शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२११ - कर्तव्य ज्यान

भाग: २९ साल: २०४४ महिना: पौस अंक:

निर्णय नं. ३२११     ने.का.प. २०४४      अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४३ सालको फौ.सा.नं. ८७

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी: धनबहादुर खड्काको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी:कास्की जिल्ला पो.न.पं.वार्ड नं. ६ बैदाम बस्ने छविराज पहाडी ।

            ऐ.ऐ बस्ने हरि बहादुर कोइराला ।

            ऐ.ऐ बस्ने पेशल बहादुर खत्री क्षेत्री ।

            ऐ.ऐ बस्ने जुठे दमाई ।

            ऐ.ऐ बस्ने दुर्गा प्रसाद पहाडी ।

            ऐ.ऐ बस्ने देव प्रसाद कोइराला ।

            ऐ.ऐ बस्ने वनदेवी पाध्यानी ।

            ऐ.ऐ बस्ने होम बहादुर लामिछाने ।

            ऐ.ऐ वार्ड नं. ५ बस्ने जिवनाथ भूर्तेल ।

            जि.सिन्धुपाल्चोक पाखर गा.पं.वार्ड नं.८ घर भै हाल पो.न.पं. वार्ड नं. ६ वैदाम               बस्ने ढालु भन्ने राजु पराजुली ।

फैसला भएको मिति: २०४४।३।१२।६ मा

     गालीगलौज हुनु आदिबाट उत्तेजना बढी वैदामबाट आएको मानिसहरू र सराङकोटको मानिसहरू बीच भनाभन हुलमाल बढ्न गई झगडाको रुप लिन पुग्यो, यसरी झगडा भई हानाहान कुटपिट हुँदा मृत्यु भएको देखियो, यस अघि मार्नुपर्ने सम्मको पूर्व रिसइवी रहेभएको पाइँदैन, पूर्व योजना तयारी बमोजिम योजना घटित भएको पनि पाइँदैन, यसरी भैसीको कारणबाट सराङकोटे जनता बैदामे जनतासम्म बिस्तार भएको हाल्लाखल्लाबाट उत्तेजित जनसमूह बीच एकाएक मूठभेड हुँदा भवितब्यको वारदात घटित भई भवितव्यमा मृत्यु भएको देखियो ।

(प्रकरण नं. २६)

वनदेवीको कारणबाट झगडाको शुरुवात भए पनि मृतकको मृत्यु हुनेसम्मको  वारदात गर्ने गराउने नियत नभई आफूलाई अपशब्द गालीगलौज हुँदा उत्तेजना बढन गएको देखिन्छ । अन्तिम वारदातमा अपराधिक कृयाकलाप भएको नदेखिँदा कसूर गरेको भन्न नमिल्ने ।

(प्रकरण नं. २६)

     कुटपिटको परिणाम मृत्यु भएको भनी आफू समेत कसूरमा सावित भई पोलेको कुरा प्रहरीमा भएको बयानबाट देखिन्छ । सो कुरालाई चस्मदिद गवाहहरूबाट समेत पुष्टि भएको छ, यस स्थितिमा मृतकको मृत्यु प्र.छविराज, दुर्गा, राजु, देवीप्रसाद, हरि बहादुर समेतको भवितब्य कुटपिटको कारणबाट भएको देखिने ।

(प्रकरण नं. २६)

फैसला

न्या.महेशराम भक्त माथेमा: प.क्षे.अ.को फैसला उपर साधक जाँचको लागि बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    खैतारे हरि भन्ने समेत ११ जना चिनेका र अरु देखे मात्र चिन्ने २० जना समेत भई ०३७।८।४ को दिनको ४ बजेको समयमा लाठी, ढुङ्गा, नाइनचक्कू र छुरी समेत प्रहार गरी मेरा दाजु देवी बहादुर खड्काको मृत्यु भएकोले कानुन बमोजिम होस भन्ने समेत धनबहादुर खड्काको ०३७।८।५ को जाहेरी दर्खास्त ।

३.    तालु बायाँपट्टि फुटी सिलाएको घाउ देखिएको भन्ने समेत ०३७।८।५ को मृतक देवी बहादुरको लाश प्रकृति मुचुल्का ।

४.    सराङकोटतर्फका ५०६० जना र बैदामतर्फका २०२५ जनाका बीचमा ०३७।८।४ गतेको दिन अं.४ बजेको समयमा हानाहान भएको हो । मैले नाइनचक्कू लिएर गएको थिएँ, मैले नाइनचक्कूले १२ जनालाई चोट पुर्‍याएँ, पछि जिवनले खोसेर चलाए मैले मर्ने देवी बहादुरलाई १२ मुक्का हानेको हुँ म र देवी बहादुरले हानेको ढुङ्गाले जीवनाथलाई लागेकोले जीवनाथ, पेशल बहादुर , जुठे दमार्ई समेतले २ मुक्का हानेका र हरि बहादुरले देवी बहादुरलाई ढुङ्गाले हानेका हुँदा आइया बाबा भनी जमीनमा ढले, त्यसपछि हामी भागी आएका हौं भन्ने समेत राजु भण्डारीले प्रहरीमा गरेको बयान कागज ।

५.    सराङकोटतर्फका ५०।६० जना र बैदामतर्फका २०२५ जनाको बीच लाठा ढुङ्गाले हानाहान भएको हो पेशल बहादुर , जीवनाथले देवी बहादुरलाई हात मुक्काले हानेका, राजु भण्डारीले नाइनचक्कूले हानेको र हरि बहादुरले ढुङ्गाले टाउकोमा हानेपछि देवी बहादुर ढले, पछि भागाभाग भएको हो भन्ने समेत छविराज पहाडीले प्रहरीमा गरेको बयान कागज ।

६.    मैले मर्ने देवी बहादुरलाई कुटपिट गरिन, सराङकोट र बैदामतर्फका मानिसको बीच दोहोरो हानाहान भएको मर्ने देवी बहादुरले जीवनाथको दाँत खसाली दिएपछि जीवनाथ, जुठे दमार्ई र पेशल बहादुर ले लात मुक्काले र हरि बहादुरले ढुङ्गाले देवी बहादुरलाई हानेपछि देवी बहादुर पछारिएका र बैदामतर्फका मानिस भागिआएका हुन् भन्ने समेत देवप्रसाद कोइरालाले प्रहरीमा गरेको कागज ।

७.    सराङकोटतर्फका र बैदामतर्फका मानिसका बीच हानाहान हुँदा बैदामतर्फका जीवनाथको दाँत झरेपछि पेशल बहादुर , जीवनाथ, जुठे दमार्ईले देवी बहादुरलाई लात मुक्काले हानेका र हरि बहादुरले ढुङ्गाले  हान्दा टाउकोमा लागी देवी बहादुर पछारिएपछि हामी सबै भागिआएका हौं मैले देवी बहादुरलाई हानिन भन्ने समेत दुर्गाराज पहाडीले प्रहरीमा गरेको बयान कागज ।

८.    मृत्युको कारण टाउकोको चोटबाट देखिन्छ । जसमा जमेको रगतले मस्तिष्कलाई थिचिएर भएको हो भन्ने समेत पोष्टमार्टम रिपोर्ट ।

९.    सराङकोटतर्फका र बैदामतर्फका मानिसको बीच दोहोरो हानाहान भएको र मैले छुट्याउने प्रयास गरेको हुँ, हरि बहादुरले हानेको ढुङ्गाको चोटबाट देवी बहादुर मरेका हुन् भन्ने समेत माइलो भन्ने बुद्धि बहादुर पौडेलले प्रहरीमा गरेको बयान कागज ।

१०.    हराएको भैसी कुल बहादुरले देखे नदेखेको विषयलाई लिएर सराङकोटतर्फका र बैदामतर्फका मानिसहरूका बीच झगडा भई दोहोरो हानाहान भएको हो । म समेत भई छुट्याउने प्रयास गर्दा केही लागेन । हरि बहादुरको चोटबाट देवी बहादुरको मृत्यु हुन गएको हो भन्ने समेत सेते पौडेलले प्रहरीमा गरेको बयान कागज ।

