शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३०८ - गुठी धर्म लोप पालो

भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२

निर्णय नं. ३३०८  ने.का.प. २०४४   अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४२ सालको दे.पु.नं. ६४३

मुद्दा : गुठी धर्म लोप पालो ।

 

पुनरावेदक/वादी:ललितपुर जिल्ला ल.पु.न.पं. वडा नं. ५ नखीपोट बस्ने बालकुमारी भण्डारी ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी:का.जि.का.न.पं.वडा नं. ३ बालुवाटार बस्ने रामविक्रम भण्डारी ।

का.जि. खरेल गा.पं. वडा नं.२ बाँसगाँउ बस्ने हरिविक्रम भण्डारी ।

फैसला भएको मिति: २०४४।९।२८।१ मा

   अधिग्रहण बापत पाएको क्षतिपूर्तिको रकम विपक्षी प्रतिवादीले निजी प्रयोगमा लगाए तापनि अरु जग्गाबाट पूजा आजा गरेको र चलेको भन्ने देखिएकोले जग्गा अधिग्रहण बापतमा पाएको क्षतिपूर्तिको रकम निजी प्रयोगमा लगाएकै मात्र आधारले धर्मलोप गरेको भनी ठहराउन मनासिब हुने देखिँदैन, तसर्थ जग्गा अधिग्रहणमा प्राप्त भएको मुआब्जा रकम विपक्षी प्रतिवादीहरूले दाखेल गर्नु पर्ने र सो रकमको ब्याजबाट पूजा आजा आदी गर्नु पर्ने ठहर्छ, मुआब्जाको हकमा स्पष्ट किटान माग दावी नभएकोले त्यसतर्फ विचार गरिरहन परेन भनी गरेको म.क्षे.अ.को इन्साफ सो हदसम्म बदर भई केही उल्टी हुने ।

(प्रकरण नं. १२)

पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल

प्रत्यर्थी,प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.प्रचण्डराज अनिलः म.क्षे.अ.को इन्साफमा चित्त बुझेन भनी पर्न आएको निवेदनमा यस अदालतका आदेश बमोजिम पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ ।

२.  जनरल गगनसिं भण्डारीले १९८३ सालमा हालको का.न.पं. वार्ड नं. २ कोटेश्वर महादेव स्थान देखि दक्षिण तर्फ गगनेश्वर महादेव स्थापना गरी शिलापत्र राखेका । उक्त शिलापत्रमा लुभु बिसंडोल, मछेगाउँ विसंडोल, ल.पु.जि.हरिसिद्धी र का.जि.भाजाँगाल समेतका जग्गाहरु गुठी राखी सो जग्गाहरुको आयस्थाबाट पूजा आरती गर्ने १० जना फकिरलाई १० हण्डी दिने । शिवरात्रीमा साधु सन्तलाई खुवाउने, महादीप, बाल्ने समेत गरी शेषबाट सत्तल पौवा भत्के विग्रेको बनाई बाँकी बाँडी खाने शिलापत्रमा उल्लेख भएको । गगनसिं स्वर्गे भएपछि उहाँका ३ छोरा बलिर सिंह, सेर सिंह र खड्ग सिंहले ३।३ वर्षको पालो गरी काम चलाई आएको । सेर सिंह परलोक भई वहाँको सन्तान समेत नभएको र वजिर सिंह र खड्ग सिंहको पनि परलोक भएको । बजिर सिंहको छोरा ठूलो काजी भन्ने, निजको छोरा विष्णु विक्रम र गणेश विक्रम तथा खड्ग सिंहका डिल्ली सिं, उजीर सिं, भक्त सिं भएको । विष्णु विक्रमले डिल्ली सिंहको छोरा डोर विक्रम समेत उपर धर्मलोपको उजूरी गरेकोमा १९८४ सालमा धर्मलोप गरेको ठहराई फैसला भएको । भक्तसिंहको श्रीमती मानुकुमारीले एक पालो पाउने गरी देवानी अदालत पहिला फाँटमा मिलापत्र भएको । जेठाका सन्तान विपक्षी रामविक्रम तथा लक्ष्मणविक्रम र कान्छाका सन्तान धर्मलोप गरेका ठहरेका हेमध्वज, डोर विक्रम बसी भाजगालको जग्गा त्रिभुवन विश्व विद्यालयमा परी मुआव्जा पाएकाले बाँकी जग्गाको आयस्ताबाट शिलापत्र बमोजिम काम गर्ने, शेष बाँकीबाट ३।३ वर्षको पालो चलाई खान पाउनेमा खड्ग सिंहको ३ पालोमा मानकुमारी डोरबिक्रम र हेमध्वजलाई एक एक पालो हुनेमा मानकुमारीले उजूर गरी १ पालो लिएको, डोर विक्रम र हेमध्वजको पालो निजहरूले चलाउन नपाउने निजहरूको पालो हामी रामविक्रम, लक्ष्मण विक्रमले चलाई शेष जगेडा चैत्र महिना भरमा हिसाब माग्न आएमा बुझिदिने र लिने गरी २०१६ सालमा आषाढमा  परस्पर कागज भएको । सो कागज गर्ने ४ जनामध्ये राम विक्रम र लक्ष्मणविक्रम मौजूद भई हेमध्वज २०१८ साल र डोरविक्रम २०१६ सालमा परलोक भएको । मानकुमारीले पालो लिएपछि डोरबिक्रमको छोरा बुहारी म बालकुमारीले पाउनु पर्नेमा सो नगरेको न्यायोचित देखिन आएन । तसर्थ, जेठा तर्फ ३ र कान्छा तर्फ ३ वर्षको पालो गरी ६ वर्षमा कान्छा तर्फको ३ वर्षमा आधा मैले पाउनु पर्नेमा विपक्षीहरूसँग माग्न जाँदा पछि हेरौंला भनी जवाफ दिएको । शिलापत्रमा लेखिएको विभिन्न जग्गा १०४० रोपनी देखिएको र एक वर्षको जम्मा धान मुरी ११०।१२।१ उठती गरी खाने गरेको बुझियो । तर सो गगनेश्वर महादेवस्थानको मन्दिर भत्केकोमा जिर्णोद्वार नगरेको, फकिरलाई हुण्डी नखुवाएको, पुराण नलगाएको, चोरी भएका देवताहरूको स्थापना नगराएको, त्रिभुवन विश्वविद्यालयमा परेको जग्गाको मुआब्जा बाँडी खाएकोले गुठीबाट बर्खास्त गरी ३ वर्षको आधा पालो मैले चलाउन पाउने गरिपाउँ भन्ने समेत व्यहोराको बालकुमारी भण्डारीको फिरादपत्र ।

