निर्णय नं. १४४९ - बण्डापत्र पास

निर्णय नं. १४४९ ने.का.प. २०३८ अङ्क ३
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३६ सालको दे.पु.नं. १७१
फैसला भएको मिति : २०३८।२।२।६ मा
पुनरावेदक : भक्तपुर ताथली गा.पं. वडा नं. ९ बस्ने शेरबहादुर पंडित क्षेत्री
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने इन्द्रबहादुर मरी मु.स.गर्ने गणेशकुमारी पंडित क्षेत्री
मुद्दा : बण्डापत्र पास
(१) मुद्दा पर्दापर्दै अड्डा बाहेक अन्यत्र रही खडा गरेको मिलापत्र सरहको बण्डापत्र पारित गर्नलाई बाधा नदेखिएको कुरा के भने पञ्चायत समेत रही खडा भएकोले हो, अब पारित हुन लायक देखिए पनि त्यस्तो लिखत पारित गरौंला भन्ने बोली नपरे पनि ऐनले रजिष्ट्रेशन पारित गर्न पर्ने लिखतलाई बोली नपरे पनि पारित गर्न हुने नै भयो । त्यसरी आपसमा लेनदेन गर्दा आफूले लिनुदिनु गर्न हुने कुरामात्र लिनदिन हुने हो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले परस्परमा लेनदेन गर्न नपाउने अरू जग्गाधनी भएको मोहियानी हकको जग्गा पनि यस लिखतमा परेको हुँदा त्यस्ता मोहियानी हकको जग्गा पनि यस लिखतमा परेको हुँदा त्यस्तो मोहियानी हकका जग्गा बाहेक गरी अरू लिएदिएको पाउने गरी लिखत पारित गरी दिनुपर्ने ।
(प्रकरण नं. १५)
फैसला
न्या. हेरम्बराज : ०३५।२।८।१ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. खड्गबहादुरको २ छोरामा जेठा महिन्द्रबहादुर कान्छा कृष्णबहादुर भएको महिन्द्रबहादुरको छोरा सेरबहादुर, कृष्णबहादुरको छोरा फिरादी महेन्द्रबहादुर हुँ । बाबुहरू मरेपछि अन्यायवालासँग ०१०।१।२९ गते मानु छुट्टिएको हुँदा तायदाती लिई अंशबण्डा गरिपाउँ भनी अंशमुद्दाको फिराद गर्दा प्रतिउत्तर परी सकेपछि २०२३।१२।३० मा डिसमसि भएको छ । उक्त मुद्दा दायर छँदै स्थानीय गा.पं.का प्रधानपञ्च, उपप्रधानपञ्च, र वडासदस्यहरू आई सम्पत्तिको तायदाती फाँट लिई रोक गेख मिलाई अघि छुट्याई ०२३।१०।२२ मा दायरी मद्दाको मिलापत्र गर्ने इत्यदि व्यहोराको २ प्रति बण्डापत्र खडागरी अंश लिनुदिनु गरेकोमा सो बण्डापत्र पारित गरी नदिएकोले पारित गरिपाउँ भन्ने समेत फिरादपत्र ।
३. ०१०।१।२९ मा मानु छुट्टिएको भन्ने कुरा निरर्थक हो आफ्नु–आफ्नु बाबुकै पालमा भिन्न बसी आएका हो । ०२३।१०।२२ गते बण्डापत्र खडा गरेको होइन । कि.नं. ४२९–४५०–४२७–५०४–४२८–५०२–५०३ समेतका कित्ता जग्गा शारदामान बैद्यलाई जग्गावाला मानि म र आमा दण्डकुमारी मोही सम्म भई कमाई आएकोले त्यस्तो जग्गा बण्डापत्र र जोत हक छाड्ने गरी पञ्चायतले लिखत गराउन पाउने हक अधिकार छैन । बण्डापत्र भनेको लिखत हेर्ने सुन्न पाए नामाकरण गर्नेछु । अंशमुद्दा डिसमिस गराएकोले प्रस्तुत फिराद अ.बं.१७९ नं. ले लाग्न नसक्ने भन्ने समेत प्रतिउत्तरपत्र ।
४. पञ्चायतका प्र.पं.को रोहवरमा मिलापत्रसम्म गरेको कागज हुँदा करार सम्बन्धी ऐन, २०२३ को दफा १० को उपदफा (१) ले शर्त नभएको कुरामा दायित्व पुरागर्न प्रतिवादीलाई कर नलाग्ने हुँदा मिलापत्रको लिखतलाई बण्डापत्र पास गरिपाउँ भनी गरेको दावी पुग्नसक्तैन भन्नेसमेत ०२५।४।९।४ को भ.जि.अदालतको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत इन्द्रबहादुर पंडित क्षेत्रीको पुनरावेदन ।
६. पेश भएको लिखितमा वादी प्रतिवादीको दावा बमोजिम आधि आधि अंशबण्डा समेतको कागज गरी दोहोरी १।१ प्रति बुझिलियौ भन्ने समेत लवज परेकोबाट बण्डाको कागज होइन भन्न नमिल्ने । यो लिखत पास मुद्दा भएकोले अंश मुद्दा डिसमिस गराएबाट अं.ब.८५ नं. क्षेत्रभित्र यो मुद्दा परेको पनि देखिन नआउने हुँदा सद्दे कीर्तेतर्फ समेत तहकिकात गरी लिखत पास हुने नहुने के हो त्यसतर्फ ठहर निर्णय दिनु पर्नेमा वादीको दावी पुग्न सक्तैन भनी दावी खारेज गरेको शुरूको फैसला नमिलेकोले बदर गरी दिएको छ । सद्दे कीर्तेतर्फ समेत तहकिकात गरी ठहर निर्णय गर्नु भनी मिसिल भ.पु.जि.अ.मा पठाई दिने भन्नेसमेत ०२८।१२।२५ को बा.अञ्चल अदालतको फैसला ।
७. ०२३।१०।२२ को मिलापत्रको कागज वादी र म समेत भई गरेको सद्देकागज हो । यो मिलापत्रको कागजबाट जग्गाधनी अर्कैको मोहियानी हकको जग्गालिनु दिनु गरेको भूमिसम्बन्धी ऐनको विरुद्ध हुँदा पास नहोस भन्ने प्रतिवादी शेरबहादुरको बयान ।
८. “पास गराई पाउँ भनेको कागज प्रतिवादीलाई देखाई सुनाउँदा सद्दे हो भनी बयान गरेको प्रतिवादीको लेखबाट पास गरी नदिई म्याद गुजारी दिएको देखिएको र म्याद थमाई नालेस दर्ता भएको देखिनाले समेत फिराद दावी बमोजिमको बण्डापत्र कागज पारित गरी दिनुपर्ने ठहर्छ” भन्नेसमेत ०२९।२।३।३ को भ.जि.अ.को फैसला ।
९. सो फैसलामा चित्त बुझेन भन्ने समेत शेरबहादुरको पुनरावेदन ।
१०. “लिखत भए गरेकोमा निर्विवाद देखिन आए तापनि वादीको लिखत घरसारको मिलापत्र देखिएको र पासतर्फ उक्त लिखतमा भएको नदेखिएकोले पास गरी दिने ठहराएको भ.पु.जिल्ला अदालतको इन्साफ गल्ती ठहर्छ” भन्ने समेत ०३१।१०।७।२ को बागमती अञ्चल अदालतको फैसला ।
१२. उक्त फैसलामा इन्साफ जाँच गरिपाउँ भनी वादीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको विन्तीपत्रमा “सम्बन्धित क्षेत्रीय अ.बाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनिदिनु” भन्ने हु. प्रमांग गरी बक्स भएको ।
११. “बण्डापत्र पारित नहुने भन्ने न्यायोचित नपर्ने हुनाले समेत बण्डापत्र पारित गरिदिनु पर्ने ठहराएको भक्तपुर जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहर्छ । बा.अं.अ.ले वादी दावी बमोजिमको बण्डापत्र पारित नहुने ठहर्याएको इन्साफ बदर हुने ठहर्छ” भन्ने समेत ०३५।२।८।१ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१३. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा “भूमिसम्बन्धी ऐन, २०२१ को संशोधन सहित दफा २६ क ले मोहियानी हक खरीद गर्ने वा दान दातव्यको रूपमा वा अरू किसिमले हक छोडाई लिन नपाइने व्यवस्था गरेको र सोही ऐनको दफा २६ को उपदफा (१) ले मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्था गरेकोबाट मोहियानी हकको जग्गा अंशियारमा बण्डा गर्न मिल्ने पनि देखिन नआएको प्रस्तुत मुद्दामा प्रतिवादी शेरबहादुरको नाउँमा जोताहा कायम भएको जग्गासमेत बण्डा गर्ने गरी भएको लिखित पारित हुने ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को संशोधन सहित दफा २६ को उपदफा (१) र दफा २६ क.को त्रुटि गरी निर्णय भएको देखिन आयो, सो त्रुटि सार्वजनिक महत्वको विषय समेत भएकोले प्रस्तुत निवेदनमा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ” भन्ने समेत स.अ.डिभिजन बेञ्चको ०३६।१८।३ को आदेश ।
१४. पुनरावेदक प्र.को वा.गोपाल दास बताश तथा विपक्ष वादी गणेशकुमारीलाई रोहवरमा राखी वादी तर्फबाट खटिउपस्थित हुनुभएका विद्वान वैतनिक अधिवक्ता श्री लक्ष्मीकृष्ण श्रेष्ठले गर्नुभएको बहससमेत सुनियो ।
१५. यसमा अंश मुद्दा दायर रहेकै अवस्थामा २०२३ साल माघ २२ गते मिलापत्र गर्ने सल्लाह भई खडा भएको बण्डापत्र पास गराई पाउँ । अंश मुद्दा ०२३।१२।३० मा डिसमिस भएको छ भनी इन्द्रबहादुरको फिराद परेकोबाट सो बण्डापत्र भनेको लिखत सुनाउँदा प्रतिवादी शेरबहादुर लिखत गरेमा सावितै देखियो । मुद्दा पर्दापर्दै अड्डा बाहेक अन्यत्र रही खडा गरेको मिलापत्र सरहको बण्डापत्र पारित गर्नलाई बाधा नदेखिएको कुरा के भने पञ्चायत समेत रही खडा भएकोले हो, अब पारित हुन लायक देखिए पनि त्यस्तो लिखत पारित गरौंला भन्ने बोली नपरे पनि ऐनले रजिष्ट्रेशन पारित गर्न पर्ने लिखतलाई बोली नपरे पनि पारित गर्न हुने नै भयो । त्यसरी आपसमा लेनदेन गर्दा आफूले लिनुदिनु गर्न हुने कुरा मात्र लिनदिन हुने हो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले परस्परमा लेनदेन गर्न नपाउने अरू जग्गाधनी भएको मोहियानी हकको जग्गा पनि यस लिखतमा परेको हुँदा त्यस्ता मोहियानी हकको जग्गा बाहेक गरी अरू लिएदिएको पाउने गरी लिखत पारित गरी दिनुपर्ने ठहर्छ । त्यस्तो नठहराएको जिल्ला अदालत, अञ्चल अदालत, मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला केही उल्टी हुन्छ । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
०३५।२।८।१ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाले सम्पूर्ण लिखत पारित हुने ठहराई लगत कसेकोमा माथि इन्साफ खण्डमा लेखिएबमोजिम मोहियानी हकको जग्गा बाहेक गरी लिखत पारित गरिदिनु भनी म.क्षे.अ.बाट लगतमा जनाउँनु .......................१
उक्त रायमा म सहमत छु ।
प्र.न्या. नयनबहादुर खत्री
इति सम्वत् २०३८ साल ज्येष्ठ २ गते रोज ६ शुभम् ।