निर्णय नं. ३३१७ - दर्ता बदर

निर्णय नं. ३३१७ ने.का.प. २०४४ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४४ सालको दे.पु.नं. ५०६
मुद्दा : दर्ता बदर ।
पुनरावेदक/वादी: जि.पाँचथर सुमाङ्ग गा.पं. वार्ड नं. ४ बस्ने मान बहादुर श्रेष्ठ ।
ऐ.ऐ शिवमान श्रेष्ठ ।
जिल्ला ताप्लेजुङ्ग भुकु भन्ज्याङ्ग गा.पं.वडा नं.८ बस्ने देवीभक्त श्रेष्ठ ।
ऐ.सिनाम गा.पं. वार्ड नं. ५ बस्ने नन्द कुमार श्रेष्ठ ।
विरुद्ध
विपक्षी/प्रतिवादी: जिल्ला ताप्लेजुङ्ग लिर्म्र्वादन गा.पं. वडा नं. ८ बस्ने थर्क नारायण श्रेष्ठ ।
फैसला भएको मिति: २०४४।११।१७ मा
बाबु मर्दा कुनै छोरा बाबुको सँग साथमा नरहेको पेश भइरहेको २०३३।१०।१५ को र २०३४।२।२७ को कागजहरूबाट मन बहादुर शिवलालको आफ्नो आफ्नो अंश भाग जग्गा बुझी छोडपत्र गरिदिएको सम्म देखिएकोले बाबु मर्दासँग साथमा बसेको नदेखिएको प्रतिवादीले बाबुको जिउनी एकलौटी दर्ता गराएको अपुतालीको ३ नं. बमोजिम नभई सबै भाइले खान पाउने ।
(प्रकरण नं. १२)
पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
प्रत्यर्थी,प्रतिवादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः मुद्दाको संक्षिप्त तथ्य यसप्रकार देखिन्छ ।
२. हामीलाई बाबुकै पालामा दिनु भएको बण्डा बमोजिमको सम्पत्ति आ–आफूबाट भोग गरी आएका, बाबु आमाको मृत्यु हुँदा सामूहिक तवरले दर्खास्त गरेका, बाबु आमाको जिउनी, बाजे मनबहादुर दर्ता, बाबुकै बन्धकी लिएको खेत समेत ३ किल्ला जग्गामा विपक्षी र हामी फिरादीबाट तिरो बराबर तिरी भोगी आएकोमा तालुकदार सुब्बाप्रसाद सिं सँग मिली बीचमा नम्बरी दर्ता गरी दिने सु.प्रसाद सिं मोही दर्ता हुने, यिनै विपक्षीले तिरो तिर्ने गरी नम्बरीमा दर्ता गरेको जग्गा मध्येबाट हामी फिरादीहरूको ४ खण्ड भागको जग्गाको दर्ता बदर गरिपाउँ भन्ने फिराद ।
३. वादी दावी बमोजिमको जग्गामा फिरादीहरूको हक लाग्ने होइन वादीहरूबाट बाबु आमाको दर्खास्तमा खर्च कमाएको पनि छैन । वादी दावीको चार किल्ला भित्रको घरबारीमा पानी पुग्ने हुँदा बारी काटी खेत बनाई सु.मोहन लालप्रसाद सिं जिम्मा मेरो नाममा दर्ता गरे गराएको हुँ। मेरो हकको जग्गा हुँदा दावी बमोजिम दर्ता बदर हुने होइन भन्ने प्रतिवादी ।
४. विवादित जग्गामा प्रतिवादीले गराएको नम्बरी दर्ता फिरादीहरूको पनि हक लाग्ने देखिएको हुँदा दावी बमोजिम ४ भाग दर्ता बदर हुने ठहर्छ भन्ने शुरु ताप्लेजुङ जिल्ला अदालतको फैसला ।
५. शुरु जिल्ला अदालतबाट भएको फैसला उपर चित्त बुझेन, प्रतिउत्तर जिकिर बमोजिम गरिपाउँ भन्ने थर्कनारायण श्रेष्ठको पुनरावेदन ।
६. शुरु ताप्लेजुङ जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने मेची अञ्चल अदालतबाट भएको पुनरावेदन फैसला ।
७. शुरु अदालत र मेची अञ्चल अदालतको इन्साफ प्रत्यक्ष कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी पाउन पुनरावेदनको अनुमति पाउँ भन्ने थर्कनारायण श्रेष्ठको निवेदन परी प्रत्यक्ष गम्भीर कानुनी त्रुटीको आधारमा अनुमति प्रदान गरिएको छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश ।
८. बाबु आमाको जिउनी जग्गा थर्कनारायणले भोगी खाएको अपुतालीको ६ नं. बमोजिम बाबु आमाको लालन पालन गरी काज कृया समेत गरेको आधारमा जिउनी जग्गामा प्रतिवादीको हक पुग्ने देखिएको हुँदा प्रतिवादीले गराएको दर्ता बदर गराउने हक वादीहरूलाई नहुने अवस्थामा दर्ता बदर हुने ठहरी गरेको शुरु जिल्ला अदालतको फैसला सदर गर्ने गरेको मेची अञ्चल अदालतको निर्णय समेत बदर हुने ठहर्छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
९. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा प्रत्यक्षत गम्भीर कानुनी त्रुटी विद्यमान भएको देखिन्छ सो फैसला चित्त बुझेन फैसला बदर गरी पाउन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीहरूबाट पर्न आएको अनुमति निवेदनमा अंशबण्डा भएपछि प्रतिवादीले बाबुसँग अंश मिसाई बसेको प्रमाण नभएको, यस्तो स्थितिमा जिउनी जग्गामा सबै छोराहरूको समान हक हुनेमा थर्क नारायणको मात्र हक कायम हुने गरेको क्षेत्रीय अदालतको इन्साफमा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटी विद्यमान रहेको देखिएको प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०४३।२।३०।१ को आदेश ।
१०. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठको बहस समेत सुनियो ।
११. यसमा पू.क्षे.अ.को इन्साफ मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
१२. निर्णयतर्फ विचार गर्दा यसमा वादी प्रतिवादीहरूको बीच २०२१।९।१३ गते भएको घरायसी बण्डापत्र र जेठो नन्दकुमार साहिलो देवीभक्तको २०२१।९।१७ को भर्पाईबाट निजहरू सोही अवस्था छुट्टी भिन्न भई अरु ३ भाइको अंश बाबु धनलालको जिम्मा रहेकोमा काहिलो मान बहादुरले आफ्नो बाबु जिम्मा रहेको अंश भाग २०२९।१२।२४ गतेमा बुझी अलग भएको र वादी माइलो थर्कनारायण र कान्छो शिवलालले पनि बाबु जिम्मा रहेको आफ्नो आफ्नो अंश भाग २०३०।१०।२८ मा बुझी भिन्न भएको, यिनै प्र.थर्कनारायणले पेश गरेको सोही मितिको सक्कल कागजहरूबाट देखिन आएको २०३४।४।२७ मा बाबु मर्दा कुनै छोरा बाबुको सँग साथमा नरहेको, पेश भइरहेको २०३३।१०।१५ को र २०३४।२।२७ को कागजहरूबाट मनबहादुर र शिवलालको आफ्नो आफ्नो अंश भाग जग्गा बुझी छोडपत्र गरी दिएकोसम्म देखिएकोले बाबु मर्दा सँग साथमा बसेको नदेखिएको प्रतिवादीले बाबुको जिउनी एकलौटी दर्ता गराएको अपुतालीको ३ नं. बमोजिम नभई सबै भाइले खान पाउने हुँदा शुरु जि.अ.को इन्साफ सदर गरेको मेची अं.अ.को फैसला मनासिब देखिएकोले सो बदर गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ.को इन्साफ उल्टी हुने ठहरेकोले उक्त पू.क्षे.अ.को मिति २०४२।१२।१३ का फैसला बमोजिमको लगत कायम राख्न परेन कट्टा गरी शुरु ताप्लेजुङ जि.अ.को फैसला बमोजिमको लगत कायम राख्नु भनी ताप्लेजुङ जि.अ.मा लेखि पठाउन का.जि.अ.त.मा लेखि पठाई दिनु...१
पुरावेदक वादीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. १।५० प्रतिवादी थर्कनारायणबाट भरी पाउँ भनी ऐनक म्यादभित्र दर्खास्त दिए कानुन बमोजिम गरी निजहरूलाई बराबरका दरले भराई दिनु भनी ऐ.मा ऐ. ऐ......१
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ....१
उक्त रायमा म सहमत छु ।
न्या.रुद्र बहादुर सिंह
इतिसम्वत् २०४४ साल फागुन १७ गते रोज शुभम् ।