निर्णय नं. ३३०१ - लेनदेन

निर्णय नं. ३३०१ ने.का.प. २०४४ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
सम्वत् २०४३ सालको दे.पु.नं. ७५३
मुद्दा : लेनदेन ।
पुनरावेदक/वादी: जि.सुर्खेत बजेडी गा.पं. वार्ड नं. ७ बस्ने भिम बहादुर बस्नेत ।
विरुद्ध
विपक्षी/प्रतिवादी: जि.बाँके परसपुर गा.पं. वार्ड नं. १ बस्ने कुवर अमर सिंह ठाकुर ।
फैसला भएको मिति:२०४४।१०।२०।४ मा
जग्गाको तोकिएको सबै मूल्य तत्कालै बुझाई राजीनामा गरी लिने दिने गरी सोही व्यहोरा लिखतमा खोलिएको भए त्यस्तो लिखतलाई राजीनामा लिखत मान्नु पर्ने जग्गाको मूल्य मंसीर मसान्तमा बुझाई कार्तिक मसान्तमा राजीनामा रजिष्ट्रेशन पारीत गरी दिने गरी शर्त उल्लेख गरी लिखत भएको र लिखत मै शर्तनामाको कागज भन्ने उल्लेख भएबाट उक्त लिखतलाई शर्तनामा नभई ऋण लिखत भन्न मिल्ने नदेखिने ।
(प्रकरण नं. १४)
शर्तनामाको कागज भएकोमा शर्तनामा बमोजिम गराई पाउँ भन्ने दावी नभई शर्तनामा उल्लंघन भएको हुँदा बुझेको रुपैयाँ फिर्ता पाउँ भन्ने दावी लिएको मिलेको नदेखिँदा वादी दावी पुग्न नसक्ने ।
(प्रकरण नं. १५)
पुनरावेदक, वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिंह
उल्लेखित मुद्दा: २०३२ सालको दे.पु.नं. ७७ झल्लु माझी थारु विरुद्ध फुसाराम ठाकुर समेत भएको लेनदेन मुद्दामा (ने.का.प.०३५, पृ. १५०, नि.नं. ११७२) यस अदालत डिभिजन बेञ्चबाट ०३४।५।२४।६ मा फैसला भई सिद्धान्त प्रतिपादित ।
फैसला
न्या.गजेन्द्र केशरी बास्तोलाः म.प.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।
२. अन्यायी अमर सिंहका नाममा दर्ता रहेको जि.बाँके उठरपुर गा.पं. वार्ड नं. १(ख) कि.नं. २३ को ज.वि. २०–५–० रु. ७२,५००।– मा बिक्री गर्ने कुरा गरी सो मोल मध्य रु. ३२,५००।– म बाट २०३४।२।२० मा बुझी लिई उसै दिनदेखि सो जग्गा मलाई चलन दिने र बाँकी रु. ४०,०००।– २०३४ साल मंसीर मसान्तसम्म बुझी लिई सो जग्गा मलाई राजीनामा गरी दिने शर्त गरी मलाई कागज गरिदिनु भएकोमा सो शर्त अनुसार मलाई चलन गर्न पनि नदिएको र बाँकी रु. ४०,०००।– लिई राजीनामा गरिदिनु होस् भनी भन्दा जग्गा राजीनामा पनि गर्दिन र बाँकी रुपैयाँ पनि बुझ्दिन, बुझेको थैली रु. ३२,५००।– साँबा ब्याज सहित बैशाख मसान्तसम्म बुझाउँला भनी जवाफ दिएकोले ०३५ साल बैशाख १८ गते र त्यसपछि सालसालै अन्यायी कहाँ रुपैयाँ माग्न जाँदा आलटाल गर्दै रहेकोले मेरो लिखत बमोजिमको थैली रु. ३२,५००।– प्रतिवादीबाट दिलाई भराई पाउँ भन्ने फिराद दावी ।
३. फिराद दावी झुठ्ठा हो । वादीसँग रुपैयाँ बुझिलिएको र लिखत गरिदिएको समेत होइन वादीलाई जग्गा राजीनामा गरिदिने भनी भाषा गरेको होइन । वादीलाई मैले ल्याप्चे सहिछाप गरी कुनै लिखत गरी दिएको छैन । वादीको कथित शर्त लिखतको मितिले लेनदेनको ४० नं. को हदम्याद २ वर्षभित्र नालेश उजूर नपरेकोले वादी दावी खारेज हुनुपर्छ । सक्कल लिखत हेर्न पाएका बखत सद्दे कीर्तेमा बयान गर्ने छु भन्ने समेत प्रतिउत्तर रहेछ ।
४. वादीबाट पेश भएको यो देखाइएको लिखत मेरो पक्ष प्रतिवादीले गरिदिएको होइन । लिखतमा लागेको ल्याप्चे सही प्रतिवादीले गरेको होइन, कसको सहिछाप हो थाहा छैन, कागज कीर्ते हो भन्ने समेत प्रतिवादीको वारेस जीत बहादुरले गरेको बयान ।
५. प्रतिवादीको वारेश जितबहादुरले गरेको बयान सुनें । निजको बयान झुठ्ठा हो । लिखतको थैली खाने पचाउने उद्देश्यले झुठ्ठा बयान गरेका हुन् लिखत सद्दे साँचो हो भन्ने समेत वादीको वारेश गंगा बहादुर बस्नेतले गरेको बयान ।
६. वादीबाट प्रतिवादीले रुपैयाँ बुझी लिई लिखत गरी दिएका हुन् र लेनदेन व्यवहार मेरा सामुन्नेमा भएको हो भन्ने समेत व्यहोराको वादीका साक्षीहरूको बकपत्र रहेछ ।
७. प्रतिवादीले वादीलाई तमसूक लिखत गरी दिएको होइन । लिखत कीर्ते हो भन्ने समेत प्रतिवादीका साक्षीहरूको बकपत्र रहेछ ।
८. लिखतमा लागेको सहिछाप भिडाउन विशेषज्ञ कहाँ पठाउँदा ल्याप्चे नभिडेको भन्ने उल्लेख भए पनि हस्ताक्षर सही भने भिडी मिलेको देखिन्छ । ल्याप्चे सम्बन्धमा प्र.को दायाँ हातको औंला नभएको र सो सम्बन्धी कुरा प्रतिवादीले प्रतिउत्तरपत्रमा केही उल्लेख नगर्नुको साथै लिखतका लेखक साक्षी बलन सिंह जसलाई वादीले प्र.का काका भनेका छन् समेत उपर कीर्तेमा दावी नगरेकोले लिखत नभएको भन्न सकिने अवस्था भएन । तसर्थ लिखत कीर्ते भन्ने प्रतिवादीको कीर्तेतर्फको दावी पुग्न सक्दैन । वादीले दावा बमोजिमको थैली प्रतिवादीबाट भरी लिन पाउने ठहर्छ भन्ने बाँके जिल्ला अदालतको मिति ०४२।१।११ को फैसला ।
९. बाँके जिल्ला अदालतबाट भएको फैसला कानुन र न्यायसंगत नभएकाले चित्त बुझेन । उक्त फैसला बदर गरिपाउँ भन्ने समेतको कुँवरअमर सिंह ठाकुरको मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
१०. प्रस्तुत कागजलाई लिखत तमसूक भन्न नमिली शर्तनामाकै कागज भएको देखिन्छ । यस्तो अवस्थामा लेनदेनको ४० नं. अनुसार २ वर्षको हदम्याद भित्रै नालेश गर्नु पर्नेमा ०३४।२।२० को लिखत सम्बन्धमा ०३९।४।२५ मा हदम्याद नघाई फिराद परेको देखिँदा इन्साफ नमिली फिराद दावी नै खारेज हुने ठहर्छ भन्ने समेत म.प.क्षे.अ.को फैसला रहेछ ।
११. म.प.क्षे.अ.को फैसला उपर चित्त बुझेन, पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस अदालतमा पर्न आएको निवेदन ।
१२. विवादको ०३४।२।२० को लिखत कागज हेर्दा स्वरुपबाट सो कागज शर्तनामा नभई राजीनामा देखिन्छ । यस्तो स्थितिमा उक्त कागजलाई शर्तनामा ठहर्याई हदम्याद नाघी परेको नालेश खारेज हुन्छ भनी गरेको म.प.क्षे.अ.का फैसलामा लेनदेन व्यवहारको २ नं. र रजिष्ट्रेशनको ६ नं. समेतको त्रुटी हुँदा अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको ०४३।३।२५।४ को आदेश रहेछ ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली तथा विपक्षी प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिंहले गर्नु भएको बहस सुनि निर्णयतर्फ विचार गर्दा म.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
१४. यसमा फिरादपत्रमा मिति ०३४।२।२० मा प्रतिवादीले कि.नं. २३ को २०–५–० विगहा जग्गाको जम्मा मूल्य ७२,५००।– कायम गरी सो मध्ये ३२,५००।– थैली तत्कालै बुझिलिई चलन छोडिदिने बाँकी ४०,०००।– ०३४ सालको मंसीर मसान्तसम्ममा बुझी लिई राजीनामा रजिष्ट्रेशन पारीत गरिदिने शर्त बमोजिम मलाई चलन पनि छोडि नदिएको र बाँकी थैली बुझी रजिष्ट्रेशन पास समेत गरी नदिएको हुँदा उक्त शर्त लिखत बमोजिमको भुक्तान लगिसकेको थैली रु. ३२,५००।– दिलाई भराई पाउँ भन्ने फिराद दावी भएकोमा उक्त लिखत तमसूक नभई शर्तनामा भएकोले लेनदेन व्यवहारको ४० नं. अनुसार हदम्याद नाघी फिराद परेको हुँदा वादी दावी खारेज हुने ठहर्याई म.प.क्षे.अ.बाट फैसला भएकोमा उक्त विवादित लिखत शर्तनामा नभई राजीनामा भएकोले हदम्याद भित्रकै देखिन्छ भन्ने आधारमा यस अदालतबाट अनुमति दिइएको देखिँदा उक्त लिखतको सम्बन्धमा विचार गर्नु पर्ने हुन आयो । प्रतिवादीले तत्काल रु. ३२,५००।– रुपैयाँ लिई विवादित कि.नं. २३ को ज.वि. २०–५–० को मोल रु. ७२,५००।–कायम गरी सो सबै जग्गा लिखत हुँदाकै मितिदेखि चलन छोडी दिने र बुझी लिएको रुपैयाँ बाहेक बाँकी रुपैयाँ ०३४ साल मार्ग मसान्तभित्र भुक्तानी गरी दिने र कार्तिक महिनामा सो जग्गा मैले बाँकी बचेको रुपैयाँ बुझी राजीनामा रजिष्ट्रेशन पास गरिदिने मेरो मञ्जूर भएकोले यो शर्तनामा कागज लेखिदिएको छु । यो शर्त उल्लंघन भएमा यस कागजद्वारा शर्त कायम गराई लिन मेरो मन्जूरी छ भन्ने लिखतमा उल्लेख भएको पाइन्छ । यसरी जग्गाको तोकिएको सबै मूल्य तत्कालै बुझाई राजीनामा गरी लिने दिने गरेको सोही व्यवहोरा लिखतमा खोलिएको भए त्यस्तो लिखतलाई राजीनामा लिखत मान्नु पर्ने हुन्छ । सो खोलिएको पाइँदैन । जग्गाको मूल्य ७२,५००।—कायम गरी रु. ३२,५००।– तत्काल लिनु दिनु गरी बाँकी रु. ४०,०००।– मंसीर मसान्तमा बुझाई कार्तिक मसान्तमा राजीनामा रजिष्ट्रेशन पारीत गरिदिने गरी शर्त उल्लेख गरी लिखत भएको र लिखत भई शर्तनामाको कागज भन्ने उल्लेख भएबाट उक्त लिखतलाई नभई ऋण लिखत भन्न मिल्ने देखिएन । वादी स्वयंले फिरादपत्रको प्रकरण ३ मा शर्तनामा भनी दावी लिएको पाइन्छ । यसरी शर्तनामा बमोजिम गरिदिएको नभए प्रतिवादीले लिखतमा “यो शर्त उपलब्ध नभएमा यसै कागजद्वारा शर्त कायम गराई लिएमा मेरो मन्जूर छ” भनी कबूल गरी दिए बमोजिम गराई लिनु पर्नेमा वादीले सो बमोजिम गर्न सकेको छैन । अर्कोतर्फ लिखत बमोजिम नगरी दिएमा बुझी लिएको रुपैयाँ फिर्ता गर्ने अथवा सो रुपैयाँ भरी भराउ गरी लिन पाउने अथवा सो रुपैयाँ कपाली सरह भराई लिन पाउने शर्त पनि यसमा परेको छैन । लेनदेनको रुपैयाँ लिनु दिनु गरी तमुसूक गरे भएको नभई जग्गा खरीद बिक्री गर्ने उद्देश्यले बैनाको रुपमा उक्त रुपैयाँ लेनदेन भएको अवस्थामा लेनदेन व्यवहारको २ नं.को हदम्याद लाग्न नसक्ने भनी २०३२ सालको दे.पु.नं. ७७ झल्लुमाँझी थारु विरुद्ध फुसाराम ठाकुर समेत भएको लेनदेन मुद्दामा (ने.का.प. ०३५, पृ. १५०, नि.नं. ११७२) यस अदालत संयुक्त इजलासबाट ०३४।५।२४।६ मा फैसला भई सिद्धान्त समेत प्रतिपादन भइसकेको देखिएबाट यस्तो लिखतलाई ऋण लिखत नभनी शर्त लिखत नै भन्नु पर्ने हुन आयो ।
१५. अतः माथि उल्लेख भए बमोजिम शर्तनामाको कागज भएकोमा शर्तनामा बमोजिम गराई पाउँ भन्ने दावी नभई शर्तनामा उल्लंघन भएको हुँदा बुझेको रुपैयाँ फिर्ता पाउँ भन्ने दावी लिएको मिलेको नदेखिँदा वादी दावी पुग्न सक्दैन । मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् २०४४ साल माघ २० गते रोज ४ शुभम् ।