शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२१७ - कुटपिट लुटपिट सम्बन्ध विच्छेद

भाग: २९ साल: २०४४ महिना: पौस अंक:

निर्णय नं. ३२१७     ने.का.प. २०४४            अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको फौ.पु.नं. ५०७

मुद्दा : कुटपिट लुटपिट सम्बन्ध विच्छेद ।

 

पुनरावेदिका/वादी: कास्की जिल्ला पोखरा न.पं. वार्ड नं. १० रामघाट बस्ने इन्द्र कुमारी गुरुङ ।

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने तेज बहादुर गुरुङ ।

फैसला भएको मिति: २०४४।५।१।२ मा

     यिनै पुनरावेदक समेतको पुनरावेदन परेको विपक्षीले दिएको जारी मुद्दामा अझै यिनै पुनरावेदकलाई कृष्ण बहादुरले दावी बमोजिम जारी गरी लगेको ठहरी प.क्षे.अ.बाट भएको फैसला सदर भई ठहर भएकोबाट पुनरावेदकको प्रस्तुत सम्बन्ध विच्छेद गरिपाउँ भन्ने परेको फिराद बमोजिम पुनरावेदक र विपक्षीको बीच यो मुद्दा दायर हुँदाको अवस्थामा लोग्ने स्वास्नीको सम्बन्ध नै कायम रहेको भन्न नमिलेकोले यस्तो लोग्ने स्वास्नीको सम्बन्ध कायम नरहेको अवस्थामा माथि लेखि देखाइएका कारणहरूबाट पुनरावेदकको फिराद दावी बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद  गरिपाउँ भन्ने दावी तर्फ निर्णय दिई रहनु पर्ने अवस्था रहन नआएकोले क्षेत्रीय अदालतले त्यसतर्फ निर्णय दिनु नपर्ने भनी गरेको ठहरमा कुनै त्रुटी देखिन नआउने ।

 (प्रकरण नं. ११)

     घा जाँच फारामबाट घा चोट परेको र वारदात समेत भए गरेकै देखिन आएकोबाट पुनरावेदकलाई विपक्षीले कुटपिट गरेको ठहर्‍याएको इन्साफ प.क्षे.अ.को मनासिब ठहर्ने ।

 (प्रकरण नं. ११)

पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल

विपक्षी,प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.हिरण्येश्वरमान प्रधान: पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।७।२ को फैसला उपर चित्त नबुझी वादी इन्द्रकुमारीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    विपक्षीसँग २०२६ साल फागुनमा लोग्ने स्वास्नीको नाता भई २ छोराका जन्म भएको विपक्षले मलाई रात दिन कुटपिट कल झगडा गर्ने गरेकोले घरमा टिक्न नसकी २०३६ श्रावण २० गते माइत गई बसेकी बाराही मा.वि. पोखरामा शिक्षक भएका २०३७।२।१० का दिन पढाई समाप्त भई घर जान लाग्दा करीब ९.३० बजे मजुवा पेट्रोल टंकी अगाडि आइपुगे पछि उक्त ठाउँमा विपक्षीले नमारी छोड्दिन भनी हातमा लिएको फलामे छाताले र लात मुड्की घुस्सी समेतले कुटपिट गरेको सो पिरले लडेको अवस्थामा बाबु आमाले दिनु भएको सुन तोला १½ को सिक्री लुटपिट समेत गरेकाले सिक्रीको रु. ३,४५०।विपक्षीबाट दिलाई मेरो र विपक्षीको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गराई लोग्ने स्वास्नीको ४ नं. बमोजिम खान लाउन खर्च समेत भराई कुटपिट गरेमा कुटपिटका १०, ११, १३ नं. र दण्ड सजायँको १२ नं. बमोजिम सजायँ गरी कुटपिटको २५ नं.बमोजिम घा खर्च समेत दिलाई पाउँ भन्ने समेत इन्द्रकुमारी गुरुङको फिरादपत्र।

३.    वादी र प्र.कृष्ण बहादुर गुरुङ २०३६।११।२८ देखि प्रकाशित रुपमा लोग्ने स्वास्नी भई पोइल लाने जाने गरेको थाहा पाई जारी धनमाल मुद्दा दिएको । कृष्ण बहादुर पृथ्वीनारायण क्याम्पसको प्रोफेसर भएको निजले इन्द्रकुमारीलाई मोटर साइकलमा राखी क्याम्पस लाने ल्याउने गर्ने गरेको र प्रेम प्रिती बसालेमा समेत निज कृष्ण बहादुरले प्रहरी निरीक्षक कार्यालयमा बयान गर्दा सावित भएको यी वादी र वादीको लोग्ने कृष्ण बहादुर मोटर साइकलमा हिंड्दा मोटर साइकलको पछाडिबाट खस्दा पछारिंदा परेको घाउ हुन् जारी र धनमालमा जोगिन झुठ्ठा दावा लिएको भन्ने समेत तेजबहादुर गुरुङको प्रतिउत्तरपत्र ।

४.    प्रतिवादी कै साक्षीले मोटर साइकलबाट लडी घाउ भएको भनी किटानी गर्न नसकेको हुँदा कुटपिट गरेको ठहर्छ । वादीले र साक्षीको मुख नमिलेकोले लुटपिटमा दावी पुग्न नसक्ने र मिल्दिन भन्नेलाई मिल्नै पर्छ भनी बाध्यता गर्न नमिल्ने भन्ने सिद्धान्त नजीरहरू भइरहेको कारणबाट दाम्पत्य सम्बन्ध कायम नरही सम्बन्ध विच्छेद हुने ठहर्छ भन्ने समेत कास्की जि.अ.को २०३७।१०।७ को फैसला ।

५.    शुरु जि.अ.का फैसलामा चित्त बुझेन शुरुबाट मलाई हराएको इन्साफ बदर गरी प्रतिवादी जिकिर बमोजिम गरिपाउँ भन्ने समेत प्रतिवादी तेजबहादुर  गुरुङको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

६.    वादीका साक्षीहरूले कुटपिट गरेको देखेका भनेका र घा जाँच फारामबाट समेत वादीको शरीरमा परेको चोट पटक लडी परेको भन्ने देखिन नआएकोले कुटपिट गरेको देखियो । वादीलाई कुटपिट समेत गरेको लोग्ने स्वास्नीको १ नं. को देहाय दफा २ बमोजिमको अवस्था विद्यमान भएको देखिँदा लोग्नेसँग स्वास्नीले सम्बन्ध विच्छेद गर्न पाउने नै हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको २०४०।१।३० को फैसला ।

७.    लोग्ने स्वास्नीको ३ नं. बमोजिम सम्बन्ध विच्छेद भएको भन्न पर्नेमा कुटपिट र अविश्वासको कारण देखाई भएको फैसला लोग्ने स्वास्नीको महलको १ र ३ नं. को प्रत्यक्ष त्रुटी भएकोले र न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(३)(ख)(ग) को प्रश्न समावेश भएको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी तेजबहादुरको प.क्षे.अ.मा परेको निवेदनमा अनुमति प्रदान गरिएको छ भन्ने समेत प.क्षे.अ.को २०४१।५।२४ को आदेश ।

८.    यिनै पक्ष विपक्ष भएको फौ.डी पु.नं. ५०४ को जारी मुद्दामा जारी गरेको ठहर भएकोले स्वतः सम्बन्ध विच्छेद हुने हुँदा इन्द्रकुमारीको सम्बन्ध विच्छेद गराई पाउँ भन्ने दावीमा विचार गर्नु परेन कुटपिटको दावीका सम्बन्धमा वादी इन्द्रकुमारीको घा जाँच फाराम मिसिल संलग्न भएको र उक्त घाउहरू प्र.तेजबहादुर गुरुङको कुटाईबाट भएको भन्ने वादीका साक्षीहरूको किटानी बकपत्र भएको समेत मिसिलबाट देखिँदा कुटपिट गरेको ठहर्‍याएको इन्साफ सम्म मनासिब छ ग.अं.अ.को इन्साफ केही उल्टी हुन्छ भन्ने समेत प.क्षे.अ.को मिति २०४२।१०।७।२ को फैसला रहेछ ।

९.    प.क्षे.अ.को फैसलामा अ.बं. १२८, १८४(घ) र प्रमाण ऐनको दफा ५४ को साथै लोग्ने स्वास्नीको १ नं. को त्रुटी समेत हुँदा उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत वादी इन्द्रकुमारीको यस अदालतमा पर्न आएको निवेदनमा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति २०४३।२।२८ को आदेश रहेछ ।

१०.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दामा तारेखमा रहेका पक्ष विपक्षको वा.लाई इजलासबाट पटकपटक बोलाउन लगाउँदा समेत उपस्थित नभएका । पुनरावेदक वादीको तर्फबाट बहसका लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

११.    प्रस्तुत मुद्दामा प.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो । यसमा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट सम्बन्ध विच्छेद गरिपाउँ भन्ने दावीमा निर्णय दिन नपर्ने भनी ठहर गरेमा दावीको कुरामा ठहर नगरी गरेको प.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण देखिएको भन्ने आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुन आएको देखियो । प्रस्तुत मुद्दामा वादी पुनरावेदकले विपक्षी तेजबहादुसँग आफ्नो बैवाहिक सम्बन्ध विच्छेद गरिपाउँ भनी लोग्ने स्वास्नीको दफा १ को उपदफा २ अन्तर्गत मिति २०३७।३।१२।४ मा यो फिराद दिएको देखिन आएको छ । यिनै पुनरावेदक समेत उपर विपक्षी तेजबहादुरले जारीमा मिति २०३७।२।२४ मा फिराद दिएको देखिन आएकोबाट यो जारी मुद्दा परेपछि मात्र यो मुद्दा परेको देखिन आयो । लोग्ने स्वास्नीको सम्बन्ध कायम रहेको अवस्थामा मात्र लोग्ने स्वास्नीको महलमा उल्लेख भए बमोजिम स्वास्नीले लोग्नेसँग सम्बन्ध विच्छेद गरिपाउँ भनी दावी लिएमा सो दावीमा निर्णय दिनु पर्ने उक्त कानुनी व्यवस्थाबाट स्पष्ट छ तर यदी स्वास्नीको लोग्नेसँग सो दावी लिनु पूर्व नै लोग्ने स्वास्नीको सम्बन्ध कायम रहेको देखिन नआएमा फिरादबाट दावी लिंदैमा दावीको कुरामा इन्साफ दिई रहनु पर्ने अवस्था पर्दैन । अतः  विपक्षी तेजबहादुरले प्रस्तुत मुद्दा पर्न अगावै आफ्नो स्वास्नी यिनी पुनरावेदकलाई विपक्षी मध्येका कृष्ण बहादुरले जारी गरी लगेको हुँदा जारीमा सजायँ गरिपाउँ भनी दावी लिई फिराद गरेको हुँदा निजको दावी बमोजिम विपक्षी कृष्ण बहादुरले पुनरावेदक यिनी इन्द्रकुमारीलाई जारी गरी लगेको ठहरेमा पुनरावेदकको यो फिराद गर्दाको अवस्था पुनरावेदक र विपक्षी तेजबहादुर बीच लोग्ने स्वास्नीको सम्बन्ध नै कायम नरहने भएकोले त्यस्तो अवस्थामा सम्बन्ध विच्छेद गरिपाउँ भन्ने पुनरावेदकको फिराद दावीमा अदालतबाट सम्बन्ध विच्छेद हुने नहुने ठहर गरिरहनु पर्ने अवस्था नै आउँदैन लोग्ने स्वास्नीको नं.२ मा भएको व्यवस्थामा पनि स्वास्नीले अर्कोसित करणी गराएको ठहरेमा र पोइल गएमा लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुने व्यवस्था समेत गरेको पाइन्छ । यी कुरालाई ध्यानमा राखी प्रस्तुत मुद्दा र यिनै पुनरावेदक उपर विपक्षी तेजबहादुरले दायर गरेको जारी मुद्दामा यिनै पुनरावेदकको पुनरावेदन परी आएका मुद्दा समेतको कुरामा ध्यानमा राखी प.क्षे.अ.ले पुनरावेदकको सम्बन्ध विच्छेद गरिपाउँ भन्ने दावीमा इन्साफ दिन नपर्ने भनी गरेको ठहर मिले नमिलेको के हो भन्नेतर्फ विचार गरेमा यिनै पुनरावेदक समेतको पुनरावेदन परेको विपक्षी तेजबहादुरले दिएको जारी मुद्दामा आजै यिनै पुनरावेदक इन्द्रकुमारीलाई कृष्ण बहादुरले दावी बमोजिम जारी गरी लगेको ठहरी प.क्षे.अ.बाट भएको फैसला सदर भई ठहर भएकोबाट पुनरावेदकको प्रस्तुत सम्बन्ध विच्छेद गरिपाउँ भन्ने मिति २०३७।१२।४ मा परेको फिराद बमोजिम पुनरावेदक र विपक्षी तेजबहादुरको बीच यो मुद्दा दायर हुँदाको अवस्थामा लोग्ने स्वास्नीको सम्बन्ध नै कायम रहेको भन्न नमिलेकोले यस्तो लोग्ने स्वास्नीको सम्बन्ध कायम नरहेको अवस्थामा माथि लेखि देखाइएका कारणहरूबाट पुनरावेदकको फिराद दावी बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाउँ भन्ने दावी तर्फ निर्णय दिई रहनु पर्ने अवस्था रहन नआएकोले क्षेत्रीय अदालतले त्यसतर्फ निर्णय दिन नपर्ने भनी गरेको ठहरमा कुनै त्रुटी देखिन आएन । जहाँसम्म कुटपिटको सम्बन्ध छ त्यसतर्फ घा जाँच फारामबाट घा चोट परेको र वारदात समेत भए गरेकै देखिन आएकोबाट पुनरावेदकलाई विपक्षी तेजबहादुरले कुटपिट गरेको ठहर्‍याएको इन्साफ प.क्षे.अ.को मनासिब ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन गरे बापत अ.बं. २०३ नं. बमोजिम वादीलाई क्षे.अ.ले जरिवाना गर्ने गरेको रु. ४।५० को सयकडा ५ ले हुने रु.।पै.।२३ पैसा वादीलाई जरिवाना हुन्छ लगत कसी असूल गर्नु भनी लेखि पठाउन का.जि.अ.तमा लगत दिनु मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बर प्रसाद सिंह

 

इतिसम्वत् २०४४ साल भाद्र १ गते रोज २ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु