निर्णय नं. ३२७९ - कर्तव्य ज्यान

निर्णय नं. ३२७९ ने.का.प. २०४४ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
सम्वत् २०४३ सालको फौ.पु नं. ५२८, ५२९
सम्वत् २०४३ सालको फौ.सा.नं. ४८
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी:जि.मकवानपुर गा.पं.फखेल वार्ड नं.९ घर भै हाल जि.का.का. शाखा वीरगञ्ज थुनामा रहेको मोती बहादुर लामा ।
ऐ.ऐ बस्ने वीर बहादुर थोकर ।
विरुद्ध
विपक्षी/वादी: कृष्ण कुमारी गोलेको जाहेरीले श्री ५ को सरकार ।
फैसला भएको मिति: २०४४।७।२०।६ मा
उल्लेख गरे बमोजिम वीर बहादुरले नै आफ्नो छोरालाई मागेको केटी मृतकले भगाएको रिसमा खुकुरीले चोट छोडी मारेको र अन्य व्यक्तिहरूको सहयोग समेत लिई फालेको कुरा सिलसिलाबद्ध रुपमा पुष्टि भएको हुँदा मृतकको मृत्यु वीर बहादुरकै कर्तव्यबाट भएको देखिने ।
(प्रकरण नं. ३६)
मृतकलाई मार्नमा प्र.मोतिबहादुरले मुख्य भई बचन दिएको नभए पनि मार्न जान लाग्दा रोकछेक नगरी आफू चुपचाप घरतर्फ गएको र मारी सकेपछि पनि आफूले जाहेर नगरी अरुलाई समेत जाहेर गर्नबाट रोकी लाश अन्यत्र फाल्न आफ्नै छोराहरू समेत जाँदा पनि आफू चूप लागी बसेको देखिएबाट मोतिबहादुरले ज्या.सं.को १३(४) नं. को कसूर गरेको देखियो अतः माथि उल्लेख गरिए बमोजिम प्र.वीर बहादुरलाई ज्या.सं.का १३(१) नं. र प्र.मोतिबहादुरलाई ज्या.सं.को १३(४) को कसूर ठहर्याएको शुरुको इन्साफ मनासिब ठहर्छ तर प्रतिवादी मोतिबहादुर कसूर हुँदाको अवस्थामा निजको उमेर ७३ वर्ष पुगिसकेको र यस्तो अति बृद्ध भई सुझबुझ समेत कम हुँदै गएको अवस्थाले गर्दा पनि कसूर गर्ने र त्यस्तो कसूर भएपछि पनि लाश फाल्नबाट रोकछेक गरी जाहेर नगरेको हुन सक्ने स्थिति पनि रहन जाने हुन सक्दछ, यसरी नै निज हाल ७७ वर्ष उमेर पुगिसकेको देखिँदा शुरुले ज्या.सं.को १३(४) नं. बमोजिम जन्मकैदको सजायँ गर्दा चर्को हुन जाने हुँदा अ.बं. १८८ नं. बमोजिम कैदवर्ष ३ मात्र हुने ।
(प्रकरण नं. ३७)
फैसला
न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ.को फैसला उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ :
२. छोरा राम बहादुर सधैं शुक्रबार घर आउने गरेको निज चैत्र २५ गते नआएकोले निजले नोकरी गरी आएको विद्युत विभाग मार्खुमा गई बुझ्दा उक्त दिन २ बजे घर जान हिडेको थाहा भई खोजी गर्दा ०३९।१२।२९ गते जिल्ला मकवानपुर मार्खु गा.पं. अन्तर्गत पर्ने महाचुनी बनमा काटी मारिएको अवस्थामा लाश फेला परेकोले सूर्य बहादुर थिंग समेत उपर शंका भएकोले कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।
३. धारिलो हतियारले हानी गर्धन छीनाली सो गर्धनको पछाडिको छाला अन्दाजी २ अम्मल बाँकी देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।
४. चैत्र २५ गते मलाई मोतिबहादुरले निजको घरमा बोलाई जाँदा मोती बहादुर, जगत बहादुर, ठूलो रामब हादुर, चन्द्र बहादुर छोइलामा, सूर्य बहादुर, सूर्य बहादुरको श्रीमती रहेछन् । म पुग्ने वित्तिकै मोती बहादुरले गोठालो जाने होइन जाउँ भनेकाले गएँ । २७ गते म समेत मोति बहादुरको आज्ञाबाट मृतकको लाश टाटमा पोको पारी डोकामा हाली बोकी पुर्याई आएका हो खुकुरीले काटी मार्ने जगत बहादुर थिंग हुन् भन्ने समेत व्यहोराको सूर्य बहादुर थिंगले प्रहरीमा गरेको कागज ।
५. मैले राम बहादुरलाई मारेको होइन । २७ गते बाबु मोति बहादुरको भनाई मानी लाश अन्यत्र सारी आउने काममा लाश बोक्न गएको हुँ । कर्तव्य गर्नेहरू वीर बहादुर, दिल बहादुर, कर्णबहादुर, बासु थिंगहरू हुन् भन्ने समेत व्यहोराको जगतबहादुर लामाले प्रहरीमा गरेको कागज ।
६. राम बहादुर गोलेलाई कर्तव्य गरी मारी दिने कुरामा दिल बहादुर, कर्ण बहादुर, बासु थिंग र म समेतको सल्लाह भई २५ गते घटनास्थलमा बासु थिंगले राम बहादुरलाई ढुङ्गाले हानी लडाई सकेपछि मैले खुकुरीले गर्धनमा हानी मारेको हुँ भन्ने समेत व्यहोराको वीर बहादुर थोकरले प्रहरीमा गरेको कागज ।
७. राम बहादुरलाई मार्ने कुरामा वीर बहादुरले हामीसँग सल्लाह गरेका थिए । हामी समेत सरीक भई काटी मारेको होइन भन्ने समेत व्यहोराको दिल बहादुर रुम्बा र कर्णबहादुर थोकरले प्रहरीमा गरेको छुट्टा छुट्टै कागज ।
८. चैत्र २७ गते सूर्य बहादुर, चन्द्र बहादुर, राम कुमारको श्रीमतीहरूले बनमा लाश देखि आएपछि रात मोति बहादुरको भनाई अनुसार ठूलो राम बहादुरको घरबाट डोको नाम्लो वीर बहादुरको घरबाट टाट लालटेन, छोइकुलामा चन्द्र बहादुर लामाको घरबाट लालटेन जुराई बनमा गई बनबाट लाशलाई अन्यत्र सारी राखी आएका हौं भन्ने समेत व्यहोराको जगत बहादुर, चन्द्र बहादुर, सूर्य बहादुर, मोती बहादुर, राम बहादुर, वीर बहादुर, छोइकुलामा र साँहिलो थिङ्स्या समेतले प्रहरीमा गरेको छुट्टा छुट्टै कागज ।
९. मृतक राम बहादुर गोलेले विवाह गरी स्वास्नी तुल्याई लिई गएको सूर्य बहादुर थिंगको छोरी वीर बहादुर थोकरको छोरालाई मागिएको, विवाह गर्न पाइन विवाह गर्न पाएको भए सूर्य बहादुरको जग्गा जमीन समेत खान पाउने हामी हकवाला छोरा छँदै सूर्य बहादुरको सम्धी समेतले खाने नियत लिई सूर्य बहादुरको छोरीलाई स्वास्नी तुल्याई लगेको हुँदा निज राम बहादुरलाई मोति बहादुरको आज्ञाबाट दिल बहादुर, कर्ण बहादुर बाहेक पक्राउ परेका अरु मानिस समेत आई कर्तव्य गरी काटी मारी लाश समेत अन्यत्र लगी फाली अपराध समेत लुकाउने प्रयास गरे गराएका हुन् भन्ने समेतको सरजमीन मुचुल्का ।
१०. प्रतिवादीहरू राम बहादुरलाई मार्ने काममा सरीक भएको देखिएकोले वीर बहादुरले काटी मारेको बासु थिंगले ढुङ्गाले हानी घाइते बनाई लडाएको हुँदा निजलाई र नर बहादुरलाई ज्यानसम्बन्धीको १३(१), बचन दिने मोति बहादुरलाई १३(४) बमोजिम सजायँ गरी छोइकुलामा, जगतबहादुर, चन्द्र बहादुर, ठूलो राम बहादुर, रामकुमार, सेतीमाया, विष्णुमाया, सूर्य बहादुर थिंग, सूर्य बहादुर लामा, साहिली थिंगस्यानीलाई १७(३) र ऐ. ऐनको ४ नं. बमोजिम थप सजायँ समेत गर्ने गरी र ज्यान मार्ने कुरामा सरीक रही सल्लाह गर्ने कर्तव्यमा सरीक रहने दिल बहादुर, कर्ण बहादुर, चुनीपोलेस्या, माहिली स्यांगतानस्या र सूर्य बहादुरको स्वास्नी माहिली समेतलाई १७(३) बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।
११. मैले राम बहादुर गोलेले हाम्रो छोरी वेटी लाने हामीलाई ढोग भेट नगर्ने यस्तालाई मार्न पर्छ भनी वीर बहादुर समेतलाई मेरो घरमा बोलाई राम बहादुरलाई मार्न पठाएको भनेको थिइन । किन त्यस्तो लेखे थाहा छैन । जीत बहादुर, निजको छोरा वीर सिंह, वीर बहादुर, राम बहादुरसँग मुद्दा परेको रिसइवीबाट पोल गरेको हुन । २०२० सालमा मुद्दा परेको थियो । सरजमीनमा बस्ने नर बहादुर पनि मेरो छोराको झगडिया भएकोले रिसइवीले भनेका हुन् भन्ने समेत व्यहोराको मोति बहादुरले अदालतमा गरेको बयान ।
१२. लाश परिरहेछ सार्नु पर्यो भनी मलाई भन्दा म मन्जूर नगर्दा मेरो घरको ढोका आँगनबाट वीर बहादुरले लिई गए । म समेत गयो, सूर्य बहादुर र वीर बहादुरले ढोकामा लाश हाली बोकी मार्खु पञ्चायतको पाखोमा लगी रात अं. ११।१२ बजे मिल्काई आयो । मर्ने राम बहादुर गोलेको लाश २८ गते सारेको हो । मैले खुकुरी लिई गएको समेत छैन म समेत भई राम बहादुरलाई मार्न गएको होइन भन्ने समेत व्यहोराको जयबहादुर भन्ने ठूलो राम बहादुर थिंगले अदालतमा गरेको बयान ।
१३. वीर बहादुर, सूर्य बहादुर, साइली भन्ने ठूलीमाया थिंगस्या आई हाम्रो वडामा हामीले नचिनेको लाश परेछ । अन्यत्र मिल्काउन पर्यो भनी मलाई भने । म जान्न भन्दा जाने भए जाउ नजाने भए नजाउ भने । म नगएमा वीर बहादुरले तलाई समेत ठीक पार्छु भनेको थियो । म त्यसपछि रातभर घरमा सुती बसे लाश परेको थाहा पाएर पनि कतै जाहेर गरिन । वीर बहादुरले किन मारे थाहा छैन भन्ने समेत व्यहोराको मनु लामा भन्ने चन्द्र बहादुर लामाले अदालतमा गरेको बयान ।
१४. राम बहादुरलाई कसले मारे फाले थाहा छैन । लोग्नेले मार्न मतसल्लाह गरे गरेनन् थाहा छैन । लोग्ने छोरालाई लिएर काठमाडौं जानु भएको हुँदा प्रतिवादीहरूको भनाई झुठ्ठा हो भन्ने समेत व्यहोराको सेतीमाया मुक्तानले अदालतमा गरेको बयान ।
१५. २७ गते बनमा स्याउला काट्न जाँदा ठुलीमायाले लाश रहेछ भनी सुनाई । म गइन । राम बहादुरलाई कसले मारे थाहा छैन भन्ने समेत व्यहोराको सन्तमाया स्यांगतानस्याले अदालतमा गरेको बयान ।
१६. २७ गते बिहान वीर बहादुरको बुहारीले लाश परेको कुरा भनेबाट थाहा पाई पञ्चायतमा उजूर गर भने । २८ गते लाश सार्न जानु पर्यो भनी वीर बहादुरले भने र म गएँ । वीर बहादुर, रामकुमार, ठूलीमाया, सूर्य बहादुर, जगत बहादुर, राम बहादुर, चन्द्र बहादुर र म समेत रात ९ बजे गयौं । डोकामा टाट हाली लाश हाली वीर बहादुरले बोकी मार्खु पञ्चायतको बजमोठ पाखोमा लगी फाली आए । राम बहादुरलाई कसले मार्यो थाहा छैन । सरजमीनका मानिसहरूले किन पोले उनीहरू नै जानुन भन्ने समेत व्यहोराको छोइकु लामाले अदालतमा गरेको बयान ।
१७. राम बहादुरलाई मारेको कुरा माइत जाँदा थाहा पाएँ अरु कसैबाट सुनिन भन्ने समेत व्यहोराको विष्णुमाया थोकरस्याले अदालतमा गरेको बयान ।
१८. २७ गते घाँस काट्न जाँदा लाशदेखि रिपोर्ट गर्न जाँदा मोतिबहादुरले जान पर्दैन लाश यो ९ नं. वडाबाट सार्नु पर्छ भनेबाट नगई घरफर्की आए । सूर्य बहादुर समेत ९ जना गई लाश डोकोमा बोकी मार्खु पञ्चायतको बनमा लगी हामी आ–आफ्नो घर आई बस्यौं राम बहादुरलाई कसले मार्यो थाहा छैन भन्ने समेत व्यहोराको साहिली भन्ने ठुलीमायाले अदालतमा गरेको बयान ।
१९. राम बहादुरलाई कसले कुन समयमा के हतियारबाट हानी मारे थाहा छैन । वीर बहादुर, मोतिबहादुर समेतका भनाईबाट लाश मिल्काउने काममा गएको सम्म हुँ, अरु कुरा थाहा छैन भन्ने समेत व्यहोराको सूर्य बहादुर थिङले अदालतमा गरेको बयान ।
२०. चैत्र २७ गते रात ११ बजे नर बहादुर समेतका मानिसले त्रिपाल, डोको लिई हामीले राम बहादुरलाई मारेको ठाउँबाट जगत बहादुर, जय बहादुर समेतले लाश बोकी मार्खु पञ्चायतको सीमानामा लाश मिल्काई घरफर्कि आएको छु । बासु थिङले ढुङ्गाले मैले खुकुरीले गर्धनमा हानी मारेकोले प्रहरी प्रतिवेदन अनुसार सजायँ हुन मेरो मन्जूर छ भन्ने समेत व्यहोराको वीर बहादुर थोकरले अदालतमा गरेको बयान ।
२१. राम बहादुरलाई मार्न म सरीक भएको छैन । लाश सार्ने ठाउँमा समेत गएको छैन वीर बहादुर समेतले किन पोल गरे उनीहरू नै जानुन् । राम बहादुरसँग कुनै रिसइवी थिएन कसले मार्यो मलाई थाहा छैन भन्ने समेत व्यहोराको दिल बहादुर रुम्बाले अदालतमा गरेको बयान ।
२२. मर्ने राम बहादुर र म एकै ठाउँमा काम गर्ने हुँदा चैत्र २५ गते तलब बुझी मेरो तलब समेत निज हस्ते पठाई म त्यही बसें भोलिपल्ट घर जाँदा राम बहादुर पुगेका रहेनछन्, वीर बहादुर र जगत बहादुरले राम बहादुरलाई मार्ने अवस्थामा म समेत थिएँ भनी झुठ्ठा पोल गरेको हो भन्ने समेत व्यहोराको कर्णबहादुर थोकरले अदालतमा गरेको बयान ।
२३. राम बहादुरलाई वीर बहादुर, नर बहादुर, बासु थिंग समेत भई २५ गते मारे भन्ने हल्ला सुनेको छु म केवल लाश सार्ने काममा मात्र सरीक छु मार्ने अवस्थामा थिइन भन्ने समेत व्यहोराको जगत बहादुर लामाले अदालतमा गरेको बयान ।
२४. मर्ने मेरो ज्वाई नाताका मानिस हुन् । निजलाई कसले मारे थाहा छैन । वारदातमा म सम्मिलित छैन । वीर बहादुरले मारेको हो कि भन्ने शंका लाग्छ भन्ने समेत व्यहोराको साहिली घींढेस्याले अदालतमा गरेको बयान ।
२५. म चैत्र १३ गते बिरामी भई पाटन शान्त भवनमा उपचार गराई कार्तिकमा मात्र घर आएको छु । राम बहादुरको मृत्यु के भई भयो थाहा छैन भन्ने समेत व्यहोराको सूर्य बहादुर लामाले अदालतमा गरेको बयान ।
२६. चैत्र १३ गते लोग्ने सूर्य बहादुर बिरामी भई वीर अस्पतालमा उपचार गराई पाटनमा लाल बहादुरको घरमा डेरा बसी हाल मात्र आएको छु राम बहादुरलाई कसले मार्यो थाहा छैन भन्ने समेत व्यहोराको माहिली स्वाड्डतान्स्थाले अदालतमा गरेको बयान ।
२७. मर्ने राम बहादुरलाई मार्नमा मोति बहादुरको सन्तान उपर शंका लाग्छ । वीर बहादुर समेत मिली मारेको हुन् । प्रदिप बहादुर, कर्ण बहादुर बाहेक अरु उपर मारेमा शंका तथा विश्वास लाग्छ भन्ने समेत व्यहोराको सरजमीनका व्यक्ति सन्त बहादुर, जित बहादुर, बलराम नगरकोटी कर्मसिंह लामा, एक बहादुर, कुमार रुम्बा, विष्णु बहादुर बल तामाङ समेतले अदालतमा गरेको छुट्टा छुट्टै बकपत्र ।
२८. डरेको नाम्लो लालटेन समेत समावेश भएको देखिँदा दिल बहादुर, कर्ण बहादुर, बाहेकका अन्य प्रतिवादीहरूले राम बहादुरलाई कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत व्यहोराको सरजमीनका व्यक्ति गणेश बहादुर, रिसी लामा, रामकृष्ण इन्द्र बहादुर, रतनलाल, जित बहादुर, नन्दलाल, खड्ग बहादुर, हरिमान समेतले अदालतमा गरेको बकपत्र ।
२९. प्रतिवादी मध्येको मोति बहादुर लामा हुकुमदारी भई जगत बहादुरले खुकुरीले हानी राम बहादुरलाई मारेको हो । मैले देखेको होइन । प्रतिवादी कर्ण बहादुर र दिल बहादुर बाहेक अरु सबै मिली मारी बोकी फालेका हुन् भन्ने समेत व्यहोराको जाहेरवाला कृष्ण कुमार गोले र कृष्ण बहादुर गोलेले अदालतमा गरेको छुट्टा छुट्टै बकपत्र ।
३०. प्र.रामकुमार नर बहादुर चुनि घोले र बासु थिंगले ०४०।३।८ मा तामेल भएको म्यादी पुर्जीको म्याद गुजारी बसेको लाश प्रकृति मुचुल्काबाट राम बहादुरको मृत्यु कर्तव्यबाट भएकोमा शंका छैन । रामकुमार, बासु थिंग, नर बहादुर नर बहादुरको श्रीमती चुनि थिंगस्या फेरार रहेकाले निजहरूका हकमा मुलतबी रहने ठहर्छ । प्र.मोतिबहादुर लाश फ्याँक्न वीर बहादुर समेतका व्यक्तिलाई पठाएको छु भनी अदालतमा सावित रहे पनि मारेमा र मार्न बचन दिएमा इन्कार रहेको देखिन्छ । प्र.वीर बहादुर प्रहरी र अदालतमा समेत राम बहादुरलाई खुकुरीले काटी मारेमा सावित रहेको देखिन्छ । प्र.मोतिबहादुर अदालतमा इन्कारी भए पनि निर्दोषितताको सबूद दिन नसकेको देखिँदा वीर बहादुरलाई ज्यानसम्बन्धीको १३(१) र मोति बहादुरलाई मार्न बचन दिएमा ऐ.को १३(४) अन्तर्गत सजायँ हुने ठहर्छ । रातको समयमा लाशलाई अन्यत्र सार्न गई लाश डोकामा हाली फ्याँकी आएको कुरामा सावित भएका र प्र.सूर्य बहादुरको छोरी राम बहादुरले लगेमा रिसाई मार्न लगाएको लाश ठूलीले देखी हल्ला गर्ली भन्ने डरले अर्कै पञ्चायतमा मिल्काउन पठाएको कुरामा कुनै विवाद नभएबाट राम बहादुरलाई मार्ने मन सल्लाहमा पसेमा प्र.सूर्य बहादुर थिङ, साइली भन्ने ठूलीमाया थिंगस्या मनु लामा भन्ने चन्द्र बहादुर लामा, जय बहादुर भन्ने ठुलो राम बहादुर थिंग छोइकुलामा र टुकुललामा भन्ने जगतबहादुर लामालाई ज्यानसम्बन्धीको १७(३) बमोजिम जनही ३ वर्षकैद र कर्तव्यबाट मरेको लाश दबाउनका मतलबले फालेमा ज्यानसम्बन्धीको ४ नं. बमोजिम थप ६ महिना कैद समेत हुन्छ । सूर्य बहादुर लामा वारदात समयमा पाटन अस्पतालमा उपचार गराइरहेको भनी इन्कारी लिई प्रमाण पेश गरेकोबाट निजले र लोग्ने सूर्य बहादुरसँग हेर विचार गर्न अस्पतालमा रहेको भन्ने बयान गरेकीले निजकी श्रीमती माहिली घोलेस्याले सफाई पाउने ठहर्छ । प्र.सेतीमाया मोत्तानस्या विष्णुमाया थोकरस्या साहिली घोलेस्या, दिल बहादुर, रुम्बा, कर्ण बहादुर थोकर कसूर गरेमा इन्कार रहेका, सरजमीनले सफाई दिई बकेका र जाहेरवालाको किटानी जाहेरी समेत नपरेबाट निजहरूले सफाई पाउने ठहर्छ सन्तमायाका हकमा प्रहरी प्रतिवेदनमा कति सजायँ हुनुपर्ने हो उल्लेख नभएबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मकवानपुर जिल्ला अदालतबाट ०४१।१।२२ मा भएको फैसला ।
३१. लाश पोष्टमार्टम नगरी कसको के चोटबाट मरेको हो यकीन नगरी शंकाको भरमा कसूरदार ठहर्याएको शुरुको फैसलामा चित्त बुझेन । हामीले पूर्ण सफाई पाउनु पर्दछ भन्ने समेत व्यहोराको प्र.वीर बहादुर थोकर र मोतीबहादुर लामाले मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिएको पुनरावेदनपत्र ।
३२. प्र.मोति बहादुरले मार्नलाई बचन दिएको होइन भनी प्रहरी र अदालतमा बयान गरेको र वीर बहादुरको बयानबाट पनि मार्नमा बचन दिएको भन्न सकेको छैन, जाहेरी दर्खास्तमा पोल उजूर नभएको र सरजमीनले पनि बचन दिएको देख्यौं सुन्यौं भन्न सकेको पाइँदैन । अतः निजलाई बचन दिएको कसूरदार ठहर्याई ज्या.सं.को १३(४) बमोजिम सजायँ गर्ने गरेको मिलेन । मार्नेमा मोति बहादुरको प्रत्यक्ष संलग्नता नभए पनि मुख्य भई षडयन्त्र गरेको हुँदा ज्या.सं. को १६ नं. लाश जाँच नहुँदै दबाउने मतलब फाल्न लगाएको अपराध गरेको देखिँदा ऐ. १६ र ४ नं. बमोजिम निजलाई थप समेत ५ वर्ष ६ महिना कैद सजायँ हुन्छ । अर्को प्रतिवादी वीर बहादुरले प्रहरी र अदालतमा समेत मृतक राम बहादुरलाई खुकुरीले काटी मारेमा साविती बयान गरेको हुँदा निजलाई ज्या.सं.को १३(१) बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ गर्ने गरेको शुरु जि.अ.को इन्साफ मनासिब भन्ने समेत म.क्षे.अ.को फैसला रहेछ ।
३३. ज्यानसम्बन्धी अपराधमा कसूरदार ठहर्याई ज्या.सं. को १३(१) बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ गर्ने गरेको शुरुको सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेको नहुँदा चित्त बुझेन । उक्त इन्साफ उल्टाई कसूर दावीबाट सफाई पाउँ भन्ने समेत प्र.वीर बहादुरको पुनरावेदन परेको रहेछ ।
३४. ज्यान मार्न षडयन्त्र गरेको र लाश दबाउने अपराध गरेको ठहर्याई ज्या.सं.को १६ र ४ बमोजिम दण्ड सजायँ गर्ने गरेको म.क्षे.अ.को इन्साफ मिलेको नहुँदा सो इन्साफ उल्टाई दावीबाट सफाई पाउँ भन्ने समेत प्र.मोतीबहादुरको पुनरावेदन यस अदालतमा परेको रहेछ ।
३५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन जिकिर समेत विचार गरी म.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
३६. यसमा सर्वप्रथम मृतक राम बहादुर गोलेको मृत्यु कर्तव्यबाट भएको हो होइन भन्नेतर्फ विचार गर्नु पर्ने हुन आउँछ । धारिलो हतियारले हानी गर्धन छिनाली गर्धनको पछाडि करिब २ अंगुल छाला छिन्न बाँकी रहेको, बायाँ आँखा फुटेको दुवै आँखा सुन्निएको बायाँ कान माथि कञ्चटमा करिब ६ इन्च गहिरो आधा इन्च चौडाइको खत दाहिने आँखा माथि गहिरो चोट परी निधार फुटेको भन्ने समेत लाश प्रकृति मुचुल्का देखिएबाट मृतक राम बहादुरको मृत्यु कर्तव्यबाटै भएको देखियो । अब को कसको कर्तव्यबाट मृत्यु भएको भन्नेतर्फ विचार गर्दा प्रतिवादी मध्ये वीर बहादुरले प्रहरी र अदालतमा समेत बयान गर्दा मेरो आफ्नो छोरालाई ०३९ चैत्र २१ गतेमा म समेतले मागेकी केटी मृतक राम बहादुरले भगाई लगेकोले रिसाई ०३९ साल चैत्र २५ गते मौका पारी खुकुरीले गर्धनमा हानी मारेको हो र मारिसकेपछि ऐ. २७ गते चन्द्र बहादुर समेतको मद्दत लिई काटी मारेको ठाउँबाट त्रीपालमा हाली मार्खुका सीमानामा लाश मिल्काई घर आएको भनी कसूरमा पूर्ण सावित रही बयान गरेको देखिन्छ । बरामद भएको खुकुरीको रासायनिक परीक्षण गर्दा मानिसको रगत लागेको भनी विशेषज्ञको राय भएको तथा धारिलो हतियारले हानी गर्धन काटिएको र शरीरका विभिन्न अड्डमा हतियारको चोट भएको भन्ने लाश प्रकृति मुचुल्का भएबाट खुकुरीले हानी काटी मारेको हुँ भन्ने प्र.वीर बहादुरको साविती समर्थित हुन्छ । यसरी नै लाश अन्यत्र फाल्नको लागी वीर बहादुरले भनेको हुँदा रातको समयमा मार्खु पञ्चायतको सीमानामा लाश मिल्काई आएको कुरामा राम बहादुर थिंग, चन्द्र बहादुर लामा, छोइकुला लामा, सूर्य बहादुर थिंग समेतका प्रतिवादीहरूले अदालतमा बयान गरेका र आफ्नो छोराको लागि मागेको केटी मृतक राम बहादुरले भगाई विवाह गरी हुँदा लगेको रिसले वीर बहादुरले मारेको होला भनी सरजमीनका मानिसहरूले समेत लेखाई दिएको देखिन्छ । अतः माथि उल्लेख गरे बमोजिम वीर बहादुरले नै आफ्नो छोरालाई मागेकी केटी मृतकले भगाएको रिसमा खुकुरीले चोट छोडी मारेको र अन्य व्यक्तिहरूको सहयोग समेत लिई मार्खु पञ्चायतको सीमानामा लगी फालेको कुरा सिलसिलाबद्ध रुपमा पुष्टि भएको हुँदा मृतक राम बहादुरको मृत्यु वीर बहादुरकै कर्तव्यबाट भएको देखिँदा निजलाई ज्या.सं. को १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको शुरुको सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेकै देखियो ।
३७. अब अर्को प्रतिवादी मोतिबहादुरको हकमा विचार गर्दा निजले अदालतमा बयान गर्दा मृतक राम बहादुरलाई मार्न मैले बचन दिएको होइन प्रहरीमा भएको बयान स्वइच्छाको हो भनी बयान गरेको छ भने प्रहरीमा बयान गर्दा मृतकले मेरो साहिंला छोरालाई ढोगभेट नगरेकोमा सिफारिश भएको थियो, सोही दिन मृतक महाचूनी वनको बाटो भई जाँदा ढुकी मार्न भनी प्र.वीर बहादुर समेतका व्यक्तिहरू हिंडे म र मेरो श्रीमती घरमै बस्यौ भनी बयान गरेको देखिन्छ । तर आफ्नै समुपस्थितिमा मार्न जान लाग्दा त्यसो गर्नु हुँदैन भनी रोक्नु पर्ने रोकेको नदेखिएको तथा अदालतमा बयान गर्दा मारिसकेपछि लाश फाल्नको लागि निजलाई सोध्न आउँदा, त्यस सम्बन्धमा समयमा जाहेर नगरी आफूले जानेको गर भनी भनेको र लाश फाल्न आफ्नो छोरा जगतबहादुर समेत जान लाग्दा नजानको लागि रोकछेक सम्झाउने बुझाउने कार्य समेत गरेको देखिँदैन । मोतिमायाले लाश देखेपछि जाहेर गर्न जानु पर्छ भनी तरखर गर्दा निजलाई नजानु गएमा पछि आफैं परिन्छ भनी जाहेर गर्न जानबाट यिनै मोतिबहादुरले रोकेको कुरा मोतिमायाले अदालतमा गरेको बयानबाट प्रष्ट हुन्छ । अतः मृतक राम बहादुरलाई मार्नमा प्र.मोतिबहादुरले मुख्य भई बचन दिएको नभए पनि मार्न जान लाग्दा रोकछेक नगरी आफू चुपचाप घरतर्फ गएको र मारिसकेपछि पनि आफूले जाहेर नगरी अरुलाई समेत जाहेर गर्नबाट रोकी लाश अन्यत्र फाल्न आफ्नै छोराहरू समेत जाँदा पनि आफू चुप लागि बसेको देखिएबाट मोतिबहादुरले ज्या.सं.को १३(४) नं. को कसूर गरेको देखियो अतः माथि उल्लेख गरिए बमोजिम प्र.वीर बहादुरलाई ज्या.सं.को १३(१) नं. र प्र.मोतिबहादुरलाई ज्या.सं.को १३(४) को कसूर ठहर्याएको शुरुको इन्साफ मनासिब ठहर्छ तर प्रतिवादी मोतिबहादुर कसूर हुँदाको अवस्थामा निजको उमेर ७३ वर्ष पुगिसकेको र यस्तो अतिव बुद्ध भई सुझबुझ समेत कम हुँदै गएको अवस्थाले गर्दा पनि कसूर गर्न र त्यस्तो कसूर भएपछि पनि लाश फाल्नबाट रोकछेक गरी जाहेर नगरेको हुनसक्ने स्थिति पनि रहन जाने हुन सक्छ । यसरी नै निज हाल ७७ वर्ष उमेर पुगिसकेको देखिँदा शुरुले ज्या.सं.को १३(४) नं. बमोजिम जन्मकैदको सजायँ गर्दा चर्को हुन जाने हुँदा अ.बं. १८८ नं. बमोजिम कैदवर्ष ३ मात्र हुने ठहर्छ । पुनरावेदन परेको हुँदा साधकको लगत काटी तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम मोतिबहादुर लामालाई अ.बं. १८८ नं. बमोजिम कैदवर्ष ३ मात्र हुने ठहरेको हुँदा निज ०४०।१।२३।४ देखि ०४३।१।३० सम्म जम्मा ३ वर्ष ७ दिन थुनामा बसिसकेको देखिँदा केही गर्न परेन । व्यहोरा जनाई लगत राख्नु र निजले यस अदालतमा पुनरावेदन गर्दा मिति ०४३।१।२८ मा रु. २९७०।– धरौट राखेको देखिँदा ऐनको रीत पुर्याई सो धरौटी रकम फिर्ता दिनु भनी शुरु जि.अ.मा लेखि पठाउनु का.जि.अ.त.मा लगत दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् २०४४ साल कार्तिक २० गते रोज ६ शुभम् ।