निर्णय नं. १४५२ - ज्यान

निर्णय नं. १४५२ ने.का.प. २०३८ अङ्क ३
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३७ सालको फौ.सा.नं. ४३
फैसला भएको मिति : २०३८।३।२६।६ मा
पुनरावेदक : रविन्द्र साहीको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी : दैलेख छडु गा.प.वार्ड नं. ३ बस्ने सेतु भन्ने पार्वती ठकुरानी
मुद्दा : ज्यान
(१) करणीमा बिग्री गर्भ रही बालिका जन्मदा बेथामा भएकोले जिउँदो वा मरेको के थियो थाहा पाउन सकिँन भनी अभियुक्तले प्रहरीमा र मृत बालिका जन्मेको भनी अदालतमा बयान गरेको पाइन्छ । बालिकाको लाश सडी गली सकेको भन्ने लाशप्रकृति मुचुल्का भई पोष्टमार्टम समेत हुन सकेको देखिँदैन । यस स्थितिमा अभियुक्तले जिउँदो बालिकालाई जन्माई मारेको पनि ठहर गर्न तथ्ययुक्त सबूतको अभाव हुँदा अभियुक्तलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ उल्टाई सफाई दिने ।
(प्रकरण नं. ११)
फैसला
प्र.न्या. नयनबहादुर खत्री : प्रतिवादीलाई सफाई दिई सु.प.क्षेत्रीय अ.ले जाहेर गरेकोले यस बेञ्च समक्ष पेश हुनआएको छ ।
२. जंगबहादुरको विवाहीता स्वास्नी सेतु भन्ने पार्वती ठकुरानीले कसलाई करणी गराई मैना ९ को गर्भको बच्चा ०३२।८।२५ गते जन्माई कसैलाई जानकारी नदिई निजकै छिँडी तलामा खाडल खनी दबाएको शंका पाई निजलाई खारखेर गर्दा मरेको बालख छोरी जन्मेकीले कसैलाई जाहेर प्रकाश नगरी छिँडी तलामा खाल्डो खनी दवाएको कुरा मसँग भनेकीले ज्यान सम्बन्धीको ऐनबमोजिम कारवाई गरिपाउँ भन्ने समेत रविचन्द्र साहुको जाहेरी दरखास्त ।
३. पावर्त ठकुरानीकै छिँडी तलामा उत्तानो परेको लाश सडी गली सकेको देखिएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।
४. लोग्ने जंगबहादुर साही भारत ऋषिकेश भन्ने जग्गामा नोकरी गरी बसेका छन् । ०३१ साल चैत्र महीनामा अछाम नहाडा गाउँमा गगनबहादुर साहीसँग भेटघाट गर्न जाँदा महारूप साहीसँग सम्पर्क हुन गई निजकै करणी विर्यबाट गर्भ रहे गएको थियो । ०३२।८।२५ गते छोरी जन्मेकीले खाडल खनी गाडी दिएको हुँ जन्मदाखेरी जिउँदो वा मरेको के थियो म बेथामा भएकोले थाहा पाउन सकिन भन्ने समेत सेतुभन्ने पार्वती ठकुरानीको प्रहरीमा भएको बयान ।
५. बच्चा जिउँदो वा मरेको पाई गाडेको हो थाहा छैन भन्ने समेत सरजमीन मुचुल्का।
६. बयानमा मरेको वा जिउँदो के थियो वेथाको पिरले थाहा पाइन भनी कर्तव्यमा छलछाप देखाई उम्कने प्रयास गरेको संकलित सबूतबाट प्रष्ट देखिन आएको हुँदा निज सेतु भन्ने पार्वती ठकुरानीलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
७. महारूप साहीसँग अनुचित सम्बन्ध रहन गई निजको करणी विर्यले गतः ०३१ साल चैत्र महीना देखि गर्भ रहेको र ०३२ साल मार्ग २५ गते मृत बालिका जन्मेको हुँदा बाहिर प्रकाश नहोस भनी आफ्नै घर गोठभित्र गाडी दिएको हुँ भन्ने समेत सेतु भन्ने पार्वती ठकुरानीले अदालतमा गरेको बयान ।
८. जन्मेको बालिकालाई कर्तव्य गरी मारी दबाएको देखिँदा अभियुक्त सेतु भन्ने पार्वती ठकुरानीलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैद हुन्छ भन्ने समेत दैलेख जिल्ला अदालतको ०३३।१।२१।२ को जाहेरी फैसला ।
९. उक्त फैसलामा चित्त बुझेन भनी अभियुक्तले सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा चढाएको पुनरावेदन ।
१०. अभियुक्तले जन्मेको बालिकालाई कर्तव्य गरी मारी गाडी लाश दबाउने प्रयास गरेको भनी गरेको ठहर निर्णय र सजाय समेत प्रमाणको अभावमा नमिलेको हुँदा शुरू जिल्ला अदालतको इन्साफ उल्टी भई अभियुक्तले अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने समेत ०३५।८।५।२ को सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतका जाहेरी फैसला ।
११. यसमा मरेको बालिका छोरी जन्मेकीले कसैलाई जाहेर प्रकाश नगरी दबाएको भनी अभियुक्त सेतु भन्ने पार्वती ठकुरानीले भनेकीले ज्यानसम्बन्धीको ऐनबमोजिम कारवाही गरिपाउँ भन्ने जाहेरी परेको देखिन्छ । महारूप साहीसँग करणीमा बिग्री गर्भ रही बालिका जन्मदा बेथामा भएकोले जिउँदो वा मरेको के थियो थाहा पाउन सकिँन भनी अभियुक्तले प्रहरीमा र मृत बालिका जन्मेको भनी अदालतमा बयान गरेको पाइन्छ । बालिकाको लाश सडी गली सकेको भन्ने लाशप्रकृति मुचुल्का भई पोष्टमार्टम समेत हुन सकेको देखिँदैन । यस स्थितिमा अभियुक्तले जिउँदो बालिकालाई जन्माई मारेको भनी ठहर गर्न तथ्ययुक्त सबूतको अभाव हुँदा अभियुक्त सेतु भन्ने पार्वती ठकुरानीलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको दैलेख जिल्ला अदालतको इन्साफ उल्टाई अभियुक्तलाई सफाई दिई सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतले जाहेर गरेको इन्साफ मनासिव छ । नियमानुसार गरी मिसिल बुझाई दिनु ।
म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०३८ साल आषाढ २६ गते रोज ६ शुभम् ।