निर्णय नं. ३२४७ - कर्तव्य ज्यान

निर्णय नं. ३२४७ ने.का.प. २०४४ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको फौ.पु.नं. ४२२
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/वादी: खगेन्द्र बहादुरको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
विपक्षी/प्रतिवादी: दो.जि.नम्बू गा.पं. वार्डं नं. ४ बस्ने गोपाल भन्ने अर्जुन गिरी ।
ऐ.ऐ बस्ने बाबुराम गिरी ।
ऐ.ऐ बस्ने पवित्रा गिरी ।
फैसला भएको मिति: २०४४।७।१६।२ मा
अरु स्वतन्त्र सबूदबाट समर्थन हुन बेगर सहअभियुक्तको भनाईको आधारमा अभियोग गरेको ठहर्याउन नमिल्ने ।
(प्रकरण नं. १९)
मौकामा देख्नेलाई अदालतबाट नबुझिएको हुँदा अ.बं. ११५ नं. बमोजिम बुझिनु पर्ने भन्ने हकमा अ.बं. ११५ नं. मा भएको व्यवस्था जिकिर बमोजिम नबुझिएका जति अनिवार्य रुपमा बुझ्नको लागि मुद्दा किनारा गर्न नबुझी नहुने अवस्था परेमा अदालतलाई त्यस्तो प्रमाण बुझ्न सक्षम बनाउनेसम्म व्यवस्था अरु स्वतन्त्र प्रमाणबाट दावी बमोजिम अपराध भए गरे जस्तो देखिन आएमा सो कुरा शंकारहित तवरबाट खम्बिर गर्ने सम्म यो व्यवस्थाको अनुशरण गरी बुझ्ने हो तर प्रस्तुत मुद्दामा त्यस्तो दावी बमोजिम अपराध गरेको भन्ने कहिँ कतैबाट सिद्ध हुन नआएकोमा अपराध नै कायम गरिनको लागि प्रयोग गर्न सो व्यवस्था भएको भन्न नमिल्ने ।
(प्रकरण नं. १९)
पुनरावेदक, वादीतर्फबाट: विद्वान उप-न्यायाधिवक्ता श्री बलराम के.सी.
विपक्षी,पुनरावेदक तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः म.क्षे.अ.को फैसला उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. २०३९।७।६ का दिन १५.३० बजेको समयमा भिम बहादुर गिरी र गोपाल गिरीको आपसी झगडा भएको बखतमा रत्न बहादुरले किन झगडा गरेको हो भनी गोपाल गिरीसँग सोधपुछ गर्दा एक्कासी आफ्नो जिउबाट छुरी निकाली रत्न बहादुरको छातीमा प्रहार गरी रत्न बहादुरको मृत्यु भएको, छुरी प्रहार गर्ने बेलामा बाबुराम गिरी, दधिराम गिरी, धनबहादुर गिरी, भिम बहादुर खतिवडा समेत गोपाल गिरीका साथमा भएकोले निजहरू माथि पनि शंका लाग्दछ पक्राउ गरी कानुन कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको ०३९।७।९ को खगेन्द्र बहादुरको जाहेरी दर्खास्त ।
३. मैनापोखरी लामुसाँघु जिरी सडकको बीचमा मुख र नाकबाट रगत निस्केको, हात, कोट, मुखमा रगत लागेको, दायाँ कान मुनि घाँटीमा छुरीले हानेको अं. ११/२” घाउ भएको शरीरको अन्य भागमा चोटपटक नभएको, लाश नजिक जमीनमा रगत नभएको, लाश नजिकमा एउटा प्लाष्टिकको कागज देखिएको भन्ने समेत व्यहोराको २०३९।७।१० को लाश प्रकृति तथा घटनास्थल विवरण ।
४. २०३९।७।९ का दिन मेरो सासूको होटलमा गोपाल भन्ने अर्जुन गिरी म समेतका ४ जनाले रक्सी खाई मामा ससुरा भिम बहादुरलाई पनि रक्सी दिनु होस् भनी गोपालले सासूलाई भन्दा एक गिलास रक्सी दिएको थियो । म खान्न सुत्केरी ज्वाईंलाई दिनुहोस् भनी निजले भनेकोमा वादविवाद भयो । वादविवाद हुँदा गोपालले भिम बहादुरलाई कुटपिट गरेको थियो त्यसपछि हामी मैनापोखरी गएका थियौं । निज भीम बहादुर, रत्न बहादुर, खड्ग बहादुर, जगत बहादुर, रत्न बहादुरको छोरा २ समेत आएर भिम बहादुरलाई किन कुट्नु भयो भनी रत्न बहादुर खड्काले सोधे त्यसपछि झगडा शुरु भयो, त्यसै बेला मैले पनि ढुङ्गा टिपी हिर्काउने उद्देश्य गर्दागर्दै अरुले छुट्याई दिए । भाइ गोपाल गिरीलाई बहिनी कान्छी गिरीले छुरी दिई सोही छुरीबाट गोपालले रत्न बहादुर खड्काको घाँटीमा प्रहार गरी छुरी हातमा लिई भाग्यो रत्न बहादुरको अं. ५।७ मिनटपछि सोही छुरीको प्रहारबाट मृत्यु भयो भन्ने समेत व्यहोराको बाबुराम गिरीको प्रहरी कागज ।
५. २०३९।७।९ गते बाबुराम गिरीको सासूको होटलमा गई रक्सी मागी निज बाबुरामकी सासूले रक्सी खान दिइन् त्यहीं भनाभन समेत भई बाबुराम र गोपाल पिङ खेल्न गए। केही छिनपछि म पनि पिङ खेल्न गएँ । भिम बहादुर पनि आए । चारैजना भई नर बहादुरको पसलमा आयौं । त्यही मृतक र निजका भाइहरू जाहेरवाला खगेन्द्र र जाहेरवालाको पनि आई बाबुराम र गोपाललाई बाहिर बोलाए । रत्न बहादुरले मेरो भाइलाई किन कुट्न भो भनी भन्दा गोपालले के गर्छौ भनी जवाफ दिँदा झगडा भई खगेन्द्रले गोपाललाई हिर्काउदा नाकबाट रगत आयो ।
६. म समेतले झगडा छुट्याएका थियौं । त्यसपछि गोपाल गिरीले कान्छी गिरीबाट छुरी लिई रत्न बहादुरको घाँटीमा प्रहार गरी भागे । केहिछिन पछि रत्न बहादुरको मृत्यु भयो भन्ने दधिराम गिरीको प्रहरीको कागज ।
७. २०३९।७।९ बडा दशैंको नवमीको दिन मैनापोखरी जान हिंड्न गोपाल भन्ने अर्जुन, दधिराम, बाबुरामसित मेरो भेट भई बाबुरामको सासूको होटलदेखि वर दमाहा चौतारामा बसेकोमा भिम बहादुर आए । गोपाल र बाबुरामले मादक पदार्थ सेवन गर्दै थिए । गोपाल भन्ने अर्जुनले भिम बहादुरलाई एक गिलास रक्सी दिए, सुत्केरी ज्वाईं, तिमी नै खाउ भनी भिम बहादुरले रक्सी खाएनन् त्यहीँ भनाभन भयो, अर्जुनले भिम बहादुरलाई हाने, दधिराम र मैले छुट्यायौं र मैनापोखरीतर्फ गयौं साइडकै नर बहादुर दहालको पसलमा मृतक निजका भाइहरू जाहेरवाला र जाहेरवालाको भाइ आई बोलाए त्यहीं कुटपिट भयो म समेत छुट्याउन गई झगडा नगर भनेको थियो अर्जुन गिरीले बहिनीबाट छुरी लिई रत्न बहादुरलाई प्रहार गरे रत्न बहादुर लडे, मैले रत्न बहादुरलाई कुटपिट गरी मारेको होइन भन्ने समेत व्यहोराको भिम बहादुर खतिवडाको प्रहरी कागज ।
८. रत्न बहादुर खड्कालाई दाजु गोपाल भन्ने अर्जुन गिरीले घाँटीमा छुरी प्रहार गरी मारेको हो सो छुरी मैले दिएको नभई निजले लगाएको पाइन्टबाट निकालेको हो, भिम बहादुरले मलाई समाई घचेटी दिएको रिसइवीबाट निजको दाजु रत्न बहादुर समाउन आएकोमा छुरी हानी मारेका हुन् भन्ने लाग्छ भन्ने समेत व्यहोराको कान्छी भन्ने पवित्रा गिरीको कागज ।
९. गोपाल भन्ने अर्जुन गिरीले रत्न बहादुरलाई छुरी हानी मारेको र सो गर्नमा बाबुराम र पवित्रा गिरीको समेत सहमति छ भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
१०. घटना घटाउनेमा मुख्य गोपाल गिरीको बहिनी कान्छी गिरी हुन, बाबुराम गिरी पनि वारदातमा सम्मिलित भई हान् हान् भनी गोपाल भन्ने अर्जुन गिरीलाई बचन दिएपछि निजले छुरी प्रहार गरी गरेका हुन्, भिम बहादुर, दधिराम, धनबहादुर समेत कर्तव्य गर्ने गराउनेमा सहमत छैन भन्ने जगत बहादुरको कागज ।
११. गोपाल भन्ने अर्जुनबहादुर गिरीलाई ज्यानसम्बन्धीको १३(३) अनुसार, बाबुराम गिरीलाई ऐनको १३(४) अनुसार, पवित्रा गिरीलाई ऐ. को १७(१) अनुसार हुन अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको प्रहरीको प्रतिवेदन ।
१२. भाइ गोपालले मर्ने रत्न बहादुरको च्यापु मुनि घाँटीमा छुरीले हाने, त्यहाँबाट रगत बग्न थाल्यो र ५।७ मिनेटपछि रत्न बहादुरको मृत्यु भयो, सो छुरी पवित्राले नै गोपाललाई दिएको हुनु पर्छ, मैले भाइ गोपाललाई बचन दिएको तथा मार्नलाई सहयोग गरेको छैन भन्ने समेत व्यहोराको बाबुराम गिरीको अदालतमा बयान ।
१३. दाजुले समाउ भनी दिएको सुइटर मैले समाएपछि दाजु गोपालले मृतकलाई छुरी हानेछन् म केही टाढा थिएँ, रत्न बहादुरलाई मार्न मराउनमा म समेतको कुनै सहमत छैन भन्ने समेत व्यहोराको कान्छी गिरी भन्ने पवित्रा गिरीको अदालतमा बयान ।
१४. गोपाल भन्ने अर्जुन गिरी पक्राउ पनि नपरेको र हाजिर हुन पनि नआएकोले अ.बं. १९० नं. अनुसार मुलतवी राख्ने, बाबुरामका हकमा निज आफू उपर लगाइएको आरोपमा प्रहरी र अदालतमा इन्कार रहेको सरजमीनले निजले ज्यान मार्न बचन दिएको नभनेको, जाहेरवालाले पनि बचन दिएको उल्लेख गरेको देखिएन तसर्थ निज बाबुराम गिरीले सफाई पाउने ठहर्छ, पवित्रा गिरीको हकमा सबूद प्रमाणबाट निजले छुरी दिएको भन्ने नदेखिँदा पनि पवित्रा गिरीले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु दोलखा जिल्ला अदालतको ०४०।१२।९।५ को फैसला ।
१५. शुरु जि.अ.को फैसला चित्त बुझेन बाबुराम र पवित्रालाई पनि प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको तर्फबाट म.क्षे.अ.मा परेको पुनरावेदन ।
१६. प्रतिवादी बाबुरामले बचन दिएको भन्ने आरोप भएकोमा मार्नमा बचन दिएको भन्ने कुरा मिसिल कागजबाट समर्थित भएको छैन । मर्ने मतसल्लाहमा प्रतिवादीहरू यसैको भन्ने सबूद प्रमाण समेत गुज्रन सकेको छैन । तसर्थ प्र.बाबुराम र प्रतिवादी पवित्राले आरोपित कसूर गरेको भन्ने शंकारहित ठोस सबूद प्रमाण पेश दाखिल हुन नआएको हुँदा सफाई पाउने ठहर्याएको शुरुको इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन।
१७. म.क्षे.अ.को फैसलामा त्रुटिपूर्ण हुँदा चित्त बुझेन शुरु प्रहरी प्रतिवेदन मागदावी बमोजिम गरिपाउँ भनी वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन रहेछ ।
१८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान उप-न्यायाधिवक्ता श्री बलराम के.सी.ले गर्नु भएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा म.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
१९. यसमा अभियुक्त मध्येका बाबुराम उपर प्रहरी प्रतिवेदनबाट मर्ने रत्न बहादुरलाई मार भनी बचन दिएको अभियोग लगाई ज्या.सं. को १३(४) अनुसार अभियुक्त पवित्रा उपर मर्ने रत्न बहादुरलाई हान्न छुरी दिएको सोही महलको १७(१) नं. बमोजिम दावी लिई प्रतिवेदन दायर हुन आएको देखिएकोले त्यसतर्फ के कसो हो भन्नेतर्फ विचार गरिएमा अभियुक्तहरू प्रहरी र अदालतमा समेत कागज गर्दा मर्ने रत्न बहादुरसँग फरार रहने अभियुक्त गोपालसँग कुटपिट झगडा हुँदा वारदात भएको ठाउँमा रहे पनि वारदात स्थलबाट पर रहेको भनी देखाई बाबुराम आफूले बचन दिएमा र पवित्रा छुरी दिएमा इन्कार रहेको देखिन आउँछ । अदालतबाट जाहेरवाला र सरजमीनका वादीले प्रमाण दिएका मानिसहरू उपस्थित गराउन आदेश दिएकोमा प्रहरीतर्फबाट ती मानिसहरूलाई उपस्थित गराउन कुनै प्रयाससम्म गरेको पनि मिसिलबाट नदेखिएको र जाहेरवाला सहितका सरजमीनका देख्ने मानिस समेत अदालतमा उपस्थित भई बकपत्र नगरेकोबाट ती जाहेरवाला तथा सरजमीनका मानिसहरूको भनाइको यस मुद्दामा प्रमाण ऐन, ०३१ को दफा १८ मा भएको व्यवस्थाबाट प्रमाणको रुपमा ग्रहण गरी अभियोगको आधार बनाउन कानुनले नमिलेको उसमा पनि जाहेरवाला खगेन्द्र बहादुर वारदातमा समेत सम्मिलित भएको मानिस भइकन पनि निजले जाहेरी दिँदा समेत अभियुक्त बाबुरामले बचन दिएको र पवित्राले छुरी दिई गोपालले प्रहार गरेको भनी नदेखाएको हुँदा खाली सहअभियुक्त बाबुरामले प्रहरीमा पवित्राले छुरी दिएको आफ्नै आँखाले देखेको भनी देखाए पनि अदालतमा आई बयान गर्दा अभियुक्त गोपालले आफूले लाएको सुइटर छोड्दासम्म निजको हातमा केही नभएको सुइटर आफ्नो बहिनी पवित्रालाई दिई आउँदा छुरी हातमा देखेबाट पवित्राले नै छुरी दिएको भनी अनुमान लगाई भनेको सम्म देखिएकोले अभियुक्त पवित्रा इन्कार रहेको अवस्था अरु स्वतन्त्र सबूदबाट समर्थन हुन बेगर सहअभियुक्तको भनाइको आधारमा अभियोग गरेको ठहर्याउन नमिल्ने । मौकामा देख्ने भिम बहादुर खतिवडा समेतलाई अदालतबाट नबुझिएको हुँदा अ.बं. ११५ नं. बमोजिम बुझिनु पर्ने भन्ने हकमा अ.बं. ११५ नं. मा भएको व्यवस्था जिकिर बमोजिम नबुझिएका जति अनिवार्य रुपमा बुझ्नको लागि मुद्दा किनारा गर्न नबुझी नहुने अवस्था परेमा अदालतलाई त्यस्तो प्रमाण बुझ्न सक्षम बनाउने सम्म व्यवस्था अरु स्वतन्त्र प्रमाणबाट दावी बमोजिम अपराध भए गरे जस्तो देखिन आएमा सो कुरा शंकारहित तवरबाट खम्बिर गर्न सम्म यो व्यवस्थाको अनुशरण गरी बुझ्ने हो तर प्रस्तुत मुद्दामा त्यस्तो दावी बमोजिम अपराध गरेको भन्ने कहिं कतैबाट सिद्ध हुन नआएकोमा अपराध नै कायम गरिनको लागि प्रयोग गर्न सो व्यवस्था भएको भन्न नमिल्ने हुँदा यो जिकिर पनि मनासिब नदेखिएकोले श्री ५ को सरकारतर्फको पुनरावेदन तथा बहस जिकिर पुग्न सक्दैन । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्र केशरी बास्तोला
इतिसम्वत् २०४४ साल कार्तिक १६ गते रोज २ शुभम् ।