शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२७४    ने.का.प. २०४४      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको रिट नम्बर १५४९

विषय : उत्प्रेषणयुक्त परमादेश वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ ।

 

निवेदक      : जि.सुनसरी हासपोसा गा.पं. वडा नं. २ बस्ने मान बहादुर वन सन्यासी ।

विरुद्ध

प्रत्यर्थी : का.मु.भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय सुनसरी ।

      जि.सुनसरी चांदबेला गा.पं. वार्ड नं. १ बस्ने मनिर मिश्रा ।

आदेश भएको मिति: २०४४।८।१५।३ मा

     कानुन अनुसार बाली भराई मोही हकबाट निष्कासन मुद्दा परिसकेपछि बाली बुझेको भर्पाई पेश भएकोमा कानुन बमोजिम निर्णय गर्नु पर्नेमा वादी दावी खारेज हुने भन्ने समेत ठहर भएको कानुन अनुरुप नहुँदा भू.सु.का.को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

 (प्रकरण नं. १०)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल             

विपक्षी तर्फबाट      : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा

उल्लेखित मुद्दाःX

आदेश

न्या.बब्बर प्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ ।

२.    जि.सुनसरी चाँदबेला गा.पं. वार्ड नं. २(ख) कि.नं. १५८ को भिट अवल ज.वि. ०१० र ऐ. कि.नं. १५९ को दोयम धनहर ज.वि. २० समेत जग्गाको विपक्ष मनिर मिया मोही भएको र यो २०४१ सालको कूत नबुझाएको र ऐनका म्यादभित्र धरौट समेत नराखेकोले हुने कूतको बजार दर भाउले हुने रु. ४४९२।दिलाई भराई मोहियानी हकबाट निष्कासन गरिपाउँ भन्ने समेत मेरो उजूरी भएकोमा कूत बुझाइसकेको छु भर्पाई माग्दा आलटाल गरी दिनु भएन विश्वासमा परी त्यसतर्फ कुनै कारवाही गरेको छैन मोही निष्कासन गर्ने झुठ्ठा उजूर गर्नु भएकोले गाउँ सरजमीन समेत बुझी झुठ्ठा दावाबाट अलग फूर्सद गराई पाउँ भन्ने समेत व्यहोराको विपक्षले प्रतिउत्तरपत्र फिराएकोमा २०४२।९।१५ मा भर्पाई पाएको छु भनी भनेकोबाट आदेशानुसार पेश भएको भर्पाई मलाई सुनाउँदा कसबाट कुन बेहोराले खडा गरी यस कार्यालयमा ल्याई फिलहाल पेश गरेको हुन निजै जान्दछन । मलाई कूत बुझाएको पनि छैन । मैले भर्पाई पनि दिएको छैन । दिलकुमार २०३२ साल देखि नै छुट्टी भिन्न बसेको छ भन्ने समेत मेरो बयान भएको थियो । विपक्षी अधिकारीज्यूबाट यसमा उक्त प्रमाणको समेत मूल्याङ्कन गरी निर्णयतर्फ विचार गर्दा यसमा कूत बुझेको र मिन्हा समेत दिएको भर्पाई पेश भएको र भर्पाईलाई लिखत गरी दिनेले कीर्ते भन्न नसकेको र भर्पाई लेखेको मात्र छु सही गरेको होइन धान बुझेको छैन भन्ने कुरा हास्यास्पद एवं मुद्दालाई बंग्याउने कोशिश मात्र गरेको देखिन्छ कारण धानै नबुझी भर्पाई गरी दिने प्रश्न नै उठ्दैन स्वहस्ताले भर्पाई लेखेकोमा नाम मात्र लेखेको हुँ सही गरेको होइन भन्ने कुरा कानुनी रुपले अमिल्दो साथै सो भर्पाईलाई सद्दे भनी स्वीकार गरिसकेपछि सही गरेको छैन । नाम मात्र लेखेको हुँ भन्ने कुरा तर्कसंगत नदेखिएकोले दोहरी कूत भराई रहन कानुनसंगत नहुने भएकोले सो मुद्दा खारेज हुने ठहर्छ भनी २०४३।२।२० मा फैसला गर्नु भयो ।

३.    यो विवादको २०४१ सालको कूत दिएन दिलाई मोहिबाट निष्कासन गरिपाउँ भन्ने समेत माग दावी भएको हो । कानुनले कूत बुझाई भर्पाई लिनु पर्ने म्यादमा बुझी लिएन भर्पाई दिएन भने धरौट राख्ने म्याद समेत प्रष्ट रुपमा उल्लेख हुनुको साथै म्यादभित्र बुझाएन धरौट राखेन भने भूमिसम्बन्धी ऐन, २०२१ को  दफा २९(१) ले कूत बुझाएन भन्ने कुराको उजूरी दिएमा निष्कासन हुने कुराका साथै ऐनको दफा २९(३) अनुसार कूत समेत भराई दिने व्यवस्था कानुनमा छ र भूमिसम्बन्धी नियम, २०२१ को नियम ४६ को देहाय (क) ले मोहीले जग्गाबालालाई कूत बुझाउने समय माघ मसान्तसम्म अर्थात् ०४१ साल माघ मसान्त सम्म रहेको छ जग्गाबालाले बुझी नलिएमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा (२) ले सो बुझाउने म्याद नाघेको ३० दिन भित्र स्थानीय पञ्चायत माल वा भूमि सुधार कार्यालयमा धरौट राख्न पाउने कानुनी व्यवस्थाको अतिरिक्त कूत बुझी भर्पाई नदिएमा भर्पाई दिलाई पाउँ उजूर भूमि सुधार कार्यालयमा दिन सक्ने व्यवस्था समेत कानुनमा छ भने उजूर बाजुर गरेको कुनै छैन भर्पाई छैन भने प्रतिवाद गर्दै बुझाई सकेको छु भन्ने मौखिक कुरा मात्र छ । यस स्थितिमा दावी अनुसार कूत भराई मोहिबाट निष्कासन गर्नु पर्नेमा खारेज गर्ने गरी भएको फैसला अ.बं.१८० नं. मा उल्लिखित कानुन र प्रमाण ऐन, ०३१ को दफा ३, , ५४ को त्रुटी भएको छ भर्पाई भनिएको र सुनाइएको भर्पाई दिलकुमारले दिएको भनिएको ०४२।९।१५ को छ यो विवाद ०४१ सालको हो र त्यसमा पनि मुद्दामा असर पर्ने कुनै प्रमाणको श्रृष्टि गर्छ भने त्यसलाई मान्यता दिन नमिल्ने कुरा ने.का.प.०३२ नि.नं. ९१७ मा प्रतिपादित सिद्धान्तले प्रष्ट गरेको छ । त्यसैले त्यस्तो भर्पाई अ.बं. ७७, ७८ को प्रतिकूल पनि भएकोले बदरभागी छ तसर्थ विपक्षी अधिकारीज्यूबाट भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने रिट निवेदनपत्र ।

४.    यसमा के कसो भएको ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जको आदेश ।

५.    भूमि सुधार अधिकारीले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) बमोजिम बाली बुझाएको हो वा होइन भनी हेर्नु पर्ने कर्तव्य ऐनले निर्दिष्ट गरेको छ । उक्त दफा बमोजिम मैले बाली बुझाएको अवस्थामा निजको एकाघरको छोराले ०४१ सालको बाली बुझेको हो भनी भर्पाई गरी दिएपछि बाली बुझाएको स्वतः प्रमाणित भएको अवस्था भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(क) तथा दफा २९(३) प्रयोग नहुने भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मनिर मियाँको लिखित जवाफ ।

६.    रिट निवेदकको यस कार्यालयमा कूत दिलाई मोही निष्कासन गरिपाउँ भन्ने उजूरी परेको र पछि गएर प्रतिवादीले जग्गाधनीले पाउने कूतबाली बुझाई सकेको छु भनी प्रमाण स्वरुप निज वादीको एकाघर सगोलको छोरा दिलकुमारले मिति २०४३।९।१५ मा गरिदिएको भर्पाई प्रमाणमा पेश हुन आएको र सो भर्पाई सम्बन्धमा निज दिलकुमारलाई कागज गराउँदा भर्पाईको लिखत सद्दे हो भनी २०४३।२।२० मा कागज गरी स्वीकार गरेकोले कूतबाली बुझाउने मोहिलाई मोहियानी हकबाट निष्कासन गरी कूत भराउँदा कानुनसंगत नहुने हँदा मुद्दा खारेज हुने ठहरी निर्णय भएको र सो निर्णयमा कुनै कानुनी त्रुटी नरहेकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको का.मु.भू.सु.अ, भू.सु.का. सुनसरीको लिखित जवाफ ।

७.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले मोही निष्कासन मुद्दा परिसकेपछि मात्र खडा भएको भर्पाईले कुनै कानुनी मान्यता प्राप्त गर्न नसक्ने हुँदा भू.सु.का.को निर्णय उत्प्रेषणको आदेशद्वारा  बदर हुनुपर्छ भन्ने र प्रत्यर्थी कार्यालयका तर्फबाट बहसका लागि उपस्थित हुनुभएका मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले एकासगोलको छोराले भर्पाई गरिदिएको कुरा अधिकार प्राप्त कार्यालयमा स्वीकार गरिसकेपछि कूत बुझाएको छैन भनी मोहियानी हकबाट निष्कासन गर्न कानुनसंगत नहुँदा खारेज गर्ने गरेको भू.सु.का.को निर्णय कायम नै राखी रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको बहस गर्नु भयो ।

८.    रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने नपर्ने के रहेछ त्यसमा निर्णय दिन पर्ने हुन आयो ।

९.    ०४१ सालको कूत पनि नबुझाएको र ऐन बमोजिम धरौट पनि नराखेकोले कूत दिलाई मोहियानी हकबाट निष्कासन गर्नु पर्नेमा मुद्दा परिसकेपछि खडा भएको भर्पाईको आधारमा मुद्दा नै खारेज गर्न गरेको भू.सु.का. सुनसरीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर भएकोमा निवेदकले बाली बुझेको तर भर्पाई नगरी दिएकोले निवेदकको एकाघरको छोराले ०४१ सालको बाली बुझेको भर्पाई गरिदिएको हुँदा र कानुन बमोजिम निर्णय भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थीको लिखित जवाफ पाइन्छ ।

१०.    यसमा विवादित जग्गाको विपक्षी मनिर मियाँ मोही भई उक्त जग्गा जोतकोड गरी धान पाटाबाली लगाई ०४१ सालमा जग्गाधनीले पाउने नियम अनुसारको धानपाटाबाली नदिई सम्बन्धित माल अड्डामा समेत धरौट समेत नराखी एकलौटी खाएकोले भू.सु.ऐन बमोजिम जम्मा रु. ४४९२।विपक्षीबाट मलाई दिलाई भराई मोही हकबाट निष्कासन गरिपाउँ भन्ने रिट निवेदकको भू.सु.का. सुनसरीमा उजूरी निवेदन परेकोमा कूत बुझेको भर्पाई पेश भएकोले दोहोरो कूत भराई रहन कानुनसंगत नहुने हुँदा यो मुद्दा खारेज हुने ठहर्छ भनी २०४३।२।२० मा निर्णय भएको देखिन्छ । भू.सु.का.सुनसरीमा २०४२।५।१६ मा कूत भराई बाली निष्कासन मुद्दा परिसकेपछि २०४२।९।१५।२ मा एकासगोलको छोराले कूत बुझेको र मिन्हा समेत दिएको भर्पाई पेश भएको आधारमा भू.सु.का.सुनसरीले खारेज गरेको पाइन्छ । कानुन अनुसार बाली भराई मोही हकबाट निष्कासन मुद्दा परिसकेपछि बाली बुझेको भर्पाई पेश भएकोमा कानुन बमोजिम निर्णय गर्नु पर्नेमा वादी दावी खारेज हुने भन्ने समेत ठहर भएको कानुन अनुरुप नहुँदा भू.सु.का.को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । पुनः कानुन बमोजिम गरी निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ । सम्बन्धित कार्यालयको जानकारीको लागि पठाउन यसै आदेशको प्रतिलिपि साथ राखी महान्यायाधिवक्ताको कार्यालयमा लेखि पठाई फायल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल मंसीर १५ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु