निर्णय नं. ३२८५ - अंश ।

निर्णय नं. ३२८५ ने.का.प. २०४४ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री हिण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको दे.पु.नं. ७१८
मुद्दा : अंश ।
पुनरावेदक/प्रतिवादी: का.जि. पांगा गा.पं.वार्ड नं. ३ बस्ने ललितकृष्ण महर्जन ।
विरुद्ध
विपक्षी/वादी:ऐ. ऐ. महतो टोल बस्ने मंगलकृष्ण महर्जन ।
फैसला भएको मिति:२०४४।७।१९।५ मा
अंशबण्डाको ३० नं. बमोजिम अंशबण्डा भएको कायम हुनुपर्ने भन्ने हकमा छोडपत्र पासै हुनुपर्ने भन्ने व्यवस्था ०३४।७ मा मात्र लागू भएको भए पनि सो लागू हुनु पूर्व पनि अचल सम्पत्तिमा कुनै किसिमले पनि आफ्नो हकको छोडी दिएको लिखत पास गराउनु पर्ने रजिष्ट्रेशनको १ नं. मा व्यवस्था भएको अंश छोडपत्रबाट आफू अंशमा लिएको बाहेक अरु सम्पत्तिमा छोडपत्र गर्ने हक छोडी दिएको कागज हुँदा पास हुनै पर्ने देखिएकोले पेश भएको छोडपत्र पास भएको नदेखिएकोले सो कागजलाई कानुनी मान्यता दिई त्यसबाट अंशबण्डा भइसकेको भनी ठहर गर्न नमिल्ने ।
(प्रकरण नं. २०)
घर जग्गा वादीका नाउँमा दाखिल खारेज भइसकेको नदेखिएको र बिक्री व्यवहार समेत गरेको देखिन नआएकोबाट खाली भोगेकै अधारमा अंशबण्डा भइसकेको भनी ठहर गर्न अ.बं. मा भएको व्यवस्थाले नमिल्ने ।
(प्रकरण नं. २०)
यो यस मितिमा मानो छुट्टिएको हो भनी छोडपत्र समेतका कुनै लिखितबाट नदेखिएको हुँदा फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गरेकोमा अन्यथा गरिरहन पर्ने अवस्था देखिन नआउने ।
(प्रकरण नं. २०)
२०२५ सालको लिखतबाट पुनरावेदकका नाममा खरीद भएको जग्गा आफ्नो सीप आर्जनको अंशबण्डाको १८ नं. ले बण्डा दिन नपर्ने भन्ने हकमा यदि सो भए तायदातीमा दिनै नपर्ने दिएको र दिँदा पनि सो जिकिर लिन नसकेबाट यस जिकिरलाई मान्यता दिन नमिल्ने ।
(प्रकरण नं. २०)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ
विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरि न्यौपाने
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।११।२३।५ को फैसला उपर चित्त नबुझी प्रतिवादीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ।
२. बाबु बुद्धिलाल आमा लक्ष्मी महर्जनका गर्भबाट जायजन्म भएका हामी २ दाजुभाइ ३ बहिनीहरू भएकोमा बहिनीहरूको विवाह दान भइसकेको र २०२५ साल श्रावणमा आमा र २०३२ साल कार्तिक भाइटिकाका दिन बाबा परलोक हुनुभएको र अघिदेखि नै ताला पुर्जी ढुकुटी भाइ बुहारीलाई नै चलाउँदै आएको बाबाको नाउँमा नेपाल बैंकमा रहेको पासबुक पनि भाइ जिम्मा नै भएको बाबाको परलोक भएपछि हरेक कुरामा निउ थापी मलाई अंश दिनुपर्छ भनी बाबाको नाउँमा भएको रकम समेत नदेखाएकोले २०३३।७।१५ गते मानो छुट्टिएको मिति कायम गरी अंशियारमा हामी दुई भाइ बाहेक अरु कोहि नभएको विवाह गर्नु पर्ने पनि अरु कोही नभएको हुनाले विपक्षीबाट २ भागको १ भाग अंश अड्डैबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको २०३३।७।१७ को फिरादपत्र ।
३. विपक्षीलाई अंश दिनुपर्ने होइन छैन । विपक्षीले अंश बापतमा का.जि. पांगा मसव टोलको पक्की टायल छाना भएको ३ नाले घर कवल २ र भूमिप्रशासन कार्यालय काठमाडौंमा पिताजीका नाउँमा दर्ता भएको चोभार भूतखेल गा.पं. वार्ड नं. ९(घ) को कि.नं. १० को पाखो जग्गा ०–१४–१३ समेतको घर जग्गा अंश बापत लिनु भई रु. ६००।– साहु तिर्न र घर मर्मत गर्न रु. ४००।– समेत जम्मा रु १०००।– समेत बाबु र भाइलाई सहयोग गर्ने गरी २०२८।६।९।७ मा अंश छोडपत्रको कागज गरिदिनु भएको छ । सो घरमा विपक्षीले अस्थायी भोगचलन गरी आउनु भएको छ । त्यसकारण विपक्षीले म बाट दोहोरो अंश खानको लागि मात्र यो झुठ्ठा नालेश गरेको हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको २०३३।९।१६ को प्रतिवादी ललितकृष्णको प्रतिउत्तर जिकिर ।
४. २०३४।३।१२ मा दाखेल भएको तायदातीको अंकको २ भागको १ भाग अंश वादीले पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३४।५।१७ को का.जि.अ.को फैसला ।
५. उक्त का.जि.अ.को फैसलामा वादीले अंश पाई सकेकोमा म बाट अंश दिलाउने गरी भएको फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुनरावेदन जिकिर ।
६. शुरु काठमाडौं जिल्ला अदालतको फैसला बदर हुन्छ अब प्रमाण बुझी इन्साफ गर्न मिसिल शुरु जि.अ.मा पठाई दिनु भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतको मिति २०३५।१।१८ को फैसला ।
७. जटिल कानुनी प्रश्न समावेश भएकोले उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीको म.प.क्षे.अ.मा परेको निवेदनमा मिति २०३५।११।१७ को आदेश बमोजिम अनुमति भएको ।
८. कानुनी त्रुटी गरी फैसला गरेको भन्ने अवस्था विद्यमान नहुँदा वागमती अञ्चल अदालतको फैसलामा कानुनी त्रुटी भए गरेको नदेखिँदा सो फैसलामा कुनै परिवर्तन गर्नु परेन भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति ०३७।१०।९ को फैसला ।
९. एकपटक अंश भई आफूले पाउने अंश पाई बुझेको कागज भइसकेपछि फेरि पाउँछ भन्ने उचित नहुँदा त्यस्तो अवस्थामा तायदाती तोकी रहनु आवश्यक नपरेको तोकेबाट पछि रहन आएको कोर्ट फी फिर्ता दिने अरु जफत गर्ने समेत ठहर्छ भन्ने समेत व्यहोराको मिति ०३८।१०।२५।५ को का.जि.अ.को फैसला ।
१०. उक्त फैसलामा चित्त बुझने भन्ने समेत व्यहोराको वादी मंगलकृष्ण श्रेष्ठले म.क्षे.अ.मा गरेको पुनरावेदन ।
११. मोल बिगोको हिसाबबाट रु. ५०,०००।– मूल्यको तायदाती भएको मुद्दाको पुनरावेदन मात्र म.क्षे.अ.मा हेर्न मिल्ने भएकोले प्रस्तुत मुद्दाको बिगो रु. ५०,०००।– भन्दा कम मूल्यको तायदाती आइरहेको अवस्थाको हुँदा यस्तो मुद्दाको पुनरावेदन सुन्ने अधिकार अञ्चल अदालतको हुँदा तारेखमा रहेका पक्षहरूलाई तारेख तोकि मिसिल बा.अं.अ.मा पठाई दिनु भन्ने म.क्षे.अ. सिंगल बेञ्जको मिति २०३९।२।११ को आदेश ।
१२. शुरु इन्साफ विचारणीय हुँदा सो सम्बन्धमा छलफल गर्न विपक्षीलाई अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने मिति २०३९।७।१७।४ को बा.अं.अ.को आदेश ।
१३. प्रतिवादीले ०३४।३।१२ मा दिएको तायदाती वादीलाई सुनाउँदा त्यस्मा कुनै विरोध नगरी स्वीकारेको देखिन्छ । सो तायदातीमा प्रतिवादीले मानदासबाट खरीद गरेको बालकुमारी गा.पं. वडा नं. ६(क) कि.नं. ९० को जग्गा अंशबण्डाको १८ नं. ले अंशबण्डा गर्न कर नलाग्ने हुँदा सो बाहेक अरु सो तायदातीमा लेखिएको घरजग्गा मध्येबाट आधा वादीले अंश पाउने ठहर्छ । सो तायदातीमा देखाएको ऋणको सम्बन्धमा साहुले दावी गरी आएको बखत कानुन बमोजिम हुने ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतको मिति २०४९।८।१४।२ को फैसला ।
१४. बा.अं.अ.को फैसलामा प्रत्यक्षत विवाद रहित त्रुटिपूर्ण भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी मंगलकृष्णको म.क्षे.अ.मा परेको निवेदनमा प्रतिवादीले आफ्नो ज्ञानशीप र प्रयासबाट आर्जन गरेको बण्डा हुन नपर्ने भनी भन्न नसकेको अवस्थामा मानदासबाट खरीद गरेको बालकुमारी गा.पं. वडा नं. ६(क) कि.नं. ९० को जग्गा अंश नहुने ठहर्याएको सम्म बा.अं.अ.को फैसला कानुनी त्रुटिपूर्ण देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को २०४१।४।१० को आदेश ।
१५. कानुनको सही मूल्याङ्कन समेत नगरी देखादेखी कानुनी त्रुटी गरी मलाई हराई गरेको फैसला म.क्षे.अ.को आदेश समेत नमिलेको हुनाले र रुलिङ समेत बाझिएकोले एकपटक दोहोर्याई हेरिदिनु भन्ने हुकूम प्रमाड्डी बक्स पाउँ भनी प्रतिवादीले चढाएको विन्तिपत्रमा व्यहोरा साँचो हो र विपक्षीले यही मुद्दामा पुनरावेदनको अनुमति पाई हेरिने रहेछ भने निवेदकका हकमा पनि इन्साफ जाँची कानुन बमोजिम गर्नु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भन्ने समेत व्यहोराको वि.जा.वि.को २०४१।११।२०।१ को हू.प्र. बमोजिमको म.क्षे.अ.मा दायर भएको प्र. ललितकृष्णको पुनरावेदन ।
१६. २०३३।७।१६ मा मानो छुट्टाएको मिति भन्दा अघिको खरीद गरेको सम्पत्ति सगोलको मान्नु पर्ने भएको समेतबाट सो कि.नं. ९० लाई बाहेक गरेको मिलेको नदेखिएकोले प्रतिवादीले दिएको तायदाती बमोजिमको सबै घर जग्गामा २ खण्डको १ खण्ड वादीले पाउने ठहर्छ। वागमती अञ्चल अदालतको इन्साफ केही उल्टी हुन्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ.को मिति ०४२।११।२३।५ को फैसला रहेछ ।
१७. आफैंले अंश बुझी आफ्नो सहस्त छोडपत्र लेखि दिँदादिदै पनि र उक्त छोडपत्र अनुसारको सम्पत्ति विपक्षी स्वयंको भोगमा छ भन्दाभन्दै पनि पुनः अंश गर्ने र विपक्षी स्वयंले लेख्दालेख्दै पनि फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरेको श्री म.क्षे.अ.को फैसला अंशबण्डाको ३० नं. र रजिष्ट्रेशनको १ नं. अ.बं. १८४(क) नं. समेतको गम्भीर कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्न अनुमति पाउँ भनी प्रतिवादीको पर्न आएको निवेदनमा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति ०४३।२।१४ को आदेश रहेछ ।
१८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भइआएका प्रस्तुत मुद्दामा तारेखमा रहेका वादी प्रतिवादीहरूका वा.समेतलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाड्ड र विपक्षी वादीको तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री हरि न्यौपानेले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१९. प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
२०. यसमा पेश भएको छोडपत्र पास गर्न पर्ने व्यवस्था २०३४ सालको संशोधनबाट आएको र सो लिखत सुनाउँदा त्यसमा लागेको सही आफ्नो भनी सकार्नुका साथै सो छोडपत्रमा लेखिएको घरजग्गा आफूले भोग गरिआएको भनी देखाएकोबाट अंशबण्डाको ३० नं. बमोजिम अंशबण्डा भएको कायम हुनुपर्ने भन्ने हकमा छोडपत्र पासै हुनुपर्ने भन्ने व्यवस्था ०३४।७ मा मात्र लागू भएको भए पनि सो लागू हुनु पूर्व पनि अचल सम्पत्तिमा कुनै किसिमले पनि आफ्नो हकको छोडी दिएको लिखत पास गराउनु पर्ने रजिष्ट्रेशनको १ नं. मा व्यवस्था भएको अंश छोडपत्रबाट आफू अंशमा लिएको बाहेक अरु सम्पत्तिमा छोडपत्र गर्ने हक छोडी दिएको कागज हुँदा पास हुनै पर्ने देखिएकोले पेश भएको छोडपत्र पास भएको नदेखिएकोले सो कागजलाई कानुनी मान्यता दिई त्यसबाट अंशबण्डा भइसकेको भनी ठहर गर्न नमिल्ने अ.बं.को ३० नं. मा भएको व्यवस्था बमोजिम व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको देखिने हो कि भन्नालाई पनि छोडपत्रको व्यहोराबाट नरम गरम मिलाई बण्डा गरेको नदेखिई अंश पाउने सम्पत्ति मध्ये घर र केही जग्गा सम्पत्ति अरु सबै सम्पत्तिमा हक छोडी दिएको र सो लिखत सुनाउँदा सो छोडपत्रबाट पाएको घरजग्गामा आफूले भोग गरिरहेको स्वीकार गरे पनि सो घरजग्गा वादीका नाउँमा दाखिल खारेज भइसकेको पनि नदेखिएको र बिक्री व्यवहार समेत गरेको देखिन नआएकोबाट खाली भोगकै आधारमा अंशबण्डा भइसकेको भनी ठहर गर्न उक्त अ.बं.मा भएको व्यवस्थाले नमिल्ने हुँदा क्षे.अ.बाट अंश पाउने ठहर्याएको मनासिबै देखिएको जहाँसम्म मानो छुट्टिएको मिति कायम गरेको नमिल्ने भन्ने हकमा कानुनमा यस सम्बन्धमा भएको व्यवस्थाबाट पक्ष विपक्षको मुख मिलिएकै मितिलाई मानेको देखिनु पर्ने सो पनि फिराद प्रतिउत्तरबाट नदेखिएको यो यस मितिमा मानो छुट्टिएको हो भनी छोडपत्र समेतको कुनै लिखितबाट नदेखिएको हुँदा फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गरेकोमा अन्यथा गरी रहन पर्ने अवस्था पनि देखिन आएन जहाँसम्म २०२५ सालको लिखतबाट पुनरावेदकका नाउँमा खरीद भएको जग्गा आफ्नो सीप आर्जनको अंशबण्डाको १८ नं. ले बण्डा दिन नपर्ने भन्ने हकमा यदि सो भए तायदातीमा दिनै नपर्ने दिएको र दिँदा पनि सो जिकिर लिन नसकेकोबाट यस जिकिरलाई मान्यता दिन नमिलेको समेत हुँदा इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन कोर्ट फी रही मुद्दा दायर भएको देखिँदा केही गरिरहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बर प्रसाद सिंह
इतिसम्वत् २०४४ साल कार्तिक १९ गते रोज ५ शुभम् ।