निर्णय नं. ८८७८ - जबर्जस्ती करणी
ने.का.प. २०६९, अङ्क ८
निर्णय नं. ८८७८
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
२०६६–CR–०६६७
फैसला मितिः २०६९।५।१९।३
मुद्दाः— जवर्जस्ती करणी ।
पुनरावेदक वादीः जिल्ला झापा, दमक न.पा.वडा नं.४ बस्ने नाम परिवर्तित B देवीको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला झापा दमक न.पा.वा.नं.१४ बस्ने नैनबहादुर तिवारीको छोरा चन्द्रप्रसाद तिवारी भन्ने चन्द्रबहादुर तिवारी
शुरु फैसला गर्ने :—
मा.जि.न्या.श्री अवधविहारीप्रसाद सिन्हा
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.श्री पुरुषोत्तम पराजुली
मा.न्या.श्री पुरुषोत्तम भण्डारी
§ जाहेरवालीको किटानी जाहेरी र पीडिताले मौकामा गरेको कागज तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले गरेको कागज तथा चिकित्सकीय प्रतिवेदनको प्रतिकूल हुने गरी जवर्जस्ती करणीको वारदात नै भएको होइन भनी निष्कर्षमा पुग्नु न्यायोचित् नहुने ।
§ प्रतिवादीको अदालतको इन्कारी बयानको विरुद्धमा प्रमाण यथेष्ट मौजूद रहेको अवस्थामा अदालतको इन्कारी बयान मात्र निर्दोषिता सावित हुने एकमात्र आधार हुन नसक्ने ।
(प्रकरण नं.७)
§ जवर्जस्ती करणीको वारदातको पहिलो कडी भनेको स्वयं पीडित हो र यी पीडितालाई प्रत्यक्ष र जीवित प्रमाण मान्नुपर्ने हुन्छ भने पीडितको शारीरिक परीक्षण अर्को कडी मान्नु पर्ने ।
§ अदालतमा इन्कारी हुनुलाई मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्दैन । अपराधीले सदैव पीडितको घरायसी आर्थिक अवस्थाको फाइदा उठाई प्रभावमा पार्न सक्ने र पीडितको सामाजिक अवस्था कमजोर भएको फाइदा लिन सो अवस्था मूल्याङ्कन गरी त्यसको मूल्य तिर्न उत्सुक रहिरहने हुँदा जाहेरी ढिला परेको रहेछ भन्दैमा भैरहेको अपराधलाई खण्डित गर्न खोज्ने प्रतिवादीका गलत मार्गहरूलाई अदालतले केलाउने प्रयास गर्नुपर्ने ।
(प्रकरण नं.१०)
§ म्याद तामेल हुँदा वेपत्ते भई नेपालको राष्ट्रिय पत्रिकामा म्याद तामेलको सूचना जारी हुँदा समेत अदालतसमक्ष उपस्थित भई आफ्नो निर्दोषिता पुष्टि गर्न नसकेको र न्यायिक प्रक्रियामा सहयोग पुर्याएको समेत नदेखिँदा निजको अदालतको इन्कारी बयान, जाहेरवाला र पीडितको अदालतको Hostile बकपत्रलाई मात्र आधार लिएर अभियोग दावीबाट सफाइ दिँदै जाने हो भने समाजमा अपराधले प्रश्रय पाउने र दण्डहीनताको स्थिति सिर्जना हुन जाने ।
§ पीडितको अदालतसमक्षको इन्कारी बकपत्रलाई स्वयं प्रतिवादीकै अदालतको बयान पीडितको शारीरिक परीक्षण प्रतिवेदन तथा मिसिल संलग्न अरु प्रमाणले खण्डन गरी सकेको अवस्था हुँदा वारदात घटनाप्रति अनभिज्ञता प्रकट गरी भएको बकपत्रलाई विश्वासनीय प्रमाणको रुपमा ग्रहण गर्नु न्योयोचित नहुने ।
(प्रकरण नं.११)
पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटी
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ जवर्जस्ती करणीको ३(२) र १० नं.
फैसला
न्या.तर्कराज भट्ट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः—
यसमा यस अदालतबाट मिति २०६४।९।१०।३ (नेकाप २०६४, अङ्क ९, नि.नं.७८८०, पृ.१२०८) मा जारी भएको विशेष प्रकृतिमा मुद्दाहरूको कारवाहीमा पक्षहरूको गोपनीयता कायम राख्ने निर्देशिका, २०६४ को दफा ३(१) बमोजिम जाहेरवाला, पीडित र पीडितको आमाको नाम परिवर्तन गरी निजहरूको वास्तविक नाम सिलबन्दी गरी मिसिल सामेल गरिएको छ । सो शिलबन्दी खाम फैसलाको अभिन्न अंग मानी अ.वं.२१ बमोजिम तायदाती फारमको कहिल्यै नसडाउने महलमा उल्लेख गरी अभिलेख राख्नु ।
मिति २०६३।९।१९ गते २०ः३० बजेको समयमा जिल्ला झापा दमक –१४ स्थित पूर्वमा धु्रव खतिवडाको घर, पश्चिममा इट्टाभट्टा जाने कच्ची बाटो, उत्तरमा शिव राईको घर, दक्षिणमा रामदेव भट्टराईको घर, यति चार किल्ला भित्र प्रतिवादी चन्द्रप्रसाद भन्ने चन्द्रबहादुर तिवारीको टिनको छाना सेन्टरवेरा गरेको दुई तले घरको मुनि तलामा प्रतिवादी चन्द्रप्रसाद तिवारीले पीडित अ कुमारीलाई दक्षिण सिरानी, उत्तर गोड्यान पारी डर धाक, धम्की, करकाप पारी जवर्जस्ती करणी गरेको भन्ने घटनास्थल मुचुल्का ।
मेरो छोरी वर्ष १३ की अ कुमारी र प्रतिवादी चन्द्रप्रसाद भन्ने चन्द्रबहादुर तिवारीको झड्केलो छोरी अन्जली राई एउटै स्कूलमा पढ्ने साथी हुँदा निजहरू कहिले हाम्रो घरमा, कहिले प्रतिवादीको घरमा पढ्न गई एकै ठाउँमा सुत्ने गर्दथे । मिति २०६३।९।१९ गते बेलुकी खाना खाई अ कुमारी र अन्जली निज प्रतिवादीकै घरमा थिए । घरमा गै टि.भी. हेदै गर्दा मेरी छोरीलाई पिसाब लागी पिसाब गर्न भनी सो घरको तलामुनि झरी घरदेखि बाहिर सिँडी नजिकै बाटाको छेउमा गई पिसाब गर्दै गर्दा मेरो छोरी तल झरेको थाहा पाई प्रतिवादी समेत अरुले थाहा नपाउने गरी तल झरी पिसाब फेर्दै गरेको मेरो छोरीको मुख थुनी बोल्न कराउन नदिई डर धाकमा पारी निजको घरमुनि भान्सा कोठामा लगेर सो स्थानमा विछ्याएको गुन्द्रीमा लडाई जवर्जस्ती करणी गरी सकेपछि हल्ला गरिस् भने तेरो बेइज्जत हुन्छ भनी डर त्रास देखाएको कारण चुपचाप माथि गई साथीसँग सुती भोलि घर आएर केही नभनी बसेकी, छोरी ज्यादै डराउने चिन्तित भई रहने, टोलाई रहने जस्तो देखी मैले सोधपुछ गर्दा मिति २०६३।९।२२ गते मात्र उक्त कुरा भनेकी हुँदा मेरी छोरीलाई जवर्जस्ती करणी गर्ने प्रतिवादीलाई कारवाही गरिपाऊँ भन्ने जाहेरी दरखास्त ।
जिल्ला झापा, दमक १४ बस्ने चन्द्रप्रसाद तिवारीको झड्केली छोरी अन्जली राई र म एउटै स्कूलमा पढ्ने भएकोले मिति २०६३।९।१९ गते अन्जली मेरो घरमा आई आज दुवै जना मेरैमा पढौंला भनी हाम्रो घरमा आएकी हुँदा म पनि मेरो किताब बोकी अन्जलीको घरमा गई हामी दुबै जना एकछिन पढ्यौं । त्यसपछि म लगायत अन्जली समेत भई टि.भी. सिरीयल हेर्दै गर्दा मलाई पिसाब लागी पिसाब फेर्न भनी तल झरी घर छेउ नजिकै बाटोमा पिसाब फेर्दै गर्दा चन्द्रप्रसाद तिवारीले एक्कासी पछाडिबाट मेरो मुख थुनी मलाई बोल्न कराउन नदिई बोलिस् भने मारी दिन्छु भनी डर त्रास देखाई हिँड भन्दै तलमुनि भान्सा कोठामा त्यहाँ विछाएको गुन्द्रीमा लडाई रु.१००।– दिन्छु भन्दै बोल्न कराउन नदिई मेरो जामा कटु खोली उसको पेन्ट खोली मेरो मुखमा कपडा राखी हातले थिची निजको उत्तेजित लिङ्ग मेरो योनीभित्र पसाई जवर्जस्तीसँग करणी गरी निजको वीर्य स्खलन गरेको भन्ने व्यहोराको पीडित C कुमारीको घटना विवरण कागज ।
पीडित C कुमारीको योनीभित्रको हाइमन तथा जाली च्यातिएको छ । महिनावारी भएको ५ दिन भएको छ । योनी सुन्निएको वा योनी वरपर चोटपटक डाम छैन भन्ने मेची अञ्चल अस्पतालबाट भएको पीडिताको शारीरिक परीक्षण प्रतिवेदन ।
जिल्ला झापा दमक न.पा.वडा नं.१४ बस्ने B देवीको छोरी C कुमारीको यस विद्यालयको रेकर्डअनुसार निजको जन्म मिति २०५०।०९।२७ मा भएको अभिलेखबाट देखिएको भन्ने श्री पशुपति संस्कृत मा.वि.दमकको पत्र ।
हस्तबहादुर उर्जी लिम्बूको नातिनी, धनबहादुर उर्जी लिम्बुको छोरी C कुमारी लिम्बूको जन्म मिति २०५०।९।२७ मा भएको भन्ने स्थानिय पञ्जिकाधिकारीको कार्यालय, महाभाराको मिति २०५५।२।१७ को जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
झापा दमक –१४ बस्ने B देवीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी चन्द्रप्रसाद तिवारी भएको जवर्जस्ती करणी मुद्दामा फरार रहेको प्रतिवादी चन्द्रप्रसाद तिवारीलाई निजको घर गाउँ तथा लुकी छिपी बस्न सक्ने संभावित स्थानहरूमा खोज तलास गर्दा फेला नपरेको भन्ने प्रहरी हवल्दार बेचन सार्कीको प्रतिवेदन ।
जिल्ला झापा, दमक १४ बस्ने B देवीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी चन्द्रप्रसाद तिवारी भएको जवर्जस्ती करणी मुद्दामा फरार रहेको प्रतिवादी चन्द्रप्रसाद तिवारीको बुबाको नाम नैनबहादुर तिवारी, बाजेको नाम खुल्न नसकेको, मेची न.पा.१ मा निजको जेठी श्रीमतीको नाममा घर जग्गा छ भन्ने खुलेको, के कति छ भन्ने खुल्न नआएको, दमक –१४ स्थित सुकुम्बासी टोलमा सेन्टर बेरा टिनको छाना भएको ऐलानी जग्गामा घर भएको, निजको नाममा जग्गा तथा अचल सम्पत्ति छ, छैन भन्ने, खुल्न नआएको र निजलाई खोज तलास गर्दा फेला नपरेको भन्ने प्र.ज.नन्दराज घिमिरेको प्रतिवेदन ।
म रिक्सा चालक हुँदा प्रायः घर वाहिरनै हुन्छु । मेरो नाबालक छोरी वर्ष १३ की C कुमारीलाई मिति २०६३।९।१९ गते राति प्रतिवादी चन्द्रप्रसाद तिवारीले मेरी छोरी निजको घरमा सुत्न गएको अवस्थामा पिसाब फेर्न घर बाहिर बाटोमा आई पिसाब गर्दै गर्दा मुख थुनी डर त्रास देखाई निजकै घरको तलामुनि भान्सा कोठामा लगी जवर्जस्ती करणी गरेको र छोरीले डरले कसैलाई नभनेको भन्ने समेत व्यहोराको पीडित अ कुमारीको बुबा धनबहादुर उर्जी लिम्बुले गरेको घटना विवरण कागज ।
झापा दमक १४ बस्ने चन्द्रप्रसाद तिवारीले अ कुमारीलाई सधैं पैसा दिने गरेको कुरामा श्रीमान् श्रीमती बीच घर झगडा भई छिमेकीहरूले थाहा पाई सविता पुरी समेतका महिलाहरू भेला भई C कुमारीलाई सोधपुछ गर्दा मिति २०६३।९।१९ गते चन्द्रप्रसाद तिवारीको घरमा निजकै झड्केली छोरी अन्जली राईसँग सुत्न गएको अवस्थामा पिसाब फेर्न घरबाट तल झरी बाटोमा पिसाब गर्दै गरेको अवस्थामा चन्द्रप्रसाद तिवारीले मुख थुनी डरत्रास देखाई निजकै घरको तलामुनि भान्सा कोठामा लगि जवर्जस्ती करणी गरेको कुरा आमाले थाहा पाए पिट्नु हुन्छ भन्ने डरले कसैलाई नभनेको भन्ने कुरा पीडिता C कुमारीले सबैसामु भनेपछि थाहा पाएको हो । गाउँमा करणी भएको हल्ला चलेपछि निज चन्द्रप्रसाद तिवारी गाउँ घरबाट भागेका छन् । निज भागेको देख्दा निजले पीडितलाई जवर्जस्ती करणी गरेकोमा विश्वास लाग्यो । निजलाई कानूनबमोजिम कारवाही होस् भन्ने समेत व्यहोराको एकै मिलान हुने गरी लक्ष्मी सुब्बा समेतले लेखाई दिएको बस्तुस्थिति मुचुल्का ।
मिसिल संलग्न सबुत प्रमाणहरूबाट प्रतिवादी चन्द्रप्रसाद तिवारीले पीडितालाई जवर्जस्ती करणी गरेको कुरा पुष्टि हुन आएकोले प्रतिवादीले मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ नं. तथा ३ (२) नं. अनुसार कसूर गरेको हुँदा निजलाई सोही महलको ३(२) नं. अनुसार सजाय हुनुको साथै प्रतिवादीबाट पीडितलाई ऐ.ऐनको ऐ.महलको दफा १० नं. अनुसार क्षतिपूर्ति समेत भराईपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको अभियोग माग दावी ।
मिति २०६३।९।१९ गते अ कुमारी मेरो छोरीसँग मेरो घरमा पढ्न भनी आएकी र म टि.भी.हेरी बसी रहेको ठाउँमा निज C कुमारी पनि टि.भी. हेर्न आएकीले मलाई खै के भयो भयो मैले C कुमारीको स्तन समाती निजलाई करणी गर्न देउ, म तिमीलाई रु.१००।– दिन्छु सम्म भनेको थिए । सोही बखत मेरी श्रीमती कोठामा आएकीले C कुमारी उठी आफ्नो घरतर्फ गईन । मैले C कुमारीलाई करणी गर्न देउसम्म भनेको हो । करणी गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादीले अदालतमा उपस्थित भई गरेको बयान ।
पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादीलाई अ.वं.११८ (२) नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने शुरु अदालतको आदेश ।
मिति २०६३।९।१९ गते राती म मेरै बहिनी सुस्मिता सुब्बासँग आफ्नै घरमा सुतेकी थिए । जाहेरीको बारेमा मलाई थाहा छैन भन्ने समेत व्यहोराको पीडिता C कुमारीले अदालतमा गरेको बकपत्र ।
म पढ्न लेख्न जान्दिन । प्रहरीले के कागजमा सही गराए थाहा भएन । छोरीलाई प्रतिवादीले करणी गरेको बारे केही थाहा छैन भन्ने समेत व्यहोराको जाहेरवाला B देवीले अदालतमा गरेको बकपत्र ।
यसमा जाहेरवाली र पीडिताले कसूर गरेको तथ्य स्थापित गराउन नसकी प्रतिवादीलाई सफाइ दिने गरी बकपत्र गरेको, प्रतिवादीले केवल करणी गर्ने प्रस्ताब राखेको, प्रतिवादीको बयानको आधारले र १९ गते भएको घटनामा २६ गते जाहेरी परी कारवाही भएको मौकाको घटना विवरण कागजका व्यक्तिहरूको भनाई तथा पीडिताको मौकाको कागज समर्थित नभएको हुँदा प्रमाण ऐन, २०३१ को दफा १८ ले प्रमाणिक महत्व नराख्ने हुँदा प्रतिवादी उपरको कसूर स्थापित नभई प्रतिवादीले सफाइ पाउने ठहर्छ भन्ने शुरु झापा जिल्ला अदालतबाट भएको मिति २०६४।११।१९ को फैसला ।
पीडिताले मौकामा कागज गर्दा प्रतिवादीले निजलाई मुखमा कपडा राखी बोल्न कराउन नदिई योनीभित्र लिङ्ग पसाई जवर्जस्ती करणी गरी वीर्य स्खलन भएपछि अर्को कोठामा गई सुतेको भनी उल्लेख गरेको एवं शारीरिक जाँचमा पीडिताको हाइमेन च्यातिएको भन्ने देखिएकोबाट, प्रतिवादी घटना पछि गाउँमा नहुनु पीडितालाई रु.१००।–दिई करणी गर्न मागेको देखिएका अवस्थामा प्रतिवादीलाई सफाइ दिने ठहर भएको शुरु अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदन ।
प्रतिवादी स्वयंले आफ्नो बयानमा करणीको आशयले पीडिताको स्तन समातेको कुरामा सावित भै स.ज.४ र ८ मा बयान गरेको देखिन्छ । आफूउपर त्यसरी प्रतिवादीबाट यौन दुर्ब्यवहार भएको कारणबाट तत्काल उठेको रिसको आवेगमा आई पीडिताले घटना विवरण कागज गरिदिएकी र सोही व्यहोराको जाहेरी परेको भए पनि दमक नगरपालिकाको एकै वडामा बस्ने पीडिताको परिवार र प्रतिवादीको परिवारपछि समझदारीमा आई जाहेरवाली समेतले अदालतमा जवर्जस्ती करणी नभएको वास्तविक व्यहोरा दर्शिने गरी बकी लेखाईदिएको हुनसक्ने अवस्था देखिँदा प्रतिवादीले दावीको कसूर गरेको भन्ने पुष्टि हुन आएन । यसर्थ प्रतिवादीले पीडितालाई जवर्जस्ती करणी गरेको भन्ने नदेखिँदा प्रतिवादीले आरोपित कसूरबाट सफाइ पाउने ठहराई भएको शुरु झापा जिल्ला अदालतको मिति २०६४।११।१९ को फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत इलामको मिति २०६५।८।२६ को फैसला ।
अपराधीलाई बचाउने नियतले स्वयं पीडित लगायत मैले बयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ताले निर्णय गर्दा कसैले सफाइ दिने बयान दिदैमा अभियुक्तलाई निरपराध ठहर गर्नुपर्ने वा कसैले अभियुक्त विरुद्ध बयान दिदैमा अपराधी ठहरिनै पर्ने भन्न सकिन्न । जाहेरी ढिला परेको, करणी गरेको होइन भनी जाहेरवाला तथा पीडितले गरेको बकपत्र समेतको आधारमा सफाइ दिने ठहर्याएको शुरु झापा जिल्ला अदालत र पुनरावेदन अदालत इलामको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(ख) को त्रुटि विद्यमान रहेको हुँदा प्रतिवादीलाई शुरु अभियोग मागदावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको मुद्दा दोहोर्याई हेरिपाऊँ भन्ने निवेदन ।
यसमा, प्रतिवादीको अदालतको बयानमा रु.१००।– दिन्छु करणी गर्न देउ भनेकोसम्म हुँ भनी बयान गरेको र पीडितको मौकाको किटानी कागज समेतको परिप्रेक्ष्यमा प्रतिवादीलाई सफाइ दिएको पुनरावेदन अदालतको फैसलामा जवर्जस्ती करणीको ५ नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ को ब्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।१।१५ को आदेशानुसार प्रस्तुत मुद्दा पुनरावेदनको रुपमा दर्ता भएको देखिन्छ ।
नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्र सहितका सम्पूर्ण कागजात अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटीले प्रतिवादीले पीडितालाई मुख थुनी बोल्न नदिई बोले मारी दिने धम्की दिई पैसा दिन्छु भनी स्तन माडी जवर्जस्ती करणी गरेको, प्रतिवादीले जवर्जस्ती करणी गरेको कारण पीडिताको हाइमेन च्यातिएको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएकोले करणीको कसूर पुष्टि भैरहेको अवस्थामा प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्नेमा सफाइ दिने ठहराएको पनुरावेदन अदालत इलामको फैसला उल्टी भई प्रतिवादीलाई अभियोग दावीअनुसार सजाय हुनुपर्दछ भनी बहस गर्नुभयो ।
उपरोक्त विद्वान सहन्यायाधिवक्ताको बहस समेत सुनी इन्साफतर्फ विचार गर्दा पुनरावेदन अदालत इलामबाट भएको फैसला मिलेको छ छैन ? र पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन ? भन्ने विषयमा ठहर निर्णय दिनुपर्ने देखियो ।
तत्सम्बन्धमा हेर्दा प्रतिवादी चन्द्रप्रसाद भन्ने चन्द्रबहादुर तिवारीले पीडिता वर्ष १३ की परिवर्तित नाम C कुमारीलाई जवर्जस्ती करणी गरको पुष्टि हुन आएकोले मुलुकी ऐन, जवर्जस्ती करणीको १ र ३(२) नं. को कसूरमा ऐ.३(२) नं. अनुसार सजाय भई ऐ.महलको १० नं. अनुसार पीडितालाई क्षतिपूर्ति दिलाई पाऊँ भन्ने अभियोग दावी भएकोमा दावीको कसूरबाट प्रतिवादीलाई सफाइ दिने गरी भएको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत इलामको फैसलाउपर चित्त नबुझी वादी नेपाल सरकारको तर्फबाट प्रतिवादीलाई दावीबमोजिम सजाय गरिपाऊँ भनी यस अदालतमा पुनरावेदन दायर भई निर्णयार्थ पेश भएको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, पीडिता C कुमारीलाई प्रतिवादीले मिति २०६३।९।१९ गते रातको समयमा आफ्नै घरको तलामुनिको भान्सा कोठामा लगी जवर्जस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त परी अनुसन्धान प्रारम्भ भएको प्रस्तुत मुद्दामा पीडिताले मौकामा गरेको घटना विवरण कागजमा मिति २०६३।९।१९ गते बेलुकी प्रतिवादी चन्द्रबहादुर तिवारीकी झड्केली छोरी अञ्जली राईले एक्लै सुत्न डरलाग्छ सँगै सुतौं भनी मलाई बोलाई लगी एकछिन पढिसकेपछि अञ्जली समेत भई टि.भी. सिरियल हेर्दै गर्दा मलाई पिसाब लागि घरछेउ बाटोमा पिसाब फेर्न बसिरहको अवस्थामा अञ्जलीका बाबुले पछाडिबाट मेरो मुख थुनी बोल्न कराउन नदिई डर त्रास देखाई आफ्नो घरको तलामुनि भान्छा कोठामा लगी गुन्द्रीमा लडाई रु.१००।– दिन्छु भनी मेरो मुखमा कपडा राखी हातले थिची बोल्न कराउन नदिई करणी गरे भनी लेखाईदिएको देखिन्छ ।
३. प्रतिवादीले अदालतमा आई बयान गर्दा २०६३।९।१९ गते साँझ C कुमारी छोरी अञ्जली राईसँग पढ्न मेरो घरमा आएकीमा मैले करणी गर्न देउ भनी लुगा बाहिरैबाट निजको स्तन समातेको, माडेकोसम्म हो, त्यतिबेला नै श्रीमती कोठामा आइपुगेकाले C कुमारी पनि उठी आफ्नो घरमा गएकी हुन् भन्ने तथ्य समेतलाई प्रतिवादीले स्वीकार गरी बयान गरेका छन् । तर जवर्जस्ती करणी गरेको होइन भनी लेखाईदिएको देखिन्छ । पीडिताको शारीरिक परीक्षण गर्दा निजको योनीभित्रको हाइमन तथा जाली च्यातिएको भन्ने देखिन्छ । पिडीता र जाहेरवालीले अदालतमा घटनाको सम्बन्धमा इन्कार गरेतापनि प्रतिवादीले पीडिता तथा जाहेरवालीलाई डरत्रास वा अनुचित प्रभावमा पारी झूठा बकपत्र गर्न नसक्ने अवस्था विद्यमान हुन नसक्ने भन्ने अवस्था तर्फ अदालतले अनुमान गर्न सक्दछ । प्रतिवादी स्वयंले आफ्नो बयानमा १३ वर्षकी पीडितालाई करणीको आशयले निजको स्तन समातेको कुरामा सावित भै आफ्नो अदालत समक्षको बयानको स.ज.४ र ८ मा बयान गरेको देखिन्छ । निज पीडिताको कन्या जाली च्यातिएको भन्ने डाक्टरको प्रतिवेदनलाई प्रतिवादीले अन्यथा भन्न सकेको छैन ।
४. प्रतिवादी आरोपित कसूरमा अदालतमा इन्कार रहेपनि अन्य स्वतन्त्र प्रमाणले कसूर स्थापित हुन्छ हुँदैन ? यी प्रतिवादी वास्तवमा निर्दोष हुन वा दोषी हुन् ? पुनरावेदन अदालतले जवर्जस्ती करणीको अपराधबाट प्रतिवादीलाई सफाइ दिएको मिलेको छ छैन ? सो कुराको प्राप्त प्रमाणको विश्लेषण गरी विवादको निरोपण गर्नुपर्ने देखिएको छ । प्रतिवादी आरोपित कसूरमा अदालतमा इन्कार रहेपनि पीडितलाई रु.१००।– दिन्छु भनी प्रलोभनमा पारेर घरभित्र भान्साको गुन्द्रीमा सुत्न लगाई निजले लगाएको जामा कट्टु समेत खोली दिई आफ्नो पाईन्ट खोली पीडिताको मुखमा कपडा राखी हातले थिची उत्तेजित लिङ्ग निजको योनीमा घर्षण गराई योनीभित्र हाली करणी गरी वीर्य स्खलन गरेपछि पीडितलाई ललाई फकार्ई तेरो गाउँमा बेइज्जत हुन्छ भनेर प्रतिवादीले भनेको अवस्था पीडितको मौकाको बयानबाट देखिन्छ एवं पीडितको हाइमन कन्याजाली च्यातिएको भन्ने शारीरिक परीक्षण प्रतिवेदनमा उल्लेख भएको हुँदा करणीको वारदात भएको तथ्यमा विवाद भएन ।
५. जवर्जस्ती करणीको वारदात स्थापित हुन प्रमाणको पहिलो कडी स्वयंम पीडितको भनाई र दोस्रो पीडितको शारीरिक परीक्षण नै हो । यी दुई प्रमाणको संयोजनद्वारा नै जवर्जस्ती करणी भएको हो होइन भन्ने तथ्यको निरोपण हुन सक्दछ । पीडितले मौकामा गरेको कागजमा मिति २०६३।९।१९ गते राति १०:३० बजेको समयमा निज प्रतिवादी पिसाब फेरिराखेको ठाउँमा आयो । आफ्नो घरको भान्सा कोठामा मलाई समाती मुख थुनी लगी मैले भनेको मान रु.१००।– रुपैयाँ दिन्छु भनी निजले मैले लगाएको जामा र कट्टु खोली दियो । निजले पनि आफूले लगाएको पाइन्ट खोली मेरो योनीमा निजको लिङ्ग ल्याई जोडी करणी ग¥यो मलाई कसैलाई नभन गाउँमा तेरो बेइज्जत हुन्छ भनी डर देखायो । निजले मलाई रु.१००।– दिने प्रलोभनमा डरत्रास देखाई जवर्जस्ती करणी गरेको हो भनी मौकामा किटानी साथ लेखाएको पाइन्छ ।
६. यी पीडित १३ वर्षकी नाबालिका रहेकी छिन् । अति कलिलो उमेरका बालबालिकामा कुनै जालझेल, छलकपट वा बनावटी कुरा गर्ने स्वभाव हुँदैन र त्यस्ता बनावटी कुरा गर्न पनि जानेका हुदैनन् । तिनीहरूमा रहेको आत्मैदेखिको निष्कलंक मानवीय स्वभावले गर्दा जे घटना घटेको छ सो उजागर मात्र गर्दछन् । त्यसरी उजागर गरिएको घटनाको तथ्य वास्तविकतामा अडेको हुन्छ । “ निजले पनि आफूले लगाएको पाइन्ट खोली मेरो योनीमा निजको लिङ्ग पसाइ जवर्जस्ती करणी गरी वीर्य स्खलन गरेको हो भन्ने लेखाई नै स्वाभाविक वास्तविकतामा अडेको छ । वारदात नघटेको भए एक अन्जान नाबालिकाले यी प्रतिवादीउपर करणी भएको अवस्था दर्शाई दोष लगाउने अरु कारण देखिन आएन । प्रतिवादीले कसूर नगरेको भए किन प्रतिवादीउपर आरोप लाग्यो र निज मौकामा न्यायिक प्रक्रियामा सहयोग नगरी फरार रह्यो । सो बारे प्रतिवादीले अन्यत्रको जिकीर लिन सकेको देखिँदैन । त्यसकारण प्रतिवादीको अदालतको इन्कारी बयान विश्वासलायक मान्न सकिँदैन । प्रमाणको अर्को कडी भनेको पीडितको शारीरिक परीक्षण हो । शारीरिक परीक्षणबाट पीडिताको योनीको हाइमन एवं कन्याजाली च्यातिएको भन्ने देखिन्छ । सो शारीरिक अवस्था अन्य कारणबाट भएको भन्ने पनि मिसिलबाट देखिन आएको छैन । यस्तो स्थितिमा प्रतिवादी आरोपित कसूरमा इन्कारी रहनु मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्दैन ।
७. यसरी जाहेरवालीको किटानी जाहेरी र पीडिताले मौकामा गरेको कागज तथा बस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले गरेको कागज तथा चिकित्सकीय प्रतिवेदनको प्रतिकूल हुने गरी जवर्जस्ती करणीको वारदात नै भएको होइन भनी निष्कर्षमा पुग्नु न्यायोचित् हुँदैन । त्यसकारण प्रतिवादीको अदालतको इन्कारी बयानको विरुद्धमा प्रमाण यथेष्ट मौजूद रहेको अवस्थामा अदालतको इन्कारी बयान मात्र निर्दोषिता सावित हुने एकमात्र आधार हुन सक्दैन ।
८. अव, के कस्तो अवस्थामा जवर्जस्ती करणी गरेको ठहरिने भन्ने सम्बन्धमा जवर्जस्ती करणीको महलको १ नं. मा भएको कानूनी व्यवस्था हेर्दा “कसैले कुनै महिलालाई निजको मञ्जूरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जूरी लिई वा नलिई करणी गरेमा निजले जवर्जस्ती करणी गरेको ठहर्छ” भनी निम्न व्यवस्था उल्लेख गरिएको छः
(क) डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोर जुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मञ्जूरीलाई मञ्जूरी मानिने छैन ।
(ख) होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जूरीलाई मञ्जूरी मानिने छैन ।
(ग) योनीमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्वरको प्रयोजनको लागि करणी गरेको मानिनेछ” भन्ने उल्लेख भएको पाइन्छ । सोह्र वर्ष मुनिकी बालिका वा कुनै स्वास्नी मानिसलाई उसको मञ्जूरी लिई वा नलिई जुनसुकै व्यहोरासँग करणी गरेपनि जवर्जस्ती करणी गरेको मानिने भन्ने उक्त कानूनी व्यवस्थाअनुसार यि पीडिता १३ वर्षकी नाबालिकाको हकमा निजको मञ्जूरीबाट करणी भएको अवस्थामा पनि जवर्जस्ती करणीको परिभाषाभित्र पर्न आउने देखिन्छ ।
८. पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट पीडितको हाइमन एवं कन्याजाली च्यातिएको भन्ने उल्लेख भएको अवस्थामा जवर्जस्ती करणी भएको हो होइन भनी थप प्रमाणको आवश्यकता र विश्लेषण गरिरहनु पर्ने आवश्यकता देखिँदैन । एक १३ वर्षीय अवोध नाबालिकाले आफूमाथि भएको क्रूर अमानवीय अपराधको बारेमा घटनाको यथार्थ चित्रण गरी भएको घटना उल्लेख गरी लेखाएकी, निज पीडितको भनाई अन्य स्वतन्त्र प्रमाणहरूले पुष्टि गरेको अवस्थामा यी प्रतिवादी निर्दोष रहेछन् भनी मान्न मिलेन ।
९. यस प्रकार यी प्रतिवादी प्रस्तुत अपराधको अनुसन्धान हुँदा मौकामा फरार रहेको देखिन्छ । पछि अदालतमा हाजीर भई बयान गर्दा वारदात घटेको भनिएको राति पीडित आफ्नो घरमा छोरीसँग पढ्न आएको, त्यसबेला पीडिताले टि.भी. हेरिरहेको अवस्थामा करणी गर्न देउ भनी निजको छाती सुम्सुमाएको समयमा आफ्नी श्रीमती आएकीले C कुमारी उठी गएकी हुन्, तर करणी नगरेको भनी घटनालाई आंशिक स्वीकार गरेको पाइन्छ । १३ वर्षकी एक नाबालिका छोरीकी साथी छोरी समानकी पीडितलाई रातको समयमा छाती मात्र सुम्सुमाएको हो तर करणी गरेको होइन भन्ने प्रतिवादीको अदालतको बयान आफैमा पत्यारलायक देखिन आएन ।
१०. यस वारदातमा पनि शुरुमा रु.१००।–दिन्छु भनेको, जवर्जस्ती करणी गर्दा पीडिताको मुखमा कपडा कोची मुख थुनेको, कसैलाई भनेमा तेरो वेइज्जत हुन्छ भनी धम्की दिएको देखिन्छ । जवर्जस्ती करणीको वारदातको पहिलो कडी भनेको स्वयं पीडित हो र यी पीडितालाई यस मुद्दामा प्रत्यक्ष र जीवित प्रमाण मान्नुपर्ने हुन्छ भने अर्को कडी पीडितको शारीरिक परीक्षण मान्नु पर्ने हुन्छ । यसमा वारदातमा पीडितले मौकामा कागज गर्दा वारदातको सन्दर्भमा सम्पूर्ण वर्णन लेखाएकी र करणी भएको पुष्टि निजको शारीरिक परीक्षण गर्ने डाक्टरी प्रतिवेदनबाट देखिन्छ । प्रतिवादीले अदालतमा इन्कारी हुनुलाई मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्दैन । किनकी यी प्रतिवादी विद्यालयको शिक्षक रहेका र करणीपश्चात् पनि पीडिता निज प्रतिवादीकी छोरीसँगै सुतेकी देखिन्छ । साथै अपराधीले सदैव पीडितको घरायसी आर्थिक अवस्थाको फाइदा उठाई प्रभावमा पार्न सक्ने र पीडितको सामाजिक अवस्था कमजोर भएको फाइदा लिन सो अवस्था मूल्याङ्कन गरी त्यसको मूल्य तिर्न उत्सुक रहिरहने हुँदा जाहेरी ढिला परेको रहेछ भन्दैमा भैरहेको अपराधलाई खण्डित गर्न खोज्ने प्रतिवादीका गलत मार्गहरूलाई अदालतले केलाउने प्रयास गर्नुपर्ने नै हुन्छ ।
११. यसकारण किटानी जाहेरी, पीडितको मौकाको कागज, जाहेरवाला र मौकामा बुझिएका व्यक्तिको भनाइर्, पीडितको शारीरिक परीक्षण, प्रतिवादीको अदालतमा भएको आंशिक साविती बयानलगायतका मिसिल संलग्न प्रमाणहरूबाट र यस अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भएपश्चात् प्रतिवादीलाई अदालतबाट दुइपटक म्याद तामेल हुँदा वेपत्ते भई नेपालको राष्ट्रिय पत्रिका गोरखापत्रमा मिति २०६८।५।७ मा म्याद तामेलको सूचना जारी हुँदा समेत प्रतिवादी अदालत समक्ष उपस्थित भइ आफ्नो निर्दोषिता पुष्टि गर्न नसकेको र न्यायिक प्रक्रियामा सहयोग पुर्याएको समेत नदेखिँदा निजको अदालतको इन्कारी बयान, जाहेरवाला र पीडितको अदालतको Hostile बकपत्रलाई मात्र आधार लिएर प्रतिवादीलाई अभियोग दावीबाट सफाइ दिदै जाने हो भने समाजमा अपराधले प्रसय पाउने र दण्डहिनताको स्थिति सिर्जना हुन जाने देखिन्छ । जहाँसम्म पीडितको अदालत समक्षको इन्कारी बकपत्रको प्रश्न छ, त्यसलाई स्वयं प्रतिवादीकै अदालतको बयान पीडितको शारीरिक परीक्षण प्रतिवेदन तथा मिसिल संलग्न अरु प्रमाणले खण्डन गरी सकेको अवस्था देखिनाले वारदात घटनाप्रति अनभिज्ञता प्रकट गरी भएको त्यस्तो बकपत्रलाई विश्वासनीय प्रमाणको रुपमा ग्रहण गर्नु न्योयोचित देखिन आएन ।
१२. जवर्जस्ती करणीको अपराध एक गम्भीर अमानविय अपराध हो । यसमगस पीडितले सदैव मानसिक र सामाजिक तनाब व्यहोर्नुपर्ने र पीडितको मानवीय संवेदनशिलतामा ठूलो क्षति पुग्न जाने हुँदा अनुसन्धानमा संलग्न सबै निकायहरू बहुतै चनाखो हुनुपर्ने देखिन्छ । कामवासनाको पूर्तिबाट तत्काल प्राप्त हुने आनन्दका लागि प्रतिवादीले अनेकौं उपायहरू अवलम्बन गर्ने गरेको पाइन्छ । पीडितलाई अनेक मनोवैज्ञानिक प्रभावहरू पारेको हुन सक्दछ । यसबाट पीडितको स्वतन्त्र मानवीय अस्तित्व, मान, सम्मान र उसको व्यक्तिगत एवं सामाजिक अस्मिता लुटिएको हुन्छ र उसको स्वतन्त्र अस्तित्व नै खण्डित भएको हुन्छ ।
१३. तसर्थ, माथि उल्लिखित आधार, कारण र प्रमाणबाट अभियोग मागदावीबमोजिम प्रत्यर्थी प्रतिवादी चन्द्रप्रसाद भन्ने चन्द्रबहादुर तिवारीले पीडित C कुमारीलाई मुलुकी ऐन, जवर्जस्ती करणीको १ नं. विपरीत जवर्जस्ती करणीको कसूर गरेको र वारदात हुँदाका अवस्थामा पीडिताको उमेर १३ वर्ष मात्र रहेको देखिँदा निज प्रतिवादीलाई ऐ.को ३(२) नं.बमोजिम ८ वर्ष कैद सजाय हुने र ऐ.१० नं. बमोजिम प्रतिवादीबाट पीडितालाई रु १,००,०००।– (अक्षेरुपी एकलाख) क्षतिपूर्ति भराई दिने भनी ठहर गर्नुपर्नेमा सो नगरी जवर्जस्ती करणीको अभियोग दावीबाट प्रतिवादीले सफाइ पाउने ठहर्याएको शुरु झापा जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत इलामको मिति २०६५।८।२६ गतेको फैलसा उल्टी भई प्रतिवादीलाई ८ वर्ष कैद र प्रतिवादीबाट पीडितालाई रु.एक लाख रुपैयाँ (१,००,०००।–) क्षतिपूर्ति भराई दिने ठहर्छ । अरुमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत इलामबाट भएको फैसला उल्टी भई प्रतिवादी चन्द्रप्रसाद भन्ने चन्द्रबहादुर तिवारीलाई ८ (आठ वर्ष) कैद हुने र प्रतिवादीबाट पीडितलाई रु.एक लाख (१,००,०००।–) क्षतिपूर्ति भराई दिने ठहरेकोले सोको लगत कसी असूलउपर गर्नु साथै प्रतिवादी शुरु अदालतको थुनछेक आदेशानुसार मिति २०६४।५।२४ देखि ०६४।११।१९सम्म ५महिना २५ दिन कैद बसेको देखिँदा निज प्रतिवादीलाई सो थुना कट्टा गरी वाँकी ७ वर्ष ६ महिना ५ दिन थुनाको लगत कस्नु भनी शुरु झापा जिल्ला अदलतमा लेखी पठाई दिनू १
पीडित C कुमारीलाई प्रतिवादी चन्द्रप्रसाद भन्ने चन्द्रबहादुर तिवारीबाट निजको चल अचल सम्पत्ति नेपाल अधिराज्य भर कहाँ के कति छ यकीन गरी सो रोक्का राखी कानूनको रीत पुर्याई प्रतिवादीको श्रीसम्पत्तिबाट पीडितलाई कुनै दै दस्तूर नलिई एकलाख रकम क्षतिपूर्तिस्वरुप भराई दिनु भनी झापा जिल्ला अदालतमा लेखी पठाईदिनू –२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू –––३
उक्त रायमा सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०६९ साल भदौ १९ गते रोज ३ शुभम्
इजलास अधिकृतः— परशुराम भट्टराई