शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४५० - ज्यान

भाग: २३ साल: २०३८ महिना: असार अंक:

निर्णय नं. १४५०     ने.का.प. २०३८                        अङ्क ३

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०३७ सालको फौ.सा.नं. ८१

फैसला भएको मिति : २०३८।१।३१ मा

वादी   : जिमि लामाको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी : पाल्चोक गा.प.व.९ घर भई हाल थुनामा रहेको दमै लामा

मुद्दा : ज्यान

(१)   प्रहरीमा कर्तव्य गरी मारेकोमा सावित भई बयान गरे तापनि पोलेको आधारमा मात्र अन्य समर्थित स्वतन्त्र तथा तथ्ययुक्त प्रमाणको अभावमा शंकै शंकामा प्र.लाई अपराधी सिद्ध गर्नु फौजदारी न्याय सिद्धान्तको विरुद्ध हुन जाने ।

(प्रकरण नं. १२)

फैसला

            न्या. हेरम्बराज : साधक निकासाको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ ।

            २.    २०३३।११।२५ गते मेरो फुपु काचुङ्ग लभेनी हराएको हुँदा खोजतलास गर्दा काचुंगले लगाएको चोलो तोकसानी घलेनीले लगाएको शंका लागि सोधपुछ गर्दा ऐ.२५ गते दमै लामाले मारी मेरो घरबारीमा गाडेका छौ भनेका हुँदा निजहरू लाई सजाय गरिपाउँ भन्ने जिमि लामाको जाहेरी ।

            ३.    मर्ने काचुङलाई प्र.तोक्सानीले कर्तव्य गरी मारेको शंका गरेको र दमैलामालाई समेत कर्तव्यमा शंका गरी बकी लेखाई दिएको सर्जिमन मचुल्का ।

            ४.    ०३३।११।२५ का दिन काचुगँ मेरो घरमा आएको र दमै लामा पनि मेरो घरमा आएको मौकामा दमै लामाले बन्चरोले हानी मारेका हुन भन्ने समेत तोक्सानी घलेनीको प्रहरी समक्ष भएको बयान ।

      ५.    ०३३।११।२५ का दिन काचुंग लमेनीलाई मैले बन्चरोले हानी मारेको हुँ र बारीमा लगी गाडेको हुँ भन्ने समेत दमै लामाको प्रहरीमा भएको बयान ।

      ६.    दमै लामालाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) र तोक्सानी घलेनीलाई ऐ.१३(४)नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

      ७.    भएको व्यहोरा प्रहरीमा भनिसकेको छु भन्नेसमेत तोक्सानी घलेनीको अदालतमा भएको बयान ।

      ८.    काचुंग लमैनीलाई मैले मारेको होइन भन्ने समेत व्यहोराको प्र.दमै लामको अदालतमा इन्कारी बयान ।

      ९.    दमै लामा र तोक्सानी घलेनीलाई मुलुकी ऐन ज्यान सम्बन्धी १३(३) प्रयोग गरी सर्वस्वसहित जन्मकैदको सजाय हुन्छ भन्ने समेत व्यहोराको शुरू सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला ।

      १०.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.दमैलामाको पुनरावेदन ।

      ११.    प्र.दमैलामा आफू प्रहरीमा सावित सम्म भएको र प्र.तोक्सानी घलेनीले पोल गरे बाहेक निज विरुद्ध स्वतन्त्र तथा शंका रहीतको सबूत प्रमाण वादी तर्फबाट गुज्रन नआएकोले प्र.दमै लामाले सफाई पाउने ठहर्छ । शुरू सि.पा.जि.अ.को प्र.दमै लामाको हकमा इन्साफ उल्टी हुन्छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भई निजको हकमा साधक निकासाको निमित्त यस अदालतमा पेश हुन आएको रहेछ ।

      १२.   यसमा प्र.दमै लामाले काचुंगलाई मारेकोमा प्रहरीमा सावित भई अदालतमा इन्कार भएको देखिन्छ । प्रतिवादी तोक्सानी घलेनीले निज प्र.दमै लामा उपर पोल गरे बाहेक अदालतबाट बुझिएका सर्जमिनका व्यक्तिहरू मध्ये तेम्बा लामा समेत ३१ जवानले किटानी साथ प्र.दमै लामाले काचुंगलाई मारेको भन्ने कुरामा शंका लाग्दैन भनी बकेको छ । शुरू तहकिकात हुँदा भएको लाश प्रकृति मुचुल्कामा शरीरको मासु सबै गली हाड मात्र बाँकी रहेको भन्ने समेत उल्लेख भएबाट मृत्युको कारण तथ्य रूपबाट स्पष्ट भएको देखिँदैन । मृतक काचुंगले लगाएको मुगाको हकमा जाहेरवालाको जाहेरी दर्खास्त प्र.तोक्सानी घलेनीको बयानमा माला सम्बन्धमा कुराहरू बाझिन आएबाट विवादास्पद प्रमाणलाई प्र.दमै लामाको विरुद्धमा लिन मिल्दैन । यसको साथै शुरू अदालतबाट बुझिएका प्र.तोक्सानी घलेनीका छोरा नर्बदा भन्ने मंगलेले मृतक काचुंगको मृतक लाश गाड्ने अवस्थामा दमै लामा थिएन भनी बकेबाट समेत प्र.दमै लामाले मृतक काचुंगलाई कर्तव्य गरी मारेकै भन्ने कुरा समर्थित हुन आउँदैन । तसर्थ प्रहरीमा काचुंगलाई कर्तव्य गरी मारेकोमा सावित भई बयान गरे तापनि प्र.तोक्सानी घलेनीले पोलेको आधारमा मात्र अन्य समर्थित स्वतन्त्र तथा तथ्ययुक्त सबूत प्रमाणको अभावमा शंकै शंकामा प्र.दमै लामालाई अपराधी सिद्ध गर्नु फौज्दारी न्याय सिद्धान्तको विरुद्ध हुन जाने हुँदा प्र.दमै लामाले सफाई पाउने ठहर्छ । शुरू सिन्धुपाल्चोक जिल्ला अदालतको प्र.दमै लामाको हकमा इन्साफ उल्टी हुने ठहर्छ भनी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । शुरू जिल्ला अदालतले गरेको जाहेरी फैसला उपर प्रतिवादी दमै लामाको मात्र पुनरावेदन परी सो उपर मात्र मध्यमाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेको देखिन्छ । पुनरावेदक बाहेकका प्रतिवादीको हकमा समेत पुनरावेदन नगरे तापनि साधक तहबाट निर्णय दिनु पर्नेमा सो दिएको पाइएन । तसर्थ पुनरावेदन नगर्नेको हकमा समेत शुरू जिल्ला अदालतको जाहेरी फैसला उपर निर्णय गर्नु भनी प्रस्तुत मुद्दाको शुरू मिसिल समेत मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई रेकर्ड मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

प्र.न्या. नयनबहादुर खत्री

 

इति सम्वत् २०३८ साल वैशाख ३१ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु