निर्णय नं. ३२४० - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

निर्णय नं. ३२४० ने.का.प. २०४४ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको रिट नम्बर २१२३
विषय : उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ ।
निवेदक : पाल्पा जिल्ला बन्दिपोखरा गा.पं. वडा नं. ९ धर्मपानी बस्ने पोषणराज पाण्डे ।
विरुद्ध
विपक्षी : शिक्षा तथा संस्कृति मन्त्रालय, मुकाम केशर महल काठमाडौं ।
त्रिभूवन विश्वविद्यालय,केन्द्रिय कार्यालय,मुकाम त्रिपुरेश्वेर काठमाडौं ।
श्री रजिष्ट्रार,त्रिभूवन विश्वविद्यालय,मुकाम त्रिपुरेश्वर काठमाडौं ।
परीक्षा नियन्त्रक,परीक्षा नियन्त्रक कार्यालय,त्रिभूवन विश्वविद्यालय,मुकाम जमल काठमाडौं ।
पाल्पा जिल्ला रामपुर गा.पं. वडा नं.५ घर भै हाल अर्थ मन्त्रालय आर्थिक विश्लेषण महाशाखामा कार्यारत शाखा अधिकृत मधुसुदन पोखरेल ।
आदेश भएको मिति: २०४४।७।१८।४ मा
कानुनी व्यवस्था अभाव रहेकोमा त्रिभुवन विश्वविद्यालयबाट कानुनी व्यवस्था गरी लागू गरेकोमा भूतलक्षी प्रभाव दिई निर्णय गरेको भन्न नमिल्ने ।
(प्रकरण नं. १६)
निवेदक वार्षिक परीक्षा प्रणाली अन्तर्गतको विद्यार्थी हुँदा निवेदक उपर वार्षिक परीक्षा सम्बन्धी विनियमहरू लागू नहुने भन्न नमिल्ने ।
(प्रकरण नं. १७)
नियमित विद्यार्थी मान्न नमिल्नुको साथै म्याद नाघी सिफारिशको लागि निवेदन दाखेल भएको देखिनाले समेत प्रस्तुत निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।
(प्रकरण नं. १९)
निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला, विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
उल्लेखित मुद्दाःX
आदेश
न्या.महेशराम भक्त माथेमाः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. निवेदक त्रिभुवन विश्वविद्यालयबाट सञ्चालित वि.सं. २०३८ सालको मानविकी तथा समाज शास्त्र अध्ययन संस्थान, अर्थशास्त्र शिक्षण समिति, किर्तिपुर बहुमुखी क्याम्पसमा भर्ना भई नियमित विद्यार्थी भई उक्त परीक्षामा सबैभन्दा बढी अंक अर्थात् ७६.६% प्राप्त गरी परीक्षामा उत्तिर्ण भएँ । सो भएबाट महेन्द्र विद्याभूषण र तारापद चौधरी पदक पाउने व्यक्ति हुँ । शिक्षा तथा संस्कृति मन्त्रालय उच्चशिक्षा शाखाले मिति २०४२।६।२१ मा प्रकाशित सूचना अनुसार निवेदकले महेन्द्र विद्याभूषणको लागि सिफारिश गरिपाउँ भनि विपक्षी परिक्षा नियन्त्रकको कार्यालयमा मिति २०४२।८।१६ मा निवेदन दिएँ । उक्त कार्यालयले मिति २०४२।९।२४ मा म निवेदकलाई सिफारिश दिन नमिल्ने भनी पत्र लेखिएको व्यहोरा जानकारी हुन आयो ।
३. श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयको स्नातक तह वा सो भन्दा माथिल्लो स्तरमा त्रिभुवन विश्वविद्यालय वा त्रिभुवन विश्वविद्यालयद्वारा मान्यता प्राप्त विश्वविद्यालयमा सबै भन्दा बढी अंक प्राप्त गर्ने परीक्षार्थीहरूलाई “महेन्द्र विद्याभूषण” पदक वितरण गरिआएको छ । म निवेदकले २०३९ सालको अर्थशास्त्र विषयमा सबैभन्दा बढी अंक प्राप्त गरी प्रथम श्रेणीमा उत्तिर्ण भएको कुरामा विवाद छैन ।
४. विपक्षी त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मलाई बढी अंक प्राप्त गरेको हैसियतले महेन्द्र विद्याभूषणका लागि सिफारिश गर्नु पर्नेमा वीच बीचमा म भन्दा धेरै अंक कम ६७% प्राप्त गर्ने विपक्षी मधुसुदन पोखरेलको नाम सिफारिश गरी पठाएको रहेछ । निवेदकले परीक्षामा उत्तिर्ण भएको वर्ष २०३९ (१९८३) भनी मार्कसिट (ट्रान्सिक्रिप्ट) मा नै उल्लेख भएको छ। सो भएपछि २०३९ सालमा उत्तिर्ण भएको परीक्षार्थीको सम्बन्धमा भूतलक्षी प्रभाव दिई मिति २०४२।८।१२ मा निर्णय गर्न मिल्दैन । विपक्षी त्रिभुवन विश्वविधालय परिक्षा नियन्त्रण कार्यालयले मिति २०४२।९।२४ मा उल्लेख गरेको सम्पूर्ण कुरा मैले पुरा गरेको छु । यस्तो निर्विवादयुक्त म निवेदकलाई “महेन्द्र विद्याभूषण” पदक सिफारिश गर्न नमिल्ने भनी उल्लेख गरिएको कार्य पूर्वाग्रह पिडित छ ।
५. त्रिभुवन विश्वविद्यालय ऐन, २०२८ को दफा ६ को देहाय (ट) मा पदक स्थापना गर्ने व्यवस्था भएको पाइन्छ । जसबाट त्रि.वि.वि.ले अर्थशास्त्रमा सबै भन्दा बढि अंक प्राप्त गर्ने परिक्षार्थीलाई “तारापद चौधरी” पदक दीक्षान्त समारोहमा दिने गरिआएको छ । दिक्षान्त समारोहमा वितरण गरिने उक्त पदकबाट समेत मलाई वञ्चित गरिएको कार्य समेत पूर्वाग्रहयुक्त छ। विपक्षीहरूको काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी उक्त पदकहरू मलाई दिनु भन्ने परमादेशको आदेश समेत जारी गरिपाउँ विवादको अन्तिम किनारा नलागेसम्म २०४२ फागुन १२ गते शिक्षा दिवस समारोहमा दिइने उक्त पदकहरू कसैलाई नदिनु भन्ने विपक्षीहरूका नाउँमा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर
६. यसमा विपक्षीहरूबाट लिखित जवाफ झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत सिंगल बेञ्जको मिति २०४२।११।३ को आदेश ।
७. रिटमा उल्लेख भए बमोजिमको महेन्द्र विद्याभूषण र तारापद चौधरी पदक समेत रिट निवेदनको अन्तिम टुंड्डो नलागेसम्म कसैलाई वितरण नगर्नु भनी शिक्षा तथा संस्कृति मन्त्रालय त्रिभुवन विश्वविद्यालय केन्द्रिय कार्यालय र परीक्षा नियन्त्रक परीक्षा नियन्त्रण कार्यालय समेतका नाउँमा अन्तरिम आदेश जारी हुन्छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति २०४२।११।१० को आदेश ।
८. शिक्षा मन्त्रालय तथा त्रिभुवन विश्वविद्यालयबाट विभिन्न पदक प्रदान गर्नको लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सिफारिश आवश्यक भएकोले तथा त्रि.वि. वार्षिक परीक्षा सम्बन्धी विनियमहरू २०३७ मा पदक सम्बन्धी कुनै व्यवस्था नभएकोले त्रि.वि.कार्यकारिणी समितिले वार्षिक परीक्षा प्रणालीमा शुरु देखि लागू हुने गरी मिति २०४१।८।१२ मा निर्णय नं. ६० र ६१ तथा मिति २०४१।१०।८ मा निर्णय नं. ६४ द्वारा पदक छात्रवृत्ति प्रदान गर्ने विधि सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गरेको हो ।
९. रिट निवेदक वार्षिक प्रणाली अन्तर्गतको विद्यार्थी भएको हुँदा त्रि.वि.वार्षिक परीक्षा प्रमाणी सम्बन्धी विनियमहरू रिट निवेदक माथि लागू हुने नै हो । उक्त विनियम बमोजिम निज नियमित हुन नसक्नु भएकोले निजको नाम सिफारिश हुन सकेन । तसर्थ प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी त्रि.वि.वि.केन्द्रिय कार्यालय तथा त्रि.वि.वि.रजिष्ट्रारको संयुक्त लिखित जवाफ ।
१०. रिट निवेदक कानुनी प्रावधान बमोजिम नियमित विद्यार्थी हुन नसक्नु भएकोले निजको नाउँ सिफारिश हुन सकेन । रिट निवेदकले परीक्षाफल प्रकाशित भएको ७ महिना र कार्यकारणी समितिले विनियम बनाएको मिति २०४१।१०।८ को ५ महिनापछि मिति २०४२।३।१३ मा आफ्नो थेसिस पेश गरेकोले निजलाई तत्कालिन प्रचलित कानुनको आधारमा नियमित छात्र मान्न मिलेन । रिट निवेदकले २०४२।३।१३ मा थेसिस बुझाई २०४२।४।२० मा मात्र परीक्षाको सबै आवश्यकता पूरा गरी उत्तिर्ण हुनुभएकोले २०४१।८।१२ र २०४१।१०।८ मा कार्यकारणी समितिले गरेको निर्णय भूतलक्षी प्रभावको भन्ने रिट निवेदकको जिकिर मनासिब नभएकोले समेत प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी परीक्षा नियन्त्रक, परीक्षा नियन्त्रण कार्यालय, त्रि.वि.वि.को लिखित जवाफ ।
११. त्रिभुवन विश्वविद्यालयको प्रचलित नियमानुसार पाठ्यक्रमले निर्धारित अवधिभित्र सम्पूर्ण खण्ड विषय र पत्रहरूमा उत्तिर्ण हुने विद्यार्थीहरूमध्ये म अधिकतम अंक प्राप्त गरी प्रथम श्रेणीमा उत्तिर्ण भएको हुँदा त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालयले महेन्द्र विद्याभूषण पदकको लागि मेरो नाउँ सिफारिश गरी पठाएको हो । स्नातकोत्तर तह अर्थशास्त्र विषयमा अधिकतम अंक प्राप्त गरेको हैसियतले त्रि.वि.वि.बाट प्रदान गरिने “तारापद चौधरी” पदक समेत पाउनु पर्ने व्यक्ति म हुँ । अरु व्यहोरा त्रि.वि.वि. समेतको लिखित जवाफबाट अवगत हुनेछ । प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी मधुसुदन पोखरेलको लिखित जवाफ ।
१२. पदक प्राप्त गर्नको लागि त्रिभुवन विश्वविद्यालय वार्षिक परीक्षा प्रणाली सम्बन्धी विनियमहरूद्वारा निर्धारित शर्तहरू अनिवार्यतः पूरा गरी त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट उक्त विनियमको आधारमा प्रथम श्रेणीमा प्रथम गरेको भन्ने सिफारिश प्राप्त गरी यस मन्त्रालयमा महेन्द्र विद्याभूषण पदकको लागि सूचना प्रकाशित गरेपछि निश्चित समयभित्रै निवेदन पेश गर्नु पर्दछ । अन्यथा सो पदक प्राप्त गर्न सक्षम मानिदैन । निजले महेन्द्र विद्याभूषण पदकको लागि यस मन्त्रालयमा यस पटक रितपूर्वकको कुनै निवेदन पेश गरेको छैन । त्यसैकारण निवेदकलाई पदक प्रदान नगरिएको हो भन्ने समेत प्रत्यर्थी शिक्षा तथा संस्कृति मन्त्रालयको लिखित जवाफ ।
१३. रिट निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले २०३९ सालको परीक्षामा अर्थशास्त्र विषयमा उच्चतम अंक प्राप्त गर्नेले पदक प्राप्त गर्ने हुन्छ । सो बमोजिमको सूचना २०४२।६।२१ मा प्रकाशित भएपछि परीक्षा नियन्त्रक कार्यालयमा सिफारिश गरिपाउन निवेदकले निवेदन दिएका छन् । २०४२।९।२४ मा परीक्षा नियन्त्रण कार्यालयले सिफारिश गर्न नमिल्ने भनी जवाफ दिएको देखिन्छ । निवेदकले ७६.६% र विपक्षले ६७% अंश प्राप्त गरी पास भएकोमा विवाद छैन । त्यसरी निर्विवाद बढी अंक प्राप्त गर्ने निवेदकलाई प्रदान गरिनु पर्ने पदकहरू कम अंक प्राप्त गरेकालाई प्रदान गर्ने निर्णय त्रुटिपूर्ण छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१४. प्रत्यर्थी शिक्षा तथा संस्कृति मन्त्रालय तर्फबाट उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइरालाले मन्त्रालयले २०४२।६।२१ मा महेन्द्र विद्याभूषण पदक बारेको सूचनामा २०४२।८।१५ सम्म प्रमाणित प्रतिलिपिसाथ निवेदन दिनु भनी आब्हान गरेकोमा निवेदकले २०४२।८।१६ मा सिफारिश गरिपाउँ भनी परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएको देखिन्छ । त्यसपछि सिफारिश गर्न नमिल्ने भनी निर्णय गरेको भन्ने भएबाट सुचनाको म्यादभित्र निवेदन नपरेकोबाट निवेदकले पदक प्राप्त गर्नु पर्ने दावी नपुग्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१५. प्रत्यर्थी त्रिभुवन विश्वविद्यालयका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले निवेदकले २०३९ सालको परीक्षामा सर्वाधिक अंक प्राप्त गरी उत्तिर्ण गरेको भने तापनि २०४२ सालमा मौखिक परीक्षा दिएपछि मात्र उत्तिर्ण भएका हुन् । साथै निवेदकको राष्ट्रिय विकास सेवाको अवधि २०४२ श्रावणमा मात्र पूरा भई उत्तीर्ण भएको छ, जब कि प्रत्यर्थी मधुसुदन ढकालले २०४१ साल मंसिर महिनामै रा.वि.से. पूरा गरिसकेको देखिन्छ । त्यस अवस्थामा निवेदकको थेसिस नै दाखिल भइसकेको समेत देखिँदैन । कुन विद्यार्थी कुन सालमा पास भएको भनी मान्ने भन्ने सम्बन्धमा बा.प.स. विनियम २२(४) मा कुनै परीक्षा अन्तिम विषय पूरा गरेको साल नै पूरा गरेको साल मानिनेछ भनिएको छ । त्यसबाट पनि निवेदकको भनाई बमोजिम २०३९ सालमा पास गरेको भन्न मिल्दैन । नियमानुसार निवेदकलाई नियमित विद्यार्थी मान्न समेत मिल्दैन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१६. आज निर्णय सुनाउने तारेख तोकि नियम बमोजिम पेश भएको प्रस्तुत निवेदनमा, निर्णयतर्फ विचार गर्दा विभिन्न पदक प्रदान गर्ने सम्बन्धमा त्रि.वि. वार्षिक परीक्षा सम्बन्धी विनियमहरू २०३७ मा कुनै व्यवस्था नभएकोले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सिफारिश लिई त्रि.वि. कार्यकारिणी समितिले वार्षिक परिक्षा प्रणालीमा शुरुदेखि लागू हुने गरी मिति २०४१।८।१२ मा निर्णय नं. ६० र ६१ तथा पदक छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा मिति २०४१।१०।८ मा निर्णय नं. ६४ को आवश्यक कानुनी प्रावधान गरेको पाइन्छ । यसरी कानुनी व्यवस्था अभाव रहेकोमा त्रिभुवन विश्वविद्यालयबाट कानुनी व्यवस्था गरी लागू गरेकोमा भूतलक्षी प्रभाव दिई निर्णय गरेको भन्न मिल्दैन ।
१७. रिट निवेदक २०३९ (सन् १९८३) सालको परीक्षामा उत्तिर्ण भएकोमा शंका नरहे तापनि त्रि.वि. कार्यकारणी समितिबाट निर्णय भएको मिति २०४१।८।१२ र मिति २०४१।८।१० को कानुनी व्यवस्थाको अवधिभित्र थेसिस बुझाई सबै आवश्यकता पूरा गरी उत्तिर्ण भएको पाइँदैन । विपक्षले कानुनी प्रावधान बमोजिम २०४१ साल मंसीरमा नै सबै आवश्कता पूरा गरेको देखिन्छ भन्ने निवेदकले कानुनी प्रावधान तोकेको अवधि नघाई ७ महिनापछि अर्थात् २०४२।३।१३ मा थेसिस बुझाएको देखिएको छ । रिट निवेदक वार्षिक परिक्षा प्रणाली अन्तर्गतको विद्यार्थी हुँदा निज निवेदक उपर वार्षिक परीक्षा सम्बन्धी विनियमहरू लागू नहुने भन्न मिल्दैन ।
१८. उपरोक्त कुराहरू अतिरिक्त शिक्षा तथा संस्कृति मन्त्रालयबाट मिति २०४२।६।२१ मा प्रकाशित सूचना बमोजिम निवेदकले महेन्द्र विद्याभूषणको सिफारिशको लागि शिक्षा तथा संस्कृति मन्त्रालयमा आफ्नो निवेदन परीक्षा नियन्त्रण कार्यालयको सिफारिशसाथ मिति २०४२।८।१५ भित्र दाखिल गर्नु पर्नेमा निवेदकले परीक्षा नियन्त्रण कार्यालयमा मिति २०४२।८।१६ मा मात्र निवेदन दिएको म्याद नाघेको निवेदन भनी उक्त कार्यालयबाट २०४२।९।२४ मा निवेदकलाई सिफारिश दिन नमिल्ने भनी जानकारीको पत्र लेखिएको देखियो । शिक्षा तथा संस्कृति मन्त्रालयमा मिति २०४२।८।१५ भित्रमा निवेदकको महेन्द्र विद्याभूषण सम्बन्धी सिफारिशको निवेदन दाखेल भएको देखिएन ।
१९. अतः यस्तो स्थितिमा निवेदक नियमित विद्यार्थी मान्न नमिल्नुको साथै म्याद नाघी सिफारिशको लागि निवेदन दाखेल भएको देखिनाले समेत प्रस्तुत निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इतिसम्वत् २०४४ साल कार्तिक १८ गते रोज ४ शुभम् ।