३.  वादीका ससुराले डोरविक्रम गुठी पालो नपाउने ठहरी १९८४।६।१२ मा श्री ५ गुठी बन्दोवस्त अड्डाबाट फैसला भएको, वादीका जेठाजु नरविक्रमले ९१ सालमा उजूर गर्दा निजले सो गुठी पालो नपाउने ठहरी १९९९।३।१५ मा भारदारीबाट फैसला भएको, वादीका पतिले गुठी पालो नपाउने गरी ०६।४।१४।६ मा फैसला भएकोले अ.बं. ८५ नं.ले वादीको फिराद नलाग्ने भत्केको भनेको महादेव स्थान वरिपरिको सतल तुरुन्तै मर्मत गरेको, सिधा खुवाउने गरेकै, चतुरमास पूजा लगाएको र विश्व विद्यालयबाट प्राप्त मुआब्जाको हकमा अरु जग्गाबाटै गुठी काम चलेको हुँदा सबैले बाँडी खाएको हुँदा विपक्षको झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको रामविक्रम भण्डारी समेतको प्रतिउत्तरपत्र ।

४.  वादी गुठी राख्नेको सन्तान होइन भनी प्रतिवादीले भन्न नसकेको, वादी गुठीबाट अलग भएका छन् भन्न पनि प्रतिवादीले नसकेकोले वादीले गुठी पालो नपाउने भन्न नमिल्ने, सामान हिनामिना तर्फ पालोवालाको उजूर नपरेको, त्रिभुवन विश्व विद्यालयमा परेको जग्गा स्वेच्छाले बिक्री गरेको नदेखिँदा धर्मलोपतर्फ वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु काठमाडौं जि.अ. को २०३८।२।१२।२ को फैसला ।

५.  सो फैसलामा चित्त बुझेन, गुठी पालो तर्फ प्रष्ट नभएकोले प्रष्ट गरी धर्मलोप ठहर गरिपाउँ भन्ने समेत व्यहोराको बालकुमारी भण्डारीको वागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।

६.  पूजारी रामचन्द्र भट्टराइको बयानबाट भत्केको सत्तल बनाएको, हुण्डी बाँडेको, पूजारीको हैसियतले निजले पाउन पर्ने रकम पनि पाएको चोरी भएको भनेको मालसामान प्रतिवादीले चोरेको भनी वादीले भन्न सकेको छैन, पालो सम्बन्धमा ३।३ वर्षको पालो गरी गुठी चलाउने कुरामा विवाद नभएको, खड्ग सिंह तर्फको ३ वर्षको पालो गरी १ वर्षको पालोमा मानकुमारीले १ वर्षको पालो, हेमध्वजले र बाँकी १ वर्षको पालो वादीको ससुरा डोर विक्रमले पाउने गरी २०१६ सालमा खडा भएको लिखत देखिएकोले सो बमोजिम डोर विक्रमको पालो वादीले पाउने ठहर्छ ? शुरु इन्साफ मनासिब हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने वागमती अञ्चल अदालतको ०३८।१२।५ को फैसला ।

७.  सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको बालकुमारीको म.क्षे.अ.मा परेको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने म.क्षे.अ.को २०४०।१०।१७।३ को आदेश ।

८.  धर्मलोप तर्फ वादी दावी नपुग्ने ठहर्‍याएको समेत शुरुको इन्साफ सदर गरेको वागमती अञ्चल अदालतको फैसलामा कुनै परिवर्तन गरिरहन परेन, इन्साफ सो अञ्चल अदालतको मनासिब ठहर्छ भन्ने समेत व्यहोराको २०४२।८।३।२ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

९.  गुठीको आयस्तामा गुठी चलाई शेष बाँकीसम्म खान पाउने हो । जग्गाको मुआब्जा खान पाउने भन्न मिल्दैन । जग्गाको आयस्ताबाट चलिरहेको गुठीका जग्गा अधिग्रहणमा परेपछि प्राप्त भएको मुआब्जाको रकम बाँड्न पाउने भन्ने प्रतिउत्तर जिकिरको समर्थन गरी क्षेत्रीय अदालतबाट भएको फैसलामा गुठीको ३, ४ नं. समेतको त्रुटी भएको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको बालकुमारी भण्डारीको यस अदालतमा पर्न आएको निवेदन ।

१०. यसमा म.क्षे.अ.को फैसलामा गुठीको महलको ३ नं., अ.बं. १८४(क), १८५ र प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको कानुनी त्रुटी हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति २०४२।१०।२ को आदेश ।

११.  नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले गर्नु भएको बहस समेत सुनी क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१२. यसमा निर्णयतर्फ हेर्दा विवादित जग्गा मध्येको त्रिभुवन विश्वविद्यालयको अधिग्रहणमा परेको जग्गा बापत क्षतिपूर्ति दिएको र विपक्षी प्रतिवादीले मुआब्जामा पाएको रकम बाँडी खाएको भन्ने देखिन आउँछ । मुलुकी ऐन गुठीको महलका ३ नं. मा भएको व्यवस्थानुसार गुठीको सम्पत्ति मासी खान पाउने मिल्ने देखिँदैन, यदि मासी खाएको खण्डमा उक्त ३ नं.को व्यवस्थाले धर्मलोप गरेको हुन जान्छ । तर प्रस्तुत मुद्दामा त्रिभुवन विश्वविद्यालयबाट जग्गा अधिग्रहण बापत पाएको क्षतिपूर्तिको रकम विपक्षी प्रतिवादीले निजी प्रयोगमा लगाए तापनि अरु जग्गाबाट मुआब्जा गरेको र चलेको भन्ने देखिएकोले जग्गा अधिग्रहण बापतमा पाएको क्षतिपूर्तिको रकम निजी प्रयोगमा लगाएकै मात्र आधारले धर्मलोप गरेको भनी ठहर्‍याउन मनासिब हुने देखिँदैन । तसर्थ, जग्गा अधिग्रहणमा प्राप्त भएको मुआब्जा रकम विपक्षी प्रतिवादीहरूले दाखेल गर्नु पर्ने र सो रकमको ब्याजबाट पूजाआजा आदि गर्नु पर्ने ठहर्छ । मुआब्जाको हकमा स्पष्ट किटान माग दावी नभएकोले त्यसतर्फ विचार गरिरहन परेन भनी गरेको म.क्षे.अ.को इन्साफ सो हदसम्म बदर भई केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथी इन्साफ खण्डमा लेखियानुसार हुने ठहरेकाले पुनरावेदक वादीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. ९।प्रतिवादीहरूबाट भरिपाउँ भनी ऐनका म्यादभित्र दर्खास्त दिन आए कानुन अनुसार भराई दिनु भनी लगत राख्न का.जि.अ.त.मा लगत दिनु.....१

माथी इन्साफ खण्डमा लेखियानुसार क्षेत्रीय अदालतको इन्साफ केही उल्टी हुने ठहरेकाले पुनरावेदक वादीले क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.९।विपक्षी प्रतिवादीबाट भराई पाउँ भनी कानुनका म्यादभित्र दर्खास्त दिए ऐन नियम अनुसार विपक्षी प्रतिवादीहरूबाट भराई दिनु भनी का.जि.अ.त.मा लगत दिनु.....२

मिसिल नियमानुसार गरी बुझाई दिनु.....३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४४ साल पौष २८ गते रोज १ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु