शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३०२ - चोरी

भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२

निर्णय नं. ३३०२   ने.का.प. २०४४    अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

सम्वत् २०४२ सालको फौ.पु.नं. ३७४

मुद्दा : चोरी ।

 

निवेदक/वादी: प्रहरी प्रतिवेदनले श्री ५ को सरकार ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी:का.जि.का.न.पं.वडा नं.९ बत्तिसपुतल बस्ने महेन्द्र के.सी. ।

फैसला भएको मिति: २०४४।११।३।२ मा

    मुलुकी ऐन चोरीको महलको १ नं. मा बेइमानीका नियतले लग्यो भने भन्ने लेखिएको सामानको बोरालाई ५० गजसम्म घिसारी लगिसकेको अवस्था र प्रकृतिमा चोरीको १० नं. बमोजिम चोरीको उद्योगसम्म गरेको भन्न नमिल्ने यस्तो अपराधिक स्थितिलाई अपराधिक कृया गरिराखेको मान्नु पर्नेमा मनसायको अभाव देखिई निज प्रतिवादीलाई सफाई दिने गरेको इन्साफ समेत नमिलेको हुँदा उल्टी हुने ।

(प्रकरण नं. १७)

    झ्यालको डण्डी काटेर झ्यालबाट चोर पसी चोरी गरेको रहेछ भनी मौकामा प्रहरीमा गरेको कागजमा खुलाई लेखिएको देखिएबाट अपराध प्रहरी प्रतिवेदन दावी अनुसार चोरीको महलको १ नं.को अपराध गरेको हुँदा सोही ऐनको १२ नं. र १४ नं. को देहाय (ख) अन्तर्गत पर्ने देखिएकोले सोही नं. बमोजिम सजायँ समेत हुने ठहर्छ, चोरीको सामान तत्काल बरामद भई सम्बन्धित माल धनीले फिर्ता समेत लिइसकेको देखिनाले बिगो भराई दिइरहन नपर्ने ।

(प्रकरण नं. १७)

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

प्रत्यर्थ,प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्र केशरी बास्तोला: मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्राप्त गरी दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ ।

२.  शाही नेपाली सैनिक विमान सेवा त्रिभुवन विमान स्थलमा चोरी गरी लग्न लागेको सामानहरू कार्यालयको भण्डार देखि ५० गज फरकमा चोरले भण्डारबाट लगेको देखिएको, चोर सामान छाडी भागेकोले, चोर महेन्द्र के.सी. र सामान प्रतिवेदन साथ दाखेल गरेको छौं भन्ने समेत व्यहोराको मिति २०४०।१।६ को प्रतिवेदन ।

३.  शुशिल के.सी.को साथमा घुम्दै जाँदा भण्डारको पछाडि पट्टि एक बोरा सामान राखेको देखि के रहेछ भनी लात्ताले हान्दा बजेकोले म एक्लैले तानी बारतिर पुर्‍याएको सेनाको मानिसले चोर भनी ढुङ्गा हानी आएकोले मैले सामान छाडी भागेको भन्ने समेत व्यहोराको महेन्द्र के.सी.ले प्रहरी समक्ष गरेको कागज ।

४.  अभियुक्तको बयान कागज अनुसार निजले नै चोरी गरेको थाहा भयो भन्ने समेत व्यहोराको मिति २०४०।१।२० को सरजमीन मुचुल्का ।

५.  प्रतिवेदन साथ दाखेल भएको मालसामान हेरें सामान सरकारी हो चिने सनाखत गरें भन्ने समेत व्यहोराको रञ्जित सिंह थापाको मिति २०४०।१।२२ को सनाखत कागज ।

६.  महेन्द्र के.सी. उपर चोरीको महलको १, , १२, १४ र १ नं. अनुसार कारवाही सजायँ भई दाखेल भएको सामान माल धनीलाई फिर्ता हुन र शुशिल के.सी.का हकमा केही नगरिने भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

७.  प्रहरी समक्ष भएको बयान राजिखुशीबाट भएको हो । २०४०।१।९ गते बेलुकी ५ बजेतिर चोरी गर्ने उद्देश्यले सामानको बोरा तानी विमानस्थल नजिकको पुलसम्म ल्याएको थिएँ, भन्ने समेत व्यहोराको महेन्द्र के.सी.ले अदालत समक्ष दिएको बयान ।

८.  २०४०।१।९ मा म र महेन्द्र त्रिभुवन विमानस्थल नगएको चोरी गरे भनेको सामान नदेखेको भन्ने समेत व्यहोराको पेटबोलीबाट बुझिएको सूर्यलाल के.सी.बाट भएको बयान ।

९.  सामान प्रतिवादीले चोरी गरी लिन सकेको वा खाई सकेको भन्ने तथ्य देखिन नआई चोरी गरी लग्न लागेको अवस्थामा सामान तत्काल फेला परेको देखिँदा चोरी गर्ने उद्योग गरेको ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४०।४।९।२ मा काठमाडौं जिल्ला अदालतबाट भएको फैसला ।

१०. चोरीको उद्योग गरेको ठहर गरी काठमाडौं जिल्ला अदालतबाट भएको इन्साफ चित्त बुझेन सो फैसला बदर गरी पूर्ण सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.महेन्द्र के.सी.को पुनरावेदन।

११.  काठमाडौं जिल्ला अदालतले उद्योग गरेको ठहर्‍याई गरेको फैसला बदर गरी प्रतिवेदन दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारतर्फबाट पर्न गएको पुनरावेदन ।

१२. प्रस्तुत मुद्दामा चोरी गर्ने क्रिया भएको भन्ने तर्कसंगत देखिन नआएको, प्रहरी र अदालत समेतमा भएको साविती स्वइच्छा र घटना प्रकृतिसंग पूर्ण रुपले मेल नखाएको त्यस्तो सावितीको आधारमा मात्र गडाउ गर्न मिल्ने देखिन नआएको र चोरी गर्ने मनसायको अभावमा तत्काल फेला परेको मालसामान भएको बोरा तान्दै बाहिर ल्याएकोमा प्रतिवेदन दावी बमोजिम अभियुक्तले चोरी गरेको तथा चोरीको उद्योग गरेको समेत भन्न मिल्ने नदेखिएबाट अभियुक्त महेन्द्र के.सी.ले पूर्णत सफाई पाउने ठहर्छ, काठमाडौं जिल्ला अदालतले उद्योग गरेको ठहर इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत काठमाडौंको फैसला ।

१३. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रमाण ऐन, ०३१ को दफा २५ तथा मुलुकी ऐन चोरीको महलको १२ नं. तथा १४ नं.समेतको दृष्टीमा प्रतिकूल भएको साथै प्रत्यक्ष गम्भीर कानुनी त्रुटिपूर्ण फैसला उपर पुरावेदनको अनुमति  पाउन श्री ५ को सरकारतर्फबाट पर्न आएको निवेदनमा साविती भएकोलाई पूर्ण सफाई दिने गरी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा प्रमाणको देखा देखी विपरीत प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटिपूर्ण गरी निर्णय गरेको देखिन आएबाट सार्वजनिक महत्वको विषय समेत भएकोले न्या.प्र.सु.ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०४२।४।१६।४ को आदेश ।

१४. यस अदालतमा हाजिर हुन जारी भएका विपक्षीका नाउँको सूचना घर द्वारै पत्ता नलागेको भनी व्यहोरा जनाई तामेल भै आएको पाइयो ।

१५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस समेत सुनियो ।

१६. यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मिले नमिलेको सम्बन्धमा नै निर्णय दिनु पर्ने देखिन आयो ।

१७. प्रस्तुत मुद्दामा अभियुक्तले प्रहरी र अदालत समक्ष दिएको बयान कागजको स.ज. ३ मा मिति २०४०।१।९ को बेलुकी ५ बजेको समयमा सैनिक विमानस्थलको भण्डार निर पुगी भण्डारको पछाडि पट्टी एक सामानको बोरा अं. ५० गजसम्म तानी खोली हेर्दा हवाई जहाजको सामानदेखि चोरी गर्ने उद्देश्यले ल्याउँदैको अवस्थामा सैनिकले देखी ढुङ्गाले हान्दै लगार्दै ल्याएको हुँदा सामान छाडी भागी गएको हुँ, भनी लेखाएको देखिन्छ । यीनै अभियुक्तले चोरी गरी लग्न लागेको सामान माल धनीले प्रहरी र अदालतमा समेत सनाखत गरिदिएको पाइन्छ, मुलुकी ऐन चोरीको महलको १ नं. मा बेइमानीका नियतले लग्यो भने भन्ने लेखिएको प्रतिवादीले मालसामानको बोरालाई ५० गजसम्म घिसारी लगिसकेको अवस्था र प्रकृतिमा चोरीको १० नं. बमोजिम चोरीको उद्योगसम्म गरेको भन्न नमिल्ने यस्तो अपराधिक स्थितिलाई अपराधिक कृया गरिसकेको मान्नु पर्नेमा मनसायको अभाव देखाई निज प्रतिवादीलाई सफाई दिने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ समेत नमिलेको हुँदा उल्टी हुन्छ । अब सजायँको हकमा स्टोर अधिकृत रंजित थापाले भण्डारको झ्यालको डण्डी काटेर झ्यालबाट चोर पसी चोरी गरेको रहेछ भनी मौकामा प्रहरीमा गरेको कागजमा खुलाई लेखिदिएको देखिएबाट अपराध प्रहरी प्रतिवेदन दावी अनुसार चोरीको महलको १ नं.को अपराध गरेको हुँदा सोही ऐनको १२ नं. र १४ नं. को देहाय (ख) अन्तर्गत पर्ने देखिएकोले सोही नं. बमोजिम सजायँ समेत हुने ठहर्छ । चोरीको सामान तत्काल बरामद भई सम्बन्धित माल धनीले फिर्ता समेत लिसकेको देखिनाले बिगो भराई दिइरहन परेन । अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

प्रतिवादी महेन्द्र के.सी.के इन्साफ खण्डमा लेखिए बमोजिम नकवजनि चोरी गरेको ठहरेकोले चोरीको १२ नं. बमोजिम सजायँ हुनेमा नकवजनी हुँदा ऐ.१४(१) बमोजिम एक महिना १५ दिन कैद हुन्छ ०४०।१।१८ देखि हिरासतमा रहेको देखिएकोले कैद भुक्तान भइसकेको हुँदा केही गर्नु नपर्ने बिगो रु.२,८७,२४७।डेढी रु.४,३०,८७०।५० चारलाख तिस हजार आठसय सत्तरी रुपैयाँ पैसा पचास जरिवाना हुन्छ बेरुजु हुँदा लगत कसी असूल गर्न काठमाडौं जिल्ला अदालत तहसील फाँटमा लगत दिनु....१

मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टीमा मा.न्या. श्री अरविन्दनाथ आचार्य र मा.न्या. श्री केशवप्रसाद मुडवरीको रेकर्ड राख्नु.....२

मिसिल नियम बमोजिम गर्नु....३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बर प्रसाद सिंह

 

इतिसम्वत् २०४४ साल फाल्गुण ३ गते रोज २ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु