शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९६ - हरजना दिलाइ पाउँ

भाग: साल: २०२२ महिना: बैशाख अंक:

निर्णय नं.२९६       ने.का.प.२०२२

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री हेरम्ब राज

२०२१ सालको दे.फु.नं.२७४

वादी, अपीलाट : मेजर जनार्दन विक्रम राणा

विरुद्ध

प्रतिवादी, अपीलाट : भिमार्जुन उपाध्याय समेत

मुद्दा : हरजना दिलाइ पाउँ

(१)   नागरिक अधिकार ऐन, २०२० को दफा २० (२) मुद्दा चलाउने हदम्याद सम्बन्धी मुद्दा गर्नु पर्ने कारण कुन बेला, अवस्था देखि हुने ? मुद्दा गर्नु पर्ने कारण भएको ८ महिनाभित्र उजुर नालिस गर्नु पर्ने ।

            म्याद बिषयको नागरिक अधिकार ऐन, २०२० को दफा २० (२) हेर्दा मुद्दा चलाउन पर्ने कारण भएको मितिले ८ महिना भित्र नालिस उजुर नगरे कुनै अदालतमा यस्तो मुद्दा चल्न सक्तैन भन्ने उल्लेख भएको । वादीको हातबाट १४।६।१० मा नै ट्याक्टर फिर्ता लिने कारवाई गर्नु पर्ने भएको । निज भिमार्जुनले मर्मत गर्दा लागेको भनेको खर्च नदिएसम्म फिर्ता नदिने भनी नदिएका र त्यसपछि वादीले ट्याक्टर फिर्ता लिने कारवाई कोशिस गर्दा गर्दै पनि धेरै दिन पछि मात्र ट्याक्टर हात परेको र सो ट्याक्टर हात पर्नु भन्दा अगावै ट्याक्टरको पाट पूर्जा भए नभएको कुरा यकिन हुन नसक्ने हुँदा ट्याक्टरको पाट पर्जामा समेत उजुर गर्न क्षतीपूर्तिको अंक यकिन हुन सक्ने । यो ट्याक्टर हात पर्नु भन्दा अगावै क्षतीपूर्तिमा मुद्दा गर्नु पर्ने अवस्था पनि नपर्ने हुनाले ट्याक्टर हात परेपछि नै मुद्दा गर्नु पर्ने कारण परेको हुनाले आफ्नो हात परे पछिमात्र नागरिक अधिकार ऐनको दफा २० को निमित्त मिति कायम गरी नालिस गरेको नमिलेको भन्न मिलेन ।

(प्रकरण नं.१३)

(२)   तेरो मेरो भनी झगडा उठेको बस्तु अदालतले कसैको जिम्मा लगाउनु अदालतको कर्तव्य । कारवाई चलेको अवधिको हर्जाना दिलाउन नमिल्ने । अदालतमा बस्तु माल ल्याउँदा नजाँची त्यसै अरुको जिम्मा दिएको भएपछि सो माल बस्तुमा यो पार्ट माल छैन भनी जिकिर दावी गर्न नमिल्ने ।

            वादीले नै पुलिस मार्फत ठगी मुद्दा चलाएको कारणबाट कारवाईको सिलसिलामा ट्याक्टर अदालतमा दाखिला हुन गएको अड्डा दाखिला भए पछि मुद्दाको तेरो मेरोको किनारा नलागुन्जेल झगडा पर्न अएको बस्तु कसैको जिम्मा लगाई राख्नु पर्ने अदालतको कर्तव्य नै हुन आई सो अनुसार सुरेसराजलाई साबुत ट्याक्टर जिम्मा लगाएको र पछि वादीको बिन्तिपत्रमा भएका हुकुम प्रमांगी बमोजिम ट्याक्टर अदालतबाटै फिर्ता बुझी वादीको भाईलाई जिम्मा लगाएको र वादी तर्फबाट बुझी लिएको देखिन आएकोले वादविवाद उठी ट्याक्टर फिर्ता दिने बिषयको सिलसिलामा कारवाई चलाएको । सो अवधिको हर्जाना प्रतिवादीहरूले व्यहोर्न पर्छ भन्न कानूनसँगत नदेखिएको र ट्याक्टर अमिनीमा नाखिल हुँदा खोलखाल गरी पार्ट पूर्जा जाँच भएको नभई चल्ने ट्याक्टरसम्म सुरेसराजलाई जिम्मा लगाएको पछि नृपविक्रमलाई बुझाउँदा भएको मुचुल्कामा क्याटलक बमोजिमको पुर्जा भिडाउँदासम्म नपुगेको पाट पूर्जाको फाँटवारी लेखेको भएपछि चल्ने ट्याक्टर सावुतै नृपविक्रमले बुझेको हुनाले नपुग पार्ट पुर्जाहरू कुन बखतमा नभएको भन्ने कुरा कहिंबाट नखुलेको । पहिले अदालतमा दाखिल हुँदाका बखत जँचाएको भए मात्र ती कुराहरू यकिन हुने थियो । जाँच हुन नसकेकोले बेसाबुद भनी वादीले दावी गरेको मिलेको देखिएन ।

(प्रकरण नं.१४)

(३)   आफ्नो लेनामा ऐन कानून बमोजिम दावा गर्नु पर्ने लेना बाँकीमा कसैको माल बस्तु राख्न नपाइने । त्यस्तो राखेमा हुने हर्जाना दिनु तिर्नु पर्ने ।

            झगडा परेको ट्याक्टर आफ्नु लेना देखाई बिग्रेको र बनाएको खर्च समेत लगाएको कुरालाई लिई टेक्टर आफ्नु कब्जामा राखेमा भिर्माजुन सावितै देखिएको । मालधनी सो कुरामा मन्जुर नभए पछि आफ्नु लेना भए कानून बमोजिम रीत पुर्‍याई मात्र लिन पाउनेमा सो नगरी अर्काको माल अन्यायीले आफु जिम्मा लिए राखेको देखिन आएकोले उक्त टेक्टरको प्रयोगबाट वादी बन्चित रहेकाले भिमार्जुनको जिम्मा रहेको अवधीको हुन आउने हानी नोक्सानी लिने व्यक्तिले व्यहोर्न नपर्ने भन्न मिल्न नआउने ।

(प्रकरण नं.१५)

(४)   अदालती बन्दोबस्तको १०६ नं.मुख्य व्यक्तिले दावी गरे हुने । घरको मुख्य व्यक्तिले सगोलमा रहेको व्यक्ति समेतको हकमा दावी गर्न सक्ने ।

            टेक्टर खरिद गर्दा नृपविक्रमका नाउँबाट खरिद भएको र उजुर भने दाजु जनार्दनविक्रमको मात्र हुँदा जिल्ला अदालतले एक भाईको एक भागको मात्र बिगो कायम गरेको देखिएकोमा जनार्दनविक्रमले गरेको शुरु वादीमा नै नृपविक्रम एकाघरको भाई भनी लेखेको । त्यस कुरामा कसैको बाद विवाद नउठेको हुनाले आफू समेतको हकदैया लाग्ने कुरामा घरको मुख्यले उजुर गरे पछि त्यस चिजमा हक भएको सबै अंशियारले दावी उजुर गर्नु पर्छ भन्ने कानूनमा उल्लेख नभई एकाघरको मुख्य व्यक्तिले अ.बं.१०६ नं.बमोजिम दावी उजुर गर्न पाउने र मिल्ने समेत हुँदा एकाघरको व्यक्तिको वारेसनामा लिई वा दुवै अंशीले उजुर गर्नु पर्ने भनी तर्क गर्न नमिल्ने ।

(प्रकरण नं.१६)

वादी तर्फबाट : प्लिडर ईच्छाहर्ष बज्राचार्य, प्लिडर रामगोपाल श्रेष्ठ

प्रतिवादी तर्फबाट : प्लिडर नन्दीकेशर सिवाकोटी

फैसला

      १.     हामीहरूको मौजा बर्दिया बालापुर समेत ३ मौजाको कामको निमित्त भाई नृपविक्रमका नामबाट भा.रु.५७०१। मा ज्यालाप्रसादसँग २०१२।५।१५।४ मा फरगुसज कम्पनिको २६ घोडा पावरको हेक्टर १ खरिद गरी खराब पार्ट पूर्जाहरू २००० खर्च लगाई नयाँ पार्ट पूर्जा राखी बनाई रु.१७००। पर्ने डिश्काप्लोर र भा.रु १०००। पर्ने टिलर १ भा.रु.३०० को क्यासियर समेत राखी तयार पारी खेतीको काम लगाएको थियो । त्यसै मौका हामी २ भाई नभएको मौका निज भिमार्जुनले हरिविक्रमलाई झुक्यानमा पारी २।४ दिन खेतीको कामलाई भनी १४।६।१० गते ठगी गरी लगेको कुरा घरबिदा लिई मौजामा गएपछि थाहा पाएकोले पश्चिमाञ्चल डि.आई.जि.अ. मा उजुर गर्दा मालसामान सहितको टेक्टर १४।७।१८ मा बर्दिया अमिनीमा बुझाए पछि प्रमांगीबाट वा.व.अपीलबाट पुरा सामानको टेक्टर नबुझाई मेरो मन्जुरीबाट १५।१०।२० मा नृपविक्रमको कागज गराई बुझाएको ठगी गरी भिमार्जुनले लगेको मिति १४।६।१० बर्दिया अमिनि दाखिल भएको मति १४।७।१८ बेसाबुद मेरो हात परेको मिति ०१५।१०।२० मा भएको हुँदा मालसामान सहितको टेक्टर बेसाबुद र हानी गराएमा कम्पनीका रुल नियम बमोजिम १४।६।१० देखि १४।७।१८ तकको हुने मो.रु.५८५४।६६ भिमार्जुनबाट र १४।७।१९ देखि ०१५।१०।१९ तक हुने भा.रु.६७१२७ र टेक्टरको मालसामान नोक्सानी बिगो रु.४४७४ समेत जम्मा रु.७१६०१ निज अन्यायी ३ जनाका मिलेमतोबाट ३ जनाको कसुर अनुसार सजाय गरी मुचुल्काबाट नोक्सान देखिएको मालको बिगो भा.रु.४४७४ र १४।७।१९ देखि १५।१०।१९ तकको दुवै कलमको जम्मा भा.रु.७१६०१ जस्को गल्तीले हानी नोक्सानी भएको हो, उस उसबाट दिलाई भराई पाउँ । ठगी गरी लगेको मिति देखि बर्दिया अमीनी दाखिला गरेको मिति तकको नोक्सानी बिगो ५८४।६६ भिमार्जुनबाट गरी जम्मा भा.रु.७७४५।६६ दिलाई भराई पाउँ भन्ने वादी ।

      २.    वादी दावीको हर्जाना मैले कति पनि तिर्नु बेहोर्नु पर्ने होईन ? वादीको र मेरो यस मुद्दामा कुनै सरोकारै नभएको । म माथि यो उजुर दावी परेमै पनि बर्दिया अमिनीमा मात्र पर्न सक्ने वादीको उजुर परेकोले खारेज हुनु पर्छ । अमिनीमा दावा गर्ने म्याद पनि सरकारी नासो धरौटको कुरा भएको र सो आफुले जिम्मा लिएको नासो मैले ०१५।३।१८ गते नै वापस बुझाई भरपाई लिईसकेको हुँदा सो बुुझाएको १ बर्ष भन्दा बढी भैसकेको हुँदा नासो धरौटको कुरामा सोही महलका ११ नं. का ऐनले १ बर्ष भित्र नालिस गरेकोमा मात्र लाग्ने हुँनाले पनि म उपरको यो मुद्दा खारेज गरी पाउँ भन्ने समेत सुरेसराजको प्रतिवादी रहेछ ।

      ३.    वादी दावाको हर्जाना तिर्न पर्ने मेरो कसुर केही छैन । ज्वालाप्रसादले सजियामा लिएको १ बर्ष चलाई बँचेको धन र मबाट कर्जा लिई ज्वालाप्रसादले एकलौटी गराई २।।३ बर्ष चलाउँदा मिसिन बिग्री नचल्ने भई मरमत गरी चलाएको । पुरानो टेक्टर लिई काम लिँदा पुरानो हुँदा धेरै काम दिन नसकेकोले त्यसै रही रहेको । वादी र भाई नृपविक्रमले लिएको कर्जा रु.र अरु पटकपटक लिएको रुपैंया नदिएकोले झलक जंगलाई भन्दा सालाहरू काठमाडौं गएका, आएका छैनन भनेबाट १४ साल भाद्रमा बोलाई भन्दा तपाँईका रुपैंयाबाट लिएको टेक्टर त्यसै राखी बिगारेका छन । टेक्टर लगी काममा लगाउनु होस भनी झलक जंगले भनेबाट १४।५।१२।४ मा झलक जंगले चिठ्ठि गरी दिनु भएकोले बिग्रेको टेक्टर भा.रु.१५७० चान चुन खर्च लगाई बलरामपुर लखनौंबाट मालसामान आई फीट गराई ०१४ साल आश्विन १० गते मेरो मौजा सुहेलवामा ल्याई राखेको हुँ । ठगी गरी लग्यो भनी बर्दिया गुलरिया ठानाबाट १४।७।१८ मा सो टेक्टर जबरजस्ती लगी अमिनीमा बुझाएबाट अमिनिले सुरेसराज जिम्मा लगाएछन । ठगी मुद्दाबाट देखिने अहिले यो नोक्सानीको दावी दिँदा मेरो मिलेमतो भन्ने जनाउनु भएको भए पनि रुपैंया पचाउन झेल झिक्नु भएको रहेछ भन्ने देखिने । ठगी गरी लगी साबुत नभएको समेत बिगोको दावी दिनु भएको । सो बिगो यस ठाउँमा लगी जोताई लाभ लिएको छ । पाउँ भन्ने कुरा वादीमा नै नभएको समेत हुँदा झुठ्ठा दावी गरेमा वादीलाई ऐन बमोजिम सजाय गरी पाउँ भन्ने समेत भिमार्जुनको प्रतिवादी ।

      ४.    मेरो व्यहोरा सो टेकटर समेतको सामानहरू ०१४।७।१८ मा बर्दिया अमिनीमा दखिला गर्न ल्याए पछि निज जनार्दनविक्रम समेतको सोही दिन बर्दिया अमिनीमा बयान भएको । भिमार्जुन बुझेमा सो टेक्टर समेतको सामान समेत खरिद गर्न मबाट कपाली तमसुक गरी कर्जा लिई खरिद गरेपछि सो टेक्टर केही महिना काम लिए पछि बिग्रेको र त्यसै पडि रहेको थियो । सो मौका जनार्दनविक्रम मौजामा नभएको र निजको मौजामा काम गर्ने भिमार्जुनले यो टेक्टर त्यसै पडि रहेछ । बनाई काम लिनु भनी हस्ताक्षरबाट कागज लेखि दिएबाट सो टेक्टर देशमा पठाई बनाई काम लिने गरेको । ठगी गरी लगेको होईन भनी बयान गरी लिखत दाखिल गरेको । मुद्दाको किनारा नलागी झगडीयाको जिम्मा सो टेक्टर दिन ऐन सवालले नहुने भएकोले सो टेक्टर दाखिल भएको । सुरेसराजको जिम्मा दिई भरपाई गराएको मिसिल सामेलैछ । निजको हर्जाना नोक्सानी भराई पाउँ भन्ने वादीको भनाईलाई ऐन सवालले मान्यता दिन सक्तैन । फजुल दावी भएको निजको झुठ्ठा दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत ना.सु.रामबहादुरको रिपोर्ट ।

      ५.    वादी दावी बमोजिम हर्जाना ठिक बेठिक के हे ? आन्दाजी के कति खर्च हुन्छ ? हिसाब विकास मन्त्रालय बुझी जवाफ आए पछि पेश गर्नु भन्ने ०१९।२।१६ को आदेश बमोजिम विकास मनत्रालयबाट जवाफ आएको ।

      ६.    मुख्य प्र. को वकिलको बहसमा टेक्टर अमिनीमा दाखिला भएको मितिले ८ महिना भित्रको उजुर नभएको । ठगीमा उजुर दिई हर्जानामा दावी नगरेको । मोल भन्दा हर्जाना बढी दावी गर्‍यो भन्ने समेत रहेछ । झलक जंग निजको कामदार निजबाट कागज लिएको । हर्जाना पछि दावी गर्न नपाउने भन्ने समेत भएको । यसमा वादी तर्फको बहसमा टेक्टर अमिनी जिम्मा रहेपछि त्यस तर्फ बराबर कारवाई गर्दै गरी आखिर टुंगे पछि दावी गरेको भन्ने देखियो र बिचार गर्दा, अब यो मुद्दा ८ महिना भित्रको दावी लाग्ने नलाग्ने भन्नालाई पटकपटक उजुर गर्दै गरेकोबाट आखिर टुंगी दावा गर्ने गरेको मुनासिवै र तर यो हाकिमसँग हर्जाना भरी पाउँ भन्ने दावीको हकमा यो कुरा टेक्टर जिम्मा दिई कारवाई निमित्त अदालतले जिम्मा राखेको बेहिसाब गरे तर्फ अपील तहबाट कारवाई गरी बेहिसाब गरे अदालती कारवाई तहबाट गरी जिम्मा दिन नपर्ने तर्फ दावी भई टुंगाउन पाउने हक भएको छदै थियो । त्यस्तो अदालती कारवाई गर्दा गर्दै गरेको काममा हर्जाना दावी गर्न पाउने करा नदेखिएकोबाट समेत हाकिम उपरको उजुर नलाग्ने र हाकिमले भिमार्जुन सुरेसराजसँग मिली केही भ्रष्टाचार गरे । सो बमोजिम कारवाई गर्न हुने नै कानून भएको । तसर्थ, अमिनीमा जिम्मा रहेसम्ममा हर्जाना दावी गरेको दावी खारेज र अब भिमार्जुन तर्फको हर्जाना ठगीमा दावी गरेपछि हर्जानामा गर्न नपाउने भन्नालाई ठगी पुलिस केश र यो अमिनीले नालिस गर्नु पर्ने पुलिसले फैज्दारी दायर गराएको हर्जानामा दावी गर्न पाउँछन भन्न नहुने । अब झलकजंगबाट कागज गरी लिएको भन्ने प्र.भिमार्जुनको वकिलको बहस । झलकजंग वादीकै मानिस हो भने पनि ब्याज वापत चलाउने भन्ने प्र.दावी । झलकजंगको कागज त्यस्तो ब्याज वापत लिने दिने कुरा जसको हक हो, उसैको कागज भए मात्र मान्यता हुने । बीचको कारिन्दै भए पनि सो कागजबाट टेक्टर लिन र प्र.जिकिर बमोजिम गर्न पाउने मान्यता कानूनले दिएको भन्न नहुने हुँदा वादी दावी बमोजिम भिमार्जुनबाट हर्जाना पाउने । अब कति पाउने भन्नालाई विकास मन्त्रालयका पत्र र अरु कागजबाट दावी बमोजिम पाउने नै ठर्हछ । अब सुरेसराजले बिगारेको पार्ट पूर्जाको सुरेसराज तर्फको मालको भा.रु.४४७४। का हकमा सुरेसराजले टेक्टर जिम्मा लिँदा साबुद चल्ने भन्ने लेखि लिएको र बुझाउँदा सिर्फ भनी लेखि भरपाई लिएको । टेक्टरको पार्ट पूर्जाको सर्जमिनमा बसेको पनि देखिएको । कागज पनि गरी दिईएकै देखिनाले, टेक्टरको माल बिग्रेको भन्ने सिद्ध हुन आएकोले अमिनीले टेक्टर साबुद दिएको चल्नेसम्म अदालतमा बुझाएकोले सो पार्ट पूर्जा समेत सरेसराजले बुझाउन पर्ने र अमिनीले बुझ्दा दृष्टि नदिएको ठर्हछ । अब यो मुद्दामा उजुर गर्ने हक जनार्दनविक्रम र नृपविक्रम २ भाईको देखिएको । जनार्दनविक्रमले बिना वारेस मुद्दा दायर गरेको देखिनाले जम्मै दावीको जनार्दनको हकको आधा मात्र पाउने र शुरुले नृपविक्रम तर्फ दावा लिएको वारेसनामा बेगर लाग्न सक्दैन भनी फिर्ता वारिसमा खुलाई दिनु पर्ने । सो नगरेकोले अदालतको गल्ती देखिएको । वादीमै २ भाईको टेक्टर भन्ने लेखिएको । तसर्थ, भाई पट्टी अर्थात नृपविक्रम पट्टिको उसैले दावा गरेमात्र लाग्ने कुरा हुँदा यो उजुरीबाट कारवाई नहुने हुँदा खारेज हुन्छ भन्ने समेत ०१९।२।१०।६को काठमाडौं जिल्ला अदालत दोश्राको फैसला ।

      ७.    घरको मुख्य जानकार म भएको र वारेस एकाघरको भाईलाई गराएको । टेक्टर समेत मेरै वारेसनामाबाट भाईले जिम्मा लिएको । सा.अ.६ नं. ले घरको मुख्य मालिक मैले यो मुद्दामामिलामा काम गरेकोमा भाईको मन्जुरी हुँदा भाई तर्फ आधा मुद्दा खारेज गर्न नहुने । कानून पत्रिका २०१७ आश्विन अंक ३ भाग पाना नं.२३ को धर्मलोप मुद्दामा कुनै बस्तुमा केही हक हुनाले त्यो बस्तुको हानी नोक्सनी तर्फ अ.बं.१०६ नं. ले सबैले उजुर गर्न नपर्ने । १ व्यक्तिले उजुर गरेपछि सो मुद्दा चल्ने भन्ने स.अ. डिभिजन बेञ्चबाट फैसला भईरहेको । पुरा बिगो पाउनु पर्छ । भिमार्जुन सुरेसराज रामबहादुर समेत मिली रोक्का गर्नु नहुने मेरो टेक्टर रोक्का राखी जिम्मा लिने सुरेसराज जिम्मा दिने रामबहादुर जिम्मा दिलाउने भिमार्जुन समेतले मेरो हानी नोक्सानी पारेको प्रष्ट भएको हुँदा हर्जाना नोक्सानी बिगो पनि नागरिक अधिकार ऐनले समेत पाउनु पर्ने रामबहादुर सुरेसराज भिमार्जुनलाई बचाई फैसला गरेकोमा चित्त बुझेन भन्ने समेत मे.ज. जनार्दनविक्रमको अपील ।

      ८.    कानूनको म्यादभित्र परेको छ, छैन ? भन्ने तर्फ बिचार भएन । निजामती सेवा ऐन र नागरिक अधिकार ऐनको मुद्दा चलाउनु पर्ने कारण भएको मितिले ८ महिना भित्रमा नालिस नगरे मुद्दा चल्न सक्तैन भन्ने प्रष्ट छ । मुद्दा चलाउनु पर्ने कारण वादी लेखबाटै ०१४।६।१० देखि भिमार्जुनले लगेको भन्ने पछि ०१६ साल कार्तिक महिनामा मात्र नालिस गरेको देखिए पछि वादीको नालेशै खारेज हुने । भ्रष्टाचार बिषयको निवेदन पनि ८ महिना पछि मात्र परेको । भ्रष्टाचार तर्फ पछि मुद्दा नचलेको । त्यस तर्फको उक्तीबाट यो मुद्दाको म्याद कायम हुने कुनै कानून छैन । सुरेसराजको हकमा पनि अमिनीले जिम्मा लगाएको मिति १४।७।२३ मा वादीको भाई नृपजङ्गलाई मबाट अमिनीले बुझाई दिएको मिति ०१५।१०।२० र वादीले म समेत उपर नागरिक अधिकार ऐन अन्तर्गत भनी नालिस गरेको मिति १६ साल कार्तिक महिना भएको हुनाले १५।१०।२० ले पनि १८ महिनाको म्याद नाघिसकेको । ठगी मुद्दा देवानीबाट हारेको मिति १६।३।१८ को मिति कायम गरी त्यसको ८ महिना भित्रैको हर्जानाको मुद्दा दायर गर्ने । उता ठगीमा पनि अपील गरी ०१७।१२।१४ मा जि.अ.पै.बाट शुरुकै सदर गरी छिनिएको छ भने यो मुद्दाको उजुर गर्न उपरोक्त म्याद कायम गरी फैसला गर्नु अनर्थमा ठगी मुद्दामा अपील गरी हर्जानामा दावा गर्न अ.बं.९९।१४१ नंले पनि नमिल्ने । हरिविक्रमबाट भिमार्जुनले ४।५ दिनको लागी भनी माथी लगेको टेक्टर भाई नृपजंगलाई माग्न पठाउँदा मरमत गर्दा खर्च भएको रुपैंया दिन्न भने भनी भाई नृपजंगले भने । सो टेक्टर दिलाई पाउँ भनेकोले सो समयसम्म वादीले हर्जाना बिषयमा उल्लेखै नगरेकोमा सोही समयको हर्जाना दिलाई साहु आसामीको व्यवहारबाट टेक्टरको तेरो मेरो मात्र हुने केशको बिचारै नगरी हर्जाना नोक्सानी गराउने गरेमा चित्त बुझेन भन्ने समेत भिमार्जुन, सुरेसराज शर्माको अपील ।

      ९.    बरामद भई आएको टेक्टर मुद्दा फैसला भई नसकी झगडीयाको जिम्मा दिन नहुने भएकोले माथवर मानिसको जिम्मा लगाएको । त्यसपछि सो टेक्टर जनार्दनविक्रमले मुद्दा फैसला नभएसम्म बिक्री गर्न नपाउने गरी टेक्टर जिम्मा लगाई दिनु भन्ने हुकुम प्रमांगी भई आए पछि जिम्मा बुझी नदिएकाले कारवाई गरेको । मेरो कसुर केही नहुँदा जरिवाना हुनु पर्ने हैन । चित्त बुझेन भन्ने समेत ना.सु.रामबहादुर जोशीको अपील सरहको रिपोर्ट ।

      १०.    ०१४।५।१२।४ मा झलकजंग साहले प्र.भिमार्जुनलाई लेखेको चिठ्ठि सद्दे किर्तेमा सुनाएको नहुँदा सद्दे किर्तेमा सुनाउन झलकजंगलाई झिकाई बयान गराउन पेश गर्नु भन्ने समेत २०।६।२ को डिभिजन बेञ्चको आदेश ।

      ११.    झलकजंग उपस्थित नभए पनि वादीलाई सो कागज सुनाउन नियम बमोजिम पेश गर्नु भन्ने समेत ०२०।११।१३।३ को आदेश ।

      १२.   ०१४।५।१२।४ को चिठ्ठि देखें । चिठ्ठिको कुरा मलाई केही थाहा छैन । झलकजंगलाई मैले कुनै अधिकार समेत दिएको नहुनाले सो चिठ्ठि निजहरू मिलुवा भई लेखेको हुनु पर्छ भन्ने समेत मेजर जर्नादनविक्रमको बयान ।

      १३.   सर्वप्रथम प्रस्तुत मुद्दाको दावी म्याद भित्रको हो, होइन ? भनी हेर्दा वादीको उजुरीमा ०१४।६।१० मा पहिले टेक्टर भिमार्जुनले झुक्यान पारी ठगी लगेको भनी डी.आई.जि.अफिसमा वादीको उजुरी परी त्यसपछि १४।७।१८ मा अमिनी दाखिल भई त्यस पछि सुरेसराजलाई जिम्मा दिई आखिर १५।१०।२० मा मात्र टेक्टर फिर्ता पाएको देखिएको छ र त्यसपछि दशै विदाबाट अड्डा खुलेको ०१६।७।१।१ मा नै नालिस परेको छ । म्याद बिषयको नागरिक अधिकार ऐन, २०२० को दफा २० (२) हेर्दा मुद्दा चलाउन पर्ने कारण भएको मतिले ८ महिनाभित्र नालिस उजुर नगरे कुनै अदालतमा यस्तो मुद्दा चल्न सक्तैन भन्ने उल्लेख भएको । वादीको हातबाट १४।६।१० मा नै टेक्टर भिमार्जुन काहा गएकोले निजबाट टेक्टर फिर्ता लिने कारवाई गर्नु पर्ने भएको । निज भिमार्जुनले मर्मत गर्दा लागेको भनेको खर्च नदिएसम्म फिर्ता नदिने भनी नदिएको र त्यसपछि वादीले टेक्टर फिर्ता लिन कारवाई कोशिस गर्दा गर्दै पनि धेरै दिन पछि मात्र टेक्टर हात परेको र सो टेक्टर हात पर्नु भन्दा अगावै टेक्टरको पार्ट पूर्जा भए नभएको कुरा यकिन हुन नसक्ने हुँदा टेक्टरको पार्ट पूर्जामा समेत उजुर गर्न क्षतिपूर्तिको अङ्क यकिन हुन सक्ने । सो टेक्टर हात पर्नु भन्दा अगावै क्षतीपूर्तिमा मुद्दा गर्नु पर्ने अवस्था पनि नपर्ने हुनाले टेक्टर हात परेपछि नै मुद्दा गर्नु पर्ने कारण परेको हुनाले आफ्नो हात परेपछि मात्र नागरिक अधिकार ऐनको दफा २० को निमित्त मिति कायम गरी नालिस गरेको नमिलेको भन्न मिलेन । १५।१०।२० का मितिबाट म्याद कायम गरी यो दावी लिएको देखिन आएकाले कानूनको म्याद नाघि नालिस परेको भनी खारेज गर्न मिलेन ।

      १४.   अब क्षतिपूर्ति पाउने, नपाउने के हो ? भन्ने तर्फ बिचार गर्दा, १४।७।१९ देखि १५।१०।१९ तकको हर्जाना र मालसामानको नोक्सानी बिगो प्रतिवादीहरू ३ जना जसबाट पाउनु पर्छ पाउँ भन्ने वादीको दावी तर्फ हेर्दा प्रतिवादी भिमार्जुन समेतका तजबिजले दावी गरेको अवधी भित्र वादीको टेक्टर अड्डामा दाखिल भए गराएको नभई वादीले नै पुलिस मार्फत ठगी मुद्दा चलाएको कारणबाट कारवाईको सिलसिलामा टेक्टर अदालतमा दखिला हुन गएको । अड्डामा दाखिल भए पछि मुद्दाको तेरो मेरोको किनारा नलागुन्जेल झगडा पर्न आएको बस्तु कसैको जिम्मा लगाई राख्नु पर्ने अदालतको कर्तव्य नै हुन आई सो अनुसार सुरेसराजलाई सवुद टेक्टर जिम्मा लगाएको र पछि वादीको बिन्तिी पत्रमा भएका हुकुम प्रमांगी बमोजिम टेक्टर अदालतबाटै फिर्ता बुझी वादीको भाईलाई जिम्मा लगाएको र वादी तर्फबाट बुझिलिएको देखिंन आएकोले वादीबवाद उठी टेक्टर फिर्ता दिने बिषयको सिलसिलामा कारवाई चलाएको । सो अवधिको हर्जाना प्रतिवादीहरूले व्यहोर्न पर्छ भन्न कानूनसंगत नदेखिएको र टेक्टर अमिनीमा दाखिल हुँदा खोलखाल गरी पार्ट पूर्जा जाँच भएको नभई चल्ने टेक्टरसम्म सुरेसराज लाई जिम्मा लगाएको । पछि नृपविक्रमलाई बुझाउँदा भएको मुचुल्कामा क्याटलक बमोजिमको पूर्जा भिडाउँदासम्म नपुगेको पार्ट पूर्जाको फाँटवारी लेखेको भएपछि चल्ने टेक्टर सावूतै नृपविक्रमले बुझेको हुनाले नपुग पार्ट पूर्जाहरू कुन बखतमा नभएको भन्ने कुरा कहिंबाट नखुलेको । पहिले अदालतमा दाखिल हुँदाका बखत जँचाएको भएमात्र ती कुराहरू यकिन हुने थियो । जाँच हुन नसकेकोले वेसाबूद भनी वादीले दावी गरेको मिलेको देखिएन । सुरेसराजले अड्डाबाट जिम्मा लिएको र अड्डैमा दाखिल गरी भरपाई लिए पछि निजलाई नोक्सानीको जवाफदेही गराउनु पनि कानूनी आधार भेटिएन । उपरोक्त कारणहरूले यो कलमहरूको हर्जाना र नोक्सानी बिगो पाउनु पर्छ भन्ने वादी तर्फको जिकिर पुग्न सक्तैन ।

      १५.   १४।६।१० देखि १४।७।१८ तक झगडा परेको टेक्टर आफ्नु लेना देखाई बिग्रेको र बनाएको खर्च समेत लगाएको कुरालाई लिई टेक्टर आफ्नु कब्जामा राखेमा भिमार्जुृन सवितै देखिएको । मालधनीको सो कुरामा मन्जुर नभए पछि आफ्नो लेना भए कानून बमोजिम रीत पुर्‍याई मात्र लिन पाउनेमा सो नगरी अर्काको माल अन्यायीले आफू जिम्मा लिए राखेको देखिन आएकोले उक्त टेक्टरको प्रयोगबाट वादी बन्चित रहेकोले भिमार्जुनको जिम्मा रहेको अवधिको हुन आउने । हानी नोक्सानी लिने व्यक्तिले व्यहोर्न नपर्ने भन्न मिल्न नआउने ।

      १६.    टेक्टर खरिद गर्दा नृपविक्रमका नाउँबाट खरिद भएको, उजुर भने दाजु जर्नादनविक्रमको मात्र हुँदा जिल्ला अदालतले एक भाइको एक भागको मात्र बिगो कायम गरेको देखिएकोमा जर्नादनविक्रमले गरेको शुरु वादीमा नै नृपविक्रम एकाघरको भाई भनी लेखेको । त्यस कुरामा कसैको वादविवाद नउठेको हुनाले आफू समेतको हकदैया लाग्ने कुरामा घरको मुख्यले उजुर गरे पछि त्यस चिजमा हक भएको सबै अंशियारले दावी उजुर गर्नु पर्छ भन्ने कानूनमा उल्लेख नभई एकाघरको मुख्य व्यक्तिले अ.बं.१०६ नं.बमोजिम दावी उजुर गर्न पाउने र मिल्ने समेत हुँदा एकाघरको व्यक्तिको वारेसनामा लिई वा दुवै अंशिले उजुर गर्नु पर्ने भनी तर्क गर्न नमिल्ने हुँदा वादी एक व्यक्तिको दावीबाटै भिमार्जुनसँग दावी गरेको हर्जानाको बिगो रु. ५८५४।६६ भरि पाउने गर्न गैरकानूनी हुँदैन । जनार्दनविक्रमको एकभागमासम्म बिगो कायम गरेको र सुरेसराजबाट नोक्सनी बिगो दिलाउने गरेकोसम्म जिल्ला अदालतको इन्साफ केही गल्ती देखिन्छ । अरु कुरामा सहयोगी न्यायाधीशज्यूसँग राय सहमत भई जनार्दनविक्रमका भागको आधा बिगोसम्म कायम गर्नु भएको रायमा मेरो राय सहमत नहुँदा निर्णयको लागी नियम बमोजिम फुल बेञ्चमा पेश गर्नु र यो राय सदर भए पछि तपसीलका कुरामा तपसील बमोजिम लगत दिई नियम बमोजिम मिसिल बुझाई दिनु भन्ने समेत श्री माननीय न्यायाधीश नयनबहादुरको ०२१।१०।८।४ को राय फैसला ।

      १७.   झगडा पर्न आएको टेक्टर खरिदवाला मुख्य नृपविक्रम भन्ने मिसिलबाट देखिन आएको । यो उजुरवाला वादी एकाघरको दाजु भए पनि सम्पूर्ण टेक्टरमा निजको मात्र हकदैया लाग्ने नभई खरिदवाला भाईको समेत हक लाग्ने कुरा मानेकै हुँदा जुन वस्तुमा जजस्को हकदैया पुग्ने हो, ती सबैको अ.बं.१०६ नं. ले उजुर हुनै पर्ने प्रस्तुत मुद्दामा नृपविक्रमको वारिसनामा लिई वादीले उजुर गरेको नदेखिनाले १ अंशिका उजुरीबाट अर्को अंशको हकमा समेत दावी पुग्छ भन्न न्यायोचित नहुँदा उजुरवालाको आधा हकमासम्म बिगो दिलाएको जिल्ला अदालतको इन्साफ मुनासिव भई सुरेसराजबाट हर्जाना दिलाउने गरेकोसम्म गल्ती ठर्हछ । अरु कुरा माननीय न्यायाधीशज्यूसँग राय मिलेकै हुँदा राय नमिलेको यो कलममा फुल बेञ्चबाट सदर भएपछि बिगो सजाय तर्फ सहयोगी न्यायाधीशज्यूको राय फैसला तपसीलमा लेखिएको कलम मध्ये १।२ दफाको हकमा मेरो राय सहमत नभएकोले का.जि.अ.दो का फैसला बमोजिमकै लगत कायम हुने र अरु कलमका हकमा मेरो पनि राय सहमत भएकोले सहयोगी न्यायाधीशज्यूको राय फैसला बमोजिमकै लगत कायम हुने हुँदा राय सदर भए पछि सोही बमोजिम लगत दिनु भन्ने समेत श्री माननीय न्यायाधीश धनेन्द्रबहादुर सिंहको ०२१।१०।८।४ को राय फैसला ।

      १८.   तारेखमा रहेका दुवै पक्षका वारेस रोहबरमा रहि २२।४।२२।६ मा पेश भई अपीलाट वादी तर्फबाट विद्वान प्लिडर इच्छाहर्ष बज्राचार्य, विद्वान प्लिडर रामगोपाल श्रेष्ठले र अपीलाट प्रतिवादी सुरेसराज भिमार्जुन तर्फबाट विद्वान प्लिडर नन्दीकेसर सिवाकोटीले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी भिमार्जुनले हामीहरूको टेक्टर हामीहरू नभएको मौका हाम्रो मौजाको काम गर्ने हरिविक्रमलाई धोका झुक्यान गफलतमा पारी लगेको मिति १४।६।१० देखि बर्दिया अमिनीमा दाखिल गरेको मिति १४।७।१८ तकको हर्जाना रु.५८५४६६ भिमार्जुनबाट भराई पाउँ भन्ने दावी गरेको कलममा डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय सहमत नभई नियम बमोजिम यस बेञ्चमा पेश हुन आएको रहेछ।

      १९.    उक्त हर्जाना भराई पाउँ भन्ने कुरामा नागरिक अधिकार ऐन, २०१२ दफाको २० (२) बमोजिम मुद्दा चलाउनु पर्ने कारण भएको मति ०१४।६।१० ले ८ महिना भित्र नालिस गर्न पर्नेमा सो टेक्टर बर्दिया अमिनीमा दाखिल भएको मिति १४।७।१८ ले पनि ८ महिना नाघि सकेपछि १६।७।१ मा मात्र फिराद दर्ता भएको देखिन आएकोले म्याद नाघी नालिस दर्ता भएको उक्त कलमका हकमा का.जि.अ.दो र डिभिजन बेञ्च समेतको इन्साफ गरेको मिलेको देखिएन । त्यस तर्फ वादीको उजुरी नै खारेज हुने ठर्हछ ।

      २०.   सो टेक्टर बर्दिया अमिनीले सुरेसराज जिम्मा लगाएको अवधिको हर्जाना र नोक्सानी पार्ट पूर्जाको बिगो तर्फका हकमा डिभिजन बेञ्चमा एकै राय भएको र उक्त भिमार्जुन उपरको हर्जाना सम्बन्धित नभएकाले समेत त्यस तर्फ यस बेञ्चबाट केही ठहर गर्नु नपरी डिभिजन बेञ्चको फैसला कार्यान्वित हुने हुँदा अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

का.जि.अ.दो. को ०१९।२।१९।६को फैसला बमोजिम वादी जर्नादनविक्रमलाई प्र, भिमार्जुनबाट भराई दिने गरेको रु.२९२७।३३ को लगत कट्टा गरी दिनु भनी का.श्रे.अ.त. मा लगत दिनु ..१

ऐ.ऐ.फैसलाले प्र.भिमार्जुनबाट असूल गर्ने गरेको कोटेफी रु.१४६।३५ प्र.भिमार्जुनले १९०।१०।४ मा सर्वोच्च अदालत लगत नगदी विभागमा दाखिल गरेको र त्यसको दशौद रु.१०।६४ को टिक ०१८।१०।४ का अपील पत्रमा टासि अपील गरेको देखिएको र वादीलेखाईबाट ऐनको म्याद नाघेको नालिस दर्ता भएको खारजहुने ठहरेकाले कोर्टफी ऐन, २०१७ को दफा ११ को उपदफा ३ बमोजिम सोक ोर्टफि नलाग्ने हुँदा उक्त दुवै कलमको जम्मा रु.१६०।९९ ऐन सवालको रीत पुर्‍याई भिमार्जुनलाई फिर्ता दिनु भनी ऐ ..............२

डिभिजन बेञ्चको ०२०।८।१०।४ को फैसलाको तपसीलमा श्री माननीय न्यायाधीश नयनबहादुरको रायमा लेखिएको कलम मध्ये १।२ दफाको कलमका हकमा सो फेसला बमोजिम लगत दिनु पर्दैन अरु कलमका हकमा सो फैसला अनुसार गर्नु .....................३

भिमार्जुन तर्फको कलमका हकमा खारेज गर्नु पर्ने इन्साफ गरेमा का.जि.अ.दो. का.जि न्यायाधीश इश्वरी जंगबहादुर सिंहको रेकर्ड राख्नु रजिष्ट्रार अफिसमा सूचना दिनु .........४

नियम बमोजिम मिसिल बुझाइ दिनु ........................५

 

इति सम्वत् २०२२ साल भाद्र १ गते ३ रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु