शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४५४ - जग्गा बाली बिगो

भाग: २३ साल: २०३८ महिना: असार अंक:

निर्णय नं. १४५४   ने.का.प. २०३८         अङ्क ३

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३८ साल दे.पु.नं. २०५

फैसला भएको मिति : २०३८।३।१५।२ मा

पुनरावेदक : स्याङ्जा जिल्ला, स्याङ्जा बस्ने नारायणप्रसाद क्षेत्री

विरुद्ध

विपक्षी : जि. अर्घाराजस्थल बस्ने नारायणप्रसाद भुसालसमेत

मुद्दा : जग्गा बाली बिगो

(१) क्षेत्रीय अदालत नियमावली, २०३० को नियम १८ को देहाय (ङ) मा पुनरावेदनको अनुमति दिइएको मुद्दा डिभिजन बेञ्चबाट हेरी निर्णय हुने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दा माथि लेखिए अनुसार सर्वोच्च अदालतबाट पुनरावेदन दिने अनुमति प्राप्त गरी पुनरावेदन दायर भएको मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्चबाट हेरी गरेको निर्णयमा क्षेत्रात्मक त्रुटि देखिने ।

(प्रकरण नं. ९)

फैसला

       न्या. बासुदेव शर्मा : पश्चिमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर वादीको निवेदनबाट पुनवरोदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ :

       २. कृष्णपुर भन्ने स्याल डाँडो जग्गा १९६४ सालमा दर्ता भई सुपथ भोग गरी आएकोमा पछि सन्दीसर्पन भनी उजूर गर्दा पनि सन्धिसर्पन नठहरी फैसला भएको अचल सम्पत्ति हो । भिन्द हुँदा मेरा भागमा परी घर बनाई म श्री ५ को सरकारको सेवामा रहे भएकोले टेकबहादुरलाई सो घरमा राखेको अवस्था अन्यायका नारायणप्रसाद समेतले ०१९।२।१५ गते स्थानीय वडाहाकिमज्यूले सन्धिसर्पनमा चलन गर्न भन्ने आदेश दिनु भएको छ भनी नारायणप्रसादका मौखिक अडरसाथ जबरर्जस्ती वार भत्काई अन्यायका सबैजना मिली गाई बस्तु हुली विरुवा उखेली निज टेकबहादुरलाई निकाली धान पाथी १५ कोदो मुरी १ मकै पाथी ३० र तामाको ताउलो धार्नी ३ को १ धार्नी ३ को गाग्रो १ ढलोटे लोटा १ सिलेबरको थान १ कचौरा १ लुटि घरको केही भाग भत्काई नोक्सान पारी दिए भनी हुँ.द्वारा गोठाला टेकबहादुरले पत्र पठाएको १९६४ सालमा बुनारमका नाउँमा दर्ता भएको मेरा पिताजी कृष्णप्रसादले २००४।१०।११।७ मा राजीनामा गरी भोगी आएको सन्धिसर्पन नठहरी ०१७।३।३२ मा फैसला भएको ०१८।९।२६।२ को अंशबण्डा बमोजिम मेरो अंशमा परेको जग्गामा विपक्षीहरूले जवरजस्ती बस्तु हुली चराई नोक्सान भएको खर कोदो मकै गाग्रो ताउलो धान लोहटा, थाल, कचौरा, घरधारो समेतको जम्मा रू.३४९९ निजहरू बाट दिलाई भराई मूल्य रू.४०००। पर्ने जग्गा पूर्ववत भोगचलनको प्रचलन सदर गरी थामी पाउँ भन्ने समेत ०१९।४।११।५ को फिरादपत्र ।

       ३. इश्वरीप्रसाद समेतले दिएको उजूरीमा वादीका बाबु कृष्ण प्रसादले समेत सन्धिसर्पन राख्ने मञ्जूर गरी ०१८।३।९ गते मिलापत्रबाट हक छाडनु भएको जग्गा पछि ०१८ साल पौष २६ गते वादीले कसरी बण्डापत्रबाट पाउनुभयो होला वादीको निराधार झुठ्ठाउजूरी हो । वादी छुटिई भिन्न भएको र घर बनाएको समेत कुनै कुरा होइन । सारा कुरा झुठ्ठा हुँदा उहाँको उजूरी लाग्नु नसक्ने हुनाले मुद्दा खारेज गरिपाउँ भन्ने समेत नारायणप्रसाद छविलाल जना २ को संयुक्त र सोही व्यहोरा रूपमा खिमानन्द भुसाल समेतको प्रतिवादी जिकिर भएको रहेछ ।

       ४. वादीका बाबुले सन्धिसर्पन कायम राख्न ०१८।३।९ मा भएको मिलापत्र बदर गराई माग्न वादीको रिट निवेदन परेको ०२२।२।६ मा सर्वोच्च अदालत डिभिजन बेञ्चका फैसलाले रिट खारेज भई फैसला भएको अ.बं.८२ नं. ले उक्त वादी दावा जग्गा वादीको हक पुगेको सबूत बेगर यसै उजूरबाट जग्गातर्फ इन्साफ गर्न मिलने । लुटे घर भत्काए भन्ने समेत हकमा चोरीका १ नं. ऐनको परिभाषा भित्रको देखिँदा समेत वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत शुरू अर्घाखाँची तथा गुल्मी इस्मा जिल्ला अदालतको मिति २०२६।५।२७ को फैसला ।

       ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन परेकोमा इन्साफ शुरूको मनासिव ठहराई लुम्बिनी अञ्चल अदालतबाट ०२९।८।१४ मा हदमुनी गरिएको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन पेश गर्न सम्माननीय प्रधान न्यायाधीशज्यूबाट पुनरावेदन दिने अनुमतिको आदेश भई वादीको पुनरावेदन परी आएकोमा न्यायप्रशासन सुधार अध्यादेश २०३० अनुसार पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिव ठहर्छ भन्ने समेत गरी मिति २०३५।५।२७।३ मा सो पश्चिमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्चबाट फैसला भएको रहेछ ।

       ६.  उक्त फैसला उपर चित्त बुझेन त्रुटिपूर्ण फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत व्यहोराको निवेदन डिभिजन बेञ्च समक्ष पेश हुँदा ०३०।५।२४ मा सम्माननीय प्रधान न्यायाधीशज्यूका आदेशानुसार पुनरावेदन परी सरी गै.प.क्ष.अ.बाट फैसला भएको देखिँदा पुनरावेदनको अनुमति दिइएको मुद्दाको पुनरावेदन डिभिजन बेञ्चबाट केही किनारा हुनेछ भन्ने समेत क्षेत्रीय अदालत नियमावली, २०३० को नियम १८ को देहाय (ङ) मा कानूनी व्यवस्था भएको पाइन्छ । तसर्थ सर्वोच्च अदालतबाट पुनरावेदन दिने अनुमति दिइएको मुद्दामा पनि डिभिजन बेञ्चबाट हेरी निर्णय हुनु पर्नेमा पश्चिमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्चबाट हेरी सार्वजनिक महत्वको विषयमा गम्भीर कानूनी त्रूटि गरी निर्णय गरेको देखिएको हुनाले न्या. प्र.सु.ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मिति ०३६।६।२९।२ को आदेश ।

       ७. उक्त आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई तारेखमा रहेको पुनरावेदक वादीको वारेस ईश्वरलाल श्रेष्ठलाई रोहवरमा राखी निजतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालको बहस सुनी बुझ्दा प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मिले नमिलेको के हो ? निर्णय दिनु परेको छ ।

       ८. यसमा प्रस्तुत मुद्दामा लुम्बिनी अञ्चल अदालतका मिति २०२९।८।१४ का हदमुनी फैसला र वादीले सर्वोच्च अदालतमा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत कुरा दर्शाई निवेदन चढाएको सो निवेदनपत्र सम्माननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश हुँदा जटिल कानूनी प्रश्न समावेश भएको देखिँदा पुनरावेदन दिने अनुमति दिएको छ भन्ने समेत व्यवहोराबाट मिति ०३०।६।२९।१ मा आदेश भई सो अनुसार पुनरावेदनको लगतमा दर्ता भएकोमा न्यायप्रसाशन सुधार अध्यादेश २०३० अनुसार पश्चिमाञ्चल क्षेत्रीय अदालतमा प्रस्तुत मुद्दाको पुनरावेदन सरी गएको देखिन्छ ।

       ९.  क्षेत्रीय अदालत नियमावली, २०३० को नियम १८ को देहाय (ङ) मा पुनरावेदनको अनुमति दिइएको मुद्दा डिभिजन बेञ्चबाट हेरी निर्णय हुने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दा माथि लेखिए अनुसार सर्वोच्च अदालतबाट पुनरावेदन दिने अनुमति प्राप्त गरी पुनरावेदन दायर भएको मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्चबाट ०३५।५।२।७ मा हेरी गरेको निर्णयमा क्षेत्रात्मक त्रुटि देखिएकोले उक्त ०३५।५।२७ को फैसला बदर गरी दिएको छ । परी रहेको पुनरावेदन कानूनबमोजिम डिभिजन बेञ्चबाट हेरी कारवाही किनारा गर्नु भनी तारेखमा रहेका पक्षलाई पश्चिमाञ्चल क्षेत्रीय अदालतमा हाजिर हुन जाने गरी तारेख तोकी शुरू तथा क्षेत्रीय अदालतको मिसिल पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाई रेकर्ड मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३८ साल आषाढ १५ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु