निर्णय नं. ३३१३ - हक सफा

निर्णय नं. ३३१३ ने.का.प. २०४४ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको दे.पु.नं. ५०६
मुद्दा : हक सफा ।
पुनरावेदक/प्रतिवादी: जिल्ला धनुषा वीसरमोरा गा.पं. वडा नं.८ बस्ने राम नारायण राय यादव ।
विरुद्ध
विपक्षी/वादी:ऐ. बस्ने राम अशेश्वर गोइत ।
फैसला भएको मिति: २०४४।९।२९।४ मा
भएको नक्शाबाट विवादको जग्गा र वादीको जग्गामा बाटो देखिए पनि वादीको नक्शा जिरहबाट वादीको कि.नं. २० को न.नं. १ को जग्गाको पश्चिममा गाउँ ब्लक रहेकोबाट वादीको जग्गामा जान विवादित जग्गामा देखाएको बाटो अनिवार्य नदेखिएको अरु यो यस किसिमले विवादित जग्गा वादीलाई सन्धिसर्पन पर्ने भनी देखाउन नसकेकोले सन्धी पर्ने भनी निखन्न पाउने ठहर्याएको क्षे.अ.को इन्साफ गल्ती ठहर्ने ।
(प्रकरण नं. १०)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव प्रसाद ढुङ्गाना
विपक्षी, वादीतर्फबाट:विद्वान अधिवक्ता श्री गोपाल भण्डारी
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष एवं गम्भीर कानुनी त्रुटी गरी भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार छ :
२. मदन ठाकुरको नाममा दर्ता रहेको जि.ध. हरिने गा.पं.वडा नं.९(क) कि.नं. २२ को ०–११–४ जग्गा मेरो नाउँ दर्ताको कि.नं. २० र २१ को पश्चिम उत्तरमा राखिएकोमा निजले म सन्धीसर्पन पर्नेलाई जानकारी नदिई रामनारायण यादवलाई २४,०००।– मा २०३४।२।१० मा बिक्री गरिदिएको कुरा २०३४।८।२८ मा थाहा पाई निखन्न दिनुहोस् भन्दा इन्कार गरेकोले मालपोत कार्यालयमा निवेदन दिएकोमा निखन्न पाउने ठहर भएको फैसला जिल्ला कार्यालय धनुषाबाट समेत सदर भएकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट राम असेसर सन्धीसर्पनवाला हो होइन सबूद प्रमाण बुझी इन्साफ दिनु पर्नेमा रजिष्ट्रेशनको ३५(२) अनुसार नालेश गर्नु भनी सुनाउनु भनी निर्णय बदर भएकोले नालेश गर्न आएको छु । उक्त जग्गा र मेरो जग्गाका चौहद्दी मिल्दो भएकोले सन्धीसर्पन हुँदा निखनाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. मैले खरीद गरेको जग्गाको वादी सन्धीसर्पनवाला नभई सन्धीयार हुन सन्धीसर्पन पर्ने व्यक्ति सन्धीयार भन्ने कुरा फरक फरक हुँदा वादीलाई निखन्न दिनु पर्ने होइन भन्ने समेत व्यहोराको रामनारायण यादवको प्रतिउत्तर ।
४. निखनाई पाउँ भन्ने कि.नं. २२ को उत्तर तर्फ एलको आकार परेको वादीको जग्गा म एड्डल परी सो एड्डलभित्र कि.नं. २२ को जग्गा अवस्थित रहेकोले वादी उक्त जग्गा निखन्न पाउने सन्धीसर्पन वाला ठहर्छ भन्ने समेत व्यहोराको शुरु धनुषा जिल्ला अदालतबाट भएको फैसला ।
५. सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादीहरूका तर्फबाट जनकपुर अञ्चल अदालतमा परेको संयुक्त पुनरावेदनपत्र ।
६. लेनदेन व्यवहारको १२ नं. २०३४ सालमा संशोधन भई सन्धीसर्पन पर्ने हकवाला नै हुनुपर्ने र फिराद गर्दाको अवस्थामा विद्यमान रहेको कानुन अनुसार नै दावी हुनुपर्ने फिरादमा हकवाला भन्ने कुरा केही नदेखिएबाट निखन्न पाउने ठहराएको शुरुको इन्साफ गलत ठहर्छ भन्ने समेत व्यहोराको जकपुर अञ्चल अदालतबाट भएको फैसला ।
७. सो फैसलामा पुनरावेदनको अनुमति पाउँ भनी वादीले दिएको निवेदनमा उजूर गर्नुपर्ने कारण उत्पन्न भएको बेलामा, प्रचलित कानुनले वादीले हकवाला हुनुपर्ने बाध्यता नभई सन्धीसर्पन पर्ने नाताले हक सन्धी गर्न पाउने देखिँदा नपाउने भन्ने जनकपुर अञ्चल अदालतको निर्णयमा कानुनी त्रुटी देखिँदा पुनरावेदनको अनुमति दिइको छ भन्ने म.क्षे.अ.को आदेश ।
८. कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ को खण्ड (ग) बमोजिम खारेज भएको ऐनले खारेज भएको कुनै ऐन बमोजिम पाएको हक सुविधामा असर पर्ने छैन भन्ने व्यवस्था भएको र २०३४।९।२७ मा लेनदेन व्यवहारको १२ नं. संशोधन हुनु पूर्व सो लेनदेन व्यवहारको १२ नं. मा जग्गा बिक्री गरेकोमा सो जग्गा कमाउने किसानले लिए निजले नलिएमा भोगबन्धकी लिएको साहू भई निज र निजले पनि निखन्न नचाहेमा सन्धीसर्पन पर्ने अरु व्यक्तिले निखनी लिन पाउने व्यवस्था रहकै देखियो । यसरी २०३४।९।१३ को दिनमा तत्काल प्रचलित कानुनले सन्धीसर्पन पर्ने हकवाला नहुनु पर्ने बाध्यता नरही सन्धीसर्पन पर्ने व्यक्तिले समेत निखन्न पाउने व्यवस्था भएकै हुँदा अञ्चल अदालतले सन्धीसर्पन पर्ने हकवाला नभएको अधारमा निखनी लिन नपाउने ठहर गरेको मनासिब देखिएन । कि.नं. २२ को जग्गासम्म पुनरावेदक वादीको कि.नं. २० र २१ पश्चिम उत्तरमा रही साँधमा जोडिएको र सो जग्गामा आवत जावत गर्ने निकास समेतको लागि उत्तर कि.नं. २२ को जग्गा सन्धीसर्पन परेको देखिएकोबाट शुरु जि.अ.ले निखन्न पाउने ठहर्याएको इन्साफ मनासिब ठहर्छ भन्ने म.क्षे.अ.को फैसला ।
९. उक्त फैसलामा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा विवादको जग्गाको नक्शा गरी सोको मूल्याङ्कन गरी निर्णय गर्नु पर्नेमा अ.बं.१७१ नं. को फैसला भएकोले अनुमति दिएको छ भन्ने २०४२।६।२४ को डिभिजन बेञ्चको आदेश ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव प्रसाद ढुङ्गाना र विपक्षीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गोपाल भण्डारीले गर्नु भएको बहस समेत सुनी पुनरावेदनको मिसिल अध्ययन गरी म.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ भनी निर्णयतर्फ विचार गर्दा विवादको जग्गा निखनाई पाउँ भनी मुलुकी ऐन सातौं संशोधन हुनु अर्थात् २०३४।९।२७ अगावै दर्खास्त परी तत्काल प्रचलित लेनदेनको १२ नं. बमोजिम सन्धीसर्पन परेकोले निखनाई पाउँ भनी दर्खास्त दिएको देखिएकोले निवेदक हकवाला हुनु अनिवार्य नदेखिएको सो हदसम्म म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । अब विपक्षी वादी सन्धीसर्पन पर्ने हो कि भन्नालाई भएको नक्शाबाट विवादको जग्गा र वादीको जग्गामा बाटो देखिए पनि वादीको नक्शा जिरहबाट वादीको कि.नं. २० को न.नं.१ को जग्गाको पश्चिममा गाउँ ब्लक रहेकोबाट वादीको जग्गामा जान विवादित जग्गामा देखाएको बाटो अनिवार्य नदेखिएको अरु यो यस किसिमले विवादित जग्गा वादीलाई सन्धीसर्पन पर्ने भनी देखाउन नसकेकोले सन्धी पर्ने भनी निखन्न पाउने ठहर्याएको क्षे.अ.को इन्साफ गल्ती ठहर्छ । अरु कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को फैसला केही उल्टी भई हकसफा गर्न नपाउने ठहरेकोले म.क्षे.अ.के फैसलाको तपसील खण्डमा लेखिए बमोजिमको लगत राख्न नपर्ने सो र कोर्ट फी भराई दिने भनी राखेको लगत कट्टा गरी दिनु भनी ध.जि.अ.मा लेखि पठाइ दिनु........१
म.क्षे.अ.को फैसला केही उल्टी भएकोले मा.न्या.श्री केशवप्रसाद मुडवरी र मा.न्या.श्री हरिप्रसाद शर्माको उल्टी रेकर्ड राख्नु........२
नियम बमोजिम गरी मिसिल बुझाई दिनु......३
उक्त रायमा म सहमत छु ।
न्या.बब्बर प्रसाद सिंह
इतिसम्वत् २०४४ साल पौष २९ गते रोज ४ शुभम् ।