निर्णय नं. ९०७५ - जबर्जस्ती करणी

नेकाप २०७० अङ्क ११ नि.नं.९०७५
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु.प्र.न्या.श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
फैसला मिति : २०७०।३।९।१
०६९-CR-००१७
मुद्दा : जबर्जस्ती करणी ।
पुनरावेदक/वादी : जिल्ला झापा, दमक न.पा. वडा नं. ५ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी बस्ने नरबहादुर दर्जीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला झापा, दमक न.पा. वडा नं. ५ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने विकास भन्ने लोकबहादुर विश्वा
§ उमेरको सम्बन्धमा सम्बन्धित विषेशज्ञले दिएको प्रतिवेदन र सोही व्यहोरा मिलानको बकपत्रसमेत भएबाट विषेशज्ञको राय प्रमाणमा लिन मिल्ने नै हुँदा र त्यस्तो राय अन्यथा प्रमाणित नभएसम्म ग्राह्य हुने ।
(प्रकरण नं.६)
§ महिला र पुरूष दुबैको उमेर पुगेको छ र जबर्जस्ती करणीको १ नं. विपरीतको कार्य नगरी दुबैको मञ्जूरीबाट कुनै महिला र पुरूषबीच आपसी सहमतिमा करणी लिनुदिनु गरेको कार्यलाई Unlawful Act मानेको छैन । यसरी कानूनले नै Unlawful Act भनी परिभाषित नगरेको अवस्थामा उमेर पुगेका महिला र पुरूषबीच आपसी सहमतिमा स्थापित गरिएको सम्बन्धलाई कानूनविपरीतको कार्य मानी सजाय गर्न कानूनले नै बन्देज लगाउने ।
(प्रकरण नं.८)
§ उमेर पुगेका दुई महिला र दुई पुरूष एउटै कोठामा रात व्यतीत गर्नु, जबर्जस्ती करणीका विषयमा अर्को पक्षले अनभिज्ञता प्रकट गर्नु र जसलाई पीडित र आरोपित मानिएको छ ती दुबैले आफूले सहमतिमा करणी गरेको तथ्यलाई स्वीकार्नु जस्ता प्रमाण तथा तथ्यबाट जबर्जस्ती करणी भएको तथ्य स्थापित हुन नआउने ।
(प्रकरण नं.११)
शुरू तहमा फैसला गर्ने :
मा.न्या.शम्भुराम कार्की
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.हरिप्रसाद घिमिरे
मा.न्या.उदयप्रकाश चापागाईं
पुनरावेदक/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता पुष्करराज सापकोटा
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :
अवलम्बित नजीर :
सम्बद्ध कानून :
§ प्रमाण ऐन, २०३१ को दफा २५
§ मुलुकी ऐन, जबर्जस्ती करणीका महलको १ नं.
फैसला
स.का.मु.प्र.न्या.दामोदरप्रसाद शर्मा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :–
जिल्ला झापा, दमक न.पा. वडा नं. ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी १ सेक्टर ब ३, हट नं. ४४१ स्थित टेकबहादुर विश्वाको घरमा विकास भन्ने लोकबहादुर विश्वाले पीडित ग २४ लाई जबर्जस्ती करणी गरेको भन्ने घटनास्थल मुचुल्का ।
मिति २०६७।२।२३ गते मेरो साथी संगिता विश्वासँग दमक फिल्म हेर्न आई नीलकण्ठ हलमा फिल्म हेरी बेलडाँगी १ मा पुगेपछि विकास विश्वाले रात पर्यो जङ्गलको बाटो छ डर हुन्छ, मेरो सोल्टीको घरमा गई बसौं भनेको हुँदा हामी ४ जना विकास विश्वाको सोल्टीको घरमा गई बस्यौं । राति म र मेरो साथी संगिता एउटा खाटमा र विकास र भक्तबहादुर अर्को खाटमा एउटै कोठामा सुतेकोमा राति मलाई विकास विश्वाले मैले नमान्दासमेत कराइस् भने तेरो बेइज्जत हुन्छ भनी २ पटकसम्म जबर्जस्ती करणी गरेका हुन् । मेरो इच्छाविपरीत जबर्जस्ती करणी गरेकाले आवश्यक कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको पीडित ग २४ को घटना विवरण कागज ।
मिति २०६७।२।२३ गते मेरो साथी संगिता विश्वासँग दमक फिल्म हेर्न आई नीलकण्ठ फिल्म हल बेलडाँगी १ मा पुगेपछि विकास विश्वाले रात पर्यो जङ्गलको बाटो छ डर हुन्छ मेरो सोल्टीको घरमा गई बसौं भनेको हुँदा हामी ४ जना विकास विश्वाको सोल्टीको घरमा गई बस्यौं । राति म र मेरो साथी संगिता एउटा खाटमा र विकास र भक्तबहादुर अर्को खाटमा एउटै कोठामा सुतेकोमा राति मलाई विकास विश्वाले मैले नमान्दासमेत कराइस् भने तेरो बेइज्जत हुन्छ भनी २ पटकसम्म जबर्जस्ती करणी गरेको हो, मेरो इच्छा विपरीत जबर्जस्ती करणी गरेको हुँदा पेट दुखिरहेको छ भनी पीडितले भनेको हुँदा विकास भन्ने लोकबहादुर विश्वालाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको नरबहादुर दर्जीको जाहेरी दरखास्त ।
मिति २०६७।२।२३ गते रातिको १०:०० बजे पीडित ग २४ ले नै म निदाएको बखत कोट्याएर बोलाएपश्चात् म पीडित ग २४ सुतेको ओछ्यानमा गई पीडित ग २४ कै मञ्जूरीले करणी गरेको हुँ । मैले पीडितलाई जबर्जस्ती करणी गरेको छैन । पीडित ग २४ र मेरो पहिलेदेखिनै एकआपसमा मन पराएर करणी लिनुदिनु भएको र एकअर्कामा सँगै बाँच्ने बाचा कसम खाएको हुँदा सहमतिबमोजिम नै मैले शारीरिक सम्बन्ध राखेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी लोकबहादुर विश्वाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
निजलाई जबर्जस्ती करणी भएको छ छैन यकीनसाथ भन्न नसकिने, निजको Hyman Intact रहेको, निजको शरीरमा कुनै नीलडाम चोटपटक पाइँदैन भन्नेसमेत मेची अञ्चल अस्पताल, भद्रपुर शाखाबाट प्राप्त पीडित ग २४ को शारीरिक परीक्षण रिपोर्ट ।
मिति २०६७।२।२३ गते पीडित, प्रतिवादी लोकबहादुर विश्वा, म र भक्तबहादुर विश्वा फिल्म हेरी बेलडाँगी १ टेकबहादुर विश्वाको घरमा एउटै कोठामा एक एकवटा खाटमा सुतेका हौं । राति जबर्जस्ती करणी गरेको थाहा पाइन । भोलिपल्ट पीडितले भन्दामात्र थाहा पाएको हो । करणी भएको भए सहमतिमा नै भएको हुनुपर्छ, करणी गरेको मैले देखिन भन्नेसमेत व्यहोराको अनुसन्धानको क्रममा बुझिएकी संगिता विश्वाले गरिदिएको घटना विवरण कागज ।
मिति २०६७।२।२३ गते पीडित, प्रतिवादी लोकबहादुर विश्वा, म र भक्तबहादुर विश्वा फिल्म हेरी बेलडाँगी १ टेकबहादुर विश्वाको घरमा एउटै कोठामा एक एकवटा खाटमा सुतेका हौँ । राति जबर्जस्ती करणी गरेको थाहा पाइन । बिहान पनि राम्रैसँग घर गएका थिए । निजहरू राति जिस्कदै थिए, दुबैजनाको मञ्जूरीले नै करणी लिनुदिनु गरेको हुनुपर्दछ । घरमा कराएपछि जबर्जस्ती भनेको हुनुपर्छ । मैले लोकबहादुरलाई पनि पछि भेटेर सोध्दा उसैको इच्छाअनुसार मैले करणी गरेको हुँ भनी बताएको हुँदा दुबैको मञ्जूरीले नै करणी भएको हो भन्नेसमेत व्यहोराको अनुसन्धानको क्रममा बुझिएका भक्तबहादुर विश्वाले गरिदिएको घटना विवरण कागज ।
पीडितको भनाईअनुसार प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गरेको कुरामा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको यदुनाथ भट्टराईसमेतले लेखाई दिएको प्रायः एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
यी प्रतिवादी विकास भन्ने लोकबहादुर विश्वाले पीडितलाई सहमति मै करणी गरेको भनी बयान कागज गरेको भएपनि पीडितले जबर्जस्ती करणी गरेको भनी लेखाई दिएको र पीडितको उमेर १४ वर्ष भन्ने जन्मदर्ताअनुसार देखिँदा प्रतिवादी विकास भन्ने लोकबहादुर विश्वाले वर्ष १४ की पीडितलाई जबर्जस्ती करणी गरेकोले निजलाई मुलुकी ऐन, जबर्जस्ती करणीको १ नं. को कसूरमा ऐ. ऐनको ३(३) बमोजिम सजाय गरी ऐ. ऐनको १० नं. बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाऊँ भन्नेसमेत अभियोगपत्र ।
पीडित र मेरो डेढ वर्ष अघिदेखि प्रेम सम्बन्ध थियो । वारदात मितिभन्दा पहिला पनि सहमतिमा नै करणी गर्ने गरेकाले २०६७।२।२३ गते राति पनि मञ्जूरीबाटै २ पटक करणी गरेको हो जबर्जस्ती करणी गरेको होइन भन्नेसमेत प्रतिवादी विकास भन्ने लोकबहादुर विश्वाले अदालतमा गरेको बयान ।
जाहेरवाला नरबहादुरले मेरो नातिनी (पीडित) हराइन् भनी मलाई जानकारी गराएकोले त्यतिमात्र थाहा भएको हो । मिति २०६७।३।२० को कागजको व्यहोरा मेरो होइन । प्रहरीले सही गर्नुहोस् भन्दा सही गरिदिएको हो । मलाई सो घटना विषयमा केही थाहा छैन भन्ने व्यहोराको वस्तुस्थिति मुचुल्काका उमा रमतेलले अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले जबर्जस्ती करणी गरेको होइन । पीडित र प्रतिवादीसँगै भूईंमा सुतेका थिए । म पनि त्यसै कोठामा सुतेकी थिएँ र निजहरूले करणी गरेको शुरूदेखि नै मैले थाहा पाएकी थिएँ, मौकाको व्यहोरा मेरो होइन, सही गर भनेकाले सहीछाप गरेकी हुँ भन्ने व्यहोराको घटना विवरण कागजका मानिस संगिता विश्वाले अदालतमा गरेको बकपत्र ।
म युनिटमा काम गर्ने भएकाले रिपोर्ट गर्दा रिपोर्ट लिएको र कारवाही गर्दै जाँदा हाल बुझ्दा यी पीडितलाई प्रतिवादीले जबर्जस्ती करणी गरे गरेनन् म भन्न सक्तिन । मौकाको कागज व्यहोरा सुनाउँदा सुनी पाएँ व्यहोरा आज लेखाई दिएको ठीक हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस यदुनाथ भट्टराईले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी लोकबहादुर, पीडित, म र संगितासमेत एउटै कोठामा सुतेका हौं । लोकबहादुर र म एउटा खाटमा र पीडित र संगिता अर्को खाटमा सुतेका थियौं । राति घटना सम्बन्धमा केही थाहा भएन । बिहान पनि राम्रो थियो । पीडित र हामीसँगै हाँसी खुशी घर गएका हौं । प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गरेको होइन । निजहरूबीच प्रेम सम्बन्ध थियो भन्ने वादीका साक्षी भक्तबहादुर विश्वाले अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले मञ्जूरीसाथ मलाई करणी गरेको हो तर जबर्जस्ती होइन । वारदात मितिमा म १७ वर्ष पुगेकी छु । मौकाको कागज व्यहोरा सुने यस्तो व्यहोरा लेखाएको र मैले सहीछाप गरेको कुरा मलाई थाहै छैन । मिति २०६७।२।२३ भन्दा अगाडि पनि प्रतिवादीसँग करणी लिनु दिनु भएको हो भन्ने व्यहोराको पीडित ग२४ ले अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गर्यो गरेन म जान्दिन । नातिनी हराएकीले थानामा रिपोर्ट दिएको र थानाले नै नातिनी र प्रतिवादी दुबैजनालाई खोजेको हो । नातिनीको जन्म मिति मलाई थाहा छैन, उनको उमेर १५–१६ वर्ष भयो । जाहेरी व्यहोरा सुनाउँदा सुनी पाएँ सो व्यहोरा र सहीछाप मेरै हो भन्ने व्यहोराको जाहेरवाला नरबहादुर दर्जीले अदालतमा गरेको बकपत्र ।
मिति २०६७।२।२६ गते पीडितले गरिदिएको कागज निजले मेरै रोहवरमा गरेको र सो कागजमा म बेलडाँगी–२ को फोकल पोइन्टको प्रतिनिधिको हैसियतले सहीछाप गरी दिएको हुँ । सहिछाप मेरै हो, मलाई त्यतिखेर १४ वर्ष उमेर भनेको हो अरू म जान्दिन भन्ने व्यहोराको घटना विवरण कागजका व्यक्ति देवीमाया घिमिरेले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी लोकबहादुर विश्वाले निवेदनसाथ पेश गरेको पीडितको उमेर खुल्ने पञ्चवती इङ्लिस स्कुलको प्रमाणपत्र मिसिल संलग्न रहेको ।
जाहेरवाला, पीडित, मौकामा बुझिएका र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको मौकाको व्यहोरा र अदालतसमक्षको बकपत्र, प्रतिवादीको बयान, पीडितको जन्म मिति खुलेको शरणार्थी समन्वय समितिको रजिष्ट्रेशन कार्डसमेतका मिसिल संलग्न कागजातबाट प्रतिवादी लोकबहादुर विश्वाले १४ वर्ष माथि १६ वर्ष मुनीकी ग२४ उपनामकी पीडितलाई जबर्जस्ती करणी गरेको ठहर्छ । सो ठहर्नाले निजलाई जबर्जस्ती करणीको महलको ३(३) नं. बमोजिम कैद वर्ष ६ हुने र ऐ. महलको १० नं. बमोजिम पीडितले रू. २५,०००।– क्षतिपूर्ति भराई लिन पाउनेसमेत ठहर्छ भन्ने शुरू झापा जिल्ला अदालतको मिति २०६७।११।८।१ को फैसला ।
पीडितले मौकामा कागज गर्दा इच्छाविपरीत करणी गरेको भने पनि सोही कागजमा एकैरातमा २ पटकसम्म करणी भएको तर आफूले कुनै प्रतिकार नगरेको व्यहोरा उल्लेख हुनु, अदालतमा बकपत्र गर्दा पनि करणी स्वेच्छिक हो र सो भन्दा पहिले पनि पटकपटक करणी लिनुदिनु गरेको कुरा स्वीकार गर्नु, सँगै सुतेकी संगिता विश्वाले मौकामा कागज गर्दा करणीको सम्बन्धमा कुनै कुरा थाहा नपाएको उल्लेख गर्नु र अदालतमा बकपत्र गर्दा निजहरूले करणी लिनुदिनु गरेको मैले सबै थाहा पाएकी थिँए, आपसी सहमतिका आधारमा राजीखुशीले करणी लिनुदिनु गरेका हुन् भनी बकपत्र गर्नु जस्ता अवस्था र परिस्थितिले पीडितलाई मैले जबर्जस्ती करणी नगरेको कुरा प्रमाणित भएको छ । पीडितको उमेरको सम्बन्धमा निजको हजुरबुबा जाहेरवालाले अदालतमा बकपत्र गर्दासमेत यकीन उमेर खुलाउन नसकेको, पीडितले अध्ययन गरेको पञ्चवती अङ्ग्रेजी विद्यालयले प्रमाणित गरी दिएको प्रमाणपत्रमा उल्लेख भएको जन्म मिति र पीडितले अदालतमा बकपत्र गर्दा आफ्नो उमेर १७ वर्ष लेखाएको प्रमाणलाई ग्रहण नगरी गरिएको फैसला प्रमाण ऐन, २०३१ को दफा ९, १९ तथा मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. विपरीत त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी अभियोग माग दावीबाट सफाइ दिलाई पाऊँ भन्ने व्यहोराको प्रतिवादी विकास भन्ने लोकबहादुर विश्वाको पुनरावेदन अदालत, इलाममा परेको पुनरावेदनपत्र ।
यसमा पीडितले अदालतमा बयान गर्दा प्रतिवादीसँग स्वेच्छाले करणी गरेको हो भनी लेखाएको र पीडितको जन्म मिति हेर्दा पञ्चवती इङ्लिस स्कुलको प्रमाणपत्रबाट २८–०१–१९९४ उल्लेख भएको देखिएको हुँदा सो उमेर सम्बन्धमा कुनै विवेचना नै नगरी भएको शुरू झापा जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने हुँदा छलफलका लागि मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकील कार्यालय, इलामलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, इलामबाट मिति २०६८।३।१९।१ मा भएको आदेश ।
यसमा पीडित ग२४ (परिवर्तित नाम) को उमेरसम्बन्धी विवादित तथ्य निरूपण गर्न आवश्यक देखिँदा पीडित ग२४ को उमेर निजको शारीरिक परीक्षण जाँच गर्दाका अवस्थामा के कति उमेर कायम हुने रहेछ सो सम्बन्धमा निज पीडितको शारीरिक परीक्षण गर्नको लागि पीडित ग२४ लाई पुनरावेदन सरकारी वकील कार्यालय, इलाममार्फत उपस्थित गराई जिल्ला अस्पताल इलामबाट निज पीडितको शारीरिक जाँच परीक्षण गराई निजको उमेरसम्बन्धी परीक्षण प्रतिवेदन प्राप्त भएपछि नियमबमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६८।७।२३।४ को आदेश ।
उमेर जाँचको लागि पठाइएको पीडित ग२४ नाम परिवर्तितको शारीरिक परीक्षण, यौनाङ्ग परीक्षण, दन्त परीक्षण, Radiological परीक्षण, शारीरिक विकास, मानसिक विकास आदिका आधारमा निजको उमेर १८ वर्षभन्दा माथि र २० वर्षभन्दा तल हुन सक्ने देखिन्छ भन्ने इलाम अस्पतालको च.नं. १३१ मिति २०६८।८।२६ को उमेर जाँचसम्बन्धी राय सहितको पत्र ।
यसमा पीडित ग२४ को उमेर सम्बन्धमा राय व्यक्त गर्ने इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. तारानाथ पोखरेललाई पुनरावेदन सरकारी वकील कार्यालय, इलाममार्फत उपस्थित गराउन दिन तोकी पत्र लेखी उपस्थित भएपछि बकपत्र गराई पेश गर्नु भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६८।९।२६।३ को आदेश ।
निज पीडितको उमेर यकीन गर्दा शारीरिक, मानसिक एवं यौनाङ्गको विकासको आधार मानी दन्त परीक्षण, हड्डीको विकास, हड्डीको निर्माण प्रक्रिया आदिका आधारमा उमेर परीक्षण गरिएको हो । निजको शारीरिक विकास पूर्णरूपमा भएको, स्तनको विकास भइसकेको साथै बाह्य प्रजनन अङ्गहरू रौंहरूको समेत विकास भइसकेको पाइयो । निजको दाँतको विकासको परीक्षण गर्दा सबै दाँतहरू बुद्धि बङ्गरा बाहेक २८ वटा पाइयो । सामान्यता बुद्धि बङ्गरा १८ देखि २२ वर्षभित्रमा उम्रने तथा निस्कने गर्दछ । उक्त X-Ray परीक्षणको आधारमा उमेरलाई औसतरूपमा गणना गर्दा १८ देखि २० वर्ष भएको प्रमाणित हुन्छ । निजसँग लिएको अन्तर्वार्ताको आधारमा मान्दा निज किशोरावस्था पूरा गरी वयस्क अवस्थामा प्रवेश गरेको अनुसन्धानबाट पाइयो भन्ने व्यहोराको बुझिएका डाक्टर तारानाथ पोखरेलले पुनरावेदन अदालत, इलाममा गरेका बकपत्र ।
भुटानी शरणार्थी शिक्षा कार्यक्रमअन्तर्गतको पञ्चवती इङ्लिस स्कुलको स्थानान्तरण प्रमाणपत्रमा उल्लिखित पीडितको जन्म मिति र इलाम जिल्ला अस्पतालका डाक्टर तारानाथ पोखरेलबाट भएको पीडितको उमेरसम्बन्धी परीक्षण प्रतिवेदनसमेतका आधारमा वारदात मिति समयमा पीडितको उमेर १६ वर्षमाथि रहे भएको भन्ने पुष्टि हुन आएकोले शरणार्थी समन्वय समितिको रजिष्ट्रेशन कार्डमा उल्लिखित साललाई आधार मानी वारदात मितिमा पीडितको उमेर १६ वर्षमुनि रहेको भन्ने कायम गरी निज ग२४ उपनामकी पीडितलाई प्रतिवादीले जबर्जस्ती करणीको कसूर गरेको ठहर्याई निज प्रतिवादीलाई ६ वर्ष कैद सजाय हुने भनी शुरू झापा जिल्ला अदालतबाट मिति २०६७।११।८।१ मा भएको फैसला मिलेको नदेखिँदा उक्त फैसला उल्टी भई १६ वर्षमाथिको पीडित र प्रतिवादी विकास भन्ने लोकबहादुर विश्वाका बीच स्वेच्छाले करणी लिनु दिनु भएको कार्यलाई जबर्जस्ती करणीको १ नं. विपरीतको कसूर मान्न नमिल्ने हुँदा निज प्रतिवादी विकास भन्ने लोकबहादुर विश्वाले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६८।११।३० को फैसला ।
करणी भएको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको छ । भुटानी शरणार्थी दर्ता विवरणमा पीडितको जन्म मिति सन् १९९६ उल्लेख भई घटनाको बेला निजको उमेर १४ वर्षको मात्र उल्लेख भई सोहीबमोजिम पीडितले शरणार्थी सुविधा प्राप्त गर्दै आएको अवस्था छ । उक्त दर्ता विवरण नेपाल सरकारबाट प्रमाणित दस्तावेज भई जन्मदर्ता सरह मान्य प्रमाणको रूपमा रहेको छ । यसरी पीडितको उमेर १४ वर्ष भएको प्रमाणित भएको अवस्थामा अभियोग दावीबाट सफाइ दिने उद्देश्यले पुनरावेदन तहमा पीडितको उमेर जाँच गर्न लगाई सोही रिपोर्टको आधारमा प्रतिवादीलाई सफाइ दिएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ ।
बाल न्याय कार्यविधि नियमावली, २०६३ को नियम १५ अनुसार नाबालकको हकमा उमेरको विवाद भएमा जन्मदर्तामा भएको उमेरलाई आधार मान्नुपर्ने प्राथमिकता क्रममा तोकेको छ । तर अदालतले जन्मदर्ता सरहको भुटानी शरणार्थी दर्ता विवरणलाई मान्यता नदिई गरेको फैसला ने.का.प. २०६८, अङ्क ९, नि.नं. ८६३१, पृष्ठ १६०६ विपरीत हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री पुष्करराज सापकोटाले प्रस्तुत गर्नु भएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा प्रतिवादीले आरोपित कसूरबाट सफाइ पाउने ठहर गरेको पुनरावेदन अदालत, इलामको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा वर्ष १४ की ग २४ (नाम परिवर्तन) लाई लोकबहादुर विश्वाले जबर्जस्ती करणी गरेको हुँदा जबर्जस्ती करणीको १ नं. को कसूरमा ऐ. ऐनको दफा ३(३) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १० बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई पाऊँ भन्ने अभियोग मागदावी भएकोमा अभियोग दावीबमोजिम प्रतिवादीलाई सजाय हुने र पीडितले रू. २५,०००।– क्षतिपूर्ति भराई लिन पाउने ठहर गरेको शुरू झापा जिल्ला अदालतको मिति २०६७।११।८ को फैसला उल्टी गरी प्रतिवादी लोकबहादुर विश्वाले अभियोगदावीबाट सफाइ पाउने ठहर गरेको पुनरावेदन अदालत, इलामको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको देखियो ।
३. पीडितको उमेर १४ वर्ष भएको प्रमाणित भएको अवस्थामा पुनरावेदन तहमा पीडितको उमेर जाँच गर्न लगाई सोही प्रतिवेदनको आधारमा प्रतिवादीलाई सफाइ दिएको पुनरावेदन अदालतको फैसला मिलेको छैन भन्ने नै वादी नेपाल सरकारको पुनरावेदन जिकीर रहेको छ ।
४. १६ वर्ष भन्दा कम उमेरकी ग२४ (नाम परिवर्तन) नाबालिग भन्ने अभियोग तथा पुनरावेदन जिकीर र पीडित १६ वर्षभन्दा माथि रहेकी र निजसँग आपसी सहमतिमा करणी लिनुदिनु भएको हुँदा जबर्जस्ती करणी होइन भन्ने प्रतिवादीको बयान रहेको देखिँदा प्रस्तुत मुद्दामा पीडित भनिएकी ग२४ उमेर पुगेकी हुन् होइनन् र प्रतिवादी र यी पीडितबीच भएको करणी आपसी सहमतिको हो वा जबर्जस्ती करणीको वारदात हो भन्ने विवादित विषयको निरोपण गरिनुपर्ने देखिन आएको छ ।
५. वारदात २०६७।२।२३ मा घटेको र सो वारदात मितिमा पीडितको उमेर १४ वर्षको भएको भन्ने अभियोग छ । तर, निजै पीडितले अदालतमा गरेको बकपत्रमा वारदातको समयमा आफू १७ वर्ष पुगिसकेको भनी उल्लेख गरेबाट पीडितको उमेरको विषयमा नै पीडित र वादी पक्षबाट फरकफरक कुरा उल्लेख भएको छ । यसरी उमेरका विषयमा नै विवाद रहेबाट वारदात मितिमा पीडितको उमेर सम्बन्धमा यकीनका लागि पुनरावेदन अदालत, इलामबाट मिति २०६८।७।२३ मा भएको आदेशबमोजिम इलाम अस्पतालबाट निज पीडितको शारीरिक परीक्षण, यौनाङ्ग परीक्षण, दन्त परीक्षण, शारीरिक विकास, मानसिक विकास आदिका आधारमा निजको उमेर १८ वर्ष माथि र २० वर्ष भन्दा तल रहेको भन्ने व्यहोराको २०६८।८।२६ को उमेर जाँच प्रतिवेदन रहेको र सो उमेर जाँच प्रतिवेदनलाई समर्थन हुने गरी उक्त राय प्रस्तुत गर्ने विशेषज्ञ डाक्टर तारानाथ पोखरेलले अदालतमा बकपत्र गरेको देखिन्छ ।
६. त्यसैगरी पञ्चवती इङ्लिस स्कुलबाट जारी भएको पीडितको प्रमाणपत्रमा निजको उमेर २८–०१–१९९४ उल्लेख भएको पाइदा उक्त मिति २८–०१–१९९४ बाट वारदात मिति २०६७।२।२३ सम्मको अवधि गणना हुँदा पीडितको उमेर १६ वर्ष भन्दामाथि रहेको देखिन आएको छ । पीडित स्वयमले वारदात मितिमा आफ्नो उमेर १७ वर्ष भएको भनी उल्लेख गरेकी छिन् । विद्यालयको प्रमाणपत्रबाट र पीडितको उमेरसम्बन्धी वैज्ञानिक परीक्षणबाटसमेत सो तथ्यको पुष्टि हुन आएबाट पीडितको उमेर सम्बन्धमा वादीले दावी लिएबमोजिम नाबालिग भन्ने देखिन आएन । २०६८।८।२६ को उमेर जाँच प्रतिवेदनमा पीडितको शारीरिक परीक्षण, यौनाङ्ग परीक्षण, दन्त परीक्षण, शारीरिक विकास, मानसिक विकास आदिका आधारमा निजको उमेर १८ वर्षमाथि र २० वर्ष भन्दा तल रहेको भन्ने उल्लेख हुँदा वारदात मितिमा पीडितको उमेर १६ वर्ष नाघेको प्रमाणित भएको छ । उमेरको सम्बन्धमा सम्बन्धित विशेषज्ञले दिएको प्रतिवेदन र सोही व्यहोरा मिलानको बकपत्रसमेत भएबाट विशेषज्ञको राय प्रमाणमा लिन मिल्ने नै हुँदा र त्यस्तो राय अन्यथा प्रमाणित नभएसम्म ग्राह्य हुने कुरामा विवाद हुन सक्दैन ।
७. जहाँसम्म पुनरावेदन तहबाट उमेर जाँच गर्न लगाएको मिलेको छैन भन्ने पुनरावेदन जिकीर रहेतर्फ विचार गर्दा विवाद देखिएको विषयमा र विवाद निरोपण गरी न्याय प्रदान गर्ने विषयमा जुनसुकै तहमा प्रमाण बुझ्न कानूनले बन्देज गरेको छैन । कसूर साबित गर्नको लागि प्रमाण पुर्याउनुपर्ने भार प्रमाण ऐन, २०३१ को दफा २५ ले वादीमा नीहित गरेको छ । प्रतिवादी विरूद्ध वादी पक्षबाट प्रमाण गुजार्न नसक्नु र विवाद देखिएका विषयमा न्याय निरोपणको लागि पुनरावेदन तहबाट प्रमाण बुझ्नै नहुने भन्ने वादीको जिकीरलाई कानूनसम्मतको जिकीर मान्न मिलेन ।
८. माथि विवेचित तथ्य, वैज्ञानिक आधार र कानूनी प्ररिप्रेक्षमा अध्ययन गरी हेर्दा पीडित भनिएकी ग२४ नाबालिग भन्ने तथ्य खण्डित हुन आएको छ । अब, बालिग भई सकेकी र कानूनी परिभाषामा उमेर पुगिसकेकी महिला र पुरूषबीच लेनदेन भएको करणीका विषयमा मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. ले के कस्तो व्यवस्था गरेको छ सोतर्फ हेर्दा उक्त दफामा कानूनीरूपमा उमेर नपुगेका बालिकाको मन्जूरी लिई करणी गरेको भएपनि जबर्जस्ती करणीको कसूर गरेको मानिने र १६ वर्ष भन्दा माथिको महिलाको हकमा निजको मन्जूरीबेगर डर, त्रास, धम्की र अनुचित प्रभावमा पारी करणी गरेको अवस्थालाई कानूनले जबर्जस्ती करणीको कसूर मानेको छ । तर, महिला र पुरूष दुबैको उमेर पुगेको छ र जबर्जस्ती करणीको १ नं. विपरीतको कार्य नगरी दुबैको मञ्जूरीबाट कुनै महिला र पुरूषबीच आपसी सहमतिमा करणी लिनुदिनु गरेको कार्यलाई Unlawful Act मानेको छैन । यसरी कानूनले नै Unlawful Act भनी परिभाषित नगरेको अवस्थामा उमेर पुगेका महिला र पुरूषबीच आपसी सहमतिमा स्थापित गरिएको सम्बन्धलाई कानूनविपरीतको कार्य मानी सजाय गर्न कानूनले नै बन्देज लगाएको छ ।
९. प्रस्तुत विवादमा यी प्रतिवादी लोकबहादुर विश्वाले ग२४ पीडितलाई जबर्जस्ती करणी गरेको आरोप लगाइएता पनि यीनै पीडितले मौकामा कागज गर्दा यी पीडित र निजकी महिला साथी संगिता र पुरूषहरूमा लोकबहादुर र भक्तबहादुर मिति २०६७।२।२३ मा चारजना साथीभाइ भई दमकस्थित नीलकण्ठ हलमा फिल्म हेरी बेलुकी झापा फर्कने क्रममा रात परेपछि बेलडाँगी १ स्थित होटलमा चारैजना एउटै कोठामा रात व्यतीत गरेको कुरा पीडितसमेत चारैजनाले स्वीकार गरेका छन् । दुई पुरूष र दुई महिला एउटै कोठामा रात बिताएको अवस्थामा आरोपित प्रतिवादीले यी पीडितलाई जबर्जस्ती करणी गर्ने प्रयाश गरेको भए तत्काल अवस्थामा नै एउटै कोठामा मौजूद रहेका अन्य दुईजनासँग पीडितले सहयोग माग्न नसक्ने अवस्था थिएन । तर प्रस्तुत वारदातमा पीडितले आफ्ना साथीहरूसँग कुनै सहयोग वा याचना गरेकी छैनन् ।
१०. प्रतिवादीले गरेको बयानमा पीडितको मञ्जूरीले नै दुई पटकसम्म करणी गरेको कुरालाई स्वीकार गरेका छन् । यसरी नै तिनै पीडित भनिएकी ग२४ ले अदालतमा गरेको बकपत्रमा आफू १७ वर्ष उमेरकी भएकी र वारदात भनिएको रातमा प्रतिवादीसँग दुई पटकसम्म करणी लेनदेन भएको र यस भन्दा अगाडिका विभिन्न मितिमा समेत राजीखुशीले करणी लिनु दिनु गरेको तथ्यलाई अदालतमा समेत व्यक्त गरेकी छन् ।
११. उमेर पुगेका दुई महिला र दुई पुरूष एउटै कोठामा रात व्यतीत गर्नु, जबर्जस्ती करणीका विषयमा अर्को पक्षले अनभिज्ञता प्रकट गर्नु र जसलाई पीडित र आरोपित मानिएको छ ती दुबैले आफूले सहमतिमा करणी गरेको तथ्यलाई स्वीकार्नु, पीडित भनिएकी महिलामा जबर्जस्ती करणीका कुनै चिन्ह नदेखिनु, एउटै पलङमा सुतेकी पीडितकी साथी संगिताले अदालतमा गरेको बकपत्रमा आफू पीडितसँग सुतेको भएपनि निज पीडितले लोकबहादुर विश्वासँग राति करणी गरेको थाहा पाएकी र उक्त करणी आपसी सहमतिमा भएको कुरा उल्लेख गर्नु यस कुरालाई पीडितले अस्वीकार नगर्नु, जस्ता परिस्थितिजन्य प्रमाण तथा तथ्यबाट जबर्जस्ती करणी भएको तथ्य स्थापित हुन आएको छैन ।
१२. पीडित भनिएकी महिलाद्वारा नै आपसी सहमतिमा प्रतिवादीसँग करणी लिनुदिनुको कार्य स्वीकार गरेको त्यस्तो अवस्थाको कार्यलाई जबर्जस्ती करणीको कसूर कायम गर्न मिलेन । पीडितको उमेर, निजको शारीरिक परीक्षण, निज पीडितले नै आपसी सहमतिमा करणी भएको भनी स्वीकार गरेको तथ्यगत आधारसमेतलाई कानूनको कसीमा प्रमाणको मूल्याङ्कन गरी जबर्जस्ती करणीको कसूर कायम नहुने ठहर गरेको पुनरावेदन अदालत, इलामको फैसला मनासिब नै देखिन आयो ।
१३. अतः माथि विवेचित आधार र कारणबाट पीडित ग २४ लाई यी प्रतिवादी लोकबहादुर विश्वाले जबर्जस्ती करणीको कसूर गरेको तथ्य स्थापित हुन नआएकाले शुरू झापा जिल्ला अदालतको मिति २०६७।११।८ को फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाउने ठहर गरेको पुनरावेदन अदालत, इलामको मिति २०६८।११।३० को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.तर्कराज भट्ट
इति संवत् २०७० साल असार ९ गते रोज १ शुभम् ।
इजलास अधिकृत : दीपक ढकाल