शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३०९ - लुटपिट

भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२

निर्णय नं. ३३०९   ने.का.प. २०४४ अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४२ सालको फौ.पु.नं. ५०९

मुद्दा : लुटपिट ।

 

पुनरावेदक/वादी: जि.बाँके बेलहरी गा.पं.वार्ड नं.९ बस्ने लिला प्रसाद कुर्मी ।

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने चन्द्रकला कुर्मिनी ।

ऐ. ऐ. बस्ने सम्पता कुर्मिनी ।

ऐ. ऐ. बस्ने राजदेई कुर्मिनी ।

ऐ. ऐ. बस्ने रमपता कुर्मिनी ।

ऐ. ऐ. बस्ने शम्भु कुर्मी ।

ऐ. ऐ. बस्ने राम शरण कादु ।

ऐ. ऐ. बस्ने राम खेलावान गुप्ता ।

ऐ. ऐ. बस्ने चेतराम कुर्मी ।

ऐ. ऐ. बस्ने द्वारिका कुर्मी ।

ऐ. ऐ. बस्ने बिध्या मुराउ ।

ऐ. ऐ. बस्ने जगमोहन अहिर ।

ऐ. ऐ. बस्ने प्यारे कादु ।

ऐ. ऐ. बस्ने घसिटे कादु ।

ऐ. ऐ. बस्ने विपत धोबी ।

फैसला भएको मिति: २०४४।७।२६।५ मा

   प्रतिवादीका साक्षीहरूको बकाई बमोजिम वादीले प्र.ले जोतेको जग्गावाली वटैया गरी नदिएबाट वार्ड अध्यक्ष सदस्य तथा भद्र भलादमी समेत बसी वटैया गरी दिएको भर्पाई मुचुल्काको नक्कल समेत प्रतिउत्तर साथ पेश भइरहेको देखिन आएकोबाट प्रतिवादीका साक्षीहरूको बकाई निरर्थक भन्न सकिने अवस्थाको देखिन आएन उसमा पनि वादीले प्रतिवादी बनाएका मानिस हेरिएमा प्रतिवादी बनाएका १५ जना मध्ये ८ जना सोही भर्पाई मुचुल्कामा बसेको देखिएकोबाट समेत रिसइवीको कारणबाट सम्बन्धित व्यक्तिहरू सबैलाई प्रतिवादी बनाई प्रस्तुत मुद्दाको फिराद दिएको देखिने ।

(प्रकरण नं. १४)

   पुनरावेदन नै नगर्नेका हकमा ठहर्ने नगरी सफाई दिएको भन्ने हकमा आफ्नो ठहरमा वादी दावी नै झुठ्ठा ठहर गरेपछि अञ्चल अदालतबाट लुटपिट गर्ने भनी ठहर्‍याएका पुनरावेदन नै नगर्ने प्रतिवादीहरूको अभियोग नै कायम नरहने अवस्था पर्न गएको सो कुरालाई ध्यानमा राखी अ.बं. २०५ नं. बमोजिम अञ्चल अदालतले निजहरूलाई गरेको सजायँ समेत नलाग्ने ठहर्‍याएकोबाट ठहर नबोलेको भन्न नमिली यस सम्बन्धी जिरह पनि मनासिब देखिन नआउने ।

(प्रकरण नं. १४)

पुनरावेदक, वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री  रतनलाल कनौडिया

विपक्षी, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस

उल्लेखित मुद्दाःX

फैसला

न्या.हिरण्येश्वरमान प्रधानः म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२. मेरा नाम दर्ताको बाँके बेसहरी गा.पं. वार्ड नं. ८(क) कि.नं. १०६ को ज.वि. २१५१४ जग्गामा मैले धानवाली लगाएको र सो धान ऐ. वार्ड नं. ९ मा खरियान लगाएकोमा दाइँ बसाई २०३९।९।२७ को सघन धानको ढेर लगाएकोमा त्यसको भोलिपल्ट जग्गा विषयमा झगडा गरी राख्ने रिसइवी लिई मैले खरियानमा लगाई राखेको ५५ क्वीन्टल ७० किलो धान सबै प्रतिवादीहरू मिली लुटपिट गरी लगेकोले विपक्षीहरूबाट दिए धान नदिए सो को मूल्य रु. १३,३६८।भराई दिलाई पाउँ भन्ने समेत वादी दावी ।

३. वादीको नाउँ दर्ताको कि.नं. १२० ज.वि. ०१९१ को जग्गामा म चेतराम र शम्भूले कमाई गरी आएको र सो जग्गाको ०३९ सालको बाली बटैया गरी लिंदा सोही जग्गाको २०३९ साल पौष २८ गते प्र.बली कादु समेतले वटैया गरी दिएकोमा वादी रिसाई वटैया गर्ने र बटैया गर्ने मानिस उपर यो झुठ्ठा फिराद दिएका हुँदा लुटपिट गरेको छैन । दावीबाट सफाई पाउँ भन्ने समेत संयुक्त प्रतिउत्तरपत्र ।

४. २०३९।९।२८ गते बिहान ८ बजेको समयमा प्र.हरू १५ जना आई वादीको खरियान लुटपिट गरी लगेका हुन भनी वादीका साक्षी मुस्तफा समेतले गरेको बकपत्र ।

५. वादी दावी बमोजिम प्रतिवादीहरूले लुटपिट गरेको छैन भन्ने समेत प्रतिवादीका साक्षीहरूको बकपत्र ।

६.  बाँकी प्रतिवादीहरूको हकमा मुद्दा कायमै राखी प्र. मध्येका द्वारिका विद्या, मोहन, प्यारेको र वादीको मिति २०४२।५।१७ को बाँके जि.अ.मा भएको मिलापत्र ।

७. वादी दावी बमोजिम प्रतिवादीहरूले लुटपिट गरेको भन्ने तथ्ययुक्त सबुद वादीले गुजार्न सकेको नदेखिँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत शुरु बाँके जि.अ.को फैसला ।

८. शुरु जि.अ.को फैसलामा चित्त बुझेन दावी बमोजिम गरिपाउँ भनी वादीको भे.अं.अ.मा पुनरावेदन परेको रहेछ ।

९.  शुरुले लुटपिट गरेको नठहर्‍याएको इन्साफ बदर हुन्छ । वादी दावी बमोजिमको वादी प्रतिवादीहरूले लुटपिट गरेको देखिँदा सो बाली भराई दिने समेत ठहर्छ भन्ने समेत भे.अं.अ.को फैसला ।

१०. भे.अं.अ. को फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको निवेदन परी म.प.क्षे.अ.बाट अनुमति दिइएको रहेछ ।

११. प्रतिवादीहरूले बिहान ८ बजेदेखि १२ बजे तक ४ घण्टा सम्म खरिहानबाट धान लुटपिट गरी लगेको भन्ने कुराको एकैमिलानको बकपत्र भएको वादीका साक्षीहरूबाट हुन नसकेको हुँदा लुटपिट गरेको भन्ने वादी दावी नपुग्ने ठहर्‍याएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.प.क्षे.अ.को फैसला ।

१२. म.प.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको यस अदालतमा निवेदन पर्न आएको रहेछ ।

१३. भेरी अं.अ.को फैसला उपर प्र.बल्दी, घसिटे, विपतले पुनरावेदन नदिई चित्त बुझाई बसेको हकमा अ.बं. २०५ नं. बमोजिम इन्साफ उल्टीन जाने भएको कुराको ठहर बोली निर्णय गरेको सो क्षे.अ.को फैसलाबाट देखिँदैन । यसरी पुनरावेदन नपरी चित्त  बुझाई बस्नेहरूका हकमा इन्साफ सजायँ उल्टीन जाने कुराको ठहर नबोली गरेको म.प.क्षे.अ.को फैसलामा अ.बं. २०५ को प्रत्यक्ष त्रुटी भएको देखिँदा यस अदालत संयुक्त इजलासको मिति २०४२।११।१९ को आदेश रहेछ ।

१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले र विपक्षी प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसले गर्नु भएको बहस समेत सुनियो । यसमा जहाँसम्म म.प.क्षे.अ.बाट वादी दावी झुठ्ठा भनी ठहर नगरी सबुद गुजार्न नसकेको भनी दावी नपुग्ने ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्‍याएको नमिल्ने भन्ने हकमा विचार गर्दा क्षेत्रीय अदालतले आफ्नो ठहरमा मिसिल सामेल रहेका प्रमाणको विचार गरी वादी दावी झुठ्ठा ठहर्‍याएको देखिन आउँछ । तर आफ्नो ठहर लेख्दा वादी दावी झुठ्ठा ठहरेकोले वादी दावी नपुग्ने ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भनी लेख्नु पर्नेमा सो सम्म त्रुटी गरेको देखिन आउँछ तर सो हुन जानु मुख्य कारण शुरु जिल्ला अदालतको ठहरको तपसील खण्डमा शुरु जि.अ.ले वादीले प्रतिवादीहरू उपर झुठ्ठा उजूर गरेको भनी दण्ड सजायँको १८ नं. ले सजायँ गरेकोबाट सम्म त्यस्तो हुन गएकोले त्यतिकै आधारमा क्षे.अ.को ठहर नै बदर हुनुपर्ने अवस्था देखिन आएन । अब जहाँसम्म क्षे.अ.को ठहर नमिलेको भन्ने हकमा प्रस्तुत लुटपिट मुद्दामा फौज्दारी प्रकृतिको देखिएकोले साक्षीले बकी देखाएका आधारहरूमा विचार गर्नु पर्ने हुन आउँछ । प्रस्तुत मुद्दामा दुवै पक्षका साक्षीहरूको बकाई हेरिएमा वादीका साक्षीहरूले वादी दावी बमोजिम लुटपिट गरी लगेको आफैंले देखेको भनी बकपत्र गरिदिएको देखिए पनि निजहरू मध्ये कसैले लुटपिट गर्नेमा ६, ७ जना स्वास्नी मानिस समेत भएको भनी देखाएको छन् भने कसैले वादीले फिरादमा देखाए बमोजिम ४ जना मात्र रहेको भनी देखाएका छन् त्यसरी नै कसैले वादी वारदात स्थलमा रही केही पनि नभनी बसेको भनी देखाएका छन् भने कसैले नलुट भनी भन्दै थिए भनी देखाएको देखिन आई साक्षीहरूको बकाई नै एकआपसमा नमिलेको प्रष्ट देखिन्छ । प्रतिवादीका साक्षीहरूले दावी बमोजिम प्रतिवादीहरूले लुटपिट गरेको छैन । वादीको कि.नं. १२७ को जग्गामा चैतराम, शम्भु कुर्मिले वटैयामा जोतेकोमा बाली वटैया नगरी दिएबाट पञ्चायत साक्षी राखी वटैया गराई मुचुल्का भर्पाई समेत गरेको इवीले झुठ्ठा उजूर गरेको भनी बकपत्र गरेबाट साक्षीकै बकाइको आधारमा बाली लुटपिट गरेको हो भनी यकीन रुपमा ठहर गर्न नमिलेकोले अरु सबुत तर्फ के कसो हो भनी हेरिएमा प्रतिवादीका साक्षीहरूको बकाई बमोजिम वादीले प्र.चेतरामले जोतेको जग्गा बाली बटैया गरी नदिएबाट वार्ड अध्यक्ष सदस्य तथा भद्र भलादमी समेत वसी बटैया गरिदिएको भर्पाई मुचुल्काको नक्कल समेत प्रतिउत्तर साथ पेश भइरहेको देखिन आएकोबाट प्रतिवादीका साक्षीहरूको बकाई निरर्थक भन्न सकिने अवस्थाको देखिन आएन उसमा पनि वादीले प्रतिवादी बनाएका मानिस हेरिएमा प्रतिवादी बनाएमा १५ जना मध्ये ८ जना सोही भर्पाई मुचुल्कामा बसेको देखिएकोबाट समेत रिसइवीको कारणबाट सम्बन्धित व्यक्तिहरू सबैलाई प्रतिवादी बनाई प्रस्तुत मुद्दाको फिराद दिएको देखिन आएबाट पनि वादीले क्षे.अ.को ठहर बमोजिम झुठ्ठा दावी गरेको देखिन आएको हुँदा सोही इन्साफ मनासिब ठहर्छ । अब पुनरावेदन नै नगर्नेका हकमा ठहर नै नगरी सफाई दिएको भन्ने हकमा आफ्नो ठहरमा वादी दावी नै झुठ्ठा ठहर गरेपछि अञ्चल अदालतबाट लुटपिट गर्ने भनी ठहर्‍याएका पुनरावेदन नै नगर्ने प्रतिवादीहरूको अभियोग नै कायम नरहने अवस्था पर्न गएको सो कुरालाई ध्यानमा राखी अ.बं. २०५ नं. बमोजिम अञ्चल अदालतले निजहरूलाई गरेको सजायँ समेत नलाग्ने ठहराएकोबाट ठहर नबोलेको भन्न नमिली  यस सम्बन्धी जिरह पनि मनासिब देखिन आएन । अतः म.प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्र केशरी बास्तोला

 

इतिसम्वत् २०४४ साल कार्तिक २६ गते रोज ५ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु