शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३०४ - बाली बुझाई पाउँ

भाग: साल: २०२२ महिना: बैशाख अंक:

निर्णय नं.३०४       ने.का.प.२०२२

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

२०२१ सालको पहिलो रिभिजन दे.फु.नं.२३७

निवेदक      : चौ.डोर डण्ड जंग पराक्रम शाहा, का.ई.बसन्तपुर

विरुद्ध

वादी : भवानीदास श्रेष्ठ समेत, भ.पु.ई.वौडेलाछि टोल

मुद्दा : बाली बुझाई पाउँ

(१)   राजगुठीको लक्षण गुठीको कागजातमा कस्तो बोली परेकोलाई राजगुठी ठहर्‍याउनु पर्ने ?

            राजा वा रानीबाट देव देवतालाई यो काम गर्नु खानु भनी सनद लालमोहर गरी राखिएको गुठी श्री ५ को सरकार तर्फ गुठीको लगतमा दर्ता हुने श्री ५ स.त.गुठी जाँच अड्डालाई भएको सवालका ५५ दफाले व्यवस्था गरी राखेको र राजगुठी नभई यस अड्डामा दर्तै हुन नआउने भन्ने श्री ५ स.त.गुठी जाँच अड्डाबाट ०१३।९।१४।६ मा जवाफ दिएको समेत देखिन आयो । उक्त १८५९ साल भाद्र वदि ५ को लालमोहरमा त्यस गुठीमा कदाचित दैवागत परी आए गुठियारले दरबारमा आइ भारदार मार्फत बिन्ति गरी लेखिए बमोजिमको सारजाम पुर्‍याउनु । भारादारले पनि गुठियारले बिन्ति गरेको सुनी यस फर्डमा लेखिएको सारजाम कति नघटाई नित्य नै नित्य पूजा चलाई दिनु भन्ने पनि उल्लेख भएको छ । यदि राजगुठी नभए दैबागत परेमा त्यस किसिम भारदार मार्फत सरकारमा बिन्ति गरी भारादारले सारजाम पुर्‍याइ पूजा चलाउनु पर्ने कुरा उक्त लाल मोहरमा उल्लेख हुनु पर्ने थिएन । स्वयं निवेदक, प्रतिवादीले नै आधार लिएको १९५० साल मिति मार्ग बदि ८ रोज ६ को सनदमै पनि हाल बुझ्दा बिर्ता नै ठहरी राजगुठी ठहरेकोभन्ने र गुठी कचरीमा लगत राख्नु भन्ने बोली लेखिएको समेत पाइयो ।

 (प्रकरण नं.११)

(२)   १९८० सालमा भक्तपुर सर्भे नापि हुँदा रैकर र श्री ५ को सरकार श्री ३ सरकार गुठी समेतको छुट्टा छुट्टै दर तोड भई यो श्री ५ को सरकार तर्फको राजगुठी हुँदा अबललाई रोपनी १ को धान मुरी १।१७।४, गहुँ पाथि ।५ नगदी १।८ का हिसाबले कुत ठेकिएको राजगुठी भन्ने कुरालाई निवेदक, वादीले स्वीकारै गरी यो मुद्दा पर्नु भन्दा अगाडिको कित बुझि लिने गर्नु भएको थियो भन्ने वादी तर्फका विद्वान एडभोकेटले बहसमा जिकिर लिनु भएको र उक्त सर्भे नापीले खडा गरेको ९१ सालको लगत नक्कल श्री ५ स.गु.ल. जा.बाट आइ मिसिल सामेल पेश समेत भईरहेको । त्यसतर्फ कुनै प्रतिवाद गर्न, राजगुठी होइन भन्ने तर्फ कुनै तथ्य जिकिर लिन त्यस कुराको सबूद प्रमाण देखाउन समेत निवेदक, वादी तर्फबाट सक्नु भएन । तसर्थ, उपरोक्त कारणहरूबाट उक्त नन्दिकेश्वर गुठी राजगुठी नै रहेछ भन्ने शिद्ध हुन आयो ।

(प्रकरण नं.१२)

(३)   सरकारको निर्णयको बिपरित गर्न पाउने कुनै ठोस प्रमाण देखाउन गुजार्न नसके सरकारको निर्णय बमोजिम नै हुन गर्नु पर्ने । आधावाली आधा नगदी तीर्नु पर्ने सर्कारको निर्णय भएकोमा अन्यथा कुराको सबुदको अभावमा सो नै बमोजिम गर्नु लिनु दिनु पर्ने ।

            गुठीको बाली सबै जिन्सी लिन पाउने हो, होइन ? भन्ने तर्फ बिचार गरेमा सर्भेबाट छुट्टा छुट्टै दरतोड भैरहेको भक्तपुरको राजगुठीहरूमा माल सरह कुत कायम गर्ने र यस्ता गुठीको बाली आधि जिन्सि आधि नगदी लिने समेत निर्णय सदर भएको भन्ने मालपोत तथा वन मन्त्रालयले उपत्यका मालपोत नक्सारीलाई लेखेको ०११।६।१।६ को पत्र नक्कल र आधि जिन्सि आधि मोरु १। को धान पाथि ३।२ का दरले नगदी लिने सरकारबाट निर्णय भई राखेको भन्ने काठमाडौं गुठी तहसिलको ०१८।१२।२८ को जवाफ समेत मिसिल सामेत रहेको देखिन्छ । छुटगुठी भनी दर्ता भएको नाताले सबै जिन्सी नै लिन पाउनु पर्ने भन्ने निवेदक, प्रतिवादीको वारेसले बहसमा मुख्य जिकिर लिएकोमा त्यस्तो छुट गुठीमा सबै जिन्सी नै लिन पाउने सबूद प्रमाण कुनै देखाउन नसकेकोले यस्तो राजगुठीमा आधा जिन्सी आधा नगदी लिनु दिनु पर्ने सरकारले व्यवस्था गरी सकेको कुरामा सबै जिन्सी नै लिन पाउनु पर्ने भन्ने निवदेक प्रतिवादीको जिकिर मुनासिव देखिंदैन ।

(प्रकरण नं.१३)

निवेदक तर्फबाट : वा.कल्याण जंग

विपक्षी तर्फबाट      : एडभोकेट कृष्णप्रसाद पन्त ।

फैसला

      १.     श्री ५ को सरकार तर्फ नन्दिकेश्वर गुठीमा दरिएको श्री माहिला महारानी सुबर्ण प्रभाले राखिबक्सेको उक्त गुठीको १७२३ साल जेष्ठ सुदि १३ रोज ४ को ताम्रपत्र बमोजिमको खेत ४ को हाल ठहर रोपनी ११०। जग्गा हामीहरूले कमाएकोमा ०८ साल तकको बाली सर्वेका दरतोड बमोजिम बुझाई रसिद लिएको ०९ सालको बाली पनि बुझेको पछि सरकारबाट प्रकाशित सूचना बमोजिम आधि नगदी आधी जिन्सी बुझाउन पाउने भई ०१०।११।१२ समेत साल ३ को जिन्सी नगदी समेत बुझाउन लैजांदा नबुझिदिएकाले धरौट राख्न आएका छौं । बाली बुझ्न लगाई पाउँ भन्ने समेत वादी ।

      २.    सो गुठीको मोही धेरै भएकोले वादीहरूलाई मात्र मर्का नपर्ने भ.पु. दतात्री गुठीमा यस्तै मुद्दा परी साबिक बमोजिम बुझाउनु पर्ने ठहरी फैसाला भएकोले समेत घटि बाली बुझ्न नपरोस भन्ने चौ.डोर डण्ड जंगको प्रतिवादी ।

      ३.    राजगुठी नभई यस अड्डामा दर्ता हुन नआउने भनी एक प्रति मोठ समेत श्री ५ को सरकार गुठी लगतले पठाएकोले सो गुठी राजगुठी रहेछ भन्ने देखिन आएको, सरकारी गुठी रैकरको होलो तिरो भन्ने बिज्ञप्तिको नक्कलको ३९ दफामा उल्लेख भएको सो बमोजिम आधि जिन्सी आधिको बजार भाउले नगदी र आधि बाली गुठीका दरभाउ बमोजिम प्रतिवादीहरूलाई वादीहरूले बुझाउन पाउने बुझि नलिएकोले वादीबाट धरौट रहेका प्रतिवादीहरूले बुझि लिनु पर्ने ठहर्छ भन्ने समेत ०१४।३।२८।५ को रा. का.दे.दो. को फैसला ।

      ४.    सो फैसलाउपर प्र.डोरडण्ड जंगको अपील परेकोमा इन्साफ शुरुको सदर गरी अ.दो.बाट ०१५।८।३०।२ मा भएको फैसला ।

      ५.    चित्त बुझेन भन्ने प्र.चौ.डोरडण्ड जंगको अपील परी डिभिजन बेञ्चमा पेश हुँदा राजगुठी ठहरिएको हुँदा निर्देशानुसार आधा जिन्सी आधा नगद तिर्न बुझाउन पाउने ठहर गरेको शुरुको सदर गरी अपीलले छिनेको मुनासिव छ भन्ने डिभिजन बेञ्चको ०१९।१।३।१ को फैसला ।

      ६.    इन्साफ दोहर्‍याई पाउँ भनी प्र.डोरडण्ड जंगको हकमा गुरुप्रसाद बरालले दिएको निवेदनपत्रमा व्यहोरा साँचो भए राजगुठी वा दुनिया गुठी के हो ? र सबै जिन्सी नै असुल गर्न पाउने नपाउने के हो त्यसको निर्णय गर्नु पर्ने देखिनाले दोहर्‍याई हेर्न निस्सा दिएको छ । दुवै थर झगडिया राखी फुल बेञ्चमा पेश गर्नु भन्ने समेत ०१९।७।२०।२ को श्री माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

      ७.    फुल बेञ्चमा पेश हुँदा सर्वोच्च अदालत (संशोधित) नियमावली ६३ (४) अनुरुप नदेखिंदा प्रस्तुत मुद्दा दोहर्‍याई हेर्न नमिल्ने भएकोले तारेख छुटाई दिनु भन्ने ०२१।३।१०।३ को आदेश ।

      ८.    फुल बेञ्चबाट इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी पाउँ भन्ने समेत चौ.डोरडण्ड जंगले श्री ५ महाराजाधिराजमा चढाएको निवेदनपत्रमा व्यहोरा साँचो भए राजदरबार प्रमुख सचिवालयको नं.७९ डा.अ.१०२१ को पत्रमा लेखिए बमोजिम गर्नु गराउनु भनी लेखी पठाई दिनु भन्ने हुकुम बक्सेकोछ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय नं.१६ (न्या.स.) ०२१ मिति ०२१।४।१८।१ मा लेखि आएको र उक्त ७९ डा.अ.१०२१ को पत्रमा ०१३ (संशोधन) नियम ६३(४) अनुसार प्रधान न्यायाधीशले दोहर्‍याउने आदेश दिएकोमा खारेज गरी सकेको पनि सबै पुनः जगाई हेरी ऐन नियम बमोजिम दोहर्‍याई हेर्नु भनी लेखि पठाई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने समेत उल्लेख भएको व्यहोरा र यो बिन्तिपत्रको व्यहोरा समेत पेश भयो । यसमा व्यहोरा साँचो भए बक्स भई आएका हुकुम प्रमांगी बमोजिम दोहर्‍याई हेर्न प्रस्तुत केस लगतमा दर्ता गरी दुवै पक्षलाई राखी नियम बमोजिम फुल बेञ्चमा पेश गर्नु र यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको दुइ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारमा रजिष्ट्रार अफिस मार्फत पठाउनु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूको ०२१।४।१९।२ को आदेश ।

      ९.    तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२२।६।२९।६मा पेश भई निवेदक, प्रतिवादीतर्फबाट निजको वा.कल्याण जंगले र विपक्षी वादी तर्फबाट विद्वान एडभोकेट कृष्णप्रसाद पन्तले गर्नु भएको बहस जिकिर समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा बाली बुझाइ पाउँ भनी वादीले दावी जिकिर लिएको श्री नन्दिकेश्वर गुठी राजगुठी वा दुनिया गुठी के हो ? सो गुठीको सबै जिन्सी नै असुल गर्न पाउने हो, होइन ? भन्ने कुराको मुख्य निर्णय गर्नु पर्ने देखिन्छ ।

      १०.    उक्त गुठी कसबाट कसरी राखिएको रहेछ भन्ने तर्फ सर्बप्रथम हेरेमा, उक्त गुठीको भादगाउँ सर्भे नापीले खडा गरेको १९९१ सालको लगतमा श्री ५ माहिला महारानी सुवर्ण प्रभा देबीले श्री नन्दिकेश्वर प्रिति गरी नित्य नै नित्य पूजा चलाउनु भनी १७२३ लाल जेष्ट सुदि २३ रोज ४ मा श्री ५ महाराजाधिराज गृवार्ण युद्ध बीर बिक्रम शाहदेवबाट गरी बक्सेको ताम्रपत्र बमोजिम खेत ४। भन्ने जनिएको र श्री ५ महाराजाधिराज गृवार्ण युद्ध बीर बिक्रम शाहदेवबाट गरिबक्सेको १८५९ साल भाद्र वदि ५ को लालमोहरमा माइला श्री मुमाज्यूले श्री नन्दीकेश्वर प्रिति गरी लेखिए बमोजिम सारजाम कति नघटाई नित्य नै नित्य पुजा चलाउनाको निमित्त भन्ने उल्लेख भएको समेतबाट उक्त गुठी श्री ५ महाराजाधिराज गिर्वाणयुद्ध बीर बिक्रम शाहदेव कि माइली मुमा श्री ५ महारानी सुवर्ण प्रभा देवीबाट राखी बक्सेको रहेछ भन्ने प्रष्ट हुन आएको छ ।

      ११.    राजा वा रानीबाट देब देवतालाई यो काम गर्नु खानु भनी सनद लालामोहर गरी राखिएको गुठी श्री ५ सरकार तर्फ गुठीको लगतमा दर्ता हुने श्री ५ स.त.गुठी जाँच अड्डालाई भएको सवालका ५५ दफाले ब्यवस्था गरी राखेको र राजगुठी नभई यस अड्डामा दर्तै हुन नआउने भन्ने श्री ५ स.त.गुठी जाँच अड्डाबाट ०१३।९।१४।६ मा जवाफ दिएको समेत देखिन आयो । उक्त १८५९ साल भाद्र वदि ५ को लालमोहरमा त्यस गुठीमा कदाचित दैबागत परी आए गुठियारले दरबारमा आई भारदार मार्फत बिन्ति गरी लेखिए बमोजिमको सारजाम पुर्‍याउनु भारादारले पनि गुठियारले बिन्ति गरेको सुनि यस फर्डमा लेखिएको सारजाम कत्ति नघटाई नित्य नै नित्य पुजा चलाई दिनु भन्ने पनि उल्लेख भएको । यदी राजगुठी नभए दैबागत परेमा त्यस किसिम भारादार मार्फत सरकारमा बिन्ति गरी भारादारले सारजाम पुर्‍याई पुजा चलाउनु पर्ने कुरा उक्त लाल मोहरमा उल्लेख हुनु पर्ने थिएन । स्वयं निवेदक, प्रतिवादीले नै आधार लिएको १९५० साल मिति मार्ग वदि ८ रोज ६ को सनदमै पनि हाल बुझ्दा बिर्ता नै ठहरी राजगुठी ठहरेको भन्ने र गुठी कचहरीमा लगत राख्नु भन्ने बोलि लेखिएको समेत पाइयो ।

      १२.   १९८० सालमा भक्तपुर सर्भे नापी हुँदा रैकर र श्री ५ सरकार श्री ३ सरकार गुठी समेतको छुट्टा छुट्टै दरतोड भई यो श्री ५ सरकार तर्फको राजगुठी हुँदा अबललाई रोपनी १ को धान मुरी १।१७।४ गहुँ पाथी १५ नगदी रु.१।८ का हिसाबले कुत ठेकिएको राजगुठी भन्ने कुरालाई निवेदक, वादीले स्वीकारै गरी यो मुद्दा पर्नु भन्दा अगाडिको कुत बुझिलिने गर्नु भएको थियो भन्ने वादी तर्फका विद्वान एडभोकेटले बहसमा जिकिर लिनु भएको र उक्त सर्भे नापीले खडा गरेको ९१ सालको लगत नक्कल श्री ५ स.गु.ल.का.बाट आइ मिसिल सामेल पेश समेत भईरहेको त्यस तर्फ कुनै प्रतिवाद गर्न, राजगुठी होइन भन्ने तर्फ कुनै तथ्य जिकिर लिन त्यस कुराको सबूद प्रमाण देखाउन समेत निवेदक, वादी तर्फबाट सक्नु भएन । तसर्थ, उपरोक्त कारणहरबाट उक्त नन्दिकेश्वर गुठी राजगुठी नै रहेछ भन्ने शिद्ध हुन आयो ।

      १३.   अब सो गुठीको बाली सबै जिन्सी लिन पाउने हो, होइन ? भन्ने तर्फ बिचार गरेमा सर्भेबाट छुट्टा छुट्टै दरतोड भईरहेको भक्तपुरको राजगुठीहरूमा माल सरह कुत कायम गर्ने र यस्तो गुठीको बाली आधि जिन्सी आधि नगदी लिने समेत निर्णय सदर भएको भन्ने मालपोत तथा वन मन्त्रालयले उपत्यका मालपोत निक्सारीलाई लेखेको ०११।६।१।६ को पत्र नक्कल र आधि जिन्सी आधि मो.रु.१। को धान पाथि ३।२ का दरले नगदी लिने सरकारबाट निर्णय भई राखेको भन्ने काठमाण्डौ गुठी तहसिलको ०१८।१२।२८ को जबाफ समेत मिसिल सामेल रहेको देखिन्छ । छुट गुठी भनी दर्ता भएको नाताले सबै जिन्सी नै लिन पाउनु पर्ने भन्ने निवेदक, प्रतिवादीको वारेसले बहसमा मुख्य जिकिर लिएकोमा त्यस्तो छुट गुठीमा सबै जिन्सी नै लिन पाउने सबुद प्रमाण कुनै देखाउन नसकेकोले, यस्तो राजगुठीमा आधा जिन्सी आधा नगदी लिनु दिनु पर्ने सरकारले ब्यवस्था गरी सकेको कुरामा सबै जिन्सी नै लिन पाउनु पर्ने भन्ने निवेदक, प्रतिवादीको जिकिर मुनासिव देखिंदैन । यहि नन्दीकेश्वर गुठीको ललितपुरतर्फको जग्गाको बाली भराई पाउँ भनी यो मुद्दाका निवेदक, प्रतिवादी चौ.डोर डण्ड जंगले कृष्णदास महर्जन उपर दिएको दे.फु.नं.२४२ को र बाबुलाल महर्जन समेत उपर दिएको दे.फु.नं.२४१ को बाली भराई पाउँं भन्ने मुद्दामा जग्गा राजगुठी र बालिका हकमा सरकारले निर्धारित गरेका गुठीको दररेट बमोजिम आधा जिन्सी आधा नगदी लिनु दिनु पर्ने ठहराएको डिभिजन बेञ्चको इन्साफ सदर भई आजै यस बेञ्चबाट फैसला भएकोले समेत प्रस्तुत मुद्दामा पनि उक्त दे.फु.नं.२४१।२४२ को मुद्दामा ठहर भए अनुसार आधा नगदी आधा जिन्सी तिर्न पाउने ठहराएको सुरु रा.का.दे.दो.तथा अपील दोश्राको सदर गरी १९।१।३।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिवै ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

निवेदक, प्रतिवादी चौडोर डण्ड जंग पराक्रम शाहा के इन्साफ दोहर्‍याएमा सुरु कोर्ट फि रु. ६८५ को कोर्टफि ऐन, ०१७ को दफा १९ को उपदफा १(२) बमोजिम दसौंद रु.१६९ कोर्टफि लाग्छ वारेस हुँदा असुल गर्न का.श्र.अ.त. मा लगत दिनु ............................१

बादि भ.पु.ई.बोडे लाछि टोल बस्ने भवानि दास धौबजी श्रेष्ट १

ऐ बस्ने राम कृष्ण श्रेष्ट १

जना २ के निजहरू तर्फबाट रहेको विद्वान एडभोकेट सर्वोच्च अदालत नियमावली दफा २४ बमोजिम कोर्टफि रु.२०।

प्रतिवादी चौडोर डण्ड जंगबाट भराई पाउँ भनी ऐनका म्याद भित्र दर्खास्त गरेमा दस्तुर केहि नलिई भराई दिनु भनी ऐ ऐ..........................२

मिसिल नियम बमोजिम बुझाइदिनु ......................३

 

इति सम्वत् २०२२ साल कार्तिक ६ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु