निर्णय नं. ३२१८ - जारी

निर्णय नं. ३२१८ ने.का.प. २०४४ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको फौ.पु.नं. ५०६, ५०८
मुद्दा : जारी ।
पुनरावेदक/प्रतिवादी:कास्की पोखरा न.पं. वडा नं. १० राम बजार बस्ने कृष्ण बहादुर गुरुङ ।
ऐ.ऐ बस्ने ईन्द्र कुमारी गुरुङ।
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ. बस्ने तेजबहादुर गुरुङ
फैसला भएको मिति: २०४४।५।१।२ मा
पुनरावेदक इन्द्रकुमारी र कृष्ण बहादुर गुरुङको बीच खाली गुरु शिष्यको सम्बन्धमा मात्र सीमित रहेको नदेखिई कृष्ण बहादुरकै घरमा समेत आउने जाने, बस्ने, गरेको देखिन आएको र यिनै पुनरावेदक कृष्ण बहादुर उपर यिनै वादीले दिएको सार्वजनिक अपराध मुद्दामा प्रहरीमा कागज गर्दा पनि पुनरावेदक इन्द्रकुमारीसित लसपस भएको कुरा सम्ममा इन्कार गरी दुवै बीच प्रेम रहेको कुरा समेत स्वीकार गरेको देखिन आएको समेतबाट क्षेत्रीय अदालतले वादी दावी बमोजिम जारी गरेको ठहर्याएको मनासिबै ठहर्छ ।
(प्रकरण नं. १३)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल
विपक्षी,वादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।५।२ को फैसला उपर चित्त नबुझी प्रतिवादीहरूको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. विपक्षी इन्द्रकुमारीसँग २०२६ साल मार्ग महिनामा जातको रीत परम्परा अनुसार विवाह गरी लोग्नेस्वास्नी भई बसेको २ छोरा पनि जायजन्म भएका र इन्द्रकुमारीले पढ्ने इच्छा गरी मेरो पनि पढाउने इच्छा भई पढाइएको अवस्था निज इन्द्रकुमारी विपक्षी कृष्ण बहादुरसँग सँगै क्याम्पस जाने पढ्ने गर्दागर्दै भित्र भित्र प्रेम गर्ने र इन्द्रकुमारीको साथमा हाँस ख्याल गर्दा रहेछन् । सो नियत नराम्रो लागी २०३१।२।२३ को दिन निजहरूलाई हटाउने उद्देश्यले सोद्धा कुटपिट गरेकोले कुटपिटमा फिराद दायर गरेकोमा कुटपिट गरेको ठहरी फैसला भएको छ । २०३६।११।२८ का दिन विपक्षी इन्द्रकुमारी र कृष्ण बहादुर प्रकाशित रुपमा लोग्नेस्वास्नी भई बसेको प्रमाणका मानिसहरूबाट सुनी थाहा पाएकोले धनमाल तर्फ छुट्टै नालेश गरेको छु । जारी गरी लाने जाने गरेमा विपक्षीहरूलाई जारीको ३ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत तेजबहादुर गुरुङको फिरादपत्र ।
३. वादी दावी बमोजिम म इन्द्रकुमारी धनमाल लिई कृष्ण बहादुरसँग दोश्रो पारि पोइल गएकी होइन । म इन्द्रकुमारी विपक्षीसँग लोग्नेस्वास्नी भएपछि २ छोरा जायजन्म भएका छन् । विपक्षीले मलाई सारै अन्याय कुटपिट गरेकोले २०३६ श्रावण २० गतेबाट माइती घरमा बसेकी कुटपिट गर्ने लोग्नेसंग लोग्ने स्वास्नीको सम्बन्ध कायम गरिरहनु भन्दा सम्बन्ध विच्छेद गर्नमा नै आफ्नो कल्याण सम्झी कुटपिट, लुटपिट सम्बन्ध विच्छेदमा फिराद गरेकी र प्र. मध्येको म, कृष्ण बहादुर म इन्द्रकुमारी बीच गुरु शिष्यको सम्बन्ध बाहेक लोग्ने स्वास्नी भएको होइन झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.कृष्ण बहादुर गुरुङ र प्र.इन्द्रकुमारी गुरुङ समेतको प्रतिउत्तरपत्र ।
४. प्र.कृष्ण बहादुर र इन्द्रकुमारी लोग्नेस्वास्नी भई बसेको वादीले आँखाले नदेखेको सुनी थाहा पाएको भन्ने देखिएको साक्षीहरूले एउटै मोटर साइकलमा चढी हिंड्ने गरेको देखेको भए तापनि निजहरू बीच गुरु शिष्यको सम्बन्ध भन्ने मिसिलबाट देखिन्छ । गुरु शिष्य मोटर साइलकमा चढाएर हिडाउँदा कुनै अस्वाभाविक नहुने हुँदा बेगर प्रमाण लोग्नेस्वास्नी भई जारी गरी लगे भन्न मिल्ने नहुँदा पोइल जाने लाने गरेको ठहर्दैन भन्ने समेत शुरु कास्की जि.अ.को २०३७।१०।७ को फैसला ।
५. कास्की जि.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत वादी तेजबहादुर गुरुङको ग.अञ्चल अदालतमा गरेको पुनरावेदनपत्र ।
६. प्रतिवादीहरूको बयानबाट गुरु शिष्यको सम्बन्ध मात्र भएको भन्ने देखिएको र प्रतिवादीहरू लोग्ने स्वास्नी भई बसेको देखेको भनी वादी स्वयंले भन्न सकेको देखिँदैन र साक्षीहरूले समेत आत्मगत शंका देखाई बकपत्र गरेको देखिन आएबाट वादी दावा तथ्य रुपमा प्रमाणित हुन आएको नदेखिँदा जारी गरेको ठहर्याउन मिल्ने नदेखिँदा फौ.पु.नं.२०२ को कुटपिट लुटपिट सम्बन्ध विच्छेद हुने ठहर्याई गरेको शुरुको फैसला सदर भई आजै फैसला भएकोले समेत पुनरावेदन जिकिर पुग्न सक्दैन कास्की जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत ग.अञ्चल अदालतको फैसला ।
७. गण्डकी अञ्चल अदालतको फैसला प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भएको र अ.बं.१८५ नं. को मर्यादा नराखी एक पक्षीय दुष्टिकोणबाट प्रमाण सम्बन्धी खोट देखाई गरेको फैसलामा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को (३) खण्ड (ग) र (घ) को प्रश्न समावेश भएकोले पूर्ण उल्टीने हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी तेजबहादुरको प.क्षे.अ. मा परेको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत २०४१।५।२४ को आदेश रहेछ।
८. वादीका साक्षीहरूको बकपत्र तथा मिसिलमा संकलित सबुद प्रमाणबाट कृष्ण बहादुर इन्द्रकुमारीको बीच गुरु शिष्यको सम्बन्धमा सीमित नरही लोग्ने स्वास्नीको सम्पर्क रहेको भन्ने र इन्द्रकुमारी बिरामी भई अस्पताल भर्ना हुँदा पतिको नाम तेजबहादुर नलेखाई आर्कै नाम लेखाएको स्थितिमा प्र.कृष्ण बहादुरले प्र.इन्द्रकुमारीलाई जारी गरी लगेको ठहर्छ । सजायँको हकमा तेजबहादुरले फिराद दायर हुनु अगावै कुटपिट गरेको देखिएको र इन्द्रकुमारीको घा खत भएको देखिएको र सार्वजनिक स्थलमा अपमानित हुने गरी इन्द्रकुमारीलाई शारिरीक कष्ट दिएको देखिँदा लोग्ने स्वास्नीको १ नं. का २ दफा अनुसार सम्बन्ध विच्छेद हुनसक्ने अवस्था देखिँदा जारीको ३ नं. बमोजिम जार र जारी गरिएकी स्वास्नी मानिसलाई सजायँ गर्नु परेन ग.अं.अ को इन्साफ केही उल्टी हुने ठहर्छ । भन्ने समेत प.क्षे.अ.को २०४२।१०।७।२ को फैसला रहेछ ।
९. गर्भधारण गरेको बच्चा जातक जन्माएको भन्ने प्रश्न समेत खडा गर्न वादीले नसकेका र नाठो देखाएको निवेदक इन्कार रहेको यस स्थितिमा बाबु दाजु भाइ जस्ता निकटतम व्यक्तिगत सार्वजनिक स्थान क्याम्पसमा मोटरसाइकलमा जाने घर आउने गरेको भन्ने शंकाको भरमा जारीको कसूर ठहर गरेको प.क्षे.अ.को इन्साफमा कानुनी त्रुटी हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्र.कृष्ण बहादुर गुरुङको यस अदालतमा पर्न आएको निवेदनमा यसै लगाउको निम्न ६७६ को जारी मुद्दामा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएकोले प्रस्तुत मुद्दामा समेत न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको २०४३।२।२८ को आदेश रहेछ ।
१०. यसै गरी प्र.इन्द्रकुमारी गुरुङको पुनरावेदन गर्ने अनुमतिको लागि पर्न आएको निवेदनमा प.क्षे.अ. को निर्णयमा प्रमाणको गलत मूल्याङ्कन गरेको र अ.बं. १८४(क) प्रमाण ऐन, २०३१ को दफा ५४ को समेत त्रुटी भएकोले र त्यस्तो त्रुटी सार्वजनिक महत्वको विषय समेत हुँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत सोही मितिको यस अदालत डिभिजन बेञ्चको आदेश रहेछ ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा तारेखमा रहेका वादी प्रतिवादीको वा.लाई इजलासबाट पटकपटक बोलाउन लगाउँदा समेत उपस्थित नभएका पुनरावेदक प्रतिवादी तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१२. प्रस्तुत मुद्दामा प.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१३. यसमा प.क्षे.अ.ले दावी गरे बमोजिम जारी गरेको ठहर्याएकोमा अस्पताल भर्ना हुँदा कृष्ण बहादुरको नाम उल्लेख नभएकोमा प्रमाणको गलत मूल्याङ्कन गरेको भन्ने आधारमा पुनरावेदनको अनुमति प्रदान भएको देखिन आएकोछ । प्रस्तुत मुद्दामा भएको साक्षीहरूको बकसपत्रमा जिरह गर्दा यिनी पुनरावेदक इन्द्रकुमारीले अस्पतालमा भर्ना हुन जाँदा लोग्नेको नाउँमा वादी आफ्नो लोग्नेको नाउँ नदेखाई श्याम गुरुङ भनी देखाई आफ्नो हस्ताले सही गरेको पुनरावेदक कृष्ण बहादुरको अर्को बोलाउने नाउँ श्याम गुरुङ भन्ने पनि रहेको भनी देखाई पुनरावेदक कृष्ण बहादुरलाई नै आफ्नो लोग्ने भनी देखाएको भनी जिरह लिएको र सो बकपत्रमा पुनरावेदकहरू समेत रोहवरमा रहेको तर वादी विपक्षी तर्फको सो जिकिरलाई पुनरावेदक तर्फबाट कुनै खण्डन गरेको नदेखिई प्र.को नामसम्म नलेखाएको भनी जिकिर लिएको देखिएको र मिसिल साथ रहेको साक्षीहरूको बकपत्रहरूको समष्टी रुपमा विचार गर्दा पुनरावेदक इन्द्रकुमारी र कृष्ण बहादुर गुरुङको बीच खाली गुरु शिष्यको सम्बन्धमा मात्र सीमित रहेको नदेखिई कृष्ण बहादुरकै घरमा समेत आउने, जाने, बस्ने गरेको देखिन आएको र यीनै पुनरावेदक कृष्ण बहादुर उपर यिनै वादीले दिएको सार्वजनिक अपराध मुद्दामा प्रहरीमा कागज गर्दा पनि पुनरावेदक इन्द्रकुमारी सित लसपस भएको कुरा सम्ममा इन्कार गरी दुवै बीच प्रेम रहेको कुरा समेत स्वीकार गरेको देखिन आएको समेतबाट क्षेत्रीय अदालतले वादी दावी बमोजिम जारी गरेको ठहर्याएको मनासिबै ठहर्छ । सजायँ गर्नु पर्छ कि भन्नालाई प.क्षे.अ.ले सजायँ नगरेमा वादीको पुनरावेदन नपरेबाट त्यस तर्फ विचार गर्नु परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बर प्रसाद सिंह
इतिसम्वत् २०४४ साल भाद्र १ गते रोज २ शुभम् ।