निर्णय नं. ३०७ - अंश लिखत बदर

निर्णय नं.३०७ ने.का.प.२०२२
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर बिष्ट क्षेत्री
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री मिनबहादुर थापा क्षेत्री
न्यायाधीश श्री लोकराज जोशी
०२१ सालको दे.फु.नं.२४६
निवेदक : का.ई.बसन्तपुर बस्ने कल्याण जङ्ग पराक्रम शाहा
विरुद्ध
प्रतिवादी : ऐ. बस्ने चौ.छत्र जंग पराक्रम शाहाको सकारवाला गंगादेवी शाहा समेत
मुद्दा : अंश लिखत बदर
(१) अंश दिन नपर्ने भन्ने कुराको सबुद प्रतिवादीले गुजार्न सक्नु पर्ने । सबुदको अभावमा अंश दिन नपर्ने भन्न नमिल्ने ।
बण्डापत्रमा जगतप्रकास जंग हर्षकुमारी २ जनाको मात्र छुट्याउने अरुको गोश्वरै राख्नु परी छुट्याई रहनु नपर्ने भन्ने प्रष्ट लेखिएको हुँदा त्यसबाट वादीको भाग छुट्टिएको र वादीले अंश पाएको भन्ने देखिंदैन । वादीले अंश पाईसकेको भन्ने अरु एका सबुद प्रमाण प्र.क्षेत्रजंगले दिन सकेको मिसिलबाट नदेखिएको हुनाले समेत वादीले अंश पाउने बाँकी नै देखिन्छ ।
(प्रकरण नं.२०)
(२) वादीले अघि नै मानु छुट्टिएको भन्ने भएमा र प्रतिवादी समेतले फलाना सालमा मानु छुट्टिएको भन्ने भएमा अंश दाबीको अघिल्लो दिन देखि मात्र मानु छुट्टिएको भन्न नमिल्ने । अघिल्लो मितिनै कायम गर्नु पर्ने ।
वादीले पनि अघि देखिनै मानु छुट्टिएको भन्ने र अंश दिने बाबुले पनि अघिनै ०४।५ साल तिर छुट्याई दिएको भन्ने र त्यस्को अलावा साहुलाई ०१३ सालमा गरी दिएको पास भएको फार्छेमा यो छोरा वादी कल्याण जंगको घर भन्ने उल्लेख भएकोबाट पनि त्यो मिति भन्दा अगाडि नै छुट्टि बसेको देखिने भएकोले समेत जहाँसम्म यो बाबु र छोरको सम्बन्ध मानु छुट्टिएको मिति सम्बन्धी प्रश्न छ, त्यो बाबुले देखाएको खड्गनिसाना भएको मितिनै कायम गर्न मुनासिव देखिन्छ । त्यसो हुँदा तह तहका अदालतहरूबाट मानु छुट्टिएको मिति यो मुद्दा दायर भएको अघिल्लो दिन कायम गरी छिनेको मुनासिव देखिएन ।
(प्रकरण नं.२१)
मानो छुट्टि बसेको व्यक्तिलाई सगोलमै रही फार्छे गरी दिएको भन्ने तथ्य कुन अवस्थामा खम्विर हुन नआउने ।
सगोलमै रही दिए लिएको भन्ने साहु बालकृष्णको भनाई तर्फलाई पनि ०१३ साल कार्तिक १६ गते पास भएको फार्छे पत्र हेर्दा दक्षिण साधमा जगत प्रकाश जंग कल्याण जंगको घर भन्ने लेखिएकोबाट सगोलमा रहेको भन्ने वादीलाई फेरी दक्षिण साधमा देखाइ कसरी लिखत भएको हो । सगोल भए त्यसो हुन नपर्ने । उसमा पनि साक्षी राख्दा ऋणिका एकघरका स्वास्नी गंगादेवी र छोरा मदन जंग भन्ने जनिई साक्षी रहे बसेको देखिएको साक्षीमा वादी रहे बसेको पनि नदेखिएको हुनाले मानु छुट्टि बसेको वादीलाई सगोलमै रही फार्छे गरी दिए लिएको भन्ने साहु बालकृष्णको भनाई आफ्नो लिखतबाट खम्बिर हुन नआएको हुनाले समेत हक लाग्ने घर वादीको मन्जुरी बेगर फार्छे गरी दिए लिएको देखियो ।
(प्रकरण नं.२२)
निवेदक तर्फबाट : एडभोकेट सर्वज्ञरत्न
विपक्षी तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे ।
फैसला
१. बुबा चौ.छेत्र जंगको जेठी रानीतर्फ दाईज्यू दिदी, बैनी सेवक समेत जवान ४ जन्म भई मुमा परलोक भए पछि भुवन बिक्रम राणाको छोरी विवाह गर्नु भयो । कान्छी मुमा तर्फ २ छोरी जन्म भई कान्छि मुमा परलोक भयो । केटी हर्षकुमारी भित्रीनी तर्फ २ छोरी जन्मे पछि केटी रेगजीना भित्रीनी तुल्याई निज तर्फबाट ४ छोरा १ छोरी जन्म भएकोमा निजको १ छोरा परलोक भएपछि भित्रीनी रेगजीनाको भनाईमा लागि ०६ साल आश्विन महिनादेखि खान लाउन नदिई निकाली दिनु भयो । अंश पाउँ भनी निवेदन गर्दा आल टाल गरी भएभरको जग्गा जमिन श्रीसम्पत्ती सेवकलाई थाहै नदिई बन्धकी र अली फार्छे गरी सकी अंश लिने भए नालिस दिन जा नत्र अंश दिन्न भन्नु भएकोले सेवकको मन्जुरी बेगर घर जग्गा जमिन बन्दक बिक्री फार्छे गर्नु भएको बदर गरी ०९ साल आश्विन महिना देखि बण्डा नटुंगेसम्म माना चामल वा ०६ साल देखिको आयस्था र अंश समेत दिलाई भराई पाउँं भन्ने समेत चौ.कल्याण जंग पराक्रम शाहको बिन्तिपत्रमा बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी र व्यहोरा सांचो भए बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न ठाडै बुझी ऐन सवाल बमोजिम गर्नु होला भन्ने आदेश ।
२. रेकजिना भन्नेलाई फेरी अर्को भित्रिनी तुल्याउनु भयो । निजका गर्भबाट पनि सन्त भन्ने जेठो १ र अबिर भन्ने माहिला १ जन्म भएपछि निजका कुरा सुन्नु भई हामीहरूलाई ९८ साल कार्तिक १ गते देखि मानु चावल छुट्याई दिनु भयो । ०६ साल आश्विन १ गते देखि खान लाउन नदिई निकाला गरी दिनु भएको । दाई जेठो जगत प्रकाश जंग साहाले ०१ सालमा अंश गराई पाउँ भनी राणा सरकारमा निवेदन गरी पुरा भाग खाने बुबा छत्रजंग १ दाई जगत प्रकासजंग १ म कल्यान जंग १ जवान ३ र ६ खण्डे भाग खाने हर्ककुमारी १ निजका छोरा ४ जवान ६ समेत जम्मा अंशियार ९ कायम गरी साल ४।५ सालमा कुन सालमा हो, दाजैज्यू जगत प्रकाश शाहाले पुरा भाग अंश पाउने गरी खड्गनिसानाको बण्डापत्र भई दाई र ६ खण्डे भाग खाने हर्ककुमारी छुट्टिएको ९४ सालको बण्डापत्र झिकाई अंश लिईसकेकाहरूको अंश कटाई व्रतबन्ध विवाह खर्च छुट्याई मानु छुट्टिएको ९८।७।१ गतेका अघिल्लो दिनसम्म तायदाती लिई मैले पाउने अंश दिलाई मेरो मन्जुर बेगर घर जग्गाहरू बन्धकी फार्छे गरी दिनु भएको भन्ने सुनेकोले थैली मिति थाहा नभएको ककसलाई दिएको हो, सो निजैबाट खुलाई बदर गराई पाउँ भन्ने समेत कल्याण जंगको बयान ।
३. साल मिति याद भएन सरकारबाटै कारिन्दा खटाई बण्डा भएको । त्यसकारण वादीको अंश भाग छुटेको । निजको भाग निजैको हक भोगमा छंदैछ । मेरो भागमा परेको घरका यी झोंछे टोल बस्ने साहु बालकृष्ण श्रेष्टलाई मो.रु ६०००१।मा ०१३ साल कार्तिक १६ गते रोज ५ मा पास भएको सक्कल फार्छे निज बालकृष्णसंग छ । सो फार्छेको ४ किल्लाबाट पनि वादीको घर छुट्टै देखिन्छ । वादी दावी बमोजिम निकाला समेत गरेको कुनै कुरा होइन । निजलाई अंश दिनु पर्ने समेत छैन । दोहरो अंश दिई रहन नपर्ने हुँदा वादी दावी झुठा हो भन्ने समेत छत्र जंग पराक्रम शाहको वा.राधाकृष्ण झाको बयान ।
४. छत्रजंग पराक्रमसंग बसन्तपुरको घर रु.६०००।मा ०१३ साल कार्तिक १६ गतेमा फार्छे गरी मैले लिएको छु । बाबु छोरा मिली यो उजुर गर्ने गराउने प्रबन्ध मिलाई उजुर गरे गराएको हुन र यस किसिमका उजुरीबाट बदर हुने समेत छैन । बाबु छोरा सगोलमा रही फार्छे गरी दिए लिएको व्यहोरा सदर गरी पाउँ भन्ने समेत बालकृष्णको बयान ।
५. अंश दिएको सबुद प्र.छत्रजंग पराक्रम साहले सबुद दिएको नदेखिएकोले ०१४ साल फाल्गुण १६ गते मानु छुट्टिएको मिति कायम गरी सो अघिल्ला दिन फाल्गुण १५ गतेसम्मको तायदाती लिने ठहराई पर्चा भएको । सो बमोजिम तोकिएकोमा वादीले मेरो जिम्मा केही छैन भनी तायदाती दिएको र प्रतिवादीले श्री सम्पत्तीको तपसील बमोजिम बिगो रु. ६५१११।९ र ऋण ने.रु.१५८३७।६३।१ छ भनी तायदाती दिएको र दुबै थरका तायदातीबाट विवाह खर्च पर सार्नु पर्ने । वादी १ र ल्याइते रेग्जीना भन्ने गंगादेवी तर्फका छोरा मदनजंग १ अनन्त जंग आ. जं १ छोरी चित्रकुमारी १ हिरन्यकुमारी १ समेत ज्वान ५ देखिएकोले सो मध्ये अंशबण्डाका ६।३६ नं. का ऐन बमोजिमका दर्ले निजहरू जबान ५ को विवाहा खर्च पर सार्नु पर्ने नेरु. ५५८०।६५ कट्टा गरी बाँकी श्री सम्पत्तीको बिगो नेरु. ५९५३०।१४ ऋण नेरु. १५८३७।६३।१ मध्ये अंशबण्डाका ६ नं. का ऐन बमोजिम वादी विवाहिता तर्फका हुँदा श्री सम्पत्तीको बिगो नेरु.२३१५०।६३ ऋण नेरु. ६१५९।८२ को र प्र.छत्रजंगलाई पनि सोही बमोजिम पुरै भाग र ल्याइते तर्फलाई सोही ऐनले ७ को १ का हिसाबले श्री सम्पत्तीको बिगो ने.रु. ३६३७९।५१ ऋण नेरु. ९६७८।५४।३ पाउने गरी आजैका मितिमा बण्डापत्र खडा भएकोले सो बण्डापत्र बमोजिमको वादीले अंश पाउने ठहर्छ । लिखत बदर गरी पाउँ भन्ने दावा पुग्न सक्तैन भन्ने समेत रा. का.देवानी अदालतको फैसला ।
६. मानु छुट्टि सके पछि एक अंशियारले मात्र बिक्री बन्धकी गरेको सदर गरी ऋण सबै ब्यहोर्नु पर्ने गराई गरेको पर्चा फैसला बदर गरी पाउँ भन्ने समेत कल्याणजंगको अपील ।
७. ९४ सालमा बाबुले अंश पाए । सो बण्डापत्र बमोजिम तायदाती दिएको नभए दपोटमा ऐन बमोजिम वादीको उजुर लाग्ने नै र लिखत बदर तर्फ वादी सगोलै बसेको देखिने र छुट्टिएकै भए पनि अंशबण्डाका ३८ नं. ले आधिसम्म बाबुले खर्च गर्न पाउनेमा पनि वादीले साहु असामिका ६।८ नं. का म्याद भित्र उजुर गर्नु पर्ने । सो नगरेकोबाट समेत इन्साफ शुरु रा. का.दे.प. को मुनासिव भन्ने समेत अपील दोश्रोको फैसला ।
८. रु.६०००१। को लिखत समेत बदर गरी हक इन्साफ पाउँ भन्ने समेत कल्याण जंगको अपील ।
९. ०१४ साल फाल्गुण १६ गतेबाट मानु छुट्टिएको मिति कायम गरी तायदाती लिई बण्डा गर्ने गरेको र ०१३ साल कार्तिक १५ मा बालकृष्णलाई छत्रजंगले गरेको राजिनामा सा.अ. का ८ नं. का म्यादभित्र वादीले उजुर गरी आफ्नो हक कायम गर्न नसकेकोबाट सो राजिनामा सगोलमा गरेको ठहराएको शुरु रा. का.दे.पै. को इन्साफ सदर गरी अपील दोश्राले छिनेको मुनासिव छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।
१०. लिखत बदर भई इन्साफ पाउन मुद्दा दोहर्याई पाउँ भन्ने समेत कल्याण जंगको निवेदन आदेश ।
११. व्यहोरा सांचो भए पिता पूर्खाका पालाको आर्जन पैत्रीक सम्पत्ती हुने हुनाले त्यस्तो पैत्रीक सम्पत्ती निवेदकको मन्जुरी नली बिक्री गरेको सदर हुन्छ, हुन्दैन त्यस्को निर्णयलाई दोहर्याई हेर्ने निस्सा गरिदिएको छ भन्ने समेत माननीय प्रधान न्यायाधीश ज्यूको आदेश ।
१२. यस्मा प्रतिवादी छत्रजंग पराक्रमले पाएको भनी वादीले लेखेको ९४ सालको बण्डापत्र मिसिल सामेल रहेको नदेखिएकोले सो बण्डापत्र र बिक्री भएको घर पुर्खौली आर्जन हो भन्ने अन्य सबुद प्रमाण भए सो समेत ७ दिन भित्र दाखिल गर्न ल्याउनु भनी निवेदक, वादीलाई तारेख तोकी दाखिल गराई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत फुल बेञ्चको आदेश ।
१३. प्रस्तुत मुद्दामा भएका ०१९।९।३ गतेका आदेशानुसार ९४ सालको बण्डापत्र लिई आउनु भनी निवेदकलाई तारेख तोकिएकोमा बुबाको साथमा रहने गंगादेवी साहनीसंग भएकाले बुझी पाउँ भनी दरखास्त दिएकोले उक्त ९४ सालको बण्डापत्र लिई आउनु भनी गंगादेवी साहनीलाई ७ दिने म्याद दिई बण्डापत्र झिकाई आएपछि पेश गर्नु भन्ने फुल बेञ्चको आदेश ।
१४. सर्वोच्च अदालत संशोधन नियमावली ०१८ को नियम ६३ को उपनियम ४ मा डिभिजन बेञ्चले गरेको फैसलामा अन्याय भएको वा गैरकानूनी भएको भन्ने प्रधान न्यायाधीशलाई लागेमा निजले त्यसरी अन्याय भएको वा गैरकानूनी भएको भन्ने आफूलाई लागेको कुरा उल्लेख गरी त्यस्को निस्सा दिए फुल बेञ्चले एक पटक मात्र दोहोर्याउनु हुन्छ भन्ने उल्लेख भएकोले सो बमोजिम अन्याय वा गैरकानूनी लागेको भन्ने उक्त आदेशमा नदेखिनाले उक्त नियम अनुरुप निस्सा भएको भन्न मिलेन । हु.प्र.बाट दोहरिएको भनेमा माथि लेखिए बमोजिम प्रधान न्यायाधीशबाट दोहरिने आदेश भएकोले सो कुरा पनि निवेदन व्यहोरा मिलेको नदेखिएको । त्यस्मा पनि म्याद थामि ऐन बमोजिम इन्साफ गरी दिनु भन्नेसम्म हुकुम प्रमांगी बक्स भएको । दोहर्याई दिनु भन्ने वा इन्साफ जाँची दिनु भन्ने किटानी हुकुम प्रमांगी बक्स भएको पनि नदेखिएको । दोहरिने भएको माननीय प्रधान न्यायाधीश ज्यूको आदेश नै उक्त माथि लेखि बमोजिम नियम अनुरुप नदेखिएको हुनाले प्रस्तुत मुद्दा दोहर्याई इन्साफ गर्न मिल्ने भन्ने समेत सर्वोच्च अदालत फुल बेञ्चको आदेश ।
१५. मुद्दा दोहर्याई पाउँ भन्ने समेत कल्याण जंग पराक्रम साहको बिन्तीपत्र ।
१६. तो.नं.५० को बिन्तीपत्रमा व्यहोरा सांचो भए राजदरावर प्रमुख सचिवालयको नं.७९। डा,अ, १।०२१ को पत्रमा लेखिए बमोजिम गर्नु गराउनु भनी लेखि पठाई दिनु भन्ने हुकुम बक्सेको छ भनी श्री ५ माहाराजाधिराजका प्रमुख सचिवालय नं.१७ (न्या.सं.) ०२१ मिति ०२१।४।२०।३ मा लेखिएको र उक्त ७९ दा अ, १।०२१ को पत्रमा ०२३ संशोधन नियम ६३।४ अनुसार प्रधान न्यायाधीशले दोहर्याउने आदेश दिएकोमा खारेज गरी सकेको पनि सबै पुनः जगाई हेरी ऐन नियम बमोजिम दोहर्याई हेर्नु भनी लेखि पठाई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने समेत उल्लेख भएको व्यहोरा र बिन्तीपत्रको व्यहोरा समेत पेश भयो । यसमा व्यहोरा सांचो भए बक्स भई आएका हुकुम प्रमांगी बमोजिम दोहर्याई हेर्न प्रस्तुत केश लगतमा दर्ता गरी दुवै पक्षलाई राखी नियम बमोजिम फुल बेञ्चमा पेश गर्नु र यस्को अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपी जाहेर गर्न श्री ५ माहाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने समेत माननीय न्यायाधीशज्यूको आदेश ।
१७. यसमा मेरो हकको घर जग्गा बिक्री बन्धक गरेको लिखत बदर गरी पाउँ भनी वादी हर्ष कुमारीले प्रतिवादी छत्र जंग पराक्रम साहा उपर दिएको अंश लिखत बदर मुद्दाको ०१५।५।१२ मा दे.दो.बाट छिनिएको मिसिल र चौ.छत्र जंग पराक्रम शाहाबाट अंश दिलाई पाउँ भन्ने चौ. जगतप्रकारजंश शाहा चौ.हर्ष कुमारीहरूको उजुर परी निजहरूको बण्डा छुट्याई दिई ०५।८।२।४ मा खड्गनिसाना भई जनिएको अंश मुद्दाको मिसल समेत अ.त.मिसिल फांटमा जहां छ, लेखापढी गरी प्रमाण निमित्त झिकाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत फुल बेञ्चको आदेश ।
१८. चौ.प्र.छत्रजंग पराक्रम साहा मरी मुद्दा सकार गर्ने गंगादेवी साहाले तारेख गुजारी बसेको तारेखमा रहेको वादी निवेदक चौ.कल्याण जंग पराक्रम शाहालाई र साहु बालकष्ण श्रेष्ठको वारेस राधा कृष्ण लाल झालाई रोहवरमा राखी निवेदक तर्फबाट रहनु भएको विद्वान वकील एडभोकेट सर्वज्ञरत्नले र विपक्ष साहु बालकृष्ण श्रेष्ट तर्फबाट रहनु भएको विद्वान वकील एडभोकेट कृष्णप्रसाद घिमिरेले गरेको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा मानो छुट्टिएको मिति कुन कायम हुने हो र साहु बालकृष्णले फार्छे गरी लिएको घरमा वादीको भाग जति लिखित सदर बदर के हुने हो, सो कुराको निर्णय दिनु पर्ने हनु आएको छ ।
१९. प्रमाण मिसिल सामेल रहेको जगत प्रकाश जंगको उजुर परी ०५ साल मार्ग २ गते खड्गनिसाना गासिएको ०५।५।१।२ को बण्डापत्रमा अनाथका भाई १ बहिनी २ म समेत हामी चार जनालाई खाना लाउनामा समेत सिकिस्त पारी राखिए पनि दुःख सही बसकै थियौं । हाल यहि ०१ साल भाद्र महिनादेखि खान लाउन र घरमा समेत बस्न नदिएको भन्ने जगत प्रकाश जंगको भनाई भएको र जगत प्रकाश जंग १ हर्षकुमारी १ जना २ को मात्र छुट्याउन परेबाट अरुको नाउँ भाग खुलाई रहनु नपरी गोश्वरै राख्नु पर्नेहरूको बाहेक भन्ने समेत उल्लेख भएको र धनी बालकृष्ण श्रेष्ट ऋणी छत्रजंग भएको रु.६०००१। को ०१३।७।१६मा रजिष्ट्रेशन पास भएको फार्छे पत्रमा ऋणीका एकाघरसंगका स्वास्नी गंगादेवी र छोरा मदन जंग भन्ने जनाई साक्षी रहेको पनि देखिन आयो ।
२०. अंश दिलाई पाउँ भन्ने समेत वादी ०४।५। साल के मा हो, अड्डैबाट खटी आई यो वादीको हकमा समेत अंशबण्डा भई खड्गनिसाना समेत भईसकेको अंश दिइ रहन नपर्ने भन्ने प्र.छत्र जंग भएकोमा उक्त ०५ साल मार्ग २ गते खड्गनिसाना भई बण्डा भएको बण्डापत्रमा जगत प्रकाश जंग हर्षकुमारी जना २ जनाको मात्र छुट्याउने अरुको गोश्वरै राख्नु परी छुट्याई रहनु नपर्ने भन्ने प्रष्ट लेखिएको हुँदा त्यसबाट वादीको भाग छुट्टिएको र वादीले अंश पाएको भन्ने देखिंदैन । वादीले अंश पाईसकेको भन्ने अरु एका सबुद प्रमाण प्र. छत्र जंगले दिन सकेको मिसिलबाट नदेखिएको हुनाले समेत वादीले अंश पाउने बाँकी नै देखिन्छ ।
२१. अब मानो छुट्टिएको मिति कुन हो भन्ने तर्फलाई ९८ साल कार्तिक १ गते देखि मानो चावल छुटाउन लाउनु भएको भन्ने वादी ०४।५ साल के मा हो ? अंशबण्डा भईसकेको भन्ने प्रतिवादी भएकोमा वादीका भनाई बमोजिम ९८ सालमा मानु छुट्टिएको भए त्यसको केही सबुद प्रमाण पेश हुन आउनु पर्ने नआएको । माथि उल्लेख गरिए बमोजिम निजको दाजु जगत प्रकाश जंगले उजुर गर्दा यो वादी समेतको भाई बैनीलाई खान लाउनमा समेत सिकिस्त पारी राखिए पनि दुख सही बसेकै थियौं । यहि भदौ महिना देखि खान लाउन र घरमा समेत बस्न नदिएको भन्ने भनाईबाट पनि त्यो भन्दा अगाबै मानु छुट्टि बेगल बसको कुरा समर्थन हुन नआएको । अब सो पछि ऐनको रीत बमोजिम पास भएको मानु छुट्टिएकै कागज पेश दाखिल हुन नआए पछि यो अंशमा दाबी गरी मुद्दा परेको अघिल्लो दिन मानु छुट्टिएको मिति अड्डा अड्डाबाट कायम भई रहेको मुनासिवै हो कि भन्नालई अंश खोज्नै वादीले पनि अघि देखि नै मानु छुट्टिएको भन्ने र अंश दिने बाबुले पनि अघि नै ०४।५ साल तिर छुट्याई दिएको भन्ने र तेस्को अलावा साहुलाई ०१३ सालमा गरी दिएको पास भएको फार्छेमा यो छोरा वादी कल्याण जंगको घर भन्ने उल्लेख भएकोबाट पनि त्यो मिति भन्दा अगाडी नै छुट्टि बसेको देखिने भएकोले समेत जहांसम्म यो बाबु र छोराको सम्बन्ध मानु छुट्टिएको मिति सम्बन्धी प्रश्न छ, त्यो बाबुले देखाएको खड्गनिसाना भएको मिति नै कायम गर्न मुनासिव देखिन्छ । त्यसो हुँदा तह तहका अदालतहरूबाट मानु छुट्टिएको मिति यो मुद्दा दायर भएको अघिल्लो दिन कायम गरी छिनेको मुनासिव देखिएन ।
२२. मेरो मन्जुरी बेगर घर जग्गा बन्धकी फार्छे गरी दिनु भएको भए बदर गरी पाउँ भन्ने वादी । वादीका अंश भागको कुनै पनि मैले बिक्री बन्धक समेत गरी दिएको छैन । मेरै हक भोगको चिज बिक्री फार्छे गरेको भन्ने छत्र जंग र बाबु छोरा सगोलमा रही फार्छे गरी दिए लिएको सदर गरी पाउँ भन्ने साहु बालकृष्ण भएकोमा ०५ साल भादै १ गतेको बण्डापत्रमा जगतप्रकाश जंग साहा १ चौ.हर्षकुमारी १ जना २ को मात्र छुट्याउनु । अरुको गोश्वरै राख्नु परी छुट्याई रहन नपर्ने भन्ने उल्लेख भएकोबाट वादीको भाग छुट्टिएको नदेखिइ गोश्वरै रहेको देखिएको हुनाले मेरै अंश भोगको चिज फार्छे गरेको भन्ने प्र.छत्र जंगको जिकिर पुग्न सक्ने देखिएन । अब सगोल मै रही फार्छे गरी दिए लिएको भन्ने साहु बालकृष्णको भनाई तर्फलाई पनि ०१३ साल कार्तिक १६ गते पास भएको फार्छे पत्र हेर्दा दक्षिण साधमा जगत प्रकाशजंग कल्याण जंगको घर भन्ने लेखिएकोबाटसँगेलमा रहेको भनेको वादीलाई फेरी दक्षिण साधमा देखाई कसरी लिखत भएको हो ? सगोल भए त्यसो हुनै नपर्ने । उसमा पनि साक्षी राख्दा ऋणीका एकाघरका स्वास्नी गंगादेवी र छोरा मदन जंग भन्ने जनिई साक्षी रहे बसेको भनी नदेखिएको हुनाले मानु छुट्टी बसेको वादीलाई सगोल मै रही फार्छे गरी दिए लिएको भन्ने साहु बालकृष्णको भनाइ आफ्नो लिखतबाट खम्वीर हुन नआएको हुनाले समेत वादीको समेत हक लाग्ने घर वादीको मन्जुरी बेगर फार्छे गरी दिए लिएको देखियो ।
२३. ०१३ साल कार्तिक १६ गते फार्छे लिखत पास भएको । ०१४।८।१३ मा उजुर परेको हुँदा हदम्याद भित्र परे नपरेको के हो ? भन्ने तर्फलाई ०२०।४।१५।३ मा हुकुम प्रमांगीबाट म्याद पनि थामी सकेको देखिएकोले समेत चौ.छत्रजंग पराक्रम साहबाट साहु बालकृष्णले फार्छे गराई लिएको घर मध्ये वादीको अंश भागमा पर्ने जति घर मध्ये वादीको अंश भागमा पर्ने जति घरका हकमा तत्काल प्रचलित साहु असामीका ८ नम्बरले फार्छे बदर हुने ठहर्छ । सो बदर हुने जतिको दामासाहीले हुन आउने थैली साहु बालकृष्णले असामी चौ.छत्रजंग पराक्रम साह मरी मुद्दा सकार गर्ने गंगादेवी शाहबाट कपाली सरह दाबी गरी भराई लिन पाउने हुँदा शुरु देवानी अपील फाँट र सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ केही मिलेको देखिएन अरु देहाएका कलममा देहाए बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम मानु छुट्टिएको मिति ०५।८।२ गते कायम भएकोले त्यस्को अघिल्ला दिनसम्मको काठमाण्डौ जिल्ला अदालतबाट दुबै पक्षलाई झिकाई कानून बमोजिम गरी तायेदाती लिई त्यसबाट र साहु बालकृष्णको लिखतमध्ये बदर भएको वादीको भाग घर समेत कानूनको रीत पुर्याई लाग्ने दस्तूर लिई बण्डा छुट्याई वादीलाई दिलाई दिन त्यसको लाग्ने कोर्ट फी प्र.चौ.छत्र जंग पराक्रम साहको सकारवाला गंगादेवी शाहबाट कानून बमोजि असूलउपर गरीलिनु भनी लगतदिन समेत शुरु मिसिल काठमाण्डौ जिल्ला अदालतमा पठाई दिनु ...............................१
माथि १ दफामा लेखिए बमोजिम हुने भएकोले देहायको लगत काटिदिनु भनी लगत दिने ...२
वादीले प्रतिवादीबाट पाउने अंशको बिगो २३१५०।६३ को स का ५९ दफा बमोजिम सयकडा २। दस्तूर लिई वादीलाई छुट्याई दिन बिगो फांटमा लगत दिने भन्ने समेत रा का दे पै का ०१६।२।२५ को फैसलामा लेखिएको वादीले प्रतिवादीबाट पाउने ठहरेको श्री सम्पत्तीको बिगो रु.२३१५०।६३ को का.स. का.११ दफाले जम्मा लाग्ने कोर्ट फी रु.९७६।२ मध्ये वादीबाट आएको रु.१०। कटि गरी बाँकी रु.९६६।२ असूल हुन सके प्रतिवादीबाट र नसके वादीबाट लिने भनी ऐनज अड्डाको ऐजन मितिको फैसलामा लेखिएको कलम
वादी कल्याण जंग के ऐनज अड्डाका ऐजन मितिका फैसलाले लिखत बदर तर्फको रु.५।अंश तर्फको रु.१०।शुरु उपर अपील गर्दा राखेको कोर्ट फी रु.।५० र सर्वोच्च अदालतमा अपील गर्दा राखेको रु.।२५ समेत जम्मा रु.१५।५० प्रं.छत्र जंगको सकारवाला गंगादेवी साहबाट भरी पाउँ भनी दरखास्त परेमा कानून बमोजिम गरी भराउ गरी दिनु भनी लगत दिने ...........३
केही उल्टीमा रा.का.पै.का र अपील दोश्राका उस बखतका हाकिमहरू हाल बहाल नरहेकोले केही गर्न नपर्ने ..................................४
नियम बमोजिम रेकर्ड मिसिल बुझाइदिनु ........................५
इति सम्वत् २०२२ साल पौष १६ गते रोज ६ शुभम् ।