ज जिल्ला अदालतको फैसला ।
६. खड्गबहादुर पछिको मुख्य हकदार हामी स्वास्नीहरू हुन आउने प्रष्टै भएकोमा पनि भिन्न भईसकेको भनी प्रमाण दिएकै । त्यस्मा होइन भनी कसैको उजुर परी बदर गराउन सकेको पनि छैन भन्ने ऐनले दिएको हक सुविधा नपाउने गरी भएको फैसलामा चित्त बुझेन भन्ने समेत वादी अम्बाकुमारी समेतको अपील ।
७. एकाघरकाले उकास्न पाउँदैन भन्ने कानून नहुँदा हा. का.८ नं.बमोजिम प्रतिवादीलाई छलफलमा झिकाई पेश गर्नु भन्ने ०१९।१०।९ मा स.अ. डिभिजन बेञ्चको आदेश ।
८. अपुतालीको १ नं. मा हकदारको परिभाषा दिइएको छ । जुन यस प्रकार छ, हकवाला भनेको ७ पुस्तासम्मको १० दिन जुठो लाग्नेमा जति नजिकको छ, उही हुन्छ । यस परिभाषमा एकाघरको र छुट्टी भिन्न भएको ७ पुस्ता भित्रका हकदारमा भेदभाव गरेको छैन । सो भेदभाव बेगर सगोलको अंशियार हकदार होइन भन्न मिलेन । साहु असामिका ९ नं. ले बिक्री गनेर्को हकवालले अचल जेथा कानूनको रीत पुर्याई कानूनले तोकेको म्याद भित्र उजुर गरी निखन्न हक दिएको हुँदा वादी सगोलकै भए पनि निजका बाबूले बिक्री गरेका जग्गा साहुको थैली तिरी निखन्न पाउँदैन भन्न नमिल्ने भएकाले ०१९।९।१।३ को सर्वोच्च अदालत डिभिजन बेञ्चको राय मुनासिव छ । शुरु र जिल्ला अदालतले निखन्न नपाउने गरेको गल्ती ठहर्छ भन्ने समेत ०२०।१०।६ को डिभिजन बेञ्चको फैसला ।
९. सा.अ. को ९ नं. ले किने बेचेको थाहा पाइ ३५ दिनसम्म चुप लागी बसी म्याद नघाई उजुर गर्ने जो सुकैलाई र एकाघरका परिवारलाई, बिक्री भइसकेपछि मात्र छुट्टिएकालाई र अर्काको रुपैंया ल्याई निखन्न पाउँ भन्नेलाई र बिक्री गर्ने असामीलाई, निखन्ने हक सुविधा प्राप्त छैन । निखन्न पाउने गरी भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहराई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत श्यामकृष्ण प्रधानको बिन्तिपत्र ।
१०. उक्त विन्तीपत्रको व्यहोरा जाहेर हुँदा व्यहोरा साँचो भए नियम बमोजिम फुल बेञ्चबाट एक पटक दोहराई ऐन सवाल बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेका छ भनी मौसूफका विशेष जाहेरी विभागबाट लेखी आएको ०२०।११।२९ को हुकुम प्रमांगी।
११. बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने २०।१२।२६को माननीय का.मु.प्रधान न्यायाधीशज्यूको आदेश ।
१२. घरको मुख्यले बिक्री गरेकोमा एकाघरकाले निखन्न नपाउने गरी भएको फैसलाहरूको नजिर दाखिल गर्न समय पाउँ भनी निवेदक तर्फबाट अनुरोध गरेकाले अर्को पेशी तारेख तोकि दिनु भनी ०२१।६।७ मा र धनी श्यामभक्त ऋणी खड्गबहादुर भएको रु.५००१ को राजीनामाको प्रतिलिपी चितवन मालबाट झिकाई पेश गर्नु भन्ने ०२१।११।१ को सर्वोच्च अदालत फुल बेञ्चको आदेश ।
१३. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२२।२।१५।६मा पेश भई निवेदक तर्फबाट विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद बर्माले र विपक्षी तर्फबाट विद्वान एडभोकेट कृष्णप्रसाद पन्तले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा सगोलको व्यक्तिलाइ साहु असामीको ९ नं.बमोजिम निखन्न पाउने हक रहन्छ रहँदैन रहन्छ भने उजुरी म्याद भित्रको छ, छैन ? र वादीले निखन्न पाउने नपाउने के हो ? भन्ने प्रश्नहरूको निर्णय गर्नु पर्ने देखिन्छ ।
१४. सर्वप्रथम पहिलो प्रश्नतर्फ बिचार गर्द तत्काल प्रचलित साहु असामीको ९ नं. मा निखन्ने बारेमा व्यवस्था गरेको देखिन्छ । जुन यस प्रकार छ, हकवालामा घरको मुख्य मालिकलाई जनाउ नदिई किन्न बेच्न हुँदैन । हकवालाले लिएसम्म अरुले पाउँदैन । बेचे किनेका मितिले हकवाला यसै सरहदमा भए ६ महिना र बिदेश गएको भए १ बर्षसम्ममा थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछ । सो म्याद नाघेपछि हकवालालो पाउँदैन । किने बेचेको पक्का हुन्छ । निखनी लिन पाउने कुरामा धेरै जना हकवाला भएकोमा नजिकको जो हुन्छ, उसैले निखनी लिन पाउँछ । वादीहरू खड्गबहादुरसँग भिन्न भएका नठहरिए पछि घरको मुख्य खड्गबहादुर नै हुन्छन् । आफूले आफैलाई थाहा दिने प्रश्न उठ्दैन । त्यसकारण सगोलको व्यक्तिलाई निखन्न पाउने हक दिएको छैन । सगोलका जतिलाई साहु असामीको ८ नं. मा छुट्टै व्यवस्था छ भन्ने निवेदक पक्षका विद्वान वकिलले मुख्य तर्फ उठाउनु भएको छ । कस्ता व्यक्तिलाई हकवाला मान्ने भन्ने तर्फ हकवालाको परिभाषा गरिएको अपुतालीको १ नं. मा हेरेमा हकवाला भनेको ७ पुस्तासम्मको १० दिन जुठो लाग्नेमा जति नजकिको छ, उही हुन्छ भन्ने उल्लेख भएको र सगोलको व्यक्ति हकवाला मानिन नसक्ने ऐनमा कतै व्यवस्था नभएकाले हकवाला शब्दले सगोलका वा छुट्टिएका सबै किमिसको हकवालालाई सम्मिलित गरेको पाइन्छ र हकवालाले लिएसम्म अरुले पाउँदैन । धेरै हकवाला भएकोमा नजिकको जो, हुन्छ उसैले निखनी लिन पाउँछ भन्ने उक्त साहु असामीको ९ नं. को बोलीले हकवालामा जो नजिक छ, उसैलाई निखन्न पाउने हक प्रदान गरेको देखिन्छ । ऐनले सगोलका अरु अंशियारको पनि मन्जुरी लिनु पर्ने सम्पत्ति मन्जुरी नलिई बेचेको कलममासम्म साहु असामीको ८ नं.लाग्ने कुरा हो । जस्तो अंशबण्डाको ३८ नं. ले अरुको मन्जुरी लिनु नपर्ने समेत ऐनले आफू खुशी गर्न पाउने सम्पत्ति बेचेको कलममा पनि सगोलको व्यक्तिको लागि साहु असामीको ८ नं.नै लाग्ने अवस्था पर्न आउँदैन । त्यस्तो अवस्थामा सगोलका व्यक्तिले पनि साहु असामीको ९ नं.कै आधार लिनु पर्ने हुन आउँछ । हकवाला शब्द भित्र सगोलको व्यक्ति पनि पर्ने हो भने सगोलको आफ्नो समेत हकलाग्ने सम्पत्ति आफैले निखन्न पाउने हुन्छ भन्ने तर्फका हकमा आफ्नो हकवाला कसैले बिक्री गरेको सम्पत्ति हकवालाले नै लिन चाहेमा निखनी लिन पाउने नै कानूनको मुख्य सिद्धान्त हो । यस्तो निखन्ने बारेमा बिक्री गर्ने व्यक्तिसँग नाता सम्बन्ध भएको व्यक्तिलाई सम्पत्तिको उपभोग गर्दा आफ्नो बीचमा कुनै उनाउ व्यक्तिको उपस्थिति हुन आई अप्ठेरो नपरोस् भन्ने समेत सिद्धान्तको आधारमा हकवालाले निखनी लिन पाउने समेत सुविधा प्रदान गरेको देखिन्छ । सगोलको व्यक्तिले निखन्न नपाउने कानूनले बन्देज गरेको नदेखिएकोले सगोलको व्यक्तिलाई साहु असामीको ९ नं.बमोजिमको निखन्ने हक रहँदैन भन्न मिल्ने देखिँदैन ।
१५. अब उजुरी म्यादभित्रको छ, छैन ? भन्ने दोश्रो प्रश्न तर्फ हेरेमा ०१५।१।४ गते जग्गा बेचेको कुरा सगोलका वादीहरूले मौकैमा थाहा नपाई ५ महिनापछि ०१५।१।१६ मा मात्र थाहा पाएको भन्ने कुरा सुहाउँदो सत्य हुन सक्दैन । मौकैमा, उसै दिन थाहा पाएका थिए । त्यसकारण वादीहरूको उजुरी म्याद भित्रको छैन भन्ने निवेदक तर्फको जिकिर भए पनि वादीहरूको वतन चितवन सलौली बस्ने भन्ने लेखिएको कुरालाई प्रतिवादीले स्वीकारै गरेका र राजीनामा लिखतमा असामी खड्गबहादुरको वतन सेरवास, सो कागज लेखिएको मुकाम मेरै घर बसन्तपुर भन्ने लेखिएको जग्गा पनि नारायणघाटको भन्ने देखिएको खड्गबहादुरसँग सगोलमा भए पनि छुट्टै सलौली भन्ने ठाउँको घरमा बस्ने वादीहरूलाई सेरबासको घरमा बस्ने खड्गबहादुरले बसन्तपुरको घरमा बसी नारायणघाटको जग्गा बेचेको कुरा मौकैमा थाहा हुन नसक्नुको अवस्था पनि पर्ने देखिन्छ । वादीहरूलाई मौकैमा उसै दिन थाहा भईसकेको थियो भन्ने कुराको तथ्य सबुद कुनै दिन नसकेकोले समेत वादीहरूले मौकैमा थाहा पाएका भन्ने समेत निवेदकको जिकिर खंवीर मान्न मिलेन । खड्गबहादुरले जग्गा बेचेको कुरा ०१५।१।१६मा थाहा पाएको भनी सो मितिले ३५ दिन भित्रै वादीहरूले चलाएको उजुरी साहु असामीको ९ नं.रजिष्ट्रेशनका ३२ नं.बमोजिम म्याद भित्रकै देखिन्छ ।
१६. तसर्थ, खड्गबहादुरले बेचेको जग्गा निजको सगोलका हकवाला वादीहरूले साहु असामीको ९ नं.बमोजिम निखनी लिन पाउने नै हुँदा निखन्न पाउने ठहराएको २०।१०।६।२ को डिभिजन बेञ्चको इन्साफ मुनासिवै छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
निवेदक, प्रतिवादी प.३ नं.तनहुँ बन्दीपुर बजार घर भई हाल चितवन नारायणघाट बस्ने श्यामकृष्ण प्रधान के इन्साफ दोहर्याएमा डिभिजन बेञ्चको ०२०।१०।६।२ का फैसलाले गरेको दण्ड रु.१२५। ३ को अ.बं.२०४ नं. ले दसौंद रु.१२।५१ जरिवाना हुन्छ । रुजु हुँदा असुल गरी का.क्षे.अ.त. मा लगत दिनु ............................१
नियम बमोजिम मिसिल बुझाइ दिनु .......................२
इति सम्वत् २०२२ साल जेष्ठ २२ गते रोज ६ शुभम् ।