निर्णय नं. ३३१५ - अंश दपोट

निर्णय नं. ३३१५ ने.का.प. २०४४ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको दे.पु.नं. ५१७
मुद्दा : अंश दपोट ।
पुनरावेदक/वादी: जि.बर्दिया गुलरिया गा.पं. वार्ड नं. ४(ख) बस्ने झुरा यादव ।
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने छेदन यादव
फैसला भएको मिति: २०४४।१०।२०।४ मा
उल्लेख भए अनुसार तायदातीमा नदिए पनि तायदातीमा उल्लेख गरी देखाउनु नपर्ने कारणमा हाल आवादीमा पाएको भन्ने भएकोले यस्तो अवस्थामा तायदातीमा नदिएको आधारमा आफ्नो अंशियारलाई पाउने अंशबाट वञ्चित गर्न दबाएको भन्ने नमिलेकोले दपोट गरेको ठहर्दैन तर प्रमाणको फैसलाबाट पनि पुर्खाको दर्ताको जग्गा नदिकाटमा परी पछि उकास भई विपक्षीको नाउँमा दर्ता हुन आएको देखिएकोले पाउने अंश बमोजिम आधी जग्गा पुनरावेदकले पाउने ।
(प्रकरण नं. १५)
पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
विपक्षओ तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधान: मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ।
२. विपक्षी छेदन यादवको र मेरो यसै जिल्ला अदालतमा अंश मुद्दाको फिराद परी २०३८।३।११ को फैसला बमोजिम आधा आधा अंश पाउने गरी ठहर फैसला भएको र आफ्नो आफ्नो जिम्मामा रहेको अचल सम्पत्तिको फाँटवारी पेश गर्नु भन्ने आदेशानुसार फाँटवारी दिँदा गुलरिया गा.पं. वडा नं.४(ख) कि.नं. ७६ को ज.वि.०–४–१५, ऐ.ऐ. कि.नं. १८० मध्येको ज.वि.०–४–० ऐ. ऐ. को कि.नं.३४/२१० को ज.वि. ०–४–१४, ऐ.को कि.नं. २६/२१२ को जग्गा विगहा ०–४–१२ जम्मा ज.वि.०– १८–१ ऐ.मथुरा हरद्वार गा.प. वार्ड नं. १क. को कि.नं. ९ को ज.वि.४–६–०, ऐ.ऐ. को कि.नं. १७ को ज.वि. १–१–१५ ऐ. ऐ. कि.नं. १८ को ज.वि.१–१–१०, ऐ.ऐ. को कि.नं. २७ को ज.वि.१–१०–५, ऐ.ऐ. को कि.नं. ९६ को ज.वि. ०–१–१० समेत जम्मा ज.वि. ८–१८–० समेत दुवै पञ्चायतको हुने जम्मा जग्गा विगहा ९–१६–१ जग्गा अंश दपोट गरेकाले अंशबण्डाको २७ नं. बमोजिम दिलाई पाउँ भन्ने फिरादपत्र ।
३. वादी निजै झुर्रा यादव, प्रतिवादी म भएको अंश मुद्दा यसै बर्दिया जिल्ला अदालतबाट मिति २०३८।३।११ मा फैसला भएको छ । यसै अदालतको आदेशानुसार मैले अंशको फाँटवारी समेत पेश गरेपछि उक्त फाँटवारी र मैले फिराएको प्रतिउत्तरमा लिएको जिकिरमा वादीको सहमति नभएको भए वादीले मुद्दा चल्दाको अवस्थामा नै विरोध गरी पुर्पक्ष गर्न सक्नु पथ्र्यो । बर्दिया जि.अ.बाट भएको अंश मुद्दाको फैसलामा चित्त नबुझेको भए पुनरावेदन गर्नु पर्नेमा सो नगरी अहिले पछि आई अंश दपोट मुद्दा दायर गरेकोले वादी दावी खारेज गरिपाउँ भन्ने प्रतिउत्तरपत्र ।
४. प्रतिवादीले दुई भाइको अंश लाग्ने विभिन्न कित्ताका जम्मा जग्गा विगहा १०–१०–६ जग्गा मिति २०३८।३।११ मा फैसला भएको अंश मुद्दाको तायदाती फाँटवारी दिँदा दबाई छिपाई दिएको मितिबाट देखिन आएकोले निज प्रतिवादी छेदनले फिराद दावी बमोजिम अंश दपोट गरेको ठहर्छ भन्ने बर्दिया जिल्ला अदालतको २०४०।३।३० को फैसला ।
५. अंश दपोट गरेको ठहराई गरेको बर्दिया जिल्ला अदालतको फैसलामा चित्त बुझेन, अंश दपोट गरे भन्ने वादी दावी झुठ्ठा हुँदा दावीबाट फुर्सद दिलाई पाउँ भन्ने भेरी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. पुर्खौली सम्पत्तिको बण्डा गर्नु पर्ने जतिको जग्गाको फाँटवारी पेश भएकै देखिँदा हाल दावीको जग्गा बण्डा गर्नु नपर्ने भएबाट अंश दपोट ठहर गरेको शुरुको फैसला बदर हुन्छ भन्ने भेरी अञ्चल अदालतको फैसला ।
७. भेरी अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीको म.प.क्षे.अ.मा पर्न आएको निवेदन ।
८. फाँटवारीमा नदेखाई अंश दबाएको देखिनाले अंश दपोट नठहर्याएको भेरी अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्न अनुमति दिइएको छ भन्ने मिति २०४१।११।११ को म.प.क्षे.अ.को आदेश ।
९. प्रस्तुत अंश दपोटमा दावी गरेको सम्पत्ति विपक्षी प्रतिवादीले हाल आवादीमा फैसलाद्वारा पाएको जग्गा सगोलको सम्पत्ति बढाएको भन्ने नदेखिएकोले निज प्रतिवादीकै निजी ठहर्न आउँदा त्यस्तो सम्पत्तिलाई अंश दपोट गर्यो भनी वादी दावी पुग्न नसक्ने हुनाले भेरी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४२।१२।३१ को फैसला ।
१०. २०२५ सालमा मानो छुट्टिएको मिति कायम भई सकेपछि सो मिति भन्दा पहिले सगोलमा आर्जन गरी घरको मुख्य अंशियारको नाममा दर्ता भएको सम्पत्तिलाई निजी आर्जनको ठहर्ने भनी भएको म.प.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी तर्फबाट यस अदालतमा पर्न आएको निवेदन ।
११. यसमा विवादको जग्गा सहमति दर्ताको जग्गा नदी कटान भई उकास भएपछि प्रतिवादी छेदन यादवले हाल आवादीमा दर्खास्त दिई मुद्दा परी सगोलमा रहेको अवस्थामा जग्गा प्राप्त गरेको २०१०।२।२३ मा नेपाल प्रधान न्यायालयको फैसलाबाट देखिन्छ । सगोलमा रही उक्त जग्गा सगोलमै रहेको अवस्थामा प्राप्त भएकोमा तायदातीमा प्रतिवादीले नदेखाएकोमा दपोट नठहर्याएको क्षेत्रीय अदालतको फैसलामा अंशबण्डाको २०, २७ नं. समेतको कानुनी त्रुटी हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको मिति २०४३।३।२५ को आदेश ।
१२. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल कागजात समेत अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भई बहसमा उपस्थित विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले गर्नु भएको बहस समेत सुनियो ।
१३. विद्वान अधिवक्ताले आफ्नो पक्षको तर्फबाट पुनरावेदन जिकिरलाई समर्थन गर्दै २०३४ सालको संशोधन पूर्व आर्जन गरेको सम्पत्ति तत्काल बहाल रहेको ऐनले सबैमा बण्डा लाग्ने हो त्यसमा पनि विपक्षीले प्राप्त गरेको विवादित सम्पत्ति निजको स्वआर्जनको सम्पत्ति होइन पूर्खाकै सम्पत्ति हो, हाल आएर नदीकाट जग्गा हुँदा हाल आवादीमा निजको नाममा हुन गएको मात्र हो, त्यस कारण त्यस्तो स्थितिको सम्पत्तिलाई निजको स्वआर्जन भनी भन्न मिल्ने पनि देखिँदैन । अतः मेरो पक्षको दावी बमोजिम अंश दपोट गरेको प्रष्ट हुँदा क्षे.अ.को फैसला बदर गरी मेरो पक्षको एकलौटी कायम होस् भनी भन्नु भयो ।
१४. विद्वान अधिवक्ताले प्रस्तुत गर्नु भएको उल्लिखित बहस जिकिर समेतलाई ध्यानमा राखी निर्णयतर्फ विचार गर्दा क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सो कुराको नै प्रस्तुत मुद्दामा निर्णय दिनु पर्ने देखिन आयो ।
१५. यसमा दपोट गरे भनी दावी लिएको जग्गा नदीबाट उकास भई आफ्नो निवेदनबाट हाल आवादीमा दर्ता गराएको हुँदा अंशबण्डाको १८ नं. मा भएको व्यवस्था बमोजिम बण्डा दिनु नपर्ने सम्झी तायदातीमा नदिएकोसम्म देखिई दबाउनको लागि तायदातीमा नदिएको भन्ने देखिन आउँदैन । अंशबण्डाको २७ नं. मा दबाए छपाएको छैन भनी कागज गरी सकेपछि दबाए छपाएको ठहर्यो भने त्यो धनमाल दबाउनेले पाउँदैन, नदबाउनेले अरु अंशियारले ऐन बमोजिम अंश गरी खान पाउँछन् । दबाए बापतको सजायँ हुँदैन भन्ने व्यवस्था भएको पाइन्छ । तर माथि उल्लेख भए अनुसार तायदातीमा नदिए पनि तायदातीमा उल्लेख गरी देखाउनु नपर्ने कारणमा हाल आवादीमा पाएको भन्ने भएकोले यस्तो अवस्थामा तायदातीमा नदिएको आधारमा आफ्नो अंशियारलाई पाउने अंशबाट वञ्चित गर्न दबाएको भन्न नमिलेकोले दपोट गरेको ठहर्दैन तर प्रमाणको फैसलाबाट पनि पूर्खाको दर्ताको जग्गा नदिकाटमा परी पछि उकास भई विपक्षीको नाउँमा दर्ता हुन आएको देखिएकोले पाउने अंश बमोजिम आधि जग्गा पुनरावेदकले पाउने ठहर्छ। अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएनुसार अंश दपोट गरेको ठहरेकाले पुनरावेदक वादीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. ५८।०५ भराई पाउने हुँदा विपक्षी प्रतिवादीबाट भराई पाउँ भनी सरहदको जेथा देखाई ऐनका म्यादभित्र कानुन बमोजिमको दर्खास्त दिन आए भराई दिनु भनी शुरु बर्दिया जि.अ.मा लगत दिन का.जि.अ.त.मा लेखि पठाई दिनु .......१
भेरी अञ्चल अदालतले राख्ने गरेको लगत कायम नरहने भएकोले कट्टा गरि दिनु.....२
शुरु बर्दिया जि.अ.ले राख्ने गरेको लगत कायमै राखी ऐन नियम अनुसार गर्नु...३
मिसिल नियमानुसार बुझाई दिनु.....४
उक्त रायमा म सहमत छु ।
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् २०४४ साल माघ २० गते रोज ४ शुभम् ।