शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४४६ - अंश

भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक:

निर्णय नं. १४४६     ने.का.प. २०३८                        अङ्क २

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

सम्वत् २०३६ सालको देवानी पुनरावेदन नम्बर १९२

फैसला भएको मिति :      २०३८।१।१५।२ मा

पुनरावेदक : का.जि. का.न.पं. वडा नं. २८ भेडासिंह खिल्ह टोल बस्ने गर्भलाल प्रधानाङ्ग

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने तुम्बकेश्वरलाल प्रधानाङ्ग

मुद्दा : अंश

(१)   एकपटक बण्डापत्र भएपछि पुनः बण्डा गरिपाउँ भनी अंशबण्डाको १ नं. ले नालेस लाग्न सक्ने कानूनी व्यवस्था नदेखिने ।

(प्रकरण नं. १३)

फैसला

            न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर प्रतिवादीको निवेदनबाट पुनरावेदनको अनुमति पाई लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ ।

            २.    पिताजी प्राणेश्वर लालको २ पत्नीमा मेरो आमा जेठी लक्ष्मी देवी विपक्षीको आमा दिव्य लक्ष्मी भएको, पिता मेरो आमातर्फबाट म १ छोरा र कान्छीतर्फबाट विपक्षी १ र छोरी ३ भएका, पिता र मेरो आमा परलोक हुनु भएबाट अंशियारमा विपक्षी र विपक्षीको आमा भएको विपक्षीको आमाको छोरीहरूले विवाह खर्च समेत गर्ने गरी अरू घर जग्गाको दावा नलिई रौतहट जिल्लाको जग्गा विगाहा ४ लिने अरू २ भाइले बराबर बाँडी लिने गरी मधेशको जग्गा र भादगाउँको घर अंशबण्डा गरी २०२१ साल कार्तिक १९ गते बण्डापत्र पारित गरी छुट्टि भिन्न भएको थियो । मधेशको जग्गा कुनै विपक्षीको नाउँमा कुनै मेरो छोरा त्रिभूवनलालको नाउँमा दर्ता गराई मालपोत बुझाई भोगचलन गरी आएकोमा मेरो हकको जग्गासमेत विपक्षी र विपक्षीको आमा मिली बाबुका नाउँमा जग्गा पारित भएको बण्डापत्र छँदाछँदै सो बण्डापत्र दवाई बाबुको हक खाने म वाहेक अरू हक खाने हकदार कोही छैन भनी निवेदन दर्खास्त दिने विपक्षी र छोराको नाउँमा गरे मञ्जूर छ भन्ने निजको आमा भई जालसाजी नाउँसारी गराएकोले जालसाजीमा र नाउँसारी बदरमा नालेस गरे कै छु बण्डापत्रमा अबण्डा राखेको भक्तपुरको घर र विपक्षी आमाले लिनु भएको ४ विगाहा कटाई बाँकी विपक्षी र मेरो छोराको नाउँमा दर्ता भएको जग्गाको तायदाती लिई आधीआधी गरी अड्डैबाट छुट्याई पाउँ भन्ने समेत वादी ।

            ३.    त्रिभुवनलालका नाउँमा समेत नालेश नभएको त्रिभुवनका नाउँमा दर्ता भएको जग्गा मबाट तायदाती लिई बण्डा छुट्याई पाउँ भन्ने फिराद दावा कसरी लाग्छ ०२१ सालमा बण्डापत्र पास भई छुट्टिभित्र भइसकेपछि अबण्डा बाँकी भएजस्तो कि सोही पास बण्डपत्रमा लेखिएको छ भक्तपुरको घर अबण्डा हुन बण्डा हुन बाँकी त्यस्तै मधेशको जग्गा पनि लेखिनु पर्ने नलेखिएबाट बण्डा हुन बाँकी अबण्डा भन्ने फिराद लेख मै झुठ्ठा छ । यदि बण्डा हुन बाँकी भए के कति विगाहा चौहदी मोल बिगो खुलाई कोर्टफी राखी उजूर गर्नु पथ्र्यो बण्डा उठी पास भई छुट्टी सकेपछि अंशबण्डा भन्ने प्रश्न आउँदैन फिरादीका छोरा त्रिभुवनलालका नाउँमा दर्ता भएको ४ विगाहा जग्गा आमालाई अंश बापत दिई अरू जग्गा म गर्भलालले खाने बन्दोबस्त भई दर्तावाला त्रिभुवनले छोडपत्र गरी दिई यिनै फिरादी लिखतको अन्तर्गत साक्षी बसी पास भएको छ सो लिखतबाट मेरो एकलौटी हक देखिनेमा बण्डा छुट्याई पाउँ भनी झुठ्ठा उजूर गरेमा वादीलाई सजाय गरिपाउँ भन्ने समेत प्रतिवादी ।

            ४.    एकपटक बण्डा भई सो पछि फेरि तायदातीलाई अंश दिलाई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने हुँदा वादी वादी फजुल ठहर्छ भन्ने का.जिल्ला अदालतको ०३३।६।२४।१ को फैसला ।

            ५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

            ६.    वादी प्रतिवादीका पेट वोलीमा उल्लिखित त्रिभुवनलाल प्रधानाङ्लाई अ.बं.१३९ नं. अनुसार नबुझी मुद्दा छिनेको देखिँदा का.जि.अ.को फैसला बदर हुने ठहर्छ निजलाई बुझी काठमाडौं जिल्ला अदालतमा तारेख तोकी पठाउने ठहर्छ भन्ने समेत ०३४।३।१४।२ को बागमती अञ्चल अदालतको फैसला ।

            ७.    बागमती अञ्चल अदालतको फैसला उपर इन्साफ जाँच गरिपाउँ भनी प्रतिवादीले श्री ५ महाराजाधिराज सरकारका हजुरमा विन्ती पत्र चढाएकोमा इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउँ दिनु भन्ने हुकुम प्रमांगी बक्स भई श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभागको पत्र साथ मध्यमाञ्चल क्षेत्रीय अदालतमा प्राप्त हुन आएको रहेछ ।

            ८.    मुद्दाको अंग पुर्‍याई कानूनबमोजिम निर्णय गर्न पठाइएको अवस्थामा पुनरावेदन सुन्ने अदालतबाट हास्तक्षेप गर्न मनासिव भएन तसर्थ बागमती अञ्चल अदालतको मनासिव छ भन्ने समेत २०३५।९।१९।४ को मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्चको फैसला ।

            ९.    मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदनमा यसमा बण्डापत्र भएपछि फेरि बण्डा गरिपाउँ भनी फिराद गर्न पाउने कुनै कानूनको आधार नदेखाएकोले यस्तो फिराद खारेज गर्नु पर्नेमा इन्साफ भई आएकोबाट अंशबण्डाको ३५ नं. को प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि भएको त्यस्तो त्रुटि सार्वजनिक महत्व विषय हुनाले निवेदकलाई न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदनमा अनुमति दिएको छ नियमानुसार गर्नु भन्ने डिभिजन बेञ्चको मिति २०३६।८।१६।१ को आदेश रहेछ ।

            १०.    उक्त आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको यस मुद्दामा पुनरावेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीको बहस समेत सुनियो ।

            ११.    प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षे.अ.को फैसला मनासिव छ छैन भन्ने तर्फ निर्णय दिनु परेको छ ।

            १२.   यसमा विपक्षी वादी तुम्ब केशवलाल प्रधानाङ्ग र प्रतिवादी पुनरावेदक गर्भलाल प्रधानङ्गको बीच २०२१।७।१९ गते बण्डापत्र भएको कुरा वादी तुम्ब केशवलाल प्रधानाङ्गगले स्वीकार गरेको पाइन्छ । जहाँसम्म अबण्डामा रहेको सम्पत्तिको कुरा छ त्यसमा शुरू जिल्ला अदालतले आफ्नो निर्णयमा अबण्डा भए यो जग्गा घर अबण्डा भएको छुट्याई पाउँ भनी मोल बिगो खोली कोर्टफी राखी उजूर गर्न ऐनले हक दिएकै छभन्ने समेत गरी निर्णय गरेको देखिन्छ । प्रस्तुत फिरादमा एकपटक अंशबण्डा भइसकेकोमा पुनः समुच्चै सम्पत्तिको तायदाती लिई बण्डा छुट्याई पाउँ भन्ने वादी दावीको सम्बन्धमा निर्णय गरेको पाइन्छ ।

            १३.   एकपटक बण्डा भएपछि पुनः बण्डा गरिपाउँ भनी अंशबण्डाको १ नं. ले नालेस लाग्न सक्ने कानूनी व्यवस्था देखिँदैन । तसर्थ वादी प्रतिवादीका पेटबोलीमा उल्लिखित त्रिभुवनलाल प्रधानाङ्गलाई अ.बं.१३९ नं. अनुसार नबुझी मुद्दा छिनेको देखिँदा शुरू काठमाडौं जिल्ला अदालतको फैसला बदर हुन्छ भनी गरेको बागमती अञ्चल अदालतको फैसलालाई सदर गर्ने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय त्रुटिपूर्ण देखिन्छ । अतः वादीको दावी नपुग्ने ठहराएको काठमाडौं जिल्ला अदालतको मिति २०३३।६।२४।१ को इन्साफ सदर ठहर्छ । प्रतिवादी गर्भलाल प्रधानाङ्गले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.२५। रुपैयाँँ वादी तुम्बकेश्वरलाल प्रधानाङ्गबाट भराई पाउँ भनी वादीको यस सरहदको जायजात देखाई कोर्टफी ऐनका म्याद दुई वर्षभित्र प्रतिवादीको दर्खास्त परे दस्तुर केही नलिई उक्त कोर्टफी रू.२५। वादीबाट प्रतिवादीलाई भराई दिनु भनी काठमाडौं जिल्ला अदालत तपसीलमा लगत दिई नियमबमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०३८ साल वैशाख १५ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु