निर्णय नं. १४२७ - अंश

निर्णय नं. १४२७ ने.का.प. २०३८ अङ्क १
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३७ सालको दे.फु.नं. २८
फैसला भएको मिति : २०३८।१।१९।६ मा
निवेदक : चितवन पिपले गा.पं.वा.नं. ८ बस्ने टिकाराम श्रेष्ठको मु.स.गर्ने जि.मकवानपुर ज्यामीरे गा.पं. वडा नं. २ मनहरी बजार बस्ने गंगाराम श्रेष्ठसमेत
विरुद्ध
विपक्षी : जि. मकवानपुर हेटौंडा नगरपञ्चायत वार्ड नं. १० बस्ने मोहनमाया श्रेष्ठको मु. सकार गर्ने ऐ ऐ बस्ने शमशेर श्रेष्ठ
मुद्दा : अंश
(१) प्रतिवादी र वादीको छोराले बिक्री गरेको लिखतको व्यवहार प्रमाणबाट अंशबण्डा भएको छैन भनी भन्न ठहराउन संशोधित वर्तमान अंशबण्डाको ३० नं. ले नमिल्ने हुँदा वादीले प्रतिवादीबाट अंश नपाउने ठहराएको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री केदारचरण राय
फैसला
न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक टिकाराम श्रेष्ठ समेतले दिएको निवेदनमा भएको न्यायिक समितिका सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएका हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकार छ : ससुरा बालकृष्णका छोरा जेठा मेरो लोग्ने गोविन्द, माहिला काले भन्ने कृष्णकुमार र टिकारामको बाबु उत्तरकुमार, साहिला भगत श्रेष्ठ कान्छा, कान्छा भाइ समेत ४ छोरा भएको मेरा पति ९३ सालमा माहिला ९१ सालमा कान्छा ९२ सालमा परलोक भएको । साहिला विदेश गएको हल्लासम्म फर्की नआएको र निजको सन्तान पनि कोही नभएको । २०१९ साल वैशाख देखि विपक्षीहरूसँग मानु छुट्टी बसेको आजसम्म अंश सगोलमा नै रहेकोले २०१८ साल चैत्रसम्मको श्रीसम्पत्तिको तायदाती विपक्षीहरू बाट लिई ४ बण्डा गरी मेरो एक भाग अंश छुट्याई पाउँ भन्ने वादी मोहनमायाको फिरादपत्र ।
३. मेरो ससुरा छँदै ३६ वर्ष अगावै वादीको लोग्नेले अंशबण्डा छुटयाई वस्नु भएको भन्ने सुनेको हुँ । सासू जगतमाया लोग्ने कृष्णकुमार, देव टिकारामको पनि २०११।९।१६ मा अंशबण्डा भई छुट्टी बसेको र मेरो दाइजोबाट खरीद गरेको जग्गासमेत खान सकुँला कि भनी झुठ्ठा उजूर गरेको हो भन्ने प्र.पञ्चमायाको प्रतिउत्तर ।
४. वादीलाई अंश दिनुपर्ने बाँकी छैन वादीका लोग्ने गोविन्द हाम्रा बाबु छँदै अंशबण्डा लिई छुट्टी सकेकाले पछि आर्जेको हाम्रो सम्पत्ति समेत खानाका लागि झुठ्ठा दावी लिई नालेस गरेकी हुन भन्ने प्र.भरतलाल श्रेष्ठको प्रतिउत्तर ।
५. फिरादमा उल्लेख गरे बमोजिम ०१९ साल वैशाखदेखि मात्र चुलो छुट्याई खाई आएको हुँदा ४ बण्डा लगाई ऐनले मिल्ने भए बाबुको १ भागबाट ३ खण्डको १ खण्ड मेरो भाग छुट्याई पाउँ भन्ने प्र.विश्वराजको प्रतिउत्तर ।
६. विपक्षीलाई मैले अंश दिनुपर्ने छैन विपक्षीको लोग्ने र म समेत अघि नै बाबु छँदै अंश भई छुट्टिएको हुँदा पछि मैले आर्जेको सम्पत्ति खान झुठ्ठा नालेस गरेको हो भन्ने प्र.टिकाराम श्रेष्ठको प्रतिउत्तर ।
७. प्र.कृष्णकुमारले गुणराजलाई २०१६।१।२३ गते घरसारमा र ऐ कार्तिक ३ गते मकवानपुर मालबाट पास गरी दिएको राजीनामामा म साक्षी बसी सहिछाप गरी दिएको हो भन्ने विश्वराजको बयान ।
८. वादी प्रतिवादीहरूले आफ्नो–आफ्नो खती उपती गर्दै आएको देखिन्छ, यस्तो अवस्थामा पहिलेको व्यवहारलाई उल्टाई वादी दावी बमोजिम गर्ने हो भने सामाजिक व्यवस्था नै टहस महस हुन जाने स्पष्ट छ । तसर्थ वादी दावी बमोजिम अंश नपाउने ठहर्न भन्ने समेत मकवानपुर जिल्ला अदालतको फैसला ।
९. उक्त फैसलामा चित्त बुझेन भन्ने मोहनमायाको र विश्वराजको पुनरावेदन ।
१०. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय हुँदा वादीको लाग्ने प्रतिवादीहरूको बाबुका समयमा जग्गा छुट्याई आफ्नु–आफ्नु नाउँमा दर्ता गरी भोगी आएको मिसिलबाट प्रष्ट झल्किन आउँछ । वादी प्रतिवादीका बीच अलग–अलग भई बिक्री व्यवहार भएको र तह तह भई जग्गा जग्गा सुक्री बिक्री गरी अर्काको हकभोग कायम भइसकेकोलाई आघात पर्ने र खल्बल्याउने गर्नु न्यायोचित नदेखिनाले अंश नपाउने ठहर्याएको शुरू मकवानपुर जिल्ला अदालतको फैसला मनासिव छ । सहयोगी मा.न्या. श्री रुद्रबहादुर सिंहको रायसँग सहमत नहुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ (संशोधन सहित) को दफा १४ बमोजिम प्रस्तुत मुद्दा तेस्रो बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय ।
११. रजिष्ट्रेशन पारित भएको बण्डापत्र दाखिल गर्न नसकेको हुँदा वादीले अंश पाइसकेको भन्ने प्रतिवादीको जिकिर पुग्न नसक्ने हुँदा वादीले अंश पाउने देखिन आयो ३६ वर्ष भन्दा अगावै छुट्टी बेगल भएको भन्ने कृष्णकुमार समेतको प्रतिउत्तरमा जिकिर लिएको देखिन्छ । ९३ सालको नापीमा नावालख काले र टिकारामको नाममा जग्गा दर्ता भएको भन्ने कुरा फिरादपत्र र प्रतिउत्तरपत्र समेतबाट देखिन आयो । मानु नछुट्टिएको भए नावालकको नाममा जग्गा दर्ता हुन नपर्ने हुँदा ९३ सालमा नै वादी चुलो मानु छुट्टिएको मिति कायम गर्नु पर्ने हुन आयो फिराद परेको अघिल्लो दिन मानु छुटाएको मिति कायम गरेको कानूनसंगत देखिन आएन, अतः ९३ साल चैत्र मसान्तमा मानु छुट्टिएको मिति कायम गरी तायदाती लिई कारवाही गर्नुपर्ने देखिन आएकोमा सहयोगी माननीय न्यायाधीशसँग राय नमिलेको हुँदा तेस्रो न्यायाधीश समक्ष पेश गर्नु भन्ने माननीय न्यायाधीशको श्री रुद्रबहादुर सिंहको राय ।
१२. वादी अंशियार हुन् भन्ने कुरा प्रतिवादीहरू स्वीकार गरेको देखिन्छ । वादीले अंश पाई सकेको अथवा अंश हक छोडेको कानूनी रीत पुगेको लिखत प्रतिवादीले कुनै दिनसकेको देखिँदैन, केवल ३५।३६ वर्ष अगावै भिन्न भइसकेकोले अंश दिनु नपर्ने भन्ने सम्म जिकिर गरेको देखिन्छ वादीले अंश पाइसकेको भन्ने कानूनी रीत पुगेको अंशबण्डाको लिखतको अभावमा अंशियार मध्येका काले र टिकारामका नाउँमा जग्गा दर्ता भएकै आधारमा मात्र वादीले अंश लिई सकेको भन्न नमिल्ने हुनाले वादीले अंश पाई सकेको ठहर्याएको मा.न्या. श्री महेशरामभक्त माथेमाको रायमा सहमत हुन सकिएन । अब प्रतिवादीहरू कुन मितिमा मानु छुट्टिएको भन्ने ३५।३६ वर्ष अगावै भिन्न भइसकेको भन्ने प्रतिवादीको जिकिर भएपनि दुवै पक्षको केवल मुख भनाईसम्म देखिन्छ । त्यस कुराको लिखत सबूत प्रमाण केही पनि पेश दाखिल भएको पाइँदैन । यस स्थितिमा मानु छुट्टिएको मिति कहिले कायम हुने हो त भनी हेरिएमा लिखत प्रमाण केही नभएको वादी प्रतिवादीको मुख पनि नमिलेको अवस्थामा फिराद परेको दिनलाई मानु छुट्टिएको मिति कायम गर्ने सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त अनुसार वादी दर्ता भएको मिति २०२८।२।२३।१ नै वादी प्रतिवादी मानु छुट्टिएको मिति कायम हुने देखिन्छ । ३६ वर्ष अगावै छुट्टिएको पनि प्रतिउत्तरमा जिकिर लिएको र नावालख अवस्थामा अंशियार मध्येका काले र टिकारामको नाउँमा ९३ सालमा जग्गा दर्ता भएकोले १९९३ साल चैत्र मसान्तमा मानो छुट्टिएको मिति कायम गर्ने भन्ने मा.न्या. श्री रुद्रबहादुर सिंहको रायतर्फ सगोलको सम्पत्तिमा जहिले जसको नाममा पनि जग्गा दर्ता हुनसक्ने हुनाले खास अंश मानु छुट्टिएको कानूनबमोजिमको लिखत सबूतको अभावमा त्यसो भन्न नमिल्ने देखिएकोले उहाँको रायमा पनि सहमत हुन सकिएन । अतः प्रस्तुत मुद्दामा फिराद परेको मिति २०२८।२।२३।१ मा मानु छुट्टिएको मिति कायम हुने र सो भन्दा अघिल्ला दिनसम्मको वादी प्रतिवादी दुवैले दिएको तायदातीमा उल्लिखित बिगो रु.१६,९००।– को ४ भागको १ भाग बिगो रू.४२२५।– को श्रीसम्पत्ति वादीले अंश पाउने ठहर्छ । ऋणको हकमा साहुहरूको उजूर परेकाबखत ठहरेबमोजिम हुने हुँदा यसमा उल्लेख गरी रहन परेन । डिभिजन बेञ्चका दुवै जना माननीय न्यायाधीशज्यूहरूको विभिन्न रायमा सहमत नभई बहुमत कायम नभएकाले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १४(२) अनुसार सर्वोच्च अदालतमा पठाउने र सर्वोच्च अदालतबाट प्रस्तुत राय सदर भई आए बमोजिम गर्ने भन्ने समेत २०३४।५।५ को मध्यमाञ्चल क्षेत्रीय अदालतका माननीय न्यायाधीश श्री तेजप्रसाद धितालको राय।
१३. मुलुकी ऐन अंशबण्डाको महलको तत्काल प्रचलित ३० नं. मा अंशबण्डा गर्दा साक्षी राखी कानूनबमोजिम बण्डा छुट्याई बण्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहिछाप गरी रजिष्ट्रेशन गर्नु पर्नेमा सो समेत गरी राख्नु पर्छ सो बमोजिम नभएको बण्डा सदर हुँदैन भन्ने व्यवस्था भएको पाइन्छ, यस स्थितिमा बण्डापत्रको अभावमा वादी प्रतिवादीहरूका बीच बण्डा भएको कायम गर्न नमिल्ने भएको र मानो छुट्टिएको मितिका सम्बन्धमा यस अदालतबाट प्रतिपादित सिद्धान्त अनुसार रीतपूर्वकको लिखत नभएको र वादी प्रतिवादीको मुख नमिलेकोमा मुद्दा परेको अघिल्लो दिन मानु छुट्टिएको मिति कायम गर्नु पर्ने हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतका माननीय न्यायाधीश श्री तेजप्रसाद धितालको राय मानसिब छ । कानूनबमोजिम बाँकी कार्य सम्पादन गर्न मिसिल म.क्षे.अ.मा पठाई दिनु भन्ने डिभिजन बेञ्चबाट ०३६।२।९ मा निर्णय भएको रहेछ ।
१४. प्रस्तुत मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी साथ संलग्न न्यायिक समितिको सिफारिश पर्चामा सर्वोच्च अदालतबाट प्रस्तुत मुद्दा किनारा हुँदाको समय संशोधित अंशबण्डाको ३० नं. लागू भइसकेकोले सोही ऐनले गरेको व्यवस्थालाई ध्यानमा राखी प्रस्तुत मुद्दा निर्णय हुनु पर्नुपर्ने उक्त संशोधित ऐन अनुसार वादी प्रतिवादीका बीच भएको दर्ता व्यवहारबाट अंशबण्डा भइसकेको कायम गर्नु पर्नेमा सो नगरी रजिष्ट्रेशन पारित बण्डापत्रको अभावमा बण्डा भएको कायम गर्न नमिल्ने भनी निर्णय भएबाट उक्त संशोधित नं. ३० को विपरीत निर्णय भएको छ भन्ने समेत उल्लेख भएको रहेछ ।
१५. निवेदक प्रतिवादी टिकाराम समेतका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले वादी प्रतिवादीहरूले आफ्ना–आफ्ना नाउँमा दर्ता गरेको र आफ्नो हकको जग्गा बिक्री समेत गरी आएकोले ९१ सालमै अंश भइसकेको छ भन्ने विपक्षी वादी मोहनमायाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री केदारचरण रायले यसको भागमा यति यति सम्पत्ति परेको छ भनी देखाउन सकेको छैन त्यसकारण अघि बण्डा भइसकेको भन्ने कायम गर्न नमिल्ने भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
१६. यसमा निर्णयतर्फ विचार गर्दा अंश पाउँ भन्ने वादी मोहनमायाको दावी भएकोमा बण्डापत्रको अभावमा वादी प्रतिवादीको बीच बण्डा भएको कायम गर्न नमिल्ने भन्ने समेत डिभिजन बेञ्चबाट ०३६।२।९ मा निर्णय भएको रहेछ ।
१७. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट निर्णय हुँदाका बखत लागू भएको संशोधित मुलुकी ऐन अंशबण्डाको ३० नं. मा ....तर यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो–आफ्नो हिसाब माग शान्ति बमोजिम लिई पाई दाखिला खारेज समेत गराइसकेको वा बण्डा बमोजिम आफ्नो–आफ्नो मागको अचल छुट्टा–छुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ भन्ने उल्लेख भएबाट आ–आफ्नो भागको अचल छुट्टा–छुट्टै भोग बिक्री व्यवहार गरेको व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुने कानूनी व्यवस्था भएको प्रष्टै छ ।
१८. प्रतिवादी टिकाराम श्रेष्ठले रघुवीर कलवारलाई २०१२।१।४ मा रजिष्ट्रेशन पारित गरी जग्गा बिक्री गरी दिएको लिखतमा मेरो हक भोगको मेरो अंश भागमा परेको भन्ने उल्लेख गरी बिक्री गरेकोमा ऋणीको दाजु प्रतिवादी काले भन्ने र भाइ भरत श्रेष्ठ समेत साक्षी बसेको र प्रतिवादी काले भन्ने कृष्णकुमार श्रेष्ठले गुणराज पाठकलाई घर जमीन राजीनामा गरी ०१६।७।३ मा पारित गरी दिएको राजीनामामा मेरो अंश भागमा परी मेरो नाउँमा नम्बरी दर्ता भएको भन्ने उल्लेख गरेको र वादीको छोरा विश्वराज श्रेष्ठ साक्षी बसेको देखिएको यिनै वादीको छोरा विश्वराज श्रेष्ठले सिद्धिदासलाई ०७।५।२।६ मा रजिष्ट्रेशन पारित गरी घर जग्गा फार्छे गरी दिएको लिखतमा बाबु गोविन्दलालको नाउँमा दर्ता भई हाल मेरा नाउँमा दर्ता भएको भन्ने उल्लेख गरी फार्छे गरी दिएको र सो फार्छेमा निज आसामीको भाइ लछुमन श्रेष्ठ साक्षी बसेको समेत देखिएको छ ।
१९. उपरोक्त लेखिएबमोजिम प्रतिवादी काले भन्ने कृष्णकुमार श्रेष्ठले मेरो अंश भागमा परी मेरो नाउँमा दर्ता भएको भनी घर जग्गा बिक्री गरेकोमा वादी छोरा विश्वराज साक्षी बसेको र मेरो अंश भागमा परेको मेरो हक भोगको भनी प्र.टिकाराम श्रेष्ठले पनि जग्गा बिक्री गरेको वादीकै छोरा विश्वराजले बाबु गोविन्दलालको नाउँमा दर्ता भई हाल मेरो नाउँमा दर्ता भएको भनी घर जग्गा बिक्री गरी दिएको समेतका उपरोक्त प्रतिवादी र वादीको छोराले बिक्री गरेको लिखतको व्यवहार प्रमाणबाट अंशबण्डा भएको छैन भनी भन्न ठहराउन उक्त संशोधित वर्तमान अंशबण्डाको ३० नं. ले नमिल्ने हुँदा वादीले प्रतिवादीबाट अंश नपाउने ठहराएको शुरू मकवानपुर जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको मा.न्या. श्री महेशरामभक्त माथेमाको राय मनासिव ठहर्छ बण्डा भएको कायम गर्न नमिल्ने र मध्यमाञ्चल क्षेत्रीय अदालतको माननीय न्यायाधीश श्री तेजप्रसाद धितालको राय मनासिव छ भन्ने डिभिजन बेञ्चको ०३६।२।९ को निर्णय मिलेको देखिएन । तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।
तपसील
मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३४।५।५ को फैसलाले सर्वोच्च अदालतबाट राय सदर भई आएपछि लगत दिने गरेको र सो लगत दिन बाँकी नदेखिएको हुँदा हाल सो बमोजिम लगत दिन परेन......................१
प्रतिवादी देहायका मानिसके निजहरूले मुद्दा दोहराए बापत राखेको कोर्टफी रू.१८।९० वादी मोहनमायाको मुद्दा सकार गर्ने शमशेर श्रेष्ठबाट भरी पाउने हुँदा भरी पाउँ भनी वादीको जायजात देखाई कोर्टफी ऐनको म्याद ३ वर्षभित्र देहायका प्रतिवादीको दरखास्त परे दस्तुर केही नलिई वादी मोहनमायाको मु.स.गर्ने शमशेर श्रेष्ठबाट देहायको प्रतिवादीलाई बराबरको दरले भराई दिनु भनी मकवानपुर जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिने.................... २
टिकारामको मु.स.गर्ने गंगाराम श्रेष्ठ १, भरतलाल श्रेष्ठ १, काले भन्ने कृष्णकुमार श्रेष्ठ १, पञ्चमाया श्रेष्ठ १
हामीहरूको सहमत छ ।
प्र.न्या. नयनबहादुर खत्री
न्या. हेरम्बराज
इति सम्वत् २०३८ साल बैशाख १९ गते रोज ६ शुभम् ।