निर्णय नं. ३२१६ - कर्तव्य ज्यान

निर्णय नं. ३२१६ ने.का.प. २०४४ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४३ सालको फौ.साधक नं.७७
मुद्दा : कर्तव्य ज्यान ।
वादी: भीमलाल समेतको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
प्रतिवादी: तनहूँ भिमाद गा.प. वडा नं. २ राङरुङ सिस्नेरिया एउटा घर र स्याङजा चिसापानी गा.पं.वडा नं. ६ बदहरे बस्ने हुमनाथ ढकाल ।
फैसला भएको मिति: २०४४।३।२।३ मा
गर्दन वरिपरि काटिएको घाउ भएको र चोट पटकको कारणले धेरै रक्तश्राव भई Circulatory Failure को कारणबाट मृत्यु भएको हो भन्ने अस्पतालको लाश जाँचको रिपोर्टबाट देखिन्छ, मृतकलाई मार्नमा प्रयोग भएको हतियार आंसी प्र.ले मेरै हो भन्ने अदालतमा सनाखत गरेबाट निजको साविती बयान अन्य प्रमाणहरूबाट पुष्ट्याई भइरहेको देखिँदा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब नै छ ।
(प्रकरण नं. १४)
मारुँ भन्ने सम्मको रिसइवी रहे भएको र योजना बनाई हत्या गरिएको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिँदैन, खेती पेशा गरी खाने मानिसले लगाई रहेको बाली नोक्सान हुँदा उत्तेजित हुनु अस्वभाविक हुँदैन, त्यस अवस्थामा मृतकले दिएको जवाफबाट अझ बढी उत्तेजित भई हातमा लिई रहेको आंसीले चोट छाडेको भन्ने देखिँदा ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्न जाने भएकोले अ.बं.१८८ नं. बमोजिम १० वर्ष कैद हुने ।
(प्रकरण नं. १४)
फैसला
न्या.प्रचण्डराज अनिल: पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला साधक सदरको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम रहेछ ।
२. मठै भण्डारी ०४१।२।३१ दोभान खेतमा बाख्रा चराउन गएकी रहिछन्, धानको विउ बाख्राले खाइदियो भनी आवेशमा आई हातमा भएको हँसियाले हुमनाथ ढकालले हानी काटेको थाहा पाएँ सोही दिन ४ बजे मृत्यु भएकोले जाहेर गर्न आएको छु । कानुन बमोजिम होस भन्ने समेत भीमलाल भण्डारीको जाहेरी दर्खास्त ।
३. मेरी श्रीमती मठै भण्डारी ०४१।२।३१ गते दोभान भन्ने खेतमा गाई गोरु चराउन गएको ठाउँमा हुमनाथ ढकालले तेरा बाख्राले धानको वीउ खाई दियो भनी रिसाई चुल्ठोमा समाई हँसियाले हाने काटेको देखी रुदै कराउँदै केटाहरू गाउँमा आई म समेतका २ जना भई जाँदा बाँझो खेतमा मरणान्त अवस्थामा देखें । घरमा ल्याएको १ घण्टापछि मृत्यु भएकोले कानुन बमोजिम सजायँ होस् भन्ने घनश्याम भण्डारीको डोर मुकाम बडहरेमा प्राप्त भएको जाहेरी दर्खास्त ।
४. मृतक मठै भण्डारीको लाश जाँच तथा घटना स्थलको प्रकृति मुचुल्का मिसिल सामेल रहेको ।
५. ०४१।२।३१ गते मठैै भण्डारीलाई बाख्रा चराउन दोभान भन्ने खेतमा लगेकी निजको गाईले मेरो धानको विउ खाइदिएको तथा निजसँग पहिले देखि रिसइवी राखेकोले हातमा भएको हँसियाले पहिला चोट गर्धनमा पछि शरीरको विभिन्न ठाउँमा हाने काटेपछि निज लडिन्, हँसिया विउ बारीमा फाली भागेको हुँ । सोही दिन एक घण्टापछि निजको घरमै मृत्यु भएको सुनेको हुँ । हाने काटेको चोटको बेदनाको कारणले मृत्यु भएको हो । मतियार कोही छैनन् देखाइएको हँसिया मेरै हो भन्ने समेत प्र.हुमनाथ ढकालले प्रहरीमा गरेको साविती बयान कागज ।
६. प्र.हुमनाथ ढकाललको घर खान तलासी लिंदा ज्यानसम्बन्धी अपराधको कुनै दशी प्रमाण नदेखिएको भन्ने समेत खान तलासी मुचुल्का ।
७. ०४१।२।३१ गते मठै भण्डारीले गाई, बाख्रा चराउन दोभान खेतमा गएको अवस्था गाईले धानको विउ खाइदियो भनी हुमनाथ ढकालले मठै भण्डारीलाई हानेको देखी नहान भन्दै सोही ठाउँमा पुगी पानी खुवाउन खोलामा ल्याएको हो । घाँटी समेतको शरीरको भाग काटिएको देखें भन्ने मान बहादुर घर्ति र चुल्ठो समाई हँसियाले घाँटीमा हानेको देखेको हो भन्ने समेत गोठाला कृष्णप्रसाद समेतका व्यक्ति र आमा बसेको ठाउँमा पुगी हँसियाले ३।४ पटक हाने म डरले घरमा गई बाबुलाई भनें भन्ने समेत छोरा शेषकान्त भण्डारीको भनाई र विउ गाइले खाएको कारणबाट मठैलाई हुमनाथले हंसियाले हाने काटेको सुनियो, सोही पीडा चोटको पिरबाट मृत्यु भएको हो भन्ने मित्रलाल भण्डारी समेतको लेखाई भएको सरजमीन मुचुल्का ।
८. चोट पटकको कारणबाट बढी रक्त श्रवण भई सर्कुलेटरी फैलियरको कारणबाट मृत्यु भएको भन्ने समेत ग.अं.अस्पतालको लाश जाँच प्रतिवेदन ।
९. संकलित मिसिल सामेल रहेको सम्पूर्ण कागजातहरूबाट मठै भण्डारीलाई हुमनाथ ढकालले दोभान खेतमा हानी काटी सोही काटेको बेदनाबाट मृत्यु भएको सिद्ध हुन आएकाले ज्यानसम्बन्धीको १ नं. विपरीत अभियुक्त हुमनाथ ढकालले मठै भण्डारीलाई कर्तव्य गरी मारेको हुँदा सोही ऐनको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँको माग दावी भएको प्रहरी प्रतिवेदन ।
१०. ०४१।२।३१ गते मठै भण्डारी गाई बाख्रा चराउन दोभान खेततर्फ गएकी उनका गाई बाख्रा मेरो धानको विउमा पसी खान लागेका कुनै विउमा पस्न लागेको, म घाँस काट्न लागेको, ठाउँबाट देखी भित्र किन ख्वाएको भनी मठैलाई हपार्दै उनी बसेको ठाउँमा पुगी अली कडा शब्दले सँधै मैले तिम्रो विउ ख्वाएको छैन, अरुका बस्तुले पनि खाएका छन् भनी जवाफ दिएकीले रिस उठी हातमा भएको हँसियाले सर्वप्रथम मठै भण्डारीको खुट्टामा त्यसपछि गर्धनमा र पिठ्यू पाना पट्टि हिर्काएपछि निज मठै जमीनमा ढली छटपटाउँदै थिइन, पछि मठै भण्डारी मरिन, भन्ने सम्म सुनेको हुँ । मेरो साथमा भएको आँसी (हँसिया) ले नै हाने काटेको चोटबाट मठैको मृत्यु हुन गएको भन्ने समेत प्र.हुमनाथ ढकालले अदालतमा गरेको बयान ।
११. प्र.हुमनाथ ढकालले काटे प्रहार गरेको चोट बेदनाले भण्डारीको मृत्यु भएकोमा म एकजनाले मात्र निजको ज्यान मारेको हुँ भनी निज प्र.हुमनाथ ढकाल प्रहरी तथा अदालत समक्ष साविती भई बयान गरेका र दसी स्वरुप दाखिल भएको उक्त हतियारलाई निजले स्वीकार गरेकोबाट निजले अाँसी जस्तो जोखिम हतियारले हानी ठाउँ ठाउँमा काटी मठै भण्डारीको ज्यान मारेको ठहर्न आएकाले निज हुमनाथ ढकालले कर्तव्य गरी ज्यान मारेको ठहर्छ भन्ने समेत शुरु स्याङजा जिल्ला अदालतको ०४१।३।९।६ को फैसला ।
१२. मृतकलाई आँसीले धेरै पटक प्रहार गरेबाट मृत्यु भएको देखिन आएको र आँसी जोखमी हतियार भएको हुँदा शुरु स्याङजा जिल्ला अदालतले प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) नं.अनुसार सजायँ गरेको मनासिब छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।१२।१८ को जाहेरी फैसला ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको छ छैन भन्ने नै निर्णय दिनु पर्ने हुन आयो।
१४. यसमा तेरो गाई बाख्राले विउ खाए त कहाँ गएकी थिइस भनी रिसाई गोठालाहरूका सामुन्ने यस बेश्यालाई नमारी छाड्दिन भनी आँसी हातमा लिई घाँटी समेतका विभिन्न अंगमा हानी काटी लडाएकोमा घरमा ल्याएपछि निजको मृत्यु भएको भन्ने किटानी जाहेरी दर्खास्त देखिन्छ । प्र.हुमनाथ ढकाल अधिकार प्राप्त अधिकारी र अदालत समक्ष समेत आरोपित कसूरमा स्वीकार रहेको पाइन्छ । मृतक मठै भण्डारीको गर्दन वरिपरि काटिएको घाउ भएको र चोट पटकको कारण धेरै रक्तश्राव भई Circulatory Failure को कारणबाट मृत्यु भएको हो भन्ने गण्डकी अञ्चल अस्पतालको मिति ०४१।३।३ को लाश जाँचको रिपोर्टबाट देखिन्छ । मृतक मठै भण्डारीलाई मार्नमा प्रयोग भएको हतियार आँसी प्र.हुमनाथ ढकालले मेरै हो भनी अदालतमा सनाखत गरेबाट निजको साविती बयान अन्य प्रमाणहरूबाट पुष्ट्याई भइरहेको देखिँदा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब नै छ । निजलाई गरेको सजायँको हकमा विचार गर्दा मृतक मठै भण्डारीलाई मारुँ भन्ने सम्मको रिसइवी प्रतिवादीको रहे भएको र योजना बनाई हत्या गरिएको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिँदैन । खेती पेशा गरी खाने मानिसले लगाई रहेको बाली नोक्सान हुँदा उत्तेजित हुनु अस्वभाविक हुँदैन । त्यस अवस्थामा मृतकले दिएको जवाफबाट अझ बढी उत्तेजित भई हातमा लिई रहेको आँसीले चोट छाडेको भन्ने देखिँदा ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा सजायँ चर्को पर्न जाने भएकोले अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैद हुन्छ । निज ०४१।३।४ गतेदेखि प्रहरी हिरासतमा रहेको देखिँदा सोही मितिदेखि कैद कट्टि हुने गरी लगत कस्न स्याङजा जिल्ला अदालतमा लेखि पठाउन का.जि.अ.त.मा लगत दिई नियमानुसार मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्र बहादुर सिंह
इतिसम्वत् २०४४ साल आषाढ २ गते रोज ३ शुभम् ।