शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४३० - उत्प्रेषण

भाग: २३ साल: २०३८ महिना: बैशाख अंक:

निर्णय नं. १४३०   ने.का.प. २०३८         अङ्क १

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

सम्वत् २०३७ साल को रि.फु.नं. ५४

आदेश भएको मिति :  २०३८।१।१९।६ मा

निवेदक : जिल्ला पर्सा गा.पं.तुल्सी वर्वा वार्ड नं. ४ बस्ने कैलास भारती

विरुद्ध

प्रत्यर्थी : भू.सु. कार्यालय पर्साको भू.सु.अ. भक्तेन्द्रध्वज सिलवालसमेत

विषय : उत्प्रेषण

(१) डिभिजन बेञ्चबाट एउटा कानूनी सिद्धान्त प्रतिपादित हुन्छ र सोही कानूनी प्रश्नमा अर्को डिभिजन बेञ्चले अर्को कानूनी सिद्धान्तमा निर्णय गर्छ भने सो अवस्थामा रुलिङ्ग बाझिएको हुन्छ । तर प्रस्तुत मुद्दामा एकासगोलमा रहेका दाजु भाइको बीचमा दाजु जग्गाधनी र भाइ मोही हुन नसक्ने भनी मोहीको नाम कट्टा गर्ने गरेको निर्णय उपर परेको रिट निवेदन डिभिजन बेञ्चले खारेज गरेको छ उक्त रुलिङ्ग बाझियो भनेको मुद्दामा बाबु छोराको बीच अंश छोडपत्र भइसकेको र बेगल परिवार देखिएको भन्दै रिट जारी गर्ने भन्ने निर्णय भएको हुँदा कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी निर्णय भएको देखिँदैन यस्तो स्थितिमा सो निर्णयसँग प्रस्तुत मुद्दाको रुलिङ्ग बाझिएको छ भन्न नमिल्ने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

आदेश

       न्या. बासुदेव शर्मा : निवेदक मनोहर शमशेर ज.ब.रा.विपक्षी भूमि प्रशासक, काठमाडौं समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा डिभिजन बेञ्चबाट ०३१।९।१९।६ मा भएको निर्णयसँग प्रस्तुत मुद्दाको डिभिजन बेञ्चबाट भएको निर्णयको रुलिङ्ग बाझिएकोले फुल बेञ्चमा पेश गरिपाउँ भन्ने निवेदकको निवेदन परेकोमा रुलिङ्ग बाझिन गएको देखिएबाट फुल बेञ्चमा पेश गर्नुभन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूबाट भएको आदेशानुसार निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको छ ।

       २. मुद्दाको तथ्य र निवेदन जिकिर यस प्रकार छ : पर्सा जिल्ला उल्सीवर्वा गा.पं. वडा नं. २ को साविक कि.नं. ८२ को हाल कित्ता नं. १६३,१६४ जग्गा विगाहा ४० को साविक देखि नै म मोही र जग्गाधनी प्रसाद भारती थिएँ । प्रसाद भारतीबाट सुक्री बिक्री गरी व्यास भारती धनी हुन आए व्यास भारतीले बिक्री गरी विपक्षी देवेन्द्रनाथ तिवारीलाई दिए । यसरी तीन जना जग्गाधनीको समय देखि म विधिवत मोही भएको हुँ । भू.सं.ऐन, २०२१ उक्त जिल्लामा लागू भएपछि उक्त ऐन र नियमले निर्दिष्ट गरे बमोजिम मोही भएको प्रमाण भू.सु.कार्यालयमा छ र मोहियानीहकको स्थायी प्रमाणपत्र प्राप्त गरी सकेको छु । यसरी म उक्त जग्गा विगाहा ४ को मोही भएको कुरा निर्विवाद छ । मिति २०३४ साल पौषमा विपक्षी देवेन्द्रनाथ तिवारीले भू.सु.का पर्सामा उक्त ४० विगाहा मध्ये २० विगाहा मेरो नाउँमा मोहियानी कट्टा गरिपाउँ भनी निवेदन दिएकोमा कारवाई हुँदा सगोलका दाजुभाइ भई हकवालाको हैसियतले तमसुकमा सही गरेकोले भू.सं.ऐन, २०२१ को परिच्छेद १ को दफा २(क) को देहाय ३ मा जग्गावालाको हकवाला वा अंशियारको नाताले वा त्यस्तो जग्गावालाले कानूनबमोजिम हकछोडी दिएको सो जग्गा आफ्नो नाउँमा दर्ता गराउने हक पुगेको व्यक्ति भन्ने ऐनमा व्यवस्था भएकोले जग्गावाला भएका हैसियतले मोहीले कमाएको देखिएकोले उक्त ऐनको दफा १ र २ मा पनि मोही हुने व्यक्ति जग्गावाला नहुने हुँदा उक्त दफा २(क) को देहाय ३ बमोजिम कि.नं. ८२ को ज.बि.४ मध्ये हाल कि.नं. १६३ को ज.बि.२० को मोहियानी कट्टा गरी जग्गाधनी वादी देवेन्द्र तिवारीको नाउँमा जोत कायम गरी दिने ठहर्छ भनी ०३५।६।४ मा भू.प्र. ज्यूले फैसला गर्नुभयो भन्ने निवेदन ।

       ३. उक्त फैसला भूमिसम्बन्धी ऐनले गरेको व्यवस्थाको विपरीत भयो भन्ने निम्नलिखित निवेदन जिकिर ।

       ४. जग्गावालाको हैसियतले मोही भएको भन्ने जहाँ सम्म तर्क छ म जग्गावाला नभएको प्रष्ट देख्दा देख्दै सो हैसियतले कमाएको भन्न मिल्दैन साविक देखिन म उक्त जग्गा विगाहा ४० को मोही छु, जग्गाधनी परिवर्तन हुँदैमा मोही पनि परिवर्तन हुन्छ भन्ने ऐनले व्यवस्था गरेको छैन । म साविक देखि नै मोही भएकोले मेरो मोहियानी हक सुरक्षित छ । जग्गाधनी देवेन्द्रनाथ हुँदैमा मेरो मोहियानी हक समाप्त हुने होइन । साक्षीको हैसियतले तमसुकमा सही गर्दैमा मेरो मोहियानी हक पनि हस्तान्तरण हुने होइन जग्गाधनीको हैसियतले म उक्त जग्गाको मोही हुन गएको होइन भन्ने कुरा प्रमाणबाट देखिने हुँदा हकवाला भएको नाताले मेरो मोहियानी रहन्न भन्न कानून विपरीत छ, र व्यास भारतीले उक्त जग्गा राजीनामा गर्दैमा मेरो पनि मोहियानीहकको राजीनामा हुन गयो भन्नमिलेन । विधिकर्ताले मोही र जग्गाधनीलाई पृथकपृथक गरेको छ, भू.सुं ऐन, २०२१ ले मोहियानी हकलाई विशेष सुरक्षित गरेको छ । भू.सं.ऐन, २०२१ को दफा २६ (क) बमोजिम प्रचलित जे सुकै लेखिएको भए तापनि हक खरीद गर्न वा दान दातव्यको रूपमा वा अरू किसिमले हक छोडाई लिन पाउने छैन र सरकारी वा गैर सरकारी बिगो वा सजायमा लिलाम बिक्री हुने छैन भन्ने विधिकर्ताले विशेष सुरक्षित गरेको हुँदा लेनदेन व्यवहार बमोजिम किन बेचेको सिलसिलामा जग्गाधनीले राजीनामा गर्दैमा साक्षीको हैसियतले मैले दस्तखत गर्दैमा मोहियानी हक जाने होइन भनी उक्त दफाले स्पष्ट गरेको छ । भू.सं.ऐन, २०२१ को परिच्छेद ७ को दफा २५ ले म मोही भएको जग्गाधनी नभएको हुँदा हुँदै हकवालाको हैसियतले हकको कुरा उठाई विशेष व्यवस्थाले सिर्जना गरेको मेरो मोहियानीहकलाई समाप्त गर्न भू.सु.ऐनमा व्यवस्था छैन । यस सन्दर्भमा मेरो मोही हक समाप्त गरी जग्गाधनीलाई मोही कायम गरेको मिलेको छैन । मिति ०३२ साल भाद्र ७ गते रजिष्ट्रेशन पारित राजीनामामा म निवेदक कैलाश भारती मोही भएको कुरा उल्लेख गरिएको हुँदा राजीनामाबाट जग्गा प्राप्त गर्ने विपक्षी देवेन्द्रनाथ तिवारीलाई जानकारी नभएको होइन उक्त राजीनामाले म मोही हो भन्ने स्वीकार गरेको छ । उक्त राजीनामा साक्षीको हैसियतले दस्तखत गर्दैमा मेरो मोहियानी हक कुन कानूनले लोप हुने हो सो उल्लेख निर्णय कर्ताले गर्न सक्नु नभएबाट कानूनको अभावमा हचुवा निर्णय गरी मेरो हकमा आघात पर्न गयो भन्ने समेतको निवेदन जिकिर । विपक्षीहरू बाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने ०३५।८।७।४ को डिभिजन बेञ्चको आदेश ।

       ५. पर्सा जिल्ला अदालतको मिति ०३१।८।१।२ को फैसला बमोजिम मिति ०३२।२।२५ मा प्रसाद भारतीले व्यास भारतीलाई पास गरी दिएको राजीनामा लिखतमा तुल्सी वर्वा वा.पं वार्ड नं. २ को विभिन्न कित्ता नं. को जग्गा उल्लेख भएको त्यसैमा कि.नं. ८२ को जग्गा विगाहा ४० पनि उल्लेख भइरहेकोले प्रसाद भारतीले व्यास भारतीलाई उक्त कि.नं. ८२ को जग्गाको मोही नभई जोतपोत प्रसाद भारतीको नै भएको प्रसाद भारतीको पालादेखि नै विपक्षी मोही भएको भन्ने जिकिर सरासर गलत छ । विपक्षको प्रसाद भारतीको पालादेखि नै उक्त जग्गा मोहीया कमाएको भन्ने भनाई छ, सो जग्गा प्रसाद भारतीबाट राजीनामा गरी दिएको अवस्था सम्म अर्थात ०३२।२।२५ सम्म उक्त जग्गामा मोही नभएको स्पष्ट छ । त्यसपछि व्यास भारतीबाट मोहीमा कमाउन लिएको भए भू.सं.ऐन, २०२१ को दफा २५ (२) तथा ३४ बमोजिम कबुलीयत भए गरेको हुनु पर्नेमा त्यस्तो कबुलीयत भए गरेको वा पेश गरेको देखिँदैन मोहियानी हक प्राप्त गर्न भू.सू.ऐनको दफा ३४(१) बमोजिम लिखत कबुलीयत गरी वा वार्षिक उब्जनीको एक बाली सम्म कमाएको हुनुपर्ने कानूनी व्यवस्था भएको, जग्गावालासँग कुनै लिखत कबुलीयत नगरी मोहियानी हक को स्थायी प्रमाणपूर्जा पाएको नाताले मात्र मोहियानी हक प्राप्त भएको सम्झन मिल्दैन । विपक्षीले भू.सु.ऐन, लागू हुनुभन्दा अगाडि देखि नै मोही छु भन्न सक्नु भएको छैन । भू.सं.ऐन, २०२१ लागू भएपनि मात्र मोही भएको भन्ने कुरा स्वयं स्वीकार गर्नुभएको छ । प्रसाद भारतीले व्यास भारतीलाई राजीनामा गरिदिएको लिखत समेतबाट प्रमाणित भएको छ । र उक्त ऐनको दफा ३४(१) बमोजिम कुनै कबुलीयत नभएकोले मोहियानी हक पाएको भन्न मिल्दैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(क)ले जग्गावालाको परिभाषाभै दफा २(ख) मा मोहीको परिभाषा गरे अनुसार विपक्षी मेरो दाता व्यास भारतीको एकासगोलका भाइ हो । यो कुरा भू.सु कार्यालयको निर्णयमा पनि उल्लेख छ र विपक्षले खण्डन गर्न सक्नु भएको छैन । यस्ता अवस्थामा साविक जग्गाको दर्तावाला मेरो दाता व्यास भारतीको विपक्ष निवेदक हकवाला तथा अंशियार समेत भई भूमिसम्बन्धी ऐनको तात्पर्यको लागि निवेदक भनी जग्गावाला हुनुभयो । यस्तो स्थितिमा निवेदकलाई मोही हो भनी भन्न मिल्दैन । मैले निवेदकलाई भर्पाई गरी दिएको छैन । विपक्षले भू.सु कार्यालयमा बयान गर्दा पनि सोही कुरा उल्लेख गर्नुभएको छ । प्रसाद भारतीले व्यास भारतीलाई गरी दिएको तथा अदालतको फैसलाबाट पास भएको राजीनामा लिखतबाट उक्त कि.नं. ८२ प्रसाद भारतीले नै कमाएको देखिएकोले विपक्षीले प्रसाद भारतीबाट भर्पाई पाउने अवस्थै देखिँदैन र भू.सं.ऐन, २०२१ को दफा ३४(क) बमोजिम कुनै कबुलीयत पेश भएको देखिँदैन दफा २५ (२) बमोजिम मोहियानी हकको मोहियानीको स्थाई वा अस्थाई प्रमाणपत्रको कुनै कानूनी मान्यता नहुने भएकोले त्यस्तो प्रमाणपत्र पेश गरे पनि त्यसबाट विपक्षलाई कानूनबमोजिम मोहियानी हक प्राप्त हुनसक्ने नहुँदा उक्त भर्पाई तथा प्रमाणपत्रको अस्तित्व नै हुँदैन भन्ने समतेको देवेन्द्रनाथ तिवारीको लिखितजवाफ ।

       ६.  कि.नं. ८२ को ज.वि.४० मध्ये ज.वि.२० को मोही महलमा ऋणिको भाइ कैलाल भारती लेखिएको र निज कैलास भारतीले पनि सो लिखतमा हकवाला भनी सांक्षी बसेको सो दिन देखि उक्त जग्गा मैले जोती भोगचलन गरी आएको अंश नहुँदै अंशबण्डा रहेको दाजु ऋणी भाइ मोही भएकोले कानूनसंगत नभएको, उक्त कि.नं. ८२ को ज.वि.४० मध्ये २० को हाल कित्ता नं. १६३बाट मोहीको लगत पाउँ भन्ने दावी भएको र यो वादी देवेन्द्रनाथ तिवारी माथि यहि प्रतिवादी कैलास भारती र अरू अंशियार समेत भई २०३४ साल आषाढ महीनामा पर्सा जिल्ला अदालतमा फिराद दिएको सो फिरादपत्रको नक्कलको नक्कल वादीले पेश गरेकोबाट पनि दुवै दाजुभाई एकासगोलको उक्त जग्गामा अंशियारको नाताले निज कैलास भारती जोताहा नभएको एकासगोलको दाजुभाइमा मोही हो भन्न नमिल्ने भई भू.सुं ऐन, २०२१ परिच्छेद १ को दफा २(क) को देहाय ३ मा जग्गावालाको हकवाला अंशियार भएको नाताले वा त्यस्तो जग्गावालाले कानूनबमोजिम आफ्ना हक छोडी दिएकोले सो जग्गा आफ्नो नाउँमा दर्ता गराउन हक पुगेको व्यक्ति भन्ने जहाँ प्रष्ट भएपछि भूमिसम्बन्धी ऐनको प्रतिकूल हुन आएको भन्न नमिल्ने । व्यास भारतीबाट देवेन्द्रनाथ तिवारीले खरीद गरेको जग्गाको लिखतमा अंशियार भाइ विपक्षी कैलास भारती साक्षी बसेकोले निजलाई मोही भन्न नमिल्ने कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई सो जग्गा भू.सुं ऐन, २०२१ को परिच्छेद ७ को २५(१) को २ बमोजिम मोहीको हक प्राप्त हुनेछ भन्ने भएपछि वादीले खरीद गरेको साल देखि नै उक्त जग्गा आफैं कमाई जोती भोगी आएको हुनाले त्यस हैसियतबाट मोहीको हक समाप्त हुने भएको, ऐ.ऐनको परिच्छेद ७ को दफा २५ ले उक्त जग्गा वादीले खरीद गरेको सालदेखि आफैं जोती आवाद गरी आएको हुँदा मोही होइन र निज अरू दफा अन्तर्गत मोही भए भू.सु.ऐनको दफा ३४ बमोजिमको कबुलीयत पेश गर्न पर्ने सो नसकेको हुँदा निजलाई मोही भन्न नमिल्ने हुँदा रिट खारिज गरिपाउँ भन्ने समेत भू.सु.कार्यालय पर्साको भू.सु.अ.भक्तेन्द्रध्वज सिलवालको लिखितजवाफ ।

       ७. यसमा अधिकार प्राप्त अधिकारीले कानूनबमोजिम सबूत प्रमाण बुझी त्यसको मूल्यांकन गरी निर्णय गरेको हुँदा रिट निवेदन खारिज हुने ठहर्न भन्ने मिति ०३६।७।२५।१ को डिभिजन बेञ्चको निर्णय ।

   ८. निवेदकको वारेस सिताराम भारती तथा विपक्षी देवेन्द्रनाथ तिवारीको वारेस तिर्थ डङ्गोललाई रोहवरमाराखी निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले समान प्रश्न भएको कुनै दुई मुद्दामा सो प्रश्नको पृथकपृथक निर्णय हुन गएमा रुलिङ्ग बाझिएको भन्नु पर्छ । प्रस्तुत मुद्दामा र निवेदक मनोहर शमशेर ज.ब.रा. विपक्षी भू.प्र.का.काठमाडौं समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा एउटै प्रश्न भएकोमा डिभिजन बेञ्चबाट पृथकपृथक निर्णय भएको छ भन्ने समेत र विपक्षी भू.सु.का पर्सा तर्फबाट खटि उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायले निवेदक मनोहर शमशेर ज.ब.रा. को केशमा एकै परिवार भन्ने देखिन नआई छुट्टै परिवार देखिएकोले सो मुद्दा र प्रस्तुत मुद्दामा एउटै प्रश्नहरू नभएकोले रुलिङ्ग बाझिएको छैन भन्ने समेत र विपक्षी देवेन्द्रनाथ तिवारीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले निवेदक मनोहर शमशेरको बाबु छोरामा अंश छोडपत्र गरी बेग्लै बसेकोले मोही र जग्गाधनी हुन सक्छ । प्रस्तुत कैलास भारतिको केशमा एकाघरका दाजुभाईको प्रश्न छ र तिनीहरू सगोलमा रहेको ले मोही र जग्गाधनी हुन सक्दैन तर्सथ यी दुवै मुद्दामा रुलिङ्ग बाझिएको छैन भन्ने समेत बहस प्रस्तुत गर्नुभएकोछ ।

   ९.  प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३६।७।२५।१ मा निर्णय भएकोमा निवेदक मनोहर शमशेर ज.ब.रा.विपक्षी भू.प्र.का. काठमाडौं समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट नं. ९९७ को मुद्दामा डिभिजन बेञ्चबाट ०३१।९।१९।६ को निर्णय सँग रुलिङ्ग बाझिएको भनी नियर्नयार्थ पेश भैई आज निर्णय सुनाउने तारीख तोकिएकोले र्सवप्रथम प्रस्तुत मुद्दाको निणर्य उक्त ०३१।९।१९।६ को डिभिजन बेञ्चको निर्णयसँग रुलिङ्ग बाझिएको छ छैन भन्ने कुरामा नै मुख्य निर्णय गर्नु पर्ने हुन आएको छ ।

   १०. निवेदक मनोहर शमशेर ज.ब.रा.ले दिएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा निवेदक छोरा र विपक्षी ध्रुव शमशेर ज.ब.रा.बाबु देखिएता पनि निजहरूका बीच अंश छोडपत्र भइसकेको देखिएकोले वेगल परिवार मानी डिभिजन बेञ्चबाट निवेदक मनोहर शमशेरलाई बुझ्दै नबुझी भूमिप्रशासन कार्यालय काठमाडौंले बाबु छोरामा मोहियानी नलाग्ने हुँदा जग्गाधनी धु्रब शमशेरको स्रेस्ता पूर्जामा मोही महलमा नाम अंकित गर्ने भनी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरेको र प्रस्तुत मुद्दामा व्यास भारतीले विपक्षी देवेन्द्रनाथ तिवारीलाई जग्गा रजिष्ट्रेशन पारित गरी दिँदा लिखतमा कैलास भारती हकवाला भनी साक्षी बसेको उक्त जग्गाको जग्गाधनी प्रमाणपूर्जाको मोही महलमा व्यास भारतीको एकासगोलको भाइ कैलास भारती भनी लेखिएकोले एकासगोलको दाजु भाइमा जग्गाधनी र मोही हुन नसक्ने भन्ने उजूरी पर्दा भूमिसुधार कार्यालय पर्साबाट देवेन्द्रनाथ तिवारीकै नाममा जोत कायम गर्ने भनी गरेको निर्णय उपर रिट निवेदन परेकोमा डिभिजन बेञ्चबाट अधिकार प्राप्त अधिकारीले कानूनबमोजिम सबूत प्रमाण बुझी त्यसको मूल्यांकन गरी निर्णय गरेको हुँदा रिट निवेदन खारेज हुने ठहर्न भन्ने निर्णय गरेको पाइन्छ ।

   ११. प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको निर्णय उक्त रिट नं. ९९७ निवेदक मनोहर शमशेर ज.ब.रा. विपक्षी भू.प्र.का.काठमाडौं समेत भएको उत्प्रेषणको रिट निवेदनमा भएको ०३१।९।१९।६ को निर्णयसँग रुलिङ्ग बाझिएको छ छैन भन्ने हकमा विचार गर्दा उपस्थित भएको कानूनी प्रश्नमा एक डिभिजन बेञ्चबाट एउटा कानूनी सिद्धान्त प्रतिपादीत हुन्छ र सोही कानूनी प्रश्नमा अर्को डिभिजन बेञ्चले अर्को कानूनी सिद्धान्तमा निर्णय गर्छ भने सो अवस्थामा रुलिङ्ग बाझिएको हुनजान्छ तर प्रस्तुत मुद्दामा एकासगोलमा रहेका दाजुभाइको बीचमा दाजु जग्गाधनी र भाइ मोही हुनसक्ने भनी मोहीको नाम कट्टा गर्ने गरेको निर्णय उपर परेको रिट निवेदन डिभिजन बेञ्चले खारेज गरेको छ, उक्त रुलिङ्ग बाझियो भनेको मुद्दामा बाबु छोराको बीच अंश छोडपत्र भइसकेको र बेगल परिवार देखिएको भन्दै रिट जारी गर्ने भन्ने निर्णय भएको हुँदा कुनै कानूनी सिद्धान्त प्रतिपादीत गरी निर्णय भएको देखिँदैन । यस्तो स्थितिमा सो निर्णयसँग प्रस्तुत मुद्दाको रुलिङ्ग बाझिएको छ भन्न मिल्दैन ।

   १२. दे.फु.नं. २९० पुनरावेदक वादी जंगध्वज कार्की विपक्षी प्रतिवादी बखतबहादुर कार्की समेतको चोरी बिजन दर्ता बदर मुद्दामा पनि कुनै एक डिभिजन बेञ्चबाट भएको निर्णयमा एउटा कानूनी सिद्धान्त प्रतिपादित भएको छ र त्यस्तै मुद्दामा कुनै अर्को डिभिजन बेञ्चबाट अर्को सिद्धान्त प्रतिपादित हुने गरी निर्णय हुन्छ भने यस्तो अवस्थामा मात्र रुलिङ्ग नमिली बाझिएको मान्नु पर्ने हुन्छ भन्ने समेत सिद्धान्त प्रतिपादित भई ०२२।६।१।६ को फुल बेञ्चबाट निर्णय भएको पाइन्छ ।

   १३. तसर्थ उपरोक्त लेखिएअनुसार प्रस्तुत मुद्दाको डिभिजन बेञ्चको निर्णय निवेदक मनोहर शमशेर ज.ब.रा.भएको उत्प्रेषणको आदेश जारी पाउँ भन्ने मुद्दामा भएको ०३१।९।१९।६ को डिभिजन बेञ्चको निर्णयसँग रुलिङ्ग बाझिएको नदेखिएकोले प्रस्तुत मुद्दामा यस बेञ्चबाट अरू केही विचार गर्नु परेन । मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्रीको राय

   १४. यसमा निवेदक मनोहर शमशेर ज.ब.रा.विपक्षी भूमिप्रशासन कार्यालय काठमाडौं समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा ०३१।९।१९।६ मा भएको निर्णयसँग प्रस्तुत मुद्दामा भएको निर्णयको रुलिङ्ग बाझिएको भनी पर्न आएको निवेदनमा ०३७।३।९।१ मा रुलिङ्ग बाझिन गएको देखिएकोले फुल बेञ्चमा पेश गर्नु भनी मैले नै आदेश दिएको देखियो । निवेदक मनोहर शमशेर र ध्रुब शमशेरका बाबु छोरामा अंश छोडपत्र गरी वेगल बसेको देखिएको र प्रस्तुत मुद्दाका निवेदक कैलास भारती र व्यास भारती दाजुभाइ एकासगोलमा रहेको देखिएका छन् । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) बमोजिम अरूको जग्गा कुनै सर्तमा कमाउने व्यक्ति मात्र मोही हुने व्यवस्था गरेकोले एकासगोलका दाजुभाइ जग्गाधनी र मोही हुन नसक्ने कुरा उक्त ऐनले प्रष्ट गरेको छ ।

   १५. तसर्थ एकासगोलको भाइ मोही हुन नसक्ने भनी गरेको भूमिसुधार अधिकारीको निर्णय कायम राखी त्यस उपर परेको रिट निवेदन खारेज गरेको डिभिजन बेञ्चको मनासिव छ । सहयोगी न्यायाधीश ज्यूहरूको रुलिङ्ग बाझिएको छैन भन्ने निर्णयसँग सहमत हुन सकिएन ।

 

प्रधान न्यायाधीश

 

इति सम्वत् २०३८ साल वैशाख १९ गते रोज ६ शुभम

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु