निर्णय नं. ३२०९ - कर्तव्य ज्यान

निर्णय नं. ३२०९ ने.का.प. २०४४ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४३ सालको फौ.पु.नं. ५७२, ५६७, ५८२, ५५४
सम्वत् २०४४ सालको फौ.सा.नं. १५२
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी: कञ्चनपुर जिल्ला लक्ष्मीपुर गा.पं. वा.नं.७ बस्ने पखराज भन्ने पंख बहादुर शाही ।
ऐ. बस्ने मीनराज भन्ने भीम राज शाही ।
कंचनपुर जिल्ला लक्ष्मीपुर गा.पं. वार्ड नं. ७ घर भै हाल कंचनपुर कारागारमा बन्दी रहेका प्र.पं.लोकराज शाही ।
ऐ.ऐ बस्ने तर्कराज भन्ने तर्क बहादुर शाही ।
कंचनपुर जिल्ला गा.पं.लक्ष्मीपुर वा.नं. ७ वैसाखी बस्ने गोपी शाही ।
विरुद्ध
विपक्षी/वादी: श्री ५ को सरकार ।
पुनरावेदक/वादी: शुर बहादुर शाहीको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
विपक्षी/प्रतिवादी: जिल्ला कञ्चनपुर गा.पं. लक्ष्मीपुर वा.नं. ७ बस्ने लोकराज शाही ।
ऐ.ऐ बस्ने लोकराज शाही ।
ऐ.ऐ बस्ने चन्द्र बहादुर शाही ।
ऐ.ऐ बस्ने पंख बहादुर शाही ।
ऐ.ऐ बस्ने मीन राज भन्ने भीमराज शाही ।
ऐ.ऐ वा.नं.४ बस्ने सुन्दर चन्द ।
ऐ.ऐ बस्ने मान बहादुर भण्डारी ।
फैसला भएको मिति: २०४४।९।९।३ मा
अदालतमा आई प्र.ना.नि.ले बयान गर्दा मृतक मर्नु भन्दा अगाडि आफू समक्ष गरेको कागज सम्बन्धमा बलिराज गोलीको बेदनाले सरसरती भन्न नसके पनि रोकीरोकी होशमा निजले भने बमोजिम लेखिएको हो भनी एउटा प्रहरी कर्मचारीले अदालतमा आई गरेको बयानलाई असत्य मान्न नमिल्ने ।
(प्रकरण नं. ९०)
अस्पतालका सिनियर मेडिकल अधिकृतले अदालतमा आई बयान गर्दा मृतकको पोष्टमार्टम आफैंले गरेको र मृतकको शरीर सडे गलेको हुँदा मुटु फोक्सो पेट आदि हेरियो त्यहाँ गोली पाइएन, एक्सरेको साधन नहुँदा आन्द्रामा गोली पसेको कुरा पेटमा लागेको घाउको आधारले गोली लागेको घाउ भनी प्रमाणित गरेको छु र बाहिर गोली पास भएको घाउ नदेखिएको कारणले गोली भित्रै रहेको हुनपर्छ भनी आफ्नो बयानमा स्पष्टसँग उल्लेख गरेको छँदाछँदै गोलीको चोटबाट मृतक मरेको होइन भन्न नसकिने ।
(प्रकरण नं. ९०)
घाइतेले मर्नु भन्दा अगाडि गरेको कागज निज होश भएको बेला लेखेको हो भनी स्पष्ट बयान बकपत्र गरेको देखिन आउँछ, सो बयान प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा लिन मिल्ने ।
(प्रकरण नं. ९०)
श्री ५ को सरकार तर्फबाट: विद्वान का.मु.उप-न्यायाधिवक्ता श्री गौरीबहादुर कार्की ।
पुनरावेदक प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ,विद्वान अधिवक्ता श्री प्रकाश बस्ती ।
उल्लेखित मुद्दाःX
फैसला
न्या.गजेन्द्र केशरी बास्तोलाः सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ उपर चित्त नबुझी पुनरावदेक प्रतिवादी पंखराज भन्ने पंख बहादुर शाही समेत जना ५ को र वादी श्री ५ को सरकारको पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।
२. २०३७ साल श्रावण २० गतेका राती भतिजा बलिराज शाही र म मेरो घरको आँगनमा काठको खटियामा सुतिरहेका अवस्थामा राती अं.२।३ बजेको समयमा एक्कसी गोली पड्केको आवाज आई म साथै सुतिरहेको भतिजा बलिराज शाहीको चिल्लाहटबाट ब्युँझि हल्ला गर्दा गोली हानेर मिस भए जस्तो प्याट्ट, प्याट्ट दुई पटक आवाज भयो गोली पड्केको भए म पनि मर्ने वा घाइते हुने सम्भव थियो । मार्यो भन्ने आवाज सुनी यताउति हेर्दा र हल्ला गर्दा गाउँका मानिसहरूले पनि के भयो भनी आवाज गरेको अवस्था तर्कराज शाही र सुन्दर चन्दलाई जुनको उज्यालोमा भागी जान लागेको मैले प्रष्ट चिने । अरु ७ जना टाढा गइसकेकाले चिन्न सकिन । तर्कराज शाही, लोकराज शाही, मीनराज शाही, चन्द्र बहादुर शाही देवराज शाही, सुन्दर चन्द, गोपी शाही, मान बहादुर भण्डारी समेतका मानिसहरू पुराना झगडिया हुँदा निजहरूले हामीलाई यस अघि पनि मार्ने धम्की दिइराखेका थिए र यो घटना पनि यिनीहरूकै गफमेलबाट गरे गराएका हुन् यसपछि सबै गाउँका मानिसहरू जम्मा भई हेर्दा निज बलिराजलाई गोली लागी दोसाँधमा पारेकाले निजहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउन निज घाइते बलिराज शाहीलाई समेत यसै साथ दाखेल गरेको छु भन्ने समेत व्यहोराको मिति ०३७।४।२१ का शुर बहादुर शाहीले प्रहरी थाना बेलौरीमा दिएको जाहेरी दर्खास्त ।
३. २०३७।४।२० गते राती कान्छा बुबा शुर बहादुरका घर आँगनमा काठको एकैतल्लामा सुती निदाएका अवस्था अं.अढाई तीन बजेको समय हुँदो हो प्याट्ट गोलीको आवाजभै मेरो नाभी माथि गोली लाग्न गई चिल्लाई म खडा हुँदा तर्क बहादुर शाही समेतका ७।८ जनाले फेरि फायर गरी दुइपटक गोली फायर नभई फिर्ता भई गएको देखें सो सबै मेरो साथ सुतेका कान्छा बाबु शुर बहादुर शाहीलाई पनि प्रष्ट थाहा छ । निजहरू अघिबाटका इवीवाल हुँदा लोकराज, भीमराज, पंकराज, गोपी शाहीले नै माथि घटना (ज्यान) केशको अपराध गरी भागी गएको मैले देखेको हुँदा निजहरू उपर कानुन बमोजिम कारवाही होस् भन्ने समेत व्यहोराको घाइते अवस्था ०३७।४।२१ गते मृतक बलीराज शाहीले प्रहरी थाना बेलौरीमा पद्मबहादुर गिरी समेतका ६ जनाको रोहवरमा गरिदिएको कागज ।
४. घाउचोट जाँच्दा संलग्न केश फाराम बमोजिम गोली लागे जस्तो घाउखत भएको र चिन्ताजनक अवस्था हुँदा गोली झिक्न र उपचार गर्न जखमीलाई जिल्ला स्तरको अस्पतालमा पठाउन आवश्यक देखिन्छ भन्ने श्रीपुर हेल्थपोष्टको पत्रसाथ मृतक बलिराजको केश फाराम र हेल्थपोष्ट रिछाहाको राय अनुसार बलिराजलाई उपचार गराउन नजिकको भारतीय अस्पताल लक्ष्मीपुर लैजाँदा निघासन भन्ने ठाउँमा मृत्यु भएकोले अपराधीलाई पक्राउ गरी कानुन बमोजिम कार्यवाही गरी सतगत गर्न पुर्जी पाउँ भन्ने शुर बहादुर शाहीको निवेदन ।
५. प्रहरी थाना बेलौरीको चौरमा पश्चिम शीरान पूर्व गोडा गरी हरिया धर्काको कच्छा लगाई उत्तानो पारी राखेको बलिराजको लाश सो लाशको नाभी देखि ४ अंगुल माथि बायाँपट्टि गन्जी समेत छेडी २ से.मी.गोलाईको घाउ भएको भन्ने समेत व्यहोराको पद्मबहादुर गिरी समेतका १२ जनाले गरिदिएको लाश प्रकृति मुचुल्का ।
६. ०३७।४।२० गतेका राती बुबा बलिराज बाजे शुर बहादुर काका नवराज म समेत घर बाहिर काठको खटियामा सुतेको बखत राती प्याट्ट प्याट्ट आवाज आएको सुनी उठी हेर्दा लोकराज तर्क बहादुरलाई भागी जान लागेका देखें निजहरूले नै मेरा बुबालाई कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको आफ्नो आमा चित्रकुमारीको रोहवरमा मृतकको छोरा वर्ष ५ को राजु शाहीले प्रहरीमा गरेको कागज ।
७. मैले बलीराजलाई मारेको होइन रिसइवीको कारण म उपर उजूर गरेका हुन् । श्रावण २० गतेका दिन लोकराज, मिनराज, पंख बहादुर, मान बहादुर बाहेक अरुसँग भेट भएको छैन । शूरबहादुरको जेठी श्रीमती सित मृतक बलिराजको अनैतिक सम्बन्ध हुँदा शुर बहादुरले मारेको शंका लाग्दछ भन्ने समेत व्यहोराको प्र.चन्द्र बहादुर शाहीले प्रहरीमा गरेको बयान ।
८. लोकराज शाही समेतसँग शुरु बहादुरको जग्गा सम्बन्धी रिसइवी हुँदा म र निजहरूको नजिकको नातेदार भएकोले मेरा उपर समेत उजूरी गरेका हुन् । मैले बलिराजलाई मारे मराएको केही होइन घाइतेलाई हतारमा एक्लै उपचार गराउन शुरुबहादुर शाहीले लगेकाले निजले मारेको शंका लाग्छ भन्ने समेत व्यहोराको प्र.देवराज शाहीको प्रहरीमा भएको बयान ।
९. मैले बलीराज शाहीलाई मारे मराएको केही होइन । लोकराज समेतका मानिसहरूसँग शुर बहादुरको जग्गा सम्बन्धी रिसइवी परेको र म पनि नातेदार हुँदा मेरा उपर समेत उजूरी दिएको हो । घाइते बलीराजलाई हतार गरी एक्लै शुर बहादुर इलाज गराउन भनी लगेकाले निजले मारेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको प्र.गोपी शाहीले प्रहरीमा गरेको बयान ।
१०. मेरो माइजूको जग्गा शुर बहादुरले कीर्ते राजीनामा गरी आफ्नो नाउँमा गराएकोमा म समेतले माइजूलाई अदालतमा मुद्दा गर्न राय दिएको कारणबाट मेरा उपर समेत उजूरी दिएको हो । मैले बलिराजलाई मारे मराएको केही होइन । शुर बहादुरको श्रीमतीसँग बलिराजको यौन सम्बन्ध हुँदा निजले नै मारेका हुन भन्ने समेत व्यहोराको प्र.तर्क बहादुर शाहीले प्रहरीमा गरेका बयान ।
११. ०३७।४।२० गते भाइ तर्कराज काठमाडौंबाट आएको र भीमराज एउटै घरमा हुँदा निजहरूसँग भेट भएको हो अरुसँग भेट भएन २१ गतेका दिन बलिराजलाई गोली लाग्यो भन्ने सुनेको छु । मैले बलीराजलाई मारे मराएको छैन । बलिराजको शुर बहादुरको श्रीमतीसँग अनैतिक सम्बन्ध थियो भन्ने सुनेको छु सोही इवीबाट निज शुर बहादुरले बलीराजलाई मारेकोमा शंका लाग्दछ । शुर बहादुरको र मेरो सिद्धान्त नमिल्ने हुँदा मलाई पोलेको हो भन्ने समेत व्यहोराको प्र.लोकराज शाहीले प्रहरीमा गरेको बयान ।
१२. ०३७।४।२० गते म घरमा छैन कञ्चनपुर महेन्द्रनगरमा छु, २१ गते घरमा आउँदा बाटामा बलिराजलाई गोली लाग्यो भन्ने सुनेको हुँ । मैले बलिराजलाई मारे मराएको होइन । शुर बहादुरसँग जग्गा सम्बन्धी इवी हुँदा मेरो उपर समेत उजूर गरेको हो मार्ने को को हुन थाहा छैन भन्ने समेत व्यहोराको प्र.मान बहादुर भण्डारीको प्रहरीमा गरेको बयान ।
१३. ०३७।४।२० गते म आफ्नै घरमा छु सो दिन तर्कराज भीमराजसँग भेट भयो अरु कोहीसँग भेट भएन । २० गते राती बलिराजलाई गोली लाग्यो भन्ने कुरा गाउँमा सुनेको छु । कसले हानेको थाहा छैन । मैले बलिराजलाई गोली हानी मारे मराएको होइन । घाइते बलिराजलाई चुपचाप गाउँ घुमाउँदै गाडामा हाली शुर बहादुर उपचार गराउन लगेकाले निज शुर बहादुरले नै बलिराजलाई मारेकोमा शंका लाग्दछ । शुर बहादुर आफू चोखो हुने मतलबले बलिराज समेतलाई सिकाई आफूले पनि मलाई पोलेको हो मेरो आँखा मुनी निल र नाकको डाडोमा खोसिंनाको कारण रक्सी खाएका बखत कान्छा बाबु मान सिंले धकेल्दा भएको हो भन्ने समेत व्यहोराको प्र.पंकबहादुर शाहीले प्रहरीमा गरेको बयान ।
१४. २०३७।४।२० गते म मेरो रिछा टाउनको घरमा थिए भोलिपल्ट फिरीयाको घरमा आउँदा बलिराजलाई गोली लागेको सुनेको हुँ । मैले निज बलिराजलाई मारे मराएको होइन । बलिराजसँग रिसइवी छैन शुर बहादुरसँग जग्गा सम्बन्धी इवी छ । सोही कारण मेरो उपर झुठ्ठा उजूरी दिएको भन्ने समेत व्यहोराको प्र.सुन्दर चन्दले प्रहरीमा गरेको बयान ।
१५. २०३७।४।३० गतेका राती दाजु लोकबहादुर, भाइ तर्क बहादुर र म समेत आफ्नै घरमा सुतेका थियौं । बलिराज सुतेको घरबाट मेरो घर ११/२ कि.मि. हुन सक्तछ २० गते राति शुर बहादुरको घरमा के के भयो थाहा छैन । सुन्दर चन्द, मान बहादुर, देवराजसँग भेट भएको थिएन। भोलिपल्ट बलिराजलाई गोली लाग्दा उपचार गराउन लगे भन्ने गाउँमा सुनेको हुँ । मैले बलिराजलाई मारे मराएको केही होइन । शुर बहादुरका माइजू मेरो भाउजूको जग्गा शुर बहादुरले जालसाजी गरी आफ्नो नाउँमा हालेकोले अदालतमा नालिस गर्न भाउजूलाई मैले राय दिएको कारण मेरो उपर उजूरी दिएको हो । बलिराजलाई मार्ने शुर बहादुर शंका छ किनभने निजको श्रीमतीसँग बलिराजको अनैतिक सम्बन्ध रहेको कुरा गाउँमा सुनिथ्यो । बलिराज समेतलाई सिकाई आफू बँच्न र हामी उपर रिसइवी साँध्न गर्न शुर बहादुरले पोल्न लगाएका हुन भन्ने समेत व्यहोराको प्र.प्रेमराज शाहीले प्रहरीमा गरेको बयान ।
१६. २०३७।४।२० गतेका राती २।३ बजेको समयमा जाहेरवालाको घरबाट दुश्मनले मार्यो भन्ने हल्ला सुनी घटनास्थलमा आउँदा बलिराज शाहीको नाभिमाथी गोलीको घाउ लागेको र के भयो भनी सोद्धा तर्कराज, गोपी शाही, लोकराज शाही, सुन्दर चन्द, मान बहादुर भण्डारी, चन्द्र बहादुर शाही समेतले मलाई गोली हानें भनी बलिराजले बताएकाले निजहरूले नै गोली हानेको लाग्छ । उपचार गराउन लाग्दा सोही चोटबाट बलिराजको मृत्यु भएको हो भन्ने दीपबहादुर शाही समेतका केही व्यक्तिको भनाई र लोकराज समेतका व्यक्तिहरूले बलिराजलाई मारे मराएकोमा शंका लाग्दैन निजहरू राम्रा चाल चलनका मानिसरू भन्ने नैनसिं भण्डारी समेतका जना २२ ले गरिदिएको सरजमीन मुचुल्का ।
१७. मैले बलिराज शाहीलाई मारेको होइन अभियुक्तहरूले बदलाको भावना लिई म उपर शंका देखाएको हुन भन्ने शुर बहादुर शाहीको प्रहरीमा भएको बयान ।
१८. प्रस्तुत मुद्दामा मेरो घर आँगन तख्तामा सँगै सुती निदाएका बखत रातको २।३ बजेतिर भतिजा बलिराजलाई एकासी गोली लाग्दा पीडाले चिल्लाएको आवाजले म पनि ब्युँझि हेर्दा तर्कराज र सुन्दर चन्दलाई भागी जान लागेका देखि निजहरु पुराना इवीवाला हुँदा निजहरूले हानेको गोली भतिजा बलिराजलाई लाग्न गएको हुँदा निजहरू माथि कार्यवाही गरिपाउँ भन्ने शुर बहादुरको जाहेरीको सिलसिलामा अनुसन्धान कार्यवाहीमा घाइते अवस्थामा मृतक बलिराजले गरिदिएको कागजमा म सुती निदाएका बखत राती २१/२।। ३ बजेको समयमा मेरो नाभी माथि गोली लाग्दा उठी हेर्दा तर्कराज शाही, लोकराज शाही, भीमराज शाही, पंखराज शाही र गोपी शाही समेतलाई भागी जान लागेको देखें भन्ने उल्लेख गरिदिएका घाइतेको केश फाराम गराउँदा गोलीको घाउ भनी हेल्टपोष्टबाट चिन्ताजनक अवस्था हुँदा घाइतेलाई जिल्ला स्तरको अस्पतालमा उपचार गराउने भन्ने राय अनुसार उपचारका लागि भारततिर लग्दालग्दै बलिराजको मृत्यु सोही चोटबाट भएको लाश प्रकृतिबाट समेत गोलीको घाउ देखिएको, बुझिएका सरजमीनबाट समेत गोली हानेकै चोटबाट मरेको समर्थित भएको देखियो । अभियुक्तहरू पक्रि बुझ्दा इन्कारी रहेपनि मर्नु अगाडि घाइते बलिराजले गरेको पोललाई खण्डन गर्न प्रतिवादीहरूले नसकेका र साथै सुतेको आंैला दुखाइले घटना समयमा ब्युँझिरहेको मृतकको नाबालक छोरा वर्ष ५ को राजुले गरेको बकपत्र किटानी जाहेरी, सरजमीनको भनाई समेतका कुरालाई पनि खण्डन गर्न नसकेकोले मार्ने बलिराज हिरासतमा रहेका तर्कराज समेतले हानेको गोलीले मर्न गएको सिद्ध हुन आएकोले तर्क बहादुर शाही, सुन्दर चन्द्र, पंखराज शाही र देवराज शाही समेतका ९ जना उपर मुलुकी ऐन, ज्यानसम्बन्धीको १३ को (१) नं. बमोजिम सजायँ हुन सम्मानीत अदालत समक्ष सादर अनुरोध गरिन्छ भन्ने प्रहरी प्रतिवेदनको माग दावी ।
१९. तर्क बहादुर समेतका ९ जना उपर १३(१) को दावी लिएको प्रहरी प्रतिवेदनसँग सहमत छु र घाइते अवस्थामा मृतकले पोलेको पंख बहादुरलाई जाहेरीमा नलेखी राम्रो चाल चलनको व्यक्ति हो अपराधी होइन भनी लेखाएकोले मतलबी देखिन आएको जाहेरवाला शुर बहादुर उपर ज्यानसम्बन्धीको १७(३) दावी लिएको स.स.अ.को छुट्टै राय ।
२०. मैले बलिराजलाई मारे मराएको कुनै षडयन्त्र समेत गरेको छैन । म उपरको अभियोग दावी झुठ्ठा हो । ०३७।४।१८ गते भारत सैनिक हवलदारको पेन्सीन बुझ्न भारत खटीमा कञ्चनपुरको जिम्बा, गोवरैया, बसी ऐ.२१ गते बेलुकी ४ बजे आफ्नो घर फटीयामा पुग्दा र घरका केटाकेटीले तपाईलाई बोलाउन २ पटक प्रहरी आएको थियो भनी भन्दा म प्रहरी थाना बेलौरीमा गएको र तपाईले थुनामा बस्नु पर्छ भनी प्रहरीले भन्दा सोही दिनदेखि थुनामा बसेको हुँ। जाहेरवालासँग जग्गा सम्बन्धी इवी हुँदा मलाई झुठ्ठा पोलेको हो म निर्दोषी छु भन्ने समेत व्यहोराको प्र.मान बहादुर भण्डारीले अदालतमा गरेको बयान ।
२१. २०३६ सालदेखि बलिराजको र शुर बहादुरको झगडा थियो किनभने बलिराजको शुर बहादुरको जेठी श्रीमतीसँग अनैतिक सम्बन्ध भएको थियो भन्ने सुनिन्थ्यो । अतः शुर बहादुरले बलिराजलाई आफ्नो घरमा बोलाई मारेकोमा शंका छ । मैले बलिराजलाई मारे मराएको होइन । ०३५ र ०३६ सालमा मलाई जाहेरवालाले कुटी हड्डी तोडेको थियो सोही रिसइवीले मलाई पोलेको हो मेरा उपरको अभियोग दावी झुठ्ठा हो भनी अदालतमा इन्कारी बयान गर्ने सुन्दर चन्द ।
२२. २०३७।४।२० गते म आफ्नै घरमा छु अरु को कहाँ थिए थाहा छैन । मैले बलिराजलाई मारे मराएको होइन । कसले मारे थाहा छैन मेरा उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.चन्दबहादुर शाहीले अदालतमा गरेको इन्कारी बयान ।
२३. मैले बलिराजलाई मारे मराएको छैन । मेरा उपरको उजूरी झुठ्ठा हो बलिराजले शुर बहादुरको जेठी श्रीमतीलाई गोप्यमा स्वास्नी बनाएको इवीले शुर बहादुरले नै बलिराजलाई गोली हानी मारेकोमा शंका लाग्दछ । जग्गा नापीका बखत जाहेरवालाले मसँग रुपैयाँ माग्दा मैले नदिएकोले सो इवीबाट मलाई पोलेको हो म अपराधी होइन भन्ने समेत व्यहोराको प्र.गोपी शाहीले अदालतमा गरेको इन्कार बयान ।
२४. ०३७।४।२० गते म आफ्नै घरमा छु । मैले बलिराजलाई मारे मराएको होइन । मर्ने बलिराजको र शुर बहादुरको जेठी श्रीमती सह शाहीको अनुचित सम्बन्ध भएको कुरा चलेकोले निज शुर बहादुरले बलिराजलाई गोली हानी मारेकोमा शंका लाग्दछ । अरुमाथि शंका छैन म निर्दोष हुँ भन्ने समेत व्यहोराको प्र.पंख बहादुर शाहीले अदालतमा गरेको इन्कारी बयान ।
२५. २०३७।४।२० गतेका राती बलिराजलाई गोली हानी मैले मारेको होइन म इञ्जिनीयरिड्ड अध्ययन संस्थान काठमाडौंमा पढ्छु । ०३७।४।२० गते बिहान आफ्नु घरमा आई पुगेको थिए । बलिराजको र जाहेरवाला शुर बहादुरको श्रीमतीसँग अनुचित सम्बन्ध छ भन्ने कुरा चलिराखेको थियो सोही रिसइवीबाट निज शुर बहादुरले नै बलिराजलाई गोली हानी मारेकोमा शंका लाग्छ म काठमाडौंबाट आउँदा बाटामा शुर बहादुरको घर नजिक नल हुँदा हातमुख धुन गएको थिएँ र निज शुर बहादुर मेरा साखै कान्छा मामा पर्ने हुँदा भेटघाट भई कुरा भएथ्यो त्यसैबेला मैले लगाएको लुगा देखी मेरो लुगा चिनेकोले बलिराज राजु, मृतकको श्रीमती चित्रकला समेतकालाई सिकाई मलाई आफू र निजहरूबाट पनि पोलाएको हो । मैले कुनै अपराध गरेको होइन म निर्दोष छु भन्ने समेत व्यहोराको प्र.तर्क बहादुर शाहीले अदालतमा गरेको इन्कारी बयान।
२६. ०३७।४।२० गतेका राती म आफ्नै घरमा सुतेको थिएँ । म समेत भई बलिराजलाई गोली हानेको होइन । जाहेरवालाको जेठी स्वास्नी सह शाहीसँग बलिराजको अनैतिक सम्बन्ध भएकोले सोही कारणबाट स्वयं जाहेरवालाले बलिराजलाई मारेको हो कि भन्ने मेरो शंका छ । जाहेरवाला शुर बहादुरले आफ्नो भाउजूको कीर्ते कागज खडा गरी ०३१ विगहा जमीन आफ्नो नाउँमा गरेको र निजको भाउजू मेरी माइजू हुँदा मुद्दा गर्ने राय दिई सहयोगमा भाइ तर्कराजलाई पठाई कालीकोट जिल्लामा मुद्दा चलिरहेकोले सोही इवीबाट म र मेरा भाइहरू समेतलाई निजले झुठ्ठा पोलेको हो म निर्दाेष छु भन्ने समेत व्यहोराको प्र.लोकराज शाहीले अदालतमा गरेको इन्कारी बयान ।
२७. ०३७।४।२० गते म आफ्नै घरमा सुतेको थिएँ । मैले बलिराजलाई गोली हाने हनाएको केही होइन । जाहेरवाला शुर बहादुरको श्रीमतीसँग मृतक बलिराजको अनैतिक सम्बन्ध थियो भन्ने गाउँ घरमा चलिरहेको थियो । सोही रिसइवीले आफैं शुर बहादुरले बलिराजलाई गोली हानी मारेकोमा मेरो शंका लाग्छ । आफूले गरेको अपराध छिपाउने हामी उपर झुठ्ठा जाहेरी गरेको हो भन्ने समेत व्यहोराको प्र.भीमराज शाहीले अदालतमा गरेको इन्कारी बयान ।
२८. मैले गोली हानी बलिराजलाई मारे मराएको केही होइन म सो दिन आफ्नै घरमा छु । शुर बहादुरको श्रीमतीसँग मर्ने बलिराजको अनैतिक सम्बन्ध छ भन्ने कुरा चलेको थियो सोही कारणले निज शुर बहादुरले नै बलिराजलाई गोली हानेकोमा शंका लाग्दछ । तर्कराज, लोकराज मेरा दाजु भाइ भएकोले निजहरूसँग जाहेरवालाको जग्गा सम्बन्धी इवी हुँदा मलाई पनि पोलेको आफू बच्न आफ्ना भतिजा, नाती राजु, बुहारी समेतलाई सिकाई झुठ्ठा पोल्न लगाएको हो भन्ने समेत व्यहोराका प्र.देवराज शाहीले अदालतमा गरेको इन्कारी बयान ।
२९. स.स.अ.ले मेरा उपर लगाएको अभियोग झुठ्ठा हो । मैले पंख बहादुरसँग मिलोमतो गरेको होइन । ०३७।४।२० गते कमैयालाई हर दुवाई खुवाउने विशेष व्यवस्था गरेकोले सखा भतिजा बलिराजको श्रीमती माइत गएकोले निज भतिजा र निजको नाबालख छोरा राजु पनि मेरै घरमा सो दिन आएकाले राती निदाएका बखत भतिजा बलिराजलाई गोली लागि ब्युँझि हेर्दा तर्क बहादुर र सुन्दर चन्दलाई भागी जानलागेका देखें अरु ७।८ जना मकैबारीबाट भागी जानलागेको आवाज सुनें जाहेरीमा लेखिएका तर्क, लोक, सुन्दर, मान बहादुर, भीमराज, पंख बहादुर, गोपी शाही, देवराज चन्दबहादुर समेतका सल्लाहबाट बलिराजको हत्या भएको हो बलिराजको मेरो श्रीमतीसँग अनैतिक सम्बन्ध थिएन आफू बच्न मलाई झुठ्ठा आरोप लगाएका हुन् भन्ने समेत व्यहोराको प्र.सुर बहादुर जाहेरवालाले अदालतमा गरेको इन्कारी बयान ।
३०. २०३७।४।२० गतेका राती बाजे सुर बहादुरको घरमा म बाजे सुर बहादुर बाबु, जेठी बजैकोसाथ बाहिर खाटमा सुतेको थियौं हात खुट्टाको ठूलो औला दुखेकोले निन्द्रा आएको थिएन सो समयमा लोकराज तर्कराजले मलाई देख्नासाथ चुप्प भनी औलो आफ्नो मुखमा राखी चुप्प भनें म नबोली लोकराजले बुबालाई छामी बेट्रि देखायो र तर्कराजले पेस्तोलले हानेको हुँदा बुबा घाइते भई औषधि गराउन लैजादा बुबा मरेका हुन् । बाबु कराएपछि अरु विउँझेका हुन् त्यसपछि के के भो थाहा छैन भन्ने समेत व्यहोराको मृतक बलिराजको नाबालख वर्ष ५ को छोरा राजुले अदालतमा गरेको बकपत्र ।
३१. तर्क बहादुर शाही समेतका ८।९ जनाले गोली हानेको हो भन्ने कुराको मृतक बलिराजले प्रहरीमा गरिदिएको कागजबाट थाहा पाएकोे भन्ने समेत व्यहोराको प्र.सुर बहादुरको साक्षी पद्मबहादुरले गरेको अदालतको बकपत्र ।
३२. श्रीपुर हेल्थपोष्टमा घाइते अवस्था बलिराजले गरेको बयानबाट तर्क बहादुर शाही समेतका ८।९ जनाले बलिराजलाई गोली हानेको कुरा थाह पाएँ भन्ने समेत व्यहोराको प्र.सुर बहादुरको साक्षी चन्द्र बहादुरको अदालतको बकपत्र ।
३३. गते बारको सम्झना छैन ०३७ साल श्रावण महिना हो बैशाखी असारमा कर्मचारीले घाइते बलिराजलाई सोद्धा तर्क बहादुर समेतका व्यक्तिले गोली हाने भनी जवाफ दिएको कुरा मैले सुनेको हुँ भन्ने समेत व्यहोराको भवानीसिं बोगटीको अदालतमा गरेको बकपत्र ।
३४. भारतबाट सामान लिई आउँदा श्रावण १८ गतेका दिन काली बहादुरको गद्दीमा बलिराज शाही कहाँ छ भनी हातहातमा लाठी समाती राखेका पंख शाही, चन्द्र शाही, गोपी शाही, भीम शाही, लोकराज शाही सुन्दर चन्द्र, मान बहादुरलाई देखेको हुँदा निजहरूको कर्तव्यबाटै बलिराजको मृत्यु भएको भन्ने हरिसिं कार्कीको अदालतको बकपत्र ।
३५. तर्कराज शाही समेतले बलिराजलाई गोली हानेका छन् भनेको कुरा हेल्थपोष्टका डाक्टरबाट सुनेको हुँ भन्ने कालुसिं विष्टको बकपत्र ।
३६. गोली लाग्यो भनी हल्ला सुन्दा बलिराज भएको ठाउँमा गएँ त्यहाँ तर्क समेतकाले गोली हान्यो भनी बलिराज कराई रहेका थिएँ भन्ने समेतको जनकबहादुरको बकपत्र ।
३७. खटियाको व्यवस्था मिलाई बलिराज भएको ठाउँमा पुग्दा दुश्मनले मारे भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको पद्मबहादुर गिरीको बकपत्र ।
३८. म नछुने भई गोठमा सुतिरहेको थिएँ मकै बारीबाट ८।९ जना भागी गए जस्तो माने देख्न पाएन भन्ने समेत व्यहोराको पंकुमैयाको बकपत्र ।
३९. ०३७।४।२० गतेका राती हल्ला सुन्दा बलिराज भएको ठाउँमा गएको छु तर्कराज शाही समेतले मार्यो भनी कराई रहेको बलिराजलाई देखेको हुँ भन्ने समेत व्यहोराको चेतबहादुरको बकपत्र ।
४०. राती हल्ला सुनि जाँदा तर्क समेतले मार्यो भनी घाइते बलिराज कराई रहेको देखेको हुँ भन्ने समेत व्यहोराको नन्दबहादुर शाहीको बकपत्र ।
४१. राती हो हल्ला भयो के भयो भनी जाँदा घाइते बलिराज तर्क बहादुर समेतले मार्यो भनी कराइरहेको देखें भन्ने समेत व्यहोराको बुद्धि खुनाको बकपत्र ।
४२. बलिराजलाई यी प्रतिवादीहरूले गोली हाने भन्ने अस्पतालका डाक्टरबाट सुनी थाहा पाएँ भन्ने जगतबहादुर शाहीको बकपत्र ।
४३. ०३७।४।१५ र १७ गते निर्दल र बहुदल सम्बन्धमा बलिराजसँग विवाद उठेको ऐ.२० गते, पंख, लोक, तर्क, देव समेतका ६ जना बसेका सुनी थाहा पाएको हुँ भन्ने धनबहादुर शाहीको बकपत्र ।
४४. तर्क बहादुर समेतले गोली हाने भन्ने कुरा बलिराजबाटै सुनेको हुँ भन्ने दीपबहादुरको बकपत्र ।
४५. ०३७।४।२० गतेका राती मैले बस्ने गरेको शुर बहादुरको घरमा सुतेको थिए प्याट् प्याट् आवाज आएपछि सुर बहादुरले मलाई उठाई कर्ण थारुलाई बोलाउन पठाए म फर्कदासम्म बलिराजलाई गाडामा हाली लगिसकेकाले के भई मरे थाहा छैन भन्ने पतिराम थारुको बकपत्र ।
४६. ०३७।४।२० गते राती दुई अढाई बजे प्याट्ट आवाज आयो म लोग्ने शुर बहादुर बराई समेत एकै काठको खाटमा सुतेका थियौं त्यसबेला आमै मरे भनी बलिराम करायो पानीको नलकारित तर्क समेतका ८।९ जना भागी जान लागेका हुँदा निजहरुले हानेको गोलीबाट निज मरेको हो भन्ने समेत व्यहोराको सरजमीनकी निरकला शाहीले अदालतमा गरेको बकपत्र ।
४७. तर्कराज शाही समेतले हानेको गोलीबाट लोग्ने घाइते भएको खबर माइतीघरमै पाएपछि म तुरुन्तै लोग्ने भएको ठाउँ हेल्थपोष्टमा गई होसमा नै भएका लोग्ने बलिराजलाई के भयो भनी २१ गते बिहान ८।९ बजे सोद्धा तर्कराज समेतका व्यक्तिले गोली हाने भनेकोले यी तर्कराज समेतकाले हानेको गोलीबाटै लोग्ने बलिराजको मृत्यु भएको हो भन्ने समेत व्यहोराको मृतककी श्रीमती चित्रकुमारी शाहीले अदालतमा गरेको बकपत्र ।
४८. ०३७।४।२० का राती म भित्र सुतेकी थिए मेरो लोग्ने सुर बहादुर, भतिजा बलिराज शाही समेतका बाहिर सुतेका अवस्था प्याट्ट आवाज आई मेरो निद्रा खुल्यो गोली लागि घाइते भएका बलिराजले चिल्लाई तर्क बहादुर समेतले गोली हाने भनी सुन्दा मकैबारीमा मानिस हिडेंको आवाज सुनेको हुँ तर्क बहादुर समेतका ऐ. हानेको गोलीबाट बलिराज मर्न गएको हो भन्ने जाहेरवालीको जेठी श्रीमती राह शाहीले गरेको बकपत्र ।
४९. ०३७।४।२० का राती म समेत बलिराज एकै खाटमा मेरै घर आँगनमा सुतेको थिएँ राती प्याट्ट आवाज आयो र कराई मलाई तर्कराज समेतकाले गोली हाने भनी दाजु बलिराजले भन्दा यताउती हेरे मकैबारीतर्फ मानिस दौडेको आवाज सुनेको हुँ र तर्कराज समेतले हानेको गोलीबाट दाजु बलिराजको मृत्यु भएको भन्ने बनराज शाहीले अदालतमा गरेको बकपत्र ।
५०. ०३७।४।२० का राती जाहेरवालाको घर पाडमा म सुतेको थिएँ बाहिर आँगनमा पन्नीराज शाही समेत सुतेका थिए राती प्याट्ट आवाज आयो र ब्युँझि बाहिर हेर्दा बलिराज चिल्लाई तर्कराज समेतकाले मलाई गोली हाने भनी ८।९ जनाको नाम भनेकाले तर्कराज समेतकाले हानेको गोलीबाट बलिराज मर्न गएकोमा मेरो विश्वास छ भन्ने सरजमीनका कर्ण बहादुर खनालले अदालतमा गरेको बकपत्र ।
५१. ०३७।४।२० का राती छोरालाई पिसाब गराउन बाहिर आउँदा बलिराम सुतेको ठाउँमा हल्ला सुनेकै रहेछ भनी जाँदा तर्कराज शाही समेतले गोली हाने भनी घाइते बलिराजले भनेको कुरा सुनी निजहरूले नै मारेकोमा शंका लाग्दछ भनी सरजमीनका नैनसिं सुनारले अदालतमा गरेको बकपत्र ।
५२. जाहेरवालाको घरमा राती कुकुर भुकेका र बन्दूक पड्केको आवाज आएपछि बलिराजले एैया भनी कराएको सुनी सो ठाउँमा गई हेर्दा बलिराजलाई पेटमा घाउ लागेको थियो तर्कराज समेतले गोली हाने भनी बलिराजले भनेकाले निजहरू उपर शंका लाग्दछ भन्ने समेत व्यहोराको सरजमीनमा महनदरी शाहीले अदालतमा गरेको बकपत्र ।
५३. तर्कराज र बलिराजका बीच झगडा भइराखेको र तर्कराज समेतकाले मलाई गोली हाने भनी बलिराजले घाइते अवस्थामा भनेकामा निजहरू उपर शंका छ भन्ने मोती शाहीको अदालतको बकपत्र ।
५४. हल्ला हुँदा बलिराज घाइते भएको ठाउँमा भए तर्क बहादुर समेतले गोली हानेका हो भन्ने सुनेकोले निजहरू माथि शंका छ भन्ने प्रभुलाल शाहीको बकपत्र ।
५५. तर्कराज समेतले बलिराजलाई गोली हाने भन्ने सुनें निर्दल बहुदलको रिस परेका समेत हुँदा निज प्रतिवादीहरू उपर शंका छ भन्ने समेत व्यहोराकोे सरजमीनको मोहनवीर शाहीको बकपत्र ।
५६. जाहेरवालाकी श्रीमतीसँग अघि मृतकको अनुचित सम्बन्ध भएको कुरा चलेकोले जाहेरवालाले भनेकोमा शंका छ प्रतिवादी उपर शंका छैन भन्ने प्र.तर्क र प्र.बलिराजको पेटबोलीबाट देखिने बहादुर शाहीको बकपत्र ।
५७. बलीराजको मृत्यु कर्तव्यबाट भएको हो तर प्रतिवादी उपर शंका छैन रिसइवीको कारण जाहेरवालाले पोलेको होला भन्ने समेत व्यहोराको प्र.तर्क र देवको पेटबोलीमा देखिने मान बहादुर शाहीको बकपत्र ।
५८. ०३८।४।२० का राती छोरा बिरामी हुँदा ब्युँझेकै थिएँ, सुर बहादुरको घरमा आवाज भएको थिएन । तर्क बहादुरले गोली हानेकोमा शंका छैन । जाहेरवाला उपर शंका छ भन्ने समेत व्यहोराको प्र.तर्कराजको साक्षी नन्दराज जोशीको बकपत्र ।
५९. कुन्नी कसले बलिराजलाई गोली हानें प्रतिवादीहरू उपर शंका छैन रिसइवीले पोलेको होला भन्ने समेत व्यहोराको प्र.तर्कको साक्षी जङ्ग बहादुरको बकपत्र ।
६०. बच्चा बिमार हुँदा ०३७।४।२० गतेका राती ब्युँझेको थिए सो राती जाहेरवालाको घरमा हल्ला भएको सुनिन । बलिराजको मृत्यु कर्तव्यबाट भएको हो तर प्र.तर्क बहादुर उपर शंका छैन रिसइवीले पोलेको होला भन्ने समेत व्यहोराको प्र.तर्क राजको साक्षी नेत्रबहादुर शाहीको बकपत्र ।
६१. प्र.लोकराज शाही उपर शंका छैन भन्ने समेत व्यहोराको निजको साक्षी तन्नुराज पन्तको बकपत्र ।
६२. प्र.लोकराज शाही उपर शंका लाग्दैन इवी परेका मानिस हुँदा जाहेरवालाले पोलेका होला भन्ने समेत व्यहोराको निज प्र.लोकराजको साक्षी खुसीराम चौधरीको बकपत्र ।
६३. कुन बदमासले बलीराजलाई कर्तव्य गरी मारे लोकराजले मारेकामा शंका छैन भन्ने समेत व्यहोराको प्र.लोकराजको साक्षी मुगलाल चौधरीको बकपत्र ।
६४. गोली लागेको कुरा २१ गते सुनी थाहा पाएको छु भीमराज देवराज माथि शंका लाग्दैन भन्ने समेत व्यहोराको निजहरूको साक्षी दौलतसिं भण्डारीको बकपत्र ।
६५. बलिराजलाई मारेकोमा शंका लाग्दैन । भन्ने समेत व्यहोराको प्र.लोकराजको साक्षी बलिराम चौधरीको बकपत्र ।
६६. लोकराज समेत उपर शंका छैन भन्ने समेत व्यहोराको प्र.लोकराजको साक्षी बलिराम चौधरीको बकपत्र ।
६७. बलिराजको मृत्यु कसको हातबाट भयो थाहा छैन । जाहेरवालाको घरमा सो दिनमा हल्ला भएको नसुन्दा जाहेरवाला उपर शंका छ भन्ने समेत व्यहोराको प्र.लोकराज र प्र.देवराजका साक्षी नैंनसिंह भण्डारीको बकपत्र ।
६८. ०३७।४।२० गतेका राती जाहेरवालाको घरमा रोए कराएको सुनिन निज जाहेरवाला उपर शंका छ भन्ने समेत प्र.लोकराजको साक्षी प्रेम बहादुर शाहीको बकपत्र ।
६९. घटना घटेको राती ९ बजेसम्म सुन्दर चन्दको घरमा पुस्तक पढी घरमा गएको हुँ सुन्दर चन्दले गोली हानी बलिराजलाई मारेको होइन भन्ने समेत प्र.सुन्दर चन्दको साक्षी उमा खनालले गरेको बकपत्र ।
७०. ०३७।४।२० गतेका राती १०।११ बजेसम्म सुन्दर चन्दकै घरमा छु सुन्दर चन्दले मारेको होइन भन्ने समेत प्र.सुन्दर चन्दको साक्षी मदनबहादुर खड्काले गरेको बकपत्र ।
७१. ०३७।४।२० गतेका रातभर म ब्युँझैछु जाहेरवालाको घरमा कुनै आवाज सुनिन, सुन्दर चन्द उपर शंका छैन जाहेरवाला उपर शंका छ भन्ने समेत प्र.सुन्दर चन्दको साक्षी कल्याणसिंह पन्तले गरेको बकपत्र ।
७२. ०३७।४।१८ खटीमा गई २१ गतेमा पनि मान बहादुर घरमा आएका छैन भन्ने सुनेकोले मान बहादुर भण्डारी उपर शंका छैन भन्ने समेत निजको साक्षी विसनसिं पन्तको बकपत्र।
७३. ०३७।४।१८ देखि ऐ.२१ गतेसम्म मान बहादुर पेन्सन बुझन् भारत खटीमा गएका हुँदा निज उपर शंका छैन भन्ने समेत निजका साक्षी पद्मबहादुर चन्दले गरेको बकपत्र ।
७४. ०३७।४।२० का राती जाहेरवालाको घरमा हल्ला भएको सुनिन गोपी शाही समेतले गोली हानी मारेकोमा शंका छैन जाहेरवाला माथि शंका छ भन्ने समेत प्र.गोपी शाहीको साक्षीको मान बहादुर जि.सी.को बकपत्र ।
७५. मकैको पहरा गरी बसेको थिए ०३७।४।२० का राती कुनै आवाज र हल्ला सुनिन कर्तव्यवाला को हो थाहा छैन पंख बहादुर उपर शंका लाग्दैन भन्ने समेत निज प्र.पंखको साक्षी धनबहादुर खत्रीले गरेको बकपत्र ।
७६. ०३७।४।२० का राती बलिराजलाई कसरी गोली लाग्यो थाहा छैन । सुर बहादुरले लेखाएका व्यक्ति माथि शंका छैन भन्ने समेत प्र.पंखको पेटबोलीमा देखिएकी लक्ष्मीदेवी शाहले गरेको बकपत्र ।
७७. बलिराजलाई कर्तव्य गरी मार्नेमा जाहेरवाला उपर शंका लाग्दछ प्र.देवराज उपर शंका छैन भन्ने समेत प्र.देवराजको साक्षी साउने तिरुवाको बकपत्र ।
७८. प्र.देवराज उपर शंका छैन सुर बहादुर माथि शंका छ भन्ने समेत प्र.देवराजको साक्षी विरवले तिरुवाले गरेको बकपत्र ।
७९. बलिराजलाई प्रतिवादीहरूले मारेको होइन भन्ने समेत व्यहोराको प्र.पंखराजको पेटबोलीबाट बुझिएकी श्रीमती पद्म कुमारीले गरेको बकपत्र । बलिराजलाई कसले गोली हाने थाहा छैन तर्कराज, लोकराज, भीमराज, गोपी शाही समेतले ज्यान मारेको होइन भन्ने समेत मान बहादुरकी श्रीमती शीला शाहीले गरेको बकपत्र ।
८०. ०३७।४।२० गते बिहान ६।७ बजे थानामा ल्याउँदा घाइते बलिराज छटपटाई रहेको देखि निवेदन लिई हेल्थपोष्टमा पठाएँ । एकछिनमा म पनि गएँ । गोली लागेको छ निकाल्ने सामान छैन जिल्ला स्तरको अस्पतालमा लैजाउ भनी हेल्थपोष्टबाट भनेका हुन । मर्नु भन्दा अघि घाइते अवस्था बलिराजले सरसर्ती भन्न नसके पनि रोकीरोकी होशको अवस्थामा नै घाइतेले भनेको हो, २१ गते बेलुकी लाश थानामा आएको हो । मृतकले गरेको कागजको थपकेरमा सहिछाप गराउने नै स्थिति नहुँदा छुटेको हो भन्ने समेत व्यहोराको प्र.ना.नि.मुकुन्दबहादुर स्वारले गरेको बकपत्र ।
८१. मृतक होश छँदै घाइते अवस्थामा गरिदिएको कागज हो । घाउको गहिराई बढी हुँदा रगतभित्रै रोकिन गई बाहिर नआएको हुन सक्छ । कागज मेरो रोहवरमा भएको हो भन्ने समेत व्यहोराको रिचाहा हेल्थपोष्टको इन्चार्ज शिवदत्त भट्टको बकपत्र ।
८२. ०३७।४।२४ गते मैले गरिदिएको शव परीक्षणपत्र मिसिल सामेल नै होला । लाश सडेको हुँदा मुटु फोक्सोमा गोली भेटिएन आन्द्रामा पसेको सम्भावना हुँदा एक्सरे गर्न साधनको कमीले गोली लागेको भनी राय व्यक्त गरिएको हो । बाहिर निस्केका घाउ नहुँदा गोलीभित्रै रहेको हुनु पर्छ भनी भन्ने समेत व्यहोराको डा.बी.डी.चटोतको बकपत्र ।
८३. महिना र गतेको सम्झना रहेन, ०३७ साल हो घाइते अवस्थामा बलिराजलाई हेल्थपोष्टमा ल्याएको थिए म त्यहाँको पिउन हुँदा औषधि ल्याउने आदि कामले बाहिर भित्र गर्ने हुँदा निज बलिराजले गरिदिएको कागजको व्यहोरा सम्झना छैन । कागज चाहिँ बलिराजले गरेका हुन गंजीको घाउ भएको ठाउँमा रगत थियो भन्ने समेत व्यहोराको श्रीपुर हेल्थपोष्टको पि.गोपाल धामीले गरी दिएको बकपत्र ।
८४. किटानी जाहेरी दर्खास्त, सरजमीन मुचुल्का तथा हरिसिंह कामीको बकपत्र समेतबाट यी प्रतिवादीहरूको मृतक बलिराज शाहीसँग रिसइवी परेको र प्रतिवादीहरूले मृतक बलिराजको ज्यानलिने षडयन्त्र रचिराखेको पुष्ट्याई हुन आएको समेत परिबन्दबाट प्रतिवादी मध्येका सुन्दर चन्दलाई हिड्न नसक्ने एक खुट्टाको व्यक्ति घटनास्थलमा जान नसक्ने भन्ने जिकिर तथ्ययुक्त नदेखिने हुँदा बुँदा प्रमाणको आधार प्रतिवादी तर्कराज भनेको तर्क बहादुर शाही, लोकराज शाही, देवराज शाही, चन्द्र बहादुर शाही, पंखराज भनेको पंख बहादुर शाही, गोपी शाही, भीमराज शाही सुन्दर चन्द र मान बहादुर भण्डारीको मिलोमतोबाट प्रहरी प्रतिवेदन माग दावी अनुसार मृतक बलिराज शाहीको मृत्यु गोली हानी कर्तव्यबाट भएको देखियो । प्रतिवादीहरूमध्ये यसैले गोली हानेको भनी छुट्याउन नसकिने हुँदा कर्तव्यवाला तर्कराज भन्ने तर्क बहादुर शाहीलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । प्र.मीनराज भन्ने भीमराज शाही, लोकराज शाही, सुन्दर चन्द,पंखराज भन्ने पंख बहादुर शाही देवराज शाही, मान बहादुर भण्डारी, गोपी शाही, चन्दबहादुर शाही ज्यान मार्नमा सल्लाहा गरी वारदात स्थलमा गएका हात हतियार छाडेको नदेखिँदा ज्यान मार्नेको मतलबमा पसेको सिद्ध हुन आएकोले निजहरूलाई ज्यानसम्बन्धीको १७ नं. को देहाय ३ बमोजिम जनही ३ वर्ष कैद हुने ठहर्छ र स.स.अ.को १७(३) को माग दावी भएको शुर बहादुर शाहीले सफाई पाउने ठहर्छ भन्ने मिति ०४१।७।१९।१ को कं.जि.अ.को फैसला ।
८५. प्रतिवादी मध्येका सुर बहादुर शाहीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ नं.को देहाय (३) बमोजिम सजायँ हुन पर्नेमा कञ्चनपुर जिल्ला अदालतले सफाई दिएको र अन्य प्रतिवादीहरू लोकराज शाही, देवराज शाही, चन्द्र बहादुर शाही, पंख बहादुर शाही गोपि, भीमराज शाही, सुन्दर चन्द मान बहादुर भण्डारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) को माग दावी भएकोमा उक्त अदालतबाट ऐनको १७(३) अनुसार सजायँ गरेकोले प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने सु.प.क्षे.स.ब.का डोटीको पुनरावेदनपत्र ।
८६. हामीलाई ज्यानसम्बन्धीको १७(३) को कसूर स्थापित गरिएको छ मतलबमा पसेको, वारदातमा उपस्थित भएको भन्ने कुनै वस्तुनिष्ठ आधार छैन । मार्नु पर्नेसम्मको कुनै गम्भीर कारण देखिएको छैन । प्रयोजन लेख्न सकिएको छैन । हामी अन्यत्र रहेका व्यक्तिहरू शारीरिक रुपमा असक्षम व्यक्तिलाई समेत अपराधी घोषित गरी सजायँ गरिएको छ । फौज्दारी न्यायका सर्वमान्य सिद्धान्तका विपरीत भएको निर्णय त्रुटिपूर्ण छ, उपरोक्त बर्णन गरे अनुरुपको त्रुटिपूर्ण निर्णय बदर गरी सफाई पाउँ भन्ने लोकराज शाही समेत जना ७ को संयुक्त पुनरावेदनपत्र।
८७. २०३७।४।२१ गतेमा गरेको मुचुल्कामा रोहवरमा बस्नेमा निजहरू मध्येका दलबहादुर धिताल र श्रीपुर गा.पं. का उपप्रधानपञ्च नर्दमान राईलाई बुझ्न कं.जि.अ.बाट म्याद जारी हुँदा नर्दमान राईको वतन नखुलेको भनी म्याद तामेल गरेको मिलेन र दलबहादुर धिताललाई नबुझी नहुने भएकोले निजहरुका नाउँमा अ.बं. ११५ बमोजिम म्याद दिई झिकाउनु भन्ने मिति ०४३।६।३ को यस अदालतमा डिभिजन बेञ्चको आदेशानुसार म्याद तामेल भई हाजिर हुन नआएका ।
८८. मृतकको हत्याको सम्बन्धमा प्र.तर्कराज समेतको पोल बयानबाट प्रतिवादी हुन आएका शुर बहादुर शाही दोश्रो रहेछन् भन्ने कुराको तथ्ययुक्त प्रमाण केही पनि गुज्रन नआएकोले प्र.तर्कराजको इन्कारी पोल बयान साँचो देखिन आएन । तर्कराजले लगाएको पहिरन भेषभूषा समेतको हवाला दिई हातमा पिस्तोल लिई बलिराजलाई गोली फायर गर्न निज तर्कराज शाही हुन भनी मृतकको छोरा नाबालख राजु शाहीले प्रत्यक्षदर्शीको रुपबाट गरेको बकपत्रलाई अन्यथा भन्न गर्न हुने त्यो भन्दा बढी अरु तथ्ययुक्त प्रमाण नहुँदा उल्लिखित प्रमाणको आधारबाट मृतक बलिराजको निजै प्र.तर्कराज भन्ने तर्क बहादुर शाही नै हुन आएको देखियो । तर्कराजका अतिरिक्त अरु प्रतिवादीहरू पनि हत्यारा हुन् कि भन्नालाई प्रत्यक्षदर्शी राजु शाहीले अरु प्रतिवादीहरूलाई नचिनेको लोकराज शाहीले टर्चले बुबा बलिराजलाई देखाएको सम्म भनेको मृतक बलिराजले पनि प्र.तर्कराजका अतिरिक्त अरु प्र.हरूका नाम लिंदा लोकराज शाही, मिनराज शाही, पंखराज शाही, गोपी शाहीको नामोच्चारण गरेको भए पनि तर्कराज बाहेकका अरुलाई गोली चलाउने व्यक्ति भनी भन्न नसकेको अवस्था हुँदा प्र.तर्कराजसँग साथमा भएका कारणले मात्र निजहरूलाई पनि हत्यारा अपराधीको संज्ञा दिन मिलेन । निजहरु प्र.तर्कराज शाहीको सँगसाथमा भएको देखिन आएकोले निजहरू ४ जनालाई मतलबी मतियारसम्म भएको देखियो । अब निजहरू बाहेक अरु चन्द्र बहादुर शाही १, सुन्दर चन्द १, देवराज शाही र मान बहादुर भण्डारीका हकमा निजहरूलाई मृतक बलिराजले पनि आफ्नो कागजमा नामोच्चारण गर्न नसकेको नाबालख राजु शाहीले पनि चिन्न नसकेको र जाहेरवाला सुर बहादुर शाहीले आफ्नो जाहेरीमा प्र.सुन्दर चन्दलाई पनि देखेको भनी जाहेरी दर्खास्त समेतमा लेखाएका छन् तापनि निज उपर प्र.तर्कराज समेतको पोल परेको हुनाले यस्तो प्रतिवादी देखिन आएको निज सुर बहादुरले सुन्दर चन्दलाई पनि देखेको भन्ने कुरालाई प्रमाणमा लिन सशंकित हुन आई यौटा पोलसम्म हुन आयो निज बाहेक अरूले सुन्दर चन्दलाई मौकामा देखेको भनी कसैले पनि भन्न नसकेको र अरु चन्द्र बहादुर शाही देवराज शाही १ मान बहादुर भण्डारी समेतलाई मौकामा देख्ने कोही नहुँदा स्वयं मृतक बलिराज शाहीले नै बेलौरी ठानामा बयान गर्दा नाम लिन नसकेकोमा फेरि निजले नाम लिएको सुनेको भन्ने केही सरजमीनका व्यक्तिहरूको बकपत्रबाट निजहरू दोषी भन्न मिलेन यस्तो अवस्थामा निजहरूलाई समेत मतलबी मतियार भनी दोषी ठहर्याएको शुरु इन्साफ मिलेको देखिएन । उपरोक्त प्रमाण परिबन्दबाट अभियुक्तहरू मध्येका प्र.तर्क राज भन्ने तर्क बहादुर शाहीको मृत्यु हुन गएकोले निजलाई वादी दावी बमोजिम ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ र निज बाहेक अरु प्र.लोकराज शाही १, पंखराज भन्ने पंख बहादुर शाही १ गोपी शाही १ मीनराज भन्ने भीमराज शाही १ समेत ४ जनालाई ज्या.सं. को १७(३) बमोजिम जनही कैदवर्ष ३ का दरले सजायँ गर्ने र प्र.सुर बहादुर शाहीलाई आरोपित कसूरबाट सफाई दिने गरेकोसम्म शुरु अदालतको इन्साफ मनासिब ठहर्छ । सो बाहेक अरु प्र. चन्दबहादुर शाही १ देवराज शाही १ सुन्दर चन्द १ मान बहादुर भण्डारी १ समेत जवान ४ का हकमा कसूरदार भन्न प्रयाप्त सबूद नहुँदा निजहरूले कसूर गरेको ठहर्दैन । शुरुको इन्साफ केही उल्टी हुन्छ भन्ने सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।६।१५।४ को फैसला । सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त नबुझी यस अदालतमा श्री ५ को सरकारको पुनरावेदन र प्र. गोपी शाही लोकराज शाही तथा प्र. तर्क बहादुर शाही प्र. पंख बहादुर शाही र भीमराज शाहीको पुनरावेदन परी बेञ्च समक्ष नियम बमोजिम पेशीमा चढी पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दामा श्री ५ को सरकारको तर्फबाट विद्वान का.मु. उप-न्यायाधिवक्ता श्री गौरीबहादुर कार्कीको बहस जिकिर तथा पुनरावेदक प्रतिवादी तर्क बहादुर शाहीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री प्रकाश बस्तीको बहस समेत सुनियो ।
८९. प्रस्तुत कर्तव्य ज्यान मुद्दामा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ निर्णय दिनु परेको छ ।
९०. यसमा प्र.तर्कराज शाही, लोकराज शाही, मीनराज शाही, चन्द्र बहादुर शाही, देवराज शाही, सुन्दर चन्द गोपी शाही, मान बहादुर भण्डारी समेतका मानिसहरू पुराना झगडिया हुँदा यिनीहरूले अघि पनि मार्ने धम्की दिएको र मिति ०३७।४।२० गतेको राती बलिराज र म बाहिर खाटमा सुतिरहेको अवस्थामा गोली हानेको २ पटक आवाज आयो तर्कराज र सुन्दर चन्दलाई चिने अरु ६।७ जनालाई चिनिन । उक्त प्रतिवादीहरूको गफमेलबाट बलिराजलाई गोली हानेकोले निजहरूलाई पक्राउ गरी कानुन बमोजिम कार्यवाही गरिपाउँ भन्ने सुर बहादुर शाहीले गरेको जाहेरीमा उल्लेख भएको पाइन्छ । The possible cause of death is due to gun shoot injury causing internal haemorrage from intestine though the bullet could not be detected during the Post Mortem Exam. भनी पोष्टमार्टममा उल्लेख भएकोबाट पनि मृतकको मृत्यु गोली लाग्न गएबाट मरेको देखिन आउँछ । मृतकको नाबालख छोरा राजु शाहीले अदालतमा आई बयान गर्दा स.ज.६ मा लोकराजले बेट्री देखायो तर्कले पेस्तोलले हानेकोबाट बुबा मरेका हुन् । स.ज.१२ मा तर्कले मलाई देख्ना साथ आफ्नो मुखमा औंलाले चुप भनेकोले मैले केही बोलिन भनेको र स.ज.१६ मा लोकराजले बुबालाई छामे तर्कले हानेको हो । स.ज.१७ मा नजिकै तर्क आएपछि देखेको भनी बयान गरेको पाइन्छ भने मृतक बलिराज शाहीले आफू मर्नु भन्दा अगाडि प्रहरी थाना बेलौरीमा लोकराज, मीनराज, पंखराज गोपी शाही, तर्क बहादुर शाही समेतले अपराध गरी भागेको देखे भनी प्र.ना.नि.मुकुन्दबहादुर स्वार हे.पो.इन्चार्ज शिवदत्त भट्ट र हे.पो.को. पिउन गोपाल सिंह बोहरा समेतको उपस्थितमा उक्त कुरा उल्लेख गरेको देखिन्छ । मृतकको शरीरमा गोली पास नभएको र अन्य कुनै ठाउँमा घाउ चोट नदेखिएको भनिएको लाश जाँच प्रकृति मुचुल्काले पनि गोलीबाट मर्न गएको देखिन्छ । साथै अदालतमा आई प्र.ना.नि.मुकुन्दबहादुर स्वारले बयान गर्दा मृतक बलिराजले मर्नु भन्दा अगाडि आफू समक्ष गरेको कागज सम्बन्धमा बलीराज गोलीको बेदनाले सरसर्ती भन्न नसके पनि रोकी रोकी होशमा निजले भने बमोजिम लेखिएको हो भनी एउटा प्रहरी कर्मचारीले अदालतमा आई गरेको बयानलाई असत्य मान्न मिल्दैन । कैलाली अस्पतालमा सिनियर मेडिकल अधिकृत श्री वि.डि.चटौतले अदालतमा आई बयान गर्दा मृतकको पोष्टमार्टम आफैंले गरेको र मृतकको शरीर सडेगलेको हुँदा मुटु, फोक्सो, पेट आदि हेरियो त्यहाँ गोली पाइएन। एक्सरेको साधन नहुँदा आन्द्रामा गोली पसेको कुरा पेटमा लागेको घाउको आधारले गोली लागेको घाउ भनी प्रमाणित गरेको छु र बाहिर गोली पास भएको घाउ नदेखिएको कारणले गोली भित्रै रहेको हुनुपर्छ भनी आफ्नो बयानमा स्पष्टसँग उल्लेख गरेको छँदा छँदै गोलीको चोटबाट मृतक मरेको होइन भन्न सकिन्न । त्यस्तै मृतकको श्रीमती चित्रकुमारी शाहीले अदालतमा आई बयान गर्दा स.ज.७ मा मेरो लोग्ने निर्दल पञ्चायतको वडा अध्यक्ष हुनुभएको र प्रतिवादी तर्क बहादुर समेत ९ जना समेत बहुदलतर्फका भएकाले त्यसैको सिलसिलामा प्रचार गर्दा ०३७।१।१८ गतेका दिन लोग्ने बलिराज र तर्क बहादुर समेतको झगडा भई बलिराजको खून खान्छौ भनी हिंडे्को मेरै घरमा आई मेच खुकुरीले काटी बन्दूकको फायर पनि गरे लोग्ने घर थिएन त्यस किसिमको रिसइवी परेकोले सोही कारणबाट तर्क बहादुर समेतले लोग्ने बलिराजलाई गोली हानी मारेको भनी किटानी साथ बयान गरेको र शुर बहादुरले मारेको होला भन्ने प्रतिवादीहरूको बयान झुठ्ठा हो । शुर बहादुर शाहीको श्रीमती सह शाही र मेरो श्रीमान आमा भतिजा नाता भएकोले अनैतिक सम्बन्ध भएको नभई ज्यानमाराबाट बच्न प्रतिवादीले झुठ्ठा बयान गरेका हुन भनी बयान गरेको समेत पाइन्छ । श्रीपुर हेल्थपोष्ट बेलौरीका अ.हे.ब. शिवदत्त भट्टले अदालतमा आई बयान गर्दा मिति ०३७।४।२१ गते गरेको कागज मृतकले सचेत अवस्थामा छँदै भनेको हो स.ज.(८) स.ज.५ मा मृतकले लगाएको गन्जीमा र नाभी भन्दा २ अंगुल माथि गोलाकारको घाउको प्वाल डामिएको र जीउमा लागेको घाउ लोकल टिसिर र सेल डेमेज भएको देखेको भित्र खोकलो आकारको थियो र गोली लागे मात्र त्यसप्रकारको घाउ हुनसक्ने बढी सम्भावना हुने हुँदा सोही आधारबाट गोलीको घाउले भनी घा जाँच रिपोर्टमा आफ्नो राय व्यक्त गरी गोली झिक्ने उपचार गर्ने साधनको कमीले गर्दा जिल्लास्तरको अस्पतालमा लानु भनी राय व्यक्त गरेको कुरा बताएको र सोही हेल्थपोष्टको पिउन गोपाल सिंह बोहराले अदालत आई बकपत्र गर्दा बलिराजले मर्नु भन्दा अगाडि घाइतेले गरेको कागज निज होशमा भएको बेला लेखेको हो भनी स्पष्ट बयान बकपत्र गरेको देखिन आउँछ। सो बयान प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा लिन मिल्ने नै देखिन्छ ।
९१. यसरी गोलीको चोटबाट मृतक बलिराजको मृत्यु हुन गएको कुरामा कुनै विवाद रहेन । मृतकको नाबालख छोरा राजु शाहीले लोकराजले बेट्री देखायो तर्कले गोली फायर गरेकोबाट बुबा बलिराजको मृत्यु भएको आफैंले देखेको भनी अदालतमा आई स्वाभाविक ढंगले गरेको बयान विश्वासनीय देखिन आउँछ र मृतकको श्रीमतीले आफ्नो पति बलिराजको मृत्यु भएको कारणमा बलिराज र तर्कको बहुदलको प्रचारमा झैं झगडा भई खून खान्छौ भनी हिंडे्कोबाट पुरानो रिसइवी छैन रहेछ भन्न पनि मिलेन मर्नु भन्दा अगाडि बलिराजले बेलौरी थानामा श्रीपुर हेल्थ पोष्ट बेलौरीको अ.हे.ब.शिवदत्त भट्ट, प्र.ना.नि. मुकुन्दबहादुर स्वार, हेल्थ पोष्ट पिउन गोपाल सिं बोहराको उपस्थितमा गरी दिएको कागजमा तर्क बहादुर समेतले अपराध गरी भागेको देखें भनी गरिदिएको कागजलाई अन्यथा भन्न मिलेन । तसर्थ प्र. तर्कराज भन्ने तर्क बहादुर शाहीले हानेको फायरबाट मृतक बलिराजको मृत्यु हुन गएको देखिन्छ र मृतकको छोरा राजुले तर्क बाहेक अरु प्रतिवादीहरूले गोली हानेको भनी भन्न नसकेको र जाहेरीमा मिनराज, पंखराज, गोपीको नाम उल्लेख भएबाट प्र. तर्कराज शाहीको सँग साथमा गई मतियारसम्म देखिन आयो सुन्दर चन्दलाई मौकामा देखेको भनी सुर बहादुर बाहेक अरुले भन्न नसकेकोबाट निज सुन्दर चन्दलाई समेत मतियार भनी दोषी ठहर्याउने गरेको शुरुको इन्साफ मिलेको देखिएन भनी क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब देखिन आयो तर्कराज भन्ने तर्क बहादुर शाहीले हानेको गोलीबाट मृतक बलिराजको मृत्यु हुन गएको कुरा उपरोक्त बुँदा प्रमाणबाट स्पष्ट देखिन आएको हुँदा वादी दावी बमोजिम निज तर्क बहादुर शाहीलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ गर्ने गरेको र निज बाहेक अरु प्र. लोकराज शाही १ पंख भन्ने पंख बहादुर शाही १ गोपी शाही १ मीनराज भन्ने भीमराज शाही १ समेत जवान ४ लाई ज्यान सं.को १७(३) बमोजिम जनही ३ वर्षका दरले कैदको सजायँ गर्ने गरेको र प्र.सुर बहादुर शाहीलाई आरोपित कसूरबाट सफाई दिने गरेको सम्म शुरु कञ्चनपुर जिल्ला अदालतको इन्साफ मनासिब ठहर्याएको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी पंख, भिमराज, लोकराज गोपी र तर्क बहादुर शाहीको पुनरावेदन जिकिर पुग्न सकेन । प्र.लोकराज शाही, भीमराज शाही, पंखराज शाही, गोपी शाही उपर ज्या.सं. को १३(१) र प्र.सुर बहादुर शाहीलाई ज्या.सं.को १७ (३) बमोजिमको र देवराज शाही, सुन्दर चन्द मान बहादुरलाई क्षे.अ.ले सफाई दिएकोमा चित्त नबुझी प्रहरी प्रतिवेदन माग बमोजिम सजायँको माग दावी लिएको श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । साधकको लगत कट्टा गरी तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
देहायका पुनरावेदक प्रतिवादीहरूको माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजहरूलाई शुरु जि.अ.ले ज्या.सं.को १७(३) बमोजिम जनही कैदवर्ष ३ का दरले कैद गर्ने गरेकोमा निजहरूको क्षे.अ.मा पुनरावेदन परी पुनरावेदन जिकिर पुग्न नसक्ने ठहरेकोले पुनरावेदन गरे बापत अ.बं. २०३ नं. बमोजिम सयकडा १०% ले थप कैद महिना X।३।१८ को दरले गरेकोमा निजहरूले क्षेत्रीय अदालतमा पुनरावेदन दिँदा वर्ष ३ को हुने नगद रु.१,६२० का दरले धरौट राखेको देखिनाले सो नलाग्ने हुँदा फिर्ता दिई शुरुले ठहर्याएको कैदवर्ष ३ को अतिरिक्त थप कैद जनही महिना X।३।१८ समेत लगत कसी कानुन बमोजिम गर्नु भनी शुरु का.जि.अ.मा लगत दिने भनी क्षे.अ.ले मिति ०४३।६।१५।४ मा निर्णय गरेकोमा निज प्रतिवादीहरूलाई १७(३) बमोजिम जनही कैदवर्ष ३ का दरले शुरुले कैद गर्ने गरेको इन्साफ सदर गरेको क्षे.अ.को इन्साफ मनासिब भई देहायका प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहरेकोले अ.बं.२०३ (१) नं. बमोजिम सयकडा ५% ले जनही थप महिना X।१।२४ दिन हुँदा क्षे.अ.ले शुरुले ठहर्याएको कैदवर्ष ३ को अतिरिक्त थप कैद X।३।१८ गर्ने गरेकोमा अरु थप कैद महिना X।१।२४ दिनको लगत कसी कानुन बमोजिम असूल गर्नु र निज प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन गर्दा राखेको धरौटी जनही रु. ५००।– फिर्ता दिनु भनी शुरु जि.अ.मा लेखि पठाउन का.जि.अ.त.मा लगत दिनु ।
जि.कञ्चनपुर लक्ष्मीपुर गा.पं. वडा नं. ७ बस्ने लोकराज शाही के.सु.प.क्षे.अ.ले थप कैदवर्ष ३ महिना १८ दिन गरेकोमा सोको आधार समेत थप असूल गर्नु पर्ने थप कैद महिना १ महिना २४ दिन हुने हुँदा सोको लगत कसी कानुन बमोजिम असूल गर्नु र निज लोकराज शाहीले यस अदालतमा पुनरावेदन गर्दा राखेको धरौटी रु. ५००।– निजलाई फिर्ता दिनु भनी शुरु जि.अ.मा लेखि पठाउन का.जि.अ.त.मा लगत दिनु ।
ऐ. ऐ. बस्ने पंखराज भन्ने पंख बहादुर शाहीके ऐ. ऐ. थप कैद महिना १ महिना २४ दिन समेतको लगत कसी कानुन बमोजिम असूल गर्न र निज पंख बहादुर शाहीले यस अदालतमा पुनरावेदन गर्दा राखेको धरौटी रु. ५००।– निजलाई फिर्ता दिनु भनी शुरु जि.अ.मा लेखि पठाउन का.जि.अ.त.मा लगत दिनु ।
ऐ. ऐ. बस्ने गोपी शाहीको ऐ. ऐ. थप कैद महिना १ महिना २४ दिन समेतको लगत कसी कानुन बमोजिम असूल गर्नु र निज गोपी शाहीले यस अदालतमा पुनरावेदन गर्दा धरौटी राखेको रु. ५००।– निजलाई फिर्ता दिनु भनी शुरु जि.अ.मा लेखि पठाउन का.जि.अ.त.मा लगत दिनु ।
ऐ. ऐ. बस्ने भीमराज भन्ने भीमराज शाहीके ऐ. ऐ. थप कैद महिना १ महिना २४ दिन समेतको लगत कसी कानुन बमोजिम असूल गर्नु निज भीमराज शाहीले यस अदालतमा पुनरावेदन गर्दा राखेको धरौटी रु. ५००।– निजलाई फिर्ता दिनु भनी शुरु जि.अ.मा लेखि पठाउनु का.जि.अ.त.मा लगत दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्र बहादुर सिंह
इतिसम्वत् २०४४ साल पौष ९ गते रोज ३ शुभम् ।