निर्णय नं. ३३०३ - उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

निर्णय नं. ३३०३ ने.का.प. २०४४ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको रिट नम्बर १८४३
विषय : उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
निवेदक : जि.रौतहट चन्द्रनिगाहपुर गा.पं. वार्ड नं. ६ बस्ने मान बहादुर बस्नेत ।
विरुद्ध
प्रत्यर्थी : नेपाल बैंक लिमिटेड, सघन बैकिंग कार्यालय, चन्द्रनिगाहपुर ।
नेपाल बैकं लिमिटेड,प्रधान कार्यालय,काठमाडौं ।
जि.रौतहट चन्द्रनिगाहपुर गा.पं. वार्ड नं.६ बस्ने जामुन साह ।
आदेश भएको मिति: २०४४।९।१२।१ मा
निवेदकले जामुन साहलाई कारोबार गर्न दिएको अख्तियारनामामा अख्तियार दिएको व्यक्तिले गरेको कारोबारबाट बैंकलाई कुनै हानी नोक्सानी हुन गएमा म स्वयं बेहोर्ने छु भन्ने समेत बोली परेको देखिँदा जामुन साहले गरेको कारोबारलाई निवेदकले नै गरेको कारोबार सम्झनु पर्ने र निजले सो कारोबार गर्दा उत्पन्न दायित्व अख्यिार दिने व्यक्तिले नै व्यहोर्नु पर्ने हुन आउँछ, कारोबारको लिमिट भन्ने कतैबाट नदेखिए पछि अख्तियार प्राप्त व्यक्तिले गरेको कारोबारबाट उत्पन्न दायित्वबाट पन्छिन नमिल्ने ।
(प्रकरण नं. १०)
धितोबाट बैंकको साँवा ब्याजको पूरा रकम असूल उपर हुन नसकेमा कर्जा लिने व्यक्ति संस्था वा उद्योगको अरु जायज्यथाबाट बैंकले लिलाम बिक्री गरी असूल उपर गर्ने सक्नेछ भन्ने व्यवस्थाबाट बैंकको असूल उपर गर्नु पर्ने साँवा ब्याज बैंकलाई लेखि दिएको सुरक्षण धितोबाट असूल उपर हुन नसकेमा ऋणीका अन्य श्रीसम्पत्तिबाट असूल गर्न सकिने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे
उल्लेखित मुद्दाःX
आदेश
न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ ।
२. मैले पाएको रु. २०,०००।— सम्मको लिमिट बराबरको कारोबार गर्न जामुन साहलाई अख्तियार दिएको थिएँ । जामुन साह र बैंकका कर्मचारी मिली मैले प्रदान गरेको अख्तियारी र मैले प्राप्त गरेको लिमिट भन्दा बढी गलतबस्तु धितो लिई कर्जा लिई कर्जा लिनु दिनु गरेमा म निवेदकले अख्तियार दिएकै कारणले मात्र गैरकानुनी रुपमा दिएको कर्जाको भार म निवेदकमा आउन नसक्नेमा कागजमा खाद्यान्न उल्लेख गरी बैंकका कर्मचारी र निज जामनु साह मिली केही दुषित बस्तु राखि लिएको कर्जा र मान बहादुर थापाको नोक्सानी कर्जा समेत जोडी मेरो नाममा ५०,४१४।– गरी धितो लिलामबाट उठेको रु. १९,१८२।७७ कट्टा गरी बाँकी देखिएको रु. ३१,२३१।८८ विपक्षी नं. १ बैंकको मेरो नाममा बचत हि.नं. १७।१ मा जम्मा रहेको रुपैयाँबाट कट्टा गरेको व्यहोरा ०४३।५।२९ मा विपक्षी बैंकका कर्मचारीले मेरो पासबूकमा विवरण भर्दा जानकारी हुन आयो ।
३. मैले बैंकसँग कारोबार गर्न रु. २०,०००।—सम्मको मात्र लिमिट पाएको हुँदा सो भन्दा बढी लिमिटको फाराम भरेको रहेछ भन्ने पनि म त्यसको जिम्मेवार हुन्न । बाणिज्य बैक ऐन, २०३१ को दफा ४७ को सुरक्षण लाई लिलाम बिक्री गर्न पाउने मात्र अख्तियार दिएको हुँदा सुरक्षणमा नदिएको बचत खाताबाट अर्कोको कर्जा समेत कट्टा गर्ने गरेको कारवाही बदर गरी मेरो खाताको रुपैयाँ मलाई दिनु भन्ने आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर रहेछ ।
४. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो, लिखित जवाफ पठाउनु भन्ने समेत व्यहोराको यस अदालत सिंगल बेञ्जको मिति २०४३।७।१३।५ को आदेश ।
५. विपक्षीले दिएको अख्तियारमा यति रकमसम्मको मात्र कारोबार गर्ने भन्ने उल्लेख छैन । निजकै व्यक्तिले निजकै अख्तियारीबाट गरेको सबै कुरा निजलाई थाहा जानकारी हुने र भएकै मानिन्छ । कारोबार गर्नेसम्मको अख्तियारी हो । बैंकको कर्जावाला विपक्षी नै हुन् । निजको मन्जूरी वा स्वीकृति नलिई जामुन साहले कुनै काम निजको नाउँबाट गरेको रहेछन अथवा भने भन्दा बढी गरेका रहेछन भने त्यसको निपटारा निजहरूले आफैं गर्नु पर्ने हो । बैंकको कर्जा असूल गर्नु पर्नेमा ऋणीको जुनसुकै सम्पत्तिबाट असूल गर्न सकिने नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको ने.बैं.लि. प्रधान कार्यालयको लिखित जवाफ ।
६. बाणिज्य बैंक ऐन अनुसार बैंकको असूल गर्नु पर्ने साँवा ब्याज बैंकलाई लेखिएको सुरक्षण धितोबाट असूल गर्दा पूरा असूल हुन नसकेमा ऋणीका अन्य सम्पत्तिबाट असूल गर्न सकिने प्रावधान हुँदा निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको ने.बैं.लि. चन्द्रनिगाहपुर उपशाखाको लिखित जवाफ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत र विपक्षी तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरेले गर्नु भएको बहस समेत सुनियो।
८. प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन भन्ने नै निर्णय दिनुपर्ने हुन आयो ।
९. यसमा मैले पाएको रु. बीस हजारसम्मको लिमिटको कारोबार गर्न पाउने गरी जामुन साहलाई अख्तियारी दिएकोमा लगत बस्तु धितो राखी लिमिट भन्दा बढी कारोबार गरी सो को रकम मेरो बचत खाताबाट काटिएको गैरकानुनी हुँदा बदर गरिपाउँ भन्ने निवेदकको मुख्य जिकिर भएकोमा बाणिज्य बैंक ऐन अनुसार बैंकको असूल गर्नु पर्ने सावाँ ब्याज बैंकलाई लेखि दिएको सुरक्षण धितोबाट असूल गर्दा पुरा असूल हुन नसकेमा ऋणीका अन्य सम्पत्तिबाट असूल गर्न सकिने प्रावधान हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने प्रत्यर्थी कार्यालयहरूको लिखित जवाफ देखिन्छ ।
१०. निवेदकले ने.बैं.लि. चन्द्रनिगाहपुर उपशाखासँग कारोबार गर्न स्वीकृति पाएको र जामुन साहलाई सो कारोबार गर्न अख्तियारी दिएको भन्ने तथ्य रिट निवेदकको लेख, प्रत्यर्थी कार्यालयको लिखित जवाफ र पेश भएको प्रतिलिपिबाट पनि निर्विवाद रुपले स्थापित भइराखेको देखिन्छ भने निवेदकले कारोबार गर्न रु. २०,०००।– को लिमिट पाएको भन्ने कुरा निवेदन लेख बाहेक कहीँ कतैबाट पुष्टि हुनसकेको देखिएन । निवेदकले जामुन साहलाई कारोबार गर्न दिएको अख्तियारनामामा अख्तियार दिएको व्यक्तिले गरेको कारोबारबाट बैंकलाई कुनै हानी नोक्सानी हुन गएमा म स्वयं व्यहोर्ने छु भन्ने समेत बोली परेको देखिँदा, जामुन साहले गरेको कारोबारलाई निवेदकले नै गरेको कारोबार सम्झनु पर्ने र निजले सो कारोबार गर्दा उत्पन्न दायित्व अख्तियार दिने व्यक्तिले नै व्यहोर्नु पर्ने हुन आउँछ । कारोबारको लिमिट भन्ने कतैबाट नदेखिएपछि अख्तियार प्राप्त व्यक्तिले गरेको कारोबारबाट उत्पन्न दायित्वबाट पन्छिन मिल्ने देखिँदैन ।
११. सम्पत्ति आफैं जफत गर्न विपक्षीलाई अधिकार छैन भन्ने निवेदकको अर्को जिकिर सम्बन्धमा हेर्दा बाणिज्य बैंक ऐन, २०३१ को दफा ४७क. को उपदफा ३ मा उपदफा (१) वा (२) बमोजिम बैंकले लिलाम बिक्री गरी असूल उपर गर्दा त्यस्तो धितोबाट बैंकको साँवा ब्याजको पुरा रकम असूल उपर हुन नसकेमा कर्जा लिने व्यक्ति संस्था वा उद्योगको अरु जायज्यथाबाट बैंकले लिलाम बिक्री गरी असूल उपर गर्न सक्नेछ भन्ने व्यवस्थाबाट बैंकको असूल उपर गर्नुपर्ने साँवा ब्याज बैंकलाई लेखिदिएको सुरक्षण धितोबाट असूल उपर हुन नसकेमा ऋणीका अन्य श्रीसम्पत्तिबाट असूल गर्न सकिने नै देखिएको हुँदा सुरक्षणमा नदिएको मेरो बचत खाताबाट रकम कट्टा गर्ने गरेको गैरकानुनी छ भन्ने निवेदन जिकिर समेत मनासिब देखिएन ।
१२. लिखित जवाफ साथ पेश भएको कर्जा नं. ४६।२२२ को तमसुकको प्रतिलिपी हेर्दा एक ठाउँमा मान बहादुर थापा लेखिए पनि अन्य ठाउँमा मान बहादुर बस्नेत र ऋणीको हस्ताक्षर सही भनिएको ठाउँमा जामुन साह लेखि नि.मान बहादुर वस्नेत भन्ने लेखिएको देखिँदा कर्जा नं. ४६।२२२ अन्य व्यक्तिको नामको कर्जा समेत जडिएको भन्ने निवेदन जिकिरसँग सहमत हुन नसकिंदा निवेदन माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुन्छ। फायल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४४ साल पौष १२ गते रोज १ शुभम् ।