निर्णय नं. १४४० - ज्यान कर्तव्य

निर्णय नं. १४४० ने.का.प. २०३८ अङ्क २
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३६ सालको फौ.पु.नं. १९१
फैसला भएको मिति : २०३८।१।२।३ मा
पुनरावेदक : रोल्पा २२ खुवा थवाङ गा.पं.वार्ड नं. ३ घर भई हाल केन्द्रीय कारागार पाल्पामा थुनामा बस्ने लालबहादुर कामी
विरुद्ध
विपक्षी : टंके कामीको जाहेरीले श्री ५ सरकार
मुद्दा : ज्यान कर्तव्य
(१) विष खुवाई मार्नु पर्ने सम्मको कुनै इवी अदावत भएको भन्ने समेत नदेखिएको यस स्थितिमा पुनरावेदकलाई सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्न जाने देखिएकोले अ.बं.१८८ नं. बमोजिम सजाय घटाई वर्ष ८ आठ मात्र कैद हुने ।
(प्रकरण नं. १९)
फैसला
न्या. बब्बरप्रसाद सिंह : प्रस्तुत मुद्दा सु.प.क्षे.अ.को निर्णय उपर प्र.लालबहादुरको पुनरावेदन परी निर्णायार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकार छ : लालबहादुर कामीले सिँगविर कामीको स्वास्नी मरेको क्रिया सुद्धको काममा ०३३।२।१ गते निज सिँगविरको घरमा लालबहादुर, विरमन खम्म कामी छिमेकी समेत भेला भई सुद्ध्याइएको काममा निजको घरमा काटी पकाएको रांगाको मासु बाँड्ने खुवाउने गरी रहेको निज लालबहादुरले वीरमान खंब कामीको भागमा विष हाली खुवाए छ र मासु खाना साथ टिम्मुर खाए जस्तै परपरायो भनी रनेउँदै आ–आफ्ना घरमा गएका वीरमानले ३ पटक वान्ता गरी बेहोस भई सो १ गतेको राती मरेको र खम्बेले पनि वान्ता गर्दै कहिले बेहोस हुने कहिले होसमा आउने निजले वीरमान खम्बलाई हात हातमा मासु दिँदा अरूलाई दाहिने हातले दिएको र वीरमान खंबलाई पहिले आफ्नो जुहारी कोटको जेबमा बायाँ हात हाली सोही हातले मासु दिएको कुरा गरेको वीरमान खम्बलाई लालबहादुरले मासुमा विष हाली खुवाई सो असरले वीरमान मरेको हुन भन्ने समेतको टंके कामीको जाहेरी दर्खास्त ।
सिँगविरको घरमा बरखी भोज हुँदा म पनि गएको र मैले ढिडो बाढेको हुँ मासु खाएपछि कसले विष हाल्यो यो लालबहादुर उपर टंके उपर शंका लाग्दैन खम्ब कामी विष खाई वान्तागरी बाँची लालबहादुरले हालेको भनाई हुँदा हाल्यो कि अरू कसैले हाले मलाई थाहा छैन भन्ने समेत सम्पत्ति कामीको डोर मुकाममा भएको ठाडो कागज ।
३. सिँगविरको घरमा भोज थियो म पनि गएकी हुँ मासुको झोल बाँडेको हुँ लालबहादुरले मासु बाँडेको हो सबै बीच खाई सकेपछि मुख र जिब्रो झम झमायो भनी वीरमानले भनेको हुन विष मैले खुवाएको होइन लालबहादुरले नै विष हाली मैले वान्ता गरेको हुँ म भनी भनेकोले निज उपर शंका लाग्छ भन्ने समेत टंके कामीले डोर मुकाममा गरेको ठाडो कागज ।
४. ०३३।२।१ गतेको राती सिँगविरको घरमा सुद्ध्याँइको रांगाकाटी भोज खाने हुँदा सबै छिमेकी गाउँलेहरू र म समेत मासु र ढिडो खान लाग्दा मासु बाँढ्ने लालबहादुर थियो निजले लगाएको जुवारी कोटको भित्री बायाँ जेवबाट हातले झिक्यो मलाई शंका लाग्यो वीरमानलाई र मलाई आ“खा घुमाउन लाग्यो घाँटी सुक्न लाग्यो र घरमा आइ पुगे र विष मार्ने जडिबुटि खुवाई निको भयो निज विष हाल्ने लालबहादुर नै हो अरू माथि शंका लाग्दैन भन्ने समेत खम्ब कामीको डोरमा गरेको बयान ।
५. सिँगविरको घरमा स्वास्नीको बरखी हुँदा रांगा काटीमासु मैले नै बाँडे्को हुँ वीरमान र खम्बे कामीलाई विष हालेको होइन के कालगतीले मर्यो म भन्न सक्तिन भन्ने समेत लालबहादुर कामीको डोरमा भएको बयान ।
६. लालबहादुर कामीले ज्यान सम्बन्धीको महल १० नं. को दफा ३ बमोजिम कसूर गरेको हुँदा निजलाई सोही ऐनको दफा १३ बमोजिम सजाय हुने भन्ने समेत प्रहरी प्रतिवेदन ।
७. मर्ने वीरमान र खम्ब कामीलाई विष खुवाएको होइन गा.प.ले म उपर किन पोल गर्यो वीरमान के भई मरे भन्ने समेत लालबहादुर कामीले अदालतमा गरेको बयान कागज ।
८. वीरमान र खम्बलाई भोज खुवाउने बखत लालबहादुरले आफ्नो जुवारी कोटको जेबबाट देब्रे हातले के चिज हो झिकी वीरमान र खम्बको भागमा हाली दिएको जस्तो लाग्छ मार्नेमा कर्तव्य लालबहादुर कै हो भन्ने समेत सर्जमिनका जुद्धबहादुर कामी समेतले अदालतमा गरेको बयान ।
९. लालबहादुरले मासुको भा“डा अगाडि राख्यो निजले देब्रे हातले आफूले लगाएको कोटको जेबमा हात हाली के निकाले जस्तो गरेर अरूलाई दाहिने हातले दिँदै अगाडि बढ्यो मासु चपाउँदै तितो तितो भयो ओठ झम झमाउन थाल्यो भनी अरूसँग कुरा गरे विष परेको भए त्यसो हुन्छ भनी भनेकाले म घरमा गए औषधी गर्ने इमानलाई बोलाई औषधि झार फुक भयो र भोलिपल्ट ठिक भयो वीरमान सोही रात मरेछन् लालबहादुरले नै हो भन्ने शंका समेत देखाएका सर्जमिनका खम्ब कामीले अदालतमा गरेको बयान ।
१०. वीरमान समेतका मानिस खान बसेका थिए लालबहादुर मासु बाँड्ने काममा व्यस्त भएकोले बाहिर आइन पछि आउँदा कोही थिएनन् १ घण्टा पछि वीरमानले मुख खसखसाउँछ लालबहादुरले विष खुवाएको भन्ने हल्ला भयो खम्बेले उल्टी गरी रहेको छ, भन्ने इमान बु“दाले औषधि उपचार गराई सञ्चो भएछ वीरमान सोही राती मरेको भन्ने सुनेको हुँ भन्ने समेत सर्जमिनका सिँगविर कामीको बोलपत्र ।
१२. खम्बको भाइ आई दाजु खम्ब विष खाएर वान्ता गरी रहनुभएका छ औषधि गरी दिनु पर्यो भनी भनेकाले म गई औषधि गरी केही ठिक भएपछि सबैले भनेबाट वीरमानलाई लालबहादुरले विष खुवाएको भन्ने सुनेको हुँ भन्ने समेत सर्जमिनका इमान बु“दाले गरेको बकपत्र।
११. वीरमान एक वर्ष अगाडि देखि मुटु पेट दुख्ने विरामी थिए ०३३।२।२ गते बिहान पख आफ्नो घरमा कालगतीले मरे सबैको जालझेलबाट टेकबहादुरले जालझेल गरेका र सर्जमिनको पनि त्यस प्रकार लेखाइएका हुन भन्ने समेत प्र.लालबहादुरको साक्षी टेकबहादुर कामी समेतको बकपत्र ।
१३. प्रतिवादी लालबहादुर वीरमान कामीलाई विष खुवाई मारेको हुँदा निजलाई ज्यान सम्बन्धीको १३ नं. दफा ३ बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्नेसमेत ०३४।२।२३ को रोल्पा जि.अदालतको फैसला ।
१४. उक्त इन्साफमा चित्त बुझेन भन्ने प्र.लालबहादुर कामीको पुनरावेदन ।
लालबहादुरले आफ्नो जुवारी कोटको जेवबाट के झिक्यो वीरमान र खम्बलाई दियो वीरमान सोही रात मृत्यु भयो खम्बलाई इमानले जडिबुटि गरी ठिक भयो भनी सर्जमिनको धर्मराज समेतको मानिसले बयान गरी दिएको देखिन आएको छ । प्रतिवादीको कर्तव्य नभए विष परी जडिबुटि खाई खुवाई खम्ब बाँचेको भनी खम्ब कामी र इमान बुढा मगरले भन्नु पर्ने र अरू सर्जमिनका धर्मराज सहितका मानिसले लालबहादुरले विष हालेको हो भनी बकपत्र गर्नुपर्ने खास कारण कुनै पनि देखिन आउँदैन यसमा खम्ब कामीको बकपत्रबाट अभियुक्त लालबहादुरले मासु बाँड्दा जुवारी कोटको भित्री कोटबाट केही कुरा झिकी हालेको थियो भन्ने कुरा स्पष्ट देखिन आएको र खम्ब सिं र मर्ने वीरमानलाई विष परेको भन्ने देखिन आएको समेतबाट शुरू जिल्ला अदालतले विष खुवाई कर्तव्य गरी वीरमानलाई मारेको ठहर्याएको शुरूको इन्साफ मनासिव ठहर्छ भन्ने समेत सुदुर पश्चिमाञ्च क्षेत्रीय अदालतको ०३६।८।१६ को फैसला ।
१५. उक्त क्षेत्रीय अदालतको इन्साफ चित्त बुझेन सर्वस्वसहित जन्मकैद गर्ने गरेको फैसला बदर गरी अभियोगबाट मुक्त गरिपाउँ भन्ने समेत प्रतिवादी लालबहादुर कामीको पुनरावेदन ।
१६. टंके कामीको जाहेरीमा पनि अरूले भनेको सुनेको भनी उल्लेख भएको मौकैमा देख्ने साक्षी भने पनि विष दियो भनी किटानसाथ भन्न सकेको छैन विष बरामद भएको छैन विष दिएको भनेकोमा मृतको पेट भित्रको पदार्थको बैज्ञानिक जाँच भएको देखिन्न प्र. लालबहादुर कामीले मर्ने वीरमान कामीलाई मार्नु पर्ने कारण पनि देखिँदैन अनुमानबाट अपराध कायम गर्न नमिल्ने र शंकाको सुविधा अभियुक्तले पाउने हुँदा सु.प.क्षे.अ.को इन्साफ मिलेको नदेखिनाले अ.बं.२०२ नं. स.अ.नियमावली बमोजिम श्री ५ को सरकारको तर्फबाट हाजिर हुन महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेशगर्नु भन्ने डि.बेञ्चको ०३७।८।१५ को आदेश ।
१७. यसमा प्र.लालबहादुर कामीको पुनरावेदन जिकिर समेत हेरी निर्णयतर्फ विचार गर्दा सिँगविर कामीको स्वास्नी मरेको निजको बर्खीमा रा“गा काटी भोज गरेको निमन्त्रणा भएका म समेतका सबै सामेल भई भोज खान भनी बसेका थियौं चौटा मासु बाँढ्ने लालबहादुरले मासुको भाडो बोकी ल्याई हामी बसेको ठाउँमा अगाडि राख्यो दुवै हातले आफूले लगाएको जुहारी कोटको भित्री जेवमा हात हाली के निकाले जस्तो गरे दाहिने हातले मासु झिकी देब्रे हातमा राखी पहिला वीरमानलाई र त्यसपछि मलाई पनि त्यसै गरी दाहिने हातबाट मासु झिकी देब्रे हातमा राखी दियो खाँदै गर्यौं ओठ मुख झमझमाउन थाल्यो घर पुग्नासाथ उल्टी आयो वीरमान सोही रात मर्यो भन्ने खम्व कामीले अदालतमा बयान गरेको देखिन्छ । निज खम्ब कामीलाई औषधि उपचार गर्ने भनेको इमान बुढाको बयानबाट समेत विष परेकोमा खम्ब कामीलाई औषधि उपचार गरी ठिक भएको वीरमान मरेको भन्ने समेत देखिन आएको छ ।
१८. उपरोक्त विष परेको भनेको खम्ब कामीलाई विष परेकोमा औषधि उपचार गर्ने भनेको इमान बूढाको बयानबाट अभियुक्त लालबहादुरले मासु हाल्दा जुहारी कोटबाट झिकी केही कुरा हालेको भन्ने प्रष्ट देखिन आएको र निजले केही कुरा हाली दिएको मासु खाने वीरमान मरेकोबाट निज मर्ने वीरमानलाई विष परेको भन्ने कुरा देखिन आएकोबाट समेत वीरमानलाई कर्तव्य गरी मारेको ठहर्याई निज अभियुक्त प्र.लालबहादुरलाई सर्वस्वसहित जन्मकैद गर्ने ठहर्याएको शुरू रोल्पा जिल्ला अदालतको इन्साफ सदर गरेको सु.पं.क्षे.अ.को इन्साफ मनासिव छ ।
१९. सजायको हकमा उपरोक्त लेखिएअनुसार अभियुक्त प्रतिवादी लालबहादुरले जुवारीकोटको जेबबाट केही कुरा झिकी हाली दिएको मासु खाएकोबाट मर्न गएको भन्ने देखिने र निज मर्ने वीरमानलाई विष खुवाई मार्नु पर्ने समेतको कुनै इवी अदावत भएको भन्ने समेत नदेखिएको यस स्थितिमा पनुरावेदक प्रतिवादी लालबहादुरलाई सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्न जाने देखिएकोले अ.बं.१८८ नं. बमोजिम सजाय घटाई वर्ष ८ आठमात्र कैद हुने ठहर्छ अरू तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।
तपसील
प्र.लालबहादुर कामी के देहायको कलममा देहायबमोजिम गर्नु भनी रो.जि.अ.मा लेखी पठाउन का.क्षे.अ.त.मा कानूनबमोजिम लगत दिने ........१
शुरू रोल्पा जि.अ.को ०३४।२¬।२३ को फैसलाले सर्वस्वसहित जन्मकैद गर्ने गरेकोमा हाल सो बमोजिम नलाग्ने भई माथि इन्साफ खण्डमा लेखिएबमोजिम वर्ष ८ आठमात्र कैद लाग्ने भएकोले शुरू फैसलाले लाग्ने गरेको सर्वस्वसहित जन्मकैद गर्ने गरेको लगत व्यहोरा जनाई काटि दिने र हाल लाग्ने भएको उक्त कैद वर्ष ८ को कानूनबमोजिमको लगत कस्ने कलम १
शुरू रोल्पा जि.अ.को ०३४।२।२३ को फैसलालले निज लालबहादुरको अंश रोक्का गरी रोक्का रहेको सर्वस्व तायदात गरी लिलाम बिक्रीबाट आएको नगद सदर स्याहा गर्ने गरेकोमा हाल सो बमोजिम गर्न परेन............२
थुनामा रहेको पुनरावेदक लालबहादुर कामी के यो फैसला भएको सूचना पठाई दिनु,
जानकारी निमित्त फैसाल यो प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु ..............३
म सहमत छु ।
प्र.न्या. नयनबहादुर खत्री
इति सम्वत् २०३८ साल वैशाख २ गते रोज ३ शुभम् ।