निर्णय नं. ९०७३ - सवारी ज्यान

नेकाप २०७० अङ्क ११ नि.नं.९०७३
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की
फैसला मिति : २०७०।५।१३।५
०67-CF-0023
मुद्दाः सवारी ज्यान ।
पुनरावेदक/वादी : रामबहादुर तामाङको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : धादिङ जिल्ला, थाक्रे गाउँ विकास समिति वडा नं. ७ बस्ने राजकुमार तामाङसमेत
§ कुनै खास किसिमको सवारी साधन चलाउन कानूनले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ भने त्यसलाई जस्ताको तस्तै मान्नुपर्ने ।
§ सवारी साधन चलाउने अनुमतिपत्र लिनुपर्ने व्यवस्था ऐच्छिक नभई ऐनले गरेको अनिवार्य व्यवस्था भएकोले सम्बन्धित सवारी साधन चलाउने अनुमतिपत्र नलिएको व्यक्तिले त्यस्तो सवारी साधन चलाउन हुँदैन भन्ने कुरालाई अन्यथा मान्न नसकिने ।
(प्रकरण नं.५)
§ सवारी साधन चलाउने अनुमतिपत्र नलिएको वा एउटा वर्गको हलुका सवारी साधन चलाउने अनुमतिपत्र लिई अर्को वर्गको भारी सवारी साधन चलाउने कार्यलाई लापरवाहीयुक्त मान्नुपर्ने ।
(प्रकरण नं.७)
§ व्यक्तिगत सवारी साधन चलाउने र सार्वजनिक भारी सवारी साधन चलाउनेको सतर्कता भिन्नभिन्न मापदण्डका हुनुपर्ने ।
(प्रकरण नं.९)
शुरू तहमा फैसला गर्ने :
मा.न्या.नारायणप्रसाद दाहाल
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.रणबहादुर बम
मा.न्या.हरिप्रसाद घिमिरे
सर्वोच्च अदालत संयुक्त इजलासमा फैसला गर्नेः
मा.न्या.ताहिर अली अन्सारी
मा.न्या.सुशीला कार्की
पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटी
प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताहरू वीरेन्द्र महर्जन, विरेन्द्र कार्की र विनोद कार्की
अवलम्बित नजीर :
सम्बद्ध कानून :
§ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (३), १६१ (४) र १६१ (५) नं.
§ मुलुकी ऐन, दण्ड सजायको महलको ११ क नं.
फैसला
न्या. गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेरी पाऊँ भनी पुनरावेदन अदालत, पाटनको मिति २०६५।३।२६ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको निवेदनमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) को खण्ड (ख) अनुसार पूर्ण इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छ :
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुस्थित सडकमा स्वयम्भू यातायातको बा. १ ख १२० नं. को बसले ठक्कर दिएको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।
मिति २०६४।१।१५ गते काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ वनस्थलीमा १ जना पुरूष व्यक्ति अं. ३४/३५ वर्षको मानिसलाई ठक्कर दिएकोमा उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएकोले कानूनबमोजिम गरी पाऊँ भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन ।
काठमाडौं वीर अस्पतालको कम्पाउण्ड भित्रको इमरजेन्सीमा रहेका मृतकलाई पूर्व टाउको, दक्षिण खुट्टा भई उत्तानो अवस्थामा भएको, बायाँ कानको माथि टाउकोमा २ वटा चोट लागेको उक्त चोटबाट रगत बगेको भन्नेसमेत व्यहोराको लास प्रकृति मुचुल्का ।
मिति २०६४।१।१५ गते ललितपुरको एकान्तकुनाबाट १ जना मङ्गोलियन अनुहार भएका मानिस काठमाडौंको वनस्थलीमा जाने भनी चढेका थिए । वनस्थलीमा आईपुग्दा पुनः व्याट्री कारखानासम्म जान्छु भनेकाले मैले निजलाई ढोकामा नबस्न र सिटमा बस्न आग्रह गर्दा नमानेको र बस रोक्न नपाउँदै बसबाट आत्तिएर ओर्लिएको हुँदा बसको चक्काले छातीमा किच्न गएको हो । तत्काल उपचारको लागि वीर अस्पतालमा लगेकोमा सोही दिन मृत्यु भएको जानकारी पाएँ भन्नेसमेत व्यहोराको राजु लामाको कागज ।
मिति २०६४।१।१५ गते बा. २ ख १२० नं. को स्वयम्भू यातायातको बसलाई ललितपुरको एकान्तकुनाबाट कलङ्की हुँदै नयाँबसपार्कतर्फ आउने क्रममा एकान्तकुनाबाट नाम थर नखुलेको अं. वर्ष ३०/३५ को मङ्गोलियन अनुहार भएको मानिस चढेका हुन् । ठाउँठाउँमा मानिस ओराल्ने तथा चढाउने गर्दा वनस्थलीसम्म आएपछि निज मानिस बसबाट ओर्लिएको हो । पुनः बसमा चढी व्याट्री कारखाना नजिक आई पुग्दा खलासी राजु लामाले बस रोक्नोस् दाइ भनी कराएको र मैले बस रोक्न साईड लगाउन खोज्दाखोज्दै निज एक्कासी बसबाट हामफाल्दा पछाडिको चक्काले निजलाई छुन गई घाईते भएको हो । पेसेञ्जर तथा वरपरका मानिसहरूले होहल्ला गरेकाले सुरक्षित स्थानतर्फ गएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी राजकुमार लामा तामाङको प्रहरीमा भएको बयान ।
मेरो सहोदर दाजु धनलाल तामाङलाई बा. २ ख १२० नं. को बसले ठक्कर दिई मृत्यु भएको हुँदा आवश्यक कारवाही गरी पाऊँ भन्ने व्यहोराको जाहेरी दरखास्त ।
विगत ४/५ महिनादेखि चालक प्रतिवादी राजकुमार तामाङले मसँग सवारी चालक अनुमति पत्र लाइसेन्स छ भनी सवारी चालक अनुमतिपत्र देखाएको हुँदा मैले तत्काल सवारी चलाउने चालकको आवश्यकता परेकोले मैले श्रीमान्लाई नसोधी सवारी चलाउनको लागि दिएको हो । मिति २०६४।१।१५ गते काठमाडौं वनस्थली नजिक व्याट्री कारखानामा उक्त सवारी साधनले यात्रा गरी आएका मानिस ओर्लनेक्रममा पछाडिको चक्काको भागले किची घाईते भएको भन्ने जानकारी पाएको हो । म आईमाई मानिस पढ्न लेख्न नजान्ने भएको र निज प्रतिवादीको सवारी चालक अनुमतिपत्र देखाएको र कुन सवारी चलाउन पाउने नपाउने मलाई थाहा भएन । हालै मात्र निजको अनुमतिपत्र नभएको भन्ने जानकारी पाएँ भन्नेसमेत व्यहोराको राजमाया महर्जनको बयान ।
किरियाखर्च तथा क्षतिपूर्ति रकम बुझी लिएको भन्ने भरपाई ।
मिति २०६४।१।१५ गते मेरो श्रीमान् वनस्थलीको आफन्तकहाँ भेट गर्न भनी जानु भएको र फर्की नआउनु भएकोले खोज तलास गर्ने क्रममा शिक्षण अस्पतालमा मृत लास रहेको भन्ने प्रहरीद्वारा जानकारी भई हेर्न जाँदा मेरो श्रीमान् भएको जानकारी भयो । बा. २ ख १२० नं. को स्वयम्भू यातायातको बस प्रतिवादीले लापरवाहीपूर्वक चलाई ओर्लने क्रममा घाइते बनाई ठक्कर दिएको भन्ने जानकारी पाएको हो । किरियाखर्च तथा क्षतिपूर्तिबापत रकम बुझी लिईसकेको छु भन्नेसमेत व्यहोराको विना लामाको कागज ।
मिति २०६४।१।१५ गते मेरो छोरा धनमाल लामालाई बा. २ ख १२० नं. को बसले काठमाडौंको वनस्थलीनजिक व्याट्री कारखानामा ओर्लने क्रममा किची घाईते भई उपचारको लागि वीर अस्पतालमा लगिएको सोही अस्पतालमा मृत्यु भएको भन्ने सुनेको हो । किरियाखर्च तथा क्षतिपूर्तिको रकम मेरो बुहारीले बुझी सकेको भन्ने समेत व्यहोराको नेमा लामाको कागज ।
छाती तथा पेटको भागमा कडा चोटका कारण मृत्यु भएको भन्नेसमेत व्यहोराको पोष्ट मार्टम प्रतिवेदन ।
अनुसन्धानको सिलसिलामा संकलित मिसिल संलग्न घटनास्थल प्रकृति मुचुल्का, प्रहरी प्रतिवेदन, लास प्रकृति मुचुल्का, राजु लामाको कागज, प्रतिवादी राजकुमार लामा तामाङको बयान, रामबहादुर तामाङको जाहेरी दरखास्त, राजमाया महर्जन, विना लामा तथा नेमा लामाको कागज र मृतकको Autopsy Report, क्षतिपूर्ति बुझाएको भरपाई कागजसमेतबाट प्रतिवादी राजकुमार तामाङले चलाएको बा. २ ख १२० नं. को स्वयम्भू यातायातको बसले जाहेरवालाको दाजु धनलाल लामालाई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुस्थित सडकमा ठक्कर दिई उपचारार्थ वीर अस्पतालमा लगेको उपचारको क्रममा मृत्यु भएकोले प्रतिवादी राजकुमार तामाङको उक्त कार्य सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र १६१(४) बमोजिमको कसूर अपराध भएको हुँदा सोही ऐनको दफा १६१(२) बमोजिम सजाय गरी ऐ. १६१(४) बमोजिम थप सजाय हुन र प्रतिवादी राजमाया महर्जनले आफ्नो जिम्मामा रहेको सवारी साधन सवारी चालक अनुमतिपत्र नभएको प्रतिवादी राजकुमार तामाङलाई चलाउन दिई उक्त सवारीबाट धनलाल लामाको मृत्यु भएको हुँदा प्रतिवादी राजमाया महर्जनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(५) को कसूर अपराधमा सोही दफा १६१(५) बमोजिम सजाय हुन अनुरोध छ भन्नेसमेत व्यहोराको अभियोगपत्र माग दावी ।
बा. २ ख १२० नं. को बस राजमाया महर्जनको हो, मैले चलाउन लागेको ५ महिना जति भयो । मैले ५/६ महिनाअगाडि हलुका सवारी चालकको अनुमतिपत्र लिएको छु । मैले बा. २ ख १२० नं. को बस चलाई मिति २०६४।१।१५ गते एकान्तकुनाबाट कलङ्कीतर्फ आउँदै थिएँ, मलाई पछि नाम थाहा भएका मृतक धनलाल तामाङ मेरो बसमा एकान्तकुनाबाट चढेका थिए । वनस्थलीमा झरी फेरि पखपख भन्दै मेरो बसमा चढ्नु भयो र एकैछिनमा म झर्नु पर्यो भन्नुभयो । मैले पर्खनुहोस् गाडी साइड लगाउछुँ भन्दाभन्दै चल्दै गरेको गाडीबाट भूईंमा हाम्फालेको हुँदा त्यही बेलामा मैले गाडी साईड लगाउँदालगाउँदै गाडीको पछाडिको टायरले किच्न पुग्यो । त्यहाँ वरिपरिका मान्छे, आई मलाई कुटपीट गर्न थालेकोले गाडी साईड लगाई बालाजु प्रहरी चौकीमा गएको हुँ । मृतक धनलाल तामाङलाई कहाँ के कस्तो चोट लागेको थियो, मैले हेरिन । मेरो लापरवाहीले धनलाल तामाङको मृत्यु भएको होइन । मेरो खलासीले पर्खपर्ख भन्दाभन्दै उनी आफैँ बसबाट फालहाली घाईते हुन पुगेका हुन्, मेरो गल्ती नभएकोले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी राजकुमार तामाङले अदालतमा गरेको बयान ।
बा. २ ख १२० नं. को बस नेपाल बैंङ्क लिमिटेडबाट ऋण लिई किस्तामा २०६२ सालतिर लिएको हो । ५/६ महिनाअगाडिदेखि राजकुमार तामाङले चलाउने गरेको थियो । राजकुमार तामाङले चलाएको मेरा बसमा चढेका धनलाल तामाङ आफैँ चल्दाचल्दैको गाडीको ढोकाबाट हाम्फालेको कारण गाडीले किच्न गै मृत्यु भएको भन्ने सुने । चालकसँग सवारी चालक अनुमतिपत्र छैन भन्ने मलाई थाहा थिएन । मैले जानीजानी सवारी चालक अनुमतिपत्र नभएको मानिसलाई बस चलाउन दिएको होइन । मृतकको किरियाखर्च र क्षतिपूर्तिबापत रू. ५०,०००।– दिई सकेको छु भन्नेसमेत व्यहोराको प्रतिवादी राजमाया महर्जनले अदालतमा गरेको बयान ।
यसमा जाहेरवाला रामबहादुर तामाङ, प्रतिवादी राजकुमार लामाको साक्षी राजु लामा, विशेषज्ञ डा. प्रमोदकुमार श्रेष्ठ, प्रतिवादी राजमायाको साक्षी तुलसीराम महर्जनको बकपत्र भई मिसिल सामेल रहेको ।
यसमा चालकको लापरवाहीको कारणले मृत्यु भएको भन्ने पुष्टि हुन नसकेकोले राजकुमार तामाङउपर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी पुग्न नसक्ने हुँदा प्रतिवादी राजकुमार तामाङलाई ऐ. ऐनको दफा १६१ को उपदफा ३ ले १५ दिन कैद र रू. २,०००।– जरीवाना हुन्छ । अर्का प्रतिवादी राजमाया महर्जनको सम्बन्धमा दुर्घटना भएको सवारीको व्यवस्थापन गर्ने जिम्मेवारी प्रतिवादी राजमायाको नभई स्वयम्भू बस सेवा समितिको देखिएको र स्वयम्भू बस सेवा समितिलाई बुझ्ने कार्यसमेत भएको नदेखिएको अवस्था हुँदा निजले नै प्रतिवादी राज कुमारलाई सञ्चालन गर्न जिम्मा दिएको भन्ने शङ्कारहिततवरबाट पुष्टि हुन नसकेको हुँदा राजमायाको कसूर स्थापित हुन नसकेको हुँदा निजले सफाइ पाउने ठहर्छ भन्नेसमेत काठमाडौं जिल्ला अदालतबाट मिति २०६४।८।१७ मा भएको फैसला ।
प्रतिवादी राजकुमार तामाङसँग कार, जिप, भ्यान बाहेकका अन्य वर्गको सवारी चलाउने हैसियतको प्रमाणपत्र नै छैन । यसमा पनि रिङरोडको एकान्तकुना–कलङ्की सडक अत्यन्त व्यस्त सडक भएकोमा प्रतिवादीले लापरवाहीपूर्वक सवारी चलाएको कारणबाटै दुर्घटना हुन पुगेको देखिन्छ । त्यस्तै अर्का प्रतिवादी राजमाया महर्जनले मिनीबस समेत चलाउन पाउने अनुमतिपत्र नभएको पूर्व जानकारी हुँदाहुँदै प्रतिवादी राजकुमार तामाङलाई आफ्नो बस चलाउन दिएको देखिन्छ । बा २ ख १२० नं. को गाडीको व्यवस्थापन यी प्रतिवादी राजमाया महर्जन आफैँले गरेको भन्ने कुरा मृतकलाई किरियाखर्च दिएको र मौकाको कागज व्यहोराबाट देखिएको अवस्थामा सो बस निजले सञ्चालन नगरेको भनी कसूरबाट सफाइ दिएको र प्रतिवादीमध्येका राजकुमार तामाङलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) ठहर नगरी दफा १६१(३) ठहर गरेको कारणले नै दफा १६१(४) बमोजिम थप सजाय गर्न नमिल्ने भनी शुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त दफा १६१(४) बमोजिम थप सजाय हुन र सफाइ पाउने प्रतिवादी राजमाया महर्जनलाई अभियोग दावीबमोजिम नै सजाय गरी पाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा सवारी चालक राजकुमार तामाङले हलुका सवारी चालक अनुमतिपत्र मात्र प्राप्त गरेको देखिएको र निजले लापरवाही साथ सवारी चलाएको कारणबाट दुर्घटना भई मृतकको मृत्यु भएको भन्ने कुरा मिसिल सामेल रहेका सबूद प्रमाणहरूबाट यकीनरूपले पुष्टि हुन नसकेको अवस्थासमेतलाई विचार गर्दा निज प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम १५ दिन कैद र रू. २,०००।– जरीवाना गर्ने गरेको शुरूको फैसलालाई अन्यथा भन्न मिलेन । प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(१) र (२) को कसूर गरेको ठहर भएमा मात्र ऐ. ऐनको उक्त दफाको उपदफा (४) बमोजिम थप सजाय हुने कानूनी व्यवस्था भएकोमा प्रस्तुत मुद्दामा प्रतिवादी राजकुमार तामाङलाई उक्त ऐनको दफा १६१ को उपदफा (३) बमोजिम सजाय हुने ठहरेकोले ऐ. ऐनको दफा १६१(४) बमोजिम थप सजाय गर्न मिल्ने देखिएन ।
प्रतिवादी राजमायाको हकमा विचार गर्दा निज प्रतिवादीले आरोपित कसूरमा पूर्ण अनभिज्ञता दर्शाई बयान गरेको देखिन्छ । निजले आरोपित कसूर गरेकै हो भन्ने कुरा पुष्टि गर्ने शङ्कारहित तथ्ययुक्त सबूद प्रमाण वादी पक्षले गुजार्न सकेको नदेखिँदा निजले आरोपित कसूर गरेको भनी ठहर्याउन मिलेन । अतः मिसिल सामेल रहेका सबूद प्रमाणहरूको विवेचना र मूल्याङ्कन गरी शुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६४।८।१७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुन्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनबाट मिति २०६५।३।२६ मा भएको फैसला ।
प्रतिवादी राजकुमार तामाङले मौकामा र अदालतसमक्ष बयान गर्दा आफूलाई हेभी सवारी चलाउने अनुमति प्राप्त नभएको तथ्यलाई स्वीकार गरी बयान गरेको र सो तथ्यमा अदालतसमेत सहमत भएको अवस्था छ । हलुका सवारी चलाउने अनुमतिपत्र पाएको व्यक्तिले बस चलाउनु आफैँमा लापरवाहीयुक्त कार्य हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(१) र (२) को कसूर गर्नेलाई ऐ. दफा १६१(४) ले थप सजाय गर्ने व्यवस्था गरेकोमा सोतर्फ नहेरी भएको फैसला त्रुटिपूर्ण छ । बसका खलासी राजु लामाको मौकाको कागजको आधारमा समेत वारदात लापरवाहीपूर्ण रहेको अवस्था देखिन्छ । प्रतिवादी राजकुमार तामाङले मौकामा बयान गर्दा आफूलाई सो बस चलाउन प्रतिवादी राजमायाले दिएको र सो बस चलाउन दिनुपूर्व आफूले अहिलेसम्म भएको सवारी चालक अनुमतिपत्र देखाएको र पछि बस तथा मिनीबस चलाउन पाउने अनुमतिपत्र ल्याउँछु भनी भनेको भन्ने व्यहोरा उल्लेख गरेबाट प्रतिवादी राजमायालाई यी प्रतिवादीसँग उक्त हेभी सवारी साधन चलाउने अनुमतिपत्र नभएको जानकारी हुँदाहुँदै सवारी चलाउन दिई दुर्घटना भएर मानिसको मृत्यु भएकोले निजको हकमा उक्त ऐनको दफा १६१(५) ले सजाय हुने व्यवस्था गरेकोमा सो व्यवस्थाको समेत त्रुटि गरी पुनरावेदन अदालतले फैसला गरेको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को खण्ड (१) को देहाय (क) को आधारमा प्रस्तुत मुद्दा दोहोर्याउने निस्सा प्रदान गरी प्रतिवादीलाई अभियोग माग दावीबमोजिम सजाय ठहर गरी पाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदनपत्र ।
यसमा प्रतिवादी राजकुमार तामाङको भारी सवारी चलाउने अनुमतिपत्र नभएको भन्ने कुरामा विवाद भएन । यसरी भारी सवारी चलाउने अनुमतिपत्र नै नभएको मानिसलाई भारी सवारी चलाउन योग्यता र क्षमता नपुगेको व्यक्ति मान्नुपर्छ । आफूले चलाउन नसक्ने र क्षमता नपुगेको सवारी चलाउँदा त्यसको नतीजा मानिस मर्न सक्छ, दुर्घटना हुन सक्छ भन्ने जोसुकैले पनि थाहा पाउने कुरा हो । मिसिल संलग्न चार किल्ला र घटनास्थल मुचुल्काबाट मृतक आफ्नो साइडको छेउबाट बायाँतर्फ हिँडिरहेकोमा प्रतिवादीले आफ्नो साइड छाडी सवारी चलाई मृतकलाई किचेर मारेको भन्ने कुरा स्केचबाट स्पष्ट प्रमाणित भएको अवस्थामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गर्नुपर्नेमा दफा १६१(३) बमोजिम सजाय गरेको र सवारी चलाउने अनुमतिपत्र नै नभएको व्यक्तिलाई सवारी चलाउन दिने प्रतिवादी राजमाया महर्जनलाई सफाइ दिने गरेको पुनरावेदन अदालतको फैसलामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) प्रमाण ऐन, २०३१ को दफा ४, ५४ तथा अ.बं. १८४क नं. को कानूनी त्रुटी देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०६५।८।१० को आदेश ।
यसमा यस अदालतबाट काजी डंगोलको जाहेरीले नेपाल सरकार पुनरावेदक/वादी र सुरेन्द्र लामा विपक्षी प्रतिवादी भएको संवत् २०५९ सालको फौ.पु.नं. २८९८ को सवारी ज्यान मुद्दामा मिति २०६५।१२।२० मा फैसला हुँदा सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको कारणले मात्र चालकले लापरवाहीपूर्वक सवारी चलाएको भन्न मिल्ने भएन भन्नेसमेतको सिद्धान्त यस अदालतको संयुक्त इजलासबाट प्रतिपादन भएको र सो सिद्धान्त (Ruling) सँग यो इजलास सहमत नहुँदा प्रस्तुत मुद्दा निर्णयार्थ सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) को खण्ड (ख) अनुसार पूर्ण इजलासमा पठाउनु भन्ने यस अदालतको संयुक्त इजलासबाट मिति २०६७।७।१८ मा भएको आदेश ।
नियमबमोजिम पेशीसूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटीले यी प्रतिवादी राजकुमार तामाङसँग भारी सवारी साधन चलाउने अनुमतिपत्र नभएको अवस्थामा बस चलाई सो बस दुर्घटना गराई मृतकलाई किची मारेको तथ्यमा विवाद देखिँदैन । सवारी चलाउने अनुमतिपत्र नै नभएको व्यक्तिले सवारी चलाउने कार्य स्वयंमा नै लापरवाहीपूर्ण भएको अवस्थामा शुरू र पुनरावेदन अदालतले अभियोग माग दावी बमोजिम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र १६१(४) बमोजिम कसूरदार ठहर गरी सजाय गर्नुपर्नेमा उक्त ऐनको दफा १६१(३) बमोजिम सजाय गरेको मिलेको छैन । अर्का प्रतिवादी राजमाया महर्जनले आफ्नो सवारी साधन चलाउन सवारी चालक अनुमतिपत्र नभएका राजकुमार तामाङलाई दिएको अवस्था छ । प्रतिवादी राजकुमार तामाङसँग भारी सवारी चलाउने अनुमतिपत्र नभएको कुरा निजले यी प्रतिवादी राजमाया महर्जनलाई जानकारी गराएको भनी आफ्नो बयानमा उल्लेख गरेबाट निजले जानाजान अनुमितपत्र बिहीन व्यक्तिलाई सवारी चलाउन दिएको र सो सवारीले मानिसलाई किची मारेको मिसिलबाट स्थापित भइरहेको अवस्थामा प्रतिवादी राजमाया महर्जनलाई सफाइ दिने गरी शुरू एवं पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय हुनुपर्छ भन्ने बहस समेत व्यहोराको प्रस्तुत गर्नुभयो ।
प्रतिवादी राजकुमार तामाङको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री वीरेन्द्र महर्जन र श्री वीरेन्द्र कार्कीले बा.२ख १२० नं. को बस चालक राजकुमार तामाङसँग सवारी चलाउने अनुमतिपत्र नै नभएको भन्ने होइन । हलुका सवारी साधन चलाउने अनुमति प्राप्त भएको तर भारी सवारी चलाउने अनुमतिपत्रसम्म नभएको हो । निज नितान्तरूपमा सवारी साधन चलाउनै नसक्ने व्यक्ति होइन । सवारी दुर्घटनामा चालकको लापरवाही तथ्यगतरूपमा स्थापित हुनुपर्दछ । दुर्घटना हुँदाको अवस्थाबाट मात्रै त्यस्तो दुर्घटना लापरवाहीयुक्त होइन भन्ने पुष्टि हुन्छ । प्रस्तुत मुद्दामा तथ्यगतरूपमा स्थापित भएको वारदातको घटनाबाट सो घटना चालकको लापरवाहीबाट भएको भन्ने पुष्टि हुन सकेको अवस्था छैन । मृतक गाडीको ढोकाबाट हामफाली गुडी रहेको गाडीको चक्कामुनी पर्न गई दुर्घटना भएको अवस्था हुँदा सो दुर्घटनाका लागि मृतकको कार्य नै जिम्मेवार रहेको अवस्थामा यी प्रतिवादीहरूलाई लापरवाहीबाट दुर्घटना गराएको भन्ने आधारमा सजाय गर्न मिल्ने होइन । नेपाल सरकार विरूद्ध सुरेन्द्र लामा भएको संवत् २०५९ सालको फौ.पु.नं. २८९८ को सवारी ज्यान मुद्दामा यस अदालतबाट मिति २०६५।१२।२० मा फैसला हुँदा सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको कारणले मात्र चालकले लापरवाही गरी सवारी चलाएको भन्न मिलेन भनी सिद्धान्तसमेत प्रतिपादन भई रहेको अवस्थामा यी प्रतिवादी राजकुमार लामालाई अनुमतिपत्र नभएकै आधारमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र (४) बमोजिम सजाय गर्नुपर्ने होइन भन्नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो ।
अर्का प्रतिवादी राजमाया महर्जनको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विनोद कार्कीले बा १ ख १२० नं. को गाडीको लगबुक राजमाया महर्जनको नाउँमा भएतापनि गाडीधनी निजको श्रीमान् हुनुहुन्छ । यातायात व्यवसायी संघमा समेत गाडीधनीको हैसियतले राजमाया महर्जनको श्रीमान्ले नै प्रतिनिधित्व गर्नुहुन्छ । राजमाया घर गृहणी भएकोले निजको श्रीमान्को अनुपस्थितिमा व्यवहारसम्म गरिआएको व्यक्तिलाई अभियोग माग दावीबमोजिमको कसूरमा सजाय गर्नु फौजदारी न्यायको सिद्धान्तविपरीत हुँदा अभियोग दावीबाट प्रतिवादी राजमाया महर्जनले सफाइ पाउनुपर्छ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
उल्लिखित विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहस सुनी मिसिल संलग्न कागजातहरूको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, पाटनबाट मिति २०६५।३।२६ मा भएको फैसला मिलेको छ, छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी राजकुमार तामाङले चलाएको बा. २ ख १२० नं. को बसले मिति २०६४।१।१५ गते काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुस्थित सडकमा सोही बसमा यात्रा गरी आएका धनलाल लामालाई ठक्कर दिई किचेको र उपचारको क्रममा वीर अस्पतालमा निजको सोही दिन मृत्यु भएको र प्रतिवादी चालक राजकुमार तामाङसँग भारी सवारी चालक अनुमतिपत्र नभएको भन्ने समेत आधारमा निजउपर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र १६१(४) बमोजिम कसूर अपराध गरेको भनी उक्त ऐनको दफा १६१(२) बमोजिम सजाय गरी दफा १६१(४) बमोजिम थप सजाय समेत हुन माग दावी लिइएको र अर्का प्रतिवादी राजमाया महर्जनले आफ्नो जिम्मामा रहेको सवारी साधन सवारी चालक अनुमतिपत्र नभएका प्रतिवादी राजकुमार तामाङलाई चलाउन दिई उक्त सवारीबाट धनलाल लामाको मृत्यु भएको हुँदा प्रतिवादी राजमाया महर्जनलाई उक्त ऐनको दफा १६१(५) को कसूरमा सजाय गरी पाऊँ भन्ने अभियोग माग दावी रहेको देखिन्छ ।
३. प्रतिवादी राजकुमार तामाङले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा बा.२ख १२० नं. को स्वयम्भू यातायातको मिनी बस बिगत ५/६ महिनाअघिदेखि चक्रपथमा दैनिकरूपमा चलाउँदै आईरहेको थिएँ । यसै क्रममा मिति २०६४।१।१५ गते ललितपुरको एकान्तकुना हुँदै बालाजु व्याट्री कारखानानिर आइपुग्दा खलासीले गाडी रोक्नुस् भनी ठ्याप्प गाडीमा हानी रोक्ने इशारा गर्दा म चक्रपथको सडकबाट बायाँ छेउतर्फ आफ्नो साइडमा गाडी विस्तारै लैजादै गर्दा साइडमा पुगी रोक्नुअगावै एकान्तकुनाबाट चढी आएको अपरिचित व्यक्ति बसको ढोकाबाट ओर्लने क्रममा गाडीको बायाँ साईडको पछाडिको चक्काले छुन गई दुर्घटना हुन गएको हो । मसँग ०६–५३४४३, बागमती ख (B) वर्गको सवारी चालक अनुमतिपत्र छ । मिनीबस, बस, चलाउने हाक्ने सवारी चालक अनुमतिपत्र छैन । मलाई बस चलाउने सवारी चालक अनुमतिपत्र नभईकन बस चलाउन हाँक्ने गर्नु हुँदैन भन्ने कुरा थाहा थियो । तैपनि यही लाइसेन्स बोकी बस चलाउने गरेको थिएँ । बा २ख १२० नम्बरको भाडाको बस चलाउन सो बसका साहु राजमाया महर्जनले दिएकी हुन् । निजलाई आफूसँग भएको सवारी चालक अनुमतिपत्र देखाएको थिएँ । पछि बस तथा मिनीबससमेत चलाउन पाउने सवारी चालक अनुमतिपत्र बनाई ल्याउने छु भनेको थिएँ । बस चलाउने अनुमतिपत्र नबन्दै यस्तो दुर्घटना हुन गयो भनी लेखाएको देखिन्छ र प्रतिवादी राजकुमार तामाङले अदालतमा आई गरेको बयानमा समेत अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई समर्थन गर्दै कसूरमा साबित रहेको अवस्था छ । त्यसैगरी बा २ ख १२० नं. को गाडीको खलासी राजु तामाङले समेत मौकामा अनुसन्धान अधिकारीसमक्ष मिति २०६४।१।१७ मा कागज गर्दा प्रतिवादी राजकुमार तामाङले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई समर्थन गर्दै उक्त बसमा यात्रु खचाखच भएकोले बसको ढोका नलगाएको भनी लेखाएको अवस्था छ ।
४. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ ले “कुनैपनि व्यक्तिले चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउन हुँदैन” भन्ने कानूनी व्यवस्था गरेको देखिन्छ । प्रस्तुत विवादमा यी प्रतिवादी राजकुमार तामाङसँग ख (B) वर्गको सवारी चालक अनुमतिपत्र भएतापनि निजले चलाएको मिनीबस जस्तो भारी सवारी साधन चलाउने अनुमतिपत्र नभएको र निजले चलाएको बा.२ख १२० नं. को स्वयम्भू यातायातको बसमा यात्रा गरी आएका धनलाल लामालाई गाडीको पछाडिको टायरले किची मारेको तथ्यमा विवाद देखिँदैन ।
५. सवारी साधनको सञ्चालन सार्वजनिक सुरक्षासँग प्रत्यक्षरूपमा गाँसिएको र सवारी साधन चलाउनका लागि निश्चित योग्यता एवं क्षमताको आवश्यकता पर्ने भएकोले नै विधायिकाले यातायात एवं सवारीसम्बन्धी विशेष कानून निर्माण गरी सवारी साधनको वर्गीकरण, सञ्चालन, चालक अनुमतिपत्रको व्यवस्था, चालक अनुमतिपत्र प्राप्त गर्नको लागि निश्चित योग्यता र विभिन्न किसिमको सवारी साधन चलाउने क्षमताको परीक्षणलगायतका कानूनी व्यवस्था गरेको देखिन्छ । सवारी साधन चलाउने व्यक्तिमा अनिवार्यरूपमा हुनुपर्ने सोसम्बन्धी क्षमता र योग्यताको सुनिश्चितता गरी सवारी दुर्घटनाबाट हुन सक्ने जीउ धनमाथिको सम्भावित जोखिम हटाउनको लागि नै यी कानूनी व्यवस्थाहरू गरिएको हो भन्ने कुरामा दुईमत हुन सक्दैन । सोसम्बन्धी कानूनहरूले सवारी साधन र सवारी चालक अनुमतिपत्रलाई वर्गीकरण गरी आफूले सवारी चलाउन अनुमति पाएको वर्गको सवारी साधन मात्र चलाउन पाउने गरी चालक अनुमतिपत्र दिने व्यवस्थासमेत गरेको पाइन्छ । त्यसकारण कुनै खास किसिमको सवारी साधन चलाउन कानूनले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ भने त्यसलाई जस्ताको तस्तै मान्नुपर्ने हुन्छ । सो सन्दर्भमा हेर्दा यी प्रतिवादी राजकुमार तामाङले कार, जीप र डेलिभरी भ्यान जस्तो हलुका सवारी साधनहरू मात्र चलाउन पाउने गरी ख (B) वर्गको अनुमतिपत्र लिएको देखिन्छ । निजले मिनीबस जस्ता भारी सवारी साधन चलाउने अनुमितपत्र प्राप्त गरेको देखिदैन । यसको अतिरिक्त सवारी साधन चलाउने अनुमति पत्र लिनुपर्ने व्यवस्था ऐच्छिक नभई ऐनले गरेको अनिवार्य व्यवस्था भएकोले सम्बन्धित सवारी साधन चलाउने अनुमति पत्र नलिएको व्यक्तिले त्यस्तो सवारी साधन चलाउन हुँदैन भन्ने कुरालाई अन्यथा मान्न पनि सकिँदैन ।
६. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) लाई हेर्दा "कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन, ज्यानसम्बन्धी महलमा उल्लिखित म्यादभित्र मरेमा त्यस्तो कार्य ज्यानमार्ने मनसाय लिई गरेको नभएतापनि त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानीजानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्राअनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ" भन्ने कानूनी व्यवस्था गरिएको देखिन्छ भन्ने सोही ऐनको दफा ४५ मा "कुनै पनि व्यक्तिले चालक अनुमतिपत्र प्राप्त नगरी कुनैपनि सवारी चलाउन हुँदैन" भन्ने कानूनी व्यवस्था भएको पाइन्छ ।
७. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ तथा १६१(२) को कानूनी व्यवस्था अन्तरसम्बन्धित रहेको देखिन्छ । यी प्रतिवादी राजकुमार तामाङसँग हलुका सवारी साधन चलाउने अनुमतिपत्र मात्र भएको र भारी सवारी साधन चलाउने अनुमति प्राप्त नगरेको अवस्थामा उल्लिखित कानूनी व्यवस्थाको नजरअन्दाज गरी महिनौंदेखि भारी सवारी साधन चलाई निजले जानीजानी जोखिम उठाएको कुरामा विवाद हुन सक्दैन । त्यसकारण निजको उक्त कार्य उल्लिखित कानूनी व्यवस्थाहरूलाई मध्यनजर राखी अनुषंगिकरूपमा व्याख्या गर्दा सवारी साधन चलाउने अनुमतिपत्र नलिएको वा एउटा वर्गको हलुका सवारी साधन चलाउने अनुमतिपत्र लिई अर्को वर्गको भारी सवारी साधन चलाउने कार्य गरेको देखिँदा निजले गरेको उक्त कार्यलाई लापरवाहीयुक्त मान्नुपर्ने नै हुन्छ ।
८. यस अदालतको संयुक्त इजलासबाट पुनरावेदक/वादी काजी डंगोलको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी सुरेन्द्र लामा भएको संवत् २०५९ सालको फौ.पु.नं. २८९८ नं. को सवारी ज्यान मुद्दामा मिति २०६५।१२।२० मा फैसला हुँदा चालक अनुमतिपत्र प्राप्त नगरेको कारणले मात्र चालकको लापरवाहीपूर्वक चलाएको भन्न मिल्ने भएन भन्नेसमेत सिद्धान्त प्रतिपादन भएको र सो सिद्धान्तसँग संयुक्त इजलास सहमत नहुँदा प्रस्तुत मुद्दा निर्णयार्थ पूर्ण इजलासमा पेश हुन आएको सन्दर्भमा हेर्दा उल्लिखित मुद्दामा सवारी चालक अनुमति पत्र प्राप्त नगरेको प्रतिवादी सुरेन्द्र लामाले साथी अमिता सागर लामाको बाबु गणेश लामाको नाउँमा दर्ता रहेको बा.अ.ठ. ९२९५ नं. को मोटर साइकलले मिति २०५५।१०।१० मा बूढानीलकण्ठ दर्शन गरी फर्की आउने क्रममा नारायणस्थान बजारको बाटोमा हिडी रहेकी उजेली डंगोललाई ठक्कर दिई घाइते भएकोमा उपचारको क्रममा शिक्षण अस्पताल लगिएकोमा सोही चोटको कारण मिति २०५५।१०।११ मा मृत्यु भएको तथ्य रहेको छ ।
९. सो सम्बन्धमा हेर्दा कुनै व्यक्तिले मोटरसाइकल जस्ता कुनै व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने निजी सवारी चलाउनु र समुचित इजाजतपत्रबिना महिनौंदेखि रिङरोड जस्तो व्यस्त सडकमा सार्वजनिक सवारी साधन चलाउनु बेग्लाबेग्लै कुरा हो भन्ने कुरामा दुईमत हुन सक्दैन । किनभने व्यक्तिगत सवारी चलाउने सवारी चालकले मुख्यरूपले आफ्नै ज्यानको लागि सावधानी राख्नुपर्ने हुनाले सार्वजनिक बस जस्तो भारी सवारी साधन चलाउनेसँग दाज्नुपर्ने कुरा समुचित हुँदैन । सार्वजनिक सवारी साधन चलाउने व्यक्तिको इजाजतपत्र सम्बन्धमा विचार गर्दा सो सवारी साधनका सवारी यात्रुहरू एवं सडकमा हिड्ने अन्य बटुवाहरूसमेतलाई मध्यनजर राखी हेर्नुपर्ने हुनाले व्यक्तिगत सवारी साधन चलाउने र सार्वजनिक भारी सवारी साधन चलाउनेको सतर्कता भिन्नभिन्न मापदण्डका हुनुपर्ने कुरामा समेत शङ्का गर्ने ठाउँ छैन ।
१०. अतः उल्लिखित आधार कारणहरूसमेतबाट वादी काजी डंगोलको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी सुरेन्द्र लामासमेत भएको संवत् २०५९ सालको फौ.पु.नं. २८९८ को मुद्दाको तथ्य, अवस्था र परिप्रेक्ष्यसमेत प्रस्तुत मुद्दाको तथ्य, अवस्था र परिप्रेक्ष्यसँग समान नभई भिन्न देखिएको अवस्थामा उल्लिखित मुद्दाको रूलिङ्सँग प्रस्तुत मुद्दाको रूलिङ् बाझिएको भन्न मिलेन ।
११. अब अर्को प्रतिवादी राजमाया महर्जनको हकमा विचार गर्दा निजले आफ्नो जिम्मामा रहेको बा.२ख १२० नं. को मिनी बस भारी सवारी साधन अनुमतिपत्र प्राप्त नगरेका प्रतिवादी राजकुमार तामाङलाई चलाउन दिएको भनी निजले अनुसन्धान अधिकारी एवं अदालतसमक्ष गरेको बयानमा समेत उल्लेख गरेको देखिन्छ । प्रतिवादी राजकुमार तामाङले समेत अनुसन्धानको क्रममा आफूसँग ख (B) वर्गको हलुका सवारी चलाउने अनुमतिपत्र छ, मिनीबस, बस चलाउने अनुमतिपत्र छैन, पछि बस तथा मिनीबससमेत चलाउन पाउने सवारी चालक अनुमतिपत्र बनाई ल्याउनेछु भनी गाडीधनी राजमाया महर्जनलाई भनेको थिएँ भनी बयान गरेबाट यी प्रतिवादी राजमाया महर्जनले अनुसन्धान एवं अदालतमा कसूरमा साबित रही गरेको बयानलाई निज प्रतिवादी राजकुमार तामाङले समर्थन गरेको पुष्टि हुन्छ ।
१२. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४६ मा "कसैले आफ्नो स्वामित्व वा आफ्नो जिम्मामा रहेको सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको कुनै व्यक्तिलाई चलाउन दिनु हुँदैन" भन्ने कानूनी व्यवस्था गरेको देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाविपरीत यी प्रतिवादी राजमाया महर्जनले भारी सवारी साधन चलाउने अनुमतिपत्र प्राप्त नभएका प्रतिवादी राजकुमार तामाङलाई आफ्नो जिम्मामा रहेको बा. २ ख १२० नं. को बस चलाउन दिएको देखिन्छ ।
१३. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(५)ले "कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुनेछ" भन्ने कानूनी व्यवस्था गरेको पाइन्छ ।
१४. प्रस्तुत मुद्दाका यी प्रतिवादी राजमाया महर्जनले आफ्नो जिम्मामा रहेको बा.२ख १२० नं. को स्वयम्भू यातायातको मिनी बस भारी सवारी साधन चलाउने अनुमतिपत्र नभएको राजकुमार तामाङलाई चलाउन दिएकोमा सोही बसमा यात्रा गर्ने धनलाल लामालाई बसबाट ओर्लने क्रममा गाडीको पछाडिको टायरले किची, ठक्कर दिई मारेको अवस्था देखिन्छ । यी प्रतिवादी राजमाया महर्जनका कानून व्यवसायीले बहसको क्रममा बा.२ ख १२० नं. को गाडीको लगबुक राजमाया महर्जनको नाउँमा भएतापनि गाडीधनी निजको श्रीमान् भएको हुँदा राजमाया महर्जनलाई अभियोगबमोजिमको कसूरमा सजाय हुनुपर्ने होइन भन्ने जिकीर लिएको पाइन्छ । तर उक्त गाडी निज प्रतिवादी राजमाया महर्जनकै नाउँमा दर्ता रहेको र निजले गाडी भाडामा दिने, गाडीको भाडा बुझ्ने, गाडीमा बस चालक वा स्टाफ राख्ने वा हटाउनेलगायत गाडीको लगबुकसमेत आफ्नो नाउँमा राखी गाडीधनीको हैसियतले सम्पूर्ण व्यवहार गरी सोबाट प्राप्त हुने लाभसमेत आफूले लिएको अवस्थामा सोबाट घट्ने परिणामको दायित्त्वबाट पन्छिनकै लागि उक्त बसको गाडीधनी निज नभई निजको श्रीमान् भएको भन्ने निजको तर्फका कानून व्यवसायीको बहस जिकीरसँग सहमत हुन सकिएन ।
१५. यसरी प्रतिवादी राजमाया महर्जनले भारी सवारी चालकको अनुमतिपत्र नभएको व्यक्ति भनी जान्दाजान्दै आफ्नो जिम्मामा रहेको बा.२ख.१२० नं. को सवारी साधन प्रतिवादी राजकुमार तामाङलाई चलाउन दिएको र निजले चलाएको गाडीको ठक्करबाट सोही गाडीमा यात्रा गर्ने यात्रुको मृत्यु हुन गएको देखिँदा प्रतिवादी राजमाया महर्जनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४६ र १६१ को उपदफा (५) अनुसारको कसूर गरेको देखिन आयो ।
१६. तसर्थ, उल्लिखित आधार कारण समेतबाट प्रतिवादी राजकुमार तामाङलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम १५ दिन कैद र रू. २०००।– जरीवाना र प्रतिवादी राजमाया महर्जनलाई अभियोग माग दावीबाट सफाइ पाउने गरी शुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६५।३।२६ को फैसला मिलेको नदेखिँदा उल्टी भै भारी सवारी चालक अनुमतिपत्र नभएका प्रतिवादी राजकुमार तामाङले बा.२ख १२० नं. को बस चलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) अन्तर्गतको कसूर गरेको देखिँदा निजलाई उक्त ऐनको दफा १६१(२) बमोजिम २ वर्ष कैद र सोही ऐनको दफा १६१(४) बमोजिम थप रू. २,०००।– -दुई हजार रूपैयाँ) जरीवाना समेत हुन्छ । अर्का प्रतिवादी राजमाया महर्जनले आफ्नो जिम्मामा रहेको बा २ ख १२० नं. को सवारी साधन भारी सवारी चालकको अनुमतिपत्र नभएका राजकुमार तामाङलाई चलाउन दिई सोही बसमा यात्रा गर्ने यात्रुलाई ठक्कर दिई मारेकोले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४६ र १६१(५) बमोजिमको कसूरमा सोही ऐनको दफा १६१(५) बमोजिम निजलाई १ महिना कैद हुने ठहर्छ ।
१७. जहाँसम्म प्रतिवादी राजमाया महर्जनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(५) बमोजिम एक महिना कैदको सजाय हुने ठहरी फैसला भएको छ सोतर्फ हेर्दा यी प्रतिवादीलाई चालक प्रतिवादी राजकुमार तामाङले केही दिनभित्रै भारी सवारी चलाउने इजाजतपत्रसमेत ल्याउने आश्वासन दिएको अवस्था रहेको छ । यी प्रतिवादीले यस किसिमको कसूर पहिलोपटक मात्र गरेको अवस्था भएको र यी प्रतिवादी २९ वर्ष उमेरकी वयस्क महिला व्यवसायीलाई सवारीधनीको जिम्मेवारीको कारण कारागारमा पठाउँदा सामाजिक रूपले यसको परिणाम सहज हुन नसक्ने अवस्थासमेतलाई विचार गर्नु मनासिब हुन्छ । यी प्रतिवादी र प्रस्तुत मुद्दामा सम्बन्धित परिस्थितिहरूलाई विचार गर्दा राजमाया महर्जनलाई उचित मौका दिएमा आफूलाई सुधार्ने सम्भावनासमेत भएकोले यी प्रतिवादीलाई कानूनबमोजिम कैदको सजाय नगरी वैकल्पिक सजाय सम्बन्धमा विचार गर्दा कानूनको मक्सदसमेत पूरा हुने देखिन आउँछ ।
१८. उपर्युक्त कुरालाई मध्यनजर राखी हेर्दा मुलुकी ऐन, दण्ड सजायको ११क को देहाय २ नं. ले “तीन वर्षभन्दा कम कैदको सजाय हुने कुनै कसूर गर्ने व्यक्तिलाई कैदको सजाय गरी पहिलो पटक कसूरदार ठहरी अड्डाले कैदमा राख्न मनासिब नठहराएमा एक दिनको पच्चीस रूपैयाँको दरले हुन आउने रकम तोकी सो तोकिएको रकम बुझाएमा कसूरदारलाई कैदमा नराख्ने गरी अड्डाले फैसला गर्न सक्नेछ । सोबमोजिम कसूरदारले रूपैयाँ बुझाएमा बुझी दिई कैदको लगत कट्टा गरी दिनुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।
१९. प्रस्तुत मुद्दाका प्रतिवादी राजमाया महर्जनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(५) अनुसारको कसूरमा १ महिना कैद हुने ठहरी फैसला भएको र दण्ड सजायको ११क देहाय २ अनुसार निज प्रतिवादीले एक दिनको पच्चीस रूपैयाँका दरले हुन आउने रकम रू. ७५०।– (सात सय पचास रूपैयाँ) बुझाएमा निजलाई कैदमा नराख्दा पनि हुन्छ । तसर्थ, प्रतिवादी राजमाया महर्जनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(५) को कसूरमा दण्ड सजायको ११क को देहाय (२) को सुविधा प्रदान गरिएको छ । यी प्रतिवादीले अब फेरि त्यस प्रकारको कुनै अपराध नगरी राम्रो आचरण पालना गर्नेछु भनी दण्ड सजायको ११क को देहाय (३) नं. बमोजिम कागज गरेमा कागजसमेत गराई निजको सम्बन्धमा माथि उल्लेख गरेबमोजिम गरी अरू तपसीलबमोजिम गर्नू ।
तपसील
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम प्रतिवादी राजकुमार तामाङलाई १५ दिन कैद र रू.२,०००।(दुई हजार रूपैया) जरीवाना र प्रतिवादी राजमाया महर्जनले अभियोग दावीबाट सफाइ पाउने गरी शुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६५।३।२६ को फैसला उल्टी भै प्रतिवादी राजकुमार तामाङलाई २ (दुई) वर्ष कैद र रू. २०००। (दुई हजार रूपैया) जरीवाना समेत हुने र प्रतिवादी राजमाया महर्जनलाई १ (एक) महिना कैद हुने ठहरी यस अदालतबाट फैसला भएको हुँदा काठमाडौं जिल्ला अदालतको फैसलाको तपसील खण्डको देहाय १ मा प्रतिवादी राजकुमार तामाङले राखेको जरीवानाको हकमा सोहीबमोजिम गर्नु र कैदको हकमा प्रतिवादी राजकुमार तामाङ मिति २०६४।१।१५ देखि मिति २०६४।२।९ सम्म प्रहरी हिरासतमा बसेको अवधि कैद दिन २५ (पच्चीस) कट्टा गरी बाँकी कैद एक वर्ष ११ (एघार) महिना ५ (पाँच) दिन निज बेरूजु हुँदा लगत कसी असूल गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू......१
प्रतिवादी राजमाया महर्जनलाई माथि ठहर खण्डमा लेखिएबमोजिम एक महिना कैद हुने तर दण्ड सजायको ११क बमोजिम राम्रो आचरण पालन गर्ने कुराको कागज गरे गराई र कैदको हकमा निजले एक दिनको रू. २५ (पच्चीस) का दरले हुन आउने रकम बुझाएमा बुझिलिई कैदको लगत कट्टा गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू.........................................२
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू.........................३
उक्त रायमा सहमत छौं ।
न्या.ज्ञानेन्द्रबहादुर कार्की
न्या.प्रा.डा.भरतबहादुर कार्की
इति संवत् २०७० साल भदौ १३ गते रोज ५ शुभम् ।
इजलास अधिकृत : हरि कोइराला