११.    भैसीको बारेमा सराङकोटका र बैदामतर्फका मानिसका बीच झगडा भएको र पेशल बहादुर , जीवनाथ र जुठे दमार्ईले देवी बहादुरलाई लात मुक्काले हानेका र हरि बहादुरले ढुङ्गाले हानेको चोटबाट देवी बहादुर पछारिएकोले बैदामतर्फका मानिसहरूको भागाभाग भएको हो भन्ने समेत कृष्ण बहादुर थापाले प्रहरीमा गरेको बयान कागज ।

१२.   बैदामतर्फका मानिसले सराङकोटतर्फका मानिसलाई लाठा ढुङ्गाले हान्दा देवी बहादुरलाई बढी चोट परी मर्न गएको हुन भन्ने केही र धेरैजनाको दोहोरो हानाहानमा नमालुम कसको चोटबाट देवी बहादुर मर्न गएका हुन् थाहा छैन भन्ने समेत केही भएको ०३७।८।२६ को सरजमीन मुचुल्का ।

१३.   कुटाईको चोटबाट देवी बहादुरको मृत्यु भएको प्रष्ट हुन आएकोले सख्त घाइते बनाउने हरि बहादुर कोइराला उपर ज्यानसम्बन्धीको १३ नं. को दफा ३ बमोजिम र पेशल बहादुर, जुठे दमार्ई, जीवनाथ भुर्तेल भन्ने राजु भण्डारी समेत जना ४ लाई ऐ.१७ नं.को देहाय २ बमोजिम तथा दुर्गाराज, छविराज र देवप्रसाद समेत जना ३ लाई ऐ.को ६ नं. को देहाय २ बमोजिम र बनदेवी पाध्यानीलाई ऐ.को १७ नं.को देहाय ३ बमोजिम होम बहादुर लामिछानेलाई ऐ.को २५ नं. बमोजिम सजायँ हुन र पक्राउ हुन बाँकी हरि बहादुर कोइराला, पेशल बहादुर  खत्री, जुठे दमार्ई, जीवनाथ भुर्तेल, वनदेवी पाध्यानी र होम बहादुर लामिछाने समेतलाई समाव्हान जारी हुनुपर्ने माग दावी लिई सेते पोडे, माहिलो पोडे, भैरव बहादुर भुजेल, यम बहादुर मगर, प्रकाश पोडे सम्म बहादुर दमार्ई र सुनार माइलो भन्ने समेत उपर मुद्दा चलाउन सबूद नपुग्ने हुँदा सोही बमोजिम हुन पक्राउ परेका मानिस र मिसिल समेत प्रस्तुत गरिएको छ भन्ने समेत प्रहरी प्रतिवेदन ।

१४.   ०३७।८।४ गते बोका खोज्न छविराज, देव प्रसाद, राजु भण्डारी र म समेत भई पुम्दी मुम्दी गा.पं. लुकुम स्वारा मोतिलाल बरालको घरमा अं.१२ बजेको समयमा पुगी सो दिन त्यहीँ बास बसी भोलिपल्ट १२ बजे बसस्टपमा आइपुग्दा प्रहरीले पक्राउ गरी कुटपिट गरी कागज गराएका हुन् । मैले देवी बहादुरलाई मारेको होइन कसले मारे थाहा छैन भन्ने समेत प्र.दुर्गाराज पहाडीले ०३७।९।८ मा अदालतमा गरेको बयान ।

१५.   ०३७।८।४ गते बोका खोज्दै छविराज, दुर्गाराज राजभण्डारी, देवप्रसाद समेत भई पुम्दी, मुम्दीतर्फ मोतिलालको घरमा पुगी सो दिन त्यहीं बास बसी बोका नपाई ऐ. ५ गते फर्की अं.१ बजेको समयमा बस स्टप आइपुग्दा प्रहरीले पक्राउ गरी कागज गराएको हुन मैले देवी बहादुरलाई कुटपिट गरेको होइन को कसले मारे थाहा पाइन भन्ने समेत प्र.छविराज पाहिरीले ०३७।९।८ मा अदालतमा गरेको बयान ।

१६.    ०३७।८।४ गते राजभण्डारीले दुर्गाराज, छविराज र म समेत भई बोका खोज्दै पुम्दी मुम्दी मोतिलालको घरमा पुगी त्यही बसी भोलिपल्ट ५ गते फर्कि बस स्टप आइपुग्दा प्रहरीले पक्राउ गरी कुटपिट गरी कागज  गराएका हुन । देवी बहादुरलाई मैले कुटपिट गरेको होइन कसले कुटपिट गरी मारे थाहा छैन भन्ने समेत प्र.देवप्रसाद कोइरालाले ०३७।९।८ मा अदालतमा गरेको बयान ।

१७.   ०३७।८।४ गते बोका खोज्न भनी दुर्गाराज छविराज, देव प्रसाद र म समेत पुम्दी मुम्दी मोतिलालका घरमा पुगी भोलिपल्ट फर्कि बस स्टप आइपुग्दा प्रहरीले पक्राउ गरेका हुन् । देवी बहादुरलाई मार्न म सरिक थिइन कसले मार्‍यो थाहा छैन भन्ने समेत राजु भण्डारीले ०३७।९।८ मा अदालतमा गरेको बयान ।

१८.   ०३७।८।३ गते ससुराली कहाँ स्याङजा गणेशपुर गा.पं. राङकोशमा गई ऐ. ५ गते घर फर्केको वनदेवीसँग भैंसी खोज्न गएको होइन र देवी बहादुरलाई कुटपिट गरेको समेत होइन । कसको कर्तव्यबाट देवी बहादुरको मृत्यु भएको हो थाहा छैन भन्ने समेत प्र.पेशल बहादुर  खत्री क्षेत्रीले ०३८।२।४ मा अदालतमा गरेको बयान ।

१९.    म ०३७ साल मार्ग २ गतेदेखि म घरमा छैन । माझठाना गा.पं. वडा नं. ६ बस्ने मेरो फूपु टिकामाया कडेलको घरमा चौमासको ब्रत भएकोले २ गते गई ऐ.४ गतेसम्म त्यही बसेको हुँ म मेरो दाँत पनि फुक्लेको छैन फसाउनका लागि झुठ्ठा पोल उजूर गरेका हुन भन्ने समेत प्र.जीवनाथ भुर्तेलले ०३८।१।१५ मा अदालतमा गरेको बयान ।

२०.   चापाकोट गा.पं.का प्र.पं.गोपिलाल पराजुलीले भेट्न बोलाएकोले ०३७।८।४ गते ११ बजेको समयमा पामे भन्ने ठाउँमा गई बैठक भएकोले बैठक सकिएपछि कुरा गरौंला भनी त्यहीं बसी ४ बजे बैठक सकिएपछि ५ बजे सबै कुरा गरी घरतर्फ आउँदा कुटपिट भएको कुरा सुनेको हुँ। देवी बहादुर घाइते भई अस्पतालमा लगेका छन् भन्ने कुरा सुनें देवी बहादुरलाई मैले देखिन भन्ने समेत प्र.होमबहादुर लामिछानेले ०३८।१।२२ मा अदालतमा गरेको बयान ।

२१.   ०३७।८।४ गते म समेतका २०२० जना दयारा बाराही नि.मा.वि. तर्फ रोपिएको गैराको चौतारा मुनिको खेतमा दाँई भएकोले दिनभर धान पराल ओसार्ने काममा छांै । भोलिपल्ट मात्र सराङकोटेहरूले जुठे दमार्ईलाई ढुङ्गा मुढाले हान्दा कसले हाने ढुङ्गाले आफ्नै पक्षका देवी बहादुरलाई लागी अस्पतालमा लगेका र रातमा परलोक भयो भन्ने सुनेको हुँ । म उपरको उजूरी झुठ्ठा हो भन्ने समेत हरि बहादुर कोइरालाले ०३८।१।२२ मा अदालतमा गरेको बयान ।

२२.   वनदेवी पाध्यानीलाई पनि मुलुकी ऐन ज्यानसम्बन्धीको १३(४) नं.बमोजिम सजायँ हुने माग दावी गरी मिति ०४०।१।१३।३ मा अ.बं. ८८ नं. अनुसार पर्न आएको स.स.अ.को प्रतिवेदन ।

