निर्णय नं. ३३१२ - कर्तव्य ज्यान

निर्णय नं. ३३१२ ने.का.प. २०४४ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको फौ.पु.नं. ४१४, ४१५, ४४८
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी: जि.रुपन्देही केरावानी गा.पं. वार्ड नं.२ राजावारीमा घर भै हाल जि.रुपेन्देही केन्द्रीय कारागार सिद्धार्थ नगर भैरहवामा थुनामा बसेको नर बहादुर राना मगर ।
ऐ.ऐ घर भै ऐ.मा थुनामा रहेको प्र.वीर थापा मगर ।
ऐ.ऐ घर भै कारागार शाखा पाल्पामा थुनामा रहेकी झनमाया थापा मगर्नी ।
विरुद्ध
विपक्षी/वादी: नर बहादुर रानाको जाहेरीले प्र.स.नि.श्री जुद्धब हादुर कार्कीको प्रतिवेदनले श्री ५ को सरकार ।
फैसला भएको मिति: २०४४।९।८।४ मा
अभियुक्तहरूले प्रहरीमा कागज गर्दा घाँटी अठ्ठयाई मारेको भनी देखाए बमोजिम कै चिन्हहरू लाश जाँच प्रकृति मुचुल्काबाट देखाइएको घाँटीमा भएको रसिको डाम तथा पोष्ट मार्टममा देखाइएको घाँटीको चारैतिर परेको डोरीको डामको आधारमा मृत्युको कारण काटी थिची सास बन्द भई मरेको भनी राय व्यक्त गरेकोबाट उक्त साविती अन्यथा मान्न सकिने अवस्था देखिन नआउने ।
(प्रकरण नं. २३)
वारदातको दिन अभियुक्तहरू आफ्नै घरमा रहे भएको भनी देखाए पनि सावितीमा देखाइएको वारदातको रात भर नै अभियुक्तहरू आफ्नै घरमा रहेको भनी अनिवार्य रुपले मान्नु पर्ने सम्मको कुनै अवस्था नदेखाएकोबाट ती साक्षीहरूले अभियुक्तहरूलाई वारदातको दिन रातमा निजहरूकै घरमा देखिए पनि वारदात घटेको समयमा अभियुक्तहरू मर्नेको घरमा गई मर्नेलाई कर्तव्य गरी मारेको होइन भनी भन्न सकिने अवस्था कुनै रहे भएको मिसिलबाट नदेखिएको हुँदा प.क्षे.अ.ले अभियुक्तहरूले नै मर्नेलाई कर्तव्य गरी मारेको ठहराएको शुरु इन्साफ सदर गरेको मनासिब ठहर्छ ।
(प्रकरण नं. २३)
पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त,विद्वान अधिवक्ता श्री लवदेव भट्ट,विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल,विद्वान अधिवक्ता श्री शम्भु थापा
विपक्षी, वादी तर्फबाट: विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी.
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४२।५।२ को फैसला उपर पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. २०३८ साल भाद्र २० गते १०:३० को समयमा गा.स.स समेतका व्यक्ति समेतले बोलाउँदा नबोलेपछि भित्र हेर्दा मालकाडेहरी कोखामा खडा देखि के भएको रहेछ भनी हामी सब गएका व्यक्तिहरूले हेर्दा पटुवाको डोरीले घाँटीमा पासो लगाई डाँडा वा वलामा के मा हो बाँधिएको रन बहादुर झुण्डिई मरेको रहेछ । निजको श्रीमती नमालुम कता गएकी छोरा नाबालख म जेठान नाता पर्ने भएकोले दर्खास्त गर्न आएको छु । विहान सुती राखेको देखेको निज आफैं झुण्डिई मरेको विश्वास लाग्छ भन्ने समेत व्यहोराको नर बहादुर राना मगरको २०३८।५।२१ मा परेको जाहेरी दर्खास्त ।
३. धुरी बलामा धागा डोरी बाँधी सुर्कने गाठो परेका घाँटीमा बाँधिएको मृतक झुण्डिएको बाँया खुट्टाले भुँइमा औंलाले टेकी घुँडाले छुन ४ इन्च जति बाँकी रहेको दाहिने खुट्टा माटाको डेहरी माथि टेकी पैताला माथि फर्केको आँखा दुवै केही खुला तलतिर हेरेको घाँटीमा रसिलो निलो रातो डाम दाहिने घुँडामा घसारिएको चोट गुदद्धारबाट दिशा र हडेलो रगत पानी निस्केको भन्ने समेत ०३८।५।२१।१ मा भएको लाश प्रकृति मुचुल्का रहेछ ।
४. “The Cause of death seems to be due to as phyxias a result of thretting” भन्ने राय समेत भएको मिति २०३८।५।२२ शव परीक्षण प्रतिवेदन रहेछ ।
५. भिनाजु नर बहादुरसँग कर्णिमा फसेको कुरा लोग्नेलाई थाहा थियो । लोग्ने माया भन्ने सँग फसेको शंका लागी आपसमा झगडा भई रहन्थ्यो । तिजको दिनमा लोग्नेले बेसरी पिटेको भिनाजुसँग भन्दा जसरी भए पनि मार्छु सल्लाह प्रोग्राम मिलाउँछु भन्नु भएको थियो २०३८ भाद्र १९ गते दिउँसो परिवारसँग भिनाजुले सरसल्लाह गरी रातको २ बजे मेरो घरमा रक्सी बढी लोग्नेलाई खिलाएकोले सुत्नु भयो । त्यसबेला भिनाजुले घाँटी अँठ्याई मामा परवीरले मुख छोपे मैले दुवै खुट्टा समाती थिची लोग्ने मृत्यु हुनुभएकोले धागो डोरीले परवीरले घाँटीमा सुर्कने गाठो पारी बाँधी डेहरी माथि चढ्यो भिनाजु र म समेत भई लोग्नेलाई उचाली धुरी बलामा झुण्डाई दिएका हौं भन्ने समेत व्यहोराको प्र.झनमाया थापा मगर्नीले २०३८।५।२९।२ मा प्रहरीमा गरेको कागज ।
६. निज रन बहादुर मेरी छोरीसँग फसेका रिस लिई बसेका थिए २०३८ साल तिजको दिन नर बहादुरसँग मार्ने सर सल्लाह प्रोग्राम बनाइयो १९ गते दिन रात रन बहादुर लाई बोलाई घरमा ल्याए नर बहादुर पनि आयो तीनै जना रन बहादुर को घरमा, त्यहाँ पनि निजलाई धेरै रक्सी खान दियो नशा लागि सुत्यो मौका छोपी नर बहादुरले घाँटी अठ्यायो मैले मुख थुने झनमायाले खुट्टा समाती मरेको होला । भनी धागो रस्सीले घाँटीमा बाँधी डेहरीमा चढे नर बहादुर र झनमायाले लाश उचाल्दा धुरिवलामा झुण्डाएको हो भन्ने समेत व्यहोराको प्र.परवीर थापा मगरले २०३८।६।२ मा प्रहरीमा गरेको कागज ।
७. मृतककी श्रीमती झनमाया सालीसँग कर्णी लेनदेन हुन लागेको सालभर भयो २०३८ भाद्र १९ गते परवीर सँग रन बहादुर लाई मार्ने प्रोग्राम बनाइयो निजको घरमा रातको ३ बजे मैले घाँटी अठ्याई च्यापे परवीरले मुख थिची सास समेत बन्द भएकोले परवीरले घाँटीमा डोरीले बाँधी डेहरी माथि चढे म र झनमायाले लाश उचाली धुरीबलामा झुन्ड्याई दिएका हौं भन्ने समेत व्यहोराको प्र.नर बहादुर राना मगरले २०३८।६।२।६ मा प्रहरीमा गरेको कागज ।
८. धनमाया कान्छी बहिनी हुन तिजको दिन निजको लोग्नेले पिटेछन् मेरो लोग्ने सँग भन्न आएकीले के के कुरा गरिन् सुनिन मेरो लोग्ने र झनमाया फसेको जस्तो लाग्दथ्यो । क–कसले रन बहादुर लाई मारे कुनै जानकारी छैन भन्ने समेत व्यहोराको प्र.नर बहादुरकी श्रीमती दिलकुमारीले २०३८।६।१४।४ मा प्रहरीमा गरेको कागज ।
९. १९ गतेका रात मेरो लोग्नेको साथ साथ नर बहादुर मृतक रन बहादुर समेत भई मेरो घरमा रक्सी खाएको थाहा छैन नर बहादुरले झनमायासँग नाजायज प्रेम गरेको हुँदा मारेको हुनुपर्छ भन्ने मनकलीको लेखाई भएको १९ गते रात नर बहादुर परवीर रन बहादुर रक्सी खाएका थिए थिएन भन्न सक्दैनौ झनमाया समेतको साविती अनुसार नर बहादुर परवीर झनमाया समेतले कर्तव्य गरी मारे मराएका कुरा विश्वास लाग्छ भन्ने रामचन्द्र अनसारी समेत ६ जनाको लेखाई भएको, मारे वा मारेनन् निजहरू नै जानुन नदेखेको कुरा यकीन भन्न सक्दैनौं भन्ने कुलदिप सिं बाली समेत ६ जनाको लेखाई १९ गते रात मेरो घरमा रन बहादुर नर बहादुर मेरो बुबा परवीरले रक्सी खाएको नदेखेको हुँदा भन्न सक्दिन रन बहादुर सँग कुनै प्रेम व्यवहार छैन । यो वारदात नर बहादुर र झनमायाले गरेको शंका लाग्छ भन्ने समेत र माया थापा मगरको लेखाई भएको । रन बहादुर ले कमाएको पैसा पचाउन र झनमाया सँग अनुचित सम्बन्ध राखेको कारणबाट झनमाया नर बहादुर समेत भई परवीर समेतलाई साथमा लिई मारे मराएको पुरा विश्वास लाग्छ भन्ने समेत चन्द्रवीर खाम्चा मगर समेत ३ जनाको लेखाई भएको मिति २०३८।६।६।३ को सरजमीन मुचुल्का रहेछ ।
१०. प्रतिवादीहरूले मुलुकी ऐन ज्यानसम्बन्धी दफा ३ को विपरीत रन बहादुर लाई कर्तव्य गरी मारेको सिद्ध हुन आएकोले सोही ऐनको दफा १३(३) बमोजिम नर बहादुर राना मगर, परवीर थापा मगर, झनमाया मगर्नी समेत तीनै जनालाई सजायँ हुन माग प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको २०३८।६।१५ मा दायर भएको प्रहरी प्रतिवेदन ।
११. २०३८।५।१९ गते राती आफ्नै घरमा थिएँ झनमायाले झुठ्ठा भनेको हो नर बहादुरले झुट पोल गरेको हो प्रहरीमा लेखिराखेको कागजमा मारपीट समेत गरेकोले सही गरिदिएको हुँ सरजमीनहरूले किन लेखाए निज जानुन देखाएको रक्सी यही हो वा होइन यकीन जानकारी रहेन भन्ने समेत प्र.परवीर थापा मगरले ०३८।६।१५।५ मा अदालत गरेको बयान ।
१२. २०३८।५।२० को बिहान प्रधान चिन्कुको घरमा थिएँ । प्रहरीहरू मलाई प्रधानको घरमा फेला पारेपछि लोग्ने मरेका छन् भनेकाले थाहा पाएको छु सावित भई लेखाएको होइन प्रहरी कागज घुच्याई सही गर भन्दै गराउँदै खडा भएको हो नर बहादुर परवीरले किन सावित भई पोल गरे सरजमीनका मानिसहरुले किन लेखाए निजै जानून डोरी झुण्डिएको अवस्था नदेखेकोले कस्तो थियो थाहा भएन भन्ने समेतको प्र.झनमाया थापा मगर्नीले २०३८।६।१५।५ मा अदालतमा गरेको बयान ।
१३. २०३८ साल भाद्र १९ गते राती मेरै घरमा थिएँ झनमाया नभेटिएकोले जाहेरी दिएको छु झनमाया, परवीरले किन पोल गरेको हो निजै जानुन प्रहरीमा कागज मारपीट गरेका समेत हुँदा जवरजस्ती गराएका हुन सरजमीनका मानिसले किन लेखाए थाहा छैन यो रक्सी हो अथवा होइन मौकामा देख्न नपाएको हुँदा यकीन याद रहेन भन्ने समेत प्र.नर बहादुर राना मगरले २०३८।६।१५।५ मा अदालतमा गरेको बयान ।
१४. प्र.नर बहादुर झनमाया र परवीरको मृतकसँग इवी रहेको पुष्टि भएको छ । अदालतमा इन्कार भए पनि कुटपिट गरेको सिद्ध गर्न सकेको छैन । अतः साविती लाश प्रकृति मुचुल्का शव परीक्षण प्रतिवेदन र रन बहादुर चन्द्र बहादुरको बकपत्रबाट समर्थित भएकोले दावी बमोजिम प्र. हरूले कर्तव्य गरी मारी झुण्ड्याइएको ठहर्छ । भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतबाट २०४०।५।२०।२ मा भएको फैसला रहेछ ।
१५. झुण्डाई मरेको कुरा शुरु जाहेरी समेतले पुष्टि गरेको चिकित्सकको रायले पनि आत्म हत्यालाई नै इंगित गरेको त्यसको पुष्टि लाश प्रकृति विवरणले गरेको छ । मेरो निर्दोशितालाई मेरा साक्षीहरूले किटान साथ बकपत्र गर्नु भएको छ सफाई पाउन पुनरावेदन प्रस्तुत गरेको छु भन्ने समेत व्यहोराको प्र.झनमाया मगर्नीको प.क्षे.अ.मा परेको पुनरावेदन ।
१६. प्रहरीले आफ्नो हिरासतमा राखी इच्छा विरुद्ध गराएको कागजलाई मुख्य प्रमाण मानी गरिएको फैसला अन्यायपूर्ण भएकोले सफाई पाउन पुनरावेदन प्रस्तुत गरेका छौं भन्ने समेत व्यहोराको प्र.परवीर थापा मगर र नर बहादुर राना मगरको प.क्षे.अ.मा परेको संयुक्त पुनरावेदन ।
१७. प्रतिवादीको प्रहरी सावितीको आधारमा ठहर गरेको शुरु फैसला फरक पर्न जाने हुँदा अ.बं. २०२ नं. र क्षे.अ.नि., २०३६ अनुसार वादी श्री ५ को सरकार तर्फबाट छलफलमा उपस्थित हुन पश्चिमाञ्चल क्षेत्रीय सरकारी अधिवक्ताको कार्यालय पोखरालाई सूचना दिई पेश गर्नु भन्ने समेत व्यहोराको प.क्षे.अ.डि.बे.को आदेश ।
१८. प्रहरी सावितीलाई लाश जाँच मुचुल्का तथा शब परीक्षण प्रतिवेदनले पुष्ट्ष्याई गरेको देखियो । तसर्थ माथिका बुँदा प्रमाण तथा शुरु फैसलामा लेखिएका प्रमाण परिबन्दबाट यी प्रतिवादीहरूले कर्तव्य गरी मारेको ठहर र सजायँ गर्ने गरेको रुपन्देही जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४२।५।२ को फैसला ।
१९. प.क्षे.अ.ले गरेका फैसलामा चित्त नबुझेकोले उक्त फैसलाहरू बदर गरी प्रहरी माग दावीबाट फुर्सद गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.नर बहादुर राना मगर, प्र.परवीर थापा मगर, प्र.झनमाया थापाको छुट्टा छुट्टै यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
२०. प्रतिवादीहरू कसूर गरेकोमा मौकामा अधिकार प्राप्त अधिकारी समक्ष सावित भए पनि अदालतमा कसूर गरेमा पूर्णतः इन्कार रहेका पाइन्छ । प्रहरीमा कागज राजिखुसीले गरेको नभई लेखिराखेको कागजमा सही गराएका हुन प्रतिवादीहरूले लेखे भनेको केही होइन भनी अदालतमा बयान गरेको मिसिलबाट देखिन आउँछ । लाश जाँच प्रतिवेदन मिति ०३८।५।२२ मा तयार गरेको र प्रतिवादीहरूको बयान २०३८।६।२ मा भएकोबाट निजहरूको प्रहरीमा भएको साविती बयान प्रतिवादीहरूले अदालतमा गरेको बयान अनुसार शंकास्पद देखिन आउँछ । मृतकलाई झुण्ड्याएको देख्ने कुनै चस्मदिद गवाह छैन । सह अभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको पाइन्न । यस्तो शंकास्पद स्थितिमा प्रतिवादीहरूलाई कसूरदार मान्न मिल्ने अवस्था नहुँदा निजहरूलाई कसूरदार ठहर्याई गरेको फैसला फरक पर्ने देखिएकोले छलफलको निमित्त अ.बं. २०२ नं. बमोजिम वादी पक्षलाई उपस्थित गराउन महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियम बमोजिम पेश गर्नु । प्रतिवादीहरूको पुनरावेदन परी पुनरावेदन तहबाट हेरिने हुँदा साधकको लगत कट्टा गरिदिनु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
२१. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी नर बहादुरको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री लवदेव भट्टले र पु.वे.परवीर थापा मगरको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल पु.वे.झनमाया थापाको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शम्भु थापाले र विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान का.मु सह-न्यायाधिवक्ता श्री बलराम के.सी. समेतले गर्नु भएको बहस जिकिर सुनियो ।
२२. पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ त्यसमा निर्णय दिनु पर्ने हुन आयो ।
२३. यसमा मृतक रन बहादुर दावी जिकिर बमोजिम कर्तव्य गरी मरेको वा प्रतिवादीहरूको इन्कारी तथा जाहेरी दर्खास्त बमोजिम झुण्डी मरेको हो भन्नेतर्फ विचार गरेमा लाश जाँच मुचुल्कामा देखाइएका प्रकृतिहरूबाट झुण्डी मरेको मानिसमा देखिनु पर्ने कुनै चिन्हहरू नदेखिएको र पोष्टमार्टम प्रतिवेदनमा पनि लाशमा देखिएको घाँटीमा भएको डोरीको डामको रुपबाट समेत घाँटी थिची सास बन्द भई मरेको भन्ने उल्लेख भएको देखिएको, जहाँसम्म डाक्टरलाई परीक्षण गर्नु पर्ने भन्ने जिकिरको हकमा प्रमाण ऐन, दफा १८ मा भएको व्यवस्था बमोजिम पोष्टमार्टम प्रतिवेदनमा देखाइएको मृत्युको कारणमा शंका गर्नु पर्ने सम्मको अरु कुनै सबूद मिसिल साथ आएको नदेखिएकोले सोही दफामा भएको व्यवस्था अनुसार डाक्टरको परीक्षण हुन पर्ने अवस्था नरहेकोबाट मृतक रणबहादुर झुण्डी मरेको हो भन्न सकिने अवस्था नरहेकोले कर्तव्य परी पोष्टमार्टम प्रतिवेदनमा देखाए बमोजिम घाँटी थिचिएबाट सास बन्द भई मरेको देखिन आयो। अब को कसबाट कर्तव्य भएको हो भन्नेतर्फ विचार गरेमा निज मर्ने रणबहादुरलाई कर्तव्य गरी मार्नु पर्ने सम्मको रिसइवी परेका अरु कुनै मानिस रहे भएको मिसिलबाट नदेखिएको प्रहरी प्रतिवेदनबाट यिनै पुनरावेदकहरूले नै कर्तव्य गरी मारेको भनी अभियोग लगाइएको देखिन आएको छ । यी अभियुक्तहरूले प्रहरीमा कागज गर्दा मर्ने रणबहादुरलाई मार्नु पर्ने सम्मको रिसइवी देखाई सोही रिसइवीको कारणबाट यी पुनरावेदकहरू मिली घाँटीमा थिची मारेको र मारि सकेपछि झुण्डी मरिसकेको भान पारी लाशलाई झुण्ड्याई दिई आफैंले जाहेर गर्न गएको भन्ने समेत कुरा देखाई सावित भई कागज गरेको देखिन आउँछ । अदालतमा आई बयान गर्दा यी पुनरावेदकहरू सावितीमा देखाइएको वारदातको रातमा आफ्नै घरमा रहे भएको पनि देखाई बयान गरे पनि सो बयानमा साविती कागजमा लेखिएका कुराहरू आफूले भनी लेखाएको नभई प्रहरीले कुटपिट गरी लेखि राखेको कागजमा सही गराएका हुन सरजमीनको व्यहोरा पढी बाची सुनाउँदा पनि किन त्यस्तो लेखाए थाहा छैन भनी सम्म भनेका तर आफूलाई प्रहरीले कुटपिट गरेको यो यस्तो चोट घाउ छ जाँच गराई पाउँ भनी जिकिर लिन पनि नसकेको र मर्ने रणबहादुर सावितीमा देखाइए बमोजिम २०३८।५।१९ को रात मरेकै होइन र देखाइए बमोजिम रिसइवी परेको समेत होइन भनी कुनै जिकिर लिन नसकी बरु अभियुक्त झनमायाले आफूलाई लोग्नेले बराबर कुटपिट गर्दै आएको र मर्नु भन्दा अगाडि तिजको दिनमा समेत कुटपिट गरेको भनी देखाई बयान गरेकोबाट रिसइवी परेको कुरा साँचो देखिन आएको छ । सो कुरालाई सरजमीनका अदालतमा आई बकपत्र गर्ने चन्द्र बहादुर मगर र रणबहादुर मगर समेतको बकपत्रबाट समर्थन हुन आएको देखिन्छ । यसको साथै यी अभियुक्तहरूले प्रहरीमा कागज गर्दा घाँटी अठ्ठ्याई मारेको भनी देखाए बमोजिमकै चिन्हहरू लास जाँच प्रकृति मुचुल्कामा देखाइएको घाँटीमा भएको रसिको डाम तथा पोष्टमार्टममा देखाइएको घाँटीको चारै तिर परेको डोरीको डामको आधारमा मृत्युको कारण घाँटी थिची सास बन्द भई मरेको भनी राय व्यक्त गरेकोबाट उक्त साविती अन्यथा मान्न सकिने अवस्था पनि देखिन आएन । अर्कोतर्फ अभियुक्तको साक्षीहरूले वारदातको दिन अभियुक्तहरू आफ्नै घरमा रहे भएको भनी देखाए पनि सावितीमा देखाइएको वारदातको रातभर नै अभियुक्तहरू आफ्नै घरमा रहेको भनी अनिवार्य रुपले मान्नु पर्ने सम्मको कुनै अवस्था नदेखाएकोबाट ती साक्षीहरूले अभियुक्तहरूलाई वारदातको दिन रातमा निजहरूकै घरमा देखिए पनि वारदात घटेको समयमा अभियुक्तहरू मर्नेको घरमा गई मर्ने रणबहादुरलाई कर्तव्य गरी मारेको होइन भनी भन्न सकिने अवस्था कुनै रहे भएको मिसिलबाट नदेखिएको समेत हुँदा प.क्षे.अ.ले अभियुक्तहरूले नै मर्ने रणबहादुरलाई कर्तव्य गरी मारेको ठहराएको शुरु इन्साफ सदर गरेको मनासिब ठहर्छ पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन पुनरावेदन गरे बापत सजायँ गर्न पर्छ की भन्नलाई सर्वस्वसहित जन्मकैद भएकोले केही गरी रहनु परेन । थुनामा रहेको पुनरावेदकहरूलाई फैसला भएको जनाउ दिनु । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमती छ ।
न्या.बब्बर प्रसाद सिंह
इतिसम्वत् २०४४ साल पौष ८ गते रोज ४ शुभम् ।