निर्णय नं. ३२४९ - जग्गा खिचोला हक कायम ।

निर्णय नं. ३२४९ ने.का.प. २०४४ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको दे.पु.नं. ६४९
मुद्दा : जग्गा खिचोला हक कायम ।
पुनरावेदक/वादी: ल.पु.जि.सुनाकोठी गा.पं.वार्ड नं. ५ बस्ने राम बहादुर महर्जन ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी: ऐ. ऐ. पंगाटोल बस्ने दशलाल महर्जन ।
फैसला भएको मिति:२०४४।८।८।३ मा
विवादको जग्गा २०२१ सालमा नापी हुँदा विपक्षीका बाबुले किसानको महलमा आफ्नो नाम लेखाई किसानको व्यहोरामा मेरो आफ्नो हकभोगको र कैफियतमा बेनिस्साबाट भोगि आएको भनी जनाई नापी गराए उपर वादी पुनरावेदकको यो फिराद पर्नु अगावै कुनै उजूर नपरेकोबाट जिकिर बमोजिम खाली मोहिसम्म लेखाएको भन्न नमिल्ने ।
(प्रकरण नं. १२)
वादीले विवादको जग्गाको पश्चिमतर्फ रहेका न.नं. ४ को घर पेटी आफैंले नपाएको यही विवादको जग्गा वादीको भए उस अवस्था आफूलाई ज.ध. देखाई नापी गराउन पर्ने सो गर्न नसकेको, २००९ सालको नक्शा दर्खास्त हाल न.नं. ४ को घर बनाउन नक्शा दिँदा पूर्व आफ्नो एकलौटी भोग भनी विवादको जग्गालाई देखाएकोमा कसैको उजूर नपरेबाट विवादको जग्गामा आफ्नो हक भएको देखिने भन्ने हकमा सर्भेबाट भएको नक्शामा विवादको जग्गाको पश्चिमतर्फ र वादीको भनेको न.नं. ४ को घर पूर्व अर्को जग्गा पनि रहे भएको देखिएको सो नक्शा दर्खास्तमा उल्लेख पूर्व आफ्नो एकलौटी भोग भनेकोले विवाद परेको न.नं. १ को जग्गालाई नै देखाएको भन्न सकिने अवस्था नरहने ।
(प्रकरण नं. १२)
पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतका २०४३।६।६।३ को फैसला उपर चित्त नबुझी वादीको पुनरावेदन गर्ने अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. सुनाकोठी गा.पं. वार्ड नं. ५(ख) कि.नं. १५ को पूर्व श्यामबहादुरको घर, पश्चिम मेरो आफ्नै स्ववासी घर, उत्तर विपक्षी दशलालको घर, दक्षिण चर्पिमा जाने बाटो यति ४ किल्लाभित्रको क्षेत्रफल ०–२–० जग्गा मेरो घर चर्चि आएको मेरो स्ववासी जग्गा हो सो जग्गामा जाने आउने ढोका बाटो मेरो घरबाट भएको र मल कुहाउने खाडल समेत छ र सोही ठाउँमा दाउरा पराल ढोड राख्ने र भैंसी बाँध्ने समेत गरी चलन गरिआएको छु । सो जग्गा पूर्वावस्थामा लक्ष्मी थकु महर्जन मेरो कान्छा बाबु बुद्धिमानको श्रीमती कान्छी आमाबाट मैले मिति २००५।६।२० मा रजिष्ट्रेशन पास भएको शेषपछिको बकसपत्र अनुसार बकसपत्र पाई रहेकोमा कान्छी आमा २०१६ सालमा परलोक हुनु भई मेरो बकसपत्र अनुसार हक स्थापना भएको सम्पत्ति भएकोले मेरा हक अधिकारको जग्गा हो । सो जग्गामा अन्यायवालाले जग्गाको बारेमा विवाद उठाउन खोजेकोले गा.पं.मा दर्खास्त गरेकोमा गाउँ पञ्चायतबाट कुनै कारवाही भएन । मेरो हकभोग चलनमा रहेको उक्त जग्गामा मेरा भैंसी बाँध्न पराल दाउरा र मल समेत थुपार्न नदिई मिति २०३९।५।२० गतेदेखि खिचोला गरी सो जग्गामा थुपारी राखेको टायल समेत फुटाई अन्यत्र सारी खिचोला गरेकोले यो फिराद गर्न आएको छु । मेरा हकभोग चलनको उक्त ०–२–० जग्गामा विपक्षीले गरेको खिचोला मेटाई मेरो हक कायम गरी विपक्षीहरूलाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको राम बहादुर महर्जनको फिरादपत्र ।
३. वादी दावीको जग्गामा विपक्षीलाई शेषपछिको बकसपत्र दिने लक्ष्मी थकुंको समेत कुनै हक नभई उक्त जग्गा मेरो बाबु दशवीरको हकभोग चलनको तिरो तिरान नलागेको जग्गा हो र सो जग्गाबाट नै मेरा बाबु दशवीरको नाउँमा जग्गाधनी महलमा समेत आफ्नै जनिई मोहियानी हकको प्रमाणपत्र समेत प्राप्त भई बाबु छउञ्जेल बाबुले र बाबु परलोक भएपछि मैले भोगचलन गरिआएको जग्गामा विपक्षीको कुनै हक नहुँदा वादीको फिराद अ.बं. ८२ नं.ले र जग्गा मिच्नेको १८ नं.ले समेत लाग्नै नसक्ने भएकोले अ.बं. १८० नं. बमोजिम खारेज गरी फिरादीका झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको दशलाल महर्जनको प्रतिउत्तरपत्र ।
४. विवादित कि.नं. १५ को साँधमा कि.नं. १३ र १४ का जग्गा वादीका नाउँमा दर्ता हुँदा वादीले उस बखत नापी पनि नगराएको र २०४०।४।१८ को नक्शाको न.नं. ६ को प्रतिवादीको घरबाट यही कि.नं. १५ को बाटो गरी प्रतिवादीको निकासा रहेको देखिएको समेतबाट वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरे भन्ने वादी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतबाट मिति २०४०।१०।८ मा भएको फैसला ।
५. मिति ०४०।४।१८ मा जिल्ला अदालतबाट भएको नक्शा वादी दावीको तत्वलाई समर्थन गर्ने गरी धान सुकाउने दाउरा पराल राख्ने भैंसी बाँध्ने समेतको काममा चलन गरिआएको मेरो भोगाधिकार भित्रको जग्गा हो भन्ने कुरा समर्थित हुन गएकोमा त्यसको उल्टो अर्थ लगाई वादी दावी पुग्न नसक्ने ठहर्याएको ल.पु.जि.अ.को उक्त फैसला बदर गरी फिराद दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्याई पाउँ भन्ने समेत व्यहोराको वादी राम बहादुरको वागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. विवादित कि.नं. १५ का जग्गा नापीको अवस्थामा प्रतिवादी दशलालको बाबु दशवीर महर्जनका नाउँमा नापी भएको देखिन्छ र विवादित जग्गामा प्रतिवादीको घरसँग जोडिएको देखिन आएको न.नं. ६ मा प्रतिवादीको घर देखिएको र झगडा परेको न.नं. १।२ प्रतिवादीको घरसम्म नै जोडिएको नक्शाबाट देखिन आउनुको साथै न.नं. ४ को घर न.नं. ३ वादीको पेटी भन्ने स्पष्ट देखिएकोले झगडा परेको न.नं. १।२ वादीको भन्न मिलेन, प्रतिवादीलाई सो न.नं. १।२ बाहेक अरु कुनै हिड्ने बाटो समेत भइआएको नक्शाबाट नदेखिएको समेतबाट वादी दावी नपुग्ने ठहर्याएको शुरु ल.पु.जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतबाट मिति २०४१।७।२६ मा भएको फैसला ।
७. वागमती अञ्चल अदालतबाट भएको उक्त फैसलामा कानुनको व्याख्या सम्बन्धी समेत त्रुटी हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी राम बहादुर महर्जनले म.क्षे.अ.मा दिएको निवेदनमा वादीको हक नपुग्ने गरी वागमती अञ्चल अदालतले गरेको फैसलामा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(३) को अवस्था विद्यमान हुँदा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को २०४२।५।२३ को आदेश रहेछ ।
८. विवादित जग्गामा वादीको हकदैया नै देखिन नआएको समेत प्रमाण परिबन्धबाट वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरे भन्ने वादी दावी नपुग्ने ठहर्याएको शुरुको इन्साफ सदर गरेको बा.अं.अ.को इन्साफ मिलेकै देखिँदा कुनै परिवर्तन गर्न नपरी सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ.को २०४३।६।६ को फैसला रहेछ ।
९. म.क्षे.अ.ले लिनु पर्ने प्रमाण समेत नलिई प्रमाण ऐन, ०३१ को दफा ५४ समेतको त्रुटी गरी वादी दावी पुग्न नसक्ने गरेको बा.अं.अ.को इन्साफलाई सदर गरेको म.क्षे.अ.को त्रुटिपूर्ण फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको यस अदालतमा पर्न आएको निवेदनमा नक्शा प्रमाणलाई समेत प्रमाणमा लिई इन्साफ गर्नुपर्नेमा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटी गरी गरेको म.क्षे.अ.को इन्साफ उपर पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति २०४३।७।१४ को आदेश रहेछ ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दामा तारेखमा रही इजलास समक्ष उपस्थित भएका वादी प्रतिवादीहरूलाई समेत रोहवरमा राखी पुनरावेदक वादीको तर्फबाट बहसका लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल तथा विपक्षी प्रतिवादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
११. प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१२. यसमा हकको आधार भनी देखाएको बकसपत्रमा जग्गाको ४ किल्ला र जग्गाको विवरण नखुलेको विवादको जग्गामा लक्ष्मी थंकुको हक पुगेको कुनै निस्सा समेत पेश हुन नआएकोबाट बकसपत्रबाट वादीको हक पुगेको भन्न सकिने अवस्था नरहेको विवादको जग्गा ०२१ सालमा नापी हुँदा विपक्षीका बाबु दशवीरले किसानको महलमा आफ्नो नाम लेखाई किसानको व्यहोरामा मेरो आफ्नो हकभोगको र कैफियतमा बेनिस्साबाट भोगी आएको भनी जनाई नापी गराए उपर वादी पुनरावेदकको यो फिराद गर्नु अगावै कुनै उजूर नपरेकोबाट जिकिर बमोजिम खाली मोहीसम्म लेखाएको भन्न नमिल्ने उसमा पनि वादीले विवादको जग्गाको पश्चिमतर्फ रहेका नं. ४ को घर पेटी आफैंले नपाएको यही विवादको जग्गा वादीको भए उस अवस्था आफूलाई ज.ध. देखाई नापी गराउन पर्ने सो पनि गर्न नसकेको जहाँसम्म २००९ सालको नक्शा दर्खास्त हाल न.नं. ४ को घर बनाउन नक्शा दिँदा पूर्व आफ्नो एकलौटी भोग भनी विवादको जग्गालाई देखाएकोमा कसैको उजूर नपरेबाट विवादको जग्गामा आफ्नो हक भएको देखिने भन्ने हकमा सर्भेबाट भएको नक्शामा विवादको जग्गाको पश्चिमतर्फ र वादीको भनेको न.नं. ४ को घरपूर्व अर्को जग्गा पनि रहे भएको देखिएको सो नक्शा दर्खास्तमा उल्लेख पूर्व आफ्नो एकलौटी भोग भनेकोले विवाद परेको न.नं. १ को जग्गालाई नै देखाएको भन्न सकिने अवस्था समेत नरहेकोले म.क्षे. अ.ले वादी दावी नपुग्ने ठहराएको इन्साफ मनासिब ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्ट फी रही मुद्दा दायर भएको देखिँदा केही गरिरहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बर प्रसाद सिंह
इतिसम्वत् २०४४ साल मार्ग ८ गते रोज ३ शुभम् ।