शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३३११ - खुन डाँका

भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२

निर्णय नं. ३३११     ने.का.प. २०४४      अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको फौ.पु.नं. ४८८

मुद्दा : खुन डाँका ।

 

पुनरावेदक/वादी: भीम कुमारी मल्लको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी: भारत जि. बहराइच थाना नानपारा अन्तर्गत कोडरी गाउँ बस्ने मजित नाउ ।

ऐ थाना सेराघाट अन्तर्गत पेडित पुरुवा बस्ने छोटकन वनिया ।

वर्दिया खेरापुर गा.पं. अन्तर्गत सिरकोइया घर भै हाल बसाई सरी भारत हल्दा थाना अन्तर्गत बस्ने कल्लु पासी ।

भारत खेरिघाट थाना अन्तर्गत वख्तावार पुरुवा बस्ने पेरु पासी ।

ऐ.ऐ बस्ने टेडे पासी ।

फैसला भएको मिति: २०४४।९।२।५ मा

     अदालतमा इन्कार भई बयान गरेको छँदै प्रहरीमा आफू सावित भई आपसमा पोलेकोलाई अरु स्वतन्त्र सबूदबाट समर्थन हुनु बेगर सो मान्न नमिलेको र यिनै प्रमाणको आधारमा दायर भएको सो रातको कृष्ण बहादुरको जाहेरीबाट चलेको डाँका मुद्दामा सो प्रमाणहरू माथि लेखिए बमोजिम देखिई अभियुक्तहरूलाई सफाई दिई फैसला भएकोमा श्री ५ को सरकार तर्फबाट पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनसम्म पनि नपरी म.प.क्षे.अ.को फैसला अन्तिम भई बसेकोबाट पनि यी प्रमाणहरूलाई जिकिर बमोजिमको मान्यता  दिन मिल्ने अवस्था नदेखिने ।

(प्रकरण नं. २१)

पुनरावेदक, वादीतर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री केदार प्रसाद शर्मा

विपक्षी,प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.हिरण्येश्वरमान प्रधान: मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकारको पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२.    २०४० साल मार्ग २३ गते राती हामी सुती निदाएको अवस्था मध्ये रात हुँदा करीब ११।१२ जना डाँकाहरू आई घरको ढोका उखेली भित्र पसी हमी २ जना बुढा बुढीलाई समाती २।३ जना डाँकाले मलाई धकेल्दै बाहिर निकाली लाठ्ठीले टाउकोमा हानेकोले म बेहोस भएपछि अरु डाँकाले लोग्ने टोपबहादुरलाई लाठीले हानी छुरीले रोपी अगेनामा झोसेकाले दुवै जना अस्पतालमा लगी उपचार गर्दा गर्दै लोग्ने टोपबहादुरको २०४० साल मार्ग २७ गते मृत्यृ भयो । मलाई सन्चो भएपछि घर आई हेर्दा बिगो रु. ८,२१३।को धनमाल डाँका गरी लगेकोले डाँकाहरूको पत्ता लगाई खुन डाँका गरेमा सजायँ गरि डाँका गरी लगेको मेरो धनमाल दिलाई भराई पाउँ भन्ने भिमकुमारी मल्लको जाहेरी दर्खास्त ।

३.    कल्लु पासीको छोराको मेरो गाउँमा विवाह भएकोले निज कल्लु मेरो गाउँमा आवत जावत गर्दा चिनजान भएकोले २०४० साल मार्ग तिर मलाई एकान्तमा लगी एउटा धनी मानिस कहाँ डाँका गर्नु पर्‍यो भनी भन्दा मैले सहमति जनाएकोले २०४० साल मार्ग २३ गते निज कल्लु पासीसँग भेट भई दुवै जना हिंडी जान लागेको नाउँको किनारामा पेरु पासी, टेडे पासी र मजित नाउ समेतसँग भेट भई सब जना मिली पूर्वामा बसमा चढी मुर्तिहा ओर्लिदा बाटोमा कुरी बसेको ३ जना अपरिचित मानिसँग कल्लु पासीले कुरा गरी सबै जना डाँका गर्न गयौं डकैति गर्ने भन्ने घर पुग्दा टेडेले , पैरु मर्जित र मलाई बाहिरको स्थिति बुझ्न बाहिर राखे अरु ५ जना भित्र पसी घर धनीलाई कुटपिट गर्दा एकजना आईमाई बाहिर भागिन र अर्को एकजना मानिस बाहिर निस्के, फायर गर्दा हो हल्ला भएकोले त्यहाँबाट केही नलिई जङ्गल तर्फ भाग्यौं । मलाई रु २५०।दिएका थिएँ भन्ने समेत प्र.छोटकन वनियाले प्रहरीमा गरेको बयान ।

४.    टेडे कल्लु र पैरु पासीसँग घर नगिचै हुँदा चिनजान थियो २०४० साल मार्ग २१ गते पैरुसँग भेट हुँदा डाँका गर्न जाउँ भनी भन्दा लालचामा परी हुन्छ भनी मैले भनेकोले भोली पल्ट पैरु, टेडे, कल्लु र म समेत आई पण्डित पुजामा छोटकनलाई बोलाई पाँचै जना मुर्तिहा आयौं त्यहाँ ३ जना अपरिचित मानिससँग भेट भई तिनीहरू समेत सबै जना १०।११ बजे राती ढकेला गाउँमा पुगी त्यहि टेडेले मलाई छोटकन र पैरुलाई मानिस हेर्न भनी बाहिर राखी अरु ५ जना भित्र पसी त्यहि घरका मानिसलाई कुटपिट गरी आधा घण्टा पछि कल्लुले तिनको एउटा बाकस लिई बाहिर आएको बाकस मलाई दिई नजिकको अर्को घरमा ती ५ जना पसी धनीलाई कुटपिट गर्न लाग्दा एकजना आईमाई र एकजना लोग्ने मानिस बाहिर निस्की बन्दूक फायर गर्दा गाउँमा धेरै हो हल्ला भएकोले त्यहाँबाट केही सामान नलिई हामीहरू जङ्गल तर्फ भागी गएक हौं डकैती गरी ल्याएको धनमाल मध्ये मलाई रु. २५०।दिएका थिए भन्ने समेत प्र.मन्जित नाउँले प्रहरीमा गरेको बयान ।

५.    पक्राउमा आएका प्र.छोटकन बनिया र मजित नाउँलाई देखाउँदा देख्यो घटनास्थलमा हामीहरू घरबाट बाहिर निस्कन लाग्दा निजहरूले हामीलाई कुटपिट गरेका थिए लाइटको उज्यालोमा देखेकोले हेरी  चिनी सनाखत गर्‍यौं भन्ने सीताकुमारी बूढा मगर्नी र मिनकुमारी मल्लको सनाखत कागज ।

६.    २०४०।८।२३ गते राती जाहेरवालीको घरमा डाँका वारदात हुँदा हो हल्ला सुनी हामीहरू घटनास्थलमा पुग्दा बदमासहरू भागी सकेका थिए जाहेरवाली र निजको लोग्ने घाइते अवस्थामा पल्टेका थिए जाहेरवालीको लोग्ने बदमासहरूले कुटपिट गरेको चोटले मरेका हुन पक्राउ परेको डाँकाहरू साविती बयान गरेको जाहेरवाली समेतले चिनी सनाखत गरेकोले निज अभियुक्त समेतले खुन डाँका गरेको विश्वास लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

७.    पक्राउ परेका मन्जित नाउ १, छोटकन बनिया १ तथा पक्राउमा नपरेका भारतीय कल्लु पासी १, पेरु पासी १, टेडे पासी १ र नाम नखुलेको भारतीय अपरिचित ३ जना समेत ८ जनाले जाहेरवालाको घरमा डाँका गरी जाहेरवालीको लोग्ने टोपबहादुरलाई मरणासन्न कुटपिट गरि ज्यान कर्तव्य गरेको सिद्ध हुन आएकोले पक्राउमा नपरेका र नाम नखुलेका प्रतिवादीहरू भारतीय हुँदा सरहदमा फेला परेका बखत कानुन बमोजिम पेश गरिने हुँदा हाल पक्राउमा परेको मन्जित नाउँ १, छोटकन बनिया १ समेतलाई डाँका गरेमा चोरीको नं.१४(४) अनुसार र मृतक टोपबहादुरलाई कल्लु पासी समेतले कुटपिट गर्दा बाहिर बसी बाटो घाटो छेक्ने कसूर गरेका ज्यानसम्बन्धीको १७ नं.बमोजिम सजायँ गरि जाहेरवालीको डाँका गरेको धनमाल दिलाई भराई पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी भएको ।

८.    २०४० साल मंसीर २३ गतेका दिन म आफ्नै गाउँ घरमा थिएँ प्र.छोटकन बनियालाई मात्र चिन्दछु अरु प्र.हरूलाई चिन्दिन मैले जाहेरवाली भीमकुमारी र कर्णबहादुरका घरमा चोरी डकैती गरेको होइन र ज्यान मार्ने गरी कसैलाई कुटपिट समेत गरेको छैन प्रहरीमा डरधाकमा परी ल्याप्चे लगाई दिएको छु मैले कसूर नगरेको हुँदा छुट्कारा पाउँ भन्ने प्र.मजित नाउले अदालतमा गरेको बयान ।

९.    मलखाद लिन भनी मिही सुव बजार आएको अवस्थामा मेरा पुराना दुश्मन विहारी चमारले पुलिसलाई भनी भोजीपुर थानामा लगे सो थानाले नेपालका पुलिसलाई जिम्मा लगाई दिएका हुन् २०४० साल मंसीर महिना भरी म आफ्नै गाउँ घरमा छु मैले खुन डाँका समेत गरेको होइन प्रहरीमा मेरो नाम थर वतन मात्र सोधेका हुन अरु कुरा सोधेको होइन र मैले कसूर नगरेको हुँदा सफाई पाउँ भन्ने समेत प्र.छोटकन वनियाले अदालतमा गरेको बयान ।

१०.    २०४० साल मार्ग २३ गते राती १२ बजे डाँकाहरू आई वारदात गरेका हुन् ४ जनाले बुबालाई समाती २ जनाले आमाका गहना लुट्न लाग्दा म बाहिर निस्की हल्ला गर्दा निजहरूबाट बुबा उम्की बन्दुक लिई बाहिर आउँदा एकजना डाँकाले बन्दूक खोस्ने र एकजनाले छुटी बुबालाई हान्ने गरेका थिएँ डाँका गर्ने यिनै मजिद नाउँ र छोटकन बनिया समेत ९ जना थिए भन्ने समेत सीताकुमारीले गरेको बकपत्र ।

११.    जाहेरवाली भिमकुमारी मल्ल र कर्णबहादुर पुन समेतको घरमा मैले डाँका चोरी खुन समेत गरेको छैन उक्त घटना घटेको दिन म आफ्नै घरमा छु मैले यो डाँका खुनको वारदात नगरेकोले झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने समेत प्र.कल्लु पासीले २०४२।१।१४ गते अदालतमा गरेको बयान ।

१२.   २०४० मंसीर २३ गते साँझ ७ बजे प्र.छोटकन बनियालाई निजकै घरमा देखेको हो निजले जाहेरवालाहरूको घरमा डाँका खुन गरेको होइन भन्ने प्र.छोटकन बनियाको साक्षीहरूको बकपत्र ।

१३.   प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गरेको र यस लगाउको डाँका मुद्दामा निज प्रतिवादीहरूले सफाई पाएको घटनास्थलमा प्रतिवादीहरूलाई प्रष्ट देखी  चिन्न सकिने अवस्था मिसिलबाट देखिन आएकोले प्रस्तुत मुद्दामा प्र.मन्जित नाउँ छोटकन बनिया समेतले सफाई पाउने ठहर्छ कल्लु पासीको हकमा ज्यानसम्बन्धीको १३(३) नं.को दावी लिएकोले साधक सदर भइआए बमोजिम गर्ने गरी निजले यस मुद्दामा सफाई पाउने ठहर्छ फरार रहेका टेडे पासी र परु पासीका हकमा मुलतबी राखी दिने समेत ठहर्छ भन्ने बर्दिया जिल्ला अदालतको ०४२।७।१ को फैसला ।

१४.   बर्दिया जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रहरी प्रतिवेदन माग दावी अनुसार गरिपाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन ।

१५.   जाहेरवाली र सरजमीनका मानिसहरूलाई उपस्थित गराई बकपत्र गराएको नदेखिएकोले अ.बं.११५ नं. बमोजिम जाहेरवाली र सरजमीनका मानिस उपस्थित गराई कानुन बमोजिम बकपत्र गराई मिसिल वापस पठाई दिनु भनी शुरु मिसिल शुरु जि.अ.मा पठाई कार्य सम्पन्न भइआएपछि पेश गर्नु भन्ने २०४३।१।२१ को मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालको आदेश।

१६.    जाहेरवालाको घरमा डाँका खुनको वारदात भएको साँचो हो यिनै पक्राउमा परेका प्रतिवादीहरूले डकैति गरेका वा अरुले डाँका खुन गरे भन्न सक्दैनौं भन्ने समेत व्यहोराको सरजमीनका मानिस चमारी थारु समेतले गरेको बकपत्र ।

१७.   प्रतिवादीहरूले नै जाहेरवालाको घरमा डाँका वारदात गरी मृतक टोपबहादुरलाई प्रतिवादी कल्लु पासीले मारेको हो भनी निष्कर्षमा पुग्न सकिने आधार प्रमाण मिसिलबाट नदेखिनाले निजहरूलाई सफाई दिएर म्याद पुर्जीको म्यादमा अदालतमा हाजिर नहुने अन्य प्रतिवादीहरूको हकमा मुलतबी राख्ने समेत ठहर्‍याएको शुरु बर्दिया जि.अ.को फैसला मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१८.   मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रहरी प्रतिवेदन माग दावी अनुसार प्रतिवादीहरूलाई सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन ।

१९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारको तर्फबाट बहसको लागि खटी उपस्थित हुनुभएका विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले वारदातमा संलग्न प्रतिवादीहरूको चोटबाट नै जाहेरवालीको लोग्ने टोपबहादुरको मुत्यु भएको भन्ने कुरा प्रष्ट उल्लेख हुँदा हुँदै पनि शुरु तथा क्षे.अ.ले सफाई दिने गरेको फैसला नमिलेको हुँदा बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीहरूलाई सजायँ हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नु भयो ।

२०.   प्रस्तुत मुद्दामा म.प.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

२१.   यसमा श्री ५ को सरकार तर्फबाट उपस्थित हुने मुख्य न्यायाधिवक्ताले पनि पुनरावेदक जिकिर बमोजिम सनाखत समेत गरेकोबाट अभियुक्तहरूको प्रहरी साविती समर्थन समेत भएकोबाट निजहरूलाई सफाई दिएको नमिल्ने भन्ने समेत व्यहोरा जिकिर लिई बहस गरेको तर्फ विचार गर्दा वारदात स्थलमा देख्ने भनेकी सीताकुमारीले अदालतमा आई बकपत्र गर्दा अभियुक्त मध्येका मन्जीत र छोटकनलाई चिन्हेको भनी बयान गरे पनि प्र. तर्फका कानुन व्यवसायीले अभियुक्तहरूलाई देखाई छोटकन भन्ने को हो ? भनी सोधनी जिरह गर्दा मन्जीतलाई छोटकन भनी देखाएकोबाट निजले अभियुक्तहरूलाई वारदात स्थलमा देखी चिन्हेको भन्ने कुरा साँचो हो भन्ने सम्झन सकिने स्थिति नरहेको र अरु अ.बं. ११५ नं. बमोजिम बुझिएका सरजमीनका मानिसहरूमा पनि जाहेरवालाको दाजु बाहेक अरुले अभियुक्तहरूले नै डाँका गरेको  हो भनी नदेखेकोले भन्न सक्दैनौ भनी बकपत्र गरेको र दाजुले पनि आफूले नदेखेको बहिनीले गुलरियामा भन्दा सुनेको भनी सम्म भनेकोबाट अभियुक्तहरू अदालतमा इन्कार भई बयान गरेको छँदै प्रहरीमा आफू सावित भई आपसमा पोलेकोलाई अरु स्वतन्त्र सबूदबाट समर्थन हुनु बेगर सो मान्न नमिलेको र यिनै प्रमाणको आधारमा दायर भएको सो रातको कृष्ण बहादुरको जाहेरीबाट चलेको डाँका मुद्दामा सो प्रमाणहरूमा लेखिए बमोजिम देखि अभियुक्तहरूलाई सफाई दिई फैसला भएकोमा श्री ५ को सरकार तर्फबाट पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनसम्म पनि नपरी म.प.क्षे.अ.को यही २०४३।४।२० को फैसला अन्तिम भई बसेकोबाट पनि यो प्रमाणहरूलाई जिकिर बमोजिमको मान्यता दिन मिल्ने अवस्था नदेखिएको समेतबाट अभियुक्तहरूलाई सफाई दिने ठहर्‍याएको इन्साफ म.प.क्षे.अ.को मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । वादी श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गरिरहनु परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बर प्रसाद सिंह

 

इतिसम्वत् २०४४ साल पौष २ गते रोज ५ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु