निर्णय नं. ३२३९ - कर्तव्य ज्यान

निर्णय नं. ३२३९ ने.का.प. २०४४ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४१ सालको फौ.पु.नं. ६०३
२०४४ सालको फौ.पु.नं. ६४५
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी: अर्घाखाँची जिल्ला चिदिका गा.पं. वार्ड नं. २ बस्ने मान बहादुर ज्ञवाली ।
विरुद्ध
पुनरावेदक/वादी: यमबहादुर थापाको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
विपक्षी/प्रतिवादी:अर्घाखांची चिदिका गा.पं. वार्ड नं.२ घर भै हाल जि.का.का.शाखा पाल्पामा थुनामा रहेको नर बहादुर कुमाल ।
ऐ.ऐ बस्ने एक बहादुर कुमाल ।
ऐ.ऐ बस्ने रुक बहादुर कुमाल ।
ऐ.ऐ बस्ने दल बहादुर कुमाल ।
ऐ.ऐ बस्ने छवे कुमाल ।
ऐ.ऐ बस्न धन बहादुर कुमाल ।
ऐ.ऐ बस्ने गा.पं.स.रुकमागत भुषाल ।
ऐ.ऐ वार्ड नं. ५ बस्ने इसफ मिया ।
ऐ.ऐ वार्ड नं. ३ बस्ने छवे दमाई ।
ऐ.ऐ बस्ने मेक बहादुर दमाई ।
ऐ.ऐ बस्ने बहादुर दमाई ।
ऐ.ऐ बस्ने हरि बहादुर दमाई ।
ऐ.ऐ वार्ड नं. २ बस्ने मेघ बहादुर ज्ञवाली ।
ऐ.ऐ बस्ने कृष्ण बहादुर ज्ञवाली ।
ऐ.ऐ बस्ने तुइने कुमाल ।
फैसला भएको मिति: २०४४।७।१९ मा
तत्काल ज्यान मार्ने नियतले जोखिम हतियारले हानेको नभई पूर्व रिसइवी नभएको मानिस नै मर्न सक्दछ भन्ने नसोची होश नपुर्याई हेलचेक्राई गरी लाठा ढुङ्गाले कुटपिट गरेको कारण भवितव्यबाट मृत्यु हुन गएको देखियो यस्तोमा ज्या.सं.को १३(३) को अवस्था विद्यमान भएको भन्न नमिल्ने ।
(प्रकरण नं. ४३)
पुनरावेदक, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
उल्लेखित मुद्दाःX
फैसला
न्या.गजेन्द्र केशरी बास्तोलाः प.क्षे.अ. को फैसला उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. राताटार भन्ने जग्गामा चलेको झगडा मिलाउन विपक्षी सु.मान बहादुरले कुरा उठाई ०३७।७।६ गते विवादित जग्गामा मानिस छुटाउने भनी निज मान बहादुरले आफ्नो छोरा कृष्णद्वारा मेरो पिताजी गंगा बहादुरलाई बोलाउन पठाउनु भएको रहेछ, पिताजीले मलाई पठाउन खोज्दा तपाई नै जानु पर्छ रे भन्ने निज कृष्णको भनाई भएबाट पिताजी गंगा बहादुर आफैं जानु भएको घटनास्थलमा पुग्दा नरे कुमाल, एक कुमाल, मेके दमार्ई समेतका अरु नचिनेका ३०–३५ जना मानिसको जमघट रहेछ, मान बहादुर र नरे कुमालका हातमा टुएलवर र भरुवा बन्दूक र अरु सबैका हातमा लाठी र ढुङ्गा समेत रहे भएको र रेवती अर्याल समेतका मानिसलाई घायल बनाएको विषयमा खलबल रहेछ । पिताजीले शान्ती शान्ती भन्दै जाँदा यसलाई पनि ठोक भनी मान बहादुरले भन्दा पहिला इसुप अनि रुवमागत सहितका सबै विपक्षहरूले उत्तेजित भई पिताजी उपर झम्टन गई सबैका संयुक्त चोटबाट लाठी ढुङ्गा घुस्सा सहित प्रयोग गरी कुट्दा पिताजी मुर्छित भई ढलेपछि गुहार गर्न गएका प्रत्यक्षदर्शि मानिस पनि विपक्षीहरूबाट घटनास्थलमा पिटिएछन, म समेतले थाहा पाई घटनास्थल पुगी अत्याधिक घायल मुर्छित तथा मरणान्त अवस्थाका पिताजीलाई डोलामा बोकी रातको ९ बजे त्यस ठाउँबाट उपचार गर्न पाल्पातर्फ चलाउँदा र रिडी बजारमा पुर्याउँदा बाँच्ने आशा छैन भनि ज्योतिन्दले सल्लाहा दिएपछि फर्काउँदा घरदेखि मुनि राजु पोखरा भन्ने ठाउँको पौपारीमा आइपुग्दा पिताजीको प्राण गएकोले विपक्षीहरूको अपराधबाट पिताजीको ज्यान गुमेकोले विपक्षीहरूलाई पक्री सहयोग समेत खुलाई कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोरा उल्लेख भएको यसबहादुर थापा क्षेत्रीको ०३७।७।८।६ का मितिमा प्रहरी कार्यालय अर्घाखाँचीमा दिएको जाहेरी दर्खास्त ।
३. मृतकको दायाँ कानदेखि गालासम्म निलडाम परी सुनिएको, दुवै आँखा चिम्लेको मुख खुला भई दात जिब्रो देखिएको निधारमा अं. ४ इन्च जति लम्बाई भएको चोट देखिएको दायाँ बाँया हातको नाडी सुनिएको दुवै खट्टाको पैतालासम्म रगत देखिएको लाशको कपडा खोली हेर्दा अन्य शशिरमा निल डामहरू देखिएका, लिड्ड र गुद्द्वारबाट दिशा बिर्य केही नदेखिएको भन्ने समेत ०३७।७।८ का मितिको लाश जाँच मुचुल्का ।
४. यस जि.का. स्वास्थ्य शाखामा पोष्टमार्टम गर्ने साधन नभएको र मृतक गंगा बहादुर थापाको बाहिरी प्रकृत्ति जाँच गरी हेर्दा अगाडि आँखी भौमा तेश्रो लाठी ढुङ्गाको कुटाइको चोट लम्बाई ४ इन्च चौडाई २ टाउकोको खोपडी फुटी गिदी (Brain) निस्किएको बायाँ आँखा फुटेको मुखको सम्पूर्ण भाग निलो भएको तालुमा ठूलो घाउको चोट सारा शरीरमा लाठीको कुटाइको निल डामहरू र देब्रे हातको कुइनो भाँचिएको दाहिने हातको नाडी र कुइनो २ ठाउँबाट भाँचिएको बायाँ खुट्टाको साँप्रामा ठूलो निलडाम लम्बाई ३ इन्च चौडाई २ इन्च भएको र लाशको बाहिरी प्रकृत्ति जाँच गर्दा मृतक गंगा बहादुर थापाको कुटपिटको चोटबाट मृत्यु भएको प्रमाणित गरिन्छ भन्ने अर्घाखाँची हेल्थसेन्टरको प्रतिवेदन ।
५. जाहेरी दर्खास्तमा लेखिए अनुसार घटनास्थलमा सबैतिर ढुङ्गा हानाहान भयो मैले कसैलाई लक्ष गरी हानिन ज्यान बचाउन हानेको ढुङ्गाले गंगा बहादुरलाई लाग्न सक्छ, लाग्यो लागेन थाहा भएन । नर बहादुरले हानेको चोटबाट मृतक गंगा बहादुरको मृत्यु भएको भन्ने मेरो चित्तमा लाग्दछ र राताटार भन्ने ठाउँमा मेरो पनि जग्गा छ भन्ने समेत धनबहादुर कुमालको प्रहरीमा भएको बयान ।
६. नर बहादुरले हानेको ठूलो ढुङ्गाले निधारमा लागी गंगा बहादुर पल्टेपछि पनि निजै नर बहादुरले लाठी प्रहार गर्यो । नर बहादुरले हानेको लाठी ढुङ्गाको चोटबाट गंगा बहादुर मरेको जस्तो लाग्दछ । म समेतले हानेको ढुङ्गाले कसलाई लाग्यो खुलाउन सक्तिन भन्ने समेत हरि बहादुरले प्रहरीमा गरेको बयान ।
७. मृतक गंगा बहादुरलाई सबभन्दा पहिला नर बहादुर कुमालले हानेको र निज मृतक गंगा बहादुरको मृत्यु हामीहरूले हानेको लाठा ढुङ्गाबाट मृत्यु भएको हुन सक्छ, भन्ने समेत व्यहोराको कुल बहादुर कुमालले प्रहरीमा गरेको बयान ।
८. नर बहादुरले हानेको चोटबाट गंगा बहादुरको मृत्यु भएको हुनुपर्छ । म उक्त घटनास्थलमा पञ्चायतको सदस्यको नाताले गएको हुँ मार्ने उद्देश्यले गएको हैन, भन्ने समेत बहादुर दमाईले गरेको बयान ।
९. मर्ने गंगा बहादुर थापालाई नरे भन्ने नर बहादुर कुमालले ढुङ्गाको हनाइले गंगा बहादुरको टाउकोमा लाग्न गई पल्टेको थियो । हामीहरूको ढुङ्गा बर्साइले मृतक गंगा बहादुर थापालाई पनि लागेको हुनुपर्छ । मैले गंगा बहादुरलाई मार्ने नियतले हानेको होइन भन्ने समेत व्यहोराको एक बहादुर कुमालले गरेको प्रहरीमा भएको बयान ।
१०. राताटार भन्ने झगडिया जग्गामा भएको घटनास्थलको झगडामा नर बहादुर कुमालले ठूलो ढुङ्गाले हान्दा गंगा बहादुर थापालाई लाग्यो र निज लड्यो मैले पनि ढुङ्गाले हानेको हो कसलाई लाग्यो थाहा भएन मैले कसैलाई ज्यान मार्ने नियतले हानेको होइन भन्ने समेत मैकबहादुर दमैको प्रहरीमा भएको बयान ।
११. उक्त राताटारको घटनास्थलमा आफ्नो ज्यान बचाउन ढुङ्गा हिर्काउदै भागें । सो ढुङ्गा गंगा बहादुरलाई लाग्यो लागेन थाहा भएन । कसैलाई मार्ने उद्देश्यले ढुङ्गाले हिर्काएको होइन । मर्ने गंगा बहादुरलाई नर बहादुरले हानेको चोटबाट मरेको हुनुपर्छ भन्ने समेत तुइने कुमालले प्रहरीमा गरेको बयान ।
१२. लु.अं. अर्घाखाँची जिल्ला चिदिका गा.पं. वडा नं. ७ राताटार भन्ने ठाउँमा पूर्व पिपलको रुख बन खोल्सा पश्चिम बन खोल्सा दखिन राताटार भन्ने झगडिया जग्गा उत्तर ठूला खर्कको डाँडो यति ४ किल्लाभित्र बीच चौरमा स्वामिको रुख सो रुखदेखि अं. १० फिट उत्तरतर्फ जमीनमा रगत जमेको सो वरिपरि साना ठूला छरिएका ढुङ्गाहरू देखिएको घटनास्थलको प्रकृत्ति ठिक छ भन्ने र गंगा बहादुर थापाको मृत्यु हुन गएको सम्बन्धमा व्यहोरा यो छ कि ०३७ साल कार्तिक ६ गते अं.२ बजेको समयमा दिब्य देव मर्ने गंगा बहादुर थापा र म समेत करीब १५० जना जति मानिसहरू जम्मा भई राताटार भन्ने झगडिया जग्गा मिलाउन भनी उक्त घटनास्थलमा पुगेका थियौं सो अवस्था जाहेरीमा उल्लिखित सु.मान बहादुर ज्ञवाली समेतका अभियुक्तहरूले लाठा ढुङ्गा हामीहरूतर्फ बर्साउन थाले सो अवस्था गंगा बहादुर थापा हात जोड्दै शान्ती शान्ती भन्दै अगाडि बढ्नु भएको थियो त्यस बेला सु.मान बहादुर र इसुफ मियाले ढुङ्गाले हाने निजहरूले हानेको ढुङ्गाले गंगा बहादुरलाई निधारमा लाग्यो त्यसपछि जाहेरीमा उल्लिखित सम्पूर्ण अभियुक्तहरूले लाठा ढुङ्गा हानेका हुन् भन्ने समेत उमनाथ शर्मा समेत जना २५ को एकै मिलानको सरजमीन भनाई साथै वारदातका समयमा म नभएको र म घटनास्थलतर्फ जाँदाजाँदै कुटपिट गरेको हुनाले यथार्थ कुरा थाहा छैन भन्ने देवीराम कुमाल र गर्ने कुमालको सरजमीन भनाई र यमबहादुरको जाहेरी ठीक छ दर्खास्तमा लेखिएका मानिसहरूले गंगा बहादुरलाई कुटपिट गरी सो को चोटपिरबाट मृत्यु भएको हो भन्ने समेत व्यहोराको गोपाल दमार्ई समेत जना ४० ले सरजमीनमा बकी लेखाई दिएका मिति ०३७।७।१३ को सरजमीन मुचुल्का ।
१३. रातटारको घटनास्थलमा भएको झगडामा गंगा बहादुरलाई कसले हानेको चोटबाट गंगा बहादुरको मृत्यु भएको हो थाहा छैन जाहेरवाला र मर्ने गंगा बहादुरसँग कुनै रिसइवी थिएन भन्ने समेत इसुफ मियाको बयान ।
१४. चिदिका गा.पं.वडा नं. ७ राताटार भन्ने ठाउँमा पूर्व पिपलको रुख बन खोल्सी पश्चिम बन खोल्सा दक्षिण राताटार भन्ने झगडिया जग्गा उत्तर ठूलो खर्कको डाडो यति ४ किल्लाभित्र बीच चौरमा स्वामीको रुख सो रुखदेखि अं.१० फिट उत्तरतर्फ जमीनमा रगत जमेको सो वरिपरि साना ठूला छरिएको ढुङ्गाहरू देखिएको घटनास्थलको प्रकृति भन्ने मौका तहकिकात सु.मान बहादुर समेतको १७ जनाको कुटाइको कारण गंगा बहादुरको मृत्यु भएको हो भन्ने सरजमीन समेतको ०३७।७।१३।४ को मुचुल्का ।
१५. राताटारको घटनास्थलको घटनामा गंगा बहादुरलाई कसले हानेको चोटबाट लागी मृत्यु भयो सो भन्न खुलाउन सक्दिन जाहेरीमा लेखिए अनुसारका व्यक्ति घटनास्थलमा थियो मैले लाठा ढुङ्गा हानेको छैन भन्ने समेत रुकबहादुर कुमालको प्रहरीमा भएको बयान ।
१६. गंगा बहादुर लाठी ढुङ्गाका चोटबाट मरेको भन्ने लाश जाँच मुचुल्का र स्वास्थ्य शाखा हेल्थसेन्टरको प्रतिवेदनबाट देखिएकोले जाहेरीमा लेखिएको १५ जनाले नै लाठा ढुङ्गाले हानेको चोटबाट गंगा बहादुरको मृत्यु हुन गएको भन्ने सरजमीनको किटानी लेखाई भएकोले निज १५ जनाको सामुहिक पिटाइबाट गंगा बहादुरको मृत्यु भएको स्पष्ट हुन्छ । अतः निजहरूलाई ज्यानसम्बन्धी महलको दफा १३ को देहाय ३ अनुसार कारवाही हुन माग लिन्छौं भन्ने प्रहरी र स.स.अ.को संयुक्त प्रतिवेदन रहेछ ।
१७. राताटारको झगडा मिल्ने भएको छ भनी नर बहादुर कुमाल र रुकमागत मुहालले भनेकोले ०३७।७।६ गतेको ३ बजे उक्त राताटार भन्ने जग्गामा गएको हुँ त्यहाँ कुमालहरूले चुरेटालाई कुटे त्यसपछि ७, ८ सय मानिस ठूलाखर्कबाट झरेर दुवैतर्फबाट लाठा ढुङ्गा चल्यो छवे दमार्ईका ढुङ्गाले गंगा बहादुरलाई लाग्यो म किनारामा थिए मेरा हातमा ढुङ्गाले लाग्यो र मैले पनि अर्कोतर्फ ढुङ्गा Çयाकी दिएको हुँ, गंगा बहादुरलाई मेरो ढुङ्गाले लागेन भन्ने समेतबहादुरे दमार्ईले ०३७।७।२५ मा गुल्मी जिल्ला अदालतमा गरेको बयान ।
१८. राताटारको घटनास्थलमा भएको कुटपिटमा गंगा बहादुरलाई छवै दमाईले ढुङ्गाले हान्यो र लडे लाठीले पनि हानेको होइन म निर्दोष छु भन्ने समेत हरि बहादुर दमाईको अदालतमा भएको बयान ।
१९. उक्त राताटारको घटनास्थलमा भएको कुटपिटमा म बेहोश भएको हुनाले गंगा बहादुर थापाको कसले हानेको चोटबाट मृत्यु हुन गयो सो कुरा थाहा छैन म निर्दोष छु भन्ने समेत तुइने कुमालले अदालतमा गरेको बयान ।
२०. राताटारमा भएको कुटपिटमा मैले कसैलाई पनि ढुङ्गाले हानेको छैन छवे दमार्ईले हानेको चोटबाट गंगा बहादुरको मृत्यु भएको हो म निर्दोष छु भन्ने समेत कुल बहादुर कुमालको अदालतमा भएको बयान ।
२१. राताटारमा भएको कुटपिटमा मैले कसैलाई पनि हानीन छवे दमार्ईले ढुङ्गाले गंगा बहादुरलाई हान्दा गंगा बहादुर लडे भन्ने समेत मेकबहादुर दमार्ईले अदालतमा गरेको बयान ।
२२. राताटारमा भएको कुटपिटमा सबै जनाका हातमा लाठी थियो । मैले कसैलाई कुटपिट नगरेको हुँदा म निर्दोष छु । गंगा बहादुर थापा हानाहान हुँदा कर्तव्यबाट नै मृत्यु भएको हो कसको चोटबाट मृत्यु भयो सो खुलाउन सक्दिन भन्ने समेत इसुफ मियाको अदालतमा भएको बयान ।
२३. उक्त राताटारको कुटपिट गरेमा म निर्दोष छु । दुवैतर्फबाट ढुङ्गा हानाहान हुँदा छवे दमार्ईले गंगा बहादुरलाई हानी लडाएपछि लाठाले ठाउँ ठाउँमा हानेको मैले देखेको हुँ भन्ने समेत धनबहादुर कुमालले अदालतमा गरेको बयान ।
२४. वारदात भयो भनेको समयमा म राताटार भन्ने ठाउँमा डिगा लिन गएको थिएँ । त्यस समयमा त्यहाँ कोही थिएन म फर्किन लाग्दा धेरै मानिसहरू त्यहाँ देखें छवे दमार्ईले लाठा ढुंगाले मर्ने गंगा बहादुरलाई हाने भन्ने सुने मैले हानिन ७।८ सय जति मानिस थिए भन्ने समेत एकै भन्ने एकबहादुर कुमालले अदालतमा गरेको बयान ।
२५. राताटारमा भएको वारदातमा म निर्दोष छु । छवेले नै मुख्य गंगा बहादुरलाई कुटपिट गरेको हो भन्ने समेत व्यहोराको उल्लेख भएको रुकबहादुर कुमालले अदालतमा गरेको बयान ।
२६. उक्त राताटारमा भएको वारदातमा म निर्दोष छु मैले जग्गामा कुमालहरूलाई मद्दत दिन्छु भन्ने विचारले मलाई पोल गरेका हुन् । मैले गंगा बहादुरलाई हानेको छैन कसले हानेर गंगा बहादुरको मृत्यु हुन गयो सो पनि थाहा छैन भन्ने समेत रुकमांगतको अदालतमा गरेको बयान ।
२७. राताटारका वारदातमा म जाँदै नगएकोले मेरो लाठी ढुङ्गाले गंगा बहादुर मरेको होइन बहुदल र निर्दलको चुनावमा बहुदलमा लाग भनेकोमा नमानेको हुँदा यमबहादुरले पोलेका हुन् भन्ने समेत नर बहादुर कुमालको अदालतमा भएको बयान ।
२८. राताटारको वारदातमा म गएको नभई ०३७।७।६ गते बिहान ठूलाखर्क भन्ने ठाउँमा टोपी बेच्न गएको हुँ एके दमार्ईलाई रु. ४०।– दिन बाँकी र सो नदिएको कारणले पोल गरेको हो गंगा बहादुर के गरी मरेका हुन् मलाई थाहा छैन भन्ने समेतको छवे दमार्ईले अदालतमा गरेको बयान ।
२९. गंगा बहादुर थापा के कसरी मरेका हुन् थाहा छैन ०३७।७।६ गते घरमा नै थिएँ र काम गरेको ज्याला माग्दा झगडा भएको इवीले म उपर जाहेरी दिएको हो भन्ने समेतको छवे कुमालले अदालतमा गरेको बयान ।
३०. ०३७।७।६ गते म घरमा नै छु । गंगा बहादुर थापालाई नदेखेको र निजलाई ढुङ्गा लाठीले मैले हानेको होइन को को ले हाने हानेनन् मलाई केही कुरा थाहा भएन म निर्दोषी छु भन्ने समेत दले कुमालले अदालतमा गरेको बयान ।
३१. ०३७ साल कार्तिक ६ गते ४० कोश टाढा तौलिहवा अस्पतालमा बिरामी भई बसेको हुँदा गंगा बहादुरलाई कसले हाने मारे मैले भन्न सक्तिन म निर्दोषी हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको सु.मान बहादुर ज्ञवालीले अदालतमा गरेको बयान ।
३२. मेघ बहादुर र कृष्ण बहादुर ज्ञवाली जना २ लाई अपराधमा सरिक थिए भनी सरजमीनले लेखि दिएका भए पनि जाहेरीमा किटान नभएको पक्राउ परेका अभियुक्त जना ९ ले पनि निजहरू अपराधमा सरिक छन् नभनेका हुँदा निजहरू मुद्दा नचलाइएकोमा जाहेरवालाको निवेदनमा महान्यायाधिवक्ताज्यूबाट कारवाही नचलाउने गरेको मिलेन कानुन बमोजिम गर्नु भनी लेखि आएकोले मेघ बहादुर ज्ञवाली र कृष्ण बहादुर ज्ञवाली जना २ उपर अ.बं. ८८ नं. बमोजिम थप प्रहरी प्रतिवेदन प्रस्तुत गरिएको भनी जना २ उपर पनि मु.ऐन ज्यान सं. को १३(३) बमोजिम सजायँ गरिपाउँ भन्ने प्रहरी र स.स.अ.को प्रतिवेदन ।
३३. वारदात भएको दिन म वारदात स्थान भन्दा २०, २२ कोश टाढा कपिलवस्तु जिल्ला वसन्तपुर भन्ने ठाउँमा बुबा मान बहादुर बिरामी भई ०३७।७।६ गते हस्पिटलमा बुबालाई भर्ना गराई ऐ.१५ गते बुबालाई केही सन्चो भएबाट ऐ.१ गते घर आउँदा मात्र गंगा बहादुरको मृत्यु भएको कुरा थाहा पाएको हुँ । को कसको हातबाट मृत्यु भयो थाहा छैन । म निर्दोष छु मेरो बुबासँग राजनीति इवी भएका दिव्यदेव ज्ञवाली समेतले झुठ्ठा सरजमीन गरेका हुन् भन्ने समेत कृष्ण बहादुर ज्ञवालीले अदालतमा गरेको बयान ।
३४. घटना भएको दिन ०३७।७।६ भन्दा अघि ऐ.३ गते दशैंका टिकाको साइत गरी पिताजीलाई उपचार गराउन कपिलवस्तु पि.वीर अस्पतालमा लगी अस्पतालमा ठाउँ नभई होटेलका वरण्डामा राखी उपचार गराएको र १७ गते घरमा आएको हुँ । जाहेरीमा उल्लिखित व्यक्तिहरू र दिव्यदेव समेतका व्यक्तिहरूले ढुङ्गाले हानाहान गरी गंगा बहादुरको मृत्यु भयो भन्ने घरमा आई पुगी सुनेको हुँ, म निर्दोष छु झुठ्ठा सरजमीन हो भन्ने समेत मेघबहादुर ज्ञवालीले अदालतमा गरेको बयान ।
३५. सु.मान बहादुर ज्ञवाली समेतका १७ जनाले गंगा बहादुरलाई ढुङ्गा मुढाले हानी कर्तव्य गरी मारेका हुन् भन्ने समेत सरजमीनको दधिराज ज्ञवालीको बकपत्र ।
३६. घटनास्थलमा मियाहरूलाई कुटपिट गरी अशान्त बातावरण भइरहेको बखत शान्ती शान्ती भन्दै गंगा बहादुर अगाडि बढेको बेलामा सुरवाले चस्मेलाई ठोक भनी इसुफ मियाले कुटेक्षमा बसेको सु.मान बहादुरलाई औल्याई हाकिमको भनाई मान्नु पर्छ भनी बचन दिनासाथ मान बहादुर समेतका १७ जनाले ढुङ्गा मुढा बर्साई गंगा बहादुरलाई मुर्छा पारेर सोही चोटबाट मरेका हुन् भन्ने समेत सरजमीनको उमानाथ विष्णु दिव्यदेव ज्ञवाली समेतको एकै मिलान बकपत्र ।
३७. प्रतिवादीहरूका साक्षीहरूले आफ्नो आफ्नो प्रतिवादीहरूको कुरालाई समर्थन गरेका बकपत्र मिसिल सामेल रहेछन ।
३८. प्रतिवादीहरूले लागेको अभियोग प्रति पूर्ण इन्कार रहेका र सरजमीनको लेखाई बाहेक अन्य कुनै प्रमाण परिबन्धबाट यी प्रतिवादीहरू दोषी छन् भन्ने कुराको प्रमाणित वादी पक्षले गर्न नसकेको हुँदा सरजमीनको भनाइलाई मात्र आधार मानी दोषी प्रमाणित गर्न न्यायसंगत नदेखिने शुरु जाहेरीमा उल्लेख नभएका प्रहरीमा सावित हुनेहरूले नपोलेको कारणबाट यी प्रतिवादीहरूको अभियोग प्रमाणित हुन नसक्ने हुँदा ज्यान जस्तो अभियोगमा ठोस आधार र प्रमाण बेगर शंकाको भरले दोषी ठहर्याउन नमिल्ने हुँदा बुझिएसम्मको मिसिल प्रमाणबाट सफाई पाउने ठहर्छ सो ठहर्नाले प्रस्तुत केश ज्यानसम्बन्धीका १३(३) अन्तर्गत दायर भएको भए तापनि सो दफा अन्तर्गत कायम हुन नसकी ज्यानसम्बन्धी महलका ५ नं. अन्तर्गत अपराध कायम हुन आई कुटपिटका चोट पिरबाट भवितव्य भई मरेको ठहरिन आएकोले श्यामप्रसाद समेतको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी कैलाश गुरुङ समेत भएको ०३४ सालको फौ.पु.नं. २१५ फैसला नं. ३५ नं. निर्णय १२३४ को ज्यान मुद्दामा सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त अनुसार जाहेरी फैसला गर्नुपर्ने अवस्था नदेखिएको र एकबहादुर कुमाल समेतका जना ११ लाई मु ऐन ज्यानसम्बन्धिका ६(२) अनुसार कैदवर्ष २ जरिवाना रु.५००।– गर्ने र नर बहादुर, छवे दमार्ई, दुमे कुमाल, मेघबहादुर ज्ञवाली, कृष्ण बहादुर ज्ञवाली समेत जना ६ लाई सफाई दिने भन्ने अर्घाखाँची जिल्ला अदालतको ०३९।३।३० को फैसला रहेछ ।
३९. शुरु जि.अ.को फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकार र प्रतिवादी मान बहादुर ज्ञवालीको प.क्षे.अ.मा पुनरावेदन परेको रहेछ ।
४०. वारदातको रुपमा दुवै पक्ष बीच लाठी ढुङ्गा हानाहान हुँदा गंगा बहादुरको भवितव्यबाट मृत्यु भएको देखिन्छ । सरजमीनका व्यक्तिहरू र अदालतमा आई गरी दिएको बकपत्र समेतका आधारमा प्र.मान बहादुर समेत ११ जनाको भवितव्य कुटपिटबाट मृतक गंगा बहादुरको मृत्यु भएको देखिँदा शुरुको इन्साफ मनासिब छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत प.क्षे.अ.को फैसला रहेछ ।
४१. शुरुको सदर गरेको प.क्षे.अ.को फैसलामा चित्त बुझेन शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको र म निर्दोष व्यक्तिलाई सफाई नदिई मलाई ज्या.स.को ६(२) नं. बमोजिम सजायँ गरेको मिलेको नहुँदा शुरुको सदर गरेको म.क्षे.अ.को इन्साफ उल्टाई वादी दावीबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी मान बहादुरको यस अदालतमा परेको बेग्लाबेग्लै पुनरावेदन रहेछ ।
४२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सह-न्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला र विपक्षी प्रतिवादी मान बहादुरको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले गर्नु भएको बहस समेत सुनियो । यसमा प.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
४३. यसमा राताटार भन्ने जग्गामा कुमालहरूले आफ्नो भनी आवाद गर्न लागेको र सो जग्गालाई आफ्नो भन्ने अर्को पक्ष बीच झगडा भएकोले सो विवादको विषयमा मिलाउने उद्देश्यले समाजबसी छलफल गर्नका लागि भेला भइरहेका अवस्थामा गंगा बहादुर र निजका साथमा गएका २, ३ सय जनाको जमात घटना स्थलमा पुग्नु भन्दा अगावै देखि कुटपिट हात हालाहाल भएकोबाट मेलमिलापको वातावरण कायम हुन नसकी पूर्ववत २ समूह बीच ढुङ्गा हानाहान कायमै रहन गई दुवै पक्ष बीच अझ बढी उत्तेजना बढ्न गएकोले शान्ती कायम गर्न मृतक गंगा बहादुर हात जोड्दै अघि बढेका अवस्थामा भिडले बर्षाएको ढुङ्गाले शरीरमा यत्रतत्र लाग्न गई सोही चोटबाट निजको मृत्यु भएको भन्ने कुरा मोहन ज्ञवाली समेतका प्रत्यक्षीदर्शीहरूले सरजमीनमा लेखाई दिएको र सोही कुरालाई अदालतमा बकपत्र समेत गरी दिएकोलाई पुष्टि हुन आयो यसरी तत्काल ज्यान मार्ने नियतले जोखिम हतियारले हानेको नभई पूर्व रिसइवी नभएको मानिस नै मर्न सक्दछ भन्ने नसोंची होश नपुर्याई हेलचेक्राई गरी लाठा ढुङ्गाले कुटपिट गरेको कारण भवितव्यबाट गंगा बहादुरको मृत्यु हुन गएको देखियो यस्तोमा ज्या.सं. को १३(३) को अवस्था विद्यमान भएको भन्न मिल्दैन । अब को कसले छाडेको चोटबाट मृतकको मृत्यु भएको हो भन्नेतर्फ विचार गर्दा सरजमीन र अदालतमा बकपत्र गर्ने चस्मदिद गवाहहरूले पनि यो यसैको चोटबाट मृत्यु भएको हो भन्न नसकी मान बहादुर समेतका व्यक्तिहरूले छोडेको सामुहिक चोटबाट मृत्यु भएको भनी बकपत्र गरेका छन् । प्र.मान बहादुरले वारदातको अवस्थामा अन्यत्र रहेको भन्ने जिकिर लिएको भए पनि सो सम्बन्धमा निजका छोराहरूको बयान परस्पर बाझिएको र डाक्टरले पनि प्राइवेट रुपमा जाँची २० दिनसम्म औषधि सेवन गरी आराम गर्नु भनी सल्लाह सम्म मात्र दिएको भनी बन्द सवालमा लेखि दिएको तथा सरजमीनमा उपस्थित चस्मदिद गवाहहरूले निज घटनास्थलमा नै रहे भएको निजले समेत लाठा ढुङ्गाले हानेको भनी किटानीपूर्वक लेखाई दिएको देखिँदा घटनास्थलमा आफू नरहेको भन्ने प्रतिवादी मान बहादुरको जिकिर प्रतित लायक देखिएन । निज वारदात स्थलमै रहे भएको देखिन्छ । अतः मान बहादुर समेतलाई ज्या.सं.को ६(२) बमोजिम जनही २ वर्षकैद र रु. ५००।– जरिवाना गर्ने गरेको शुरुको सदर गरेको प.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा कुनै परिवर्तन गरी रहनु परेन । वादी श्री ५ को सरकार र प्रतिवादी मान बहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन। तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
पुनरावेदक प्रतिवादी सु.मान बहादुर ज्ञवाली के माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरुको सदर गरेको प.क्षे.अ.को इन्साफ मनासिब ठहरेकोले निजलाई शुरु फैसलाले लागेको कैदवर्ष २ र ज.रु. ५००।– को अ.बं.२०३ नं. बमोजिम सयकडा ५% ले १ महिना ६ दिन कैद र ज. रु. २५।– दोश्रो तह पुनरावेदन गरेबापत थप सजायँ हुन्छ । सो को लगत कसी असूल गर्नु भनी शुरु जि.अ.मा लेखि पठाउन का.जि.अ.त.मा लगत दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.श्री रुद्र बहादुर सिंह
इतिसम्वत् २०४४ साल कार्तिक १९ गते रोज ५ शुभम् ।