निर्णय नं. ३३१६ - विदेशी विनिमयको अवैध कारोबार तथा निकासी

निर्णय नं. ३३१६ ने.का.प. २०४४ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४२ सालको फौ.पु.नं. ६५८
मुद्दा : विदेशी विनिमयको अवैध कारोबार तथा निकासी ।
पुनरावेदक/वादी:श्री ५ को सरकार अर्थ मन्त्रालय, राजश्व अनुसन्धान महाशाखाका विशेष अधिकृत टेक बहादुर रायमाझी ।
विरुद्ध
विपक्षी/प्रतिवादी:पोर्टेन हाउस,सल्सवरी इंग्लैण्ड बस्ने राहदानी नं.एन ५९९१६७ र क्यानडा राहदानी नं.जि.ई.६२५९२१ को हाल का.जि.का.न.पं..वडा नं.२९ गार्डेन गेष्ट हाउस डेरा गरी बस्ने पेटरजोन मिल्स ।
फैसला भएको मिति: २०४४।११।५।४ मा
विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा (५)(२) मा व्यवस्था भए बमोजिमको रीत पुर्याई नेपाल बाहिर लान लागेको नदेखिई विभिन्न रुपमा लुकाई छिपाई लान लागेको देखिन आएकोले निजले दावी बमोजिम अपराध नगरेको भन्ने कानुनले नमिल्ने ।
(प्रकरण नं. १५)
पुनरावेदक तर्फबाट: विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
विपक्षी,प्रतिवादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधान: मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त बुझेन भनी वादी तर्फबाट यस अदालतमा पर्न आएको निवेदनमा यस अदालतको मिति २०४१।१२।२१ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. २०४१।१०।१६ का दिन शा.ने.वा.नि. को हवाई जहाजद्वारा हङकङ जान लागेका पेटरजोन मिल्सले विदेशी मुद्रा लैजादै छन् भन्ने शुराकी प्रतिवेदन अनुसार राहदानी नं. बृटिश ऐन, ५९९१६७ र क्यानाडा जि.ई. ६२५९२१ का पेटरजोन मिल्सको जिउ तलासी लिंदा ब्यागमा र साबुनको बट्टाभित्र कालो टेप बेरेर मुठ्ठा बनाएर लैजान लागेको फेला परेकोले निज मानिस र बरामद भएको विदेशी मुद्रा समेत यसै साथ पेश गरेको छु भन्ने प्र.नि.दानबहादुर चन्द समेतको प्रतिवेदन ।
३. दाखिल हुन आएको यु.एस.डलर १९। २८५ लुकाई छिपाई विदेश लान लागेको बेला काठमाडौं स्थित त्रि.वि.स्थलमा पेटरजोन मिल्सको जीउ र ब्याग तलासी लिंदा ब्यागमा राखी लैजान लागेको बेला पक्राउ गरी सो विदेशी मुद्रा बरामद गरेको हो भन्ने मौका मुचुल्का ।
४. मैले विदेशी विनियम कारोबार गर्न इजाजत लिएको छैन, बरामद भएको विदेशी मुद्रा लिई हङकङ जान लागेको बेला विमान स्थलका कर्मचारीले पक्राउ गरेको हो, मैले सो विदेशी मुद्रा काठमाडौंमा सटही गरेको हुँ भनी निज अभियुक्त पेटरजोन मिल्स आफैंले लेखी गरेको मौकाको कागज ।
५. सो विदेशी मुद्रा दिने व्यक्तिको नाम नबताएकोले दिने व्यक्ति उपर कारवाही गर्ने अवस्था रहेन, निजले यो १९८४ को डिसेम्बर र जनवरीको बीच १ महिनामै क्यानडा र व्रिटिश पासपोर्ट गरी ५ पटक ओहोर दोहोर गरेको देखिन आएकोले निज यसरी अवैध कारोबारमा संलग्न भएको र पक्राउ परेको विदेशी मुद्रा काठमाडौंमै सटही गरी विदेश लिई जान लागेको देखिन आएकोले समेत निजले विदेशी विनिमय नियमति गर्ने ऐन, २०१९ को दफा ४ र ५ को विपरीत काम गरेको देखिन आएको छ । त्यसप्रकार निज पेटर जोनमिल्सलाई सो ऐनको दफा १७(१) बमोजिम सजायँ गर्न र बरामद भएको विदेशी विनिमय जफत हुन समेत अनुरोध गर्दै बरामद भएको यू.एस. डलर १९,२८५ समेत पेश गरेको छु भन्ने अर्थमन्त्रालय, राजश्व अनुसन्धान महाशाखाको मिति २०४१।१०।१७ को प्रतिवेदन ।
६. उक्त विदेशी मुद्रा मेरो हो, मैले क्यानडा, इङल्याण्ड र हङकङमा इलेक्ट्रिक इन्जिनीयर र शिक्षक भई कमाएको हुँ । सो विदेशी मुद्रा नेपालबाट हङकङ (जहाँ पनि) लिई जान लागेको हुँ । चोरीबाट बचाउन लुकाई लान लागेको हुँ, म सँग कुनै प्रमाण छैन । उक्त डलरको धनी प्रमाणित गर्न सम्भव छैन । यो डरल मैले डिक्लीयर गराएको छैन । यो डलर नेपालमा प्राप्त गरेको हैन, तर मैले कुनै यात्रुहरूसँग साटेको हुँ भनी प्र.पेटर जोनले एक सदस्यीय विशेष अदालतमा गरेको बयान ।
७. निज प्रतिवादीले वादी दावी अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ र ५ विपरीत विदेशी मुद्रा सटही कारोबार गरी नेपालबाट बाहिर लैजान लागेको देखिँदा निज प्रतिवादी पेटर जोनमिल्स के सोही ऐनको दफा १७(१) बमोजिम तजविजी रु. २,०००।– र बरामद भइआएको यू.एस.डलर १९,२८५ जफत हुने ठहर्छ भन्ने समेत व्यहोराको अञ्चलाधीश रहेको एक सदस्यीय विशेष अदालत मुकाम अञ्चलाधीशको कार्यालय वागमती अञ्चलको मिति २०४१।१०।१७ को फैसला ।
८. उपरोक्त त्रुटिपूर्ण फैसला उल्टी गरी मेरो जफत गरिएको यू.एस.डलर फिर्ता गर्ने समेत गरी वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको पेटरजोन मिल्सको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदन ।
९. कसूरदार ठहराई सजायँ गरेको एक सदस्यीय विशेष अदालतको फैसला मिलेको नदेखिँदा अ.बं. २०२ नं. र क्षेत्रीय अदालत नियमावली बमोजिम विपक्षी झिकाई अएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।१०।२८ को आदेश ।
१०. प्रतिवादीले कानुनद्वारा निषेध गरे अनुरुप विदेशी मुद्रा सटही गरेको प्रमाणित हुने भरपर्दो आधार केही छैन । विदेशी मुद्रा नदेखाएकोमा यो ऐनले यो कसूर गरेको भनी माग दावी गरिएको देखिँदैन । विदशी मुद्रा लिएर आउन जान ऐनले प्रतिबन्ध लगाइएको छ भनी दावीमा उल्लेख गर्न सकेको समेत देखिँदैन माग दावी नभएको कुरामा विचार गर्नै परेन । तसर्थः प्र.पेटरजोन मिल्सले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । एक सदस्यीय विशेष अदालतको इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।११।१५ गतेको फैसला ।
११. प्रतिवादीले सो मुद्रा विदेशमा कमाएको र निजले विदेशबाट ल्याएको भए ल्याउँदा प्रकाशित (डिक्लियर) गरेको पनि हुनुपर्ने अथवा ईजाजत प्राप्त निकायसँग नेपालमा सटही गरेको वा प्राप्त गरेको भए पनि विदेशी विनिमय नियमति गर्ने ऐन, २०१९ को दफा १७(३) बमोजिम प्रतिवादीले नै प्रमाण पेश गर्न सक्नु पर्नेमा उल्टो सटहीको प्रमाणको अभाव भएको भनी वादीबाट प्रमाण आउनु पर्ने भन्ने किसिमले म.क्षे.अ. बाट भएका कानुनी त्रुटिपूर्ण निर्णय बदर गर्न पुनरावेदनको अनुमति प्रदान भई माग दावी बमोजिम हुन अनुरोध छ भन्ने समेत व्यहोराको राजश्व अनुसन्धान महाशाखाका तर्फबाट यस अदालतमा पर्न आएको निवेदन ।
१२. प्रतिवादी पेटरजोनले लुकाई छिपाई लान लागेको यू.एस.डलर १९,२८५ भन्सारमा डिक्लियर समेत नगरेको, नेपालमा इजाजत प्राप्त व्यक्ति वा निकाय बाहेक अरुसँग मुद्रा सटही गरी लैजान लागेको भन्ने कुरा निजले एक सदस्यीय विशेष अदालत र राजश्व अनुसन्धान महाशाखामा गरेको बयानबाट देखिन्छ । आरोपित कसूरबाट सफाई पाउने ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा विदेशी विनिमय नियमति गर्ने ऐन, २०१९ को दफा ४, ५ को त्रुटी देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्चको मिति २०४२।१२।२१ को आदेश ।
१३. यसमा प्रतिवादीका नाउँको म्याद मुलुकी ऐन अदालती बन्दोवस्तको ११० नं. र ११२ नं. बमोजिम समेत म्याद तामेल गर्दा जो जे रीत पुर्याउनु पर्ने हो कानुन बमोजिम रीत पुर्याई म्याद सूचना तामेल गरी नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।६।५ को आदेश ।
१४. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस समेत सुनियो ।
१५. यसमा निर्णयतर्फ विचार गर्दा, विदेशी मुद्रा अभियुक्तको साथबाट बरामद भएको देखिएको यदि सो विदेशी मुद्रा निजले ईड्डल्याण्ड समेतबाट कमाई ल्याएको भए निज नेपालमा आउँदा सो मुद्रा आफ्नो साथमै लिई आएको थियो । भनी आफूले भरेका विवरण सहितको कुनै सबुद दिन नसक्नुको साथै सो विदेशी मुद्रा नेपालमै सटही गरिलिएको भनी अधिकार प्राप्त अदालत समक्ष समेत सावित भई बयान गरेको र निजले सो विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा (५)(२) मा व्यवस्था भए बमोजिमको रीत पुर्याई नेपाल बाहिर लान लागेको नदेखिई विभिन्न रुपमा लुकाई छिपाई लान लागेको समेत देखिन आएकोले निजले दावी बमोजिम अपराध नगरेको भन्न कानुनले मिल्ने नदेखिएकोले निजले शुरु इन्साफ बमोजिम विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ४ र ५ को अपराध गरेको ठहर्याउनु पर्नेमा सफाई पाउने ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको ईन्साफ गल्ती ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए अनुसार क्षे.अ.को इन्साफ उल्टी हुने ठहरकोले क्षे.अ.ले राख्ने गरेको लगत कायम नरहने हुँदा व्यहोरा जनाई कट्टा गरिदिनु भनी का.जि.अ.त.मा लेखि पठाउनु ....१
प्र. पेटरजोन मिल्सलाई शुरुले गर्ने गरेको जरिवाना असूल उपर भइसकेको मिसिलबाट देखिँदा केही गरिरहनु परेन......२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु.......३
उक्त रायमा म सहमत छु ।
न्या.रुद्र बहादुर सिंह
इतिसम्वत् २०४४ साल फागुन ५ गते रोज ४ शुभम् ।