शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४३९ - ज्यान

भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक:

निर्णय नं. १४३९ ने.का.प. २०३८             अङ्क २

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३७ सालका फौ.पु.नं. २१७

फैसाल भएको मिति : २०३८।२।४।१

पुनरावेदीका : सिंपा जि.चौतारा आ.गा.पं.वार्ड नं. ५ घर भई हाल केन्द्रीय कारागार काठमाडौंमा थुनामा रहेको डुकुकुमारी श्रेष्ठ

विरुद्ध

विपक्षी  : जगतबहादुरको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान

(१) जन्मेको शिशुलाई मार्नु पर्ने पूर्व योजना र मनसाय मिसिल प्रमाणबाट केही नदेखिई अनुचित सम्बन्ध भई रहन गएको गर्भबाट पैदा भएको शिशुलाई केवल सामाजिक लोकलज्जाबाट बँच्न गरेको हो कि भन्ने शंका देखिएकोले निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को हुने हुँदा अ.बं १८८ नं. अनुसार ५ पाँच कैद कायम हुने ।

(प्रकरण नं. १८)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

फैसला

        प्र.न्या. नयनबहादुर खत्री : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सिन्धुपाल्चोक जिल्ला अदालतले प्रतिवादीलाई ज्यान सम्बन्धीको दफा १३ को देहाय ३ बमोजिम सजाय गर्ने गरेको इन्साफ मनासिव गरे उपर पुनरावेदन परी यस बेञ्च समक्ष पेश हुन आएको छ ।

        २.  ०३४।२।११ गते बिहान चौतारा बजारतर्फ आउँदा दिलबहादुरको घर पछाडि दक्षिणतर्फ बाटाको नजिक माथिको खोरमा नाल बेडाएको हाल साल २।३ दिन अघि जन्मे जस्तो पुरा मास पुगे जस्तो स्त्री बच्चोको लाश उत्तानो परी लडी रहेको देखेकोले कर्तव्य गरी मारेको शंका लाग्छ लाश जाँच गरी अपराधी पत्ता लगाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने समेत जगतबहादुर श्रेष्ठको जाहेरी दर्खास्त ।

        ३.  ०३४।२।११।३ को लाश प्रकृति मुचुल्का मेरो घरमा ५० वर्षकी आमा र ०३४ साल वैशाख ९ गते विवाह गरी ल्याएको मेरो श्रीमती डुकुमाया छन् । निज श्रीमतिले बैशाख ७ गते रजस्वलाबाट चोखिएको भन्ने कुरा गरेकोले बच्चा जन्माउने अवस्था छैन । बच्चा कसले ल्याई फाले थाहा छैन भन्ने समेत दिलबहादुरले प्रहरीमा गरेको कागज ।

        ४.  पौष ८।९ गते फुपाजुसँग करणी लिनुदिनु भई निजको विर्यबाट गर्भ रहन गई मरेको बच्चो ०३४।२।७ मा पैदा भएको हो, गर्भ रहेको कुरा कसलाई थाहा थिएन । बच्चो जन्मेको केही बेरमा साल पनि झरेकोले बंगुरको खोरकाभित्र कुना पूर्व र उत्तरको कोण बीच तिर रहेको ढुंगाको आडमा खोर्सि सानो सानो ढुंगाले छोपी राखेको थिए । वंगुरले उदिनी बाहिर निक्लेको होला भन्ने समेत डुकुकुमारीले प्रहरीमा गरेको कागज ।

        ५.  बुहारीले गर्भ बोकेको कुरा मलाई थाहा नभएको र निजले पनि कुरा गरेकी थिइन । निजले के कस्तो किसिमबाट जिउँदो पैदा गरेको हो वा मरेको पैदा गरेको हो थाहा छैन भन्ने समेत कृष्णकुमारी श्रेष्ठले प्रहरीमा गरेको कागज ।

        ६.  डुकुकुमारी कै बयान कागज अनुसार मरेको बच्ची जन्माई छिपाई गाडी राखेको होला भन्ने शंका लाग्छ । लोग्ने र सासू उपर शंका लाग्दैन भन्ने समेत सर्जमिन मुचुल्का ।

        ७.  आठ महीनाको जस्तो जीवित स्त्री शिशु जन्मेको र मृत्युको कारण घाँटीमा थिचेकोले मृत्यु भएको देखिन्छ भन्ने लाश जाँच रिर्पोट ।

        ८.  डुकुकुमारीले ज्यान सम्बन्धी महलको १८ नं. को अपराध गरेको देखिँदा ज्यान सम्बन्धी महलको १३ नं. को देहाय ३ बमोजिम सजाय हुन र दिलबहादुर श्रेष्ठ र कृष्णकुमारी श्रेष्ठ प्रति अभियोग लगाउन कुनै सबूत प्रमाण गुज्रन नआएकोले निजहरूको हकमा केश नचलाउने भन्ने समेत प्रहरी प्रतिवेदन ।

   ९.  ०३३ साल पौष ८।९ गतेका दिन फुपाजु नक्कलमानको घर गएको थिए । राती सुति निदाएको बखत फुपाजुले करणी गरेका थिए । सो करणीबाट गर्भ रहेकोले कसैलाई भनेको थिएन । ०३५ साल जेष्ठ ७ गतेका दिन बिहान ७ बजेको टाइममा पेट दुखी बंगुरको खोरमा दिसा बस्न गएकी बच्चा पैदा भयो उक्त बच्चा रून कराउनु गरेन । म १ घण्टा जति बेहोस भएछु । विउँझी हेर्दा सालनाल सहितको बच्चो मरिसकेको देखि बंगुरले खाल्टो खनी राखेको ठाउँमा गाडाले गुडाउँदै लगी खाल्टोमा हाली घर आए । गर्भरहेको र बच्चा पैदा गरेको कसैलाई थाहा छैन भन्ने समेत डुकुकुमारी श्रेष्ठले अदालतमा गरेको बयान ।

   १०. बंगुरको खोरमा बच्चा मरेको सम्म देखि जाहेर गरेको हुँ अरू कुरा मलाई थाहा छैन भन्ने समेत जगतबहादुर श्रेष्ठले अदालतमा गरेको बयान ।

   १२. डुकुकुमारीलाई ०३४।१।९ गते विवाह गरी ल्याएको हुँ विवाह हुँदा गर्भ धारणा गरेको कुरा मलाई थाहा थिएन र कसैलाई भने बताएको पनि थिएन भन्ने समेत दिलबहादुर श्रेष्ठले अदालतमा गरेको बयान ।

   ११. प्रहरी प्रतिवेदन बमोजिम जन्मेको बालिकालाई अभियुक्त डुकुकुमारीले घाँटी थिची मारेको प्रमाणित भएकोले ज्यान सम्बन्धीको दफा १३ को देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैद हुन्छ भन्ने समेत ०३५।३।२९।५ को सिन्धुपाल्चोक जिल्ला अदालतको जाहेरी फैसला ।

   १३. उक्त फैसलामा चित्तबुझेन भनी प्रतिवादीले मध्यमाञ्चल क्षेत्रीय अदालतमा चढाएको पुनरावेदन ।

   १४. जन्मेको छोरीलाई मैले कर्तव्य गरेको होइन र छोरी जन्मदा मरेको भन्ने जिकिर लिए तापनि सो कुराको पुष्टि हुन नसकेको र प्रहरी प्रतिवेदन साथ दाखिल भएको बच्चोको पोष्टमार्टम प्रतिवेदनबाट जन्मेको छोरी कर्तव्य परी मरेको भन्ने देखिन आएको हुँदा सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला मनासिव छ भन्ने ०३७।२।२१ को मध्यमाञ्चल क्षेत्रीय अदालतको जाहेरी फैसला ।

   १५. सर्वस्वसहित जन्मकैद गर्ने गरेको फैसलामा चित्त बुझेन दण्ड सजायको १२ नं. ले रू.५००। सम्म जरिवाना हुनुपर्ने भनी प्रतिवादीले यस अदालतमा चढाएको पुनरावेदन ।

   १६. पुनरावेदक प्रतिवादी तर्फबाट रहनुभएका वि.अ. श्री यादवप्रसाद खरेलले गर्नुभएको बहस समेत सुनियो ।

   १७. यसमा मृतक बच्ची जन्माई बंगुरले खनेको खाल्टोमा हाली ढुंगाले छोपेको थिए । उक्त बच्चीको लाश बंगुरले उदिनेको होला भनी प्रतिवादीले अदालतमा बयान गरेकी छ । मेडिकल अफिसरको सब परीक्षण प्रतिवेदनबाट जीवित स्त्री शिशु जन्मेको र घाँटीमा थिचेकोले मृत्यु भएकोभन्ने देखिएकोले छोरी जन्मदा मरेको भन्ने पुष्टि हुन नसकेको भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले सर्वस्वसहित जन्मकैद गर्ने गरेको र जिल्ला अदालतको इन्साफ सदर गरेको मनासिव छ ।

   १८. आफ्नो फुपाजु नक्कलमान श्रेष्ठको करणी विर्यबाट गर्भ रहन गएको भन्ने कुरा प्रतिवादीकै बयानबाट देखिन्छ । जन्मेको उक्त शिशुलाई मार्नु पर्ने पूर्व योजना र मनसाय मिसिल प्रमाणबाट केही नदेखिई अनुचित सम्बन्ध भई रहन गएको गर्भबाट पैदा भएको शिशुलाई केवल सामाजिक लोक लज्जाबाट बँच्न मारेको हो कि भन्ने शंका देखिएकोले निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को हुने हुँदा अ.बं.१८८ नं. अनुसार ५ वर्ष मात्र कैद कायम गरी दिएको छ तपसील बमोजिम गर्नु ।

 

तपसील

पुनरावेदीका । प्रतिवादी डुकुकुमारी श्रेष्ठ के माथि इन्साफ खण्डमा लेखिएबमोजिम सर्वस्वसहित जन्मकैदन गर्दा चर्को हुने भई ५ वर्ष मात्र कैद हुने ठहरेकोले सिन्धुपाल्चोक जिल्ला अदालतको ०३५।३।२९।५ को फैसलाले गर्ने गरेको सर्वस्वसहित जन्मकैदको लगत कट्टा गरी सर्वस्व फुकुवा गरी कैद वर्ष ५ को मात्र लगत कायम गर्नु भनी सिन्धुपाल्चोक जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ......................१

मिसिल नियमबमोजिम बुझाई दिनु .....................२

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३८ साल जेष्ठ ४ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु