शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२७८ - अंश दर्ता

भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११

निर्णय नं. ३२७८    ने.का.प. २०४४      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् ०४१ सालको दे.पु.नं. ६३०

मुद्दा : अंश दर्ता ।

 

पुनरावेदक/वादी: उदयपुर जि.सुन्दरपुर गा.पं. वडा नं. ८ बस्ने बुधन चौधरी थारु ।

विरुद्ध

प्रत्यर्थी/वादी: ऐ. ऐ. हडिया बकेनिया गा.पं. वडा नं. ३ बस्ने दुखी चौधरी थारु  

फैसला भएको मिति: २०४४।८।२८ मा

 

            वादीका नाउँमा छुट्टै दर्ता तिरो समेतका जग्गा देखिन आएको छ । वादीले आफ्ना नाउँको केही जग्गा बेचविखन समेत गरेको देखिन्छ, व्यवहार प्रमाणबाट वादी प्रतिवादी छुट्टी भिन्न भई अलग अलग रहेको देखिन आयो, निजहरू सगोलमा रहे बसेको देखिने तथ्ययुक्त अन्य कुनै प्रमाण पेश दाखेल हुनसकेको छैन, तत्कालिन अंशबण्डाको ३० नं. ले पनि व्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको देखिएकोलाई अंशबण्डाको कागज नभए पनि मान्यता दिएको छ, अतः यस्तो स्थितिमा वादी प्रतिवादीहरू बेगल भइसकेको देखिन आएबाट वादीको प्रतिवादीहरूबाट २ भागको १ भाग अंश पाउँ भन्ने दावा पुग्न नसक्ने ।

(प्रकरण नं. १४)

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला

विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह          

उल्लेखित मुद्दाःX

आदेश

न्या.पृथ्वी प्रसाद सिंहः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५(ख) अन्तर्गत पुनरावेदनको अनुमति प्राप्त गरी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :

२.    मूल पूर्खा ढोडनका ४ छोराहरू हुन् दाज्यू रतिलालका चार छोरामा बुधन जेठा, हिलानाथ माइला, मिढु साइला तथा बच्नु कान्छा हुन् । माहिला नाथ दाजु रतिलालक जीवनकाल ०१६ साल आषाढमा आफ्ना अंश लिई छुट्टी अलग बस्न गए बाहेक प्रतिवादीहरू तथा म समेत ५ जना सगोलमा रही बसिआएको परिवार बढ्न गएकोले विपक्षीहरूसँग बस्ने मेरो चित्त नमानी ०३७।१।१ मा मानो छुट्टिई अंश लाग्ने जग्गा जमीनको बाडफाँड गरिदेउ भन्दा टारवार गरी अंश दिन नचाहेकोले घरको मुख्य प्र.बुधन भएकोले प्र.हरूबाट तायदाती लिई आधी अंश दिलाई दर्ता समेत गराई पाउँ भन्ने समेत फिरादपत्र ।

३.    ०१६ सालमै बाबु रतिलाल र काका देखि भिन्न भई छुट्टिई निजका भागमा परेको जग्गा निजका नाउँमा तिरो तिरी भोगि आएका छन् । भू.सु .लागू हुँदा ७ नं. फाँटवारी पनि आफ्नो अलग पेश गरेको छ । ०२८ सालको सर्भे नापी हुँदा समेत वादीले आफ्नो नाउँमा जग्गा दर्ता गराई भोगी आएका छन् । वादी दावी बमोजिम अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिउत्तरपत्र ।

४.    अंश पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत ०३९।५।२७ मा उदयपुर जि.अ.को फैसला ।

५.    जिल्ला अदालतको फैसला उपर चित्त बुझेन सो फैसला उल्टाई पाउँ भन्ने समेत दुःखी चौधरीको पुनरावेदनपत्र ।

६.    पुनरावेदक वादीका नाउँमा जग्गा रहेकै नाताले पुनरावेदक वादीले अंश पाउँदैन भन्न नमिल्ने देखिँदा सोही अंशबण्डा बमोजिम नाथू चौधरीले पाएको जग्गा बाहेक गरी दाखेल भएको तायदाती फाँटवारी बमोजिमको जग्गाको २ भागको एक भाग अंश वादी दुःखीले पाउने भनी ठहर्‍याउनु पर्नेमा छुट्टिसकेको भनी अंशमा दावी नपुग्ने ठहर्‍याएको शुरुको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

      ७.    प्रस्तुत मुद्दामा मेरो विरुद्ध प्रमाण लगाइएको बण्डापत्रको प्रमाण जिल्ला अदालतमा विपक्षीले नक्कल पेश गर्न नसकेको र हाल मलाई सुनवाई नगराएकाले पू.क्षे.अ.को फैसलामा गम्भीर कानुनी त्रुटी हुँदा पुनरावेदन अनुमति पाउँ भन्ने समेत बुधन चौधरीको यस अदालतमा पर्न आएको निवेदन ।

८.    वादीलाई प्रतिवादीहरूसँग सगोलमा रहेको भनी नाथू चौधरीले पाएको बाहेक गरी २ भागको एक भाग दिलाउने गरी गरेको पू.क्षे.अ.को निर्णयमा अ.बं. ७८ नं. अंशबण्डाको ३० नं. को त्रुटी भएको हुँदा पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत २०४१।८।६ को यस अदालतको आदेश ।

९.    नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिशंकर निरौलाले र विपक्षी वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहले गर्नु भएको बहस समेत सुनियो ।

१०.    अब यो मुद्दामा पू.क्षे.अ.बाट भएको इन्साफ मनासिब वा बेमनासिब के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।

११.    निर्णयतर्फ विचार गर्दा यसमा मूलपूर्खा ढोडनका ४ छोरामा जेठा रतिलाल, माहिला मोतिलाल, साहिला मनहु र कान्छा वादी दुःखी चौधरी थारु भएकोमा विवाद छैन मोतिलाल र मनहु निसन्तान भई परलोक भएको र रतीलालको ४ छोरामा माहिला नाथु ०१६ सालमा नै छुट्टिई भिन्न बसेको, अन्य प्रतिवादीहरू बुधन मिठु र बधुसँग म सगोलमा बसिआएकोमा खान लाउन नदिएकोले प्रतिवादीहरूबाट तायदाती लिई आधा अंश दिलाई पाउँ भन्ने दुःखी चौधरीको फिराद दावी भएकोमा हामी प्रतिवादीका पिता रतिलालकै पालामा २०१६ सालमा वादीलाई अंश दिई निजका भागमा परेको जग्गा निजकै नाउँबाट भोग तिरो भई ७ नं. फाँटवारी समेत भरी आफ्नो नाउँमा नापी जग्गा दर्ता गराएका छन् । वादी दावी झुठ्ठा हो भन्ने समेतको प्रतिवादीहरूको प्रतिउत्तर जिकिर देखिन्छ ।

१२.   वादी काका नाताको र प्रतिवादीहरू भतिजाहरू भएको कुरामा विवाद देखिन आएको छैन । वादीले प्रतिवादी बुधनसँग नाथु २०१६ सालमा भिन्न भएको भनी स्वीकारेका छन् । दाजुभाइको अंशबण्डा नै नभई दाजुको छोराले अंशबण्डा पाइसकेको भन्ने कुरा पनि पत्यार लायक देखिँदैन ।

१३.   मोठ श्रेस्ता हेर्दा ढोढन परलोक भएपछि निजका नाउँको सबै सम्पत्ति भाइ मोतिलालको नाउँमा सर्न गई मोतिलाल परलोक भएपछि रतिलालका नाउँमा सर्न गएको देखिन्छ। रतिलालको नाउँबाट वादी दुःखीको नाउँमा विभिन्न जग्गा गएको पनि देखिन्छ ।

१४.   मालपोत कार्यालय उदयपुरको मिति ०३८।५।३।४ को पत्र साथ प्राप्त जग्गाधनी दर्ता प्रमाण पूर्जा हेर्दा गा.पं. हडिया बकैनिया वार्ड नं. ४(क) कि.नं. १५९ मा ०५ ऐ. वार्ड नं. ४(ख) कि.नं. ५७ मा २९ ऐ. वार्ड नं. ४(घ) कि.नं. १५ मा ०१७१५ तथा ऐ.कि.नं. २१ मा ०१ समेत जम्मा ३१०४१/३ जग्गा वादीका नाममा दर्ता भएको देखिन आयो । भू.सु. लागू भई ७ नं. फाँटवारी पनि वादीकै नाउँमा भरेको भन्ने कुरा मिसिल संलग्न उक्त ७ नं. फाँटवारीको प्रतिलिपिबाट देखियो । यसरी वादीका नाउँमा छुट्टै दर्ता तिरो समेतको जग्गा देखिन आएको छ। वादीले आफ्ना नाउँको केही जग्गा बेचबिखन समेत गरेको देखिन्छ । व्यवहार प्रमाणबाट वादी प्रतिवादी छुट्टी भिन्न भई अलग अलग रहेको देखिन आयो । निजहरू सगोलमा रहे बसेको देखिने तथ्ययुक्त अन्य कुनै प्रमाण पेश दाखेल हुनसकेको छैन । तत्कालीन अंशबण्डाको ३० नं. ले पनि व्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको देखिएकोलाई अंशबण्डाको कागज नभए पनि मान्यता दिएको छ । अतः यस्तो स्थितिमा वादी प्रतिवादीहरू बेगल भइसकेको देखिन आएबाट वादीको प्रतिवादीहरूबाट २ भागको १ भाग अंश पाउँ भन्ने दावा पुग्न सक्दैन भनी शुरु उदयपुर जि.अ.बाट भएको इन्साफ मनासिब ठहर्छ । वादी दावी बमोजिम २ भागको १ भाग अंश पाउने ठहर्‍याएको पू.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण भई उल्टी हुने ठहर्छ । तपसीलका कलममा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावा नपुग्ने ठहरेकोले पू.क्षे.अ.को मिति ०४०।१।१६ को फैसला बमोजिम दिएको लगत कायम राख्न नपर्ने फैसलाले दिएको लगत कट्टा गर्नु भनी शुरु उदयपुर जि.अ.मा लेखि पठाउन का.जि.अ.त.मा लगत दिनु....१ पनरावेदक प्रतिवादी बुधन चौधरी थारुको निजले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. ३३७।३७ वादी दुःखी चौधरी थारुबाट भरिपाउँ भनी ऐनका म्यादभित्र दर्खास्त दिए कानुन बमोजिम गरी भराई दिनु भनी ऐ.मा ऐ.ऐ.....१

पुनरावेदक प्रतिवादी बुधन चौधरी के निजले यस अदालतमा पुनरावेदन गर्दा राखेको धरौटी रु. ७०।फिर्ता पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त परे कानुन बमोजिम गरी दिनु भनी ऐ.मा ऐ.ऐ....१

मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४४ साल मार्ग २८ गते रोज २ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु