शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२९९ - जग्गा खिचोला मेटाई दर्ता बदर गरी घरबारी छुट्याई चलन चलाई पाउँ

भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२

निर्णय नं. ३२९९     ने.का.प. २०४४      अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

सम्वत् २०४२ सालको दे.पु.नं. ४६१

मुद्दा : जग्गा खिचोला मेटाई दर्ता बदर गरी घरबारी छुट्याई चलन चलाई पाउँ ।

 

पुनरावेदक/प्रतिवादी: कृष्णध्वजको मु.स. गर्नेहरू जि.का. काठमाडौं न.पं. वडा नं. २९ बस्ने रामलाल ध्वबी ।

ऐ.ऐ बस्ने परमेश ध्वबी ।

ऐ.ऐ बस्ने बानीभाई ध्वबी ।

ऐ.ऐ बस्ने मंगलमाया ध्वबी ।

ऐ.ऐ बस्ने  श्याम कुमार ध्वबी ।

विरुद्ध

विपक्षी/वादी: ऐ. वडा नं. २० बस्ने बेलमाया ताम्राकार ।

निवेदक/वादी: ऐ. वडा नं. २० बस्ने बेलमाया ताम्राकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ. वडा नं. २९ बस्ने कृष्ण ध्वबीको मु.स. गर्ने रामलाल ध्वबी ।

फैसला भएको मिति:२०४४।९।५।१ मा

     भिन्न भएको भन्ने भोगबन्धकी पास लिखतमा जनिए पनि एउटै घरको दुई खण्डमा बसोवास गरी आएको अंशियार दाजुभाइ भएकोले रीतपूर्वकको अंशबण्डाको अभावमा एउटा अंशियारको नाममा नापी हुन गएको अवस्थामा अन्य उनाउ तेश्रो व्यक्तिले दर्ता गराए सरह हदम्याद भित्र उजूर गरी आफ्नो दर्ता कायम गराई हाल्नु पर्छ भन्ने बाध्यता अंशियार भाइलाई पर्छ  भन्न मनासिब नदेखिने ।

(प्रकरण नं. १५)

पुनरावेदक, प्रतिवादीकोतर्फबाटः      विद्वौन वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

निवेदक, वादीकातर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश बस्ती

उल्लिखित मुद्दा: नि.नं. ७२० को निवेदक उज्यालो कवनी समेत विरुद्ध भोलाप्रसाद बुढा समेत भएको जग्गा टक मुद्दामा मिति ०२९।७।१५।३ मा फुल बेञ्जबाट सिद्धान्त प्रतिपादित ।

फैसला

न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ.को इन्साफमा पुनरावेदन गर्ने फैसला अनुमित पाउँ भन्ने प्रतिवादी रामलालको निवेदनमा अनुमति प्रदान भई र इन्साफ जाँची दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र.बक्स भइआएको पुनरावेदक वादी बेलमायाको निवेदन समेत बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न बमोजिम छ ।

२.    पूर्व कृष्ण धोवीको घर जग्गा पश्चिम बाटो, उत्तर शुकवीर ज्यापूको घर, दक्षिण आफ्नै फुलबारी चौर यति ४ किल्लाभित्रको पूर्व पश्चिम लङको लेन चौरको दक्षिण मोहडा पूर्व पश्चिम लम्बाई हात १२।। को २ नाले ३ कबले घर र सो घरले चर्चेको बारी बगैंचा लगायत समेत फिरादीका पति श्यामबहादुरलाई २०२४।१०।३ मा भोगबन्धकी पास गरिदिएको भोग बन्धकी दिएको घर जग्गा फिरादीसँग रु. १२०००।लिई हर्षबहादुर धोवीले समेत हा.नं. ६५१ मा दर्ता गराएको पोत रु.।९८ बुझाउन पर्ने लैनचोरको घर घडेरीको घर घडेरी रो. ०० राजीनामा र उक्त जग्गामा बनेको पूर्व पश्चिम लम्बाई फिट १८ उत्तर दक्षिण चौडाई फीट १९।। का पक्की गारो ३ तले दक्षिण मोहडा भएको टायल छाना भएको घर फार्से लेखाई २०२६।६।१४ मा रजिष्ट्रेशन पास गरिदिनु भएको सो मितिदेखि भोगचलन गरी तिरो भरो गरी आएको छु नापी टोली आउँदा आफ्नो घरबारी नाप गराउन जाँदा अघिनै नापी भइसकेको भन्ने जवाफ पाई भू.प्र.का.मा बुझ्दा कि.नं. ६५ बाट नापी भइसकेको भन्ने जवाफ पाई ज.ध.प्र.पू. पाउँ भनी भू.प्र.का.का.मा निवेदन दिँदा उक्त का.बाट ०३४।११।१२मा तेरो मेरो देखिएकोले आफ्नो हक कायम गराई आउनु भनी ठहर पर्चा भएपछि सो घरबारी समेत विपक्षीले आफ्नो नाउँमा दर्ता गराएको रहेछ फिरादीको हकभोगको घरबारी झुठ्ठा कुरा देखाई आफ्नो नाममा दर्ता गराई खिचोला गरेकोले सो दर्ता बदर गरी खिचोला मेटाई विपक्षीको २ आना २ पैसा र फिरादीको रो. ०० घरबारी गरी जम्मा रोपनी ०२ एक कित्तामा रोपनी ०१२२ ठहर गराई नरबढी भएको समेत अनुपातिक हिसाबले हुन आउने रो. ०३ फिरादीको घरबारी छुट्याई चलन समेत चलाई पाउँ भन्ने फिराद ।

३.    विपक्षीले २०२१ सालको भू.सु. नापीमा मेरो नाउँमा दर्ता भई २०३६।१।१२ मा ज.ध.प्र.पु. समेत लिएको कुरा फिरादपत्रमा नै स्वीकार गर्नु भएको हुँदा २ वर्ष नघाई परेको फिराद खारेज गरिपाउँ विपक्षीले ज.ध.प्र.पू. पाउँ भनी दिएको निवेदनमा मलाई झिकाउँदा मैले कि.नं. ६५ को जग्गा मेरो भनी बयान गरी खिचोला गरे भन्ने भनाई बेमनासिब छ मैले भू.सु. नापी हुँदा नै वादीको दर्ताको हकमा भएको भनेको बखत आफ्नो जग्गा भनी नापीमा लेखाई ज.ध.प्र.पू. लिई अवछिन्न रुपले भोगचलन गरी आएको विपक्षीले रु. १२०००।मा २०२६।६।५ मा राजीनामा लिएको घर बहाल मुद्दामा चलन पाउने ठहरेको छ भन्ने भनाइलाई जसको नाममा दर्ता र तिरो नै छैन त्यस्तो  व्यक्तिबाट राजीनामा गराई लिएमा जालसाजी गरेमा उजूर गरी सकेको छु । पछिल्ला दर्ता तिरोको श्रेस्ता प्रमाणलाई मुख्य आधार बनाई कसको कुन सम्पत्तिमा हक पुगेको छ भन्ने कुराको निर्णय दिन पर्नेमा सो अनुसार हेरिएमा भू.सु. नापी हुनु भन्दा अगाडि जग्गाको नम्बर बेगल भएकोले मैले आफ्नो नाउँमा निरन्तर भोग गरी आएको हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.    विवादको घर जग्गा वादीका दर्ताको हक पुग्न आएका भन्ने देखिन ठहर्न नआएको हुँदा वादीको दावी पुग्न सक्दैन भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतको फैसला ।

५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको बा.अं.अ.मा परेको पुनरावेदनमा ०२६।६।१४ मा हर्क बहादुरले बेलमायालाई फार्से गरिदिएको भनेको फार्से बण्डाको ४ किल्लाभित्रको जग्गा छुट्याई बाँकी जग्गा कृष्ण धोवीको हक कायम गर्नु पर्नेमा सो कुरा फैसलामा उल्लेख नभएको हुँदा २००४ सालको नक्शा पास र २०२१ सालको नापीमा दर्ता भएको कृष्ण धोवीको नामको कि.नं. ६५ को घर जग्गा कृष्ण धोवीकै नाममा हक कायम हुने र सो बाहेक २०२६।६।१४ को फार्से पत्र बमोजिमको जग्गा बेलमाया ताम्राकारको ठहर्छ । वादी दावी बमोजिमको सम्पूर्ण घर जग्गामा दावी पुग्न सक्दैन भनी ठहर्‍याएको शुरु का.जि.अ.को इन्साफ गल्ती ठहर्छ भन्ने समेत बा.अं.अ.को २०३८।१०।१८ को फैसला ।

६.    बा.अं.अ.को फैसला प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भएकोले न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(३) बमोजिम पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी तथा प्रतिवादीको म.क्षे.अ.मा परेको छुट्टा छुट्टै पुनरावेदन ।

७.    २०२६।६।१४ को राजीनामा बमोजिमको जग्गा सम्ममा बेलमाया ताम्राकारको हकको ठहर्‍याएको सो हदसम्मको फैसला त्रुटिपूर्ण भई उल्टिने देखिएबाट न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(३) अन्तर्गत पुनरावेदनको लागि अनुमति दिएको छ भन्ने समेत म.क्षे.अ.को २०४०।२।२६ को आदेश ।

८.    भिन्न भएको भन्ने भोगबन्धकी पास लिखतमा जनिए पनि एउटै घरको ३ खण्डमा बसोवास गरी आएको अंशियार दाजुभाइ भएकोले रीतपूर्वकको अंशबण्डाको अभाव भएको स्थितिमा एउटा अंशियारको नाममा नापी हुन गएको अवस्थामा अन्य उनाउ तेश्रो व्यक्तिले दर्ता गराए सरह हदम्याद भित्र उजूर गरी आफ्नो दर्ता कायम गराई हाल्नु पर्छ भन्ने बाध्यता नहुँदा दुई भाइको बण्डाबाट छुट्टिएको घरजग्गा एउटाको नाममा नापी भएको खण्डमा पनि अंशियारले आफ्नो हक छुटाई लिन जहिलेसुकै पनि पाउनेनै हुँदा हदम्याद नाघी दायर भएकोले खारेज हुनुपर्ने भन्ने प्रतिवादीको कथन र दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन । हक बेहकबाट वादी दावीको घर जग्गा हर्षबहादुरको हक अंशको देखिँदा प्रतिवादीले दर्ता गराएको बदर गर्ने समेत ठहर्‍याएको बा.अं.अ.को इन्साफ मनासिब हुँदा केही परिवर्तन गरिरहनु नपरी मनासिब ठहर्छ । वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ.को २०४२।३।१८।३ को फैसला रहेछ ।

९.    म.क्षे.अ.को त्रुटिपूर्ण फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी रामलाल धोवी समेतको यस अदालतमा पर्न आएको निवेदनमा उक्त क्षे.अ.को फैसलामा जग्गा मिच्नेको १८ नं. को प्रत्यक्षतः कानुनी त्रुटी भएको र त्यस्ता त्रुटी सार्वजनिक महत्वको विषय हुँदा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति २०४२।४।३० को आदेश रहेछ ।

१०.    साथै म.क्षे.अ.को फैसलाले मेरो दावी बमोजिमको घर जग्गा जिते तर फैसलाको अन्तमा बा.अ.को फैसला सदर भनी दिँदा बा.अं.अ.को त्रुटिपूर्ण  फैसला यथावत कायम राख्ने जस्तो भ्रमास्पद कायम रहने गरी गरिएको अन्तिम त्रुटिपूर्ण निर्णयलाई समर्थन जनाउँदै स.अ.बाट मलाई अनुमति प्रदान नहुनु विपक्षीलाई सो फैसला त्रुटिपूर्ण भन्दै स.अ.बाट अनुमति हुनु त्रुटिपूर्ण भई अन्यायमा परेकोले स.अ.का नाममा इन्साफ जाँच गरिदिनु भन्ने हु.प्र. बक्स पाउँ भनी वादी बेलमाया ताम्राकारले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको निवेदनमा यसै मुद्दाको प्रतिवादीको निवेदनमा त्यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान गरेको भए निवेदकको हकमा पनि साथै राखी इन्साफ जाँच गरिदिनु भन्ने हु.प्र.बक्स भई आई देवानी विविधको लगतमा दर्ता हुन आएको रहेछ ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा तारेखमा रहेका वादी प्रतिवादीको वा. समेतलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता लक्ष्मण अर्याल र निवेदक वादीको तर्फबाट बहसका लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री प्रकाश बस्तीले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

१२.   प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा इन्साफ दिनु पर्ने हुन आयो ।

१३.   यसमा इन्साफतर्फ विचार गर्दा पूर्व कृष्ण धोवीको घर जग्गा पश्चिम बाटो उत्तर शुकविर ज्यापूको घर द.आफ्नै फुलबारी चौर यति चार किल्लाभित्रको पू.प. लंगको लैनचोरको द.मोहोडा ५ पं.लम्बाई हात १२।। गज हात १३ को २ नाले ३ कवले घर र सो घरले चर्चेको बारी बगैंचा लगापात समेत फिरादीका पति श्यामबहादुरलाई २०२४।१०।३ मा भोगबन्धकी पास गरी दिएको घर जग्गा फिरादीसँग रु. १२०००।लिई हर्षबहादुरले हा.नं. ६५१ मा दर्ता गराएको पोत रु. ९८ बुझाउनु पर्ने लैनचौरको घर घडेरी ०० राजीनामा र उक्त जग्गामा बनेको पूर्व पं.लम्बाई फिट १८ उ.द.चौ. फिट १९।। को पक्की गारो ३ तले द.मोहडा भएको टायल छाना भएको घर फार्से लेखाई २०३६।६।१४ मा रजिष्ट्रेशन पास गरिदिनु भएको सो मितिदेखि तिरो भरो गरी भोगचलन गरिआएको ज.ध.प्र.पूर्जा पाउँ भनी भू.प्र.का.मा निवेदन दिँदा तेरो मेरो देखिएकोले आफ्नो हक कायम गराई आउनु भनी ठहर पर्चा भएपछि घरबारी समेत विपक्षीले आफ्नो नाममा दर्ता भएको फिरादीको हकभोगको घरबारी झुठ्ठा कुरा लेखाई आफ्नो नाममा दर्ता गराई खिचोला गरेकोले सो दर्ता बदर गरी खिचोला मेटाई विपक्षीको २ आना २ पैसा र फिरादीको रो. ०० घरबारी गरी जम्मा रो. ०२ फिरादीको घरबारी छुट्याई चलन समेत चलाई पाउँ भन्ने मुख्य वादीको फिराद दावी भएको देखिन्छ ।

१४.   शुरु जि.अ.ले इन्साफ गर्दा विवादको घर जग्गा वादीका दाताकै हकमा पुग्न आएको भन्ने देखिन नआएको भन्ने आधारमा वादी दावी पुग्न नसक्ने ठहर गरेको देखियो । उक्त इन्साफ उपर वादीको बा.अं.अ.मा पुनरावेदन पर्दा भोगबन्धकी दिँदाको अवस्थामा भएको लिखतमा प्रतिवादी साक्षी बसेको भन्ने मिसिलबाट देखिनुको साथै कृष्ण धोवीले यिनै वादी बेलमाया उपर जालसाजी मुद्दा दिएकोमा जालसाजी समेत नठहरी फैसला भएको समेतबाट २०२६।६।१४।३ मा हर्षबहादुरले वादी बेलमायालाई फार्छे गरिदिएको उक्त फार्छे पत्रको ४ किल्लाभित्रको जग्गा छुट्याई बाँकी जग्गा कृष्ण धोवीको हक कायम गर्नु पर्नेमा सो उल्लेख नभएकोले २००४ सालको नक्शा पास र २०२१ सालको नापीमा दर्ता भएको कृष्ण धोवीकै नाउँमा हक कायम हुने र सो बाहेक २०२६।६।१४।३ को फार्छेपत्र बमोजिमको जग्गा बेलमाया ताम्राकारको ठहर्छ सम्पूर्ण घर जग्गामा वादी दावी पुग्न सक्दैन भनी ठहर गरेको शुरुको इन्साफ गल्ती  ठहर्छ भनी बा.अ.बाट फैसला भएकोलाई म.क्षे.अ.ले मनासिब ठहर गरेको पाइन्छ ।

१५.   उक्त क्षे.अ.को फैसला उपर प्रतिवादीको यस अदालत समक्ष पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा मुलुकी ऐन जग्गा मिच्नेको १८ नं.को त्रुटी देखिएको भन्ने आधारमा अनुमति प्रदान भइआएको देखियो । एउटै निर्णय उपर विपक्षीलाई पुनरावेदनको अनुमति दिने तर मलाई अनुमति नदिने गरिएको निर्णयबाट अन्यायमा परेकोले इन्साफ जाँच गरिदिनु भनी स.अ.को नाउँमा हु.प्र.बक्स पाउँ भनी बेलकुमारीको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तीपत्रमा इन्साफ जाँची निर्णय गर्न भनी हु.प्र.बक्स भइआएबाट समेत प्रस्तुत मुद्दामा मुख्यतः यी दुई कुरामा विचार गर्नु पर्ने हुन आएको छ । प्रथमतः प्रतिवादीको पुनरावेदनको लागि परेको निवेदनमा मु.ऐ.ज.मि.को १८ नं. को कानुनको म्यादभित्र नालेश परे नपरेको र दोस्रो वादीको इन्साफ जाँचको लागि परिआएको निवेदनमा मुख्यतः जग्गा खिचोला मेटाई घरवारी छुट्टाई चलन चलाई पाउँ भन्ने वादी दावी भएपछि वादी दावी बमोजिम छुट्ट्याई दिनु पर्नेमा सो नगरी हक बेहकबाट वादी दावीको घर जग्गा हर्षबहादुरको हक अंशको देखिँदा प्रतिवादीले दर्ता गराएको बदर गर्ने समेत ठहर्‍याएको बा.अं.अ.को इन्साफ मनासिब हुँदा केही परिवर्तन गरी रहनु नपरी मनासिब ठहर्छ भनी फैसला भएबाट बा.अं.अ.को निर्णय उपर दृष्टिगत गर्ने हो भने कि.न. ६५ को घर जग्गा कृष्ण धोवीकै नाममा हक कायम हुने सो बाहेक २०२६।६।१४।१ को फार्सेपत्र बमोजिमको जग्गा मेरो ठहर्ने भन्ने देखिँदा मेरो माग दावी नै कि.नं. ६५ को सम्पूर्ण घर जग्गा विपक्षीकै ठहरेपछि मैले कुन घर जग्गा प्राप्त गरें र कुन घर जग्गा गुमाएँ म.क्षे.अ.को फैसलाले मेरो दावी बमोजिमको घर जग्गा जिते तर फैसलाको अन्तमा बा.अं.अ.को फैसला सदर भनी दिँदा बा.अं.अ.को त्रुटिपूर्ण फैसला यथावत कायम रहने जस्तो भ्रमास्पद रहन गएको हुँदा इन्साफ जाँची पाउँ भन्ने समेतको जिकिर लिई आएको देखिन आएबाट त्यस सम्बन्धमा निर्णय दिनु पर्ने स्थिति देखिन आयो । विवादित कि.नं. ६५ को घर जग्गा मध्ये पश्चिमतर्फबाट ०३ को घर जग्गामा वादी दावी बमोजिम झगडा परेको र उक्त जग्गा समेत पूर्वतर्फको कृष्ण धोवीको भनी वादी प्रतिवादीले स्वीकार गरेको घर जग्गा खण्ड समेत ०१२० मा कि.नं. ६५ मा नापी दर्ता भएको देखिन आयो । नक्शा नापीबाट झगडा परेको कि.नं. ६५ को घर २ वटा नभई एउटै मात्र देखिएको र सो घरमा हर्षबहादुर समेत बसी आएको कुरा कृष्ण धोवीले आफ्नो प्रतिउत्तरमा स्वीकार गरेको देखिएको साथै कृष्ण धोवी र हर्षबहादुर धोवी सहोदार दाजुभाइ भन्ने समेत देखिन्छ । उक्त कि.नं. ६५ को पश्चिमतर्फको २ नाले ३ कवले ३ तले घरलाई हर्ष बहादुरको हकको भनी पटकपटकमा भोगबन्धकी लिखतहरूबाट समेत र प्रमाणित रुपमा प्र.कृष्ण धोवी र छोरा बाबुराम समेतले स्वीकार गरिसकेको पृष्ठभूमिमा दर्ता सम्बन्धमा विवाद परी भू.सु. कार्यालयले अदालतमा नालेश दिनु भनी सुनाएपछि ०३५।१।७ मा नालेश परेको देखिन्छ । कृष्ण धोवी र हर्षबहादुर भिन्न भएको भोगबन्धकी पास लिखतमा जनिए पनि एउटै घरको दुईखण्डमा बसोवास गरी आएको अंशियार दाजुभाइ भएकोले रीतपूर्वकको अंशबण्डाको अभावमा एउटा अंशियारको नाममा नापी हुन गएको अवस्थामा अन्य उनाउ तेश्रो व्यक्तिले दर्ता गराए सरह हदम्याद भित्र उजूर गरी आफ्नो दर्ता कायम गराई हाल्नुपर्छ भन्ने बाध्यता अंशियार भाइलाई पर्छ भन्न मनासिब देखिएन । दुई भाइको बण्डाबाट छुट्टिएको घरजग्गाको नाममा नापी भएको खण्डमा पनि अंशियारले आफ्नो हक छुट्याई लिन जहिलेसुकै पनि पाउने नै हुँदा हदम्याद नाघी दायर भएको फिराद खारेज हुनुपर्ने भन्ने प्रतिवादीको जिकिरसँग सहमत हुन सकिएन । साथै यस सम्बन्धमा एकाको भागमा परेको अन्य प्रमाणबाट देखिन्छ भनी त्यस्तो जग्गा अर्कै अंशियारको  नाममा दर्ता रहन गएकोमा कानुन बमोजिमको लिखत बेगर दर्तावालाको भन्न मिल्ने नदेखिने भन्ने समेत यस अदालत फुल बेञ्जबाट नि.नं. ७२० को निवेदक उज्यालो कवनी समेत विरुद्ध भोलाप्रसाद बुढा समेत भएको जग्गा हटक मुद्दामा मिति ०३९।७।१५।३ मा सिद्धान्त समेत प्रतिपादन भएको देखिन्छ । फिल्डबुकमा लेखाएको मितिबाट समेत वादीको उजूर नपरेको भन्ने प्रतिवादीको जिकिरको हकमा समेत नापी लागू नभएको भनी राजीनामामा लेखिएकोमा जालसाजी मुद्दा परी जालसाजी नठहरी अन्तिम रहेको देखिएबाट समेत प्रस्तुत जिकिर लागू हुने समेत देखिएन । अतः उपरोक्त प्रमाण आधारहरूको साथै म.क्षे.अ.को फैसलाले बुँदा प्रमाण आधारहरू समेतबाट हक बेहकबाट वादी दावीको घरजग्गा हर्षबहादुरको अंशहकको देखिँदा प्रतिवादीले दर्ता गराएको बदर गर्ने समेत ठहर्‍याएको बा.अं.अ.को इन्साफलाई मनासिब ठहर गरेको म.क्षे.अ.को इन्साफ मिलेकै देखिन्छ ।

      १६.    तर वादीको फिराद दावीमा घरबारी छुट्याई चलन समेत चलाई पाउँ भन्ने दावी भएकोमा त्यसतर्फ क्षे.अ.ले फैसलामा उल्लेख गरेको देखिन आएन ।

१७.   वादी दावी बमोजिम विवादित कि.नं. ६५ को घर जग्गामा जग्गातर्फ नरबढी भई १२ आना २ पैसा भएकोमा दामासाहीले हुन आउने जग्गा रो. ०३ र घरतर्फ २० फिट ६ इन्च छुट्याई दिनु पर्नेमा नछुट्याएको हदसम्म बा.अं.को इन्साफ यथास्थिति राखेको म.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण भई वादी दावी बमोजिमको घर जग्गामा चलन चलाई पाउने समेत ठहर्छ म.क्षे.अ.को इन्साफ केही उल्टी हुने ठहर्छ । कोर्ट फी रही मुद्दा दायर भएको देखिँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बर प्रसाद सिंह

 

इतिसम्वत् २०४४ साल पौष ५ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु