शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२१० - कर्तव्य ज्यान

भाग: २९ साल: २०४४ महिना: पौस अंक:

निर्णय नं. ३२१०     ने.का.प. २०४४            अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४२ सालको फौ.सा.नं. १०३

मुद्दा : कर्तव्य ज्यान ।

 

वादी: प्र.ह.कमलाकान्त झाको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

प्रतिवादी: जि.सर्लाही, परवानीपुर गा.पं.वडा नं. ८ झाझरा धुसेनी टोल बस्ने सार्कीमान गोले तमाङ।

फैसला भएको मिति: २०४४।२।११।२ मा

     साविती बयान दिएको कुरा लाश जाँच मुचुल्काबाट समेत घाँटी सेरिई कर्तव्यबाट मरेका समर्थित हुन आएकोले हतियार प्रयोग गरी घाँटी छिनाएकोबाट मृत्यु भएको देखिन आएको हुँदा ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरुको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिबै देखिने ।

 (प्रकरण नं. १६)

     जोखिमी हतियार प्रयोग गरी मारेको भए पनि अघिदेखि मार्ने भन्ने मनसाय रहेको भन्ने कतैबाट देखिन नआएकोले ज्या.सं.को १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिन आएकोले निज सार्किमानलाई अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैद गर्ने भनी शुरु अदालतले राय व्यक्त गरेको मनासिब ठहर्‍याएको म.क्षे.अ.को इन्साफ मनासिबै देखिँदा साधक सदर हुने ।

(प्रकरण नं. १६)

फैसला

न्या.महेशराम भक्त माथेमाः मध्यमाञ्चल क्षेत्रीय अदालतबाट साधक सदरको लागि यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।

२.    ०३९।३।२ गतेका दिन जि.सर्लाही, परवानीपुर गा.पं.वडा नं. ८ घुसेनी गाउँमा एकजना स्वास्नी मानिसलाई कर्तव्य गरी मारी लाश सदगत समेत गरिसकेको भन्ने थाहा पाई बुझ्न जाँदा ऐ.वार्ड नं. ८ मा बस्ने सार्किमान गोलेकी श्रीमती दुःखी भन्ने सुकुमाया उक्त २ गतेका दिन कर्तव्य गरी मारिएको र उक्त कर्तव्यबाट मेरेकी सुकुमायाको लाश निजकै लोग्ने सार्किमान समेतका गाउँलेहरूले गाउँदेखि पूर्व जङ्गलमा लगी गाडे दबाएको भन्ने थाहा हुन आएकाले निज सार्किमानलाई पक्राउ गरी दाखिल गरेको छु । कानुन बमोजिम होस् भन्ने समेत व्यहोराको प्र.ह.कमलाकान्तको प्रतिवेदन ।

३.    मेरी श्रीमती सुकुमाया भागिन् भन्ने खबर पाएकोले खोल्सै खोल्सा दक्षिणतिर आउँदा श्रीमती झाडीमा लुकी बसेको देखें । घर जाउँ भनी तान्दा नमानी मलाई ढुङ्गाले हिर्काएकाले रिस उठी निजको हातको  खुर्पा खोसी घाँटीमा हान्दा काटीन गई भैमा लडेकिले लाश उठाई घारीभित्र राखी सुकुमाया हराइन् भनी गाउँघरमा खोजी गरी हिडेको हुँ । सोही दिन ४ बजेतिर गई सुकुमायाको घाँटी काटिएको ठाउँमा गम्साले बेरी मृतक लाश म आफैंले बोकी पूर्व जङ्गलमा लगी गाडेको छु मैले लाश बोकी जाँदा मेरा पछाडि मान बहादुर बमजन, धनमान बंजन, टिकाराम थिङ, वीर बहादुर, देवबहादुर, कमानसिंह, काले कामी समेत गएका र सम्बरबहादुर मलामी गएका थिएनन् भन्ने समेत व्यहोराको अभियुक्त सार्किमान गोलेको प्रहरीमा भएको कागज ।

४.    सार्किमानकी स्वास्नी सुकुमायालाई कर्तव्य गरी मारिएको हो भन्ने थाहा पाई मलामी गएको होइन । घरमा ल्याई लाश जलाउनु पर्छ भनी हामीले भन्दा सार्किमान गोलेले खर्च नभएकाले म आफैं बोकी लगी गाडिदिने भनी सार्किमानले लाश बोकी लगे हामी मलामी गएका हौं भन्ने समेतको मलामी जाने मान बहादुर, काले कामी, कमान सिंह, देवबहादुर, वीर बहादुर, टिकाराम समेतको प्रहरीमा भएको कागज ।

५.    मृतक सुकुमायाको लाशको घाँटीमा धारीलो हतियारले काटेको प्रकृति मुचुल्कामा लेखिए अनुसारको चोट देखे जानेको हुँ । हाम्रो सामुन्ने प्रहरीले लाश निज अभियुक्तले देखाएका ठाउँमा बरामद गरी मुचुल्का खडा गरिदिएका छौं भन्ने समेत व्यहोराको लाश जाँच मुचुल्का ।

६.    सुकुमायालाई कर्तव्य गरी मारेको हो भन्ने कुरा मलामी जाने मानिसहरूले जानी थाहा पाई गएको होइनन् होला । सार्किमान बाहेक अरु कसैउपर शङ्का लाग्दैन भन्ने समेत व्यहोराको सरजमीनका मानिसहरूले करिब एकैमिलानको व्यहोरा पारी गरिदिएको सरजमीन मुचुल्का ।

७.    यसमा संकलन भै आएसम्मको कागजातबाट श्रीमती सुकुमाया तमाङनीलाई ०३९।३।२ का दिन सार्किमान गोले तमाङले सेरी काटी मारी मुलुकी ऐन ज्यानसम्बन्धी महलको ४१३(१) को विपरीत ज्यान मार्ने काम गरेकोले निज अभियुक्तलाई सोही महलको ४१३ (१) नं. बमोजिम सजायँ हुन र मलामी जाने भनिएका विरुद्ध महलमा लेखिएका नं. २ देखि नं. २० सम्मको मान बहादुर घलान समेतले पछि थाहा पाएका बखत जाहेर नगरेको देखिँदा सोही महलको २५ नं. बमोजिम सजायँ गरिपाउँ र उक्त लाश पुर्जी नलिई गाडेकोमा ऐ.को ४ नं. बमोजिम रु. १० जरिवाना हुन सम्बन्धित कागजात भएको मिसिल पेश गरेका छौं भन्ने समेत प्रहरी प्रतिवेदन ।

८.    ०३९।३।२ का दिन मेरी श्रीमती सुकुमाया भागी भन्ने खबर पाएकाले निजलाई खोज्न जाँदा फूलजोर देउराली जाने बाटोदेखि उत्तर खोल्सीमा भएको रुख झार बुटामा बसेको देखी घर जाउँ भनी हात समाई घिसार्दा मलाई ढुङ्गाले हानेकाले रिस उठी सुकुमायाको हातमा भएको खुर्पा खोसी निजलाई हान्दा घाँटी काटिन गाई भैंमा लडिन् अरुले नदेख्ने गरी घाँटी माथि राखी स्वास्नी भागी फेला परेन भनी गाउँमा आई कुरा गरिरहेको अवस्थामा सुकुमानले लाश देखी हल्ला गर्दै आएकोले अरुले घाउ देख्लान् भनी मैले गम्छाले घाँटीमा बेरी दिएँ लाश बोकी जङ्गलमा लगी खाल्डोमा हाली माटोले पुरिदिएको हुँ । अरु कसैको सहयोग लिएको छैन भन्ने समेत व्यहोराको प्र.सार्किमानले अदालत समक्ष गरेको बयान ।

९.    कर्तव्यबाट मरेको लाश दबाउन जानीजानी मलामी गएको होइन पुलिसले सार्किमानलाई पक्रेपछि सार्किमान सावित भएकोले सुकुमायाको मृत्यु कर्तव्यबाट भएको रहेछ भन्ने कुरा थाहा पाएको हुँ भन्ने समेतको प्र.मान बहादुर, प्र. सम्बरबहादुर, प्र.वीर बहादुर, प्र.धनमान, प्र.काले कामी, प्र.धन बम्जन, प्र.टिकाराम, प्र.देवबहादुर, प्र.कमानसिंह समेतले करिब एकैमिलानको व्यहोरा पारी गरेको बयान ।

१०.    प्र.सार्किमानले प्रहरीमा गरेको साविती कागज, अदालतमा साविती बयान गरेको देखिँदा र  खुर्पाले चोट छाडी मारिएको देखिँदा र लाश प्रकृति मुचुल्काबाट समेत घाँटी सेरिएको देखिएको समेत हुँदा प्र.सार्किमानले सुकुमायालाई कर्तव्य गरी मारेको देखिएको ज्यानसम्बन्धी महलको नं. १३(१) अनुसार सर्वस्वसहित जन्मकैद हुन्छ । वारदात अवस्था विचार गर्दा ऐन बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिएकोले निज सार्किमानलाई १० वर्ष मात्र कैद गर्नु पर्ने राय व्यक्त गरिएको छ । अन्य प्रतिवादीहरूले कर्तव्यबाट मरेको लाश होइन भन्ने ठानी मलामी गएको भन्ने ठोस सबूद गुजार्न नसकेको र पछि थाहा पाएपछि जाहेर गरेको समेत नदेखिएकाले ज्यानसम्बन्धीको ४ नं.ले रु. १० का दरले जरिवाना हुने ठहर्छ भन्ने समेतको सर्लाही जिल्ला अदालतको मिति ०३९।६।११ को फैसला ।

११.    सर्लाही जिल्ला अदालतको उक्त फैसलाको ठहर खण्डमा भने अभियुक्त सार्किमानलाई ज्यानसम्बन्धीको १३(१) अन्तर्गत सजायँ गरेको देखिन्छ । साथै अ.बं. १८८ नं. अन्तर्गत राय लेखी तपसील खण्डमा भने ज्यानसम्बन्धीको १४ नं. ले १० वर्ष कैद गर्ने भनी लगत कसेको देखिएबाट ठहर खण्ड र तपसील खण्ड परस्पर मिलेको देखिँदैन । जाहेरी फैसला हुँदा ठहर खण्डमा लेखिए अनुसार नै तपसील खण्डमा पनि लगत कसिनु पर्ने हो । मलामी जानेहरूलई दावी अनुसार नै सजायँ हुनुपर्नेमा हुनसकेको देखिँदैन । तसर्थ प्रतिवादीहरूलाई शुरु दावी बमोजिम हदैसम्मको सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

१२.   यसमा ठहर खण्ड अनुरुप तपसील खण्ड नै फरक पर्न गएकोले समेत अ.बं. २०२ नं. एवं क्षेत्रीय अदालत नियमावली बमोजिम छलफललाई विपक्षीहरूलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस अदालत डिभिजन बेञ्चको मिति ०४१।१।३१ को आदेश ।

१३.   प्र. सार्कीमान तामाङले आफ्नो स्वास्नीलाई खुर्पा जस्तो जोखिमी हतियार प्रयोग गरी काटी मारेको देखिन आएको र लाश प्रकृति मुचुल्काबाट समेत हतियारले काटेको चोट देखिन आएको समेतबाट शुरु अदालतले ज्या.सं.को १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गरेको मनासिब देखिन आउँछ ज्या.सं.को १४ नं. बमोजिम १० वर्ष कैद गर्ने भनी तपसील खण्डमा लगत दिएको गल्ती ठहर्छ । शुरु जि.अ.ले अ.बं. १८८ नं. बमोजिम प्र.सार्किमानलाई १० वर्ष कैद गर्ने राय मनासिब देखिन्छ । साधक सदरको लागि सर्वोच्च अदालतमा पठाई दिनु भन्ने ०४१।५।७।५ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१४.   नियम बमोजिम साधकको लगतमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ निर्णय दिनु परेको छ ।

१५.   यसमा मिति ०३९।३।२ मा सार्किमान गोलेको श्रीमती दुःखी भन्ने सुकुमाया कर्तव्यबाट मरेकी र निजको लाश लोग्ने सार्किमान समेत गाउँलेहरूले जङ्गलमा लगी दबाएकोले कानुन बमोजिम कारवाही होस् भन्ने समेत व्यहोराको प्र.ह.कमलाकान्त झाको मिति ०३९।३।१४।२ को प्रतिवेदनमा उल्लेख भएको पाइन्छ ।

१६.    मृतक सुकुमायालाई निजकै लोग्ने सार्किमान गोले बाहेक अरुले कर्तव्य गरी मारेको होइन भन्ने सरजमीनका चक्रबहादुर बम्जन समेत ११ जनाले सरजमीन मुचुल्कामा उल्लेख गरेको र सुकुमायालाई घोक्र्याउँदै लाँदा सुकुमायाले ढुङ्गा टिपी मलाई छातीमा हान्दा रिस उठी सुकुमायाले लिएको खुर्पा खोसी खुर्पाले हान्दा निज सुकुमायाको घाँटी काटिन गई मरेको स्वास्नी घिसारी खाल्डोमा राखी माटोले छोपी आएको भनी प्रहरी र अदालतमा समेत सार्किमान गोलेले साविती बयान दिएको कुरा लाश जाँच मुचुल्काबाट समेत घाँटी रेटिई कर्तव्यबाट मारेको समर्थित हुन आएकोले सुकुमायालाई निजकै लोग्ने सार्कीमान गोलेले हतियार प्रयोग गरी घाँटी छिनाएकोबाट सुकुमायाको मृत्यु भएको देखिन आएको हुँदा निज सार्किमानलाई ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरुको इन्साफ  सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिबै देखिन आउँछ । भागी जाने सुकुमायालाई बाटोमा भेटी घर जाउँ भन्दा स्वास्नी सुकुमायाले ढुङ्गाले छातीमा सार्किमानलाई हानेको रिसको झोकमा खुर्पा खोसी सुकुमायालाई जोखिमी हतियार प्रयोग गरी मारेको भएपनि सार्किमानको अघिदेखि सुकुमायालाई मार्ने भन्ने मनसाय रहेको भन्ने कतैबाट देखिन नआएकोले ज्या.सं.को १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिन आएकोले निज सार्किमानलाई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद गर्ने भनी शुरु अदालतले राय व्यक्त गरेको मनासिब ठहर्‍याएको म.क्षे.अ.को इन्साफ मनासिबै देखिँदा साधक सदर हुने ठहर्छ । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्र केशरी बास्तोला

 

इतिसम्वत् २०४४ साल ज्येष्ठ ११ गते रोज २ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु