निर्णय नं. २९३ - भन्सार बैंक जिम्माको कपडा चोर्नु, चोराउनु, मास्नु गरे भन्ने

निर्णय नं.२९३ ने.का.प.२०२२
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री लोकराज जोशी
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
२०२० सालको फौज्दारी पहिलो अपील नम्बर ६५७।६७२।६७३।६७४
वादी, अपीलाट : श्री ५ को सरकार (वि.पु.विभाग)
विरुद्ध
प्रतिवादी, रेस्पोण्डेण्ट : काठमाडौं इलाका डिल्ली बजार बस्ने से.अ.दुर्गाप्रसाद उपाध्याय १ बटु गुचाटोल बस्ने निरराज राजभण्डारी १ महांकाल चावहिल बस्ने से.अ.मधुवनप्रसाद उपाध्याय समेत । बटु गुचाटोल बस्ने सब–मेनेजर गोबिन्दराजभण्डारी, मखन टोल बस्ने सुर्जमल माडवारी १ ऐ बस्ने चीरंजिवि लाल ऐ १ ऐ बस्ने महाविरप्रसाद क्याल १
मुद्दा : भन्सार बैंक जिम्माको कपडा चोर्नु, चोराउनु, मास्नु गरे भन्ने
(१) कस्तो अवस्थाको चोरीमा चोरीको हदम्याद नाघेको भन्न नमिल्ने ? ०१४ सालमा छ्यासमिस गराई सो मिति देखि चोर्नु, चोराउनु गरेको र ०१५।७।१२ मा उजुरी परेबाट कारवाई चलेमा म्याद नाघेको भन्न नमिल्ने ।
उक्त कपडा कुनै निश्चित एकै मितिमा चोरे, चोराए मासेको भन्ने नभई ११ सालमा आएको भए पनि १४ सालमा सिल तोडिई छ्यासमिस गराई सोही मिति देखि कपडा चोर्नु, चोराउनु, मास्नु भ्रष्टाचार पूर्ण कारवाई गर्ने गराउने गरेको भन्ने वि.पु.वि. को आरोपपत्रको दफा ५ मा लेखिएको र भ्रष्टाचार काला बजार र चोरी समेत गरे भन्ने १५।७।१२।३ मा विशेश्वरलाल गुप्ताले दिएको उजुरीबाट कारवाई उठान भएको देखिएकोले चोरीको ऐनको १ बर्षको हक म्याद नाघेको भन्न भएन ।
(प्रकरण नं.१३)
(२) भ्रष्टाचार निवारण ऐनको दफा ३० – वि.पु.वि. ले प्रयोग गर्न नमिल्ने ।
वि.पु.वि. ले भ्रष्टाचार ऐनको परिच्छेद २ अन्तर्गतको सजाय हुने कसुरमासम्म तहकिकात गरी कारवाई चलाउन पाउने भनी ऐन दफा १७, १८ ले व्यवस्था गरेको छ । त्यो बाहेक अरु ऐन बमोजिम अरु अड्डा अदालतमा अरु कसैले मुद्दा चलाउन पाउने हक सुरक्षित गरेको । भ्र.नि ऐन दफा ३० वि.पु.वि. ले प्रयोग गर्न नमिल्ने देखिन्छ ।
(प्रकरण नं.१३)
(३) मालधनीको रोहवरमा आदेशानुसार गाठ खोलि जाँच भएकोमा चोरे, चोराए भन्न नमिल्ने ।
कपडाको गाठ खोल्दा महाविर रोहवरमा रहेको देखिएकोले मालधनी नराखि खोलेको भन्न भएन । सो १७८ गाठ कपडा कति मोल परेको रहेछ, हाल कति मुल्यको छ ? भन्सार गोश्वाराका हाकिम र गौचर भन्सार गोश्वाराका साक्षी दुर्गाप्रसाद गई विल भौचर मालको नमुना समेत राम्रोसँग जाँची बुझी रिपोर्ट पेश गर्नु भन्ने तत्कालिन उपपन्त्री रत्नप्रसादज्यूबाट आदेश भए बमोजिम कपडा जाँच्दा विल भौचर बैंकबाट माहाविरले लगिसकेको भई हेर्न नपाएको भनी आदेशानुसार गाठ खोली जाँच गर्दा छ्यासमिस हुनु स्वाभाविकै भएकोले त्यस तथ्यको आधारले चोरे, चोराए मासेको भन्न नमिल्ने ।
(प्रकरण नं.१५)
(४) प्रष्ट सबूदको अभावमा कसुर कायम गर्न नमिल्ने । क–कस्तो प्रमाण वारदातको निमित्त योग्य हुन आउने ?
बैंकको कपडा ११ सालमा आएको भए पनि १४ सालमा सिल तोडी छ्यासमिस गराई सोही मितिदेखि चोर्नु, चोराउनु, मास्नु गरेको भन्ने वि.पु.वि. को आरोपपत्रको दफा ५ मा उल्लेख भएकोले त्यसपछि चोर्नु, चोराउनु, मास्नु गरेको भन्ने प्रमाणको निमित्त ११।१०।२१ र ११।१०।२४ मा कपडा उपत्यकामा पैठारी हुनु भन्दा अघि ०११।१०।५सम्मको लेखिएको । २५ घर १४ साल भन्दा अघिको । अरु समेत खाताहरू यो वारदातका निमित्त लायक प्रमाण हुन आउँदैनन । तसर्थ, बजारमा बिक्री भए भनेका कपडाहरू बैंकबाट निकाशी भएका हुन भन्ने प्रष्ट सबुदको अभावमा कुनै कपडा बजारमा विक्रि भएको नातालेसम्म कसुर कायम गर्न मिल्ने देखिंदैन ।
(प्रकरण नं.१६)
(५) वारदात वा अपराध भएको भन्दा धेरै बर्ष अगाडि भएको खर्च वा घटनालाई वारदात वा अपराध सम्बन्धित भन्न नमिल्ने ।
सुर्जेमलको खातामा रु.३२९६०।।। खर्च लेखिएको मुनासिव । फाँट नभएकोले भ्रष्टाचारमा खर्च भएको देखिने भनेकोमा १४ साल पछि कपडा चोर्नु, चोराउनु, मास्नु गरेको भनिन्छ । १४ साल पछि कपडा चोर्ने चोराउने मास्ने उद्देश्यले कर्मचारीलाई दिन ११ सालमा खर्च लेखिएको अथवा खर्च गरिएको भन्न नमिल्ने ।
(प्रकरण नं.१७)
(६) अन्दाजीको आधारमा कायम गरिएको नाप तौलबाट बदनियत साथ घटाई लगत गरेको भन्न नमिल्ने ।
मधुवनप्रसाद दुर्गाप्रसादले लगत गर्दा घटाई लगत गरेको भनेमा धेरै कपडाको लगत गर्दा गन्ति गर्ने हिसाब गर्नेको भुलले केही घटि वढी पर्न जानु असम्भब होइन । उस्मा पनि छ्यासमिस टुक्रा बेठन समेत अन्दाजी गज २२०८ भनी वि.पु.वि. ले सो कपडा नाप गरेको रहेनछ भन्ने देखिन आयो । नाप गर्नु पर्ने, नगरी त्यसरी अन्दाजी लेख्दा घटि भनेको कपडा त्यसैमा परेको पनि हुन सक्छ । त्यसकारण निजहरूले बदनियत साथ घटाई लगत गरेको भन्न नमिल्ने पनि देखिन आयो ।
(प्रकरण नं.१८)
सरकार तर्फबाट : एडभोकेट जगन्नाथ उपाध्याय
सुर्जमल तर्फबाट : सिनियर एडभोकेट कृष्णप्रसाद भण्डारी
चीरञ्जीविलाल तर्फबाट : एडभोकेट कृष्णप्रसाद पन्त
फैसला
१. ग्यानसिंह कम्पनी सिंगापुरवाला महाविरप्रसाद क्याल, चिरंजिविलाल, सुर्जेमल माडवारीले मनाही भएको जापानी रेशमी कपडा ल्याएकोबाट रोक्का रहेकोमा हुकुम प्रमांगी बमोजिम नगरी अलमल्याई राखेका र भन्सार बैंकका कर्मचारीहरूलाई घुस पेश गरी सो रोक्का राखे मध्येको कपडा बजारमा विक्रि भएको छ । सुर्जेमलको ११ साल देखिको खाता जाँचिएमा कालाबजार भ्रष्टाचार गरेको देखिन्छ भन्नेसमेत व्यहोराको विश्वेश्वरलाल गुप्ताको उजुरी परी यस विभागबाट जाँच बुझ अनुसन्धान हुँदा उक्त कपडा ११ सालमा आएको भए पनि १४ सालमा सिल तोडी छ्यासमिस गराई सोही मितिदेखि कपडा चोर्नु, चोराउनु, मास्नु भ्रष्टाचार पूर्ण कारवाई गर्नु गराउनु गरेको देखिएकाले प्रचलित नेपाल कानून बमोजिम सजाय गर्न अदालतमा पठाउने निकाशाको निमित्त प्रस्ताव पेश हुँदा गृह मन्त्रालयको प्रस्तावको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा प्रस्तावमा उल्लेख भएको मुद्दा विशेष अदालतमा सौपी दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिबबाट लेखि आएको हुनाले सो बिषयमा कारवाई हुन पेश गरिएको छ । निम्नांकित व्यक्तिहरूलाई सजाँय गरी पाउँ भन्ने ०१८।३।१२।२ को विशेष पुलिस विभागले नेपाल विशेष अदालतलाई लेखेको आरोपपत्र ।
१. नेपाल बैंकका सब–मेनेजर गोबिन्दराज राजभण्डारी के आफ्नो समेत जिम्मा रहेको ४८ मन ३० सेर रैयन कपडा सुर्जेमल चीरंजीवलाल महाविरप्रसादहरूलाई लान मौका दिनु, भन्सार महसुल कायम गर्न अत्यावश्यक हुन आउने चिरंजिविलालका नाउँको विलविजक महावीरलाई दिई निजबाट गायब गराउनु, गरेको हुनाले रकम तहसिलको ८।१४ बाँकी नतिर्नेको ५.९ (क) नम्बर र अरु प्रचलित नेपाल कानून बमोजिम ।
२. काठमाडौं भन्सार गोश्वाराको हाकिम सुब्बा मधुवनप्रसाद के आफ्नु समेत संयुक्त जिम्मामा रहेको रैयन कपडाहरू चोर्ने चोराउने मास्ने अभिप्रायले मालधनी नराखि आदेश अनुसार विलविजक नहेरी सम्पूर्ण गाठहरू फोरी चोरे, चोराए मासेको र लगत गर्दा पनि कपडा गज २६७८ कार्पेट २ को लगत कम्ती गरी सरकारको हुने भन्सार दस्तुर आम्दानी घटाउने प्रत्यक्ष कोशिश उद्योग गरेकोले रा.से.भ्र.नि. ऐन दफा १५ को उपदफा १ को खण्ड (ग) (घ) र रकम तहसिलको ८।१४ बाँकी नतिर्नेको ५।९ नं.अनुसार ।
३. गौचर भंसारका साक्षी हाकिम दुर्गाप्रसाद के निजले कपडाको लगत कायम गर्दा सिल अड्ज राम्रोसँग नजाँची बिलविजक नहेरी बैंकमा भएको कपडा गज २६७६२—र कारपेट २ घटाई लगत गरेको भई सरकारलाई हानी र अरुलाई फाइदा पुर्याई दिएकोले रा.से.भ्र.नि. ऐन दफा १५ को उपदफा १ को खण्ड (घ) र अरु प्रचलित कानून बमोजिम ।
४. तत्कालिन अर्थ सचिव हाल सेवा मुक्त निरराज राज भडारी के बैंकको आफ्नो भाइको पक्ष गरी निज र भंसारका हाकिम र अरु व्यापारीहरूलाई निजहरूको चोर्नु, चोराउनु, मास्नु, गरेको । दवाउने मौकापारी दिई प्रत्यक्ष फाइदा पुर्याई दिनालाई हुकुम बमोजिम काम तामेल गर्न पछि नलागी ऐन सवालले नमिल्ने टिप्पणीं खडा गरी कपडा खोल्ने मिनाहा दिलाई दिने गरेकोमा तत्काल प्रचलित ऐ.ऐ. को खण्ड (घ) रकम तहसिलको ८ र अन्य प्रचलित नेपाल कानून बमोजिम ।
५. देहायका गैरसरकारी व्यापारीहरू के ११ साल मार्ग २३ गते प्रकाशित गजेटले काठमाडौं उपत्यकामा पैठारी गर्न नहुने रेयन कपडा पैठारी गरेकोमा भंसार अड्डालाई भएको खडगनिसाना बमोजिम बिगो जफत गरी बिगो बमोजिम दण्ड र ७ सात महिना कैदको सजाय गरी पाउनु पर्ने र लुटपिटको ५ नं.बमोजिम सरकारी जिम्मामा रहेको माल चोरीको १ नं. को परिभाषा भित्र पर्ने तरिका अपनाई सरकारी स्थानबाट आफ्नु हातपारी लिएको हुनाले चोरीका १६ नं.बमोजिम ४८ मन ३० सेरको मोल बिगो कायम गरी सजाय गरी पाउँ ।
(१) का.ई मखन टोल बस्ने सुरजमल माडबाडी
(२) ऐ बस्ने चीरञ्जीवीलाल माडवारी
(३) ऐ इन्द्र चोक डेरा गरी बस्ने महावीरप्रसाद क्याल
२. प्रधान मन्त्री तथा अर्थमन्त्री मातृकाप्रसादज्यूका आदेशले विरगञ्ज कष्टम अफिसले छोडी दिई चिसापानी गडी भन्सारले सिलगरी भरिया नाईकेद्वारा नेपाल बैंकमा दाखिल हुन भंसार र बैंकका जिम्मा रहेको माहाविरको मालको गाठ फोरी लागत गर्दा म नभएको मानिसले कसरी चोरेहुँला । दोमाले माहाबीरबाट खरिद गरे भनेको छ । १४ साल आषाढमा चोरी हुनु भन्दा अघि ९।१०।११ सालमा खरिद बिक्री भएको कपडा यहि चोरी भएको कपडा नै हो भन्नु कसोरी ? यो कपडा ०९ सालमा माहावीरले झिकाएको २।२।। बर्ष कलकत्ता रहि ११ मार्ग २३ गते विज्ञप्ति जारी भई रेश्मी कपडा नझिकाउनु भन्ने भएको १२ सालमा खुला समेत भएपछि कपडाहरू विरगञ्जमा रहेको र बिदेशबाट समेत काठमाडौं आउन सक्ने भई आईरहेको कपडा बजारमा खरिद बिक्री भएको हो । मेरो बेवरजीत सील तोडी लगत गरेको हुँदा मेरो उपर अभियोग लाग्न नसक्ने भन्ने समेत सुरजमल माडवारीको बयान ।
३. ११।१२ सालको खातामा खरिद बिक्री भएको रेयन कपडा १ सालमा बैंकबाट चोरी भएको कपडा हो भन्ने कुरा कसरी ठहर्न आउला । लगत गर्दाको अवस्था काठमाडौंमा हुँदै नभएकोले हाम्रो कसुर नठहर्ने । ११ सालको बहि खातामा आम्दानी खर्च भएको रुपैंया १४ सालमा बैंकबाट कपडा चोर्नु, चोराउनु पर्छ भनी ११ सालमै सो रुपैंया खर्च लेखि कर्माचारीलाई घुस अघिनै दिएको होला भन्ने कसरी पत्याउनु ? हाम्रा नाउँमा चलान भई आएको माल बारेमा हामीलाई नै राखी कारवाई गर्नु पर्नेमा महाबीर द्वारा कारवाई भएको समेत हुँदा झुट्ठा आरोपबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको चीरंजीवीलाल माडवारीको बयान ।
४. नेपाल बैंकमा बिभिन्न कामको लागी बिभिन्न सेक्सनहरू र ती सेक्सनको कार्य संचालन गर्ने इन्चार्ज समेतका कर्मचारी छुट्टा छुट्टै छन् । गोदामको लिने खोल्ने समेत काम सम्बन्धित सेक्सनबाट गरिन्छ । गोदाम वा गोदामको सांचो मेरो जिम्मा थिएन । गोदाममा आएको र मलाई राखी जाँच समेत नगरेकोले मेरा उपरको आरोप झुठ्ठा हो । फुर्सद पाउँं भन्ने समेत व्यहोराको गोबिन्दराजको प्रतिउत्तर ।
५. माल खोल्दा मालधनी महाबीरप्रसाद समेत राखी खोलेको बिल बिजक छैन भने पनि काम गर्नु परेको हुँदा बिलबिजक नभए पनि लगत तयार गर्न हुने सनद बमोजिम लगत गरेको हुँ । बैंकको गोदामको ढोकामा अघि मेरो लाहाछाप लागेको पनि थिएन । यस कामको निमित्त ठेकिएका ना.सु.भोजराजले पहिले र निजको मृत्यु पछि ना.सु.रत्नमान तथा साक्षी इन्सपेक्टर जनकलालको छाप लागी रहेको हो । पछि जाँच गरी लगत भईसकेपछि मात्र ढोकामा मेरो छाप लगाएको हो । मैले कसैसंग लिनु खानु नातापक्ष गरेको आरोप वि.पु.वि. ले प्रष्टसंग लगाउन नसकेको हुँदा झुठ्ठा आरोपबाट फुर्सद पाउँं भन्ने समेत व्यहोराको से.अ.मधुवनप्रसाद उपाध्याको प्रतिउत्तर ।
६. म साक्षीसम्म हुँ । ठीक लगत भएकोले जाँच गर्दा माटो बनेको कपडाको वास्तविक नाप नआउने । त्यस्तो कपडा नाप गर्ने आवश्यक पनि नपरेकोले माटो बनेको बाहेक अरुको नाप लेखिएको । वि.पु.वि. ले जाँच गर्दा सडेको कपडाको समेत नाप देखाएबाट नमिलेको प्रष्टै हुँदा मेरो गल्ती कसूर केहि छैन । झुठ्ठा आरोपबाट फुर्सद पाउँं भन्ने समेत व्यहोराको दुर्गाप्रसादको प्रतिउत्तर ।
७. काठमाडौं उपत्यकामा पैठारी गर्न मनाही भएकोमा नेपाल सरहद भित्र पैठारी गर्न नपाउने भन्ने उल्लेख भएको हुकुमको प्रमांगी आएको संशोधन हुन आवश्यक देखि दौहर्याउँदा पुनः हुकुमबाट निकाशा भई आएकोले हुकुम कार्यान्वित नगरेको भन्ने आरोप गलत हो । भाई गोबिन्दराजले गोदामको काम नगर्ने हुँदा उनको पक्ष लिई काम गरेको भन्ने आरोप पनि गल्ती हो । मैले कुनै गल्ती गरेको छैन । झुठ्ठा आरोपबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको निरराज भण्डारीको प्रतिउत्तर ।
८. आदेशद्वारा नै उपत्यका भित्र ल्याएको देखिएकोले पैठारी गर्न नुहने गरेको भनी लगाएको अभियोग ठहर्दैन । कपडाको तौलमा मन ४८ ।। नपुग देखिएकोले चोरी भएको भन्नु पर्दे देखिन्छ । तापनि बैंकमा दाखिल भए पछि नेपाल बैंकबाट सो माल चोर,े चाराए, मासेको र लान मौका दिएको समेत ठहर्दैन । बैंक बाहेक अन्य सो माल रहेको ठाउँ र चलान भई आउँदाकै बखत कुनै ठाउँमा माहावीरप्रसाद क्यालले चोरी गरेको ठर्हछ । विलविजक गोबिन्दराजले फिर्ता दिएको ठहर्र्दैन । बैंकको कर्मचारी भरतलालले बुद्धि नपुर्याई गल्ती गरी दिएको ठर्हछ । विल भौचर मालको नपुग समेत राम्रो जाँची बुझी पेश गर्नु भन्ने भएकोमा विलविजक हेर्न नपाए पछि सो व्यहोरा पेश गरी निकाली मात्र अन्य कारवाईमा लगाउनु पर्नेमा सो बमोजिम नगरी अरु साधारण तवरबाट पैठारी गरेको माल सरह विलविजक नहेरी भंसारलाई भएको सवालको आड लिई कपडा खोली लगत गर्नु भंसारका हाकिम मधुवनप्रसाद साक्षी हाकिम दुर्गाप्रसादले बुद्धि नपुर्याई कपडा खोलेकोमा अ.बं.२८९ नं. ऐनले रु.१०। का दरले जरिवाना गर्ने ठर्हछ । कपडा जहाँबाट ल्याएको हो, उहीं फिर्ता पठाउने ०१२।१०।११ मा हुकुमबाट निकाशा भई आए पछि नेपाल सरहद भनी लेखिएकोमा उपत्यका गरी संशोधन गर्नेसम्मको कार्जेको निमित्त पेश भएको टिप्पणींको प्रसंग देखि बाहिर महसुल लिई माल छाड्ने ०१३।१२।२२ मा मन्त्री मण्डलबाट निर्णय गरेकोमा हुकुमको निकाशाको बिपरित निकासा भई आएपछि बिन्तिपत्र प्रमांगीको ऐन बमोजिम त्यो व्यहोरा दोहर्याई जाहेर गर्नु पर्ने सचिव नीरराजको कर्तव्य थियो । सो नगर्नु निरराजको गल्ती ठर्हछ । सो गल्ती ठहरेको व्यहोरा श्री ५ को सरकारमा अवगत गराउन अर्थ मन्त्रालयलाई सूचित गरी दिने ।
खातामा खर्च लेखिेको रु.३२९६० अनियमित काम गराउन खर्च लेखेंको भन्ने वि.पु वि. को लेखाई पनि कायम ठहर्दैन । सरकारको महसुल छल्न कपडा मन ४८।। चोरी गरेमा माहाबीरप्रसादलाई १०।३।१६ का गजेटमा प्रकाशित सूचना बमोजिम बिगो भा.रु.३५२४६।६४ जफत हुन्छ । लिने भन्ने समेत ०।५।१८।३ को काठमाडौं विशेष अदालतको फैसला ।
९. आरोपपत्रबमोजिम बैंकबाट कपडा चोरे, चोराए, मासे भ्रष्टाचार गरेको ठहरी सजाय हुनु पर्ने नभएकोमा चित्त बुझने भन्ने र श्री ५ को सरकार (वि.पु.वि.) को र कानून बमोजिम काम गरेकोमा हामीलाई सजाय लाग्नु नपर्ने भन्ने मधुबनप्रसाद, दुर्गाप्रसादको र म उपर कानूनले लाग्न नसक्ने दोष लगाई श्री ५ को सरकारलाई अवगत गराउने गरेकोमा चित्त बुझेन भन्ने निरराज राजभण्डारीको समेत छुट्टा छुट्टै अपिल परेको ।
१०. महाविरका नाउँमा तामेल भएको म्याद अ.बं १३६ नं. को रीत पुगी तामेल भएको नदेखिँदा अर्को म्याद पठाई आएपछि पेश गर्नु भन्ने ०२१।२।२६।२ को सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।
११. वि.पु.वि.बाट जाँच हुँदा तौल घटेको देखिएको । उक्त तौल केहीसम्म सडी गलि घट्ने सम्भव भए पनि ज्यादै नै फरक पर्न नपर्ने र डोमाप्रसादको बयानबाट सुर्जेमल चिरञ्जिवीलाल फर्मका महाविरप्रसाद क्यालसंग घनिष्ट सम्बन्ध भएको देखिएको । पहिला विशेष पुलिस विभागमा बयान गर्दा जुन जुन पसलबाट विशेष पुलिसले दशी वरामद गर्यो, तत तत् पसलेहरूले दशीको कपडा नेपाल बैंक गोदाममा रहेको सन् १९५२ को कपडा हो भनी लेखिदिएको देखिएको । बैंकको गोदाम बाहेक अनेत्र यस ठाउँबाट सो चोरी गिरानी भएको भन्ने कसैको जिकिर नभएकोले छलफलमा सुरजमल चिरंजिबीलाललाई झिकाई पेश गर्नु भन्ने ०२१।८।१ को सर्वेाच्च अदालत डिभिजन बेञ्चको आदेश ।
१२. चोरी गरे भनेको कपडामा महसुल लिने भएको छ, छैन ? माल दुरुन्त भए नभएको व्यहोरा जाहेर गर्नु भन्ने हुकुम बक्से बमोजिम काम भयो भएन ? मन्त्री मण्डलले श्री अध्यक्ष मन्त्री परिषदमा टिप्पणीं पेश भई गएकोमा के निर्णय भएको छ ? बैंकमा रहेको माल सरकार लाग्ने भएको छ कि ? सो नपुग मालको बिगो सरकारी हो वा दुनियाको के हो ? सो माल जहाँबाट ल्याएको, उहिं फिर्ता लैजाने निकासा भएकोमा फेरी अरु कुनै निकाशा भएको छ, छैन ? सो समेतको जवाफ पठाउनु भन्ने २२।३।८।३ को सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश । सो बमोजिम भन्सार तथा अन्त शुल्क विभागबाट जवाफ आइसकेको ।
१३. यसमा अपीलाट प्रतिवादी निरराज राजभण्डारी मधुवनप्रसाद समेतलाई रोहवरमा राखी पेश गर्न ल्याएको प्रस्तुत मुद्दामा सरकारी पक्षको विद्वान वकिल एडभोकेट जगन्नाथ उपाध्याय र छलफलमा झिकिएका सुर्जमल तर्फको विद्वान वकिल सिनियर एडभोकेट कृष्णप्रसाद भण्डारी चिरंजिवीलाल तर्फको विद्वान वकिल एडभोकेट कृष्णप्रसाद पन्तहरूको र अपीलाट प्रतिवादीहरूको बहस जिकिर समेत सुनी बुझ्दा, विशेष पुलिस विभागले भ्रष्टाचार निवारण ऐन अनुसारको भ्रष्टाचार मुद्दासम्म तहकिकात गरी मुद्दा चलाउन पाउने । यो चोरी मुद्दामा कारवाई चलाउनु परे सरकारी मुद्दा सम्बन्धी ऐनमा लेखिए बमोजिम प.प्रो.र पुलिसले चलाउनु पर्ने थियो । त्यसो नगरी नालिस गर्न चोरीको ऐनको १ बर्षको हदम्याद नाघेको उजुर मालधनी बाहेकको वि.पु.वि. ले तहकिकात गरी भ्र.नि. ऐन अन्तरगतको विशेष अदालत बाहेक काठमाडौं विशेष अदालतमा दायर गराएको यो उजुरीबाट कारवाई चल्न नसक्ने भनी विद्वान एडभोकेट कृष्णप्रसाद पन्तले र सरकारी नियन्त्रणमा रहेको माल चोरे, चोराए, मासेको देखिएको व्यहोरा श्री ५ महाराजाधिराजको हुजरमा जाहेर हुँदा कारबाइको लागी विशेष अदालतमा सैपी दिनु भन्ने हुकुमको प्रमांगी बक्स भई आए बमोजिम काठमाडौं विशेष अदालतमा सौपी कारवाई भएको र भ्र.नि. ऐनको दफा ३० ले वि.पु.वि. ले यो चोरी मुद्दा चलाउन पाउने समेत हुँदा कारवाई चलेको कायम हुनु पर्ने भनी सरकारी पक्षका विद्वान एडभोकेट जगन्नाथजीले समेत बहस गरी प्रस्तुत मुद्दामा वि.पु.वि. ले प्रारम्भीक तहकिकात गरी नेपाल विशेष अदालत ऐन, २०१३ को दफा २ मुताविक गठित विशेष अदालतमा सौपी मुद्दा कारवाई चलाउने निकाशाको निमित्त गृह मन्त्रालयबाट जाहेर गर्दा विशेष अदालतमा सौपी दिनु भन्ने हुकुम बक्सेको १८।२।२५।४ को प्रमांगीको फायल बेञ्चमा प्रस्तुत गर्नु भयो । उक्त कपडा कुनै निश्चित एकै मितिमा चोरे, चोराए, मासेको भन्ने नभई ११ सालमा आएको भए पनि १४ सालमा सिल तोडी छ्यासमिस गराई सोही मिति देखि कपडा चोर्नु, चोराउनु, मास्नु भ्ष्टाचार पूर्ण कारवाई गर्ने गराउने गरेको भन्ने वि.पु.वि. को आरोपपत्रको दफा ५ मा लेखिएको र भ्रष्टाचार काला बजार र चोरी समेत गरे भन्ने १५।७।१२।३ मा विशेश्वरलाल गुप्ताले दिएको उजुरीबाट कारवाई उठान भएको देखिएको । चोरीको ऐनको १ बर्षको हदम्याद नाघेको भन्न भएन । नेपाल बैंकको गोदाममा भंसार अड्डाका हाकिमको लाहछाप समेत लगाई बन्द गरी राखेको माल सरकारी नियन्त्रणमा रहेको नै भयो । त्यसरी सरकारी नियन्त्रणमा रहेको माल कसैले चोर्नु, चोराउनु, मास्नु गर्यो भने जिम्मा लिनेले मुद्दा चलाउन पाउनु हक पनि हो । साथै सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ लागू भएपछि सरकार वादी भई कारवाई चल्ने चोरी मुद्दा सरकारी तर्फबाटै चलेकोमा हकदैया नभएकोले चलाएको भन्न नमिल्ने समेत देखिन्छ । भ्रष्टाचार निवारणलाई खडा गरिएको वि.पु.वि. ले भ्रष्टाचार ऐनको परिच्छेद २ अन्तर्गतको सजाय हुने कुसुरमासम्म तहकिकात गरी कारवाई चलाउन पाउने भ्र.नि. ऐन दफा १७।१८ ले व्यवस्था गरेको छ । त्यो बाहेक अरु ऐन बमोजिम अरु अड्डा अदालतमा अरु कसैले मुद्दा चलाउन पाउने हक सुरक्षित गरेको भ्र.नि. ऐन दफा ३० वि.पु.वि. ले प्रयोग गर्न नमिल्ने देखिन्छ । वि.पु.वि. ले भ्र.नि. ऐन परिच्छेद २ अन्तर्गतको मुद्दा सोहि ऐन अन्तर्गत गठन भएको विशेष अदालतमा चलाउनु पर्ने कानूनले निर्देश गरेको भए पनि भ्र.नि. ऐन परिच्छेद २ अन्तर्गत भ्रष्टाचारमा सम्बन्धित चोरी बिषयमा समेत कारवाई चलाउनको लागी नेपाल विशेष अदालत ऐन, २०१३ को दफा २ बमोजिम गठित विशेष अदालतमा सौपी दिन निकाशाको निमित्त जाहेर गर्दा विशेष अदालतमा सौपी दिनु भन्ने हुकुमको प्रमांगी बक्स भई आई प्रमांगी बमोजिम काठामाडौं विशेष अदालतमा दायर भएको देखिएकोले कारवाई चल्न नसक्ने भन्ने उपरोक्त तर्कहरू तथ्य पूर्ण देखिएन ।
१४. महाबीरप्रसाद क्यालले ग्यानसिँ कम्पनि सिँगापुरबाट ल्याएको जापानी रेयन कपडा काठमाडौं आई नेपाल बैंक लिमिटेडको गोदाममा भंसारका हाकिमको लाहाछाप ढोकामा लगाई सिलबन्दी गरी ढोकामा साँचो लगाई राखेको कपडा मध्ये ४८ मन ३० सेर सो ठाउँबाट चोर्नु, चोराउनु, मास्नु गरेको भन्ने आरोपपत्रको मुख्य प्रमाणको लागी (१) चोर्ने चोराउने मास्ने अभिप्रयले मालधनी नराखी आदेशानुसार विलविजक नहेरी सम्पूर्ण गाठ खोली छ्यासमिस गराई चोर्ने चोराउने गरेको (२) सो जापानी कपडाहरू बजारमा खरिद बिक्री भएको (३) सुर्जमलको खातामा रु.३२९।६०।।। खर्च लेखिएको कारण खुलाउन नसकेकोले भ्रष्टाचार गर्न खर्च भए–गरेको देखिने भन्ने प्रमाणहरू वि.पु.वि. ले प्रस्तुत गरेको रहेछ ।
१५. चोर्ने चोराउने मास्ने अभिप्रायले मालधनी नराखी आदेशानुसार विलबिजक नहेरी सम्पूर्ण गाठ फोरी छ्यासमिस गराई चोर्ने चोराउने गरेको भनेमा सो मालको धनी म हुँ भनी महाविरप्रसादले वि.पु.वि. मा बयान गरी दिएको बैंकमा तिरेको रुपैंया लगायत माहावीरप्रसादसँग ५०००० लिनु पर्नेसम्म सो कपडाबाट उपर हुनु पर्छ । कपडा लिलाम गर्ने बिषयमा माहावीरप्रसादसँग सोधनी हुनु भनी सुर्जेमल माडवारीले वि.पु.वि. मा कागज गरी दिएको देखिएको । सिँगापुरबाट माहावीरले नै झिकाई ल्याएको मालको मोल जम्मै सुर्जेमलहरूबाट भुक्तान भएको सबूद बेगर मालधनी चिरंजिबी सुर्जेमलहरू हुन भन्न नमिली माल झिकाई ल्याउने महावीरलाई नै मालधनी मान्नु पर्ने र कपडाको गाठ खोल्दा माहाबीर रोहवरमा रहेको देखिएकोले मालधनी नराखी खोलेको भन्न भएन । सो १७८ गाठ कपडा कति मोल परेको रहेछ ? हाल कति मूल्यको छ ? भंसार गोश्वराका हाकिम र गौचर भंसार गोश्बारमा साक्षी दुर्गाप्रसाद गई विल भौचर मालको नमुना समेत राम्रोसँग जाँची बुझी रिपोर्ट पेश गर्नु भन्ने तत्कालिन उपमन्त्री रत्नप्रसादज्यूबाट आदेश भए बमोजिम कपडा जाँच्दा विल भौचर बैंकबाट माहाबीरले लगी सकेको भई हेर्न नपाएको भनी आदेशानुसार गाठ खोली जाँच गर्दा छ्यासमिस हुनु स्वभावविकै भएकोले त्यस तथ्यको आधारले चोरे चोराए, मासेको भन्न नमिल्ने ।
१६. सो जापानी कपडा बजारमा खरिद बिक्री भएको भन्ने हकमा बिक्री भएका कपडाहरू बैंकमा रहेको कपडाको जात नम्बरसँग मिल्ने भन्ने आरोपपत्रमा लेखिएको । त्यो कसरी प्रमाणित भयो ? सो आरोपपत्रमा र प्राप्त सबूदबाट खुलेन । जापानी रेयन कपडा काठमाडौं उपत्यकामा ल्याउनालाई ११।८।२३ देखि मनाही भई १३।१।७ का मन्त्री मण्डलका निर्णयले प्रतिवन्ध हटेको भन्नाले करीब १।। बर्ष मनाही भईरहेको देखिन्छ । उक्त प्रतिबन्धित समयको अघि वा पछि जुनसुकै समयमा पनि उपत्यकामा पैठारी हुन सक्ने हुनाले प्रतिवन्ध नभएको टायममा वि.पु.वि. ले अनुसन्धान गर्दा बरामद भएका कपडाहरू उक्त माहावीरले ल्याई बैंकमा रहे मध्येका नै हुन भन्ने प्रत्यक्ष प्रमाणको आवश्यकता हुन्छ । तर त्यस्तो प्रमाण विल्कुल प्राप्त भएको छैन । खाताहरूबाट आम्दानी भन्दा बढी कपडा बिक्री भएको फाँट देखिएको भनेमा चोरी भयो भनेका कपडाको गजको हिसाब त्यसमा मिल्न आउँदैन र लाखौं रुपैंयाको चल्ती फिर्ती व्यापार गर्ने व्यापारीले कुनै १ टुक्रासम्म कपडाको पनि यस ठाउँबाट यस टायममा आएको मध्ये हो भनी सम्झना राख्न सक्ने सम्भव नहुँदा बढी कपडाको फाँट आएन भन्ने तर्कमा तथ्य देखिंदैन । डोमाप्रसादको भाई कन्हैयालालबाट बरामद भएको स्न १९५२ को कपडा टुक्रा माहाबीरबाट किनेको भनेको र माहाबीरले बैंकमा दाखिला नहुदै बीचैमा चोरी गरेकोमा सजाय पाएको । सो टुक्रा र अरु बिक्री भएका र हुन बाँकी कपडाहरू बैंकको गोदाममा रहे मध्येकै बैंकबाटै बजारमा आए ल्याइएका हुन भन्ने प्रमाणीक सबूद केही नभएको । बैकको कपडा ११ सालमा आएको भए पनि १४ सालमा सिल तोडिई छ्यासमिस गराई सोही मिति देखि चोर्नु, चोराउनु, मास्नु गरेको भन्ने वि.पु.वि. को आरोपपत्रको दफा ५ मा उल्लेख भएकोले त्यसपछि चोर्नु, चोराउनु, मास्नु गरेको भन्ने प्रमाणको निमित्त ११।१०।२१ र ११।१०।२४ मा कपडा उपत्यकामा पैठारी हुनु भन्दा अघि ०११।१०।५सम्मको लेखिएका २५ घर १४ साल भन्दा अघिको अरु समेत खाताहरू यो वारदातका निमित्त लायक प्रमाण हुन आउँदैनन् । तसर्थ, बजारमा बिक्री भए भनेका कपडाहरू बैंकबाट निकाशी भएका हुन भन्ने प्रष्ट सबुदको अभावमा कुनै कपडा बजारमा बिक्री भएको नातालेसम्म कसुर कायम गर्न मिल्ने देखिंदैन ।
१७. सुर्जेमलको खातामा रु.३२९६०।।। खर्च लेखिएको मुनासिव फाँट नभएकोले भ्रष्टाचारमा खर्च भएको देखिने भनेकोमा १४ साल पछि कपडा चोर्नु, चोराउनु, मास्नु गरेको भनिन्छ । १४ साल पछि कपडा चोर्नु चोराउने मास्ने उद्देश्यले कर्मचारीलाई दिन ११ सालमा खर्च लेखिएको अथवा खर्च गरिएको भन्न नमिल्ने र सो रुपैंया माल छुटाउँदा हुन्डा विल्टी वापत भुक्तानी दिन समेत बैंकमा तिरेकोले माहाबीरको नाउँमा खर्च लेखेको भन्ने सुर्जेमलको बयान भएको । सो काममा माहावीरलाई दिई निजका नाउँमा खर्च लेखिएको भन्ने देखिन आउँछ ।
१८. पैठारी गर्न नहुने कपडा पैठारी गरेको भन्ने आरोपमा प्रतिवन्ध लगाउनु भन्दा अघि ०९ सालमा झिकाएको कपडा २। बर्ष करिब कलकत्तामा रहि त्यसबाद विरगञ्ज कष्टममा आई पुगेपछि माहावीरको निवेदनबाट टिप्पणीं पेश हुँदा तत्कालीन अर्थ तथा प्रधान मन्त्रीबाट भएका आदेशानुसार उपत्यकामा पैठारी गरेको देखिएकोले पैठारी गर्न नहुने, गरेको भन्ने गैरसरकारी व्यक्ति उपर आरोप लाग्न नसक्ने । मधुवनप्रसाद दुर्गाप्रसादले लगत गर्दा घटाई लगत गरेको भनेमा धेरै कपडाको लगत गर्दा गन्ती गर्ने हिसाब गर्नेको भुलले केही घटी बढी पर्न जानु असम्भव होइन । उसमा पनि छ्यासमिस टुक्रा बेठन समेत अन्दाजी गज २२०८ भनी वि.पु.वि. ले गराएको मुचुल्कामा लेखिएको वि.पु.वि. ले सो कपडा नाप गरेको रहेछ भन्ने देखिन आयो । नाप गर्नु पर्ने, नगरी त्यसरी अन्दाजी लेख्दा घटी भनेको कपडा त्यसैमा परेको पनि हुन सक्छ । त्यसकारण, निजहरूले वदनियत साथ घटाई लगत गरेको भन्न नमिल्ने पनि देखिन आयो ।
१९. उपरोक्त कारणले वि.पु.वि. ले प्रस्तुत गरेका प्रमाणहरूमा तथ्य नदेखिएको र बैंकको गोदाममा रहेका कपडा चोर्नु, चोराउनु, मास्नु हुँदा गोदामको झ्याल ढोका गाह्रो फोरीएको सेन खनिएको भन्ने वि.पु.वि. को आरोपपत्रमा उल्लेख नभएबाट मुल ढोकैबाट सर सल्लाहले नै दिए लगेको भनेको भन्नु परेको छ । सो बैंकमा सेन्टरी पालो बस्ने र साँचो प्रतिवादीहरू बाहेकको अर्कै मानिस जिम्मा रहने भए पछि, ती मानिसलाई नमिलाई सो काम हुन नसक्ने । ती मानिसलाई मिलाएको भन्ने अरोपपत्रमा दावी नभएको । यस हालतमा प्रतिवादीहरूले चोर्नु, चोराउनु, मास्नु गरे भन्ने प्रमाणित गर्न नमिल्ने । तौल नपगेकोमा सो माल बैंकको गोदाममा राख्दा गाठ साबुद हेरी मात्र राखेको भन्ने देखिनाले बैंकमा दाखिला नहुँदै बीचैमा झिकी गाठ साबूद देखाई आई गाठ साबूद देखिएको भरले मात्र राखेको पनि हुन सक्छ । माथि उल्लेख गरिए बमोजिम बैंकको गोदामबाट चोर्नु चोराउने मास्ने गरेको नदेखिएकोमा अनेत्रबाट लेखि आएको तौल नमिलेकै कारणले मात्र दोसि भन्न नमिल्ने हुँदा शुरुका फैसालमा लेखिएका बुँदा प्रमाण समेतबाट सो कपडा प्रतिवादीहरूले बैंकको गोदामबाट चोर्नु, चोराउनु, मास्नु गरेको र भ्रष्टाचार पक्षपातपुर्ण कारबाही गरेको ठहर्दैन भनी काठमाडौं विशेष अदालतले गरेको इन्साफ मुनासिव छ ।
२०. निरराज राजभण्डारीको अपील जिकिरको हकमा ११।८।२३ का विज्ञप्तीले उपत्यकामा पैठारी गर्न मनाही भएको कपडा सो विज्ञप्ती चालु हुँदै ११।१०।१६ का आदेशले पैठारी भई अनियमित काम भएको जाहेर भई माहाबीरले ल्याएको रेयन कपडा जहाँबाट झिकाई ल्याएको सोही ठाउँमा तुरुन्त फिर्ता लैजानु भनी मालधनीलाई समेत जनाउ दिनु भन्ने हुकुम बक्सेको १२।१०।११।४ को टिप्पणीं प्राप्त भएपछि प्रमांगीमा केही शब्द संशोधनका लागी दोहर्याई जाहेर गरेकोमा महसुल लिई छाडी दिने १३।१२।२२।५ मा मन्त्री मण्डलको बैठकबाट निर्णय भएपछि माल फिर्ता लैजाने हुकुम बक्सेको कुरा बदर भएको । पुन तह मार्फत दोहर्याई जाहेर गर्नु श्री ५ को सरकारको सचिवको हैसियतमा रहनु भएका अपीलाटको कतव्र्य थियो । सो नगरी मन्त्री मण्डलका निर्णय अनुसार महसुल लिने तर्फको टिप्पणीं उठाई कारवाई गरेको । पछि हु.प्र.बमोजिम मन्त्रीमण्डलको निर्णयको व्यहोरा श्री ५ महारजाधिराजको हजुरमा जाहेर गर्ने १४।२।२४।३ को मन्त्री मण्डल बैठकको निर्णय अनुसार जाहेर हुँदा नेपाल सरहद भित्र लेखिएको ठाउँमा काठमाडौं उपत्यका गरी संशोधन गरी दिनु र सो आएका मालहरू सबै सोही मिति ०१२।१०।११।४ को निर्णय बमोजिम गर्नु गराउनु भन्ने हुकुम बक्सेको छ भन्ने लेखि आएको समेत देखिएबाट त्यस बारे मलाई दोष लाग्न नसक्ने भन्ने अपील जिकिर पुग्न सक्दैन । ।
२१. तत्कालिन भंसारका हाकिम मधुवनप्रसाद तथा गौचर भन्सारका साक्षी हाकिम दुर्गाप्रसादलाई बिल भौचर मालको नमूना समेत राम्रोसँग जाँची बुझी पेश गर्ने आदेश भएकोमा विल भौचर महाबीरले लगी सकेकोबाट हेर्न नसक्ने अवस्था भएपछि, त्यो व्यहोरा पेश गरी निकाशा लिई मात्र कपडा खोली लगत गर्नु पर्नेमा अरु साधारण तवरबाट पैठारी गरेको माल सरह सम्झी कपडा खोली लगत गरेको बुद्वि नपुर्याई काम गरेकोमा अ.बं.२८९ नं.बमोजिम रु.१०। का दरले जरिवाना गर्ने भनी विशेष अदालतले लेखेकोमा डिभिजन बेञ्चका आदेश बमोजिम बुझ्दा माल दुरुस्त भए नभएको व्यहोरा जाहेर गर्नु भन्ने हुकुम बक्से बमोजिम प्रमुख सेक्रेटरीबाट जाँच गराउँदा उक्त मालको बिलविजक समेत नभएकोबाट थान गन्ती पुगे नपुगेको समेत यकिन नभएको र गाठहरू पनि खोलिएको समेत देखिएको व्यहोरा श्री अध्यक्ष मन्त्री परिषदमा पेश हुँदा सो खोल्नालाई पहिले विल भौचर खोजी गरी सो नभएको देखिएमा सो व्यहोरा पेश गरी निकाशा भए बमोजिम गर्नु पर्नेमा सो बमोजिम नगरी माल नै खोली लगत गरेकोबाट आदेश अनुसार काम नभएकोमा विभागीय कारवाई गर्न तपाँई कहाँ पठाई दिने निकाशा भएको भनी प्रमुख सेक्रेटरीज्यूबाट लेखि आएकोले सो बमोजिम बिभागीय कारवाही चलिरहेको अवस्था वि.पु.वि.बाट सो कपडा हुकूमबक्से बमोजिम फिर्ता नगरी चोर्नु, चोराउनु, मास्नु भएछ भन्ने कारवाई चलाई सो मिसिल फायल उक्त विभागबाट झिकाई खिचिएकोले अरु कारवाई भएको देखिंदैन भनी अर्थ मन्त्रालय भन्सार तथा अन्त शुल्क विभागबाट जवाफ आएको । सो विभागीय कारवाई चलाउने तर्फ वि.पु.वि. को आरोपपत्रमा जिकिर नभएको भई विभागीय कारवाई सो मिसिलबाट हुन बाँकी देखिँदा आरोपपत्रमा दावी नभएको अ.बं.२८९ नं. ऐन लगाई यस मुद्दाबाट सजाय दिन मिल्दैन । जरिवानाको लगत काटी सो बिषयमा विभागीय कारवाईबाटै ठहरे बमोजिम हुने बिषय हो भनी भंसार तथा अन्तशुल्क विभागलाई सूचना दिनू ।
२२. अरु तपसील बमोजिम गरी काठमाडौं बिशेष अदालतको फैसालमा लेखिए बमोजिम कार्य गर्न शुरु मिसिल सो बिशेष अदालतमा पठाई रेकर्ड मिसिल नियम बमोजिम बुझाई दिनू ।
तपसील
काठमाडौं इलाका बटु गुचाटोल बस्ने भूतपूर्व से.नीरराज राजभण्डारी के इन्साफ पारी छिन्ने न्यायाधीश उपर अपील गरे वापत शुरु जरिवाना नहँदा अदालत बन्दोबस्तको २०३ नं. ऐनले तजविजी रु.१। एक जरिवाना लाग्छ रुजु हँदा असल गरी का.श्रे.अ तमा लगत दिनु...........१
देखाएका मानिस के माथि लेखिए बमोजिम ठहरेकोले अपील गरेमा जरिवाना गर्नु पर्दैन शुरु काठमाडौं विशेष अदालतका २०।५।८।३ का फैसलाले गरेको देहयको जरिवाना नलाग्ने हुँदा असूल भएर भए ऐन सावलको रीत पुर्याई फिर्ता दिनु नभएको भए लगत काटी दिनु भनी का.श्रे.अ.त. मा लगत दिनु ...........................२
का.ई.चाबहिल महाकाल बस्ने मधुवनप्रसाद के रु १०
मुद्दा फैसाल भएको जनाउ एटर्नी जनरल अफिस मार्फत वि.पु.वि. मा पठाई दिनु ..........३
हुकुमका प्रमांगीबमोजिम नतिजा जाहेरगरी पठाउनु .......................४
इति सम्वत् २०२२ साल श्रावण २७ गते रोज ४ शुभम् ।