२३.   वादी, प्रतिवादीका साक्षीहरूको बकपत्र भई मिसिल संलग्न रहेछ । वनदेवीलाई ज्यानसम्बन्धीको १३(४) बमोजिम सजायँ हुन अ.बं. ८८ नं. बमोजिम माग गरिएको स.स.अ.को प्रतिवेदन सम्बन्धमा निज उपर शुरुमा मुद्दा दायर गर्दाका बखत ज्यानसम्बन्धीको १७(३) बमोजिम मुद्दा चल्ने भन्ने प्रहरी र मुद्दा नचल्ने भन्ने स.स.अ.को राय भइआएकोमा स.स.अ.को राय समर्थन गर्ने गरी अघि नै निर्णय भइसकेको देखिँदा त्यस अपराधमा पुनः कार्यवाही गरिपाउँ भन्ने प्रतिवेदनतर्फ विचार गर्नु परेन । प्र.ठालु भन्ने राजु भण्डारीले नाइनचक्कू लिई गएमा र चलाएमा अधिकार प्राप्त अधिकारी समक्ष सावित भएको छविराजले पोल गरेको अदालतमा बकपत्र गर्न अधिकांश सरजमीनको भनाइबाट समेत समर्थन हुन आएकोले निजले नै असावधानी भई बलपूर्वक प्रयोग गरेको नाइनचक्कूको चोटबाट देवी बहादुरको टाउकोमा पर्न गएको पूर्व योजना बनाई मार्ने नियत लिई हानेको भन्ने नभई बैदामतर्फका र सराङकोटतर्फका व्यक्तिहरू जम्मा भई वादविवाद भई धेरै व्यक्तिहरूको समूहमा चलाएको नाइनचक्कूबाट लाग्न गएको अवस्था कर्तव्यको रुप दिन मिल्ने देखिएन । तसर्थ प्र.ठालू भन्ने राजु  भण्डारीले गरेको कुटपिटबाट देवी बहादुरको भवितव्यबाट मुत्यु भएको ठहर्छ । कुटपिट गर्ने अन्य व्यक्ति उपर सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा ७(क) बमोजिम सरोकारवालालाई झिकाई सकार गरेमा कुटपिटबाट कारवाही गर्ने भन्ने सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भएकोले घटनास्थलमा मौजूद रहेको ठहरे पनि ज्यानसम्बन्धीको महल अन्तर्गत सजायँ हुने भन्न मिलेन । प्र.जुठे दमार्ई मरिसकेको देखिनाले प्र.हरीबहादुर, पेशल बहादुर , जीवनाथ, छविराज, देवप्रसाद दुर्गाराजहरू उपर सरोकारवाला व्यक्तिले सकार गरेमा सामान्य कुटपिटतर्फ कारवाही चल्न सक्ने गरी ज्यानसम्बन्धीको अभियोगबाट निजहरूले सफाई पाउने ठहर्छ । प्र.होमबहादुरका हकमा निजले कसूर गरेको भन्ने कर्तव्यबाट पुष्टि हुन नआएकोले कसूर गरेको ठहर्दैन भन्ने समेत शुरु कास्की जिल्ला अदालतको ०४०।११।११।५ को जाहेरी फैसला ।

२४.   कर्तव्य ज्यानको अपराधलाई भवितव्य ज्यान कुटपिट तर्फ परिणत गरी प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाई दिने गरी गरेको कास्की जि.अ.को फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम गरिपाउँ भन्ने समेत श्री ५ को सरकार तर्फबाट प.क्षे.अ.मा परेको पुनरावेदन ।

२५.   पूर्व योजनाबाट घटना घटित भएको भवितव्य भएको देखियो । वनदेवीको कारणबाट झगडा भए पनि, निजको अपराधिक कृयाकलाप रहेको नदेखिँदा निजलाई सफाई दिएको मिलेकै छ । प्र.हरि बहादुरले भवितव्यमा चोट छोडेको अन्य प्रतिवादीहरू देवीप्रसाद, छविराज, दुर्गाराज, राजु भण्डारीले कुटपिट गरेकोमा आफू प्रहरीमा सावित भएको र त्यसलाई चस्मदिद गवाहले पुष्टि गरेको हुँदा निजहरूको भवितव्य कुटपिटबाट मृतक देवी बहादुरको मृत्यु भएको देखिँदा निजहरूलाई ज्या.सं.को ६(२) अनुसार जनही तजविजी रु. २००।ले जरिवाना हुने ठहर्छ । प्र.पेशल बहादुर  कसूरमा इन्कार रहेको र अन्य प्रतिवादीहरूले आधार सहित पोल गरेको नदेखिँदा निजले सफाई पाउने भई शुरुको इन्साफ केही उल्टी हुने ठहर्छ भन्ने समेत प.क्षे.अ.को फैसला रहेछ ।

२६.   प.क्षे.अ.को फैसला उपर साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दामा प.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो । यसमा सर्वप्रथमतः मर्ने देवी बहादुरको मृत्यु कर्तव्यबाट भएको हो वा भवितव्यबाट भएको भन्नेतर्फ विचार गर्नु पर्ने हुन आयो । वनदेवीको भंैसी हराएको कारणबाट झगडाको शुरुवात भएको देखिन्छ । निज वनदेवी समेत भैंसी खोज्दै सराङकोट गएका बखत कुल बहादुरसँग कुटाकुट हुनु वनदेवीसँग गाली गलोज हुनु आदिबाट उत्तेजना बढी बैदामबाट आएका मानिसहरू र सराङकोटको मानिसहरू बीच भनाभन हुलमाल बढ्न गई झगडाको रुप लिन पुग्यो । यसरी झगडा भई हानाहान कुटपिट हुँदा देवी बहादुरको मृत्यु भएको देखियो । यस अघि देवी बहादुरलाई मार्नु पर्ने सम्मको पूर्व रिसइवी रहे भएको पाइँदैन । पूर्व योजना तयारी बमोजिम योजना घटित भएको पनि पाइँदैन । यसरी वनदेवीको भैंसीको कारणबाट सराङकोटे जनता र बैदामे जनतासम्म विस्तार भएको हल्लाखल्लाबाट उत्तेजित जनसमूह बीच एकाएक मुठभेड हुँदा भवितव्यको वारदात घटित भई भवितव्यमा देवी बहादुरको मृत्यु भएको देखियो । अब को कसबाट के कसरी भवितव्य भएको हो र को कसमाथि के कति सजायँ हुनुपर्ने हो, त्यसतर्फ विचार गर्दा वनदेवीको कारणबाट झगडाको शुरुवात भए पनि मृतक देवी बहादुरको मृत्यु हुने सम्मको वारदात गर्ने गराउने उनको नियत नभई आफूलाई अपशब्द गाली गलौज हुँदा उत्तेजना बढ्न गएको देखिन्छ । अन्तिम वारदातमा निजको अपराधिक कृयाकलाप भएको नदेखिँदा निजले कसूर गरेको भन्ने मिलेन । निजलाई सफाई दिएको मनासिब देखियो । अब अन्य प्रतिवादीहरू हरि बहादुर, देवीप्रसाद, छविराज दुर्गाराज, राजु  भण्डारीका हकमा विचार गर्दा हरि बहादुरले आफू वारदातको समयमा घटनास्थलमा नभई अन्यत्रै रहे भएको जिकिर लिए पनि अन्य प्रतिवादीहरू दुर्गा, देवी, छवि, राजु समेतले आफू वारदातमा सामेल भएको र २ पक्षीय कुटपिटको परिणाम मृत्यु भएको भनी आफू समेत कसूरमा सावित भई हरि बहादुर उपर पोलेको कुरा निजहरूको प्रहरीमा भएको बयानबाट देखिन्छ । सो कुरालाई चस्मदिद गवाहहरूबाट समेत पुष्टि भएको छ । यस स्थितिमा मृतक देवी बहादुरको मृत्यु प्र.छविराज, दुर्गा, राजु, देवीप्रसाद, हरि बहादुर समेतको भवितव्यमा कुटपिटको कारणबाट भएको देखिँदा निजहरू प्रत्येकलाई ज्यानसम्बन्धीको ६(२) नं. अनुसार रु. २००।का दरले जरिवाना गर्ने र प्र.पेसलबहादुर उपर यथेष्ठ प्रमाणको अभावमा सफाई दिने ठहर्‍याई गरेको प.क्षे.अ.को फैसलामा कुनै त्रुटी नहुँदा सोही इन्साफ मनासिब देखिँदा साधक सदर हुने ठहर्छ । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्र केशरी बास्तोला

 

इतिसम्वत् २०४४ साल आषाढ १२ गते रोज ६ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु