शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९८ - ठगी

भाग: साल: २०२२ महिना: बैशाख अंक:

निर्णय नं.२९८       ने.का.प.२०२२

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री बाशुदेव शर्मा

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री मीनबहादुर बस्नेत क्षेत्री

२०१९ सालको डिभिजन दे.फु.नं.२७३

निवेदक, प्रतिवादी : जमान सिं थापा क्षेत्री

विरुद्ध

वादी, रेस्पोण्डेण्ट : तिलकुमारी समेत

मुद्दा : ठगी

(१)   साविकको मुलुकी ऐन रजिष्ट्रेशनको २३ नं.दुवै पक्षलाई कागज पढी सुनाई मतलब सम्झाई सहिछाप गराउनु पर्ने । त्यस्तो रीत पुर्‍याई भए गरेको कागजलाई धेरै पछि आई झुक्याई गराएको भन्न नमिल्ने ।

            लिने दिने दुवै थरलाई सो कागज स्पष्ट गरी पढी सुनाई यो कागजबाट यस्तो हुन्छ भन्ने मतलब समेत सम्झाई मात्र ऐन बमोजिम सहिछाप गराउनु भन्ने समेत उल्लेख भएको । सो बमोजिम अड्डाले रीत पुर्‍याई रजिष्ट्रेशन पास भएकोमा ९१ सालमा राजिनामा मितिले २१ बर्ष ९५ सालको राजिनामा मितिले १७ बर्ष पछि साहु र साक्षी मध्येका मानिसका नाउँमा ठगीको दावी लिई यो नालिस परेको र रजिष्ट्रेशनका हाकिम कारिन्दाहरू मिली झुक्याई रजिष्ट्रेशन पास गरे गराए भनी मौकैमा उजुर दिएको पनि नदेखिएकोबाट उक्त कानून बमोजिम रीत पुगी पास भए गरेको देखिन्छ ।

(प्रकरण नं.१५)

निवेदक तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा, प्लिडर नन्दी केशर

विपक्षी तर्फबाट      : सिनियर एडभोकेट कृष्णप्रसाद भण्डारी, एडभोकेट कृष्णप्रसाद घिमिरे

फैसला

      १.     ससुरा नैन सिं ८८ सालमा परलोक भई खसम चक्रबहादुर व्यहोसी भएको र म आईमाई छोरा नाबालक भएबाट जो परी आएको काम हर्षबहादुरले र तालुकी काम यो जमान सिंले गरी आएकोमा हर्षबहादुरलाई बिरोध गरी छुटाउन लगाई छोरा हिन्दूस्थान जाँदा इच्छापत्र समेत निजलाई दिएको । अमल डोल काकु भन्ने खेत मुरी १८ लक्ष्मीदासलाई ससुराकै पालामा डिक लेखी दिएको । सो जग्गा जमान सिंले कमाई अरु घरबारी म आफैंले कमाई आएकीमा मानकुमारी, तिलकुमारीका नाउँमा अन्यायवालाले नालिस गरेछ । म्याद हेर्दा तिल कुमारीले मबाट १०८९। लिई लिखत गरी जग्गा कमाएकोमा बाली भराई पाउँ भनी नालिस दिएकोमा बुझ्दा जग्गा जमिन पनि दर्ता गराई झुक्याई ठगी गरेको र लक्ष्मी दासलाई पनि जमान सिंले झुठ्ठा मुद्दा उठाई मलाई दुःख दिएको भनी फैसला नक्कल देखिई पटकपटक झुठ्ठा मुद्दा उठाई आफुलाई सभ्य पारी कुनैमा प्रतिवादी दिन लगाई झुक्याई जग्गा दर्ता गरी कुनै बकसपत्रको भनी विजक दर्तामा जनाई जनाई अरु ४ कित्ता खेत मुरी ४०।१४ हाम्रो नाउँमा दर्ता कायम गराई ९१ सालको राजिनामा भन्नेका जग्गाको आयस्ताबाट माल बुझाएको हिसाब खुलाई बाँकी दिलाई दर्ता लिखत बदर गरी ठगी परेका सजाय गरी पाउँ भन्ने समेत वादी ।

      २.    ९१।७।९ गते चक्रबहादुर समेतसँग राजिनामा पास गराई लिएको र तिलकुमारीसँग ९५।३।२ मा घर सारमा र ९५।८।१४ मा का.प. मालमा गई रजिष्ट्रेशन पास समेत गरी फट्टा समेत राखी १०९९ मा राजिनामा गरी लिई भोग तिरो गरी लिई भोग तिरो गरी दर्ता समेतबाट हक भैसकेको कुरामा ठगी भनी दिएकोले नालिसै लाग्न नसक्ने भन्ने समेत जमान सिंको प्रतिवादी ।

      ३.    साहु असामिका रोहवरमा लेखिदिई अड्डामा समेत पास भएको साँचो हो । यो वादीलाई फकाई ठगी गरेको होइन भन्ने समेत धनबहादुर समेतको प्रतिवादी ।

      ४.    लक्ष्मीदासको बाली र तिराको हरहिसाब समेतको हकमा लक्ष्मी दासको उजुर नपरेको । किटानी उजुर नहुँदा अ.बं.१०६ नं. डं.स. ५३ ले खारेज हुने र जग्गा ठगीको हकमा लक्ष्मीदासलाई हर्षबहादुरले कबुलियत गरेको र ८९ सालमा प्रतिवादी जमान सिंहले निजलाई पनि कबुलियत गरी दिएको । सोही जग्गा लक्ष्मी दासको लेनदेन मुद्दा परी रहेको अवस्था जमान सिंहले वादी तिलकुमारीबाट लिएको भन्ने र म्याद नाघि सकेको बृज सिंहको ७५ सालको र ८५ सालको लिखत तिर्ने भनी वापत जनि मोरु १०८९ थैली लेखिएको घरसारको लिखत भएको । सो लिखतमा घरबारी समेत परेको जग्गा समेत वादीहरूलाई भोग गर्न दिएकोमा प्रतिवादी सावितै भएको । टेकबहादुरको नाउँमा बकसबाट पाएको भनी दर्ता गरेको बकसपत्र र टेकबहादुरबाट पनि लिएको राजिनामा कबुलियत देखाउन सक्नु पर्ने । इच्छापत्र टेकबहादुरले दिएको भनेको दिएको छैन भनी र लिएको छैन भनी सबुद दिन नसकेको । वादीको ससुरा बाजे नैन सिंहको दाम काम गर्ने मु. जमान सिं देखिन आएकोले मु. जमान सिंलाई वादीले आफू व्यवहार सबै सौपी राखेको । सो बखत लक्ष्मी दास समेत साहुले घर जग्गैमा दावी लिएको समेत देखिन आएकोले साहु बीच पारी जोगाउनलाई दर्ता गराउन पनि सक्ने भई दर्ता लिखत उपर ढाट ठग लुच्चाको १५ नं. ले जिउसम्म उजुर लाग्ने हुनाले ठगी गरेकै ठहर्छ । दर्ताको लगत काट्न सदर भई आए पछि का.प. माललाई पूर्जी गर्ने भन्ने समेतका.प.अ. को फैसला ।

      ५.    चित्त बुझेन भन्ने समेत प्रतिवादी मु. जमान सिंको अपील ।

      ६.    अचल ठगीमा जिउ जिउसम्म उजुर सुन्ने ठगीको ११५ नं. को ऐन भएकोले र वादीको बाबु र लोग्ने मरेपछि घरको व्यवहार गर्ने मुख्य मानिस प्रतिवादी भन्ने लेखेको र प्र. ले राजिनामा गराई लिएको राजिनामामा चक्रबहादुरको थैली उपर जालसाजी भएको ऐनले तिर्न नपर्ने १० बर्ष नाघेको थैलीको वापत जनिएको सो थैलीकै हिसाबले पनि ठगी व्यवहार रहेनछ भन्न नहुने । त्यसमा पनि सो जग्गा साहुको कबुलियतबाट आएको भन्ने देखिएको र केही टेकबहादुरलाई बक्सबाट पाएको भनी दर्ता गरेको देखिएको । रजिष्ट्रेशन ३ नं.बमोजिम रीत पुगेको बकसपत्र र टेकबहादुरबाट लिएको राजिनामा प्रतिवादीले प्रमाण दिन नसकेको जग्गा वादीहरूले नै खाए भोगेको कुरा प्र. ले नै लेखेकोले समेत जग्गा वादीकै भोग देखिन आएको । कबुलियत प्रमाण नहुँदा मगनी भन्ने पनि नहुँने भई ठगी व्यवहारमा दर्ताबाट हक जान्छ भन्न नहुने भई वादी तर्फको तालुकी दाम काम प्र. जमान सिंले नै गरेको देखिन आएको । वादी हिन्दूस्थान जाँदा इच्छापत्र जमान सिंलाई दिएको भनेको । त्यसमा जमान सिं सावितै भएकोले पत्यार विश्वासमा परी रहेका वादीलाई प्र. जमान सिंले लेखिए बमोजिम झुक्याई अरु साहुलाई केही नदिलाउनाको निमित्तलाई फकाई आफ्नो नाउँमा राखी ऐनले सो जग्गा जमिन ठगी खानको लागि ठगी गरी दावी गरेको समेत देखिनाले अरु शुरुको फैसलामा लेखिएका बुँदा प्रमाणबाट इन्साफ शुरुको मनासिव भन्ने समेत अपील दोश्रोको फैसला ।

      ७.    चित्त बुझेन भन्ने समेत जमान सिंहको अपील ।

      ८.    वादी तिलकुमारी उपर दिएको ०११।१२।२९।२ को फिरादपत्रमा ०९।८।१४।३ मा राजीनामा गरी लिई ०१ सालमा कित कबुलियत गरी कमाउन दिएको जग्गा १०।११ सालको बाली नदिएकाले १२।१२।७ गते माग्न जाँदा कबुलियत लेउ भनेकाले ऐ ९ गते कबुलियत लिई जाँदा उक्त कबुलियत लिई लुटी घर भित्र पसेकीले गहुँ बाली देखि रोक्का गरी जग्गा यसै अड्डाबाट चलन चलाई पाउँ भन्ने यै जमान सिहले यै वादी उपर दिएको प्रमाण मिसिलबाट देखिनाले उक्त मितिसम्म जग्गा वादीकै हक भोगमा रहेछ भन्ने सिद्ध हुन गएको र वादीका छोराहरू हिन्दूस्थान तर्फ जाँदा जमान सिंहलाई नै इच्छापत्र दिएको भन्ने कुरामा निज साविती भएको र उक्त राजीनामाको कागजमा वादीका छोराहरू र अरु हकदार समेत साक्षी बसेको भन्न समेत नसकेकोले प्र. जमान सिंहले सच्चा व्यवहारबाट राजीनामा गराई लिएको रहेछ भन्न नभई ठगी गरेकै ठहराएको इन्साफ शुरु र अपील दोश्राको सदर ठर्हछ भन्ने समेत स.अ. डिभिनज बेञ्चको फैसला।

      ९.    एक फेरा दोहर्‍याई दिनु भन्ने हुकुम पाउँ भन्ने समेत जमान सिंहको निवेदन

      १०.    डिभिजनमा रहेका न्यायाधीश बाहेक ५ जना न्यायाधीश रहेको फुल बेञ्चबाट दोहर्‍याई हेरी इन्साफ गरी दिनु भन्ने हुकुम प्रमांगी ।

      ११.    यसमा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न निमित्त लगतमा दर्ता गरी दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने समेत श्री माननीय प्रधान न्यायाधीशज्यूको ०१९।१०।२९ को आदेश ।

      १२.   तारेखमा रहेको निवेदक जमान सिंहलाई र विपक्षी लितकुमारी टेकबहादुरको वारेस लालबहादुरलाई रोहवरमा राखी निवेदक तर्फबाट रहुनु भएको विद्वान वकिल सिनियर एडभोकेट देवनाथप्रसाद शर्मा प्लिडर नन्दी केशरले र विपक्षी तर्फबाट रहनु भएको विद्वान वकिल सिनियर एडभोकेट कृष्णप्रसाद भण्डारी एडभोकेट कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी दावी बमोजिम बेदाममा ठगी राजिनामा रजिष्ट्रेशन पास गराई लिई दर्ता गराएको हो, होइन ? भन्ने कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

      १३.   मिसिल सामेल रहेको धनी जमान सिंह ऋणी चक्रबहादुर, तिलकुमारी भएको मो.रु.५०६। को ९१ साल कार्तिक ९ गते पास भएको १ र प्रमाणको मिसिल साथ रहेको धनी जमान सिं ऋणी तिलकुमारी भएको मो.रु.१०९९। को ९५।८।१४ मा रजिष्ट्रेशन पास भएको राजिनामा नक्कल हेर्दा ९५ सालको लिखतको साक्षीमा दल घर्ती धनबहादुर र ९१ सालकोमा भैरबबहादुर थापा क्षेत्री, गणेशप्रसाद साक्षी रही धनी ऋणी दुवै थर अड्डामा हाजिर भई सनाखत पास भएको भन्ने जनिएको र ०१२ साल कार्तिकमा दर्ता भएको तिल कुमारी, टेकबहादुरको यो फिरादपत्रमा मु. जमान सिं धनबहादुर, गणेशप्रसाद, दलबहादुरलाई विपक्षी बनाई वादी टेकबहादुरले आफ्नु उमेर २९ बर्ष लेखि यो मुद्दा चलाएको देखिन आयो ।

      १४.   ९१ साल कार्तिक ९ गते पास भएको लिखतमा चक्रबहादुर तिलकुमारी २ जना ऋणी भई राजिनामा रजिष्ट्रेशन पास गरी दिएको र त्यस पछि निज चक्रबहादुर १ जना मात्र ऋणी भई ९२ साल माघ ३ गते जुजुमानलाई रु.१४२। मा दृष्टी बन्धकी रजिष्ट्रेशन पास गरी दिएको सो रुपैंया र अघिदेखिका अरु कर्जि रुपैंया समेत तिर्न वापत जनाई चक्रबहादुर मरेपछि वादी तिलकुमारीले ९५ सालमा प्रतिवादी जमान सिंलाई राजिनामा  रजिष्ट्रेशन पास गरी दिएको ।

      १५.   तत्काल प्रचलित मुलुकी ऐन रजिष्ट्रेशनको २३ नं. मा अड्डाबाट सहीछाप गराउँदा लिने दिने दुवै थरलाई सो कागज स्पष्ट गरी पढि सुनाई यो कागजबाट यस्तो हुन्छ भन्ने मतलब समेत सम्झाई मात्र ऐन बमोजिम सहीछाप गराउनु भन्ने उल्लेख भएको सो बमोजिम अड्डाले रीत पुर्‍याई रजिष्ट्रेशन पास भएकोमा ९१ सालमा राजिनामा मितिले २१ बर्ष, ९५ सालका राजिनामा मितिले १७ बर्ष पछि साहु र साक्षी मध्येका मानीसका नाउँमा ठगीको दावी लिई यो नालिस परेको र रजिष्ट्रेशनका हाकिम कारिन्दाहरू मिली झुक्याई रजिष्ट्रेशन पास गरे गराए भनी मौकैमा उजुर दिएको पनि नदेखिएकोबाट उक्त कानून बमोजिम रीत पुगी पास भए गरेको देखिन्छ ।

      १६.    ९५ सालको लिखतमा गाँसिएको ९२ साल माघ ३ गते जुजुमानलाई वादीकै बाबुले चक्रबहादुरले नै रु.१४२।२ मा कित्ता जग्गा दृष्टिबन्धकी रजिष्ट्रेशन पास गरी दिएको देखिन आएकोबाट चक्रबहादुर विक्षिप्त भएको भन्ने वादीको भनाई पत्यारलायक देखिन आएन । त्यसरी सरकारी अड्डामा गई पास गरी सकेको जस्तो व्यवहारलार्ई ढाट ठग लुच्चाको १ नं. अन्तर्गत ठगी गरेकै हो भनी ठहराउन नमिल्ने र जग्गा चलन चलाई कित कबुलियत कागज लुटी लिएमा र दिनु पर्ने कित नदिएमा सजाय गरी पाउँ भनी जमान सिंहले तिल कुमारी, मानकुमारीका नाउँमा ०११।१२।२९ मा दायर गरेको मुद्दा १ निजै जमान सिंले तिलकुमारी, हर्षबहादुर समेत उपर ०१२ साल मार्गमा दायर गरेको लुटपिट् मुद्दा १ समेत २ मुद्दा ०१३ साल आश्विन १८ गते काभ्रे पलान्चोक अदालतले पर्चा गरी मुल्तवी राखेको यो मुद्दाहरूमा ठहरे माफिक उसैबाट ऐन बमोजिम हुने हुनाले समेत वेदाममा ठगी राजिनामा पास गराई लिई दर्ता गराएको भन्ने वादी दावी पुग्न सक्दैन । ठगी ठहराई शुरु, अपीलले र सो सदर गरेको स.अ. डिभिजन बेञ्चको इन्साफ मिलेको नदेखिँदा देहाएका इन्साफ कलममा देहाय बमोजिम गर्नु ।

 

तपसील

प्र. का.प.इ नाला बरदाल बस्ने मु. जमान सिं के देहाय बमोजिम दण्ड नलाग्ने हुँदा असुल भएको भए फिर्ता । नभए व्यहोरा जनाई लगत काटि दिनु भनी पूर्जी गर्नका श्रे.अ.तमा लगत दिने ........................१

का.प.ई का ०१३।६।१८ का फैसलाले गर्ने गरेको दण्ड मोरु १६०५।

अपील दोश्रोको ०१६।५।१४ का फैसलाले गर्ने गरेको मोरु, १६०।

सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१९।४।१९ को फैसलाले गरेको मोरु। ८०।२५

देहायका मानिस के.का.प.ईं.अ.का. ०१३।६।१८ का फैसलाले गर्ने गरेको देहायबमोजिम दण्ड नलाग्ने हुँदा असुल भएफिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी पूर्जी गर्ने ऐ........२

का.प.ईं बनेपा चल्ने ढुंगा बस्ने धनबहादुर बानिया क्षेत्री के.५।

ऐ. काभ्रे बस्ने गणेशप्रसाद जैशी के ५।

भ.पु.ई. नालाछाप बस्ने दलबहादुर धर्ती के ५।

ऐ अड्डाका ऐ मितिका फैसलाले जग्गाको लगत कट्टा गर्ने र वादीहरूका नाउँमा दर्ता गर्ने गरेको हाल सो बमोजिम गर्न पर्दैन भनी पूर्जी गर्ने ऐ .........................३

ऐ अड्डाका ऐन मितिका फैसलाले तिलकुमारीले जमान सिंलाई ९६।८।१ गतेमा रु.१०९९। मा पास गरेको ३८०। नं. को राजिनामा १ चक्रबहादुर तिलकुमारी २ जनाले जमान सिंलाई ५०६। मा ९१।७।९ मा पास गरेको राजिनामा थान १ जाहेरी फैसला सदर भई आए पछि बासको लगत काटी दिनु भनी माललाई जनाउ दिने गरेकोमा हाल सो बमोजिम गर्न पर्दैन भनी पूर्जी गर्न ऐ..................४

का.प.ई. धनेश्वर बस्ने कृष्णबहादुर थापा क्षेत्री के ऐ अड्डाका ऐ मितिका फैसलाले झुठ्ठा बकेमा भनी रु.१ जरिवाना गरेको नलाग्ने हुँदा असुल भएको भए फिर्ता नभए व्यहारा जनाई लगत काटी दिनु भनी पूर्जी गर्ने ऐ....................५

वादी देहायका मानिस के माथी लेखिए बमोजिम ठगी गरेको नठहरी झुठ्ठा पोल उजुर गरे वापत मुलुकी ऐन दण्ड सजायको १८ नं. ले जनै रु.२०। का दरले जम्मा रु.४०। जरिवाना हुन्छ का.प.ई.अ. का ०१३।६।१८ को फैसलाले वादी तिलकुमारी के १६।५ टेकबहादुरबाट सलामी रु.१ लिने गरेको नलाग्ने हुँदा त्यसमा कट्टि गरी देहायबमोजिम असूल उपर गर्नु भनी पूर्जी गर्ने ऐ ...............६

का.प.ई.नाला दण्डाल बस्ने तिल कुमारीको वारेस हुँदा असुल गर्ने रु.३।९५ ऐ बस्ने टेकबहादुर के वारेस हुँदा असुल उपर गर्ने रु.।१९

मिसिल नियम बमोजिम गरी बुझाइदिनु ....................७

 

इति सम्वत् २०२२ साल भाद्र १ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु