शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२३३ - कर्तव्य ज्यान

भाग: २९ साल: २०४४ महिना: माघ अंक: १०

निर्णय नं. ३२३३     ने.का.प. २०४४      अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४३ सालको फौ.पु.नं. ५६९, ५७९, ४२४

सम्वत् २०४४ सालको फौ.सा.नं. १३८

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी:जि.इलाम आपचोक गा.पं.वार्ड नं.८ मा घर भै हाल वीरगंज कारागारमा थुनामा बस्ने चन्द्र बहादुर कार्की ।

ऐ.ऐ घर भै हाल का.जि.का. शाखा काठमाडौं थुनामा रहेका वीर बहादुर बस्नेत ।

ऐ.ऐ घर भै हाल जि.का.का. शाखा पर्सामा थुनामा रहेका शेर बहादुर खड्का ।

विरुद्ध

विपक्षी/वादी: यमबहादुरको जाहेरीले श्री ५ को सरकार ।

फैसला भएको मिति: २०४४।५।१०।४ मा

     प्रतिवादी शेर बहादुरले मृतक गोपालको घाँटी समाती प्र. चन्द्र बहादुरले पेटमा मुक्काले हिर्काई र अर्का प्रतिवादी वीर बहादुरले सन्डीमा समाती मृतक गोपालको कर्तव्य गरी मारेको देखिँदा प्र.शेर बहादुरलाई ज्या.सं. को १३(१) नं. अनुसार सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादीहरूलाई ज्या.सं को १३(३) नं. बमोजिम जन्मकैद गर्ने ठहर्‍याएको शुरुको सदर गरेको पू.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ ।

 (प्रकरण नं. २३)

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री रमेशविक्रम कार्की

विपक्षी,वादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्र केशरी बास्तोलाः पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन तथा साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    ०४०।२।१२ गते फुङविङमा मेला बजार लाग्ने हुँदा सो मेलामा भाइ नाता पर्ने गोप खड्का गएका  थिए । मेला भरी घर आउनु पर्नेमा नआएकोले खोज्दै जाँदा मेलादेखि ५ मिनेटको बाटो घर जङ्गलमा फाली राखेको बुझिएको हुँदा कारवाही गरिपाउँ भन्ने जाहेरी दर्खास्त ।

३.    गोपाल खड्कालाई कर्तव्य गरी मारेको ज्यान मुद्दामा पोल परेका अभियुक्त शेर बहादुर खड्का, चन्द्र बहादुर कार्की, वीर बहादुर बस्नेत समेतलाई पक्राउ गरी घटनास्थलमा लगी पक्राउ परेका अभियुक्तहरूलाई डोर मुकाममा दाखेल गरेको छु । कानुन बमोजिम कारवाही होस् भन्ने संयुक्त प्रतिवेदन ।

४.    फुङलिङ मेला लाग्ने हुँदा म एक्लै गएँ । मेलामा गाउँकै लाल बहादुर दाहाल वीर बहादुर बस्नेत र चन्द्र बहादुर समेत भई रातभर नाचगान गरी घर फर्कदा भक्तबहादुरको गोठमा मृतक गोपाल सुतिरहेको देखि घर जाउँ भनी उठाउँदा उठी म र वीर बहादुर चन्द्र बहादुर घरतर्फ आयौं । घटनास्थलमा करिब बिहान ४ बजेको थियो होला म र वीर बहादुर चन्द्र बहादुर समेत गोपाललाई फुङलिङ मेलामा मार्नु पर्छ भन्ने सल्लाह गरेका थियौं । लाल बहादुरले पनि मार्नु पर्छ भनेको थियो । डायस खेल्दा लाल बहादुरले गोपाललाई मार्नु पर्छ भनेको थियो घटनास्थलमा आइपुगेपछि मैले घाटीमा समातें, वीर बहादुरले लिंगमा समात्यो । चन्द्र बहादुरले मुडकी र घुस्सीले पेटमा हान्यो र गोपाल लडेपछि मैले खुट्टा समाएँ वीर बहादुरले सिर अठ्याई रुखको डिलबाट तल झारी दिए । गोपालको जिब्रो झिकेको हुँदा जिब्रो मुखभित्र घुसारेको हो । मलाई घाँस चोर दोष लगाएका हुनाले सोही रिसइवीबाट मारेको हुँ, मार्नमा हामी बाहेक अन्य कोही मतियार छैन भन्ने व्यहोराको प्र.शेर बहादुर खड्काले डोरमा गरेको कागज ।

५.    ८।१० दिन अगाडिदेखि गोपाललाई मार्ने सल्लाह गरेका थियौं । मेलाबाट घटनास्थलमा आई पुगेपछि शेर बहादुरले घाटीमा निमोठे मैले लिंगमा समातें चन्द्र बहादुरले बंक्सिङले पानीपेटमा हिर्काएपछि गोपाल लड्यो, मैले र शेर बहादुर भई रुखको डिलबाट तल झारिदिएका हौं । गोपाललाई मार्नमा हामी बाहेक अरु कोही छैन भन्ने प्र. वीर बहादुरले डोरमा गरेको कागज ।

६.    मेलामा शेर बहादुरले गोपाललाई मार्न भनी उठाई ल्याए । घटनास्थलमा आई शेर बहादुरले गोपालको घाँटीमा र वीर बहादुरले लिंगमा समात्यो मैले बक्सिङले भूडीमा हिर्काउँदा गोपाल लड्यो शेर बहादुर र वीर बहादुरले तल फ्याली दियौं । गोपालसँग रिसइवी कुनै थिएन । शेर बहादुरको बहकाउमा लागी मारेको हो । मार्नमा अरुको सहमत छैन भनी प्र.चन्द्र बहादुर कार्कीले डोरमा गरेको कागज ।

७.    गोपाललाई मार्नु पर्छ भनी मैले शेर बहादुरलाई भनेको छुइन, किन के कारणबाट मलाई पोले उनै जानुन् म निर्दोष छु भन्ने प्र. लाल बहादुरले डोरमा गरिदिएको कागज ।

८.    शेर बहादुरले म र चन्द्र बहादुर वीर बहादुर समेत भई मारेका हौं भनी सावित भई लाश समेत देखाई दिएको हुँदा मृतक गोपाललाई मार्ने शेर बहादुर, वीर बहादुर र चन्द्र बहादुर समेत ३ जनाले नै कर्तव्य गरी मारेका हुन लाल बहादुर मेला शुरु भएदेखि अन्त्यसम्मनै मेला बजारमा रोटी चियाको दोकान गरी बसेको हुँदा लाल बहादुरले गोपाललाई कर्तव्य गरी मारे मराएमा शंका लाग्दैन भन्ने समेत ०४०।२।१९ को सरजमीन मुचुल्का ।

९.    शेर बहादुर समेतका परिवारले मलाई लुटपिट गरी विष खुलाई मार्छु भन्ने हल्ला गरी हिडेका र मेरो घरबाट बराबर रुपैयाँ समेत चोरी हुने गरेको यी सम्पूर्ण कार्यकलाप शेर बहादुर कै हात रहेको मृतक गोपाल मेरो सौताको छोरा हो मेरो छोरा छोरी नभएको हुँदा निजलाई मातृत्व स्नेह दिदै आएकिमा नाबालख छोरा १४ वर्षको गोपाललाई शेर बहादुर समेतका प्रतिवादीहरूले मारी सकेकोले अपुताली पारी धनसम्पत्ति खान यस्तो अपराध गरेका हुन, लाल बहादुर कर्तव्यमा  छैन भन्ने मृतक गोपालको सौतेनी आमा मनमायाले ०४०।२।१९ गते सरजमीन डोरमा गरेको कागज ।

१०.    शेर बहादुरले घाँटी अठ्याएको कारणबाट गोपालको मृत्यु भएको प्रष्ट भएकोले अभियुक्त शेर बहादुरलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैद र मद्दत गर्ने वीर बहादुर, चन्द्र बहादुरलाई जन्मकैद हुन अनुरोध गरिन्छ भन्ने प्रहरी प्रतिवेदन ।

११.    मृतकलाई लाल बहादुरको दोकानबाट उठाई घरतर्फ ल्याई घटनास्थलमा एकान्त ठाउँमा आइपुगेपछि मृतकलाई घाँटीलाई दुवै हातले अठ्याएपछि वीर बहादुरले सन्डीमा समाई अँठ्यायो चन्द्र बहादुरले भुडीमा घुस्साले हान्यो ५ मिनेट जति घाँटी समातेपछि छाड्दा निज मरिसकेको रहेछ मरिसकेपछि भिरको ठुटोमा अडाई राखी दिएको हो निजलई म र वीर बहादुर चन्द्र बहादुर समेत ३ जना भई मारेको हो हामी ३ जना बाहेक अरु कोहिसंग मतसल्लाह भएको छैन भन्ने समेत व्यहोराको ०४०।२।२४ को प्र.शेर बहादुर खड्काले अदालतमा गरेको बयान ।

१२.   शेर बहादुर खड्काले मृतकलाई मार्न पर्‍यो मद्दत देउ भनी तिमीहरू २ जनालाई रु. ३०।दिन्छु आउने फुङसिं मेलामा मार्न पर्दछ भनी १० दिन अगाडि भनेको थियो, ज्येष्ठ १२ गते मेलामा चन्द्र बहादुर, शेर बहादुर समेत संगभेट भयो, मेलामा बसी रात सकिने बेला बिहान ४ बजेतिर शेर बहादुरले भने मृतक घर जाने भनी म उठाएर ल्याउँछु बाटोमा मार्ने भनेर उठाई ल्याए एकान्त ठाउँ घटनास्थल आइपुगेपछि हामीलाई पनि समात भनेर निज शेर बहादुरले, भूडीमा लातले हिर्कायो घाँटीमा अठ्याएको ५ मिनेट पछि मृतक गोपाल मरेको हो प्रहरीको अभियोग सुनाउँदा सुनें म समेत ३ जना भई मृतकलाई कर्तव्य गरी मारेको हो भन्ने समेत प्र.वीर बहादुरले अदालतमा गरेको बयान ।

१३.   ०४०।२।१२ गते फुङर्सि मेलामा पुगी रातभर हेरी ज्येष्ठ १३ गते उज्यालो हुने बेलामा शेर बहादुरले घाँटी अठ्याई मृतक गोपाललाई मारेको हो निज शेर बहादुरले मद्दत मागेकोले मैले १ पटक भूडीमा मुडकीले हिर्काएको हुँ मृतकलाई मार्नेसम्मको मेरो र मेरो परिवारमा कुनै रिसइवी छैन प्रहरीको कागज सुने खुसीराजीले गरिदिएको कागज हो मृतक गोपाललाई हामी ३ जनाले मारेको हो । अरु कोहि छैन भन्ने समेत प्र.चन्द्र बहादुरले अदालतमा गरेको बयान ।

१४.   मृतक गोपाललाई शेर बहादुर समेत ३ जनाले नै मारेकै हुन् । निजलाई मार्न पर्ने कारण के थियो । मलाई थाहा छैन, सो १२ गते दिन र रातमा समेत शेर बहादुरसँग मेरो घेटघाटनै नभएको हुँदा निजले मार्नु पर्छ भनी भनेको समेत होइन भन्ने समेत लाल बहादुरले अदालतमा गरेको बयान ।

१५.   मृतक गोपाललाई यिनै प्रतिवादी शेर बहादुर, वीर बहादुर र चन्द्र बहादुर समेत ३ जनाले नै कर्तव्य गरी मारेको हुँदा निजहरूलाई कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने जाहेरवालाले अदालतमा गरेको बकपत्र ।

१६.    गोपाललाई यिनै प्रतिवादी ३ जनाले नै कर्तव्य गरी मारेका हुन् निज ३ जना बाहेक अरु कुनै उपर शंका लाग्दैन भन्ने गवाह मनमाया खड्काले अदालतमा गरेको बकपत्र ।

१७.   प्रहरी प्रतिवेदन दावीमा लेखिएका प्रतिवादी मध्ये प्र.शेर बहादुर खड्कालाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलका १३ नं. को उपदफा (१) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ प्रहरी प्रतिवेदनमा लेखिएको अन्य प्रतिवादी वीर बहादुर बस्नेत र चन्द्र बहादुर कार्की समेतले आफ्नो बयान कागजमा कुनै पनि सबूद दिन गुजार्न सकेको नदेखिएकोले साथै साविती बयान गरेको देखिएकोले प्रहरी प्रतिवेदन दावी बमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ को उपदफा (३) बमोजिम जन्मकैद हुने ठहर्छ भन्ने इलाम जिल्ला अदालतको मिति ०४०।१०।२६।५ को फैसला ।

१८.   शुरुले सजायँ गर्ने गरेको इन्साफमा चित्त बुझेन  सो इन्साफ बदर गरी सफाई पाउँ भन्ने समेत प्रतिवादीहरू चन्द्र बहादुर शेर बहादुरको बेग्लाबेग्लै पुनरावेदनपत्रहरू पू.क्षे.अ.मा परेको रहेछ ।

१९.    वारदातमा मृतक गोपाल खड्कालाई घाँटी अठ्याएमा शेर बहादुर, सन्नीमा समातेको वीर बहादुर घुस्याले हिर्काएकोमा चन्द्र बहादुर सावित भई अधिकार प्राप्त अधिकारी समक्ष बयान गरेको देखिँदा निज प्रतिवादीहरूलाई ज्या.सं. को १३(३) नं. अनुसार जन्मकैद गर्ने गरेको शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत पू.क्षे.अ.को फैसला रहेछ ।

२०.   म निर्दोष हुँदा अभियोगबाट सफाई दिनु पर्नेमा नदिई जन्मकैद सजायँ गर्ने गरेको शुरुको सदर गरेको पू.क्षे.अ.को इन्साफ मिलेको नहुँदा सो फैसला बदर गरी वादी दावीबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी शेर बहादुर, चन्द्र बहादुर र वीर बहादुरको यस अदालतमा परेको बेग्लाबेग्लै पुनरावेदनपत्र रहेछ ।

२१.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूतर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री रमेशविक्रम कार्कीले गर्नु भएको बहस समेत सुनी शुरुको सदर गरेको पू.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।

२२.   यसमा प्रतिवादी शेर बहादुर खड्काले प्रहरी र अदालतमा बयान गर्दा मृतक र सबै प्रतिवादीहरू फुङलिङ मेला बजार गएको र लाल बहादुरको दोकानमा मृतक गोपाल सुतेकोमा हिड भाइ घर जाउँ भनी उठाई लगेको एकान्त स्थान (घटनास्थल) मा आइपुगेपछि अस्ती मलाई किन चोरको दोषारोपण गरिस भनी मैले निउ खोज्दा अस्तिको कुरा सकिसक्यो भनी मृतकले भन्दा पूर्वयोजना बमोजिम मृतक गोपालको घाँटीमा आफूले समातेको र प्र.चन्द्र बहादुरले भूडीमा हिर्काएको र प्र.वीर बहादुरले सन्डीमा हिर्काइ मारेको हो भनी शेर बहादुर सावित छन्, र प्रतिवादी चन्द्र बहादुर पनि मलाई पहिला चोरको आरोप लगाएको हुँदा मार्नु पर्छ भनी शेर बहादुरले भनेको वास्तवमा शेर बहादुरले गोपालको घाँटी समातेको र आफूले एक मुक्का पेटमा हिर्काएकोमा सावित रहदै शेर बहादुरको बयान मिलान साविती बयान दिएको र अर्को प्रतिवादी वीर बहादुरले पनि शेर बहादुरकै दोकानमा सुतिरहेको गोपाललाई बोलाई लगेको भन्ने प्रतिवादीहरूको बयान भएकोमा दोकानदार लाल बहादुरलाई बुझ्दा वारदात हुनुअघि मेरो दोकानमा सुतीरहेकोमा उठी कता गए थाहा भएन भनी लाल बहादुरको दोकानबाट उठाई लगी कर्तव्य गरी मारेको भन्ने प्रतिवादीहरूको साविती पुष्टी हुन आएको छ शेर बहादुरसँग अगाडि बरोबर झैझगडा रिसइवी भइरहेको र मेरो सौतेनी छोरा मृतक गोपाल बाहेक अन्य छोरा छोरी समेत नभएको हुँदा यी गोपाललाई मारी मेरो अपुताली खाने समेत मतलबले प्र.शेर बहादुरले साथीहरू चन्द्र बहादुर, वीर बहादुर समेतको मद्दतले मारेको हुनुपर्छ भनी जाहेरवाली मुतककी आमा मनमायाले बकपत्र समेत गरिदिएबाट प्र. शेर बहादुरले र मृतक गोपालको बीच मार्नु पर्नेसम्मको पूर्व रिसइवी रहे भएको देखिँदा प्र.शेर बहादुरको साविती बयानको पुष्टि हुन आयो ।

२३.   अतः माथि उल्लेख गरिए बमोजिम प्रतिवादी शेर बहादुरले मृतक गोपालको घाँटी समाती, प्र. चन्द्र बहादुरले पेटमा मुक्काले हिर्काई र अर्का प्रतिवादी वीर बहादुरले सन्डीमा समाती मृतक गोपालको कर्तव्य गरी मारेको देखिँदा प्र.शेर बहादुरलाई ज्या. सं.को १३(१) नं. अनुसार सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादीहरूलाई ज्या.सं.को १३(३) नं. बमोजिम जन्मकैद गर्ने ठहर्‍याएको शुरुको सदर गरेको पू.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न पुग्दैन । पुनरावेदन परेको हुँदा  साधकको लगत कायम राख्नु नपर्ने हुँदा सो लगत काटी  दिनु । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४४ साल भाद्र १० गते रोज ४ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु