निर्णय नं. ३२२१ - ठगी

निर्णय नं. ३२२१ ने.का.प. २०४४ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको फौ.पु.नं. ५६०
मुद्दा : ठगी ।
पुनरावेदक/वादी: बर्दिया झगडा गा.पं. वार्ड नं. ४ बस्ने उदय लाल शर्मा ।
विरुद्ध
विपक्षी/प्रतिवादी: बर्दिया सानो श्री गा.पं. वार्ड नं. १ बस्ने गगन बहादुर बस्नेत
फैसला भएको मिति: २०४४।६।२८।४ मा
वादी लेखबाट प्रतिवादीको जिकिर बमोजिम वादीलाई जग्गा किन्न ठगीको १ नं. मा भएको व्यवस्था बमोजिम कुनै व्यहोरासँग गफलतमा पारेको देखिन नआई जग्गा छ लिने भए रु. १० हजार अहिले दिनुहोस् भनी भनेको भन्नेसम्म देखाएको एकपटक यति भनेको आधारमा जग्गा छ छैन कस्तो छ सो को यकीन गर्नु बेगरै भन्नासाथ वादीका साक्षीका रोहवरमा रु.१० हजारको रकम गनिदिएको होला भन्ने वादीकै साक्षीको बकपत्रबाट समेत भन्न सकिने अवस्था नरहेको र वादीका साक्षीको बकाई पनि विपक्षी तर्फको जिरहमा देखाए बमोजिम आपसमा फरक परेको देखिन आएको यस स्थितिमा प्रतिवादीका १ जना साक्षीले मात्रै भए पनि वारदातको समयमा वारदात स्थलमा नभई गुदरी बजारमा रहेको छ भनी देखाउँदा देखाउँदै पनि दावी बमोजिम ठगी गरेकै होला भनी निसन्देह रुपबाट भन्न सकिने अवस्था नदेखिएकोले इन्साफ म.प. क्षे.अ.को मनासिब ठहर्छ, वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
(प्रकरण नं. १२)
पुनरावेदक, वादीतर्फबाट:विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने र विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।२०।१ को फैसला उपर पुनरावेदन गर्ने अनुमतिको लागि पर्न आएको वादीको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. म फिरादी २०३९ साल चैत्र २० गते आफ्नो पहाड घर सानो श्री गा.पं. वार्ड नं. ४ भएको बखत प्र.गगन बहादुर मेरो घरमा आई मेरो झगडा गाडी पञ्चायत वार्ड नं. ८ रगुबाबुरमा २–०–० जग्गा छ उक्त जग्गा मैले ३०,०००।– मा बिक्री गर्ने विचार गरेको छु लिने भए मलाई १०,०००।– अहिले दिनोस् बाँकी रु.२०,०००।– पछि लिई जग्गा पारीत गरी दिनेछु भनी १०,०००।– बुझिलिनु भएको थियो, पछि बुझ्दा निजको मगरा गा.पं.वार्ड नं. ८ मा जग्गा रहेनछ मेरो रुपैयाँ दिनुस् भन्दा कुनै जवाफ नदिएकोले मेरो ठगी गरिलिएको रु. १०,०००।– भराई सजायँ समेत गरिपाउँ भन्ने फिरादपत्र ।
३. २०३९ साल चैत्र २० गते वादीको घरमा गएको र मेरो मगडा गाडी गा.पं. वार्ड नं.८ मा जग्गा छ बेच्न चाहान्छु रु. १०,०००।– दिनोस् भनी मागी लगेको समेत होइन । २०३२ साल माघ ११ गते मेरो घरमा चोरी भएको सो चोरी मुद्दामा वादीले सरजमीन बकेका र मबाट रु.४००।– खसी खान मागेका थिए । मैले नदिएको हुनाले झुठ्ठा बनावटी मुद्दा दिएका हुन भन्ने प्रतिउत्तरपत्र ।
४. जग्गा खरीद गरी लिने दिने कुरामा जग्गा नहेरी कुनै लिखत कागजै नगराई वादीले प्रतिवादीलाई दश हजार रुपियाँ दिएको होलान् र प्रतिवादीले लिए भनी भन्न मिल्ने देखिएन वादी दावी पुग्ने ठहर्दैन भन्ने बर्दिया जिल्ला अदालतको फैसला ।
५. शुरु बर्दिया जिल्ला अदालतको कानुनी त्रुटिपूर्ण फैसला बदर गरी वादी दावी बमोजिम हक इन्साफ गरिपाउँ भन्ने उदयलाल शर्माको पुनरावेदनपत्र ।
६. प्रतिवादीले ठगी गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहर्याई गरेको शुरु बर्दिया जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने भेरी अञ्चल अदालतको फैसला ।
७. वादी दावीलाई वादीका साक्षीले समर्थन गरी बकपत्र गरेको हुँदा दावी बमोजिम ठगी ठहर्याउनु पर्नेमा ठगी नठहर्याएको दुई तहको फैसला गलत हुन आएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने उदयलाल शर्माको निवेदनमा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(३) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत म.प.क्षे.अ.को आदेश रहेछ ।
८. वादीका साक्षीको भनाइमा एकरुपता नभई भिन्नता आएको देखिएकोले समेत ठगी गरेकै हो भनी अन्य ठोस सबूद प्रमाण मिसिलबाट देखिन नआएकोले अञ्चल अदालतको फैसलामा कानुनी त्रुटी विद्यमान भएको नदेखिनाले सो फैसलालाई परिवर्तन गरिरहन परेन । इन्साफ भेरी अञ्चल अदालतको मनासिब छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.प.क्षे.अ.को मिति २०४२।१०।२० को फैसला रहेछ ।
९. भेरी अञ्चल अदालतको इन्साफलाई मनासिब ठहर गरेकोमा म.प.क्षे.अ.को इन्साफमा कानुनी त्रुटी समावेश भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको पर्न आएको निवेदनमा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालतको मिति ०४३।२।७ को आदेश रहेछ ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने तथा अधिवक्ता श्री शिवराज अधिकारी र विपक्षी प्रतिवादीको तर्फबाट बहसका लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहले गर्नु भएको बहस समेत सुनियो ।
११. प्रस्तुत मुद्दामा म.प.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१२. यसमा क्षेत्रीय अदालत समेतबाट दावी बमोजिम ठगी गरेको नठहर्याएकोमा वादीका दावीको कुरा वादीका साक्षीहरू तर्फबाट समर्थन भएको छँदै वादी दावी नपुग्ने ठहर्याएको नमिलेको भन्ने आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान भई विपक्ष समेत झिकाई पेश हुन आएको देखियो । पुनरावेदक तर्फबाट ठगीका १ नं. मा व्यवस्था भए बमोजिम नभएको कुरा विश्वासमा पारी आफ्नो हक नपुग्ने धनमाल रु. १०,०००।– बदनियतसाथ लिएकोले भन्ने कुरा ऐनमा भएका व्यवस्थाले मौकामा देख्ने जान्ने सुन्ने साक्षीहरूको बकाईबाट प्रमाणित गर्नु पर्ने सो बमोजिम प्रमाणित भएको छँदै दावी बमोजिम ठगी गरेको भनी आफ्नो फिरादमा लेखिदिएको छ। सो व्यहोराबाट वादीलाई ठगीको १ नं. मा व्यवस्था भए बमोजिम विपक्षीले विश्वास पार्ने किसिमको कुनै कार्य गरेको नभई खाली २ विगहा जग्गा छ किन्ने भए किन्नुहोस भनी सम्म भनेको यस्तो अवस्थामा देखाएको जग्गा आफू बसेकै पञ्चायतको हुँदा सो बमोजिम जग्गा छ छैन बुझ्दै नबुझी भन्नासाथ रु. १० हजारको रकम दिए होला भन्ने पत्यार लायक नदेखिने र वादीका साक्षीहरूको बकाई हेरिएमा पनि एक मिलानको भन्ने ३ जनाले विपक्षी प्रतिवादीले जग्गा दिन्छु भनेकोबाट रु. १०,०००।– दिएको भनी देखाए पनि यो यस ठाउँको जग्गा दिने भन्ने कुरामा आफूलाई जानकारी नभएको भनी देखाएको र रोहवरमा रहेका मानिसहरूको संख्यामा समेत एक मिलान नभई फरक फरक परेको देखिन आएको एकजना साक्षीले त वादी दावीको कुरालाई समर्थन नगरी प्रतिवादीले जग्गा किन्न भनी पैसा लिई गएको भनी देखाएकोबाट वादी दावीको कुरा वादीका साक्षीबाट पूर्ण रुपमा समर्थन भएको भन्न नमिल्ने अर्कोतर्फ प्रतिवादीका एकै जना साक्षीले भए पनि प्रतिवादीले देखाएको वारदातको दिनमा सो वारदात स्थलमा नभई प्र. जिकिर बमोजिम गुदरी बजारमा देखेको भनी बकेबाट वादी दावीको कुरा निसन्देह रुपबाट प्रमाणित भएको भन्न नमिल्ने हुँदा क्षेत्रीय अदालतको इन्साफ मनासिब हुनुपर्छ भन्ने समेत व्यहोराको जिकिर लिई बहस गर्नु भएकोबाट क्षेत्रीय अदालत समेतको इन्साफ मिले नमिलेको के रहेछ भन्नेतर्फ विचार गर्दा फिराद प्रतिउत्तर व्यहोरा तथा वादी प्रतिवादीको साक्षीहरूको बकाई समेत हेरिएमा वादी लेखबाट प्रतिवादीको जिकिर बमोजिम वादीलाई जग्गा किन्न ठगीको १ नं. मा भएको व्यवस्था बमोजिम कुनै व्यहोरासँग गफलतमा पारेको देखिन नआई जग्गा छ लिने भए रु. १० हजार ऐले दिनुहोस् भनी भनेको भन्ने सम्म देखाएको एकपटक यति भनेको आधारमा जग्गा छ छैन कस्तो छ सो को यकीन गर्नु बेगरै भन्नासाथ वादीका साक्षीका रोहवरमा रु. १० हजारको रकम गनी दिएको होला भन्ने वादीकै साक्षीको बकपत्रबाट समेत भन्न सकिने अवस्था नरहेको र वादीका साक्षीको बकाई पनि विपक्षी तर्फको जिरहमा देखाए बमोजिम आपसमा फरक परेको देखिन आएको यस स्थितिमा प्रतिवादीका १ जना साक्षीले मात्र भए पनि वारदातको समयमा वारदात स्थलमा नभई गुदरी बजारमा रहेको छ भनी देखाउँदा देखाउँदै पनि दावी बमोजिम ठगी गरेकै होला भनी निसन्देह रुपबाट भन्न सकिने अवस्था नदेखिएकोले इन्साफ म.प.क्षे.अ.को मनासिब ठहर्छ वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी उदयलाल शर्माके पुनरावेदन जिकिर पुग्न नसकी क्षे.अ.को इन्साफ मनासिब ठहरेकोले पुनरावेदन गरे बापत अ.बं.२०३ नं.बमोजिम शुरु जरिवानाको सयकडा पाँचले हुने रु. १२।५० जरिवाना हुन्छ निज वादीबाट असूल गरी आम्दानी बाँध्नु भनी शुरु जि.अ.मा पठाउन का.जि.अ.त.मा लगत दिनु..१ मिसिल नियम बमोजिम गरी बुझाई दिनु......२
उक्त रायमा म सहमत छु ।
न्या.बब्बर प्रसाद सिंह
इतिसम्वत् २०४४ साल आश्विन २८ गते रोज ४ शुभम् ।