शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३०५ - उत्प्रेषण वा उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२

निर्णय नं. ३३०५  ने.का.प. २०४४   अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको रिट नम्बर १८४८

विषय : उत्प्रेषण वा उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 

निवेदक  : जि.सर्लाही मोनहरपुर गा.पं. वार्ड नं. १ हाल मोहनपुर गा.पं. वार्ड नं.१ बस्ने रामदिप महतो सुडी ।

विरुद्ध

विपक्षी  : भू.सु.का.सर्लाहीका भूमि सुधार अधिकारी, तेज नारायण देव ।

जि. सर्लाही गा.पं. मंलगवा वार्ड नं. ८ बस्ने भगवान साहू रौनियार ।

आदेश भएको मिति: २०४४।९।२२।४ मा

   अधिकतम हदभन्दा बढी जग्गाको मोहियानी हक प्राप्त गर्दा मोहीलाई कुन जग्गाको मोहियानी हक कायम राख्ने हो भन्ने रोजाउनु पर्ने र हदबन्दी भन्दा बढी नहुने गरी निजले रोजेको जग्गाको मोहियानी हक प्राप्त गर्न प्रतिबन्ध लगाएको देखिने ।

(प्रकरण नं. ९)

   नियमले नै मोहीलाई रोज्न पाउने अधिकार दिएको अवस्थामा जाहेरी दिएको कारणले जग्गा नै रोजेको हुँदा जाहेरवालाको जग्गा प्राप्त गर्ने निर्णय गरेको भन्ने भूमि सुधार कार्यालयको निर्णयमा भूमिसम्बन्धी नियमहरू, २०२० को नियम १४ को प्रतिबन्धात्मक वाक्यांश (क) को त्रुटी देखिने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

प्रत्यर्थी तर्फबाट: विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

उल्लेखित मुद्दाःX

आदेश

न्या.महेशराम भक्त माथेमाः नेपालको  संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।

२.  विपक्षी भगवान साहू रौनियारले म निवेदकले हदबन्दी भन्दा बढी मोही कमाएकोले निजको नाउँमा दर्ता रहेको जि. सर्लाही चन्द्र नगर पञ्चायतको वार्ड नं. १(ख) को कि.नं. १४१ को जग्गाको मोहियानी म निवेदकबाट प्राप्त गरिपाउँ भनी उजुर दिएछन् । सो उजूरीमा भूमि सुधार कार्यालयबाट मलाई म्याद आएपछि म निवेदकले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ८(२) र सो सँग सम्बन्धित नियमहरु, २०२१ को नियम १४ को  खण्ड (क) को प्रतिबन्धात्मक वाक्यांश र मेरो नाममा जग्गा दर्ता रहेपनि ४ दाजुभाइको अंश हक लाग्ने हुँदा मेरो भागमा पर्ने अंश हक र मोही हक जग्गा समेत नापीमा ४ विगहा पनि नपुगेको र मेरो नामको जग्गाधनी हैसियतको जग्गा मेरै कायम माने पनि मोहीको हैसियतले जोतेको जग्गा बढी हुन आएमा जग्गाधनी डिल्लीराम उपाध्याय, सूर्यकापर र जुलुमसिंह ३ जना जग्गाधनीको जग्गाको मोहियानी छाड्न मन्जूर गरेको र विपक्षी भगवान साहको कि.नं. १४१ को मेरो मोहियानी जग्गा आफ्नो हकभित्र राख्न पाउने गरी मैले रोजेकोमा विपक्षी भूमि सुधार अधिकारीले “....भूमिसम्बन्धी नियम, २०२१ को नियम १४ को प्रतिबन्धात्मक वाक्यांश अनुसार रोज्ने अधिकार भएकोमा यतिका दिनसम्म चुप लागी बसी अनुचित फाइदा उठाई कानुन विपरीत काम गरी आएको जाहेरवालाको नाम बाहेक अरु सबैको नाप लेखिएदिएबाट रिसले जाहेरवालाको नाम नलेख्नु स्वभविकै हुँदा जाहेरवालाको उजूरीबाट कारवाही चली बढी प्राप्त हुन आएको जाहेरवालाकै जग्गा प्राप्त गर्ने प्राथमिकता दिनु पर्ने भनी उल्लिखित कि.नं. १४१ को जग्गा प्राप्त गर्ने भन्ने मिति २०४३।४।१९ मा निर्णय गर्नु भएको छ । भुमिसम्बन्धी नियमहरू २०२१ को नियम ६ बमोजिम प्रकाशित भएको फाँटवारीमा कारवाही गर्नु पर्ने सो पनि नभएबाट हदबन्दीमा नापीको लगत बमोजिम के कति जग्गा मोहियानीमा बढी हुन्छ, त्यसको सबूद प्रमाण नुबझेको र म मोहीले रोज्न पाउने कानुनी प्रावधानलाई पन्छाई गरेको निर्णय कानुनी त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने समेत व्यहोराको निवेदन जिकिर रहेछ ।

३.  यसमा विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत सिंगल बेञ्जको मिति २०४३।७।२४ को आदेश ।

४.  विपक्षीले मोहिमा कमाउन पाउने बाँकी दुई कठ्ठा जग्गा भन्दा बढी नै विपक्षीले रोजे अनुसार कमाई रहनु भएकोले भूमिसम्बन्धी नियम १४ र १६ को विपरीत प्राप्त गरेको भन्न नमिल्ने हुँदा निवेदन खारेज गरिपाउँ भन्ने भगवान साह रौनियारको लिखित जवाफ ।

५.  जग्गाधनीको जाहेरीबाट मात्र यो कारवाही भई हदभन्दा बढी प्राप्त हुन आएको र निवेदकको पनि हचुवा किसिमको जवाफ भएबाट जाहेरवालाकै जग्गा प्राप्त गर्ने प्राथमिकता दिएको कुनै दुर्भावना लिएर मात्र नभई यस्तो लुकाई छिपाई कानुन विरुद्ध बढी जग्गा उपभोग गरी आउने व्यक्तिको विरुद्धमा कारवाही गर्नेलाई प्रोत्साहन हुने भएबाट नै जाहेरवालाको जग्गा प्राप्त गर्ने निर्णय भएको हुँदा निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमि सुधार कार्यालय सर्लाहीको लिखित जवाफ ।

६.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री अनुपराज शर्माले भूमिसम्बन्धी नियमहरूको दफा १४ बमोजिम मोहीले रोज्न पाउने अधिकारबाट वञ्चित गरेको प्रत्यर्थी कार्यालयको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने र प्रत्यर्थी कार्यालयतर्फबाट उपस्थित हुनुभएका विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र भगवान साहतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले मोहीले हदसम्म जग्गा मोहियानीमा कमाउन पाएकै हुँदा रोज्ने कुराले तात्विक असर गर्दैन भन्ने समेत बहस गर्नु भयो । 

७.  प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।

८.  यसमा मोहीको हदबन्दी भन्दा बढी जग्गा प्राप्त गर्नु पर्दा भूमिसम्बन्धी नियमहरू, २०२० को नियम १४ बमोजिम मैले रोज्न पाउनेमा मैले रोजेको विपरीत जग्गा प्राप्त गर्ने गरेको निर्णय त्रुटिपूर्ण छ भन्ने निवेदन जिकिर भएकोमा निजले हदसम्मको जग्गा मोहियानीमा कमाई नै राखेको र जाहेरी दिएको हुँदा नै भगवान साहको जग्गा राख्ने भनी प्रतिवाद गरेको हुँदा कानुन विरुद्ध बढी जग्गा उपभोग गरी आउने व्यक्तिको विरुद्धमा कारवाही गर्नेलाई प्रोत्साहन हुने भएबाट नै जाहेरवालाको जग्गा प्राप्त गर्ने निर्णय भएको भन्ने लिखित जवाफ देखिन्छ ।

९.  भूमिसम्बन्धी नियमहरू, २०२० को नियम १४ मा.....ऐनको दफा ८ मा तोकिएको अधिकतम हदभन्दा बढी भएको जग्गाको मोहियानी हक सम्बन्धी व्यक्तिबाट प्राप्त गरी यसपछिका नियमहरु अनुसार बिक्री वा वितरण गर्ने छ । त्यसरी प्राप्त गरिएपछि सम्बन्धित व्यक्तिको सो जग्गामा मोहियानी हक तथा अधिकार स्वतः समाप्त भएको मानिनेछ तर (क) ऐनको दफा ८ मा तोकिएको अधिकतम हदभित्र पारी मोहियानी हक कायम राख्न निजले रोजेको जग्गाबाट निजलाई झिकिने छैन भन्ने व्यवस्था भएबाट अधिकतम हद भन्दा बढी जग्गाको मोहियानी हक प्राप्त गर्दा मोहीलाई कुन जग्गाको मोहियानी कायम राख्ने हो भन्ने रोजाउनु पर्ने र हदबन्दी भन्दा बढी नहुने गरी निजले रोजेको जग्गाको मोहियानी हक प्राप्त गर्न प्रतिबन्ध लगाएको देखिन्छ । प्रस्तुत विवादमा मोहीले विपक्षी मध्येकै भगवान साहको जग्गा रोजेको भन्नेमा विवाद देखिँदैन । नियमले नै मोहीलाई रोज्न पाउने अधिकार दिएको अवस्थामा जाहेरी दिएको कारणले भगवान साहको जग्गा नै रोजेको हुँदा जाहेरवालाको जग्गा प्राप्त गर्ने निर्णय गरेको भन्ने भूमि सुधार कार्यालय सर्लाहीको निर्णयमा भूमिसम्बन्धी नियमहरू, २०२० को नियम १४ को प्रतिबन्धात्मक वाक्यांश (क) को त्रुटी देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । अब जे जो बुझ्नु पर्छ बुझी कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । आदेशको जानकारी प्रत्यर्थी कार्यालयलाई दिन यो आदेशको एकप्रति प्रतिलिपि साथ राखी श्री महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल पौष २२ गते रोज ४ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु